हामी ढाँडेका डिलमा उभिएका थियौँ । मैले त्यहाँबाट चिनाएको परिवेशका नजिकै सफासुग्घर पारेर राखिएको वरिपरि फूलको बगैँचा सजाइएको घर देखियो । मेरो पूर्व ज्ञानअनुसार अहिले त्यो ज्ञानु खुदाङको घर । उनी मेरा दाइसाथी । केही समय एउटै डेरामा बसेका सँगै पकाएर खाएका साथी । एउटै थालमा नखाए पनि एउटै ओछ्यानमा सुतेका साथी । म त्यहाँ नपसी जानु अन्याय हुन्थ्यो ।
त्यो साथीको घर । त्यस घरसँग जोडिएका अरू थुप्रै रमाइला नरमाइला स्मृति छन् । मैले थाहा पाउँदा त्यो घर परमानन्द अधिकारीको घर थियो । गाउँमा अधिकारी कान्छाको घर भन्थे । त्यस घरकी छोरी इन्दिरा दिदी हाम्रा काका भीम लुइँटेलले बिहे गरेका थिए । त्यो काकीको माइतीघर थियो । काकीकी बहिनी चित्रकला हाम्री सहपाठी थिइन् । उनी हामीभन्दा एक कक्षा मुन्तिर पढ्थिन् । त्यस घरमा एक जना भाइसाथी थिए लक्ष्मी अधिकारी । त्यस घरमा काकी लिन जन्ती गएको अनुभव छ । काकीको बिहेमा हाम्रा माथिका घर (सिम्ले)मा जन्तेबाख्रो खाएको अनुभव पनि छ ।
मैले घरपछाडि पुग्दै गर्दा मित्रलाई चिनाएँ : अहिले मेरो साथीले किनेको हो । यो घर पहिले साहित्यकार राजेन्द्र सुवेदीको ससुरालीघर हो । साझा प्रकाशनका होम भट्टराई र उनका भाइ गोपी भट्टराईको मामाघर हो । उनीहरूले यसै घरमा बसेर हिजो हामी गएको स्कुलमा पढेका ।
त्यसै बेला मेरा मनमा अधिकारी कान्छा बसाइँ हिँड्दाको पुरानो याद बल्झियो । उनीहरू काफ्ले कान्छा (हाम्रा कान्छा भिनाजु)लाई बेचेर हिँडेका । हामी सानै थियौँ । उनीहरू झापा सुरुङ्गातिर गए भन्थे । लक्ष्मी भाइले बसाइँ गएपछि एक वर्षसम्म गाउँलेका यादमा केही चिठी पठाएका थिए । उनी गाउँ छोड्दा दुःखी बनेका थिए । हामीलाई पनि नरमाइलो लागेको थियो ।
मैले थाहा पाउँदै त्यो घर कान्छा भिनाजु (काफ्ले कान्छा उर्फ लीलानाथ काफ्ले) ले लिएका थिए । उनीहरू पनि केही समय बसे । फेरि अहिले खुदाङ परिवारले लिएको । यस पूर्व उनीहरू त्यही घरखायलका पुछारमा थिए । अहिले सीमा जोडिएको ठाउँ लिएर बसेका ।
यस घरको निर्माणको इतिहास पनि लामो छ । फुसे छानोदेखि आजको टिनको टल्कने छानोसम्मको कथा मनमनमा सम्झिँदै म अगाडि बढेँ । घरपछाडिको खुला शौचालयदेखि आजको व्यवस्थित शौचालय र बाथरुम पनि एक पटक तुलना गरेर हेरेँ । बिस्तारै आँगनमा पुगेर बोलाएँ : घरमा को हुनुहुन्छ होला ?
