तेह्र वर्षको थिएँ म । कता हो कता हुर्केर वयस्क पनि नभएको, सानो बालख भन्न नि नमिल्ने उमेर हो तेह्र वर्ष । सृष्टि र संसारका रित र ऋतुरागबारे बुझ्ने ज्ञान पसिसकेको हुन्छ यो उमेरमा । तै पनि तेह्र वर्षको केटो वा केटीलाई हाम्रो परिवार र समाजले त्यत्रो विधि भाउ भनें दिंदैथ्यो हाम्रा पालामा । ‘तँ हिजो अस्तिको मुला सिँगाने, ओठ निचोर्दा दुध आउने प्युसो’ आदि यस्तै भनेर ठेगान लगाउँथ्यो समाज र परिवार यो उमेरका बालबालिकालाई उ बेला । उस्तै छुद्र मतिको ठालु छ भने ‘तेरीमा एकराते’ भनेर यो उमेरका सानालाई ‘बुलि’ गर्न बेर लाउन्न अझै ।

यो रत्यौली सम्झना मेरी मावली हजुरआमाको लालनपालनमा हुर्किंदाको एक घटना स्मरण हो । पान्थर केराबारी अर्जेलकी छोरी हाम्री मावलकी हजुरआमा आफ्नी एक मात्र सन्तान छोरी हाम्री आमा भएकोले हामीसँगै बस्नुहुन्थ्यो । बालविवाह गरेर सिवा खोलावारि काफलबोटेका नामी मनोरथ खनाल ज्योतिषकी कान्छी ज्योतिषिनी हुन् । ११ वर्षमा अन्माइएकी हाम्री ‘बैंशमै विधवा’ हजुरआमाले खेपेको भुक्त र बाँचेको जिन्दगीको छुट्टै विदारक कथा छ ।

हजुरआमा कतै आफन्त भेट्न, पाहुना लाग्न जाने, कार्जे, बिहेबटुलो आदिको निम्तो मान्न जानेपर्नुभो भने भाइ र म पुच्छर लागिहाल्थ्यौं । म मुनिको भाइ थियो एघारको । दुई जोडीजस्ता भएर हुर्केका हामी । हजुरआमालाई हामीलाई साथै लगेर नि सुख थिएन, नलगेर नि सुख थिएन । साथ नलगे ‘म पनि जाने’ भनेर भाँड गरिन्थ्यो । साथ लगे पाहुना घरमा चकचक गरेर मान्छेका कन्सिरी रन्काएर छोडिन्थ्यो । तर हामी बान्द्रे उमेरका दुई केटालाई रोक्न कसले सक्ने । रुने, कराउने, बटारिने गर्नु भाम गरिसकेर नि पार लागेन भने लुगा नि गत्तिलो नलाइकन घरभागा भएर हजुरआमा जाने बाटोमा घरभन्दा अलिक माथि गएर कुरिन्थ्यो । कहिलेकाहीँ भने बाले लखेट्दै आएर चौखुर्याएर घर फिर्ता लैजानुहुन्थ्यो । धेरैजसो आफैँले जितिन्थ्यो र गइन्थ्यो ताक्या ठाउँ ।

पाँचथर नवमीडाँडा  काफलबोटेबाट बसाइँ सरेर झापाको केर्खामुनि जोगिच्वान निवासी बनेका धाराघरे मामाका एक मात्र सन्तान डिल्ले दाइको बिहे हुने भो । दाइको नाम त डिल्लिराम हो तर साराले एकलखे लाएर कहन्थे मान्छेको नाम । खिनमायालाई नि ‘खिने’ भनी भ्याउने चलन थियो । बिहेको निम्तो आयो । निम्तो गर्न धाराघरे मामा आफैँ आउनुभएको थियो सुपारी बोकेर । निम्तो कार्ड छपाउने चलन रैती दुनियाँका घर आँगनमा ओर्लिसकेको थिएन । अलिक हुनेखानेका बिहेको निम्तोकार्ड देख्दा ‘काडइ छपाउन सक्ने माँजन हुन् नि’ भनेर वर्गीय  हैसियत दिन्थे मान्छे ।

