![](https://sahityapost.com/wp-content/uploads/2024/01/image1-scaled-e1705041233128.jpeg)
पुखौ गाउँबारे पछिल्लो भागमा वर्णित गरिसकेको छु । पुखौ गाउँबाट सहर टाढा, नेता टाढा, विकास टाढा, सरकार टाढा अनि प्रशासन पनि । यी नै कारणहरूले पनि होला टाढा पन्सिएको ग्रामीण क्षेत्रमा अवैध खेतीहरू हुने गर्छन् । पुखौका गाउँलेहरू धान, मकै, कोदो, फापर, तोरी बाहेक गाँजाको अवैध खेती गर्थे ।
गाँजाको जिकिर आउँदा अहिले यो घटना भन्न जरुरी सम्झेँ किनभने कुरा मणिपुर ठाउँको गरिँदैछ । २०२३ मार्च महिनामा, मणिपुर राज्यका कुकी र मैतेई जातिबिच ठुलो जनयुद्ध भयो । कति घर जलाइए, मान्छे मारिए, हजारौँ सङ्ख्यामा मान्छे बेघर भए । कति लापत्ता भए । दुई जातिबिच युद्धको कारण; मैतेई जातिले अनुसूचित जनजातिमा समावेश हुन मणिपुर उच्च न्यायालयमा दिएको याचिकालाई सकारात्मक विचारार्थका लागि अगाडि बढाउँदा कुकी जाति जो पहिल्यैदेखि अनुसूचित जनजातिमा समावेश छन्, उनीहरूलाई यो कुरा नपच्दा हिंसायुक्त विद्रोह गरे । त्यसपछि दुई गुटमा जनयुद्ध सुरु भएको भनिन्छ ।
तर यो कारण पर्याप्त थिएन, कारण अनेक थिए जसको फलस्वरूप जनयुद्धले नृशंस नरसंहारको रूप लियो । कुकी जनजाति थुप्रै दशकदेखि डाँडाकाँडामा बसेर गाँजा-अफिमको अवैध खेती, अवैध बनकटाइ, अवैध नदीखनन् गरेर आर्थिक अर्जित गर्दै आएका हुन् । भारतीय जनता पार्टी सन् २०१७ मा सत्तामा आएपछि यी अवैध कार्यलाई रोक्ने कार्य गर्यो । अवैध कार्य रोकिन लागेपछि कुकी जनजातिको आर्थिक आय दुर्बल हुन लाग्यो । सरकारको यो कारबाहीबाट कुकी असन्तुष्ट थिए ।
मणिपुरमा कुकीले छुट्टै जिल्ला कुकी-जनजातिको नाममा माग गर्दै आएको निकै भएको थियो तर सरकारको कानमा केही असर परेको थिएन । मैतेईले जनजातिको माग गरेकोलाई निहुँ पारेर मैतेईको विरुद्ध हिंसा सुरु गरे ताकि सरकार झुकेर उनीहरूको माग पुरा गरोस् । तर यो युद्धको अग्निमा स्वाहा हुने निर्दोषहरूको मूल्य गर्ने साहस कसैमा थिएन !
जनयुद्धको कारणमा अघि उल्लेख भएको अवैध गाँजा रोपणबाट नेपाली भाषी पनि अछुतो रहेनन् । कुकीको गाँजा खेतीमा कोही मजदुरी गर्न जान्थे भने कतिले गाँजाको खेती गर्ने सिप सिकेर आफैँ पनि गाँजा रोपण गर्थे । आर्थिक आय गाँजाले राम्रो दिन्थ्यो । यस कारणले पनि गाँजा रोपणतिर प्रायः गाउँले आकर्षित थिए ।
म सानो बालक, अवैध खेती अनि गाँजा के हो, भन्ने के थाह मलाई ? मेरो परिवार पनि गाँजा रोपणबाट टाढा थिएन । बाबाले गाँजाको खेती गर्नुहुन्थ्यो । यो बखत गाँजा रोपणको स्मरण गर्दा केही प्रक्रिया मेरो सम्झनामा छ । अहिले यो कागजको माटोमा कलमको सहाराले गाँजाको खेती गर्नुपर्यो । हा हा हा..!
