
साल २०४८ साल जेठ महिना ।
‘सङ्खुवासभा जिल्लाको सदरमुकाम, खाँदबारीबाट हिँडेको दोस्रो दिन हामी हटिया (सानो चित्रे बजार) पुगियो । बिहान उठ्दा हामी पाँच जानाले सोह्र क्वाटर भोट्का गत रात पियौं तिमीहरूले भनेर साहुनीले फत्तुर लगाइन् । पत्याउनु पर्यो । बास बस्न आज हङ्गगाउँ माथिको चुचुरो । चुचुरो मुनिको गुराँसको पटेर जङ्गलभित्र अपराह्न साढे चार बजे (३८०० मि. समुन्द्रको सतहबाट) आइपुग्यौं । भोटेखोलाको र अरुणको दोभान त्यहाँबाट प्रस्ट देखिरहेको थियो ।
पतपती धुवाँ उडाउँदै गरेका केही गोठहरू माथि देखिए । आजको गन्तव्य स्थल देखेर हाम्रा मन एकैसाथ उत्साहित भए । हाम्रो आशा हो, त्यहाँ बास बस्न पाउने र बोकेको समान खान पाउने । सबैको भोक मुखैमा आएर भुक्न लागेको अवस्था । जुकाहरू खुट्टाबाट छिरेर घाँटीसम्म आइपुगेछन् । मैले रुखका पात गुजुल्टो पारेर घाँटी वरिपरिका ५–७ वटा जुका सोहोरेर फालेँ । बाटो हिँड्दा जुका लागेमा लट्ठीको टुप्पामा बाँधेको नुनको धुलोको पोकोले जुकालाई छुस्स छुस्स छुनुपर्छ रे । हामी सबैको हातमा एक एकवटा यस्ता लट्ठी थिए । लट्ठीको पोकोले छुँदा छुँदा थेत्तरो भैसकेका थिए जुकाहरू । नुन पग्लेर कपडा मात्र लट्ठीको टुप्पोमा बाँकी थियो ।
जुकासँग सामना गर्दैगर्दा जङ्गलबिचबाट एकसरो सिट्ठी फुकेको आवाजले हाम्रो मनमा तरङ्ग लहरिन थाल्यो । तीनचार सेकेण्डमै सिट्ठीको भाषा फेरियो । दोहोरो सिट्ठी फुक्यो फेरी अर्कोले । करिब दस सेकेण्डमा दोहोरी गीत गाएझैँ जङ्गलमा फुकिए सिट्ठीहरू । हाम्रा मन सिरिङ्ग मात्र नभएर जुरुक्क जुरुक्क उचालिए । धमाधम सिट्ठी यसरी किन फुकिँदै छन् जङ्गलभरि ?
घाँस काट्ने, दाउरा खोज्ने र चर्न गएका पशुको रेखदेख गर्ने गोठालाहरू जङ्गलभरि छरिएका रहेछन् । यहाँबाट गाउँबस्ती देख्न कल्पनासम्म गर्न सकिँदैनथ्यो । जङ्गलभित्रबाट हामी सुकिला मान्छे गोरेटोमा उकालो हिँडेको एकजना गोठालोले देखेछ । उसले पहिलो सिट्ठी बजाएर उसको समूहलाई सूचना दियो, ‘आज रातीका हाम्रा ग्राहक उकालो आउँदैछन् है..!’
अर्कोले भाका फेरेर सिट्ठीको भाषामा सोध्यो, ‘मान्छे उँधो हिँडेका हुन् कि उँभो हो..?’
सिट्ठीको जवाफ, ‘उँभो हिँडेका हुन् है !’
उँभो हिँडेका भए कर्मचारी र लाहुरेहरू पैसा र समान बोकेर गाउँ जाँदैछन् भन्ने बुझिन्थ्यो ।
अर्कोले सिट्ठी बजाएर फेरी सोध्यो, ‘कति जना छन् हँ…?’
जवाफ आयो, ‘सात जना !’
