‘एउटा गुलाब मेरो बगैंचा हुनसक्छ… र एउटा असल साथी मेरो सिंगो संसार !’ लियो बुस्काज्लियाको भनाइले मन छोएको थियो कुनै बेला । मित्रता त्यस्तो वरदान हो, जो रगतको नाताभन्दा पनि सर्वश्रेष्ठ हुन्छ । मित्र अर्थात् साथी, जोसँग मनका सबै कुरा खुलेर गर्न सकिन्छ, जसले दुःखमा साथ दिन्छ अनि सुखमा हाँसो ।

त्यसैले हेलेन किलरले भनेको हुनुपर्छ, ‘एक्लै उज्यालोमा हिँड्नुभन्दा साथीसँग अँध्यारोमा हिँड्नु धेरै राम्रो ।’ मित्र के हो ? मैले भनिरहनु परेन । कुनै दिन नेपालको सुदूरपूर्वको एउटा गाउँ झापाको गौरादहमा ‘सानो ठाउँको सानो सपना’ बाँचेर जिन्दगीको गोरेटो कोरिरहेका हामी यतिबेला देश हाँक्ने ठाउँ अर्थात् मुलुकको राजधानीमा रहेर ‘देश विकास’मा होमिएका छौं । आधा शताब्दी टेक्न लागेका उनै मित्रसँगको सुमधुर सम्बन्धले आज मलाई शब्दको राजमार्गमा कलमरूपी सवारीसाधन गुडाउने ‘मुड’मा पुर्याएको छ ।

‘कोशिस गर्नेहरू कहिल्यै हार्दैनन्, परिश्रमीहरू पछि पर्दैनन्’ भन्ने विज्ञापनको भाषाजस्तै शब्दको खेती गर्दै भाषामा जीवन फुलाएका उनै मित्र साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानासँगका सहयात्रा र सम्बन्धको गाँठो बुँदागत स्वरूपमा फुकाएको छु ।

– गोपीजीसँगको सामीप्यको यात्रा जनता माध्यमिक विद्यालय, गौरादहबाट भएको हो । २०४६ सालमा दिनुपर्ने एसएलसीका लागि तत्कालीन परिवेशबमोजिम उनले कक्षा ९ दोहोर्याउँदा मित्रताको यो अवसर (एसएलसी उत्तीर्ण मिति २०४८) मिलेको थियो । एसएलसीताका पनि सेक्सन फरक, कक्षा एउटै थियो तर मित्रता उच्चशिक्षादेखि मात्र गाढा बन्दै आयो ।

– गौरादह बहुमुखी क्याम्पसमार्फत प्रवीणता प्रमाण पत्र तह (उच्च शिक्षाको प्रारम्भ) २०४८–२०५० सालमा पढ्दाताका थुप्रै अविस्मरणीय क्षणहरू मुटुभरि रहेछन् । तर यसरी कुटुरो फुकाउनु वेश होला भनेर सोचिएन । एसएलसी दिँदाताका अनन्य हामी तीन मित्रमध्येका राजेन्द्र तिमिल्सिना (जो यतिबेला राजधानीकै सनराइज बैंकमा उपल्लो दर्जामा कार्यरत छन्) भने क्याम्पस पढ्दा सँगै भएनन् ।

– तत्कालिन समयमा क्याम्पस (आइए)मा रहँदा केही गरुँ भनी मन मिल्ने आठजना हामी साथी बनेकाहरू गोपीकृष्ण ढुंगाना, द्रोर्ण तिम्सिना, धनबहादुर वि.क., राजेन्द्र ढुंगाना, टंक भट्टराई, धर्मेन्द्र तिम्सिना, हरि कार्की र म हरिप्रसाद काफ्लेले ‘जोसिला युवा’ नामक भित्ते पत्रिका सुरुआत गर्यौं । पहिलो अंकमै विद्यार्थीका समस्या र क्याम्पस प्रशासनलाई झकझक्याउने सामग्री राखेकाले हाम्रा नाममा प्रशासनले पत्र काटेर त्यसलाई हरेक कक्षामा वाचन गर्न उपप्राध्यापकलाई दियो । हामीले सम्पादक तोकेका थिएनौं किनकि सुरुआतमा सबै उस्तै, सिक्ने क्रम न थियो । हामी सबैको नाम पनि वाचन भयो । कक्षा सकेर निस्कँदा त जोसिला युवा पढ्नेको घुइँचो !