कसलाई खोजेको ? हामी छौँ नि । – यसो भन्दै एक अपरिचित नारी भित्रबाट निस्किइन् । उनीसँगै एउटी नानी थिइन् । एक जना सानो बाबु पनि थिए । बाबु गृहकार्य गर्दै थिए । नानी मोवायल चलाइरहेकी थिइन् । दुवै आआफ्ना काममा व्यस्त जस्ता तर हामीलाई चिहाइरहेका देखिन्थे ।
‘नमस्कार यो घरको मूली तपाईं नै हो ?’ – मैले सोधेँ ।
अपरिचित नारीले छोटकरीमा भनिन् – ‘हो नि ।’
‘मैले त चिनिनँ नि ।’ – म बोल्न नपाई उनले भनिन् ।
मैले भनेँ म रमेश शुभेच्छु । पहिला तल भालुखोपको अहिले माथि सिम्लेको लुइँटेलको छोरो । उहाँ अर्थात् ज्ञानु दाइ मेरो साथी । म लुइँटेल सूर्यनाथको छोरो ।
‘ए जेठो छोरा ।’ – उनले जिज्ञासा राखिन् ।
‘हो ।’ जवाफ फर्काएँ ।
‘ए हिजो छोराले स्कुलबाट डायरी र कलम लिएर आएको थियो । तपाईंले दिएको हो ?’
मैले हो को भाकामा टाउको हल्लाएँ ।
उनले बस्न आग्रह गरिन् । मतानका तलामाथिको सिकुवा वा कौसीमा हामी बस्यौँ । एक दुई कुरा सोधीखोजी गरिन् । सानो छोरालाई ज्ञानु दाइलाई बोलाउन पठाइन् ।
कुरा गर्दै यसो आँखा डुलाउँदा सिकुवाबाट देखिने जति ठाउँ सबै फूलैफूलको बगैँचा देखिन्थ्यो । मतानकै छेउमा गेटसहितको चाइनिज दुबो ओछ्याएको बस्ने , आराम गर्ने ठाउँ । हेर्दा लाग्थ्यो यो गाउँघरको होइन कुनै सजाएको सहरको बगैँचा हो ।
हामी बोल्दै थियौँ । भाउजूले हाम्रा बाआमा र भाइबहिनाबारे सोधीखोजी गरिन् । उनले मबाहेक सबैलाई चिनेको रहेछ । मलाई बहिनीका बिहेमा झल्याकझुलुक देखेको मात्र रहेछ । मैलाई चाहिँ राम्ररी चिनेको रहेनछ ।
हामी कुरा गर्दागर्दै ज्ञानु दाइ आइपुगे ।
दाइलाई भेट्नासाथ शिष्टाचार स्वरूप हात मिलायौँ । हामीलाई हात मिलाएर चित्त बुझेन । त्यो बनौटी थियो । दुवै आँगालामा बेरियौँ । फेरि कसेर हात मिलाएकै बेला भनेँ, ‘लौ बधाई छ दाइ भाउजू चाहिँ साह्रै उद्यमी ल्याउनुभएछ । यो घरको स्वरूपले नै उद्यमी भाउजू भित्रिइछन् भन्ने थाहा भयो ।’
दाइ खुलेर हाँसे । हाँसो रोकेर मेरा साथीसँग परिचय गरे । सञ्चोविसञ्चो सोधे । बसौँ भनेर कुर्सी तानेर बसे ।
ज्ञानु र म गाउँले साथी हौँ । सहपाठी पनि हौँ । हामीले सिम्ले समाजको देउसी सँगै खेलेका । त्यो द्यौसी खेल्दा बसैभन्दा बढी नाच्ने मान्छे उनै थिए । म भट्याउने र गाउने । उनी नाच्ने । उनी गाउँका दिदीबहिनीसँग र एक्लै नाच्थे । मलाई ती दिनको मिठो सम्झना छ ।
कुराकानीका बिचमै मैले कुरा झिकेँ, ‘दाइ त उमेरमा साह्रै झिल्के पो त भाउजू तपाईंहरुको कता भेट भयो ?’