गाँजा दुई प्रकारका हुन्छन्, भाले र पोथी । भाले काम लाग्दैन । पोथी नै गाँजाको असली रूप हो । गाँजाका गेडा एक रातको अवधिसम्म भिजाएर बारी या खेतको सानो भागमा छरियो । भिजेका गेडा माटोमा प्रस्फुटन भएर केही सातामा बिर्वाको रूपमा तयार भए । बगान जोतियो । मल मिलाएर फेरि मसिनो गरी जोतियो । बिर्वा रोप्नका लागि ड्याङ बनाइयो । बिर्वा उखेलेर दुई फिट टाढा ड्याङमा रोपियो । बिचबिचमा गोडमेल, स्याहारसुसार गरियो । चार-पाँच महिनामा गाँजाको बोट झ्याम्मिँदै हरियो भएर क्रिस्मस्ट्री जस्तो देखिन लाग्यो । गाँजाको बोट जति ठुलो हुँदैछ त्यति नै पातमा चिप्चिप् गर्ने पदार्थ (गम) गाढा हुँदैछ । गाँजाको बासन परैबाट मगमगाउँदो गरी आउँदैछ । गाँजाको गेडा मजाले पाकिसक्यो ।
गम र गेडा मजाले पाकेपछि गाँजा काट्ने सयम भएको बुझ्नु पर्छ । मेरो गाँजाको पनि स्थिति यही भयो । काट्ने समय भयो । गाँजाका बोट काटेर केही दिन घाममा सुकाइयो । एक ठाउँमा मोटो प्लास्टिकमा बाँधेर राखियो । केही दिनमा गमसँग सबै पात टाँसिएर एकत्र भयो । अब, मुट्ठीमा आउने जति गाँजा लिएर काठमाथि राखेर खुट्टाले माडियो । माड्ने प्रक्रियामा गेडागुट्टी भिन्न भएर गए । पात मात्र टाँसिरहे । माडिसकेर सानो मोटो प्लास्टिकमा फेरि बाँधेर हातले निकै बेर बिस्तारी-बिस्तारी मालिस गरियो । यो प्रक्रियाले साना-साना चिप्चिपे पातहरू एकत्र भएर ठोस् अनि गोलाईको आकार लिए, लाम्सैलामसा भएर । त्यसपछि मज्जाले घाममा सुकाइयो । केही दिन घाममा सुकेपछि गाँजा प्रयोग गर्ने रूपमा तयार भयो ।
रेडी छ मैले बनाएको गाँजा, के तपाईँ गाँजाको सेवन गर्ने ? हा हा हा..! गाँजाको सेवन जनहितमा हानिकारक हो । प्रयोग नगर्नु होला । चेतावनी !
