साँच्चै हरि सर, आफ्नो जीवन कालमा दुनियाँको हित हुने काम गर्न सक्नु नै जीवनको सार्थकता रहेछ । त्यस्तो सार्थक जीवन जिउने अवसर जो कोहीले पाउन पनि सक्दा रहेनछन् । जीवनलाई सार्थक बनाउन योजना, सङ्घर्ष, त्याग र समर्पण नै चाहिँदो रहेछ ।

अनुभूति र घटनाहरूलाई योग गर्दागर्दै निस्किएको योग फल नै होला सायद– जीवन । अहिले अलिअलि हात लागेको छ । लेख्न र लेख्नका लागि कल्पिने आधारशिला बनेका ती बसाइका अनुभूति र उस् बेलाका समय साक्षी बनेका तपाईंसँगका संलापहरू आज हावामा बयली खेलिरहेका सिमलका फूलझैँ भएका छन् । सायद जीवन भनेकै सम्झँदै बाँच्दै गर्ने मेलो त रहेछ । तर फरक रहेछ नि ! हरि सर, मरेपछि पनि बाँचिरहनुमा ।

प्रत्येक व्यक्तिका जीवन यात्राको आरम्भ बिन्दु र समय फरक फरक भएपनि कहिलेकाहीँ भने आरम्भ बिन्दु र समय एउटै एउटै हुँदोरहेछ । जिन्दगी जुनसुकै अवस्थामा दौडिए पनि प्राप्ति भने एउटै तर अनुभूतिमा चाहिँ फरक पर्दो रहेछ ।

भारत वर्षमा मुस्लिम आक्रमण पछि आफ्नो मौलिक संस्कृति लोप हुन लागेको चर्यापद कलकत्ता विश्वविद्यालयका भाषाविद् डा. हरदयाल शास्त्रीले ई. १८९६ मा प्राचीन पुस्तकहरूको खोजी गर्ने क्रममा नेपालको दरबार पुस्तकालयमा केही पुस्तकहरू फेला पारी सङ्कलन गरी चर्यापद नाम दिएर बङ्गाली साहित्य परिषद्द्वारा प्रकाशित गराएछन् । नेपालमा संरक्षित अवस्थामा फेला पारेर बङ्गाल, असम, विहार लगिएको इतिहास रहेपनि चर्यापदलाई नेपालका नेवारी तान्त्रिक बौद्ध मार्गीले पनि अपनाउँदै आएका छन् ।

मलाई यस्तो लाग्यो हाम्रा दूरी छन् । दूरीदूरीमा हामी समीप रहेछौं । नजिक रहेछौं । आपसमा एक रहेछौं । अन्तर सग्लो धुरी  सिर्जनामा रहेछौं । सिर्जना हाम्रो सग्लो लक्ष्य रहेछ । सांस्कृतिक सम्बन्ध पनि रहेछ ।

यति पुरानो ऐतिहासिक कुरालाई लिएर  Charyapada and Contemporary Language-Literature-Culture organised by Asam Sahitya Sabha at Guwahati on March 16 and 17, 2013. मा अन्तर्राष्ट्रिय कार्यक्रम गरेको अनि आफ्नो भाषा, कला र साहित्यको खोजी अध्ययन गरेको देखेर त्यसबेला कार्यक्रममा सहभागी हुन म गुहाटी आउँदा मेरा मनमा असमको नेपाली साहित्यमा स्रष्टा के कति  होलान् ? को को होलान् ? यहाँको साहित्य कस्तो होला ? जिज्ञासा उठेको थियो ।

त्यही बेला मैले खोजी गरेको थिएँ– उत्तर पूर्वाञ्चल भारतको मात्र नभएर  समग्र भारतकै नेपाली साहित्यको प्रारम्भ अविभक्त (बृहत्) असमको मणिपुरबाट लेन्स नायक तुलाचन आलेको मणिपुरको लडाइँको सवाई सन् १८९३ बाट प्रारम्भ भएको मानिँदो रहेछ । यसपछि धनवीर भण्डारी, आत्माराम मगर, कृष्णबहादुर उदास, गजवीर राना र रामचन्द्र ढुङ्गाना आदिद्वारा लिखित सवाइहरू आएपछि नेपाली साहित्यले लहराउने समय प्राप्त गरेछ ।