दाइ भाउजू कोही केही बोलेनन् ।
‘होइन बालाचतुरेमा भेट भयो कि सग्राँती बजारमा भेट भयो ? त्यस बेला त यी दुई बजार प्रख्यात थिए धान नाच्ने र विवाह गर्नेका लागि ।’
भाउजूले पनि हँसाइन्, ‘त्यही झिल्के देखेर त आएको नि म पनि ।’
हामी सबै खुलेर हाँस्यौँ । सानो भतिज पनि हाँसे ।
भाउजू मञ्चमीका योङहाङकी छोरी रहिछन् । उनको नाम मनिशा योङहाङ । कुरैकुरामा परिचय खुल्यो उनी एक समयका पञ्चमीका वडाध्यक्ष धनबहादुर योङहाङकी छोरी रहिछन् । हाम्रा गुरु र पछि गाउँपालिकाका अध्यक्ष भवानी लिङ्देनकी साखै भाञ्जी रहिछन् । उनले पनि हामीले पढेकै विद्यालय सिरिजङ्गा मा.वि गोपेटारमा पढेकी रहिछन् । एकै गुरुकुलकी चेली रहिछन् ।
मैले तुम्बा, तुम्माको खबर सोधेँ । तुम्बा बलबहादुर गाउँमा चिनिएका मान्छे । तुम्माको नाम चिजमाया भन्थे । भेट गर्ने समय नभए पनि उनीहरू दुवैलाई सम्झिएँ । तल्लाघर माथ्लाघर सबैतिरको खबर सोधेँ । त्यहीँ कुराकानीकै क्रममा किरण खुदाङ घरमा छैनन् भन्ने थाहा पाएँ । ज्ञानुका दाइ, दिदी भाइ बहिनी सबैको कुरा चल्यो । सबै चराले गुँड छोडेजस्तै बाबुआमाको घर छोडेर भुरुरु उडेर कहाँ कहाँ पुगेछन् ।
उनीहरूको परिवारलाई म राम्ररी जान्दथेँ । दिदीको घरायसी नाम हाँसु थियो । उनको स्कुलको नाम विष्णुमाया खुदाङ । स्कुल पढ्दापढ्दै बिहे गरेर गइन् । त्यसो त गाउँमा सबै दिदी बहिनीको बिहे स्कुल पढ्दापढ्दै हुन्थ्यो । लिम्बू परिवारमा मात्र होइन क्षेत्री बाहुनका परिवारमा पनि त्यस्तै हुन्थ्यो । गैराघरका लीला (अन्तरी) र इन्दिरा (कान्छी) को बिहे पनि ६–७ कक्षा पढ्दै गर्दा भएको थियो । इन्दिरा सङ्ग्रौला दिदीलेःएसएलसी दिने बेलामा बिहे गरेकी थिइन् । उनको बिहे गर्न ढिलो भएको भन्थे । अरूले त्योभन्दा छिटो बिहे गर्थे ।
त्यस बेला एक त पढाइ ढिलो हुन्थ्यो । अर्को चाँडो बिहे गर्ने चलन थियो । ज्ञानुकी माहिली बहिनी लीला हाम्री पनि बहिनी हुन् । उनको पनि पढ्दापढ्दै विवाह भयो । मीना र कल्पना सानासानै थिए । आज ती सबै घर खाने भएछन् । भाइहरू गुञ्जन, टार्जन, विनोद (अन्तरे) अनिल पनि ससानै थिए । अहिले उनका सन्तान त्यस बेलाका उनीहरू जत्रै भइसकेछन् ।
ज्ञानु मभन्दा एक दुई कक्षा अगाडि पढ्ने दाइसाथी । मैले उनीसँग कति कुरा सिकेको पनि सम्झना छ । कति रात म उनको घरमा बसेको पनि छु । यस भेटसँगै धेरै कुराको स्मृति भयो ।
मैले अहिलेका ज्ञानु भेटे पनि उस बेलाका ज्ञानु सम्झिएँ । उनी गणित जान्दथे । जानेको कुरा सिकाउन पनि सक्थे । उनका अक्षर पनि राम्रा थिए । निलगिरी स्कुल पढ्दाका अग्रज दाइ जोरपोखरी पढ्दाका भने सहपाठी बनेका थिए । उनी त्यस बेला नयाँ नयाँ लुगा लगाउँथे । नयाँ डिजाइनका फेसन लगाउन मन पराउँथे । जिन्स ज्याकेट र पाइन्ट लगाएर हिँड्थे । निकै जोखिमपूर्ण काम गर्थे । जोरपोखरी पढ्दा फेन्टा बोकेर गएको पनि याद छ ।