– हरेक पाक्षिक अंक हेर्नेको जिज्ञासाले जोसिला युवा भित्ते पत्रिकाप्रति दायित्व र चुनौती थपिदियो । हुन त हामीलाई एक किसिमको नयाँ उचाइमा पुर्याइदियो त्यसले । क्याम्पसका सबैले चिन्थे हामीलाई तर हरेकको नामबाट होइन, ‘जोसिला युवा’ भनेर ।

 

– जोसिला युवा निकाल्ने क्रममा पछि पनि ‘पत्रकार बनौं र देशका लागि केही गरौं’ भन्ने हुटहुटी हामीमा आयो तर समय र सन्दर्भले आठमध्ये एक गोपीकृष्ण ढुंगानालाई मात्र यो सौभाग्य मिल्यो । उनी २०६१ सालमा अन्नपूर्ण पोस्टमा प्रवेश गरेछन्, त्यो पनि सबैभन्दा सानो पद ‘ट्रेनी जर्नालिस्ट’बाट र २०८० पुसको यो घडीमा ‘ओपेड एडिटर’ बनेर ठूलो जिम्मेवारी बहन गरिरहेका छन् । मित्रप्रति हामीले गर्व गर्न पाएका छौं ।

– आइए पढ्ने क्रममा २४ घण्टामध्ये करिब १७–१८ घण्टा हामी दुई भाइ सँगसँगै हुन्थ्यौं, बिहानको कलेज सँगै जानेदेखि आएपछि दिउँसो र रातको समयमा सँगै पढ्नेसम्म । गौरादह गाविस–७, हाँसखोरामा हाम्रो घर करिब १० मिनेट दूरीमा भएकाले सहज भएथ्यो ।

– सन्तोष ब्राण्डको इन्डियन रेडियो, जसको भोल्युम बिग्रिएको थियो । मित्रको बुबा दिननाथ अमर निमाविको हेडसर । बुबालाई ‘रेडियो बनाइदिनू, हामी गीत सुन्छौं’ भन्न सक्ने हिम्मत हुँदैनथ्यो । भनिहाल्नुहुन्थ्यो– ‘रेडियो सुनेर के पढ्छौ ?’

उहाँकी आमा चन्द्रकलाले पनि रेडियो सुनेको थाहा पाएपछि थप्नुहुन्थ्यो, ‘यिनेरुले पढाइ बिगार्ने भए । ध्यानजति गीतमा लाएपछि कसरी के पढ्छौ ?’

– हामी दुवै गीतसंगीतका अत्यन्तै पारखी थियौं, त्यसैले हामी ओढ्ने सिरकभित्र रेडियो राख्थ्यौं अनि गुटुमुटु पार्थ्यौं र खोल्थ्यौं । अब ‘फूल भोल्युम’मै बजे पनि सानो आवाज आउँथ्यो । त्यसबेला त्यसरी गीत (हिन्दी र नेपाली) सुन्नुको मजा नै बेग्लै ।

– अभिभावकको त्यो सुझाव र निर्देशनलाई समेत पर्बाह नगरी हामी पढाइ सँगसँगै गीतसंगीतमा रमाउँथ्यौं । मेरो घरमा भने कसैले केही नभन्ने र भोल्युम नबिग्रिएकाले सहज थियो । उता साथीको घरको रेडियो खोसिँदा वा बिग्रँदा यता घरमा पढ्ने तालिका बन्थ्यो हाम्रो ।

– त्यसबेला गोपीजीले दुई–तीनवटा कपीका सबै पानामा चलचित्र र आधुनिक नेपाली गीत सारेर भरेका थिए । गायक÷गायिका, गीतकार, संगीतकार अनि चलचित्र भए सोको नाम सबै टिप्थे । आधा सारेको गीत फेरि कहिले बज्छ ? पत्तो हुँदैनथ्यो । बिरालोले मुसो ढुकेजस्तै हुन्थ्यो । आज सुन्दा अपुरो भएका गीत अर्को बजाइमा पूर्ण पार्थे तर त्यो गीत कहिले बज्छ भन्ने टुंगो हुन्नथ्यो, रेडियो नेपालको मर्जी ।

