स्याङ्जा जिल्लाको फापरथुम निवासी पूर्व कृषिमन्त्री त्रिलोचन ढकालजीको फेसबुक भित्ताबाट त्यहाँ स्थित आनन्दआश्रम ज्ञानकेन्द्रमा २०८० माघ २६ र २७ गते वृहत् साहित्य सम्मेलनमा सहभागी हुन निम्ताको जानकारी केही दिनदेखि निरन्तर प्रसारित भइरहेकै थियो । अन्यमनस्कमा थिएँ जाऊँ कि नजाऊँ । यस्तैमा एक दिन गाउँले देउराली साप्ताहिक समाचारपत्रका सम्पादक रामप्रसाद अर्यालजीले फापरथुम जाऊँ सर भन्दै फोन गर्नुभयो । पाल्पा पोखराथोकबाट हरिप्रसाद भट्टराई, टंक पन्थ सरसहित अरु पनि दुईचार जना जाने कुरा सुनाउनुभयो । “हुन्छ सर, म जान्छु” भनेर मैले तुरुन्तै सहमति दिएँ ।
यात्रा प्रस्थान :
२६ गते बिहानैदेखि कार्यक्रम भएकोले त्यसै दिन गएर अबेर हुन्थ्यो । २५ गते रातीको यात्राबाट २६ गते बिहानै त्यहाँ पुग्ने गरी भैरहवाका वरिष्ठ साहित्यकार कपिल लामिछानेले यात्राको तारतम्य मिलाउनुभएको रहेछ । एउटा बस रुपन्देहीतिरका स्रष्टाहरूलाई लिएर राती १० बजे तानसेन आउने र बर्तुङ्गबाट त्यसैमा हामी पनि बसेर स्याङ्जा जाने जानकारी रामप्रसादजीले गराउनु भयो ।
राती आठ बजे नै म रामप्रसादजीको घर बारुदखान पुगेँ । दमकडाबाट राधाकृष्ण सर पनि त्यहाँ आउनुभएको रहेछ । ९ बजेतिर टंक पन्थ सर पनि त्यहाँ आइपुग्नु भयो । हामी गफगाफ गर्दै थियौं त्यसै बेला बस पर्वास आइपुगेको खबर आयो । आ-आफ्ना झोला बोकेर हामी तल सडकमा झर्यौं । बर्तुङ्गभन्दा अगाडि हामी भएकै ठाउँमा हामीलाई लिन बस आइपुग्यो । हामी चारजना पाल्पाली पनि बसमा चढेर लाग्यौं स्याङ्जातिर । पोखराथोकबाट हरि भट्टराई पनि बसमा चढ्नु भो । अर्को दिन बिहानै बाइकमा गोम विक्रम र गणेश नेपाली पनि जाने खबर पाइयो । पाल्पालीको सहभागिता ७ जना पुग्ने भयो भन्ने लाग्यो ।
टंक पन्थ सरसँगको यात्रा अति रमाइलो हुन्छ । वातावरणलाई रमाइलो पार्न उहाँ खप्पिस हुनुहुन्छ । उहाँको ठट्यौलो स्वभाव र कुराकानीले भेटघाटलाई आनन्ददायी बनाउँछ । रुपन्देहीबाट आउनुहुने महिला स्रष्टाहरू पनि रमाइला र रसिक हुनुहुँदो रहेछ । तानसेनबाट बस अगाडि बढेपछि बसभित्र चल्न थाल्यो रमाइलो दोहोरी । आरामदायी डिलक्स बस थियो । माघ महिना, रातीको यात्रा । केही जाडो हुनु स्वाभाविक नै थियो । दोहोरीको गर्मीले जाडो र निद दुवै हराएको थियो हाम्रो । आफूले पनि ताली पिटेर साथ दिइयो ।
पिपलडाँडा पुगेपछि एउटा चमेना गृहमा बस रोकियो । त्यहाँ चिया खाएर अघि बढ्ने सल्लाह भयो । राम सरले एक कार्टुन सेलरोटी लानुभएको रहेछ । चियासँग रोटी पनि खाऊँ भन्दै कार्टुन निकाल्नुभयो । चियासँग सेलरोटी पनि चाखियो । त्यहाँ केही बेरको विश्राम पछि हामी आफ्नो गन्तव्यतिर लाग्यौं ।