डिल्ले दाइको बिहे खान हजुरआमा जानुहुनेभो । डिल्ले दाजु हाम्री हजुरआमाको भतिजाको छोरो नाति परे । एउटा हलुंगेको ट्यामीमा पानी हो न मोही मिसाएर दहीको भाइ मोहीको दाजु ‘पखाले’ गोरस र एक किलो चिनी कोसेली ठीक पार्दिनुभो आमाले । अलि सुठ्ठी नै पो हुन्छ कि क्या हो कोसेली त भनेर छलफल चल्यो । एक पाथी भन्नु जति भर्खर खनेका आलु नि पोको पारेर थपियो । अब कोसेली गइन्न भो । एक ट्यामी दहीबन्धु पखाले, चिनी र एकपाथी आलु । सबकोइले यतिको कोसेली लाँदैन थिए त्यो बेला । एक लिटर दुध वा दही वा पखालेको ट्यामी लखरलखर हल्लाउँदै गएर बिहे, कार्जेमा पाहुना लागी तीन रात, तीन दिन बसेर पेटपाला गर्ने त पाहुना हुन्थे भने हाम्रो त तीन थोक थियो कोसेली । हातमा गोरसको ट्यामी र थाप्लामा आलु र चिनीको झोला बोकेर हजुरआमाको पाइतो निस्कियो । हामी दुई दाजुभाइ पछि लाग्यौँ ।

झापाको महेन्द्र राजमार्गमा पर्ने केर्खासम्म मोटर चढेर त्यहाँबाट दक्षिण हिँडेर पुगियो जोगीच्वान बिहे खान । हिंड्न कतिबेर लाग्यो थाहा छैन तर त्यति चाँडो पुगिएको भने थिएन ।

रातिको बिहे हुने चलन थियो त्यो बेला । खासै टाढा होइन जन्ती जाने ठाउँ भन्थे । घाम ढल्केर पश्चिम लागेपछि बेलुका खासै हतार नगरी जन्ती बेहुलो लिएर हिंड्यो । जन्ती खासै धेरै नल्याउनू भनेका थिए रे बेहुलीका बाउले । यतिसम्म ल्याउनू जन्ती भनेर सङ्ख्या नै तोकिदिएका हुन्थे बेहुलीका बाउले त्यो बेला । आफूले भतेर लाउन सक्ने गच्छेअनुसार जन्तीको सङ्ख्या यति आउनू भनेर तोक्ने त्यो चलन थियो ।

बेहुली लिन जान तयार एउटा गाडी थियो । त्यो जीपगाडी थियो जस्तो धमिलोधमिलो चित्र आउँछ मनमा । साना भुरालाई त्यो जीपमा नहाल्न निक्कै कडाइ गरिएको थियो । आफ्ना बाउको फेरोमा झुन्डिएर जन्ती जान चाहने र भुरालाई रोक्न तोकिएको बैदारबीच तानातान, तीनका बाउआमासँग भनाभन र भुराको रुवाबासी चलेको थियो । डिल्ले दाइका बिहेमा मलाई पनि जन्ती जान खुब मन थियो तर मेरा न बाउ थिए न काका थिए जन्ती जानेमा । त्यसले गर्दा बेहुलो अन्माउने बेलामा रमित हेर्न मोटर छेउमा पर्न सम्म नदिइकन परपरै घुर्चेर, धपाएर छेउमा ढिम्किनै दिएन तौलियाको गलबन्दी लाएर जन्ति जान ठिक्क परेको ढङ्ग न भाँतीको अरिमोठे बैदारले । त्यस छुद्र मानिसलाई सबैले बैदार दाइ बैदार दाइ भनेर बोलाउँथे ।

“ए तँ जाँदैनस् जन्ती, हराइन्छ लोगभोगमा । हेरविचार गर्ने मान्छे कोही छैन तँलाई” हजुरआमा अन्माउन ठिक्क परेको बेहुलोगाडी छेउ आएर हामीलाई बटुलेर लाँदै भन्नुभो । यसरी हामी दुई केटा बेहुलो अन्माएको रत्यौलीघरका पाहुना हुन पुग्यौँ ।

जसै साँझ पर्दै गयो पाहुनापासा, घर गाउँलेमा महिला मात्रै बाँकी रहेको घरमा हल्लीखल्ली बढ्दै गयो ।

