सबैतिर सुनसान छ बस्ती । जीवन चलिरहेछ तर दुःखले । बिजुलीको तारमाथि बसेका कागहरू बाटातिर हेरेर कराइरहेका छन् । बिहान ९ बजेसम्म मात्र खुल्ने पसलहरू लक डाउन केही खुकुलो भएकोले दिउँसो ३ बजेसम्म खुल्न पाउने भएका छन् । आज ५ असार २०७८ जेठदेखि परेको पानी अझै थामिएको छैन । केही दिन यतादेखि अविरल रूपमा परेको पानीका कारण बाढी-पहिरोले कति मानिसको ज्यान गयो । कति घरबार विहीन भए । कतिको जीवनमा पूर्ण विराम लाग्यो । लाग्छ, भगवान् पनि साँच्चै अब विनाशतर्फ उद्धत छन् ।
सबै आफ्नै दुनो सोझ्याउने मात्र छन् । तिमी पनि उही गौँडाको पानी पिएको मान्छे हो । तिमीले पनि त्यही आदर्शको खोल ओढेको हुनसक्छ । जसले अपराध गर्छ । धर्मकर्म पनि उसैले बढी गर्छ । बिहान-बेलुका घण्टीको आवाज पनि उसकै चर्को हुन्छ । साँच्चै अर्काको निम्ति रुने मान्छेका लागि रोइदिने कोही हुँदो रहेनछ । त्यस्तासँग भगवान् पनि तर्किंदा रहेछन् । यस्तो कोरोनाको महामारी र लकडाउनको बेला मौका छोपेर कमाउने पनि कम हुँदा रहेनछन् । हात्तीका देखाउने दाँत र चपाउने दाँत छुट्टाछुट्टै भएजस्तो । पछाडि फर्केर हेर्दा त जिन्दगी भिरालो पो रहेछ । जता हेरे पनि सबैतिर विकृति नै विकृति छ । सबै भन्दा बढी विकृति त मानवीय मन भित्र छ ।
उनी रिसाइन् । मलाई यो कुरा थाहा पनि भएन । थाहा भएको भए भन्नेपनि थिइन । मलाई थाहा थियो । मानिसको स्वभाव पनि अनुहारजस्तै फरक-फरक हुन्छ । छोटो सोचाइको मान्छे ठिड्के हुन्छ । सानोतिनो कुरामा पनि टिडिक्क रिसाइहाल्ने । म त्यहाँ पुग्दा मेडिकल अगाडिको ब्रेन्चीमा एक युवक टाउको निहुराएर बसिरहेको थियो । उनी उसको टाउकोमा मलमपट्टि गर्दिंदै थिइन् । युवकको टाउकोमा सानो चोट लागेको थियो । चोट लागेको ठाउँ वरिपरिको केश काटेकोले सानो भए पनि चोट परैबाट प्रस्ट देखिन्थ्यो । अझै अलिअलि रगत बहिरहेजस्तो थियो ।
यसो हेर्दा त्यो घाउ कहीँ, कतै ठोक्किएर लागेको चोटजस्तो थियो कि त कसैले ढुङ्गाले बजाएको हुनुपर्छ ठानेँ । केको चोट हो, भाइ यो ? भनेर सोध्न मन लाग्दालाग्दै पनि आ होस के सोधिरहनु भनेँ, सोधिन । सोध्न सकिन । सोध्नलाई त नजिक जानै पर्थ्यो । कोरोनाको यस्तो बिगबिगी छ । बित्थामा भाइरस फलानेर आफूतिर आयाेल भने ! कसलाई के थाहा को सङ्क्रमित छ, को छैन ?