पिपलडाँडाबाट अघि बढेपछि पुनः केही बेर दोहोरी गीत गाएर रमाइलो गर्नुभयो साथीहरूले । त्यसपछि भने सबैलाई निद्राले सताउन थाल्यो । निदाउन सजिलो हुने गरी आ-आफ्नो सिटलाई पछिल्तिर ढल्काउँदै आफूसँग भएका न्याना बर्कोहरूले जिउलाई लपेटेर न्यानो पार्दै निदाउने कोशिस गर्नुभयो साथीहरूले ।
राती ३ बजे स्याङ्जाको पुतलीबजारभन्दा केही पर सानो चिया पसल भएको ठाउँमा बस रोकियो । “अब म सुत्छु । बिहान ७ बजे मात्र बस अघि बढ्छ” भन्दै चालक भाइ चालक सिटको पछाडि लुगा ओढेर लम्पसार परे ।
चालकले सुत्नुपर्छ । निद्रा राम्ररी पुर्याउनु पर्छ, अनि बल्ल यात्रीको यात्रा सुरक्षित हुन्छ । अब केही समय हामी पनि सुतौं भन्दै निदाउने प्रयत्नमा लाग्यौं । तर दश मिनेट पनि नबित्दै बाघ ङुर्केजस्तो “ङरर्र, ङरर्र,” गर्दै घुर्न लागे चालक भाइ । उनको गर्जनायुक्त घुराइले हाँसोको फोहरा छुट्यो बसभित्र केही बेर । उनको निद्रा बिथोलिने डरले बिउँझाउन पनि सकिएन । बसको अगाडिका सिटमा बस्नुभएको केही साथीहरू पछाडिको खाली सिटमा गएर सुत्नुभो । केही साथी भने बसबाट ओर्लेर त्यहीँको चिया पसलमा चिया खाने, आगो फुकेर आगो ताप्ने, पसलमै बेच्न राखेका वनतरुल किनेर आगोमा पोलेर खाने गरेर रमाइलैसँग रात व्यतीत गर्नुभो ।
भनेकै समयमा बिहान ७ बजे चालक बिउँझिए । हातमुख धोएर आफू ताजा भएपछि बस स्टार्ट गरे । बस बाहिर भएका सबै साथीहरू बसमा चढ्नुभो । बस अघि बढ्यो । नाउडाँडा (नागडाँडा) पुगेपछि बस बायाँतर्फ मोडियो र लाग्यो आँधिखोलातर्फ । दुई, तीनवटा खोला तरेर केही घुम्तीहरू पार गर्दै साढे सात बजे नै बस हाम्रो गन्तव्य फापरथुमको विश्रामस्थलमा गएर रोकियो । आफ्ना झोला बोकेर हामी सबै बसबाट ओर्लियौं ।
आतिथ्यता र आश्रम अवलोकन:
बस रोकिएकै ठाउँ अगाडि दायाँतर्फ पण्डित आनन्दमणिको संक्षिप्त परिचयसहित पद्मासनमा बसेको भव्य सालिक थियो भने बायाँतर्फ आनन्द आश्रमको स्वागत गेट । सालिक रहेको स्थानभन्दा केही माथि आनन्दआश्रम रहेछ । त्यसको भव्यता तलैबाट झल्किन्थ्यो । हामी गेटबाट माथि निस्कियौं । त्रिलोचनजीको निवासमा पुग्दा उहाँ, उहाँकी सुपुत्री सुस्मिता ढकाललगायतका महानुभावहरूले हामीलाई न्यानो स्वागत गर्नुभयो । हामीले हाम्रा झोलाहरू आश्रमको पुस्तकालयमा राख्यौं । पुस्तकालयका निम्ति आफूले लगेका पुस्तकहरू प्रदान गर्यौं । आफ्नो सरसफाइबाट हामीले आफूलाई स्फूर्त बनायौं ।
