दश दिन अगाडि र त्यति नै दिन पछाडि मैले कुनै नयाँ कार्यक्रमको योजना बुनेको थिइनँ । यसभन्दा अघि थुप्रै लगातार कार्यक्रम परिरहेकाले कतै गइहाल्ने सोच नभएका कारणले पूर्व लेखनकै चटारोलाई मैदार गर्न बिहानबेलुका घन घसी बञ्चरो गरेको थिएँ । सेतीकाली साहित्य सङ्गम, भिमादको अध्यक्ष भई टोपलिएपछि त सानातिना, ठिनेमिने साहित्यिक कार्यक्रममा जान त परिहाल्यो । कतै वरिष्ठ साहित्यकार, लेखक, विश्लेषक वा समीक्षकको नाम सुने पश्चात् भेट्किन पछि नपर्ने म, परिवारको आग्रहलाई पनि निकै नजरअन्दाज गर्ने दृढ स्वभावले चरित्रको गोरेटो निर्माण गरेको छ ।

मेरो सवालमा फुर्सद होस् वा नहोस् तासका पत्ता पल्टाएर वा घोप्पा घोप्ट्याएर समय कटाउनुपर्ने मानिस भने जिन्दगीमा म कहिल्यै बनिनँ वा बन्नु परेन । अझै भनूँ अनावश्यक काममा समय व्यतीत गर्नुपर्दा हृदयको कुनामा लेखकीय घाउ बल्कन्छ र अन्तस्करणले लेखकीय चरित्रको प्रमाण खोज्छ । अनि त्यहाँबाट उठेर हिँड्न बाध्य तुल्याउँछ ।

त्यति मात्र होइन ‘समय बिताउन सारै कठिन भो’ भन्न कहिल्यै परेन । सायद भविष्यमा पर्ने पनि छैन ।

कसैलाई समयको खासै महत्त्व हुँदैन र भन्ने गर्छन्, ‘कति गाह्रो हो समय बिताउन । आज त बिताइयो । भोलि कहाँ गएर बिताउने होला ?’ यस्तै यस्तै अस्वाभाविक भावहरू ।

वास्तवमा जीवनको रहस्य, आफू जन्मनाका कारण नबुझी जीवन पशु समान नै हो भन्नेहरू यसको महत्त्वलाई खिसीटिउरी गर्ने गर्छन् । समयको महत्त्व बुझ्नेहरू रातलाई पनि दिन बनाउनमा उद्धत हुन्छन् । उनीहरूका अथक मेहनतका परिणामले ऊ स्वयम्का लागि होइन संसारका लागि कामयाबी दर्जन सक्छ । उसको दुरदर्शीताको मूल्याङ्कन वर्तमानमा नापिन नसके तापनि भविष्यमा अवश्य नापिन्छ नै जसका उदाहरणका खात हामीसँग थुप्रै छन् ।

‘सुत्नु’ स्वास्थ्यका लागि अति नै उपयोगी साधना हो । तर यसको महत्त्वलाई सर्वोपरि राख्ने महानुभावले यै क्रियाकलापलाई सबैभन्दा बढी प्राथमिकता दिन्छन् र अन्य कार्यलाई गौण मान्छन् । उनीहरूका लागि मज्जा भनेकै सुत्नमा हुन्छ । उनीहरूका खेल पनि त्यसैमा हुन्छ । उनीहरूको प्रतिस्पर्धा, भेटघाटको सुरुवात, योजना, प्रस्तावना र सहकार्य अन्य विषयमा सायदै हुन्छ । अन्यथा हुनु उनीहरूका लागि दुःखको विषय हुन पुग्छ ।

लेखक, सिर्जनशील वा अध्ययनमा मग्न रहने जो कोही पनि खोज र अनुसन्धानका माध्यमले देश, काल र परिस्थितिलाई समयानुकूलन बनाउन वा अनुकूलनका लागि नयाँ उपायहरूको सुरुवात गर्छन् । व्यक्तिगत रूपमा होस् वा सामूहिक रूपमा उनीहरू त्यसैमा तल्लीन रहन्छन् ।