“बेलैमा दालभात पकाएर ठिक्क पार है, रत्यौली खेल्न अबेर हुन्छ” एक महिलाले कराएर भनिन् ।

हामी दुई दाजुभाइ र हाम्रै उमेरको जन्ती जान असक्षम धाइजनका रिजालको एक छोरो गरेर तीन केटा छौँ । ती रिजालहरू खोइ के नाता पर्थे हाम्रो । आमाले कुरा गरिरहनु हुन्थ्यो ‘धाइजन दिदी’ भनेर । त्यो रिजाल केटो हामी दुई दाजुभाइभन्दा अलिक अग्लो थियो र अलिक हेपाहा चालाको थियो । काम न काजसँग हामी दुईलाई ‘बोलबम पेट्रोल पम, बोलबम पेट्रोल पम’ भन्न लगाउँथ्यो । गायत्री मन्त्रझैँ ऊ पनि त्यही जपिरहन्थ्यो । दिक्क लागेर भन्न छोड्यो भने ‘किन भनिनस् ?’ भन्दै लात्ति उजाएर हानुँलाझैँ गर्थ्यो । त्यति मात्रै होइन बिहेभरि उसले जता जाऔँ भन्छ त्यतै नगए, जे खेलम् भन्छ त्यही नखेले दपेटिहाल्थ्यो । त्यसको बन्धक जस्तो भएर बित्यो भन्दा हुन्छ हाम्रो दुई दिनको बिहेघर जिन्दगानी ।

अहिलेको जस्तो बिजुलीको जुग थिएन । बेहुलो अन्माएको घर साँझ अँध्यारोले झपक्कै पार्यो । मैनटोल त छ रे तर त्यसलाई सल्काएर दम दिएर ठिक्क पार्ने छेउछाउका छोरो मान्छे जति घरमा छैनन् जन्ती गए ।

“मैनटोल जलाओ न ए सारै अँध्यारो भो केही देखिएन” बेहुलाकी आमा धारघरे माइजूले भन्नुभो ।

“कहाँ सल्काउँछ मैन्टोल, रत्यौली खेल्ने बेलामा ! रत्यौली भनेकै अँध्यारामा खेल्ने हो !” एक जना पाकी महिलाले भनिन् ।

दुहुनो गाई ‘एकहाते’ भएर जन्ती जान नपाएको तल्ला’र बुढ्थोकी छ घरमा भनेर कोही बोलाउन गयो ।

“रत्यौली खेल्ने आइमाईको कुँडुल्लोमा जाउँला मैन्टोल सल्काउन, आइमाइले घोडा चढे भने ?” भन्यो रे भन्दै बुढ्थोकी मान्दै मानेन आउँन । बोलाउन गएकी महिला उसै फर्किइन् । बेहुलाकी आमा नै गएर बोलाएपछि हार्न सकेन । ऊ आयो र मैन्टोल सल्कियो ।

मैन्टोल सल्किएको एकैछिन भएको थिएन । एउटी जरीखरी स्वभावकी महिला आइन् र तुरुन्त उज्ज्यालो निभाएर रत्यौली सुरु गर्ने फौजी खालको कमान दिइन् । र, झलमल उज्ज्यालो मैन्टोल निभ्यो । अब एउटा ठुलो पानसे दियो बाले आँगनमा । अरु केही महिलाले हातमा अन्य टुकीको उज्ज्यालो नि बोकेका छन् ।

कोही महिला सिकुवाको खाटमा बसेका छन्, कोही आँगनमा चलमल गर्दैछन् । भाइ कता गयो त्यहाँ थिएन एकैछिन । म भने कसले कुन सड्का झट्टि हानेर खुत्रुक्क पारिइनसक्ने खसी काटेका ठाउँको निरीह कुत्ता जस्तो घरी यता कुद्छु घरी उता कुद्छु । विचलित र भयभीत छु । जाऊँ कहाँ जाऊँ बिहे छ, रत्यौली छ । बसूँ कसले कतिबेला दपेट्ने हो छोरोमान्छे भएको दोषमा त्राहीमाम छ । अलिक ओल्टोकोल्टो पर्दै, रत्यौली मूडका महिलाको ठाडो नजरबाट छलिंदै-वर्दै म त्यतै हुँदो बसें ।