त्यस बेला सेन्टप पास गर्न नसके पुनः पढ्नु पर्थ्यो । उनी सेन्टप बिग्रिएपछि फेरि नौदेखि पढ्न जोरपोखरी पुगेका थिए । त्यही सिलसिलामा उनी, म, महेश्वर भण्डारी, कमला मैनाली, लक्ष्मी काफ्ले सबै सहपाठी भएका थियौँ । हामी लय दाइले खोलेका स्कुलमा भेट भएका थियौँ ।
हामी सहपाठी मात्र होइन सँगै डेरा बसेका साथी । जोरपोखरीको असलबहादुर लिम्बूका घरको भुइँतलामा हामीले चिसा दाउरालाई रिझाएर गुन्द्रुक र भात खाएका । कहिले काँचोकाँचो कहिले पाकेको पनि खाएका । एकै ओछ्यानमा सुतेका र दुःखसुख बुझेका । त्यस दिन म एक किसिम एउटा सहपाठीका घरमा बास बसेर अर्को सहपाठीका घरमा पुगेको थिएँ । म मेरा पुराना साथी खोज्दै थिएँ ।
हामी दुवैले पुराना पुराना कुरा निकाल्यौँ । माथि डाँडाका चन्द्र खनालको विवाहमा सँगै जन्त गएका थियौँ । नाचेरै रात बिताउँथे उनी । हामी जानी नजानी उफ्रन्थ्यौँ । दुर्गा काफ्लेका विवाहमा होस् वा कमल र टीकाराम अधिकारीका विवाहमा जन्त जाँदा हामी अग्रपङ्क्तिमा हुन्थ्यौँ । टङ्क काफ्लेका बिहेमा घरगाउँलेको कुटाइ पनि खाएका थियौँ भारपामा । भोला अधिकारीका विवाहमा जन्त जाँदा पनि सँगै थियौँ । ढकाल काइँला काका, जयप्रसाद खुदाङ (साहिँला) काका, नेत्र सुहाङ काका, टेकनाथ अधिकारी काका, लीला सुहाङ काका, श्रीप्रसाद अधिकारी दाइ सबैका बिहेमा हामी पुग्थ्यौँ । जहाँ जाँदा होस् त्यहाँ रमाइलो गर्ने पात्रमध्ये एक ज्ञानु थिए । उनी मादल र बाँसुरी पनि बजाउँथे । उनका अगाडि हामी केही नजान्ने थियौँ ।
यसो सम्झँदा त्यस बेलामा क्यासेटमा भए जति गीतमा नाच्न जान्ने ज्ञानु थिए । उनको नाच्ने कलाले पनि उनलाई सबै दाइ र काका पुस्ताले नछुटाई जन्त लैजान्थे । हामी प्रायः सबैका विवाहमा जन्त जान पनि भ्याउँथ्यौँ । गाउँमा हुने दिदीबहिनीका विवाहमा घरगाउँलेका कर्तव्य निर्वाह गर्न पनि अगाडि हुन्थ्यौँ । त्यस बेला धेरै दिदीहरूका बिहेमा ठुला खड्कुँला ओसार्ने र दाउरा ओसार्ने हामी थियौँ ।
हामी उमेरअनुसारका सानातिना उटपट्याङ पनि गर्थ्यौं । ठुला फटाइँ चाहिँ मिलेर गरेको सम्झना छैन । अहिले सम्झिँदा एउटा फटाइँको सम्झना चाहिँ ताजा छ । दाइले एउटी केटीले केटालाई पठाएको चिठी खोलेका थिए । त्यो भरपाकी प्रेमिकाले सुभाङको प्रेमीलाई लेखेको चिठी थियो । दाइले हुलाकबाट बुझेर खोलेका थिए । त्यस चिठीमा चतुरे बजारमा २ बजे भैँसी मार्ने ठाउँको पछाडि डाँडामा भेटौँ र कुरा गरौँ भन्ने ब्यहोरा थियो । दाइले चिठी खोलेर पढे अनि च्यातिदिए । मलाई भने त्यसपछिको चतुरेमा गएर त्यसरी कुर्ने केटी मान्छेको अनुहार हेर्ने रहर लागेको थियो । अरू अनेक उटपट्याङ, फटाइँ छुल्याइँ गर्थे तर ज्ञानु नाम जस्तै शान्त थिए । बरु उनी मिहिनेत गरेर केही पैसा कमाउँथे र बजारको केही राम्रो वस्तु किन्थे ।