उता हाम्रा लागि तातो पानी, चिया, नास्ता तैयार थियो । तातो पानी पश्चात् चिया नास्ता खायौं । पोखरा, काठमाडौंदेखि स्रष्टाहरू आउने क्रम जारी थियो । कार्यक्रम सुरु हुन केही समय बाँकी थियो । त्यो समयको सदुपयोग गर्दै पण्डित आनन्दमणिले गुरुकुल सञ्चालन गर्नुभएको संरचनाहरू हेर्यौं । पहिले शिष्यहरूका कुटीहरू भएको बारीमा केरा रोपेर जमिनको सदुपयोग गरेको पाइयो । केराका बोट भने राम्रा थिएनन् । आश्रम वरिपरिको जग्गामा व्यवस्थित रूपले सुन्तला, कागती खेती राम्रो हुने लाग्यो । घरदेखि माथि प्रशस्त कटुसका रुखहरू भएको वन रहेछ । त्यो वन र सेरोफेरोका जग्गाहरूमा मौरी चर्नेखालका बोटबिरुवा लगाएर मौरीचरन क्षेत्रलाई अलि व्यवस्थित गरेर मौरीपालन पनि आश्रममा जोड्न सक्ने हो भने आश्रममा आउने आगन्तुकलाई परिश्रम कसरी गर्नुपर्छ भन्ने पाठ मौरीले सिकाइरहने थियो भन्ने लाग्यो । मौरीको घार नजिकै बसेर मौरीको भुनभुनाहट सुन्दै ध्यानसाधना गर्न पाए कति आनन्द हुन्थ्यो होला भन्ने पनि मनमा कल्पना आयो ।
एउटा परिवारले आफ्नो समयमा शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका आफ्ना मातापिताको सम्मानमा यस्तो रचनात्मक कार्य गर्ने सोच आउनु, त्यो सोचलाई मूर्त रूप दिनु महान् कर्म लाग्यो । पितापुर्खाको पदचिह्न पछ्याउँदै गरिएको यो सुकर्मप्रति हृदयदेखिनै सम्मान जाग्यो । नतमस्तक भयौं हामी ।
त्रिलोचन ढकालजीका मातापिताको नाम “आनन्दमणि नन्दकला टुल्की स्मृति प्रतिष्ठान” गठन गरिएको र कार्यक्रमको आयोजक संस्था त्यही प्रतिष्ठान रहेछ । त्यहीँ अर्को संस्था “आनन्द आश्रम ज्ञानकेन्द्र” रहेछ । त्यसले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन गरेको रहेछ । यी दुवै संस्था मिलेर यो भव्य कार्यक्रम सम्पन्न हुन गइरहेको जानकारी गरियो ।
कार्यक्रम प्रारम्भ:
निर्धारित समयभन्दा केही ढिला गरी आनन्दमणि आश्रमका उपाध्यक्ष प्रेम लुइँटेलको अध्यक्षता, गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भयो । ताप्लेजुङदेखि बैतडीसम्मका दुई सय बढी स्रष्टाहरूको भव्य उपस्थिति थियो कार्यक्रममा । सुरुमा सामूहिक राष्ट्रिय गान भयो । त्यसपछि प्रमुख अतिथिले ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । संस्थाकी सचिव सुस्मिता ढकालले सुन्दर ढङ्गले कार्यक्रम सञ्चालन गर्न थाल्नुभयो । ज्ञानकेन्द्रका अध्यक्ष ओम शर्माले अतिथिहरूलाई स्वागत गर्नुभयो । संस्थाका अध्यक्ष दीप्तिनारायण शर्माले संस्थाको परिचय प्रस्तुत गर्नुभयो । आनन्दमणि आश्रम र ज्ञानकेन्द्रका संस्थापक, संरक्षक त्रिलोचन ढकालले आफ्ना पूजनीय पिता स्व. पण्डित आनन्दमणिले तत्कालीन समयमा शिक्षाको क्षेत्रमा पुर्याउनुभएको योगदानको सविस्तार चर्चा गर्नुभयो ।
तदुपरान्त त्रिलोचन ढकालद्वारा लिखित लघुकथा “पेच” र आनन्दआश्रम ज्ञानकेन्द्रको जानकारी सम्बन्धी दुई पुस्तक विमोचित भए । सँगसँगै खगेन्द्र बस्यालद्वारा रचित सन्देशमूलक हाइकु प्रदर्शन गरियो र भोजनका लागि एक घण्टा विश्राम गरियो ।
काव्यगोष्ठी:
तात्तातो, स्वादिष्ट भोजनपश्चात् सुरु भयो काव्य गोष्ठी । काव्य गोष्ठीको अध्यक्षता शुभ शर्मा र प्रमुख आतिथ्यता महाकाव्यकार मुकुन्द शर्माले गर्नुभयो ।
काव्य गोष्ठी निकै रोचक थियो । छन्दोबद्ध, मुक्तछन्द, मुक्तक, हाइकु, साइनोलगायतका कविताका विविध उपविधाका निकै चोटिला कविताहरू सुन्न पाइयो । आफूले पनि साइनो कविता वाचन गरियो ।
काव्यगोष्ठी पछि कवि डा.रमेश शुभेच्छुकले कविता सम्बन्धी निकै जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसपछि रमाइला भजन, कीर्तन प्रस्तुतिले त्यस दिनको समय बितेको पत्तै भएन । झमक्क साँझ परिसकेको रहेछ ।
आफन्तको आतिथ्यता :
भोजनपश्चात् थकित शरीरलाई आरामको आवश्यकता थियो । आश्रममै पनि सुत्ने प्रबन्ध गरिएको थियो । केही साथीहरूलाई पूर्व व्यवस्था गरिएअनुसार स्थानीय किसानहरूका घरमा स्वयंसेवकहरूले लैजानुभयो । म आफू र गाउँले देउरालीका सम्पादक रामप्रसाद अर्याल सर फापरथुमदेखि पश्चिमतर्फ केही पर वरपिप्ले गाउँका मेरा कान्छा सम्धी अग्निप्रसाद ढकालजीको आतिथ्यता स्वीकार गर्दै उहाँको घर गयौं । उहाँले दुईवटा बाइकको व्यवस्था गरी हामीलाई लिन दुईजनालाई पठाउनुभएको रहेछ । मिठो भोजन उस्तै मिठो निद्रा, निकै न्यानो आतिथ्यता पायौँ उहाँकहाँ ।
यहाँ सम्धीजीको केही कुरा उल्लेख गर्न मन लाग्यो । उहाँको एक मात्र छोरा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत जानुभएको रहेछ । बुहारी बैंकको जागिर स्याङ्जा बजार बस्नुहुँदो रहेछ । चार छोरीको बिहे भएर आ-आफ्ना घर । उहाँ र सम्धिनी मात्र घरमा । घरमा राइस मिल राख्नुभएको रहेछ । बीसओटा बाख्रा पनि रहेछन् । आफैले बिहान साँझ मिल चलाउने र दिउँसोमा बाख्रा लिएर घरदेखि उत्तरतर्फ रहेको भाल्सिङ् भन्ने वनमा बाख्रा चराउन लानुहुँदो रहेछ । ७२ यो उमेरमा उहाँको यो मिहिनेत र श्रमलाई नमन गर्यौं ।
सतौंकोट अवलोकन :
अर्कोदिन बिहान सतौंकोट अवलोकन, सतौं चण्डी दर्शनको योजना थियो । चिया खाएपछि हामी दुईजना पैदलै त्यहाँ पुग्ने निश्चयका साथ अघि बढ्यौं । सम्धीजीले घरदेखि माथि भाल्सिङ् डाँडाको वनसम्म आएर हामीलाई बाटो बताइदिनुभयो । उहाँले बताएअनुसार कहिले वन, कहिले बस्ती हुँदै सतौंकोट रहेको स्थानतर्फ निस्कियौँ । बाटोमा महतगाउँ, खत्रीगाउँ, क्रियापानी हुँदै दुई घण्टाको पैदल यात्रा पछि अन्ततः माथि रजस्थल मावि भएको ठाउँमा पुग्यौं । त्यहीँ एउटा रङ्गशाला पनि बनेको रहेछ ।
चिटिक्क चारपाटे ढुङ्गाले छापेका घरआँगन, ढुङ्गाकै छानो भएका घरहरू यत्रतत्र देखिन्थे । डहरमा गाडिने तगारोको खाँबोसमेत पनि ढुङ्गाले बनेको पाइयो । त्यहाँ पाइने स्लेट ढुङ्गाखानीको कति राम्रो उपयोग गरिएको रहेछ पहिले । अहिले त्यस्ता खनिजको उपयोग गर्ने नीति राज्यसँग के छ कुन्नि ?