सिकुवाको खाटमा अटेसमटेस महिला बसेका थिए । कोही आमा, हजुरआमा त कोही अधबैँसे युवतीहरू । एउटी महिलाले खोइ के भनी अर्कीका कानमा । सुन्नेले कुरो बुझिन र दोहोर्याई तेहर्याई सोधी । भन्नेलाई झ्वाँक चलिसकेको थियो । ‘बुझिनौ भने यी यो भनेको राँड, बुझ्यौ अब ?” भन्दै आफ्नो प्रजनम अङ्गलाई दाबेर देखाउँदै र त्यसको झर्रो नामले पुकार्दै समसाँझै खुल्लमखुल्ला भन्दिइन् तिनले । अरू जम्मै महिलाहरु कङ्कलाशब्द गरेर हाँसे । म तीन छक्क परें । ए रातै उधुम पो हुनेरछ कि क्या हो आज भन्ने भो ।

साँझमा सबैले खाइ, मस्काइको धन्दापात सकिसकेका थिए । नभन्दै रत्यौली सुरु भयो ।

एक्कासि आँगनमा प्यान्ट, कोट र टोपी लाएर लौरो टेक्दै कुप्री परेर आएको एक मान्छे देखियो । त्यो मान्छे सोझै सिकुवाको खाट ताकेर आयो र एउटी महिलालाई तानेर आँगनमा लगी घोडा चढ्न थाल्यो । ती महिला “मलाई होइन ए उ राधेकी आमालाई तान” भन्दै त्यस व्यक्तिका टाँगमुनि एकैछिन चौखुरिएर हाँस्दै रमाउँदै उम्केर भागिन् ।

त्यो पुरुष आकृति पुरुष होइन रहेछ । बेहुलाघरका छोरामान्छेका जे जे पहिरन भेटिन्छन् भिरेर पुरुष परिधानमा रत्यौलीको लाटो बनेकी रहिछ एक महिला ।

हाम्री हजुरआमा हौसेर आँगनमा दौडिनुभो सिकुवाबाट र लाटोका जोरबाहु पक्डेर फेरो झिकेर नाच्दै तुक्का गाउनुभो, “खोजीखोजी ले लाटा, रोजी रोजी ले, खोजीखोजी ले लाटा, रोजी रोजी ले ।”

हजुरआमाको अनुमति पर्खेर बसेजस्तो गरेर त्यस रत्यौलीको लाटोले भेटेजति छेउछाउका आइमाईमाथि उक्लिन र इत्रिन खोज्यो । कोही गला फोडेर हाँस्दै भाग्दा रहेछन्, कोही रमाइलोमाथि झन् रमाइलो थप्न थामिंदा रहेछन् । आँगनमा महिलाको हुल बन्यो । रत्यौलीको लाटोलाई जेसुकै गर्न नि छुट हुन्छ रे । यौनजनीन अनेक भाँती र ढर्रा निकाल्दो रहेछ रत्यौलीको लाटो । भिउसिने बोकाले जस्तो आवाज निकालेर जोसुकैमाथि घोडा चढ्छ ऊ । घरी हातले सर्म हुने क्रिया गरेर देखाउँछ सबैलाई ।

अघिपछि त्यस्तो शान्त, लजालु हाम्री हजुरआमालाई केहीको बार बन्देज छैन । पुरै उर्लेर आउनुभएको छ । घरी नाच्नु हुन्छ घरी रत्यौलीमय गीतका गेडा उराल्नुहुन्छ ।

बेहुलाकी आमा हाम्री धारघरे माइजूलाई कसैले तानेर आँगनमा ल्यायो । त्यसै बखत एक गीतको हरफ नाराजुलुसको भाकामा घन्कियो कुनै महिलाको मुखबाट:

“खाडलको सिन्की झिक्नै पर्छ, बेहुलाकी आमालाई … पर्छ”

त्यति भनिसक्दा हाम्री धारघरे माइजूको ढाडमा रत्यौलीको लाटो चढिसकेको थियो । “खाडलको सिन्की झिक्नै पर्छ…” फेरि घन्कियो । लाटोले माइजूलाई कज्याइसकेको छ, मनोमानी गर्दैछ ।

