
दुई हजार असी सालको दसैँ आउन अब धेरै दिन बाँकी छैन । वर्षिनै आउँछ दसैँ तर पहिलेको जस्तो उत्साहपूर्ण र रोमाञ्चक हुन छाडेको दसैँ । दसैँको महत्त्व नघटे पनि एउटा कुरा चाहिँ पक्का हो कि दसैँ पहिलेको जस्तो रौनकमय र उल्लासमय नभएको सबैले महसुस गरिएकै हो ।
दसैँको विशेषता भनेको घरबाट टाढा टाढा अझ परदेशमा रहे बसेकाहरूको परिवार, इष्टमित्र र आफन्तजनसँगको सुखद मिलन र भेटघाट नै हो । वर्ष दिनसम्म आफन्त र घर परिवारबाट टाढा रहेर बसेकाहरूको ठूलो इच्छा भनेकै दसैँमा घर जाने र केही दिन परिवारसँगै बसेर सुख-दुःखका क्षणहरू बिताउने । तर धेरैजसो विदेश गएकाहरू आ-आफ्नै बाध्यता र विवशताका कारण चाहेर पनि दसैँमा स्वदेश फर्कन सकिरहेका हुँदैनन् ।
अहिले विज्ञान र प्रविधिले विश्वलाई नै हत्केलामा हेर्न, खेल्न र सूचनाको आदान प्रदान गर्न, चिठी पठाउन र प्रत्यक्ष आमने-सामने कुराकानी गर्ने विशिष्ट सुविधा उपलब्ध गराएको छ । यो अलौकिक सौगात हो आजका पुस्ताका लागि । त्यसो त कतिपयले मोबाइल र इन्टरनेटमा उपलब्ध भएको भिडियोमार्फत नै आमा-बाबु र मान्यजनको हातबाट टीका लगाउने पनि गर्छन् । तर त्यो मनलाई सान्त्वना दिने उपाय मात्र हो । जे भए पनि त्यो विधि साक्षात्कार उपस्थिति जस्तो कदापि हुँदैन ।
त्यस बखत जतिखेर आधुनिक सुविधाबाट पूर्णत वञ्चित थियौँ, अर्थात् अहिलेको जस्तो मोबाइल र इन्टरनेटको सुविधा थिएन, हामी केटाकेटीहरूको भने बेग्लै चाहना र रहर थियो । त्यो हो दसैँमा स्कुलले बिदा दिएपछि दसैँभरि चङ्गा उडाउने रहर । भदौ र असोजको मौसम पनि चङ्गा उडाउन उपयुक्त नै हुने । बर्साद पूरै बिदा नभइसकेकोले पानी कहिलेकाहीँ मात्र पर्दथ्यो । त्यो पनि केही बेरसम्म मात्र । कहिलेकाहीँ त पानी पर्दापर्दै घाम पनि लागिसक्थ्यो । घाम र पानी सँगसँगै देखिँदा ‘घामपानी घामपानी, स्यालको बिहे, कुकुर जन्ती बिरालो बाहुन’ भन्ने राष्ट्रकवि माधव घिमिरेको घामपानी शीर्षकको किताबमा छापिएको त्यही बालगीत गाउँथ्यौँ ।
मध्यान्नपछि पश्चिमतिरबाट बहेर आउने बतास चङ्गा उडाउँदा निकै उपयुक्त थियो । अर्थात् त्यस्तो हावामा चङ्गालाई आकाशमा धेरै माथिसम्म उडाउन सकिने । तल खेतमा धानको बाला लहराएको र माथि आकाशमा चङ्गा उड्दाको दृश्य आफैमा अलौकिक देखिन्थ्यो । गाउँमा घरहरू फाट्टफुट्ट मात्र थिए । त्यो पनि दुई तलासम्मका घर । अधिकांश घरहरूको छानो पराल र छ्वालीका थिए । गाई गोठहरू पनि प्रायः एक तलाका मात्र । औँलामा गन्न सकिने घरहरूको छानो मात्र झिँगटी वा टायलको थियो ।