सतौँ चण्डी प्रवेशद्वार नजिकै रहेको कविता जीटीको घरमा एकछिन् विश्राम गर्यौं हामीले । त्यहीँ तातो पानी पिएर माथि उकालो लाग्यौं । त्यहीँ अघिदेखिको प्रसिद्ध सोह्र घरको बस्ती रहेछ । अहिले पनि नेवार, घर्ती, मगर, ठकुरी गरी लगभग सोह्र घर नै त्यहाँ बसोबास गरेको कुरा एक स्थानीयले बताउनुभयो । दश मिनेट जति हिँडेपछि माथि सतौंकोट, सतौं कालिका पुगियो । स्लेट ढुङ्गा चिटिक्क चिनेर बनाएको बाटोको दुवैतर्फ पर्खाल, ढुङ्गाकै सिँढी हुँदै कोटसम्म पुग्ने बाटो र माथि अलिकति समथर ठाउँमा ढुङ्गाले बनेको परिसरमा दक्षिणतर्फ फर्केको सतौं कोटले शिर ठाडो पारेर पृथ्वीनारायण शाहको शक्तिशाली फौजलाई युद्धमा परास्त गरेको गौरवशाली गाथा गाइरहेको प्रतीत हुन्थ्यो ।
सतौँकोटको दायाँतर्फ रहेको लिफ्टिङ् खानेपानी ट्याङ्कीबाट छलछली पानी बगिरहेको थियो । पानीको राम्रो सुविधा रहेछ त्यहाँ भन्ने प्रमाण हो यो भन्ने लाग्यो । युद्ध जितेपछि शक्ति पीठको स्थापना गरी पूजा गर्ने प्रचलनअनुसार सतौँ कालिका शक्ति पीठको स्थापना गरेर पूजाआजा गर्ने प्रचलन रहेछ । त्यहाँ मगर पुजारीबाट पूजाआजा हुँदो रहेछ । अलि पर सतौँ राज्यका तत्कालीन राजाको दरबारको भग्नावशेष पनि रहेछ । त्यहाँबाट वरिपरि हेर्दै पूर्वतर्फ रहेको सुन्दर बस्ती, माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खलालाई आफ्नो मोबाइल क्यामेराले कैद गर्न थाल्यौं । सतौँ कोटको पारिपट्टि भेडाबारी, चिलाउनेखर्क, छरीखोला, दह्रौंडाँडा, थाप्लेडाँडा आदिको चिनारी एक स्थानीयले गराउनुभयो । थाप्लेडाँडामा रहेको ठूलो बुद्धको मूर्ति त्यहीँबाटै पनि देख्न सकिन्थ्यो । त्यहाँबाट देखिने दह्रौँडाँडाको पल्लोपट्टि पर्यटकीय गाउँ सिरुबारी पर्दो रहेछ ।
यतिकैमा फापरथुमबाट बसयात्रा गरी सबै साथी आइपुग्नुभयो । साथीहरुको उपस्थितिले त्यहाँको रौनक नै अर्कै भयो । अभिवादनसँगै आफ्नो र वरिपरिका आकर्षक दृश्यहरूको फोटो खिच्ने क्रम सुरु भयो । कहिले एकल त कहिले समूहमा । यस्तैमा एकजना स्थानीयले सुरुमा खान वंशले राज्य स्थापना गरेको, पछि त्यही वंश खाँण, शाही हुँदै शाह बन्न पुगेको ऐतिहासिक तथ्यको जानकारी गराउनुभयो । यस्तैमा साहित्यकार खगेन्द्र बस्यालजीले एफोर साइजको पेपरमा ठूला अक्षरमा लेखेर कागजलाई लेमिनेशन गरिएका हाइकुहरू साथीहरूमा हत्तपत्त वितरण गरेर फोटो खिच्ने क्रममा आफ्ना केही सन्देशमूलक हाइकु प्रदर्शन गर्न भ्याउनुभयो । सतौंकोटको वातावरण पति साहित्यमय बन्यो केही बेर ।