आफ्नो काम सकेर उनी मतिर फर्किइन् । के चाहियो तपाईंलाई भनेर सोध्न । मेडिकल पसल त जति बेलै पनि खोल्न पाइन्थ्यो । म त्यहाँ फेरि पनि बच्चोलाई दूध चाहिएर लिन गएको थिएँ । बच्चालाई दूध चाहिएर आएको भनेपछि उनी दूधको बट्टा झिक्न यताउता आँखा लाएर टुल खोज्न थालिन् । र्याकको माथिपट्टि रहेछ दूधको बट्टा । छोटो कदको मान्छेले टुल नराखी नभेटिने । म अगिदेखि विचार गरिरहेको थिएँ । भनौँ कि नभनौँ भइरहेको थियो । दोधार मन । मलाई लागिरहेको थियो । भन्न नपरे हुन्थ्यो । उताको काम सकेर साबुन पानीले राम्रोसँग हात धोउन् । त्यसपछि पनि सानीटाइजर लाएर मात्र मेरो काम गरुन् । उनले त्यसो गरिनन् ।
अनि मैले नभनी हुँदै भएन । अरूले सुन्दा के सोच्लान् ठानेर मैले उनले मात्र बुझुन् भन्ने लागेर अलि मसिनो स्वरमा भनेँ, “पहिले हात धोएर आउनु नि” । मैले भनेको यति हो । निक्कै बेरपछि उनी हात धोएर आइन् । पसलमा मानिसको लाइन बढ्दै थियो । कोरोनाको यस्तरी बिगबिगि बढ्दै छ । मुख हेरेर र रिसाउलान् कि कोही भनेर पनि त भएन । आफू पनि सुरक्षित हुनुपर्यो । अरूहरूलाई पनि सुरक्षित राख्नु पर्यो । बच्चाको खानेकुरा जस्तो चिज सकेसम्म त सुरक्षित गर्नै पर्यो नि । स्वास्थ्य मापदण्ड अपनाउँदा-अपनाउँदै त सर्यो कि मलाई भन्ने आशङ्काले कहिले त मन कम्ती गिजोल्दैनथ्यो कुनै बेला ।
अलि अस्ति कोरोनाको पहिलो लहर चलेको बेला त्यही पसलमा हो । एक जना युवा बच्चोलाई केही औषधी लिन भनेर आएका रहेछन् । म पनि गएको थिएँ । नजिकको मेडिकल । कहिले के कहिले के खत्राक्खुत्रुक् केटाकेटी सानोतिनो बिरामी भइरहन्छन् । औषधी त ल्याउनै पर्यो । नगई सुख्खै थिएन । ती युवा मेरै छेउमा उभिएका छन् । आफैँ बुझेर अलि यताउता सर्छन् कि भनेर बाटो हेर्छु । के सर्नु । झन् यता फर्किन्छन् उता फर्किन्छन् । काम सकेर हिँड्छन् कि भन्छु । उभिएर नन् स्टप गफ पो दिन थाले । वास्तै छैन । न नाकमा मास्क छ न सामाजिक दुरी नै कायम छ ! खुस्कट जस्तो बोल्या छ, बोल्या छ ।
बोली बिसाउँछन् कि भन्छु, त्यो पनि छैन । ठाउँ सर्छन् कि भन्छु, त्यो पनि छैन । जहाँको तहीँ उभ्याछ-उभ्याछ । ठिस नै पो हो कि क्या हो मान्छे त । कन्सिरी नतात्ने कुरै भएन,तात्न थाल्यो । भाइरसको यस्तो जगजगी छ । के भएको मान्छे होला ! आफ्नो काम सकिएपछि त बाटो लाग्नु नि उभिएर गफ छाँट्याछ-छाँट्याछ । सुन्नेलाई पनि अड लाग्ने गरी ।
कसै गर्दा नभएपछि मैले नभनी त हुँदै भएन । अझ छेउछेउ पो आउँदै गफिन थाले । अरू त के भन्नु र अलि पर्ति सर्नु न दाइ भनेँ । के हुनु र त्यही कोरोनाको डर त हो । उनी रिसले भाउन्न भएछन् । झम्टिहाले उल्टै मलाई नै । किन सर्नु परतिर ? भनेर झ्वाँक्किनसम्म झ्वाक्किए ।
“हैन, मैले त तपाईंलाई नराम्रो भन्न खोजेको होइन । कोरोनाको यस्तो डर लाग्दो स्थिति छ । कसलाई के थाहा । को सङ्क्रमित छ, को छैन । कति बेर आफैँ सङ्क्रमित भइने हो । कम्ती मापनि सामाजिक दुरी त कायम गरौँ । मै पनि सङ्क्रमित हुनसक्छु । तपाईंलाई सङ्क्रमण भए मलाई सर्न सक्छ । म सङ्क्रमित भए तपाईंलाई सर्न सक्छ भनेर पो ।”