उनीहरूको भेटघाटको सुरुवात ‘हिजोआज के अध्ययन गर्दै हुनुहुन्छ ? के विषयमा लेख्दै हुनुहुन्छ ? वा कुन विषयको खोज वा अनुसन्धानमा व्यस्त हुनुहुन्छ ?’ भन्नेबाट हुन्छ । उनीहरूका लागि खान, सुत्न र आराम गर्न जस्ता व्यवहार तेस्रो वा चौथो नम्बरमा पर्छन् । मानिस जतिखेर पनि आफ्नो योजना, भावना र भविष्य प्रति सशक्त हुन्छ तब ऊ आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ । ठिक यसको विपरीत कसैले विषय वस्तुदेखि पर रहेर आफूलाई स्वतन्त्र भएको स्वाङ अलाप्छ तब ऊ योजनाविनाको फकिर सरह हुन्छ ।

००००

योजना

अब प्रसङ्ग बदलौँ । बिहानै लेखनमा एकाकार रहेको बेला एकाएक मोबाइलको घण्टीले मलाई झसङ्ग झस्कायो । एक मनले त्यो मोबाइल नउठाऊँ कि जस्तो लागेको थियो । नाम पढेपछि त्यसो गर्न मनले मानेन ।

‘नमस्कार’

‘हजुर, नमस्कार’

‘२६ र २७ गते स्याङ्जाको कार्यक्रममा जाने है ?’

‘स्याङ्जा काँ ?’

‘फापरथुम ।’

‘उति पर बाइकमा जाने ?’

‘हैन पोखराबाट बसको व्यवस्था छ ।’

‘सेतीकाली साहित्य सङ्गमको ५० औँ काव्य शृङ्खला छ नि त, त्यो दिन त ।’

‘त्यसलाई पछि सार्दा पनि हुन्छ । जसरी पनि समय मिलाउनु होला । मैले हजुरको नाम टिपें है ।’

‘हुन्छ, ल’ भन्न नपाउँदै मेरो मन जितेर नै होला उहाँले फोन राखिदिनुभयो ।

कास्की पोखराका साहित्यकार द्वय नारायण मरासेनी र भिम रानाभाटज्यूले गरेको आग्रहलाई ‘नाइँ’ भन्न सकिनँ । सायद ‘नाइँ’ भनेको रेकर्ड छैन पनि होला । मरासेनीज्यूले त बस नम्बर र लोकेसन समेत म्यासेज बक्समा प्रेषित गरिदिनु भएको थियो ।

शुक्ला साहित्य सङ्गमले दुलेगौडा स्थित पञ्चमुनी देव मा.वि.को सभा हलमा लघुकथाकार जनार्दन दाहालज्यूको ‘भूवा कथा’ को विमोचनका लागि प्रमुख अतिथिको रूपमा त्रिलोचन ढकालज्यू आउनु भएको थियो । मैले त्यति बेलै थाहा पाएको थिएँ उहाँ एउटा लेखक एवम् लघुकथाकार हुनुहुँदो रहेछ ।

एक समयमा मन्त्री समेत भइसक्नु भएका आदरणीय व्यक्तित्वको नाम धेरै पटक सुनेर पनि नजिकबाट परिचय भने गर्न सकिरहेको थिइनँ । उहाँले सोही दुलेगौढाको कार्यक्रममा आफ्नो आसनबाट दिनुभएको समीक्षात्मक धारणा सुनेर म हदै प्रभावित भएको थिएँ । यथाशीघ्र त्यस्ता मूर्धन्य साहित्यकारलाई भेट्ने र समसामयिक साहित्यका बारेमा कुरा गर्ने दाउमा थिएँ । त्यसैले त्यो गवाइ मेरा लागि स्वर्ण अवसर हो भन्ने अठोट गरें ।