यस पछि त साहित्यका विभिन्न विधामा कलम चलाउने र कृति प्रकाशन गर्नेको लामो पङ्क्ति नै निर्माण भइरहेको छ । जसमा हरिनारायण उपाध्याय, गङ्गाधर खतिवडा, जगन्नाथ उपाध्याय गुरागाईं, पद्मप्रसाद ढुङ्गाना, हरिप्रसाद शर्मा, नित्यानन्द तिम्सिना, टीकाप्रसाद शर्मा लुइँटेल, पुष्पलाल उपाध्याय, मित्रदेव शर्मा, प्रा.गोपीनारायण प्रधान, के.बी. नेपाली, हरिप्रसाद गोर्खा राई, हरिभक्त कटुवाल, युद्धवीर राणा, शिव आचार्य, इन्द्र अधिकारी, कर्णबहादुर क्षेत्री, शिव शास्त्री, कृष्णबहादुर राउत, कृष्णप्रसाद ज्ञवाली, गोविन्द शाण्डिल्य, डा.जयन्तकृष्ण शर्मा, होमबहादुर क्षेत्री, छविलाल उपाध्याय, हरि गजुरेल, मोहन सुवेदी, कृष्णविक्रम राणा, पुष्पधर शर्मा, सडकराज गिरी, आलोक गौतम, भविलाल लामिछाने, डा.लक्ष्मीप्रसाद पराजुली, प्रा.दुर्गाप्रसाद घिमिरे, प्रकाश बस्नेत, डा.कालिदास शर्मा, थपलिया, लक्ष्मण अधिकारी, गोपालबहादुर नेपाली, होमनाथ सुवेदी, प्रा.गोपीनारायण प्रधान, लीलबहादुर सुनार, डा.चन्द्रेश्वर दुवे, तुलबहादुर मालेमा, प्रा.टीकाराम  उपाध्याय, शिव आचार्य, अनिरुद्र गौतम, लोकनाथ उपाध्याय, खेमराज नेपाल, रणबहादुर क्षेत्री, रुपनारायण पाठक, पं.विद्यापति दाहाल, टीकाराम उपाध्याय, जगन्नाथ शर्मा, पं.हरिनारायण उपाध्याय, गोकुलप्रसाद जोशी, कुलबहादुर क्षेत्री, गुरुभक्त धिताल, कृष्णप्रसाद काफ्ले, बद्री गुरागाइँ, रामप्रसाद उपाध्याय ज्ञवाली, लक्ष्मण बोहोरा, शेरमान थापा, शशीकुमार शर्मा, टङ्कनाथ उपाध्याय, रेवतीमोहन तिमसिना, प्रा.देवीचरण सेडाइँ, रेवतीरमण सापकोटा, डिल्लीराम खनाल, इन्द्र गुरागाई, खड्गबहादुर कौशिक, दुर्वासा उपाध्याय, अग्निबहादुर क्षेत्री, लोकनाथ उपाध्याय चापागाईं, डम्बर दाहाल, दीननाथ निरौला, डा.देवेन सापकोटा, पद्म ढकाल, हरि लुइटेल, धनबहादुर राई, बबुरबहादुर राणा, गहीन उपाध्याय, शेरमान थापा, रवि शर्मा, पीताम्बर गुरुङ प्रा.जयनारायण लुइटेल, मोहन श्रेष्ठ, हरिप्रसाद शर्मा खनाल, काशीराम सुवेदी, डा.जमदग्नि उपाध्याय, श्यामराज जैसी, प्रेमसिंह सुवेदी, चोकबहादुर थापा, शिवशास्त्री, डा.लालुप्रसाद उपाध्याय, ज्ञानबहादुर क्षेत्री, छत्रमान सुब्बा, तारपति उपाध्याय, प्रजापति शास्त्री, अविकेशर शर्मा, मुक्ति गौतम, ढुण्डीराज उपाध्याय, कमल चम्लागाई, लोकनाथ उपाध्याय, कूलप्रसाद शर्मा, सुन्दर क्षेत्री, दुर्गाप्रसाद उपाध्याय, डिल्लीराम खनाल, भवानी अधिकारी, डा.सीताराम अधिकारी, डा.भक्त गौतम, घनश्याम तिम्सिना, डा.जगन्नाथ उपाध्याय, पद्म ढुङ्गाना, धर्मेन्द्र उपाध्याय, इन्द्रकान्त कार्की, नरबहादुर दर्जी, दामोदर ढकाल, रमेश दवाडी र बालकृष्ण उपाध्याय, अर्जुन निरौला, बुद्धि सुबेदी, कृष्णनील कार्की, मदन थापा मात्र होइन नारी स्रष्टाको सङ्ख्या पनि उस्तै रहेछ ।

