
बर्खाको दरौँदीले चोटग्रस्त पिँढी, आँगन र पर्खाल आमाले रातोमाटो र गोबर मिसाएर टाली लिपपोत गरेपछि दशैँको झल्को आउँथ्यो । अझ त्यसमा खेतको खाँदमा चाँडो पाक्ने टाइचिन धान चुटेपछि भने दसैँ हात फैलाएर हामीतिरै आउँदै छ झैँ लाग्थ्यो ।
धान चुट्यो, सुकायो र केही दिनपछि पित्तलको खड्कुँलोमा तातोपानीमा धान डुबाएर माथिबाट नाङ्लोले छोपेर भोलिपल्ट अँध्यारैमा पानी चुहाउँदै दिदीहरू धान कुट्न गएपछि दसैँ दहिलोबाट चिहाउँथ्यो । घरमा चिउरा आएको बास्नाले नै बताउँथ्यो, नयाँ चिउराको बास्नाले घरै मगमगाउँथ्यो, दिउँसोको खाजामा त्यही मगमगाउने नयाँ चिउरा र भटमासको अचारले मनै पुलकित हुन्थ्यो । चिउराको थाल बोकेर म फराकिलो आँगनको छेउमा रहेको पर्खालको डिलमा बस्थेँ । डिलबाट देखिने पहेँलपुर धानको विशाल फाँट हेर्दै खाजा खान्थेँ । लाग्थ्यो पहेँलो धानरूपी सुन बोकेर झुलिरहेका धानका बालाहरूले पनि दशैँलाई स्वागत गरिरहेका छन् ।
स्कुल बिदा हुन्थ्यो, हामी केटाकेटी बाख्रा चराउन बनमा जान्थ्यौँ, बनमा पनि दशैँको झल्को हुन्थ्यो, पर क्षितिजसम्म फैलिएको सफा निलो आकाश, उत्तरतिर सेता बादलको कम्बल ओढेर आकाशतिर अग्लिएका सेता हिमशृङ्खलाहरू अनि दशैँको बेला मात्र पाइने दसैँ किरा (ठूलो रातो फट्याङ्ग्रा)। हामी केटाकेटीहरू बनमा यत्रतत्र हिँडिरहेका दसैँ किराहरू देखेर धेरै खुसी हुन्थ्यौँ किनभने दशैँलाई हामीतिर डोहोर्याउने अर्को एउटा सारथि हुन्थ्यो त्यो !
घाम चर्किएको दिनमा सेतो धोक्रोमा हालेर दशैँलाई भनेर राखेको तोरी आमा, दिदीहरूले धोइपखाली गर्नुहुन्थ्यो, खेतबारीबाट बोकेर ल्याउँदा, सुकाउँदा, चुट्दा र भण्डारण गर्दा त्यसले धेरै नै मैलो बोकेको हुन्थ्यो र अलि परिश्रम नै पर्थ्यो त्यसलाई सुकिलो बनाउन । सुकाएको ठाउँमा तोरी हातले खेलाउन सारै नै मज्जा लाग्थ्यो हामी केटाकेटीहरूलाई । दुई हत्केलाले मुठी बनाएर खेलाउँदा खेलाउँदै तोरी भुइँमा पोखिइसक्थ्यो, बेलाबेलामा ठूलाहरुबाट भकुर्याई समेत भेटिन्थ्यो ।
वरिपरिका काकी, भाउज्यूहरूसँग समूह बनाएर बिहान चारैबजे दिदीहरू तोरी पेल्न जान्थे, फर्किँदा दिउँसो हुन्थ्यो, कोलमा धेरै लाम हुन्थ्यो, त्यति सखारै जाँदा पनि पालो आउन अबेर हुन्थ्यो । तेलभन्दा बढी गाईबस्तुलाई खुवाउने पिना धेरै हुन्थ्यो । काँचो तोरीको तेललाई आमाले ठूलो कराइमा तताउँदा घरैभरि बास्ना चल्थ्यो, ए ! दसैँ त घरभित्रै पसिसक्यो कि क्या हो ? जस्तो लाग्थ्यो तर… घरमा रङ नलगाई, नयाँ लुगा नसिलाई, अनि खसी नडोर्याई पनि दसैँ आउला र ?