– के थाहा त्यो विद्यार्थी पछि गीतकार बन्ला भनेर ? हो, गोपीजीका झन्डै दर्जन गीत रेकर्ड भइसकेछन् काठमाडौं छिरेपछि । दर्जन रेकर्ड गर्नेले तीन–चार दर्जन गीत त पक्कै लेखे होलान् । अन्जु पन्त, दिपक लिम्बू, मिलन अमात्यहरूले गाएछन् अनि शक्ति बल्लभ, रत्नबहादुर खड्गी, हरि लम्साल, अर्जुन पोखरेलहरूले संगीत हानिसकेका रहेछन् । बालगीत पनि रेकर्ड गरेछन् अनि उनका बालसिर्जनाहरू कक्षा १ देखि ७ सम्म झन्डै डेढ दर्जन पाठ्यक्रममा प्रकाशित भैसकेछन् । गजल पनि रेकर्ड गराएछन् । उनका दुईवटा किताब ‘मौनताका रातहरू–२०६०’ र ‘आफैंभित्र–२०७१’ त गजलसंग्रह नै बजारमा पुगेका रछन् । बिएड सकेपछि हामी अलग–अलग भयौं धेरै वर्ष । यी सबै पछि थाहा पाएँ ।

– आइए पढिरहँदा रेडियो नेपालको विकल्प अलइन्डिया रेडियो मात्रै थियो किनकि झापा भारतको सीमा । दुवैमा बज्ने हिन्दी गीतमा गीतकार समीरका अनगिन्ती गीत बज्थे । उनका गीतमा संगीतकार आनन्द–मिलिन्द र नदीम–श्रवणका गीत बढी बज्थे । गोपीजी आनन्द–मिलिन्दको संगीतको फ्यान, म चाहिँ नदीम–श्रवणको । गीत बज्नुअघि अब फलानोको संगीतमा बज्छ भनेर बाजीसमेत ठोक्थ्यौं । यसको साक्षी गोपीजीकै ठुलीआमाका छोरा देवराज काफ्ले थिए जो त्यही घरमा बसेर पढ्ने मेरा अर्का बन्धुमित्र पनि । त्यो समयको यस्तो रमाइलो र स्वास्थ्य किसिमको प्रतिस्पर्धाले मलाई खै किन हो अघि बढाएन तर गोपीजीलाई गीतकार बनायो ।

– २०८० मै एकदिन यसो अन्नपूर्ण पोस्ट पढ्दै थिएँ । शनिवारको सप्लिमेन्ट ‘फुर्सद’को पृष्ठ ३ पूरै पेज उनै हिन्दी फिल्मको दुनियाँमा सबैको मन जितेका अझ भनौं सर्वाधिक गीत लेखेर गिनिज बुक अफ वल्र्ड रेकर्स बनाएका उनै गीतकार समीर अञ्जानको अन्तर्वार्ता देखें । त्यो पनि फुर्सदकै संयोजक एवं सम्पादक मेरा मित्र गोपीकृष्ण ढुंगानाले नै लिएका रहेछन् । विद्यार्थीकालमा समीरका गीतमा बाजी ठोक्दै गीत सुनेका ती दिन सम्झें । जतिबेला समीरलाई भेट्ने त हाम्रो कल्पना पनि हुँदैनथ्यो । गोपीजीले फोनमा कुरा हुँदा सुनाए– मैले समीरलाई सोधेको थिएँ, तपाईंलाई मन पर्ने पाँच संगीतकार भनेर ।

त्यतिबेला समीरले पहिलोमा आनन्द–मिलिन्द र दोस्रोमा नदीम–श्रवणको नाम लिएछन् । हुन त त्यसअघि पनि उनले गीत र गीतकारबारे दुईवटा लेख आफू कार्यरत अन्नपूर्ण पोस्टमै लेखेको पढेको थिएँ– ‘चल्छन् गीत, चल्दैनन् गीतकार’ अनि ‘उज्याला गीत, अँध्यारोमा गीतकार’ । सम्भवतः आफू पनि ओझेलमा परें वा पर्छु भन्ने फोबिया पनि हुनसक्छ उनको । त्यही भएर सायद उनले अन्तर्वार्तामा समीरलाई पनि यही प्रश्न गरे र समीरको जवाफ पनि यिनै लेखजसरी आएको थियो ।