गाउँघरमा दुई प्रकारका घर थिए । एउटा पक्की घर जसको बाहिर पक्की इँटा र भित्र काँचो इँटाले गारो लगाएको हुन्थ्यो । यस्तो घरको छानो पनि टायल वा झिँगटीले छाएको हुन्थ्यो भने अर्को चाहिँ कच्ची घर जसको बाहिर र भित्र दुवैतिर काँचो इँटाले लगाएको गारा अनि छानो पनि पराल वा छ्वालीले छाएको हुन्थ्यो । परालको छानो दुई तीन वर्ष मात्र खप्थ्यो भने छ्वालीले छाएको छानो छ सात वर्षसम्म पनि टिक्थ्यो । जसको कारण बरोबर छानो छाइरहनु पर्ने झन्झट थियो । झिँगटी र टायलका छाना भएका घरभन्दा पनि बढी कच्ची इँटाको गारो र पराल वा छ्वालीको छानो भएका घरहरू प्रायः सबै भुइँ तला र माथि एक तलाको मात्र हुन्थ्यो ।
घर प्रायः उस्तै आकार प्रकारका हुन्थे । चारैतिर पाखो भएका घरको छानाहरूको बनोट पनि एकै प्रकारको थियो । जब नेपालमा पनि जस्तापाता उत्पादन हुन थाल्यो तब नयाँ घर बनाउनेले एक पाखे छानो बनाउन थाले । कसैकसैले मात्र दुई पाखे छानो बनाउँथे । बिस्तारै बिस्तारै गाउँमा बस्ती बढ्न थाल्यो । काठमाडौँको चोभारमा हिमाल सिमेन्ट कारखाना बनेपछि स्वदेशमा नै सिमेन्टको उत्पादन हुन थाल्यो । मैले २०३२ सालमा घर बनाउँदा जस्तापाताको छानामाथिको गारोमा सिमेन्ट लगाउनुपर्ने भयो । त्यो बेला एक बोरा गैँडा सिमेन्टको उनन्तीस रुपैयाँ र काठ एक क्युबिकको तीस रुपैयाँ थियो । यी कुरा अब कुनै दन्त्यकथा जस्तै भएका छन् ।
दसैँको बेला गाउँमा घरको बाहिर र भित्र रङ लगाउने काम अनिवार्य जस्तै थियो । घरहरू रातो माटो र सेतो कमेरोले पोतेर पोतिन्थ्यो । घरको सारा सामान बाहिर आँगनमा थुपारेर बिहानदेखि घर सफा गर्ने र लिपपोत गर्ने काम एकै दिनमा सकिन्थ्यो । घर सफा गरेर लिपपोत गर्दा पुरानो र थोत्रो नै भए पनि घर चिटिक्क परेको देखिन्थ्यो । यस प्रकार गरिब होस् कि धनी सबैले दसैँको समयमा घरलाई लिपपोत र रङरोगन गर्दथे ।
यो परम्परा अहिले काठमाडौँमा प्रायः हटिसकेको हो कि भन्ने लाग्छ । किनभने एकातिर पुराना कच्ची घरहरू प्रायः भत्किसके वा भत्काइयो भने अर्कोतिर धेरैजसोका घर अब सिमेन्टबाट बनिसकेका छन् । आधुनिक ढाँचा र आकारका घरहरू बन्न थालेपछि पुराना माटाको गारो भएका, टायल वा झिँगटीको छानो भएका घरहरू बिस्तारै सकिँदै छन् । कलात्मक झ्याल र ढोका राख्ने चलन पनि हराइसक्यो । त्यसो त केही घरमा काठमा कलात्मक ढोका कसैकसैले राखेको देखिन्छ । तर त्यो धेरै महँगो भएकोले हम्मेसि राखिँदैन । अब पुरानो घर भेट्न काठमाडौँ उपत्यका छोडेर बाहिर जानुपर्दछ ।
अँ, म चङ्गाको कुरा लेख्दै थिएँ । सानो छँदा मलाई चङ्गा उडाउनु निकै रमाइलो लाग्थ्यो । रमाइलो मात्र होइन ठूलो सौख नै थियो । चङ्गा उडाउन घर अघिल्तिरको बाटोमा गइन्थ्यो । घरको नजिकै चङ्गा उडाउने सबैभन्दा उपयुक्त ठाउँ पनि त्यही थियो । त्यो बाटो अलिकति चौडा र बाटो अगाडि खेत मात्र थियो । हनुमती नदी र मनहरा खोलाको बगरमा जाँदा बगरको बालुवा तातेर पाइताला पोल्थ्यो । खुट्टामा बिना चप्पल चङ्गा उडाउन गइन्थ्यो । किनभने केही गरी धानखेतमा जानुपरेको खण्डमा पटक पटक चप्पल फुकालिरहनु पर्दथ्यो । त्यसैले बाटोमा उभिएर चङ्गा उडाइन्थ्यो ।