मार्च १७ को साँझमा हामीलाई भेट्न गुहाटी, पानबजार स्थित होटल मिनरवामा आउनु भएको थियो लीलबहादुर क्षेत्री । अनि त्यही बेला डा. इन्दुप्रभावेदी र निरु शर्मा पराजुली सम्झी सम्झी महिला लेखकहरूका नाम भन्दै हुनुहुन्थ्यो । मुन्नि सापकोटा, टीका भट्टराई, सविता क्षेत्री, गोमा शर्मा, लक्ष्मी मिनु, डा.शान्ति थापा, प्रा.गीता उपाध्याय, मन्जु रेग्मी, रिना भुजेल, डा.नीरा देवी, डा. निर्मलादेवी, मैना थापा, डा.रश्मि रेखा शर्मा, दैवकी तिमसिना, विपा शर्मा, गोमा पौडेल (अधिकारी), दीपा शर्मा, श्रीमती रीतासिंह सर्जना, रोजी रानी शर्मा, डा. ऋतुस्मिता शर्मा, नयाँदेवी विजया शर्मा, तारा पराजुली, देवकादेवी शर्मा, मैना थापा, आशारानी शर्मा, सीता देवी अािद आदि । मैले त्यतिबेला नाम चाहिँ यही भिडमा पाएको थिएँ हरि गजुरेलको ।

आँखाले देखेको मान्छेभन्दा मनले बुझेको मान्छे नै असल हुँदा रहेछन् । दुई वर्षपछि मन चलाउने हरि सरसँग मेरै घरमा दुई रात्रि कालीन बसाइँमा यहाँका अन्य साहित्यिक इतिहासको बारेमा जान्ने मौका पाएको थिएँ । अहिले पनि मेरो डायरीमा हरि सरका शब्द र सम्झना छन् ।

= = = =           

कलमको निपले नै समुन्नतिको बिहान जन्माउने उभार बोकेका हरि गजुरेलबाट नै जानकारी पाएको हुँ– पहिलो स्नातकोत्तर गर्ने प्रा.गीता उपाध्याय, पहिलो विद्यावारिधि गर्ने डा. शान्ति थापा र पहिलो महिला उपन्यासकार नयाँदेवी हुनुहुँदो रहेछ । स्वयम् डा.इन्दुप्रभा र निरू शर्माले बालसाहित्य, कविता र निबन्धमा अग्र उपस्थिति जनाउनु भएको छ ।

भारतीय साहित्य अकादवी पुरस्कार लीलबहादुर क्षेत्री, पुष्पलाल उपाध्याय, विक्रमवीर थापा, गोपी नारायण प्रधान, छविलाल उपाध्याय, किरणकुमार राई, दुर्गा खतिवडा, डा.शान्ति थापा, पुष्पधर शर्मा, केवी नेपाली र तारापति उपाध्यायले प्राप्त गरिसक्नु भएको थियो । त्यस्तै साहित्यको सेवा गरेबापत हरिप्रसाद शर्मा गोर्खा, विष्णुलाल उपाध्याय, लीलबहादुर क्षेत्री, टीकाराम उपाध्याय निर्भीक, दुर्गाप्रसाद घिमिरे, छविलाल उपाध्याय, गीता उपाध्याय, तारपति उपाध्याय, डा.लक्ष्मीप्रसाद पराजुली र शेरमान थापा आजीवन साहित्य भत्ता प्राप्त गर्ने नेपाली लेखकहरू र अविनाश श्रेष्ठ (हालः काठमाडौं), सरस्वती सुनार (हालः सिलगढी), चन्द्रकला नेवार (हालः काठमाडौं), तुङ्गनाथ उपाध्याय (हालः अमेरिका), अर्जुन निरोला (हालः सिक्किम), लोकनाथ उपाध्याय (हालः सिलगढी), मुक्ति उपाध्याय बराल (हालः सिलगढी) र माया ठकुरी (हालः काठमाडौं) आदि यहाँका नेपाली भाषा, संस्कृतिका अनुपम उपहार रहेछन् । उत्तर पूर्वाञ्चल भारतमा नेपाली साहित्य श्रीवृद्धिका लागि स्रष्टाहरूले गरेको योगदान र राज्यले स्रष्टा र साहित्यलाई दिएको सम्मान देख्दा गर्वले मेरो छाती फुलेर आयो ।

