स्कूलमा पढ्दा शुक्रवार नियमित रूपमा हुने वादविवाद निबन्ध लगायतका अतिरिक्त क्रियाकलापहरूमा भाग लिने जाँगरले मलाई लेखन कार्य तर्फ प्रेरित गरायो । यस्ता अतिरिक्त क्रियाकलापहरूले पढाइको अतिरिक्त अन्य क्षेत्रमा समेत संलग्न गराउने र अन्ततः एउटा नयाँ विधामा समेत लाग्न प्रेरित गर्दो रहेछ । विद्यालयका ती दिनहरूमा भविष्यमा कुनै साहित्यकार गीतकार कवि वा लेखक बनुँला भन्ने कुनै पूर्व निर्धारित उद्देश्य अनुसार लेख्ने कार्य गरिएको पनि थिएन । विद्यालयको शुक्रवारे अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउने उद्देश्य मात्र थियो । यी कार्यक्रमहरूमा सहभागिता जनाउँदा प्राप्त भएका प्रमाणपत्रहरू मसँग अझै सुरक्षित नै छन् । त्यतिबेला कम महत्त्व दिएको वा भावी दिनको कार्य योजनाको एउटा अंश बन्ला भनी परिकल्पना नगरेको विषयमा प्राप्त ती प्रमाणपत्रहरू देख्दा अहिले साह्रै खुशीको महसुस हुने गरेको छ ।

विद्यालयमा जनाउने गरेका यी सहभागिताहरूले मेरो पढाइमा भने सहयोग गरेको थियो । विचारमा सिर्जनशीलता, भावनात्मकता र आकर्षकपना ल्याउने काममा ती कार्यक्रमहरू सहयोगी बनेका रहेछन् आज ती प्रमाणपत्रहरू नियाल्दा यस्तो अनुभूति भैरहेको छ । विद्यालयको पढाइ सकेपछि कलेज जीवन शुरु भयो । हिजोको शैली अलि परिवर्तन भयो, कविता लेख्न छोडियो, किन हो यसको कारण र सही उत्तर म सँग अहिले सम्म पनि छैन । तर हिजो निबन्ध लेख्ने गरेकोले होला लेख लेख्ने काम भने धीमा गतिमा बढ्दै गयो । अहिले सम्म आइपुग्दा प्रशासन व्यवस्थापन राजस्व प्रशासन वित्त व्यवस्थापनसंघीय शासन प्रणालीका परिवेशमा रहेर पन्ध्र सय जति लेख लेखिएछ एक दर्जन भन्दा बढी पुस्तकहरू पनि यिनै परिवेशलाई समेटेर लेखियो । यी लेख र पुस्तकहरू आउनुमा स्कूलको त्यो देन महत्त्वपूर्ण रह्यो नै निजामती प्रशासनमा कार्यरत रहेकोले विषय छनौट र यसका अन्तर बस्तुको व्यवस्थापनमा समस्या पर्ने कुरा भएन ।

कोभिडको समय थियो कतै काम विशेषले यात्रा गरिरहेको थिएँ । गाडीमा कुनै गीत बजिरहेको थियो । यात्रा गर्दा गाडीमा गीत बज्नु र सुन्नु स्वाभाविक र नियमित प्रक्रिया नै हो । राम्रा गीत बज्दा आनन्द लिएर सुन्नु आफूले सुनिरहेको गीत भए गीतको आवाजसँगै मनमनै वा आवाज निकालेरै गीतका लाइनहरू भन्दै जानु यो पनि स्वाभाविक प्रक्रिया हो । त्यो दिन किन त्यस्तो भयो  भन्न सक्दिनँ । गाडीमा बजेको त्यो गीत मैले सुनिरहेको गीत थिएन । तर त्यो गीतको संगीत र स्वर भन्दा शब्द तिर मेरो मन आकर्षित भयो । गीतका ती शब्दहरूलाई मैले कविताको रूपमा हेरें, लाग्यो गीत त कविताकै विस्तारित स्वरूप रहेछ । शब्द हुँदा कविता बन्दो रहेछ । संगीत र स्वर मिल्यो भने गीत बन्दो रहेछ  भन्ने भावना मनमा भित्रियो ।