बीचमा ज्ञानु र मेरो लामो समय भेट भएन । म एसएलसीपछि इलाम हिँडेँ । इलाम हुँदै काठमाडौँतिर लागेँ । ज्ञानु वैदेशिक रोजगारी तिर लागे । त्यसबेला अहिले जस्तो इन्टरनेट थिएन । फोन पनि हुँदैन थियो । पत्राचार पनि भएन । विदेशमा फोन गर्न गाह्रो थियो । फोन भए पनि धेरै महँगो पर्थ्यो ।
म कीर्तिपुर जाँदै गर्दा एक पटक बल्खुमा उनको र मेरो भेट भयो । उनी कसै आफन्तको पिसिओमा थिए । त्यस बेला त्यही पिसिओमा काम गर्छु भन्थे । एक दुई पटक फोनमा कुरा पनि भयो । पछि फेरि विदेश गएछन् । उनी केही समय कतार र केही समय साउदी बसे । हामी विदेश हुँदैदेखि फेसबुक र म्यासेन्जरमा जोडियौँ । आज धेरै वर्षपछि झन्डै युवा उमेर कटाउन लाग्दा हामी भेटिएका थियौँ । यो हाम्रा लागि खुसीको कुरा थियो । बीच बीचमा नभेटेको पछुतोको कुरा पनि थियो ।
मैले जान्दा ज्ञानबहादुरकी आमा ढाकाका लुगा बुन्थिन् । उनले बुनेका ढाकाका टोपी राम्रा हुन्थे । उनी पैकार पनि गर्थिन् । त्यहाँ तङ्बा खाने गाउँले काका बडाबाहरूको पनि ओहोरदोहोर हुन्थ्यो । उनी अरू देउरानी जेठानीभन्दा उद्यमी नारी थिइन् । अहिले पनि केही गरिरहेकै हुन्छिन् । उनी र माथि आताङकी आमा दिदी बहिनी । दुवै गाउँका बहादुर नारी ।
ज्ञानुका बा त्यस क्षेत्रबाट गाउँ पञ्चायतका सदस्य पनि भएका । त्यसैले सबैले समिति भन्थे । उनका हजुरबालाई पनि हामीले चिनेजानेको । एक दिन स्कुलबाट घर फर्कंदै गर्दा थेत्ते बितेअरे भन्ने सुनेर सँगै बसेर रोएको पनि सम्झन्छु । यस्तै अनेक कुरा हामीले सँगसँगै सम्झियौँ ।
सम्झनामा हाँसुँ दिदी पनि आइन् । कारिङ दाइ पनि आए । ज्ञानुको दाइ कारिङ रोजगारीका लागि भारत गएका थिए । के भयो कसो भयो उनी फेरि फर्किएर आएनन् । उनी आजसम्म बेपत्ता भएको तीतो पक्ष गम्भीर भएर सम्झियौँ । गाउँकै अर्का काका चन्द्र ढकाल पनि त्यसरी नै बेपत्ता भएको पीडा पनि सम्झियौँ । हाम्रो साथी पूर्णबहादुर बिरामी भएर आएको पनि सम्झियौँ । छोटो समयमा पनि अनेक विषय सम्झियौँ । महेन्द्र काका नागालैन्डमै बसेको पनि सम्झियौँ । उस बेला आजको अरब कतार जस्तो भारतको नागालैन्ड जाने चलन थियो । हाम्रा काका र बडाबाहरू पनि उतै थिए । ढकाल जेठा बडा, हाम्रा ठुला भिनाजु, लीला काफ्ले भिनाजु पुष्प मित्र, गइराघर टङ्क, टेकनाथ तिम्सिना सबैको रोजगारीको गन्तव्य त्यतै थियो । हाम्रा बाल मस्तिष्कमा नागालैन्ड जानु पनि एउटा सपना बनेर रहन्थ्यो ।
हाम्रा गफमा गैराघर, तल्लो भालुखोप, पखेरे, ढाँडे, माथ्लो भालुखोप धेरै पक्ष आए ढुङ्गे, मालबाँसे, जेभालेमा घटेका अनेक घटना आए । नीलगिरि र जोरपोखरी पढ्दाका तितामिठा कुरा आए । स्कुलमा कक्षा कोठा बढार्दा र लिप्तादेखिका कुरा आए । खेलकुद र कुटाकुटका कुरा आए । मालबाँसे र भालुखोपको समूहको कुटाकुटले कहिलेकाहीँ बाटो आतङ्कित हुन्थ्यो । यी अनेक पक्ष सम्झिए ।