“छोड ए मुर्दा मलाई, उ उता अलिक तरुनीतिर जा” माइजू  खुब जोड गर्दै लघारिंदै, घिस्रिंदै लाटाको पन्जाबाट उम्किन खोज्दै भन्नुहुन्छ ।

अरू जम्मै महिला हाँसेका छन् । ताली पिटेका छन् । लाटो एउटै महिलामा थामिएर बस्दैन । रोजीरोजी समाएर उक्लिन खोज्छ । लाटोलाई जिस्क्याउने र उसले झम्टिंदा भाग्ने खेला चल्दोरहेछ । भाग्दा लड्ने महिलामाथि नै लाटो जाइलाग्ने । महिलाहरू हाँस्ने, हौसिने उखुम रमाइलो गर्ने चेष्टामा छन् ।

यतिकैमा एउटी महिलाले भाका हाली:

“तल्लाघर जेठाजुका पिंडालुका दाना

न उसिन्नु न भुङ्ग्रयाउनु कसले सक्छ खान,  कठै मैले के गर्नु…”

एक रन्को हाब्रो च्यातेर सबै हाँसे अनि सबैले स्वर खापेर गाए: तल्लाघर जेठाजुका पिंडालुका दाना… ।

बिहे हुन बाँकी जस्ता देखिने केटीहरू कोही मरीमरी हास्ने छन् मुख छोपेर, कोही कानेखुसी गर्ने छन् । सुन्दा त सोझै काँचो पिंडालु दिएर खा भन्ने छिमेकीलाई भनेजस्तो गीतले तर कुरो बारीमा फल्ने पिंडालुतिर गएको छँदै छैन ।

इत्रिने, मस्किने, छिल्लिने उमेर, बल-बैंश ढल्केका हजुरआमा, आमाहरू एक छुट्टै घेरो हालेर आँगनमा सङ्गिनी गाउन र फन्कोमा उभिएर नाच्न थाले:

“बारै र बरिसका सौंबारे औंशी, सरज्यु नबोली नुहाउन जौं न…

बाबाले दिहाले बालखै कालमा, भोको र तिर्खो नि हेर्दिने कोइ छैन, हरि हरि नारायण…”

…भावीको लेखा भए त धानको भात खाउली, नभए बजैका भुसरोटी निलौली, हरि हरि नारायण…”

…बुहारी भित्र्याउली मन दि नहाल्नू कस्तो हो बानी नौली र पउली

भंडार चाबी नि दर्बिलो राखेस्, सुद्धि हराएमा बाहेक परौली…हरि हरि नारायण…”

रत्यौलीको छुट्टै रौनक चल्या बेला हजुरआमाहरूको यस्तो सादगी सङ्गिनी गायन र नृत्यलाई कसैले बाल दिएको छैन तर आमाहरू कटिबद्ध लागिपर्या छन्, घुमिरहेका छन्, नाचिरहेका छन् ।  सङ्गिनी गाएर बालविवाह गराइएका उहिलेका महिलाले भोग्नुपरेका पीडा गाइरहेका छन्, बुहारी आएपनि आफ्नो घरको कमानकब्जा नगुमाउन घरमाऊलाई सचेत गराउने गीत सुनाइरहेका छन् ।

ढिकीको गाउँखाने कथालाई गीतको लयमा गाउँदै आई एउटी आइमाईले र हजुरआमाहरूको लयदार सङ्गिनीको लयलाई बिथोली र अर्की आइमाइको ढाडमा उल्केर ढिकीच्याउँ पार्न थाली:

“तल्लाघर बुढीमाउको माना जत्रो दुलो

माथ्लाघर बुढाबाउले उफ्री उफ्री हुलो, कठै मैले के गर्नु ।”

केही महिला त्यही भाका दोहोर्याएर रहुसले गाउँछन्, हाँस्छन् । मयत्रोको सप्कोले मुख छोप्दै लजाएर पानी भएझैँ गर्दै “ढिकी, ढिकी” भनेर साउती मारे केही तरुनीबरुनी महिलाजनले भने त्यहाँ ।

हाम्रा घरमा भएको सधैँभरि ‘भक्ल्याङ्गच्याङ्ग, भक्ल्याङ्गच्याङ्ग’ गर्ने ढिकीको यस्तो विधि सर्मनाक उखान मैले त्यसै दिन सुनें । सिकेँ पनि ।