शरद ऋतु लागेपछिको घर्माइलो कुनै दिनमा कल (हातले घुमाउने सिलाई मेशिन) बोकेर दमाई दाइका बुढाबुढी घरमा लुगा सिलाउन आएपछि भने दशैँले हाम्रो घरको सङ्घार टेकिसकेको भान हुन्थ्यो । बास्ना आउने नयाँ लुगा पहिले नै बाबाले ल्याइसक्नुभाको हुन्थ्यो, अँ लुगा छान्ने काम भने माइली दिदीको हुन्थ्यो, हामी केटाकेटीलाई स्कुलको युनिफर्म नै हालिदिएको हुन्थ्यो, जिन्स र रेडिमेडको नामोनिशा नै हुन्न थ्यो त्यो बेला ।
दाइ पहिले हामी सबैको नाप लिन्थे अनि लुगामा चकले चिनो लगाउँथे र सरर सीधा कैँची चलाएर लुगा काट्थे, त्यसपछि सुरु हुन्थ्यो तन्मयसाथ सानो सानो टुक्रालाई जोड्दै सिङ्गो लुगा बनाउने काम ! साँच्चै नै उनको शिल्पी देखेर छक्क पर्थ्यौं हामी । छेउमै बसिरहन्थ्यौँ नियालेर… ।
बेलुकीसम्ममा तयार भइसक्थ्यो केही थान लुगाहरू… ठूलो परिवार, एक वर्षको लागि एकैपल्ट सिलाउन पर्ने हुनाले लुगाको सङ्ख्या धेरै हुन्थ्यो, त्यसमाथि नजिकिँदै गरेको जाडोलाई पनि त ध्यान दिनै पर्थ्यो । यसरी लगातार २–३ दिनसम्म सिलाएपछि लुगाको जोरजाम पनि सकिन्थ्यो । दाइले ल बाबु एकपल्ट लगाऊ त लुगा, मिल्यो कि मिलेन ? भनेर दिएपछि आङमा पर्ने बास्ना आउने नयाँ लुगाले मनलाई चौ–चौ बनाउँथ्यो ।
सोह्रश्राद्ध लागेपछि सुरु हुन्थ्यो घर रङ्गाउने काम । घरबाहिर चुन लगाइन्थ्यो भने घरभित्र सवेदा । पछिपछि रङ लगाउने जिम्मा आफ्नै काँधमा परेपछि भने सवेदा पाइन छाड्यो बजारमा । कमेरोमा नीलो रङ मिसाएर लगाउन थालियो । जे होस् वर्षमा एकपल्ट रङ लगाउने भएर हो कि किन हो रङ लगाएको दिन घर नै उज्यालो हुन्थ्यो । तर सबै सामानहरू सार्दै लगाउनुपर्ने हुँदा साह्रै गाह्रो हुन्थ्यो । दशैँलाई आकर्षित गरी बास गराउने तयारी सक्दा मन हर्षित हुन्थ्यो ।
घरमा खसीबाख्राहरू त सधैँ हुन्थे तर घरमा पालेको खसी खाने चलन थिएन पहिलेदेखि नै । त्यसैले दशैँको खसी मामाघरबाटै ल्याइन्थ्यो । हजुरबुबाले मामाघरमै खसी लिन बोलाउनुहुन्थ्यो म जान्थेँ… लाम्काने खसी डोहर्याएर धनेश्वरको उकालो लाग्दा मेरो शान नै बेग्लै हुन्थ्यो । मामाघरदेखि खसी ल्याउन सक्ने भैसकिस् है भनेर गाउँका हजुरबा काकाहरूले फुर्काउनुहुन्थ्यो, म मख्ख पर्थेँ । साथीहरूबिच कसको खसी ठूलो भन्ने हानथाप हुन्थ्यो । खसीलाई मकै खुवाउने, चराउने सबै काम मेरो हुन्थ्यो, अष्टमीको दिन काट्ने बेलासम्ममा खसीसँग लगाव बसिसक्थ्यो, बुबाले खसी नकाटे पनि हुने जस्तो लाग्थ्यो तर खसी नै नकाटे के दसैँ ? त्यसैले जति नै माया लागे पनि चुप लाग्थेँ म ।
यसरी दसैँ हाम्रो चुलोमा प्रवेश गर्दथ्यो । त्यस्तै दुर्गा थपना, राती १२ बजे काकाको घरमा गरिने कालरात्रि पूजा, दशमीको दिन सबै जना हाम्रो घरमा भेला भएर गरिने टीकाटालो अनि भोजन, टीका लगाएर मामाघर जाँदाको क्षण आदिको सम्झना मात्रैले पनि रोमाञ्चित अनुभव हुने गर्छ अहिले पनि ।
यी बाहेक दशैँको छनक दिने अविरल वर्षापछिको घमाइला दिनहरू, गाउँका व्यापारी काकाहरूले पहाडतिरबाट भेला पारेर बनेपा बेच्न ल्याउने खसी अनि भेडाच्याङ्ग्राका बथानहरू, दशैँमा अचार हाल्नको लागि भनेर थाक्रोमै साँचेर राखिएका पाकेर पट्पटी फुटेका काँक्राहरू, गाउँमा दाइहरूले पिङ हाल्न गरेको तयारी, स्कुल बिदा हुने बित्तिकै खुल्ला चौरमा चङ्गा उडाएको, दशैँमा खेलाउनको लागि दाइहरूले हातले लङ्गुरबुर्जा बनाएको, मार हान्ने खुकुरी र अन्य हतियारहरूमा साँध लगाउन कामी दाइकोमा लाग्ने लाम, बनेपा बजारमा लाग्ने मान्छेका भीड (यो भीड भने जस्ताको तस्तै छ, अझ भनौँ वर्षैपिच्छे बढ्ने क्रममा छ), वर्षदिनमा एकपल्ट मनाइने चाडको तयारीले फुर्सद नपाइए पनि उल्लासित र उत्साहित मान्छेका अनुहारहरू यस्तै यस्तै कुराहरूले त्यो बेलाको दसैँ साँच्चै नै दसैँ नै हुन्थ्यो ।
उल्लासमय वातावरण हुन्थ्यो, खुसीयाली हुन्थ्यो, रोमाञ्चकारी हुन्थ्यो, अव्यक्त र अवर्णनीय हुन्थ्यो त्यो बेलाको दसैँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