हामी पुराना पुराना कुरामा हराइरहेका थियौँ । भाउजूले चिया कस्तो बनाउने भन्नेबारे सोधिन् । मेरा साथीले चिया नखाने बताए । भाउजूले ठुला कपभरि तातो दूध ल्याएर राखिदिइन् । घरमै गाई पालेको रहेछ । छोराले गाउँको दूध पनि सङ्कलन गरेर डेरी सञ्चालन गरेका रहेछन् । घरमै घिउ र छुर्पी बनाउँदा रहेछन् । घरेलु उद्योग नै चलेको रहेछ । दूध पिउँदै अरू कुरा थाहा भयो ।
ज्ञानुको घर कुनै कोणबाट पनि गाउँको साधारण घर जस्तो थिएन । वरिपरि फूलको बगैँचा । चाइनिज दुवोसहितको बगैँचा । तुलसाको मठ यथास्थानमा थियो । घर पूरै सफा सुग्घर थियो । छेउमा छुट्टै गाई गोठ र डेरी थियो । कुरै कुरामा कक्षा १२ पढ्दै गरेका छोरा राजन आए । उनले अगाडि आएर नमस्कार गरे । भनेँ – ल दाइ छोरा पो पहिला हामी साथी सथी भएर डुल्दा जस्ता जवान भएछन् ।
दाइ हाँसे र भने – हो नि ।
मैले राजन बाबुलाई जिस्क्याउँदै भनेँ त्यस बेला हामी बालाचतुर्दशीमा रातै बस्थ्यौँ । धान नाच्थ्यौँ । तपाईँहरू पालामा भन्न जान्नुहुन्न होला ? धान नाच्न जान्नुहुन्न होला ?
भतिज अलमल परे । उनलाई तपाईं भनेर बोलाएको अनौठो लागेको थियो ।
यो ठट्टा थियो । चिनाजानी नै नभएको काकाको कुराले राजन बाबु केही लजाए । उनी केही नबोली हाँसिरहे ।
मैले राजनको पढाइबारे सोधेँ । डेरी केकस्तो चलेको छ ? सोधेँ । दूध कति सङ्कलन हुने, कति छुर्पी बन्ने, कति घिउ, पनिर बन्ने आदि विषय पनि सोधेँ । उनले सबै कुरा राम्रो रहेको बताए ।
पनिर चाहिँ गाउँमा विक्री हुँदैन । आफूलाई खान मात्र बनाउने गरेको छ । उनले भने ।
अनि डेरी दर्ता गरेर चलाएको कि नगरी ? मैले सोधेँ ।
दर्ता त गरेको छैन अङ्कल । पालिकाले दर्ता गर् भन्दै छ । अब गर्नु पर्ला । उनले भने ।
हामी पुग्दा गृहकार्य गर्दै दगर्ने बाबुको नाम साजन रहेछ । उनी हामीले पढेको सरस्वती मा.विमा छ कक्षामा पढ्दा रहेछन् । सन्तोषा भतिजी पनि घरमा रहिछन् । उनी मोवाइल चलाएर बसिरहेकी थिइन् । उनी शनिश्चरेमा स्नातक पढ्दी रहिछन् । उनले हाम्रो फोटो खिचिदिइन् । सोधीखोजी गर्दै जाँदा उनी टार्जन भाइकी छोरी रहिछन् । उनैलाई उनका दिदीहरू सोनिया र अफियाबारे सोधेँ । उनी धेरै बोल्न चाहिनन् । निकै लजालु स्वभावकी रहिछन् । उनी दशैँ मान्न मूलघर गएकी हुँदा त्यस घरमा आएर कुरा गर्ने मानिसलाई भेट्ता अनौठो लाग्नु र कम बोल्नु स्वाभाविकै हो ।
मैले सबैलाई आफूसँग जे भएको एकसरो उपहार दिएँ । साना बाबुले हिजो स्कुलमै पनि पाइसकेका थिए । उनले नै घरमा गएर भाउजूलाई रमेश शुभेच्छु चिन्नुहुन्छ ? भनेर सोधेका रहेछन् । भाउजूले नचिनेपछि ज्ञानु दाइलाई सोधेका रहेछन् । बेलुका घरमा पनि हाम्रो कुरा भएको रहेछ ।