सतौंकोट भएको थुम्कोको दक्षिणतर्फको फेदीबाट दक्षिण पश्चिममा तल टिकाजा फाँट, टिकाजा उपत्यका र त्यस वरिपरिका अग्ला पहाड र बस्तीहरूको सुन्दर दृश्य मनमोहक थियो । सतौंकोट थुम्काको फेँदबाट प्याराग्लाइडिङ उडान हुनसक्ने ठाउँ पो रहेछ । जिज्ञासा राखेँ । त्यसको परीक्षण उडान पनि भएको भन्ने जानकारी पाएँ । परीक्षणको नतिजा के आयो थाहा छैन तर त्यहाँ प्याराग्लाइडिङ पनि जोड्न सके त्यस ठाउँको पर्यटन विकासमा सुनमा सुगन्ध हुनेछ भन्ने लाग्यो ।
कोटको दक्षिणतर्फ केही तल पशुपति मन्दिर र अझै तल प्रसिद्ध सतौंचण्डी मन्दिरको पनि दर्शन गर्ने अभिलाषा थियो । तर यतिन्जेल दिउसोको लघुकथा गोष्ठीका कार्यक्रममा ढिला भैसकेको थियो । अब अरू समय त्यहाँ खर्च गर्नु सम्भव थिएन । हामी थप विलम्ब नगरी तल रजस्थल मावि भएको चोकमा झर्यौं । त्यहाँ हाम्रा बसहरू प्रतीक्षारत थिए । हामी बसमा चढेर फापरथुमतर्फ लाग्यौँ ।
लघुकथा गोष्ठी :
फापरथुममा पुग्दा हाम्रा निम्ति भोजन तैयार थियो । खाना खाए लगत्तै त्यस दिनको लघुकथा गोष्ठीको कार्यक्रम साहित्यकार रचना शर्माको अध्यक्षतामा प्रारम्भ भयो । प्रमुख अतिथि डा. गणेशमान गुरुङ हुनुहुन्थ्यो । गोष्ठीको प्रथम सत्रमा कपिल लामिछानेले लघुकथा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि डा. पुष्करराज भट्टले टिप्पणी गर्नुभयो । कार्यपत्रमाथि सहभागीहरूका तर्फबाट पनि केही जिज्ञासाहरू राखिए । अन्त्यमा टिप्पणीको क्रममा उठाइएका र सहभागीहरूका तर्फबाट उठेका जिज्ञासाको जवाफ कपिल लामिछानेले दिनुभयो ।
त्यसपछि सरस्वती बन्दनाबाट लघुकथा वाचनको क्रम शुरु भयो । स्रष्टाहरूबाट विकृति, विसंगतिहरूप्रति प्रहार गरिएका एकसेएक चोटिला लघुकथाहरू वाचन गरिए । चालिस भन्दा बढी स्रष्टाहरूले लघुकथा वाचन गर्नुभयो । अन्त्यमा अध्यक्ष रचना शर्माले सबैलाई धन्यवाद दिएर लघुकथा गोष्ठीको कार्यक्रम समापन गर्नुभयो ।
यतिन्जेल रातीको नौ बजिसकेको थियो साहित्यको नसाले यसका अनुरागीहरूलाई लट्ठ्याइरहेको थियो । मन्त्रमुग्ध बनाइरहेको थियो । निदा र जाडो हराइदिएको थियो । त्यसपछि भोजनतर्फ लागियो ।
साहित्यिक सांस्कृतिक बहस :
अबको कार्यक्रम “साहित्यिक सांस्कृतिक बहस” को थियो । कार्यक्रम भूगर्भविद् डा. लालुप्रसाद पौडेलको अध्यक्षता तथा त्रि. वि. सेवाआयोगका पूर्व अध्यक्ष विश्व पौडेलको प्रमुख आतिथ्यतामा शुरु भयो । बहस कार्यक्रममा आठ जना वक्ताले आफ्ना विचार राख्नुभयो । प्रत्येक वक्तालाई आठ मिनेट भित्रमा तोकिएको विषयमा आफ्नो विचार राख्नुपर्ने थियो ।
यसमा मित्रलाल पंगेनीले- अबको साहित्य कस्तो हुनुपर्छ ?
डा. सीता सुवेदी पन्थीले- नारीलाई सिर्जनामा कलम चलाउन पुरुषलाई भन्दा के फरक छ ?
कुमार राणाले- साहित्यको विकासमा सञ्चार प्रविधिको प्रयोग कसरी ?