‘जम्दार्नी, जम्दार्नी’ भने सबैले त्यहाँ एक जोरहाडे ज्यानकी एउटी अलिक डरलाग्दी महिलालाई । सबैले जम्दार्नीलाई उक्साएपछि जम्दार्नी अघि बढी- रत्यौलीको लाटोमाथि चढ्न खोज्छे जम्दार्नी । लाटो उम्केर उनैमाथि जाइलाग्छ ।

जम्दार्नीले भाका हाली:

‘बेहुलो गयो बेहुली लिन डोली चढाई ल्याउँछ

नौ महिनाको भाका देओ घोक्रे छोरो ब्याउँछ…कठै मैले के गर्नु ।’

यो टुक्का हाल्दा जम्दार्नीले कम्मर मुनिका सबै क्रियाकलाप हातले गरेर देखाई । ठाउँठाउँ, जग्गाजग्गातिर ताकी, औँल्याई । सबै महिला हुरुक्क हुन्जेल हाँसे ।

जम्दार्नीले अर्को भाका हाली:

‘बेहुलो उठ्यो बेहुली लिन बस्यो डोली चढी

आग्लो चुकुल बलियो राख देख्लाउ लडीबडी, कठै मैले के गर्नु ।’

हाँसो थामिएकै थिएन त्यहाँ । अर्की तुक्का लाउनकी झन् जब्बर पसी खालमा र हाली तुक्का:

‘असारैको झिमझिम झरी मङ्सिरको ठिही

पराइलाई पोइ मान्नु छ लालीजोवन दिई, कठै मैले के गर्नु ।’

फेरी जम्दार्नीले खिची सबैको ध्यान:

‘धानचरीको खस्यो गुँड हाँगो पड्किएर

ऐया आत्था गर्छे बेहुली घोचो रड्किएर, कठै मैले के गर्नु ।’

जम्दार्नीका तुक्काले सबै पानीपानी भए । कसैले मुख छोपे, कोही कसैको कुमपछि मुहार लुकाएजस्तो गरेर रत्यौलीको स्वादमा रमाए ।

“मरेस् जेमराज ! यस पड्केले त केही बाँकी राख्दिन रत्यौली खेल्न पाएपछि” बेहुलाकी आमा धाराघरे माइजू लाजले भुतुक्क हुँदै भन्नुहुन्छ ।

मेरी बास्सै, रत्यौली भनेको खपीखानुको हुँदोरछ र ! राजाले फुक्का छोड्देका रत्यौलीका महिलाले झिल्कै उठाउने रछन् । प्रत्यक्ष भोगाइको पहिलो र अन्तिम रत्यौलीलाई म गुन्दै थिएँ ।

यस्तै रमाइला दृश्य, तुक्का र पाराहरूमा भुलेर बस्दा म रत्यौलीको केटोमान्छे हुँ भन्ने तथ्यलाई मैले बिर्सेछु कि क्या हो । अघिसम्म जोगिँदै, छेलिंदै गरेको मान्छे रत्यौलीका महिलाको टड्कारो नजरसामु परेको पत्तै पाइनछु । फेरि हामी सानै केटा भएकोले केही नगर्ने जस्तो, रत्यौलीको रमाइलो मान्न दिएजस्तो गरेका थिए महिलाले अघिदेखि र ढुक्कले नै रहुस हेरेर बसिया थियो । सँगसँगैजसो भएका हामी तीन भाइ छोरामान्छेमा मैमाथि तीनको बक्र नजरले पक्डेछ ।

“ए त्यो केटो कहाँबाट आयो आइमाईका रत्यौलीमा ? समातेर झ्याँक तेल्लाई” भनेको मात्रै के सुनिया थियो मेरो तेह्र वर्षे बालक ढाडमा अघि कोही चढिसकेको थियो । ‘रत्यौली आइमाईको मनपरी गर्ने, बोल्ने दिन हो, राजाले नै छुट दिएको रे यस दिन । छोरोमान्छे आइमाईका रत्यौलीमा पसो भने मारे पनि बात लाग्दैन रे’ भन्ने सुनेको थिएँ आमा, हजुरआमाका गन्थनमा । डरले सातो र गैगो । एक हुल्को ह्वाँ गरेर रुन नि भ्याएँ मैले तत्क्षण ।