हामी कुरा गर्दै सिकुवाबाट आँगनमा आयौँ । भाउजूले लगाएको बगैँचालाई निहाल्यौँ । गाउँघरमा पाइने सबै खाले फूल भाउजूका बगैँचामा थिए । मित्र उपासकले फोटोहरू लिए । भिडियो पनि लिए । हामीले सामूहिक फोटो पनि लियौँ । फूलको सौन्दर्य र वासनासँग रमायौँ ।
गाउँका अरू घर परिवार र त्यस घर परिवारको अवस्था देखेर मेरा मित्र पनि प्रभावित भए । त्यति सफा घर अरू कसैका थिएनन् । मैले आँगनमा उभिएर खुसी प्रकट गरेँ । त्यस घरमा अधिकारी बस्ता पनि पुगेँ । काफ्ले बस्ता पनि पुगेँ । भण्डारी बस्ता पनि पुगेँ । आज खुदाङहरु बसेका बेला पुग्दा घरको स्वरूप फेरिएको पाएँ ।
घर बन्न र बिग्रनमा नारीको हात हुन्छ । त्यस घरको सजावटका पछाडि पनि एउटी नारी थिइन् । त्यति सुन्दर बनाउने मिहिनेतमा सबैको हात होला तर मनिषा भाउजूको मिहिनेत बढी थियो । मैले हाँसेरै भनेँ ल भाउजू हाम्रो दाइको घरआँगन सुन्दर बनाउनुभएछ । तपाईं मिहिनेती हुनुहुँदो रहेछ । गाउँमा दाइहरू विदेश बस्ने र भाउजू सहर छिर्ने लहर छ भन्थे । दाइहरू उता कमाउने यता भाउजूहरू उडाउने कथाका पात्रहरू भेटिन्थे पढिन्थे । आज दाइको पैसा पनि बचाउने र घर परिवार पनि उठाउने भाउजू भेटेँ ।
छेउमा बसेर राजन भतिज हाँसिरहेका थिए । फेरि भाउजूलाई नै भनेँ, छोरा पनि मिहिनेती पाउनुभएछ । कान्छा पनि मिहिनेती छन् जस्तो छ ।
मेरो कुरा सुनेर भतिज अलि लजाए । दाजु भाउजू दुवै मख्ख परे । ज्ञानु दाइले थपे, ‘हो नि यिनेर्ले नबचाएको भए म के गर्न सक्थेँ र । धेरै बच्तैन थियो नि । पहिले विदेश गएर आएर बिहे गरेँ । दोस्रो चोटि गएर आएर यो घर किनेको ।’
हिँड्ने वेलामा दाइले सोधे, ‘होइन आजको खाना कहाँ हो र ? यतै खाना भाउजूले बनाउँछिन् खाएर जाऊ । अब कता जाने र ?’
हामीले खाना खान जेभाले पुग्ने बतायौँ । उनले थपे, ‘अलिकति कागती टिपिदिऊँ लान सकिन्छ ? गाउँको कुरा उहाँ त चिज हुन्छ नि । यसो कोसेली नि ।’
मैले हिँड्दै जाने बाटो बताएँ । सोझै गाडीमा नजाने हुँदा कागतीको कोसेली लान गाह्रो छ भन्दै धन्यवाद दिएँ । फेरि यहाँबाट के बोक्नु काठमाडौँमा पनि पाइहाल्छ नि दाइ भनेर आश्वस्त तुल्याएँ ।
भाउजूले एक छिन है भन्दै भित्र पसेर केही ल्याइन् । घरमा खान बनाएको अलि सुकिसकेको छैन । यो यहीँ बनाएको छुर्पी हो – उनले यसो भन्दै एउटा छुर्पीको पोको झोलामा हालिदिइन् ।
ज्ञानु र म मित्रवत्, अझ भातृवत् अँगालोमा बेरियौँ । फेरि एक पटक कसेर हात मिलायौँ । हामी बिदा माग्दै अगाडि बढ्यौँ । दुई भाइ बाबुहरू र दाजुभाउजूले घर पछाडिसम्म पुर्याएर बिदाइको हात हल्लाए ।
हाम्रा मनमा त्यस घरको सजावट र त्यस घरकी उद्यमी भाउजूप्रति श्रद्धा लागिरह्यो । दाइप्रतिको आदर पनि चुलियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।