– आइए पढ्दाताकाकै एक दिन । जतिबेला हाम्रो प्रवीणता प्रमाण पत्र तह दोस्रो वर्षको परीक्षा चलिरहेको थियो । भोलिपल्ट अनिवार्य नेपालीको परीक्षा थियो । बेलुकाको खाना खाएर म गोपीजीको निवासतिर लागें । मेरो प्रवेश–पत्र हराएको थाहा त्यतिखेर पाएँ, जतिखेर म उनको घर पुगें । आएको बाटोतिर फर्कें । हामी दुईको घरको बीच भागमा सरस्वती प्राथमिक विद्यालय (जहाँ गोपीजीले विद्यारम्भ गरेका थिए) छ, घरबाट आउने क्रममा उक्त विद्यालय कटेपछि खेतमा प्रवेश–पत्र खसालेको रहेछु, भेटाएँ । हराउँदाको हुटहुटी र भेटिँदाको खुसी अझै ताजै छन् ।

– २०४८–२०५० को प्रवीणता प्रमाण पत्र तहको अध्ययनपछि हाम्रो शैक्षिक यात्रा तत्कालीन पूर्वाञ्चलको सदरमुकाम धनकुटास्थित धनकुटा बहुमुखी क्याम्पसमा रह्यो । आइए नै घरदेखि अलि पर पढ्ने सोच हाम्रो थियो तर ‘घरको भात खाएर पढ्न छोडेर !’ भन्ने अभिभावकहरूको भनाइले रोकिएको थियो । आइए सकेपछि ‘बिएड’ गर्ने बहानामा धनकुटा पुगेथ्यौं । त्यहाँ पुग्दा थाहा भयो, कुवाको भ्यागुतो हुनबाट जोगियौं र अलिकति भए पनि फराकिलो संसारमा प्रवेश गर्न सफल भयौं । हो, त्यहाँ भएको चिनजानका साथी अहिले चारैतिर छन्, अझ भनौं विश्वव्यापी ।

– धनकुटाको सिरुवानीमा फर्निचर व्यवसायी राजकुमार डंगोलको घरमा डेरा बस्यौं जीवनमा पहिलोपटक । हामी तीन भाइले (गोपीजीका बडीबाका छोरा तोयानाथ ढुंगाना अर्थात् जोसिला युवाका मित्र राजेन्द्रका कान्छाभाइ, जो अहिले यस संसारमा हामीबीच छैनन्, उनले आई.एल पढेथे) सिरुवानीको त्यो घरमा दुई वर्ष बितायौं ।

– क्याम्पस बिहानकै थियो । बिहीबार धनकुटामा हाट लाग्थ्यो । त्यो दिन चाहिँ क्याम्पसको पठनपाठन पनि दिउँसो १ बजेदेखि सुरु हुन्थ्यो । हामी तीनैजना तरकारी किन्न जान्थ्यौं झन्डै आधा घण्टाको बाटो पैदलै । ५०–६० रुपैयाँको तरकारीले साता पुग्थ्यो पाहुना समेतलाई । डेरा साथीभाइको ‘जमभेट–केन्द्र’जस्तै थियो । हरेक दिन दुई–तीनजना साथी वा पाहुना कोठामा हुन्थे नै । कोठाभाडा मात्र दुई सय थियो ।