यस्तै माहौलमा पन्ध्रबीस मिनेटमा हामी अनकन्टार जङ्गलको बिचको छ वटा गोठमध्येको बिचको गोठमा झोला बिसाउन आइपुग्यौं । समय घाम डुब्ने तरखर । यहाँबाट सात घण्टा हिँडेपछि माथिको डाँडा कटेर ओह्रालो झरेपछि मात्र अर्को सानो बस्ती चिपुङ्ग आउँथ्यो । यो बेला यहाँबाट हिँड्ने आँट आएन । आजको बास यिनै गोठमा बस्नुपर्ने बाध्यता थियो हाम्रो ।
हिजोको बास तलको गाउँमा सुनाएका थिए, ‘यही ठाउँमा बास बसेका तीनजना बटुवाको एकैचोटि हत्या भएको भनेर ।’ फाट्टफुट्ट हत्या र लुटपाटका घटना भइरहन्छ रे यहाँ । सुझाव पाएका थियौं, ‘सरहरू जङ्गलमा राति चनाखो भएर बास बस्नू ।’ लाइनामा सुत्दा तलमाथि भएर सुत्नु । सुतेको बेला सबैको घाँटीमा बाँस वा काठको गरालोले थिचेर एकैचोटि बटुवाहरूको हत्या हुन सक्छ ! त्यसपछि नगद र समान लुट्छन् । लासहरू बेपत्ता पार्छन् । कहिले रुखमा झुन्ड्याइदिन्छन् । लासलाई ढुङ्गामा बाँधेर अरुण नदीमा फ्याँकिदिएको घटना धेरै छन् । यस्ता घटना हरेक वर्ष दशैंतिहारको आसपासमा घटिरहन्छन् । प्रशासनले यो भेगको घटनालाई खासै चासो दिँदैन ।
यस्ता कुरा सुनेर हाम्रो मन हुँडेरिरहेको थियो । मनमा डर भएर हामीले बाहिर एक्ला एक्लै टेन्ट गाड्न सकेनौं । तर, हामी सातसात जना भएकाले मार्दैनन् कि आज भन्ने थियो । बारम्बार मनमा कुरा सबैको खेलिरह्यो ।
सिङ्गै एउटा भैंसी पोल्न सक्ने गोठको अगेनोमा आगो थियो । तीनतिरबाट मुढा जोतेर बलेको डरलाग्दो अगेनोको भुङ्ग्रोमा हामी थाकेर वरिपरि टुसुक्क बसेको अवस्था । रुखमा हुने झ्याउ र खोइ कुन पशुको हो नलिखुट्टा ? अगेनोमाथि भकभक उम्लिरहेको थियो एउटा ठूलो भाँडोमा । एकजना गोठालो नबोली अगेनाअगाडि आयो ।
उम्लिरहेको झ्याउ, एउटा लामो हड्डीको गिँड र झोल डाडुले उघाउँदै डबकामा खन्यायो । हाम्रोअगाडि एक बित्ता लामो नलिखुट्टो दुई हातले समाएर उसले दार्न थाल्यो । मज्जाले पाकेको झ्याउ उसले चबायो । सुप पेटभरि पियो । केही पानी र एक ढिको नुन उम्लँदै गरेको त्यही भाँडोमा परैबाट फ्याँक्यो । लामो सासले मासी तान्न नसकेको नलिखुट्टोको हड्डी केही दारेर त्यही भाँडोमा हुत्त्यायो । अगेनोमा जल्दै गरेका मुढा ठोस्यो । ऊ अब नाम्लो र हँसिया बोकेर जङ्गलतिर हिँड्यो । हामीले अन्दाज गर्यौ । ऊ यो जङ्गली दुनियाँको गुप्तचर हो । जासुस गर्न आएको हुनुपर्छ ।
सुप उम्लिरहेको भाँडो अँगेनोबाट बर्षौंसम्म ननिकालिएको जस्तो छ । हरेक दिन सुप त्यसरी नै उम्लिरहेको हुनुपर्छ यहाँ । सबै गोठालाहरू यसरी यो भाँडोको तातो सुप त्यसरी नै पालैपालो पिउँछन् । हड्डी त्यसै गरेर चिथोरिरहन्छन् । बेलाबेलामा ताजा नलिखुट्टाहरू भाँडामा थप्छन् ।
आधा घण्टापछि झपक्क साँझ पर्यो । चारैपट्टिबाट जम्मा भएका भुसतिघ्रे गोठालाहरूले आगो तापिरहेका हामीलाई फनफनी फन्को मारे । हामी विचलित भयौं । हाम्रो मन अशान्ति भयो ।
एउटाले अन्तर्वार्ता लियो, ‘तिमीहरू को हौ ?’