००००

प्रस्थान

म तोकिएको समयमै पोखरा पुगें । रानाभाटज्यूले ‘जति सक्यो धेरै साथीहरू लिएर आउनु है भन्नु’ भएकाले मैले प्रयास गरें अन्ततः सल्लाहकार तथा आजीवन सदस्य मोहन भुजेलले साथ दिनुभयो । हामी पोखराबाट बस चढेर कार्यक्रममा जानेहरूमा डा यमबहादुर क्षेत्री र उहाँकी जीवन सँगिनी, भिम रानाभाटज्यू र उहाँकी जीवन सँगिनी, शेषमणि आचार्य, अनिल श्रेष्ठ र उहाँकी श्रीमती, विष्णुप्रसाद पौडेल र उहाँकी जीवनसँगिनी लगायतका साहित्यप्रेमी हुनुहुन्थ्यो । हामीलाई ‘ठिक ८ बजे प्रस्थान गर्ने हो है’ भन्ने उर्दी जाहेर भए तापनि बस भने ठ्याक्कै २ घण्टापछि मात्र गुड्न सुरु गर्‍यो । बसको चक्का रिगेझैँ मेरो मन फापरथुमको कल्पनाका लागि बटारिन सुरु गर्यो ।

नौडाँडासम्म सबैका लागि चिरपरिचित ठाउँ भए तापनि फापरथुङ् कता हो ? भन्ने थाहा थिएन । त्यसैले कतिपय साथीहरूका लागि नौडाँडाबाट दाहिनतिर लागेपछि मनमा तीव्र कौतूहल जागेको प्रतीत हुन्थ्यो । हामी जति अगाडि बढ्यौँ त्यति राम्रो र फराकिलो बाटोको स्वाद लिन पायौँ । माथिबाट तल तल सलल बग्दै गर्दा सेती दोभान बजार आउँदो रहेछ ।  सो बजार क्रस गरेपछि आँधीखोला झ्याप्पै नाकैमा ठोक्किँदो रहेछ । सो खोलामा निर्माण गरिएको कलात्मक पक्की पुल तुरेपछि फराकिलो र हराभरा ढाँडिखेत आउँदो रहेछ । त्यो खेतमा लगाइएका बालीनालीहरूले हाम्रा मनलाई निकै धेरै बेरसम्म लोभ्याइरह्यो । टाँडीखेतको वैभवपछि हामी पातीखोलामा निर्माण गरिएको पुललाई रमाउँदै, नाच्दै र उफ्रँदै तर्यौं  । सिम्ले नगरीलाई पनि हामीले निकैबेर चियाएर हेरिरह्यौँ ।

सिम्लेपछि द्यौराली चौरमा पुगेपछि हामीलाई आफ्नै डाँडापाखामा चरेजस्तो अनुभूति भयो । त्यहाँबाट बुरुक्क उफ्रेर हामी फापरथुप भञ्ज्याङमा चाँद लगायौँ । त्यसपछि हामीले फापरथुमको वैभवलाई नियाल्दै एकपछि अर्को इतिहास कोट्याउनतिर लाग्यौँ ।  फापरथुम, आनन्द आश्रम हामी पुग्नुभन्दा पहिला काठमाडौँ, भैरहवा र चितवनतिरका साथीहरू आएसकेका थिए ।  हामी करिब करिब अन्ततिर नै थियौँ । बसबाट ओर्लेपछि देब्रेतिरको पाखोमा भर्खर बनाएको बडो कलात्मक सालिकमा आँखा परे ।

नजिकै गएर उक्त सालिकका बारेमा अध्ययन गर्दा थाहा पायौं सालिक त उनै त्रिलोचन ढकालका स्व. पिता आनन्द ढकालको रहेछ । त्यहाँबाट गर्दन बटारेर करिब १५० हात माथि के नजर कुदेको थियो टिलिक्क टल्केको दुई तल्लाको नव भवन आँखैमा झुन्डियो । कतै सिँढी त कतै सिँढी बेगरको उकालो बाटो सुस्त सुस्त दायाँ बायाँ नजर दौडाउँदै उही नयाँ भवनको ठिक सम्मुखमा पुगेपछि थाहा भयो यो उनै स्व. पण्डित आनन्द ढकालज्यूको नाउँमा निर्माण गरिएको कलात्मक भवन रहेछ । त्यै भवनलाई आनन्द आश्रम ज्ञान केन्द्र भनिँदो रहेछ ।  त्यै नव निर्मित भवनका करिब चालिस वटा कलात्मक टेबुलमा सयौँ साहित्यकारका खचाखच उपस्थितिले मेरो मन एसै एसै गजक्क परेको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, स्याङ्जा, कपिलवस्तु, दाङ, चितवन, तनहुँ लगायत देशका विभिन्न भागबाट आउनुहुने चर्चित साहित्यकारसँग दुई दिने साक्षात्कार र उठबसले पक्कै पनि आफू पनि ठुलै मूलमा मिसिएर समुन्द्रमा पुग्न लागेजस्तो सपना देखेको थिएँ ।