हामी सानै भए तापनि बाबालाई काम सघाउने क्रममा गाँजा बनाउने प्रक्रिया सिकियो । गाँजा तयार भएपछि बाबा बजारमा लगेर बेच्नु हुन्थ्यो । बजारबाट घुरेर आउँदा बाबाको खल्ती पैसाले भरिएको हुन्थ्यो । बाबाको पैसा देखेर खुब रमाइलो लाग्थ्यो । हामी अथार्त दिदी-दादाहरूलाई पनि गाँजा बनाएर पैसा कमाउने चासो लाग्थ्यो । मैले पनि सिकेँ दिदी अनि दादाहरूबाट ।
गाँजाकै खेती कसरी गर्ने फुच्चाफुच्चीहरूले तर हाम्रो गराइ अर्कै थियो । गराइ थियो – सिलोसाङ्लो । गाँजा काटिसकेको खेतीमा जाने अनि काटेर लडेको बोटमा सिलोसाङ्लो बटुलेर ल्याउँथ्यौं । त्यसउपरान्त अघि भनेको प्रक्रिया गरेर बाबालाई जिम्मा लगाइन्थ्यो । बाबाले घरको गाँजा बिक्री गर्दा हाम्रो पनि बेचिदिनु हुन्थ्यो । त्यही पैसाले नयाँ लुगा किन्ने गर्थ्यौं । गाँजा मात्र नभएर मकै पनि यसरी नै भेला पारेर पैसा कमाउने हाम्रो स्रोत थियो । बाबाले दुई वर्ष गाँजाको खेती गर्नुभएको थियो अरे, पछि आमाले भन्नुभएको ।
चार हजारे गाउँमा आएपछि प्रदीप दादाले गोरु जोत्न सिक्यो । बाबालाई मनक्कै काम गर्न सघाउँथ्यो । मौसमअनुसार मकै, सब्जी अनि तोरी छर्न आफ्नो घरबाहेक गाउँमा हलगोरु नहुनेले हाजिरामा बोलाउँदा बाबाले प्रदीप दादालाई पठाउनु हुन्थ्यो । प्रदीप दादा पढाइमा प्रथम श्रेणीमा सधैँ उत्तीर्ण हुनाले दाखिलाको छोडेर मासिक शुल्क माफ हुन्थ्यो । दादाले अरूको बारी जोतेर आफ्नो पढाइ र लुगा किन्ने खर्चा निकाल्थ्यो ।
प्रदीप दादाको देखासिकी गरेर म पनि गोरु जोत्न सिक्न लागेँ । दाम्दइमा बस्न लागेपछि मैले पनि मनक्कै जोत्न जान्न थालेँ । प्रदीप दादा राष्ट्रिय स्वयंसेवक संघको विद्यार्थी विस्तारक भएर संघकार्यालय चार हजारे बजारमै बस्न लाग्यो । अब प्रदीप दादाको स्थान मैले लिने स्वाभाविक कुरा भयो । रमेश भाइ सानै थियो । राजेश दादा इम्फालमा बसेर काम गर्नुहुन्थ्यो । घरमा ठुला दाजुहरू नहुँदा मेरो कमाइ गर्ने अवसर जुर्यो । मनमा अर्कै खुसी । अवसर छोडिएन । अवसरवादी हुनु पनि सफलताको सिँढी हो भन्दा केही अपवाद नहोला!
अब, बाबाले मलाई जोत्न पठाउन थाल्नु भयो । बिहानको पाँच बजेदेखि लिएर स्कुल जाने समय, त्यही आठ बजेसम्म मान्छेको बारी जोत्थेँ । जोतेको सट्टा कसैले पचास रुपियाँ त कसैले सय रुपियाँ पारिश्रमिक दिन्थे । त्यो पनि आफूलाई धेरै हुन्थ्यो । म पनि पढाइमा प्रथम श्रेणीमा आउने भएर स्कुलमा दाखिला या मासिक शुल्क दिनु पर्दैनथ्यो । त्यसो हुँदा खाता, पेन्सिल, कलम, लुगा किन्ने पैसा पुगिसरी हुन्थ्यो ।
बाबाले ऋण ल्याएको ठाउँमा पनि जोत्न पठाउनु हुन्थ्यो । खेतीबारी जोतिदिँदा ऋण ल्याएको चुक्ता हुन्थ्यो । बाबाको ऋण चुक्ता गर्न आफूलाई आनन्द लाग्ने । यसरी बाबाको ऋण तिर्न भाग्यमानी छोराले मात्र पाउँछन् । अझै पनि आफूलाई भाग्यमानी ठान्छु । सम्झना छ, कृष्ण पौड्याल काकाको आधा परी खेत र भोला नेपाल काकाको खेत र बारी झन्डै तीन वर्ष जति जोतेको थिएँ, ऋण तिर्नलाई ।