यति भनेपछि निक्कै कड्किएको मान्छे पनि आफैँ मत्थर हुँदै आयो ।
“हैन, तपाईंले पर जा भन्नुभयो र पो मलाई त अलि अपमान गरेजस्तो लाग्यो । त्यही भएर मात्र मैले त्यसो भनेको हुँ ।”
उसले जस्तै मैलेपनि पाखुरा सुर्केको भए हामी दुईको त्यहीँ परिहाल्थ्यो ड्याम्म । चुपचाप लागेर मनसँग मात्रै सरि कोरोना भन्दै त्यो पल्टलाई बाटो लागेँ ।
पहिलो लहरकै कोरोनाको कुरा हो । चोकको एउटा घरको उत्तरपट्टिको पेटीबाट ऊ पश्चिमतिर आउँदै रहेछ । म यता बैङ्कको काम सकेर त्यही घरको पश्चिमपट्टिको पेटीबाट उत्तरतर्फ आउँदै गरेको । पेटीको मुखमा आ-आफ्नै सुरमा हिँड्दै गर्दा एक-अर्कामा ठोक्किने गरी अकस्मात् भेट भयो । आफ्नो त नाकमा मास्क थियो । उसको त त्यो पनि रहेनछ । कोरोना सर्ने डरले कत्ति बेरसम्म त सासै नफेरी पनि हिँडियो । अपरिचित मानिससँग त्यति नजिक भइएको त्यही पटक थियो । टेन्सन नहुने त कुरै भएन । कतै उसलाई कोरोना सङ्क्रमण त थिएन । यदि थियो भने त ! उसको शरीरले ठेलेर ल्याएको हावा मेरो नाकबाट अँटेसम्म भित्र छिरेको थियो । सायद मेरो शरीरले ठेलेको हावा पनि उसको नाकबाट त्यसरी नै छिरेको हुनुपर्छ ।
यस्तो कोरोनाको बिगबिगी छ । मास्क किन नलाएको ? भनेर सक्दो झपार्न कन्सिरी तातेर आएको थियो । के गर्नु राम्रैको भुसतिघ्रे परेछ । उल्टै आफैँलाई झपार्ला जस्तो मात्रै थिएन । चुपचाप लागेर हिँडियो । अकस्मातको जम्काभेट थियो । म आउँदै गरेको उसले पनि देखेन । मैले पनि ऊ आउँदै गरेको देखिन ।
हप्ता दिनसम्म निक्कै टेन्सन भयो । यी यस्तै पाराले त फैलने हो नि भाइरस । हातमा मात्र होइन । बेलाबेला शरीरउँदो पनि छर्कंदैछु स्यानिटाइजर । यसो हेर्छु । बाटाउँदो हिँड्ने सबैले मास्क नलाए पनि गाम्चाले भए पनि नाक छोपेरै हिँडेका छन् । दोस्रो लहरसम्म आइपुग्दा जन-चेतना त फैलिएको छ । सामाजिक दूरी कायम गरेकै छन् प्रायः सबैले । ननिस्की नहुने भएपछि मात्र घरबाट निस्केका छन् ।
“एउटा कुरा । आफ्ना-आफन्त त के म बुढीले नै छर-छिमेकी कसैको आँगन नटेकेको १५ महिना भो नानी अनि के कुरा गर्नु ! तल्लाघर माथ्ला घर गइरहेको बानी । जान मन त लाग्छ नि के गर्नु गयो । उ… बुढी आई कोरोना सार्न भन्ठान्दा हुन् । कोही बोल्दैन ।” दुवै हात कम्मरमाथि राख्दै हजूरआमाले भनिन् ।
डाँडाको घाम भएकी बुढी मान्छे । बिचरालाई कति तल्लाघर-माथ्लाघर छर-छिमेकमा जाऊँ र गफियौँ, लाग्दो हो ।
“यो बुढी त मरे पनि के छ र भनेजस्तो गर्छन् । हुन त मैले अब कसका लागि बाँचिदिनु पर्याछ र ! कहिलेकाहीँ त लाग्छ अकालमै ज्यान किन फालौँ ? स्वास्थ्य मापदण्ड अपनाउँदा बचिन्छ भने किन नअपनाउने ? कोरोना नै बोकेर हिँडेजस्तो गर्छन् । सबै तर्किन्छन् ।” बुढी मान्छेले चिउँडादेखि तल झरिसकेको मास्क माथि सारेर नाकमा टाँस्दै दुखेसो गरिन्, “यो कोरोना आएपछि त झन् म जस्ता बुढाबुढी मान्छे त घाँडो नै भइएको छ । कोरोनाले भेटेपछि बुढाबुढी मान्छेलाई त झन् उठेर हिँड्न गाह्रो छ भन्छन् ।”