अब जुनसुकै बेला गीत सुन्दा यही सोचाइ दोहोरिन थाल्यो । लाग्यो स्कूले जीवनमा त म पनि फुच्चे कवि त थिएँ । यी गीतका शब्द र मेरा कविताका शब्द त उस्तै छन् म पनि गीतकार बन्न सक्छु कि भन्ने मनमा आयो ।  गीतको संरचना, लाइनहरू, समूहहरू कस्ता हुन्छन् थाहा थिएन । स्थायी के हो,  अन्तरा के हो,  हमिंग के हो, आलाप के हो केही थाहा थिएन ।

तैपनि हिजोको फुच्चे कवि अब गीत सिर्जना गर्ने हिम्मत गर्न थाल्यो । केही गीतकारका गीत हेरें । सोही संरचनालाई समात्दै गीतहरू लेख्न थालें । रचित गीत – भाव मिलेको छ छैन, कुनै कथा वा घटनाको प्रतिनिधित्व गरेको छ छैन, यी सबै कारणले सुनाउन लाज लागिरहेको थियो । केही दिन कसैलाई सुनाइनँ पनि ।

पछि  तयार भएपछि त्यै गीतहरूलाई लजाइलजाई डराइडराई घरमा सुनाउन थालें ।  शुरुमा त घर परिवारका सदस्यहरू हाँस्न थाले । सबै क्षेत्रमा हात हाल्नु हुँदैन । गीत लेखेर मात्र हुँदैन, कसैले गाइदिनु पर्छ, संगीत दिनु पर्छ, अनि मात्र गीत बन्छ । हामीले न गायक चिनेका छौं न संगीतकार । धाराप्रवाह रूपमा प्रतिक्रिया आउन थाले । मेरो गीतका शब्द सुनेर हौसला दिनुको साटो गीतले पूर्णता पाउने सामर्थ्य रहनु पर्छ भन्ने तर्फ प्रतिक्रिया केन्द्रित थियो  ।

यस्तो प्रतिक्रिया आउँदा आउँदै पनि थप गीत लेख्दै गएँ । सुनाउन छाडिनँ । जसरी कविता सुनाउन धेरै अनुरोध गरेपछि मात्र घरकै श्रोता तयार हुन्छन् मैले मेरो गीतमा घरकै श्रोता तयार गर्न पनि धेरै मेहनत र अनुरोध गर्नु पर्यो । यो क्षणमा आइ पुग्दा मेरा घरायसी श्रोताहरूले मेरो शब्द पनि हेर्न थाल्नु भयो, गीतको भाव राम्रो छ गीतलाई यो भाव तिर पनि लैजाने कि भन्ने आदि सुझावहरू आउन थाले । मलाई खुशीको अनुभव हुन थाल्यो किनकि घरकै श्रोताबाटै भए पनि गीतकारको अघोषित मान्यता मलाई प्राप्त भएको थियो ।

गीतहरू लेखिंदै गए एउटा गीत सिरेटोले छुँदै छुन्न शीर्षकमा बन्यो । पछि पूरै गीतसंग्रहको नाम नै सिरेटोले छुँदै छुन्न राखिदिएँ । गीत लेखियो गीतको संग्रह पनि तयार भयो । तर मैले गीत लेखेको छु भन्ने कुरा मेरो घर परिवार बाहेक कसैलाई थाहा थिएन । संगीतकार र गायक गायिका को खोज्ने, कसरी खोज्ने केही आइडिया नै थिएन । संगीतकार र गायक गायिकालाई गीत देखाउँदा उहाँहरूले रुचाउने नरुचाउने र गीत नै मिलेको छ छैन, कस्तो प्रतिक्रिया आउने हो, मनमा डर रहेकै थियो । तर कुनै चीजको चाहना राख्नु पर्दछ पूरा भैछाड्दो रहेछ ।