अर्कोले सोध्यो, ‘कहाँ हिँडेका हौ हँ ?’
‘यदि भन्यौंन भने तिमीहरूलाई हामी यहाँबाट हिँड्न दिँदैनौँ’ अर्कोले भन्यो ।
‘जबरजस्ती गर्याै भने यहाँबाट कतै जान पाउँदैनौँ ।’ दुईजनाले एउटै स्वरमा भने, ‘किन बोल्दैनौ !’
हाम्रो समूहका सहायक प्रशासकीयले आफ्नो परिचय दिए ।
एकजना गोठालोले भन्यो, ‘हामी कसैलाई चिन्दैनौँ । हामी जिल्ला जाँदैनौँ !’
हामी मध्यको एकजना चरनविकास अधिकृत, देवेन्द्र शर्माले हाम्रो भ्रमणको उद्देश्य धैर्य भएर उनीहरूलाई सुन्न अनुरोध गरे । भूमिका बाँधेर भने, ‘चीन सरकारले हाम्रा चौँरीहरू अब चीनी भूमिको खर्कमा चराउन नदिने भएको छ । चराए पनि नेपालको सरकारले धेरै कर तिर्नु पर्छ । हाम्रा चौँरी र पशुहरू अब आइन्दा चीनको भेगको चरनमा चर्न पाउने छैनन् । चर्न गए भने फर्कंदैनन् । यो जिल्लामा हाम्रो खर्क क्षेत्र अब उत्तरी भेगको किमाथान्का (चीनको सिमाना) आसपासमा हाम्रो सरकारले तोकेको छ । हामी हाम्रो भूमिमा खर्क (चरण) सुधार र विकास गर्न आएका हौं । खर्क सुधार गर्ने भनेको- भिरमा चौँरी हिँड्ने गोरेटाे बनाउनु हो । भिरमा बगेको पानी पाइपमा जोडेर खर्कको कुवामा खसाउने हो ।
पशुहरू खतरनाक भिरतिर जाने बाटो बन्द गर्छाैं । विकासे भुइँ घाँस – सेतो क्लोभर, कक्फुट घाँस, राईघाँस, कुट्जुघाँस र अल्फाअल्फा घाँसका बीउहरू जङ्गलभित्र र नाङ्गा डाँडामा छर्छौं । चरन ब्याच सिस्टम (एकापट्टि चरेपछि घाँस पलाउन छाड्ने र त्यो चरनमा पशु छिर्न नपाउने फाटक लगाउने) बनाउन आएका हौं । भिरमा चौँरी लडेर मर्न रोक्न खतरनाक गौँडा थुन्नु पर्छ । जङ्गलभित्र चरनका कित्ता छुट्याएर पर्खाल लगाउनु पर्छ । चरन इलाका निर्माण गर्नु पर्छ । यसमा गाउँले र तपाईंहरू जस्ता बलिया पाखुरा भएकाहरूको सहयोग चाहिन्छ ।
चरन विकासका हाम्रा कुरा गोठालाहरूले एउटा हात घुँडामा ठड्याएर हत्केलो चल्लीमा राखेर ध्यानपूर्वक सुने । काम सम्पन्न गर्न एक महिने योजना लिएर किमथान्का (त्यहाँबाट ३ दिनको बाटो उत्तर) हिँडेका हौं ।’
मैले सबैको मुख हेरेर भनेँ, ‘यो प्रोजेक्ट सफल पार्न तपाईंहरूको पूरा सहयोग चाहिन्छ नि !’