– त्यही घरमा पल्लो कोठामा धनकुटाकै पदम देवान र केहीपछि उनकै भाइ जीवन देवानसँग पनि घनिष्ठता बढ्यो । घरबेटीका परिवार र देवान परिवार सबैसँग परिवारका सदस्य झैं सम्बन्ध बन्यो । चार–पाँच घण्टा दूरीको उकालो–ओरालो गर्दै देवान परिवारको गाउँ बोधे पुगेको र दुई दिन बसेर बारीभरि लटरम्मै पहेलपुर देखिएका सुन्तला छानीछानी खाएको सम्झना कहिल्यै मेटिंदैन सायद गोपीजी र मेरो । खानपिनदेखि पाहुना व्यवस्थापन सरोबरी हुन थाल्यो डेरामा पनि । दोस्रो वर्ष अण्डरग्राउन्ड कोठामा झापाकै मित्र लक्ष्मण राजवंशी पनि परिवारझैं बने । उनी फेरि संगीतकार ए. आर. रहमानका फ्यान रहेछन् । क्रमशः झापा गौरादहकै हरि दंगाल र इलामका जीवन थापा हुँदै दर्जनौं साथीहरू घनिष्ठ हुनुभयो हामी दुईसँग ।

– गीतसंगीतप्रतिको हाम्रो लगाव त्यहाँ पुगेर अझ मौलायो । त्यहाँ हामीले खाजा खर्चसमेत कटौती गरेर टिभी च्यानल पनि टिप्ने रेडियो रु. ६५० मा किनेका थियौं । स्वतन्त्र हामी अब गीतसंगीत सुन्नेमा मनमौजी बन्यौं ।

– धनकुटाको रानी वननजिकै हाम्रो बसाइ थियो, जहाँ तमोर नदीको चिसो हावा र सल्लाको सुसाइको सुखद अनुभव गर्न सकिन्थ्यो । हामी दिउँसो खाजाको बन्दोबस्त गरीकन रेडियो लिएर रानी वन जान्थ्यौं । जहाँ दिनभर पढ्ने, सुन्ने र अल्छी लागे सुत्ने गर्थ्यौं । झमक्क साँझ परेपछि कोठा फर्किन्थ्यौं ।

– हामीबीच रगतको त नाता थिएन, थियो त केवल भावनात्मक । तर कुरो यतिमा सीमित छैन– गोपीजी र मेरो शरीरको उचाइ, मोटाइ र अग्लाइ सबै उस्तै र बराबरीजस्तै थियो । कति भने अनुहार त झन् काटिकुटी मिल्ने । आइए पढ्दा फाट्टफुट्टले सोध्थे तर धनकुटा पुगेपछि अधिकांशले सोध्थे, ‘दाजुभाइ हो ?’, ‘नाता पर्ने हो ?’

– दुई वर्षे (२०५१–२०५३) धनकुटा बसाइँमा गोपीजीको कलम चल्न थालेको थियो । पाख्रीबासबाट प्रकाशन हुने पत्रिकामा पठाएको र छपाएको थाहा थियो । आइए पढ्दा पनि केही सिर्जना गर्थे । धनकुटापछि हामी जिन्दगीको नयाँ गोरेटो कोर्न आआफ्नो बाटो लाग्यौं । पछि थाहा पाउँदा त उनी नाम चलेकै साहित्यकारमा गनिन थालेछन् । यो संस्मरण लेख्दासम्म त उनका बालकृति मात्र १६ पुगेछन् अनि सम्पादन गरेका कृतिको संख्या ८० नाघ्यो रे ।

– धनकुटामा अंग्रेजी र राजनीति शास्त्रमा बिएड सकेपछि काठमाडौं आई लगत्तै शिक्षण पेशामा संलग्न भएँ । सर्वप्रथम २०५३ मै ललितपुरकै गोटीखेलस्थित महाकाल माविमा पढाएँ । २०५५ भदौमा काठमाडौं ताहचलस्थित महेन्द्ररत्न क्याम्पसमा एमएडमा भर्ना गर्न काठमाडौं आउने क्रममा ललितपुरको विकट त्यो पहाडी बाटोबाट दूध बोकेको मिनी टाटा तल पुग्यो । तीनजनाले दुर्घटना स्थलमै ज्यान गुमाए, म र सहचालक बच्यौं, जहाँ चालकले पहिल्यै हाम्फालेर ज्यान जोगाएछन् । देब्रे खुट्टो फ्र्याक्चर भएकाले ६ महिनाजति घरमै आराम गरेर पुग्दा अस्थायी भएकाले त्यहाँको भने जागिर सकिएछ । त्यसपछि २०५६ सालदेखि ललितपुरको गोदावरी नगरपालिका–१० चापागाउँस्थित उदयखर्क माध्यमिक विद्यालयमा पढाएँ । अहिले यही विद्यालयमा प्रधानाध्यापकको भूमिकामा छु ।