प्रचलन सबैतिर थियो, प्यावा पाल्ने । आफूले पनि सिकियो दिदीहरूबाट । आफ्नो नाममा कुखा-हाँस पालिन्थ्यो । घरमा बाबाले काटेर खाने कुरा गर्दा भरसक काट्न मानिँदैनथ्यो, शेष बाबाको वचन काट्न गाह्रै पर्थ्यो । पेवा पालेका जन्तु ठुला भएपछि बेच्ने अनि निजी पैसा बढोत्तरी गर्ने । म सूर्या फाउण्डेशनको बाल विकास केन्द्रमा जान लागेपछि कक्षा सात पढ्दाको समय दिल्लीमा बिस दिवसीय शिविर गर्ने अवसर पाइयो । शिविरमा राम्रो प्रदर्शन गर्ने हुँदा प्रतिमाह तीन सय रुपियाँ मानधनको रूपमा संस्थाबाट पाउँथे ।
यी स्रोतबाट पैसा पाएर म त्यो उमेरमा धनवान् नै थिएँ । गरीबलाई थोरैले पनि सन्तोष र धनवान् बनाउँछ । त्यही नियमले म धनवान् थिएँ । कक्षा सातमा नयनाथ गुरुजीले मेरो हस्तरेखा हेरेर भन्नुहुन्थ्यो – ‘तैँले सानैबाट पैसा खेलाउने छस् । पछि गएर पैसा राम्रै कमाउँछस् तर पैसा हातमा रहने छैन ।’ अनि म औधी खुसी भएर मैले पैसा कमाएको स्रोतहरू भन्थेँ । गुरुजी आफूले हस्तरेखा हेरेको सफल भएको देख्दा, ‘बुझिस् मैले तेरो हात सही हेरेको रछु’ भन्दै छाती फुलाउनु हुन्थ्यो ।
गाँजा-मकै-पेवा-जस्तो स्रोतहरूबाट सानो उमेरमा जेबखर्च बनाएको अहिले चिन्तन गर्दा बुझिन्छ कि त्यो फगत पैसा कमाएको होइन रहेछ । अपितु आत्मनिर्भर हुने पाठ रहेछ । जीवनमा अभावले कसरी प्रभावतिर जाने बाटो सिकाउँछ, त्यो एउटा अमूल्य पाठ थियो जो कुनै पनि विद्यालयमा सिक्न पाइँदैन । सोही भन्न सकिन्छ जीवनमा आत्मनिर्भर हुनका लागि प्रशस्त साधन भएको परिवारको सन्तानले भन्दा पनि अभावमा हुर्किएको सन्तानले चाँडै सिक्दो रहेछ ।
अभाव छ, सनसाधन छैन भनेर अरूसँग आशा पाल्नुभन्दा भएको साधनलाई ऊर्जा बनाएर प्रयास गरियो भने सफलताको सिँढी स्वतः निर्माण हुँदै जान्छ । यसमा ठुलो भूमिका बाबाआमाको हुन्छ; कसरी सन्तानलाई उसले गर्दै गरेको काममा अराई सिकाइ गर्ने, सही दिशामा जान हौसला र हिम्मत दिने । यसरी व्यक्तित्व निर्माण हुँदै गरेको अवस्थामा आत्मनिर्भरको विश्वास जागृत भयो भने व्यक्तिगत एवम् उचित निर्णय लिने क्षमता विकसित हुँदै जान्छ । आत्मविश्वासमा बढोत्तरी हुन्छ ।
आत्मनिर्भरको पाठ सानैबाट सिक्ने भएर बाबाआमाका लागि धेरै बोझ कहिल्यै भइएन । यी सबै सूक्ष्म सफलता बाबाआमाको प्रेरणा र आशीर्वादले आउँछ, यो अटल सत्य सन्तानले कहिल्यै भुल्नु भएन ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)
र यो पनि पढ्नुहोस्...
![](https://sahityapost.com/wp-content/uploads/2024/02/damodar-ko-sansmaran-768x387.jpg)