दक्षिण भेगको घाँस चरिसकेपछि वर्षामा गोठहरू उत्तरी भेगमा छ महिनाको लागि सारिन्छन् । जाडो महिनामा तल गाउँतिर । अब नेपालमै खर्कक्षेत्र विकास गरेर किमथान्का आसपासमा तपाईंहरूका चौरीँपशुहरू चर्नेछन् ।
हामीहरू कस्ता छौ ? कतिजाना छौं ? हाम्रो क्षमता र सङ्ख्या ? सट्ठीको भाषामा थाहा पाएपछि हामीलाई हेर्न जङ्गलभरिका गोठालाहरू आएका थिए त्यहाँ । उनीहरूकै पशुको चरन विकासको लागि हामी हिँडेका हौं । हामी पूर्ण विकासे मूलका हौं भन्ने थाहा पाए । मुखामुख गरेर हेर्दा उनीहरूको मुख चलेको देखिन्थ्यो ।
उनीहरूसँग हाम्रो दृढ सन्धि भयो । गोठालाको नेताले हाम्रो खाना पकाउने र बास बस्ने व्यवस्था मिलाए । भरियाहरूलाई निर्देशन दिए । हामीलाई गोरुको खुट्टाको सुपको अफर गरेका थिए । मैले नो थ्यांक्स सुपको लागि भनेँ !
हाम्रो आफ्नै समानले हाम्रो खाना पाक्न तयार भयो । दही, दूध, घीउ र कठेउरीको महले भव्य पार्टी दिए गोठालाहरूले । बिहान हिँड्ने बेलामा खिर पकाएर खाजा ख्वाए । महिनाभरिलाई पुग्ने कुराउनी, घीउ र छुर्पी बाटो खर्च हालिदिए ।
हाम्रो भ्रमण टोली खाँदवारिमै तय भएको हो ? जिल्ला चरण विकास अधिकृत, देवेन्द्र शर्मा मेरै क्वाटरमा आएर योजना सुनाएका थिए । सबै खर्च सरकारले बेहोर्छ भन्थे । एक महिनाको लागि खानपिन, हिँड्ने रुट, बास बस्ने टेन्ट र भरिया तयार छन् । हामी चरन विकास कार्यक्रमको लागि किमाथाङ्का (४६३९ मिटर उचाइ) चीनको सिमानासम्म सहपथिक भएर भ्रमण गर्छौ ।
उनले हातको औंला भाँच्दै भने, ‘हामी पाँचजना- कृषि विकास अधिकृत, लेखनाथ गेलाल । जिल्ला चरन विकास अधिकृत, देवेन्द्र शर्मा, पशु विकास अधिकृत (आइएनजिओ), म रामप्रसाद घिमिरे । जनक राज ढुङ्गाना, प्रशासकीय अधिकारी । जि.पञ्चायत उपाध्यक्ष, ज्ञानबहादुर उदास । दुईजना भरिया समेत सात जनाको टिम हुन्छ ।’
उनले भने, ‘यो वार्षिक कार्यक्रम हो ।’
म मात्र श्री ५ को सरकारको कर्मचारी थिइनँ । तर, हुनुहारको उत्कृष्ट विकासे थिएँ । उनको प्रस्ताव मलाई उत्कृष्ट लाग्यो । मैले सहस्र स्विकारेको थिएँ ।
होङ्गोङ्ग गोठबाट हिँडेको तीन दिनपछि हामी किमथान्का गाविस साँझमा आएपुग्यौं । रुखपात बिनाको चिल्ला हिउँले खाएका पर्वतहरू । डाडाँकाडाँमा चौँरी, भेडा र वन्यजन्तुहरूको समन्वयमा घाँसका त्यान्द्रा टिपेको रमणीय दृश्यहरू । पर्वतपरी अग्लो मकालु हिमाल टल्केको । मकालुको आसपासमा छोटामोटा अन्य हिमशिखरहरू, हातैले छुन सकिनेजस्ता ! एउटा पर्वतको फेदमा एउटै बस्ती । पन्ध्र सोह्र घरको एउटा गाविस । उत्कृष्टको अनमोल प्राकृतिक देखिन्थ्यो ।