सर्जकहरूलाई पढ्दा सायद यहाँ रोम जलिरहेको बेला पनि सिर्जना फुलेछन् । नेपालमा सिंहदरबार ढल्दा पनि सिर्जना फुलेछन् । रोल्पा, रुकुम जल्दा पनि रोकिएनछन् । साँच्चै, चेतना यहाँ रहेछ । विवेक यहीँ रहेछ । सहिष्णुता मच्छिन्द्रनाथसँगै रहेछ । प्रयोग र प्रतिपादनहरूले पात्रका उचाइलाई कबुल गर्ने क्रम जारी रहेछ । हामी त अहङ्कार र स्वाभिमानका नाममा द्वन्द्वरत नै रहेछौँ ।

उहाँले भनेकै यही हो– “उत्तर पूर्वाञ्चल भारतमा पहिले असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोराम, नागालेन्ड र त्रिपुरा पर्दछन् । तर अहिले भिन्ना भिन्दै भएका छन् । तर पनि हाल: उत्तर पूर्वाञ्चलभन्दा यी सबैलाई बुझिन्छ ।”

दीपक जी !

तपाईंहरू नेपालमा रहेर पनि हामी नेपाली भन्न सक्नु हुन्छ ?

२०१३ फेव्रुवरी १६, १७, १८ मा धरान (नेपाल) मा भएको भयवाद विमर्श कार्यक्रममा हरि सरले सोध्नु भएको प्रश्न सम्झिएँ । त्यसबेला मैले केही बोलेको थिइन । सुनि मात्र रहेथेँ । आशय मात्र अनुमान गरेथेँ ।

अहँ ! मन मनै भन्दै मात्र थिएँ ।

हामी नेपालमा रहेर पनि हामी नेपाली भन्न सकेका छैनौं । हामी त भन्दै छौं पहाडे, मधेशे, क्षेत्री, ब्राह्मण…. ।

“उत्तर पूर्वाञ्चल भारत वर्षमा बस्ने हामी नेपाली ।”

कसिएर मुठी उचाल्दै गर्वले हरि सर भन्दै हुनुहुन्थ्यो । तर अहिले हामी नेपाली, नेपालमा नेपाली जातीय विभाजन सोच्दै छौँ तर भारतमा बस्ने सम्पूर्ण नेपालीहरू एउटै भएर सम्पूर्ण नेपालीको पहिचान खोजी गरिरहनु भएको रहेछ ।

हामी त टोपीलाई राष्ट्रिय स्वाभिमानसँग जोडेर प्रचार मात्रै गरिरहेकाछौँ । इतिहासलाई स्वाभिमानमा गाँसेर व्याख्या गर्न हामी अभ्यस्त रहेछौँ । र, गाउँदै मात्र रहेछौँ, “मेरो टोपी कैलाशको शिरजस्तो, मेरो टोपी हिमाली भीरजस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने ।” कथा हालिएको किंवदन्तीमय इतिहासमा आत्मरति गरिरहेछौँ, “यो जन्मँदै जगत्मा कयौँ प्रहार आए, साम्राज्य दुई हारे, हारेन यो सान हाम्रो ।” तर एउटा अल्झन रही नै रहेको छ हरि सर, प्रत्येक नेपालीको मनमा, नेपाली शिरमा टोपी ठडियो कि ढल्कियो ? यो पनि गाउँ न त गाइरहेकै छौँ, “ढाका टोपी शिरैमा ढलक्क ढल्कियो ।”

मैले सिकेको हरिसँग यही हो–

“साँच्चै ! ढाका टोपीले न त राष्ट्रियता मजबुत बनाउँछ न स्वाभिमान उँचो पार्छ । जबसम्म हामी विकासको उकालो उक्लिएर सबल अर्थतन्त्र निर्माण गर्दैनौँ, गरिबीको दाग हटाउँदैनौँ तबसम्म हाम्रो राष्ट्रियता मजबुत हुँदैन, स्वाभिमान उँचो हुँदैन ।”

साँच्चै ! हरि सर, स्वाभिमानको अवधारणा र प्रतीकलाई वास्तविकताको कसीमा जाँच्नु आवश्यक छ अबको युवा पुस्ताले । स्वाभिमान त अरूले सम्मान गरेपछि मात्र सिर्जना हुने रहेछ ।