– गोपीजी पनि शिक्षण गर्ने अभिप्रायले अंग्रेजी विषयमै एमएड सकेर राजधानी नजिकको जिल्ला काभ्रेको एउटा गाउँसम्म पुगेछन् अंग्रेजी शिक्षक बन्न तर त्यहाँको प्रक्रिया र अवस्था चित्त नबुझेपछि सरकारी विद्यालयको मावि अस्थायी दरबन्दी छोडेर पुनः राजधानी फर्किएछन् । हुन त केही वर्षपछि प्लस टू पढाउन दिने भनेको रहेछ ।

– भनिन्छ, एउटा ढोका बन्द हुनु भनेको अन्य धेरै ढोका खुल्नु हो । त्यसपश्चात् उनी पत्रकारिता क्षेत्रमा कलम चलाउन थाले । दुई वर्ष २१औं शताब्दी साप्ताहिक म्यागजिन र हिमालय टाइम्स दैनिकमा काम गरेपछि अन्नपूर्ण पोस्ट दैनिकमा प्रवेश गर्ने अवसर पाएछन् । झन्डै दुई दशकको उनको पत्रकारिता र अढाई दसक लामो साहित्यिक यात्राले उनलाई यतिबेला एक कुशल पत्रकार, साहित्यकार (गीतकार र गजलकार) को रूपमा स्थापित गराइसकेको छ । गाउँको सरकारी स्कुल नपढाए पनि उनले राजधानीकै बोडे उमावि, भक्तपुरमा झन्डै दुई दसक पत्रकारिता पढाएछन् प्लस टूमा अनि बानेश्वरस्थित एस.भी. एकेडेमीमा ब्याचलर लेभललाई पनि केही समय पढाएछन् ।

– कार्यव्यस्तताले मैले अध्ययनलाई अघि बढाउन पाएको छैन, लक्ष्य भने विद्यावारिधिको छ । गोपीजीले भने पत्रकारितामै त्रिभुवन विश्वविद्यालयबाट एमफिल सकेर यतिबेला थाइल्याण्डस्थित पिएसयुबाट पिएचडी गर्दैछन् ।

– यसरी सहयात्रा र सहकार्यको चार दसकभन्दा लामो सम्बन्ध चलिरहेको छ, गोपीजीसँग । अनन्य र आत्मीय मित्रसँगको भेटघाटले पनि ऊर्जा मिल्छ अझैसम्म । हामीबीच फरक भनेको बसाईको मात्र छ, उनी भक्तपुरको गठ्ठाघर बस्छन् र म ललितपुरको झरुवारासीस्थित निजीनिवासमा बस्छु । ‘काव्य–कुञ्ज’ नाम दिएर उनी निवासबाटै सिर्जनात्मक काममा लागिरहेछन् ।

– सिर्जना पनि उनको हतारको साहित्य अर्थात् पत्रकारिता र फुर्सदको साहित्य (विधागत लेखन) दुवैमा छ । पत्रकारिता भनेको ‘टिचर अफ द नेशन’ भनेर सुनेको थिएँ । पत्रकारिताको मुख्य चार काम बुझेको थिएँ । जसमध्ये दुइटा हुन्– टु एजुकेट र टु इन्फर्म । म पनि देश निर्माणका लागि भोलिका कर्णधारलाई ‘टिचर’ बनेर सेवा गरिरहेकै थिएँ, छु । उनले पनि राजधानी छिर्दा र पछि प्लस टु अनि ब्याचलर लेभल गरी झन्डै अढाई दशक ‘टिचर’ बनेर सेवा गरे नै । यसअर्थमा हामी दुई मित्र ‘राष्ट्रका सेवक’ बनेर फरक फरक धारमा रहेर पनि शिक्षण गरिरहेछौं । दुवैलाई यो सेवाका लागि अवसर प्राप्त भइरहोस् । गोपीजीले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्ने गरेको स्तम्भ ‘चुरो कुरो’ मै भन्नुपर्दा नागरिक सचेत र समृद्ध बनाउन सकियो भने देश स्वतः समृद्ध र सफल बन्नेछ ।

अस्तु !