“ए मेरो नातीलाई त नमार है” हजुरआमा बोलेको सुनेँ अँध्यारोमा । म त्यो पुरुषको भेषमा ‘समातेर झ्याँक्ने’ मौका खोज्दै हिँडेकी आइमाईबाट कुन सड्का उम्केर भागेँ । अँध्यारो काली ओढार छ । घर पछाडिको खमारमा पार्क गरिराखेको बयलगाडाका टाँगमुनि छिरेर निक्कैबेर बसेँ । भाइ कता भाग्यो ।  त्यो रिजालको छोरो उर्फ ‘बोलबम पेट्रोल पम्प’ कहाँ पुग्यो । के हालखबर छ उसको पत्तो नाइँ । तिनलाई नि समातेर झ्याँकिसके कि, केटा सग्लै छन् कुनै मालुम छैन औंशीको रातमा । हामी दाजुभाइको सर्दार त्यो रिजालको छोरो उर्फ ‘बोलबम पेट्रोल पम्प’ कता चिप्ल्यो ज्यान जोगाएर बेखबर भो ।

आपद आइलाग्यो । बयलगाडामुनि बसिरहन पनि डर लागिराख्या छ । अलिक पर्तिर बाँसघारी छ । डाङ्ग्रे र अन्य चराचुरुङ्गी कराएको आवाजले पनि डर थपेको छ । बाले अघिपछि त रात परेपछि बाँसघारीतिर नजाओ, अनेक दोखले तर्साउँछ, सातो जान्छ भनेर रोक्नुहुन्थ्यो । आज त मध्येको कालीरातमा रत्यौलीका आइमाईले लखेटेर बाँसघारीको बास गराएका छन् । आज भेट्नुपर्ने जति सबै दोखले भेट्ने भो, सातो पनि लाने भो भनेर काम छुट्न थालेको छ भित्रभित्रै । जाऊँ भने राजाले त फुक्का छोड्देका रत्यौलीका आइमाई हाम्री हजुरआमाले भनेको के टेर्लान र मलाई छोड्देर मेरो प्राण रच्छे गर्देलान् । अघि झम्टेकै पारा हो भने त देख्नेबित्तिकै फेरि फरिया उचालेर आउन के बेर !

दस मिनेट जति डरले काम्दै बसेपछि “माइला, ए माइला, कता गइस् ?” एक्कासी हजुरआमाको आवाज आयो । मान्छे देखिंदैन । हाम्रा घरमा केटाकेटीलाई नामले बोलाउने चलन थिएन । सम्पूर्ण नातागोता र घर परिवारमा मेरो नाम ‘माइला’ थियो । म दौडेर आवाज आएतिर कुदें र हजुरआमाको हात पक्डिएँ ।

“तिमेरलाई अघि सुत भनेको मान्दैनौ, मार्छन् रत्यौलीमा त आइमाईले केटामान्छेलाई, लौ हिँड सुत्न, भाइ कता छ ?” हजुरआमाले अलिक सास आउने कुरा गर्नुभो ।

सुत्न जान पाए त ज्यान जोगिने थियो भनेर जीवनको अलिअलि आसा गर्दै म हजुरआमाले भनेको खुरुक्क मानेर सुत्न गएँ टाँडमाथि ।

“लु सुत्दै गर तँ, म भाइ खोजेर ल्याउँछु” हजुरआमा कोठाबाट निक्लिंदै बोल्नुभो ।

हजुरआमालाई पनि सानो पीर थिएन हाम्रो जिम्मेवारी लिनुको । आफ्नो साथ लागेर आएका ज्वाइँ-छोरीका जगत्कै जन्ड, चकचके दुई लिसोपासो हामी दाजुभाइलाई जस्ताको तस्तै लगेर घरमा सकुशल नबुझाएर हजुरआमालाई हुने पक्कै थिएन ।

म सास दबाएर सिरकले मुख छोपेर निदाए जस्तो गरेर लडें । धन्न रत्यौलीको लाटो लिस्नो उक्लेर टाँडमाथि चाहिँ आएन छोरोमान्छे खोज्दै र बाँचियो ।