एकदिन कार्यालयको कामकै सन्दर्भमा सहकर्मी गोविन्द कुइँकेलसँग भेट भयो । कुरा चल्दै जाँदा उहाँ पनि गीतकार हुनु भएको थाहा भयो । धेरै सफल गीतका रचनाकार गोविन्द कुइँकेल । उहाँसँगको सानिध्यताले गायक आनन्द कार्कीसँग भेट हुन पुग्यो । एउटा लोकप्रिय र सदाबहार गायक आनन्द कार्कीले मेरो शब्दमा गीत गाउन तयार हुनुभयो तर गीत कुन दिने मैले निर्णय गर्न सकिनँ ।  मैले मेरो पूरै गीतिसंग्रह उहाँलाई थमाएँ । मेरै अगाडी उहाँले मेरा मेरा गीतहरू हेर्नु भयो धेरै जसो गीतका केही शब्दहरू उहाँलाई पनि मन परे । तर त्यो भेटमा हामी दुवैले कुन गीतलाई गायनमा लग्ने निर्णय गर्न सकेनौं । मैले आनन्द कार्कीलाई ‘तपाईं यी सबै गीत लगेर हेर्नोस्, जुन उपयुक्त लाग्छ त्यसमा गाउनु होला’ भनेँ  । उहाँ पनि यसमा सहमत हुनु भयो ।

केही दिन पछि खबर आयो “एक अँजुली मायाको उपहार छरिदेऊ, त्यो सन्दुकको मुटुको हीरा फोरिदेऊ” बोल रहेको शब्दले आवाज पाउने भयो । यसमा संगीत वरिष्ठ संगीतकार किरण कँडेलले दिने हुनुभयो । संगीतकार किरण कँडेलको प्रज्ञा स्टुडियोमा गीत रेकर्ड भयो । संगीतकार किरण कँडेलको संगीत र आनन्द कार्कीको मनमोहक स्वरले मेरा हरेक शब्द र भावलाई पूर्ण न्याय गर्दै गीत तयार भयो । पछि यसलाई भिडियो बनाउने समेत कुरा भयो मित्र रामहरि खड्का सँगको सल्लाह बमोजिम सियोन श्रेष्ठको निर्देशन आरुष के. सी र सोनी ढुङ्गानाको अभिनयमा म्युजिक भिडियो समेत तयार भयो । यसमा मेरो र आनन्द कार्कीको समेत सानो रोल रहेको छ । म्युजिक भिडियोमा सानै भए पनि अभिनय मेरो लागि नयाँ अनुभव नै रह्यो ।

यसरी एउटा गीत आइसकेपछि अब अर्को कुन गीत गर्ने होला भन्ने छटपटी बढ्न थाल्यो । यसै क्रममा भेट भयो युवा संगीतकार डी. बि. लामासँग । उहाँ सँगको छलफल पछि “अलिकति हाँस्नु तिमी अलिकति म हासुँला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुँला” बोलको गीत प्रताप दास र अनु चौधरीको स्वरमा ल्याउने निधो भयो । प्रताप दास र अनु चौधरी दुवै सफलता र चर्चाको शिखरमा रहेका नवोदित गायक गायिका- मेरो लागि यो राम्रो अवसर जुर्यो । अलङ्कार डिजिटलमा गीत रेकर्डिङ भयो । गीत धेरै राम्रो बन्यो । संगीतकार डी. बि. लामाको संगीतको जति प्रशंसा गरेर पनि पुग्दैन त्यस्तै गायक गायिका प्रताप दास र अनु चौधरी लगायत संलग्न सबै समूहको पनि ।