हरि गजुरेललाई एउटा रसिक कवि र सधैँ नवीन चेतका स्रष्टा एवं द्रष्टाका रूपमा हेरेको हुँ मैले । उहाँसँगको केही रातको बसाइमा उहाँका कविता र गीत अनि विश्लेषणात्मक दृष्टिले मलाई स्पर्श गरेको छ ।

भयवाद अध्ययन प्रतिष्ठानको आयोजनामा नेपाल (सुनसरी जिल्लाको धरान) मा भएको भयवाद विमर्श तथा अन्तर्देशीय साहित्यिक सद्भाव कार्यक्रममा पहिलो पटक भेट भएको हो, अग्लो कदको अग्लै मान्छे हरि सरसँग । जहाँ मैले भयवाद विगत, वर्तमान र भविष्य शीर्षकमा कार्यपत्र प्रस्तुत गरेको थिएँ । त्यसको दुई वर्षपछि पुष महिनाको दोस्रो सातातिर मेरै घर झापाको गौरादहमा दुई रातसमेत बस्नु भएको थियो ।

“दीपक जी, नमस्कार म हरि गजुरेल आएको छु है ।”

कहिले काहीँ नेपाल आएका बेला भन्नु हुन्थ्यो । झापाकै दमक, बिर्तामोड र काँकडभिट्टामा पटक पटक भेट भएको थियो । तर आज यस्तो लागि रहेछ– “भेटेको वा देखेको समय गणनाको हिसाबले भन्दा पनि सामीप्यको दूरीले प्रगाढ बनाउँदो रहेछ सम्बन्धलाई ।” अनि सोच्दै छु, कसैसँग सम्बन्ध स्थापित गर्नुको मापदण्ड पनि लागू हुन्छ र ! नत्र, यतिको भौगोलिकताको दूरमा रहेर व्यस्त दिनहरूमा संस्मरणमार्फत हरि गजुरेल सरलाई सम्झनुको के अर्थ रहन्छ र ?

विशाल छाती र सुनौलो सपना बोकेका वहाँका गीतहरूले कहीँ कहीँ कतै न कतै सबैलाई छुन्छ । छोएको थियो मलाई पनि, कतै देशभक्तिको भावनाले ओतप्रोत गीतले त कतै उकाली चढ्दा पसिना पुछ्दा मायालुका हातहरू समाउँदाका क्षणहरूले । त्यहाँदेखि उहाँको चेतना, रचना र सिर्जनशीलतालाई पढ्दै आएको थिएँ । बिर्सिन सकेको छैन । आज पनि ताजै छ, त्यो आवाज अनि ती शब्दहरू–