००००

कार्यक्रम

२०८० साल माघ २६ गते १२ बजेदेखि कार्यक्रम सुरु गर्न भनिए तापनि साहित्यकारहरूको आगमनलाई सम्मानका साथ निरन्तरता दिँदा १ बजिसको थियो । झण्डै २ सयको हाराहारीमा उपस्थित साहित्यकारले ज्युनार गर्दा केही समय लाग्नु स्वाभाविकै थियो । सो पश्चात् गरिएको उद्घाटन समारोह र काव्य गोष्ठीमा केही घण्टा लाग्नु त मनासिवै थियो । साहित्यकार महानुभावहरूलाई आयोजकले आफ्ना छोटा, रसिला रचनाहरू प्रस्तुत गर्न आग्रह गरेकोमा कसैकसैले समयको पाबन्दीलाई छल गर्दै दुई दुईवटा रचना वाचन पनि गर्न भ्याउनुभयो । समयलाई असाध्यै सदुपयोग गरेर छोटो समयमै करिब ७५ जना कविले कविता वाचन गर्नु भएको थियो ।

तेस्रो सत्रमा सांस्कृतिक कार्यक्रम थियो । सो कार्यक्रममा प्रस्तुत गरिएका हरेक आइटमहरू अनुकरणीय थिए ।

रातको ११ बजे हामी खाना पश्चात् निद्रादेवीको काखमा शरण लिनका लागि आनन्द आश्रमको तल्लो खण्डमा अवस्थित गुणानिधी ढकालज्यूका घर गयौँ । व्यवस्थित कोठा, एट्याच बाथरुम, सकभर सबैलाई खाट एवम् पलङको व्यवस्था, बिहान र बेलुका चिया समेत पकाएर साहित्यप्रेमी पाहुनालाई टक्राइ सम्मान गरेको देख्दा स्थानीयका मानवीयताले ठाउँ छाडेका रहेनछन् भन्ने दह्रो प्रमाण जुट्यो ।

००००

दोस्रो दिन सतौँकोट दृश्यावलोकन

कार्यक्रमको तालिका मुताबिक दोस्रो दिन बिहान ६ बजे नै आनन्द आश्रममा उपस्थिति हुने र चिया नास्ता ग्रहण पश्चात् सतौँकोट दृश्यावलोकन गर्न जाने योजना तय भएको थियो । सो पूर्व योजनालाई सम्मान गर्दै फटाफट जेरी, पुडी, तरकारी र कफी लियौँ र बस लिएर उल्लिखित ठाउँतिर हान्नियौँ । ठाउँ ठाउँमा बाटो निर्माण हुँदै गरेकाले लामा खालका बसलाई ससाना घुम्तीमा अगाडि बढ्न असजिलो भयो । तर, हाम्रो पछिल्लो बस केही छोटो र स्थानीय समेत भएकाले हामीले त्यसको अनुभूति गर्नु परेन ।

करिब १ हजार ३ सय १५ फिटको उचाइमा अवस्थित त्यो सतौँकोट निकै रमणीय रहेछ । थुप्रै समयसम्म टाकुरे राजाहरूले राज्य गरेको त्यो ठाउँमा पुग्दा र त्यसको इतिहासलाई स्मरण गराउँदा हाम्रा पाउ भारी भएका थिए । बुझ्दा गौरवको अनुभूति हुँदो रहेछ । शिरपुम्ब खानदेखि टेकबहादुर शाहीसम्म जम्मा १३ पुस्ताले झण्डै ३ सय ३२ वर्षसम्म राज्य गरेको जानकारी प्राप्त भयो । १५१० मा स्थापना भएको उक्त राज्य १८४२ मा गोरखा राज्यमा विलीन भएको ब्यहोरा स्थानीय विज्ञ गुरुप्रसाद ढकालले हामीलाई जानकारी गराउनुभयो ।