कहिलेकाहीँ घरको छाना र रुखको हाँगाहरूमा चङ्गा अड्किन्थ्यो र कहिले च्यातिन्थ्यो पनि । अर्को चङ्गा किन्न पैसा हुँदैनथ्यो । नयाँ चङ्गा किन्न दुई, पाँच र दस पैसा पर्दथ्यो । सबैभन्दा सानो चङ्गाको दुई पैसा, अलिकति ठूलोको पाँच र सबैभन्दा ठूलोको दस पैसा । धागो पनि दुई प्रकारको पाइन्थ्यो । एउटा बेल्चामार (जसको बाहिर कागजको सेतो खोलमा साबेलको फोटो हुन्थ्यो भने अर्को हात्तीमार (जो काठको सानो लट्टाइ आकारमा धागो बेरिएको) हुन्थ्यो ।
पचास पैसामा बेल्चामार र एक रुपैयाँ पच्चीस पैसामा हात्तीमार धागो पाइन्थ्यो । बेल्चामारको धागोले ठूलो चङ्गालाई थेग्दैनथ्यो । अर्थात् चङ्गा उडाउँदा उडाउँदै धागो चुँडिन्थ्यो । हात्तीमार धागो भने निकै बलियो हुन्थ्यो । हातले चुँडाल्दा पनि कहिलेकाहीँ हात नै काटिदिन्थ्यो । अरूसँग चङ्गा लडाउनु छ भने हात्तीमार धागोमा चङ्गा उडाउनु पर्थ्यो ।
हनुमती नदी किनार नजिकै झिकुचा कुलोको पानी बगेर जाने एउटा गुम्बज थियो र त्यो भन्दा केही पर भगवतीको मूर्ति अनि मूर्तिभन्दा पश्चिमतिर एउटा पाटी थियो । त्यसको छेवैमा एउटा विशाल कालो र चिप्लो ढुङ्गा थियो । त्यसैमा गाउँका छोरी-बुहारीहरू मेलापात र घाँस काट्न जाँदा हँसियालाई रगडेर धार लगाउँथे ।
हामी पनि त्यही ढुङ्गाको बीच खाडलमा बिजुलीको जलेका चिमलाई पिसेर मसिनो धुलो पार्थ्यौं र त्यही चिमको धुलोलाई भात वा साबुदानामा हालेर धागोमा माझा लगाइन्थ्यो । माझामा बिजुलीको जलेको चिमलाई पिँधेर मसिनु बनाएको धुलोलाई मुछेर मिहिन पारेको भातमा राखिन्थ्यो र दुईतिर लट्ठी गाडेर वरिपरि घुमेर माझा लगाइन्थ्यो अनि धागो घाममा सुकेपछि लट्टाइमा बेरिन्थ्यो । यसो गर्दा धागो निकै कडा बन्थ्यो । माझा जति राम्रोसँग लाग्यो त्यो धागो त्यति बलियो हुन्थ्यो र चङ्गा लडाउँदा अरूको धागोलाई छिटै काट्न सक्थ्यो ।
चङ्गा लडाउँदा कहिलेकाहीँ अरूको चङ्गाको धागो आफ्नो धागोमा बेरिएर अल्झिन्थ्यो र दुईवटै चङ्गा आकाशमा सँगसँगै उड्न थाल्थे । त्यसो हुनुलाई चङ्गा छक्कली आएको भनिन्थ्यो । अनि लट्टाईलाई सावधानी साथ बेरेर दुवै चङ्गालाई आफूसम्म ल्याउने प्रयास गरिन्थ्यो । कहिले त बीचमै धागो फुस्केर छक्कली आएको चङ्गा पनि जान्थ्यो ।
दसैँको समयमा घरभन्दा दक्षिण-पश्चिमको आकाशमा चङ्गा उडेको दृश्य किरिङमिरिङ देखिन्थ्यो । काटिएर गएका चङ्गाहरू आकाशमा धेरै माथिमाथिसम्म उडेर गएको देखिन्थ्यो । त्यसरी धेरै नै माथिमाथि उडेर गएका चङ्गाहरू भोट (तिब्बत) सम्म पनि पुग्छन् भनिन्थ्यो । त्यसरी चङ्गा भोटमा पुगेपछि नेपालमा दसैँ आउन लाग्यो भनेर भेडा च्याङ्ग्रा बेच्न भोटेहरू नेपाल आउँछन् भन्ने कहावत थियो । तर त्यो कतिको सत्य थियो त्यो थाहा भएन । जे भए पनि दसैँमा तिब्बतबाट भेडा र च्याङ्ग्रा बेच्न भोटका मानिसहरू काठमाडौँ आउँथे ।