नीलिम विशाल हे ! आकाश

मलाई एक अञ्जुली उज्यालो देऊ

मेरो सुप्त चेतना ब्यूँझाउन

नौलाखे ताराको झिलिमिलिछँर्दै

मेरो हृदयभरि शरदचन्द्रझैँ, एक पसारो उज्यालो देऊ

जीवनको अर्थ खोज्दै थाकिसकेका आँखाका परेलीहरूलाई

विश्रान्तिको सञ्जीवनी देऊ

नीलिम विशाल तिमी

हे आकाश

मलाई हाँस्न सक्ने उज्यालो देऊ ।

थाकिसकेछन् जागृत धेरै रातहरू

जीवन गणितका हिसावका समाधान खोज्दै

हुत्याइदिएछ मेरो आशाको महल

वेदनाका फागुने हुरीले ।

हृदयको खेतलाई मलिलो बनाउन

हे आकाश

मलाई एक झर पानी बर्साइ देऊ  ।

मान्छेले मान्छेलाई मन पराएको हेर्न

मान्छेकै मुखमा मृदु मुस्कान छर्न

आनन्दमा नाचेका आँखाका परेली हेर्न

मलाई अलिकति उज्यालो देऊ

नीलिम विशाल हे आकाश

मलाई एक पसारो उज्यालो देऊ ।  

= = = = 

हरि सरसँगका सामीप्यका दीपहरू अहिले पनि अँधेरी रातका जुनकिरीझैँ भएर पिलपिलाइरहेछन्, अनि गहिरा सम्झनाहरू भने जुनेली रातका ताराहरूझैँ अहिले पनि जगमगाई रहेछन् । उहाँले भन्नु भएको थियो– असममा नेपालीहरूको सङ्ख्या त्यति नगण्य नभएता पनि अरू जाति सरह आफ्नो वास्तविक अधिकार र शक्ति सामर्थ्यप्रति सचेत अथवा जागरूक नहुनाले गर्दा आफैँलाई उपलब्धि गर्न नसक्ने स्थितिमा नै बाँचिरहेकाछौँ । ब्रम्हपुत्रको पाहारिलो पाखामा, कसेनी घारी र नलेनीका बुटाभित्र आफ्नो भविष्यत थन्क्याउँदै अथवा अरुणचलको ढुङ्गे जङ्गलमा भैँसी र गाई गोरुको अघि बढ्ने ज्ञानको अभावले जगमगाउँदो भोलिको सुसेली सुन्न नसक्नु अथवा उज्यालो बिहानको चाहना नगर्नाले गर्दा जातिसत्ताको आधारमा आफैँलाई पहिल्याउन नसकेको अनुभव उहाँको थियो ।

टाढाबाट, टाढासम्म नियाल्छु । साँच्चै, ओझेलमा हुनुहुन्छ हरिसर । लाग्छ– चारआली उदास छ । चराचुरुङ्गी पनि स्तब्ध होलान् । तर पनि बिहानीले हावामा यी फूलको बास्ना ल्याउन छोडेको छैन होला । अनि छोड्दै पनि होला ।

असमेली नेपाली संस्था सङ्गठनहरूले व्यक्ति स्वार्थलाई त्यागेर एक जुट हुँदै समस्या समाधानको बाटो पैल्याउनु पर्छ, नेतृत्वको उच्चासनमा बसेका व्यक्तिहरूले राजनैतिक दलीय भावनाभन्दा जातीय हित र कल्याणको भावनालाई अग्रासन दिन सक्नु पर्छ अनि प्रयोजन सापेक्ष विज्ञजनहरूको सल्लाह बिचार परामर्श लिनु पर्छ, भनेर असमेली नेपाली जातीय जीवनलाई अघि बढाउनु पर्छ भने गजुरेलले समाधानको बाटो समेत उसै बेला पहिल्याउनु भएको थियो । हरि सरका सुकर्महरू सदैव नेपाली समाज र साहित्यमा जगमगाई रहनेछन्, झिलिमिली ती ताराहरू जस्तै बनेर ।

मैले हरि गजुरेललाई एउटा नयाँ युग द्रष्टा एवं स्रष्टाका रूपमा समयले उभ्याएको पाएको छु । यहाँ नयाँको अर्थ यस क्षेत्रको नव प्रवेसी भन्ने पटक्कै होइन, किन भने हरि गजुरेल भारतीय नेपाली साहित्य र समाजमा एउटा परिचित नाम हो । रचनालाई आधिकारिक, विश्लेषणात्मक, अपरम्परित वा नवीन दृष्टिकोणका साथ उहाँको हेराइ जुन पाठकीय दृष्टिमा पूर्ण हुन्थ्यो । त्यसैले हरि गजुरेललाई रचनाका आधारमा र समालोचकीय चेतका आधारमा नयाँ द्रष्टा भनेको हुँ ।

उज्यालोमा भएर पनि हामीमा उज्यालो घाम त कहिले पो लाग्ला र हरि सर ! कि लाटोकोसेराहरू छन् रात खोज्नेहरू, कि उज्यालोमा अँध्यारो देख्दै नदेख्ने अन्धाहरू छन् । तरङ्गले तरङ्ग तर्काउँदो रहेछ । तर्क र तरङ्गको जीवन जगत्मा तर्क पनि तरङ्ग बन्छ । तरङ्ग तर्किन्छ । तरङ्गै तरङ्गमा मच्चिन्छु । फगत तर्कलाई अङ्कमाल गर्दै शब्दलाई मनले सुमसुम्याउँछु, अहो ! जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।

अन्त्यमा, दुई रात तीन दिनको बसाइ, साँच्चै जीवन र जीविकाका दुई किनार भई बगेका तीतामीठा अनुभूतिले सिँगारेका ती क्षणमा लाग्छ आज पनि ब्रम्हपुत्र अझै उस्तै बगिरहेको अनुभूतिको भारी लिएर उहीँ– जहाँ कहिले तड्पँदै रातहरूमा त कहिले शित बन्दै तप्कँदै पातहरूमा लक्ष्मीप्रसाद र हरिभक्त भोकभोकै बाँचेको अनि लीलबहादुरहरू बसाइँ हिँडेको त्यही देशबाट शब्दाञ्जली हरि सरप्रति ।