खाँदवारिमा सङ्खुवासभाका जिल्ला सभापतिले किमथान्का गाविसका अध्यक्षको घरमा बस्ने चाँजो मिलाइदिएका थिए । अध्यक्षको नाम सोध्दै उनको घरमा हामी पुग्यौं ।
हाम्रा बाजेहरूको युगमा तमसुक लेख्ने मालिङ्गोको कलम जस्ता धेरै कलमहरू कर्दले बनाउँदै गरेको अवस्थामा अध्यक्षसँग घरैमा भेटियो । ऊ कलमहरू बनाउन व्यस्त रहेछन् । केही कलमहरू घरको भित्तामा एउटा टोकरीमा झुण्ड्याएका थिए । मैले सोचेँ लेखापढीको व्यवसाय अध्यक्षले तीव्र गतिले चलाइरहेका छन् यहाँ । ऊसँग चिनजान गरेपछि उनको घरमा बस्न हामीले अनुमति पायौं । ऊ दुइटी श्रीमतीका पोइ थिए । घर दुइटा रहेछन् ।
गाउँका सबै घरहरू एकै ठाउँमा झुरुप्प । सबै घरका जोडिएका भिराला छत । सबै छत माटाका ब्लकहरूले बनेका । सबै घरका छत देखिने एउटै जस्ता । ब्लकले बनेका भित्ताले सबै घरको भित्रिभाग छुट्टिएको । एउटा घरमा एउटै कोठा । छोराबुहारी, केटाकेटी, बाबुआमाहरूको सुत्ने ठाउँ होचा आँट (पार्टिसन)ले घरभित्रको इलाका छुट्याइएको । त्यही कोठामा एउटा अगेनो । अगेनोमाथि भार झुण्ड्याएको । भारमाथि उवा, जौ, एउटा मृगको पाँसुला र ह्याकुला सेकिइरहेका ।
मान्छे बस्ने मुनि तल भुइँतलामा गाईबस्तुको गोठ । बाख्राको खोर । एउटा कुनामा ट्वाइलेट । ट्वाइलेटको फोहरमैला तल पशुहरू थुनेको गोठमा खस्ने व्यवस्था । चिसोको कारणले धेरै गन्ध माथि नआउने । गाईबस्तुले आफ्नो मलमूत्रसँगै जहान परिवारको मलमूत्रलाई दही मोथे झैँ मोथेर उत्कृष्टको कम्पोस्ट बनिने ।
घरभित्रको भित्ता, सिलिङ, घरका खाँबा, अगेना माथिको भार, आँट सबै आधाआधी भाग तपतप चुहिएला जस्तो कालो चुकले रङ्गाएको झैँ देखिने । कोठाको माथिको आधा भाग धुवाँले केही नदेखिने । बाहिर जाने र आउने ढोकामा काठको ढोकाको सट्टा बाक्लो भैँसीको छाला झुण्ड्याएको । चिसोले फुलेको छाला हातले ठेलेर ढोका खोलेझैँ खोल्नुपर्थ्यो घर भित्र बाहिर गर्न ।
हामीले हेर्दाहेर्दै घरका बच्चाहरू जङ्गलबाट चरेर आएका चौँरी, याक र गाईगोरु सामीप्य भए । चरनबाट घर आएका पशुहरूको शरीरमा रगत चुसेर सुन्निएर झुण्डिएका खरी जुका बाक्लै थिए । फल टिपेझैँ बच्चाहरूले जुका साना डालामा टिपे । उनीहरूको नित्य कामजस्तै । जुकाहरू दुई माना जति भएछन् । आज झरी नपरेकाले धेरै जुकाहरूको बाली उठेन भन्थे घरका ठूलाले । डालोबाट मठारिँदै गरेका जुका उम्लँदै गरेको तातोपानीमा खन्याए ।