यसको पनि म्युजिक भिडियो बनाउने क्रममा मित्र रामहरि खड्का सँगको सल्लाहमा नितिन चन्दको निर्देशन तथा रामहरि खड्का (आर आर खड्का)  सृष्टि खड्का अभिनय रहेको म्युजिक भिडियो तयार भयो । फेरि मैले पनि सानो अभिनय गर्ने मौका पाएँ । यी दुई गीतले मलाई गीतकारको रूपमा बाहिर पनि चिनाउन थाल्यो । टेलिभिजन, रेडियो, एफ एम, र पत्रिकाहरूमा यसबारेमा समाचार र अन्तरवार्ताहरू आउन थाले, गीतहरू बज्न थाले । श्रोता, दर्शक र पाठकबाट बधाई प्राप्त हुन थाले ।
एक दिन “मुरलीधर नेपाल आउनु भएको छ आज भेटौं न” भनेर  गायक आनन्द कार्कीको फोन आयो । म छक्क परें । यसपूर्व मुरलीधर र मेरो कुनै चिनजान थिएन । एउटा सुप्रसिद्ध कलाकार, गायक र संगीतकारको रूपमा मैले उहाँलाई नचिन्ने कुरा भएन । तैपनि मेरो शब्दको पहिलो गायक तथा सुप्रसिद्ध गायक आनन्द कार्कीको अनुरोधलाई स्विकार्नु उहाँ प्रतिको मेरो मर्यादा पनि थियो । यसैले थप सोधखोज नगरी उहाँको अनुरोधलाई मैले स्विकारेँ । हाम्रो भेट भयो ।

कुरा चल्दै जाँदा मैले आनन्द कार्कीलाई दिएका गीतहरू मुरलीधरले भेटाउनु भएछ र हेर्दै जाँदा शब्दहरू उहाँलाई मन परेको र नेपाल आउँदा केही गीत गाएरै जाने अठोट गर्नु भएको रहेछ । मुरलीधरले मेरो शब्दमा गीत गाउन तयार हुनु भएको कुरा थाहा भयो । फेरि समस्या रह्यो कुन गीत गाउने । मुरलीधरले दुई–तीन वटा गीतको डमी तयार गर्नु भयो र ती डमीहरूमध्ये मेरो अनुरोधमा सिरेटोले छुँदै छुन्न बोलको गीत गाउने कुरा तय भयो । मेरो गीति संग्रहको नाम पनि यसै गीतबाट रहेकोले यो गीत मुरलीधर जस्तो लोकप्रिय संगीतकार र गायकले गाइदिनु पर्छ भन्ने मेरो भनाइमा उहाँ सहमत हुनुभयो । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड भएको उक्त गीत साह्रै नै कर्णप्रिय बन्यो मुरलीधरले एउटा राम्रो गीत तयार गरिदिनु भयो । गीत सार्वजनिक भएपछि सकारात्मक प्रतिक्रियाहरू आउन थाले ।

पहिलो गीत पुरुष स्वरमा दोस्रो गीत महिला र पुरुषको संयुक्त स्वरमा र तेस्रो गीत पुरुषको एकल स्वरमा आएका थिए । अब मेरो चाहना थपिन थाल्यो । जसरी अहिलेसम्म रेकर्ड भएका गीतका शव्दहरुमा विविधता थियो, अब गायक गायिकामा पनि विविधता र समावेशी हुनु पर्छ भन्ने  विचार आयो । एउटा विरह गाथा रहेको गीत महिलाको एकल स्वरमा ल्याउने चाहना बढ्यो । संगीतकार डी. बि. लामा सँग म छलफल गर्न पुगें । डी. बि. लामासँगको सल्लाह बमोजिम समीक्षा अधिकारीको स्वरमा “डाँडापारी घाम डुब्यो तिमी किन आएनौ, चराहरू बास बसिसके तिमी अझै आएनौ” बोल रहेको गीत आउने भयो ।संगीतकारको भूमिका  डी. बि.  लामाले निर्वाह गर्ने हुनु भयो । अलंकार डिजिटलमा रेकर्ड भएको यो गीतमा समीक्षा अधिकारी र डी वि लामाको योगदान महत्त्वपूर्ण रह्यो । जब यो गीत सार्वजनिक भयो शब्द, संगीत र स्वरले राम्रै प्रशंसा पायो ।

अहिलेसम्म रेकर्ड भएका गीतहरूले टिकटकमा धेरै स्थान पायो । प्रताप दास र अनु चौधरीको स्वर रहेको  “अलिकति हाँस्नु तिमी अलिकति म हासुँला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुँला”  बोलको गीतको टिकटक हजारौं बने ।