त्यो गौरवपूर्ण इतिहास बोकेर उभिएको डाँडाबाट राङ्खोला, जैशीडाँडा, स्याङ्जा, सुम्रेखोला, पुलको मुख, लाम्पाटा, नौडाँडा, वालिङ, कोल्मा, नुवाकोट (स्याङ्जा), अन्नपूर्ण हिमशृङखला, धौलागिरी, माछापुच्छ्रे, पञ्चासे, वाङ्सिङ, दरौँ लगायतका ठाउँ देखिँदो रहेछ ।  सतौँकोट डाँडाकै काखको तल्लो भेखमा सानो थुम्की रहेको छ । सो ठाउँमा यतिखेर पशुपतिनाथको मन्दिर, हवन कुण्ड र केही मूर्तिहरू रहेका छन् । हाल सो ठाउँलाई ‘वेदनगरी धाम’ भनिँदो रहेछ । गुरुप्रसाद ढकालका अनुसार त्यस ठाउँमा बाइसे चौबिसे राजाका ५ सय जति फौज राख्ने गरेका थिए रे ।

००००

फिर्ता

उक्त ठाउँको अवलोकनपछि हामी करिब १२ बजे लखतरान हुँदै बस भएको ठाउँतिर फर्कियौँ । हामीलाई बसमा चढ्न र धुलाम्मे घुमाउरो बाटो भएर फर्कनभन्दा खुट्टाले हिँडेर सिधै पैदल सोझो बाटो झर्न मन भएकाले भवानी खतिवडा, स्थानीय इन्द्रमणि ढकाल चन्द्र भण्डारी र म भएर सिधै ओरालो लाग्यौँ । बिचै बाटोमा रजस्थला भन्ने ठाउँ रहेछ । त्यहाँ १२ सम्म पढाइ हुने रजस्थला नामक माध्यमिक विद्यालय, स्वास्थ्य चौकी र प्रहरी थाना समेत रहेछ । ठुलो फुकेको गाउँ, रसिला गाउँले, फराकिलो खेल मैदान, स्वास्थ्य हावा पानी र बत्तीको सुविधा देख्दा आन्तरिक पर्यटकका लागि आकर्षकको चन्द्रविन्दु बन्न सक्ने प्रबल सम्भावनाको अडकल काटें ।

लामो पैदल कुदाइले हामीलाई निकै भोक लागिसकेको थियो । बारीमा मुला उखेल्दै गरेका किसानले सायद हाम्रो अनुहारको भाउ बुझेर आफूले फलाएका मोती जस्ता सर्लक्कका मुला उखेलेर खान दिए । हामीले हात हातमा २, २ वटाका दरले मुला समात्यौँ र किसानलाई धन्यवाद दियौँ । उनीहरूले फलाएको काउली, ब्रोकाउली, साग, केरउ, आलु लगायतका तरकारी र गहुँ खेतीका बारेमा निकै बखान गर्यौं  । त्यै बखानले खुसी भएर ती उद्यमी किसानले हामीलाई ‘अघाउनज्येल मुला खानुस् र अझै लैजाने भए पनि लैजानुस् है’ भने ।  लेकमा उत्पादन भएका मुला भएर होला पिरा थिएनन् । निकै स्वादिला, कमला र बास्नादार थिए ।  लघुकथा गोष्ठी खाना खानको लागि  हामी पुनः लाइनबद्ध भयौँ । खाना खायौँ र लघुकथा गोष्ठीमा समावेश भयौँ ।

मैले लघुकथा लेख्ने गरेको भए तापनि सुनाउने खालका नभएकाले म लघुकथाकारका कथा बडो ध्यानपूर्वक सुनेर बसें । त्यसैका लागि म सबैभन्दा अगाडिको लाइनमै थिएँ । लघुकथा निकै चोटिला, मार्मिक र भावयुक्त हुँदा रहेछन् भन्ने मैले बुझें । र, दिनप्रतिदिन लघुकथामा कलम चलाउनेका सङ्ख्यामा पनि वृद्धि भएको कुरा बुझें ।