रुद्र ज्ञवालीले- साहित्यमा केन्द्र र मोफसल सम्बन्धी सोच कस्तो छ ?
मिलन समीरले- स्याङ्जाको लघुकथाको अवस्था कस्तो छ ?
विश्वप्रेम अधिकारीले- स्याङ्जाको लोक साहित्यको अवस्था र
डा. टंकप्रसाद पन्थले-साहित्यमा स्थानीय सरकारको भूमिका के कस्तो छ ? भन्ने विषयहरू तोकिएको थियो ।
बहसमा तोकिएको समयभित्रै वक्ताहरुले राख्नुभएका सटीक, तथ्यपरक, रोचक र ज्ञानवर्धक विचारहरूले श्रोताहरूलाई विचारमग्न बनाएको थियो । यो कार्यक्रमले धेरै तथ्यहरू उजागर गर्यो । सहभागीको मनमा राम्रै प्रभाव पारेको थियो ।
बहस कार्यक्रम सकिएपछि नेपालको एक मात्र अनलाइन साहित्यिक पत्रिका ‘साहित्यपोस्ट’ का सम्पादक अश्विनीकुमार कोइरालाले साहित्यपोस्टमा अनलाइनमार्फत पुराना किताब पढ्न पाइने, कसैलाई थोरै मात्र किताब छाप्नुपर्ने अवस्था भएमा कम्तीमा दुईप्रति पनि छापेर दिन सकिने जानकारी दिनुभयो । उहाँले आफ्ना रचना साहित्यपोस्टमा प्रकाशनार्थ पठाउन पनि स्रष्टासमक्ष अनुरोध गर्नुभयो ।
सम्मान, पुरस्कार
आनन्दमणि टुल्की नन्दकला अक्षयकोषबाट २०८० मा प्रा. डा. जगदीशचन्द्र भण्डारीलाई नगद रु २५ हजारसहित, ताम्रपत्र र दोसल्ला, डा. महेश्वर शर्मा र डा. पुष्करराज भट्टलाई सम्मानपत्र र दोसल्ला, उत्कृष्ट विद्यार्थी शिखा सुनार र संयोग डुम्रेलाई ५/५ हजार नगद सहित सम्मान गरियो ।
समापनः
स्रष्टा लोकबहादुर थापाले कार्यक्रमको आयोजना र व्यवस्थापनप्रति आयोजकलाई धन्यवाद र सम्मानित, पुरस्कृतहरूलाई बधाई दिनुभयो । सुशिला सापकोटा, छवि सुवेदी र रामप्रसाद अर्यालले कुशल व्यवस्थापनको प्रशंसा गर्दै यस्तो गाउँबस्तीमा यस्तो भव्य कार्यक्रमको आयोजना हुनु सुखद पक्ष रहेको विचार राख्नुभयो ।
अन्त्यमा कार्यक्रमका प्रमुख अतिथि विश्व पौडेलले दुईदिन सम्मका कार्यक्रमहरूका बारेमा आफ्ना गहन विचारहरू राख्नुभयो । कार्यक्रमका अध्यक्ष लालुप्रसाद पौडेलले सबैलाई धन्यवाद दिनुभई सम्पूर्ण कार्यक्रमको समापन गर्नुभयो ।
फिर्तीयात्राः
यतिन्जेल रातीको पौने बाह्र बजिसकेको थियो । यति राम्रो उपलब्धिमूलक कार्यक्रमका लागि आयोजकलाई धन्यवाद दिँदै बिदा भयौँ । हाम्रो घरतर्फको यात्राका लागि केही तल बस प्रतीक्षारत थियो । केही बेर पैदल हिँडेर बस भए ठाउँ पुग्यौ र बसमा चढ्यौं । बाह्र बजे राती बडो आनन्दको भावले हामी घरतर्फको यात्रा शुरु गर्यौं ।
फापरथुमको साहित्यिक सम्मेलन समाप्त भएको छ । सम्मेलनमा पाएको न्यानो आतिथ्यता, स्रष्टाहरूको जमघट र साहित्यिक गतिविधिको भव्यताको मधुर स्मृति भने कहिल्यै समाप्त हुनेछैन । मनमा सधैँ रहिरहने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।