गीतकारको भूमिकामा आइसकेपछि ‘प्रशासक र गीतकारको अन्तरसम्बन्ध वा गीतकार कोमल हृदयका हुन्छन्, प्रशासक कडा हृदयका । यसमा कसरी सन्तुलन मिलाउनु हुन्छ’ भन्ने प्रश्न मलाइ हरेक अन्तरवार्ताहरूमा सोध्न थालियो ।

मेरो उत्तर एउटै रह्यो–  प्रशासकको रूपमा वा समाजका अन्य भूमिकामा रहँदा पनि म यही समाजको एउटा व्यक्ति हुँ । समाजका विभिन्न घटनाक्रमहरूप्रति म उत्तिकै प्रभावित हुन्छु । सिर्जना भनेको समाजमा घटेका विभिन्न घटनाक्रमको प्रभावबाट जन्मने चिज हो । समाजका विभिन्न चिजबाट जतिखेर हृदय प्रभावित हुन्छ, त्यतिबेलै सिर्जनाको जन्म हुने हो । बाटोमा हिँड्दा राम्रो फूल देखियो, एउटा राम्रो प्रेमिल जोडी देखियो भने हिँड्दा हिँड्दै पनि साहित्य सिर्जना हुनसक्छ । हिँड्दा लेख्ने काम त हुँदैन । त्यसलाई टपक्क टिपेर हृदयमा राखिन्छ । ती तर्कनालाई बिहानी समयमा म गीतका शब्दहारमा गुथ्ने गर्छु । कहिलेकाहीँ त्यो घटनाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ म गीत सिर्जना गर्ने गर्छु ।

‘प्रशासक कडा हुन्छन्, साहित्यकार कोमल । तपाईंले यी दुई वटाको सामञ्जस्य कसरी गर्नुहुन्छ ?’भनेर धेरै ठाउँमा प्रश्न सोधिएको छ।

प्रशासक पनि समाजको एउटा अङ्ग हो। प्रशासकले धेरै मान्छेलाई सेवा दिनुपर्ने हुन्छ । मसँग सेवा लिन आउने विभिन्न प्रकृतिका सेवाग्राहीहरू हुनुहुन्थ्यो । देशका कुना कन्दराबाट मानिस आउनु हुन्थ्यो । उहाँहरूलाई सेवा प्रवाह गर्ने क्रममा उहाँहरूका विचार, भावना, वेदना, पीडा, खुसी, सुखलाई पनि हामीले सुन्ने गर्छौं । प्रशासक र साहित्यकारको विवेक प्रयोग गर्दै मैले उहाँलाई दिने सुविधा दिँदा कानुनको पालना गर्ने क्रममा बहकिनु हुँदैन । कानुनको पूर्ण परिपालना गर्नुपर्छ तर कठोर बन्नु हुँदैन । कुनै सेवाग्राहीको काम गर्दा मलाई दिनभर लाग्थ्यो मैले दुई घण्टा चाँडो काम गरिदिँदा उहाँले आज रातिको नाइट बसको टिकट काटेर गाउँ फर्कन सक्ने अवस्था छ भने मैले चाँडो काम गर्ने प्रयास गरिदिनुपर्छ । ढिलो गरिँदा एक दिन समय लम्बिने, होटेलमा बस्नुपर्ने, बढी खर्च हुने कुरालाई म मनन गर्थें । त्यो समयमा मलाई प्रशासक मात्र बन्न मन लाग्थेन, साहित्यिक हृदयले छुन्थ्यो ।

यसरी यसै वर्ष मेरा केही गीतहरू रेकर्ड भए केही म्युजिक भिडियो पनि तयार भए । अन्य केही गीतहरू आउने क्रममा रहेका छन् ।

स्कुले जीवनको फुच्चे कविको धेरै पछि  जन्मिएको गीतकार बन्ने चाहना पूरा हुन पायो । गीतकारको मर्म र आदर्शलाई जीवन्त राख्दै नेपाली साहित्य र संस्कृतिको जगेर्नामा योगदान दिने थप उत्तरदायित्व आएको छ ।