लघुकथा लेख्दा भूत कालमै हुनुपर्ने भन्ने मान्यता रहेनछ । समाजमा भएका दिनानुदिनका क्रियाकलापलाई छोटो, मिठो र चिटिक्क बनाएर लेख्दा हुँदो रहेछ । ‘हिजो सानो थियो र गाउँका कुखुरा चोर्ने गर्थ्यो । अहिले ऊ नेता भयो र सुन चोर्ने गर्छ’ भन्दा पनि कथा हुँदो रहेछ भन्ने मैले बुझें ।

००००

विमोचन, पुरस्कार र बिदाइ

सोही अवसरमा आनन्द आश्रमका प्रमुख व्यक्तित्व, कथाकार श्री त्रिलोचन ढकालद्वारा लिखित पेच र आनन्द आश्रम नामक पुस्तक पनि विमोचन भयो । जगदीशचन्द्र भण्डारीलाई नगद पुरस्कार र डा. पुस्कराज भट्टलाई दोसल्ला ओढाएर सम्मानित गर्ने काम भयो । केही जेहनदार विद्यार्थी र उनका प्र.अ. पनि पुरस्कृत भए ।

त्यति मात्रै होइन, कार्यक्रममा उपस्थित सबै साहित्यकारलाई सम्मान स्वरूप एक एक थान आनन्द आश्रम ज्ञान केन्द्र लेखिएको मूल्यवान् झोला, केही  थान पुस्तक, नोट बुक, कलम र कलात्मक फ्रेम प्रदान गरियो । हामी सबै ती अमूल्य वस्तु प्राप्त गरेर गजक्क परियो ।  दुवै दिनको कार्यक्रमको प्रमुख आतिथ्य गर्नु भएका प्रा.डा. गणेश गुरुङ आकर्षणका केन्द्रबिन्दु हुनुहुन्थ्यो । त्यसैमा अझै रोनक थप्नु भएको थियो लघुकथाकार श्रीओम श्रेष्ठ रोदनले ।

कार्यक्रम सञ्चालक डा सुस्मिता ढकाल, डा. रमेश शुभेच्छु, डा. सेखर कुमार श्रेष्ठ, नारायण मरासेनी, दिव्य गिरी, खोलाघरे साहिँलो, मित्रलाल पङ्गेनी, मोहन भुजेल, भिमरानाभाट, भवानी खतिवडा, इन्धिरा देवकोटा लगायतका साहित्यकारको प्रस्तुति बेजोड थियो । कुनै सञ्चालकको पनि कमी र त्रुटि देखिएन । सबै प्रखर खारिएका हुनुहुन्थ्यो । त्यसरी कार्यक्रम सेट गरेर व्यक्तिगत खर्चमा त्यो अद्भुत कार्य गर्नु भएकोमा आयोजकप्रति सबै आभारी, नतमस्तक र हृदयगत हुँदै रातको ११ः ५५ बजे बिदा भयौँ ।

००००

निश्कर्ष

पण्डित आनन्दमणि, टुल्की -नन्दकला स्मृति प्रष्ठिानद्वारा आयोजित तथा आनन्द आश्रम ज्ञान केन्द्रको व्यवस्थापनमा सम्पन्न बृहत् २ दिने साहित्य सम्मेलन २०८०, कुनै सरकारी वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाले आयोजना नगरीकन सिङ्गो एक परिवारको लगानीमा सम्पन्न हुनु राष्ट्रकै लागि एक उदाहरणीय कार्य हो । आयोजक र व्यवस्थापक संस्थाहरूका संस्थापक संरक्षक एवम् साहित्यकार त्रिलोचन ढकालज्यूको अदभ्य साहस र साहित्यप्रतिको समर्पणले उपस्थित हामी सबैमा उत्साह सहितको ऊर्जा थपिदिनु भएको छ मात्रै होइन अपितु राष्ट्रकै लागि अपूरणीय गुण समेत लगाउनु भएको छ । यो अविस्मरणीय कार्य गरेर राष्ट्रिय साहित्यको श्रीवृद्धिमा पदनिर्देश गर्नु भएकोमा अशेष नमन गर्दछु ।

धन्यवाद । जय फापरथुम ।