अघि हामी आइपुग्ने बेलामा बनाउँदै गरेका मालिङ्गोको केही धारिला र तिखा कलमहरू बोकेर गोठअगाडि पर्खिरहेका पशु समक्ष गए बाबु अध्यक्ष । आज तीन वटा पशुहरूको रक्तदान गर्ने पालो हो रे । रक्तदान कर्ताहरू मात्र ज्ञानी भएर आफै लाइनमा उभिए । अध्यक्ष बाबुले एउटा कलमले एउटा पशुको घाँटीको नसामा र अर्को कलमले पेटको नसामा आँखा चिम्लिएर घोचे । नुन र उवाको पिठो हालेको नाङ्लोमा कलमबाट धारा दिँदै गरेको रगत निर्धक्क थापे दूध दोएझैँ उनले । तीन मिनेटपछि अर्को पशुको । अनि अर्कोको ! सबैबाट जम्मा गरेको दुईमाना जति पशुको तातो रगत हालेको नाङ्लो एकक्षण अगेनो माथिको भारमा सुकाए । तातोले पिठो मुछिएको रगत जम्यो । नाङ्लो भारबाट निकालेर बर्फी मिठाई काटेझैँ नाङ्लोमा बाक्ला रगतका चाना काटे । चानाहरूलाई तातोपानीमा पाँच मिनेट उमाले । हामीले हेर्दाहेर्दै रगतका बर्फी खान तयार भए ।
घरकी आमाले एउटा भाँडामा उवाको पिठोको ढिँडो पकाई । अङ्ग्रेजी अक्षर वाई आकरको काठको हाँगोले ढिँडो पकाएको भाँडोलाई खुट्टाले थिचेर काठको ठूलो दाबिलोले ढिँडो मस्काई बुढियाले । पाकेपछि सबै ढिँडो दाबिलोले एकै पटक एउटै डल्लो बनाएर भाडाबाट निकालेर छालाको ठूलो थालमा पछारी । बुहारीले एउटा अकबरे खोर्सानी, दुईतीनवटा फुलेका जुका र रगतको बर्फी घरका जहानलाई भाग लगाई ।
अगेनाछेउ बसेका घरका सातजना जहान छालाको प्लेटको वरिपरि बसे । सबैको एउटा हातमा एउटा जुको थियो । अर्को हातले ढिँडोको थुप्रोबाट एक गाँस ढिँडो उठाउँथे । ढिँडो मुखमा हालेपछि खोर्सानी, जुका र रगतको बर्फी पालैपालो टोक्थे । छालामा पस्केको ढिँडो, आफ्नो भागको जुका र खोर्सानी सबैले मिलेर सिद्ध्याए । सबैले एकैचोटी डकारे । उनीहरूको दैनिकी खाद्य रुटिन थियो यो । हाम्रा भरियाहरूले मृगको सुकुटी साँधे । भाेड्काकाे बिर्को खोले र हामीलाई पस्किए । अध्यक्षले पनि साथ दिए । हाम्रो बस्ने व्यवस्था अध्यक्षको अर्को घरमा थियो ।
भोलिपल्ट अध्यक्षले गाउँमा उर्दी लगाए । गाउँलेको भेलामा हाम्रो टोलीको प्रशस्त बखान गरे । तेस्रो दिनदेखि गाउँका सबै लोग्नेमानिस र गोठालाहरूसँग हामी जङ्गल पस्यौं । किमथान्का बसुन्जेल गाउँलेहरूको भव्य स्वागत र सहयोग मिल्यो । योजनाअनुसार काम सम्पन्न भयो । अठाइसौं दिनमा हामी सबै सकुशल खाँदवारि आइपुग्यौं ।
सात महिनापछि राजाको जन्मोत्सवको उपलक्ष्यमा हाम्रो टोलीका अध्यक्ष चरन विकास अधिकृत देवेन्द्र शर्माले राजा श्री ५ बीरेन्द्र विक्रम शाहदेवको बाहुलीबाट सानोतिनो पदक कोटमा झुण्ड्याए ।
रेडिङ, बेलायत ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