यो बाटो हिँडिरहने यिनै बुढी मान्छे हुन् । कोरोना फैलिएपछि हिँड्न छाडेकी थिइन् । फेरि हिँड्न थालिछन् । यस्ती बुढी मान्छे भए पनि मास्क बिना कहिल्यै हिँड्दिनन् । उनले कानमा झुण्डिएको मास्क देखाउँदै भनिन्, “यो महला नलाई नातीनातिनाले हिँड्नै दिँदैनन् । लाएपछि सास थुनिएजस्तो भएर हिँड्नै हुँदैन । स्वाँस्वाँ बढेर कस्तो हुन्छ । ठाउँठाउँ बस्दै हिँड्छु । कहिले त पाइलै पिच्छे बस्नुपर्छ । अप्ठेरो भएर उस्तै । एकछिन्-एकछिन् त हातमा बोकेर पनि हिँड्छु । कति खेर घर पुगेर फालौँ हुन्छ ।” बुढी मान्छे त्यहीँ उभिएर हातका औँला भाँच्न थालिन् ।
“हैन, ए हजुरआमा ! के गर्नु भएको औँला भाँचेर ?” मेरो प्रश्न थियो ।
“लक डाउन भएको कति दिन भयो ? भनेर हिसाब गर्छु नै हाओ नानी अरू के गर्नु । आज लकडाउन भएको १ महिना २६ दिन भएछ । २ महिना हुन अब ४ दिन बाँकी छन् ।”
हजुरआमा हिँड्दाहिँड्दै एउटा घरको पेटीमा थचक्कै बसिन् । चिउँडोमुनि झरेको मास्क माथि तानेर नाक छोप्दै आँखाभरि आँसु पारेर भनिन्, “मेरी माइली छोरीले दुःख पाउने भई । बिहे गर्न मानेकै थिइन । हाम्रै करकापमा परेर बिहे गरी । बिहे गरेकै साल ज्वाइँ बिते । त्यसपछि फेरि सबै लागिमेली गरी दोस्रो बिहे गरिदियौँ । त्यो पनि हाम्रै करकापमा । दोस्रो ज्वाइँलाई पनि ०७७ को कोरोनाले लग्यो । खाऊँखाऊँ र लाऊँला ऊँको उमेरमै दुवै ज्वाइँ बिते । छोरी एक्ली भई । दोस्रो ज्वाइँ पट्टिको एउटा २ वर्षको नाति छ ।
ज्वाइँ छँदा त जिनतिने गरेर भात खाएका थिए । अब त्यही दुई छाक भात खाने पनि उपाय छैन, मेरी छोरीको । यो कोरोना थिएन भने त तै बरु सानोतिनो भए पनि पसलससल गरेर भात खाने मेलो त गर्ने थिए होला । आमा छोराको जिउपालो हुन्थ्यो । हत्तपत्त यो कोरोना पनि साम्य होलाजस्तो छैन । लकडाउन पनि आजका दिनसम्म खुल्ने छाँटकाँट छैन । बाहिरबाटै घरमा साँचो लाइदिएजस्तो भएको छ । यही छोरीको पिरले रातभरि निद्रा लाग्दैन । मनमा केके कुरा खेल्छन् । मनमा कुरा खेलेपछि के निद्रा पनि लागोस् । मनमा शान्ति भए पो खाएको कुरा पनि थपथप लाग्छ जीउमा ।
म बुढी मान्छे आफैँपनि यस्ती भइसकेँ । ऊ त झन् सुकेर दाउरोजस्तो भएकी छे । कस्तो कर्म लिएर जन्मेकी रहिछ भन्छु सम्झन्छु । नौ नारी गलेर आउँछन् । अहिले म उसकै घरमा पुगेर आएकी हुँ । एउटा ओछ्याउने लगेर राखिदिऊँ लागेको थियो । कोरोनाको भयले सकिएन ।” त्यतिकै एकछिनमा बुढी मान्छे उठेर हिँडिन् ।
००००
एम्बुलेन्स नजिकको बाटो भएर दौडँदा पनि भित्र कताकता मन चिसो भइहाल्ने ! कतै आफ्ना-आफन्तै त बिरामी परेनन् ? एम्बुलेन्स अगाडि आएर रोकियो । अलिकति झ्यालको सिसा एक-अर्कामा जोडिन बाँकी रहेछ । चेपबाट यसो भित्र चिहाएको ! तिनै बुढी मान्छे पो बेडमा लम्पसार परिरहेकी रहिछन् ! छक्क पर्नु भो । त्यस्तै बुढी मान्छे भए पनि हिँडिरहेकी थिइन् ।
“अकस्मात् सास फेर्न गाह्रो भयो अनि त्यही भएर हस्पिटल कुदाएका ।” छेउमा बसेकी छोरी रछिन् बोलिन् ।
अब बुढी मान्छे हस्पिटलबाट सरसाउँदो फर्केर आउलिन् भन्ने कसैलाई पनि लागेन । फेरि एक पटक राम्रोसँग अनुहार हेरौँ न त लागेको थियो । एम्बुलेन्स धुलो उडाउँदै हुइँकेर पर निक्कै पर पुगिहाल्यो । हेर्दाहेर्दै आँखाबाट अलप पनि भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।