चङ्गा विभिन्न आकार प्रकारका थिए । कलकत्ताबाट बनेर आएका चङ्गाहरू निकै पातलो कागजका हुन्थे । नेपालमा नेपाली कागजबाट बनेका चङ्गाहरू भने बाक्लो र भद्दा थिए । नेपाली कागजका चङ्गा उडाउन हात्तीमार धागो नै चाहिन्थ्यो । पाटनको क्वाल्खुमा एउटा जोशीको घरमा नेपाली कागजको चङ्गा बनाइन्थ्यो । त्यो घरमा मेरो साहिँला काकाले दूध लगेर बेच्दथे । एक दिन त्यो चङ्गा बनाउने जोशीको घरमा चङ्गा किन्न म पनि काकासँगै गएँ । त्यहाँ चङ्गाको रास देखेर म छक्क परेको थिएँ । हामी त्यो घरलाई चङ्गा बनाउनेको घर भन्दथ्यौँ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको घर जाने कलात्मक ढोका छिर्नुभन्दा पहिले दायाँतर्फ थियो त्यो घर । शताब्दी पुरुष सत्यमोहन जोशीको घर त्यहाँ हो भन्ने कुरा मैले उहाँ बित्नुभन्दा एक वर्ष पहिले मात्र थाहा पाएको थिएँ । त्यो दिन थियो दाङका डाक्टर विनोद आचार्यको जङ्गी उर्वशी नामक महाकाव्यको पुस्तक विमोचन शताब्दी पुरुष सत्यमोहनले नै गर्नुभएको थियो । त्यो कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य नेपालले आयोजना गरेको थियो । जब कि म त्यो बाटो भएर विगत पचास वर्षदेखि हिँडिरहेको छु । अहिले त त्यति गइन्न । किनभने मेरो घरतिर पनि सडक बन्यो र यातायातको सुविधा भएकोले त्यो बाटो जानु पर्दैन । तर पनि जागिरबाट अवकाश पाएपछि गाबाहलस्थित नेपाल बैङ्कमा पेन्सन पट्टा नवीकरण गर्न र पेन्सन झिक्न महिना दुई महिनामा त्यो बाटो भएर जाने गर्दछु ।
कलकत्ता (अहिले कोलकाता) बाट ल्याइएको चङ्गा पनि साना र ठूला पाइन्थ्यो । दुई पैसा, पाँच पैसा, दस पैसा र बिस पैसामा पाइन्थ्यो । हामीलाई त पाँच पैसाको चङ्गा नै ठिक हुने र त्यसलाई उडाउन पचास पैसाको बेल्चामार धागो नै उपयुक्त हुन्थ्यो । एक रिल धागो किनेपछि धेरै दिनसम्म चङ्गा उडाउन पाइन्थ्यो । अझ त्यसमा पनि कसैको धागो छोप्न (काटिएर गएको चङ्गाको धागो) पाइयो भने आफ्नो लट्टाइमा बेरेर राखिन्थ्यो । त्यसमा पहिले नै माझा लगाइसकेको हुनाले फेरि माझा लगाउनु पनि पर्दैनथ्यो ।
चङ्गा थरीथरीका हुन्थे । तिनीहरूको बनावट एउटै भए पनि त्यसमा विभिन्न रङका कागजले बुट्टा जस्तै सजाइएको हुन्थ्यो । तिनै बुट्टा र सजावटलाई हेरेर हामी चङ्गाको नाम राख्दथ्यौँ । जस्तो कि चेस खेल्ने थर्कीजस्तो आकारबाट बनेकोलाई डिबडिबे, दुईतिर पखेटामा बेग्लै रङको कागज राखेर बनाइएको छ भने पखेटे, बीच भागमा पानको आकारको कागज राखेकोलाई अम्बे, माथतिरको भागमा अलिकति बेग्लै रङकाे कागज राखेकोलाई टाउके, दुई तीन वटा रङको कागज छड्के पारेर राखिएको छ भने पेटारे, एउटै रङको कागजले मात्र बनाइएको छ भने रङको नाम अनुसार, सेते (सोतो), राते (रातो), नीलची (नीलो), पहेँलची (पहेँलो), काले (कालो) हरियो, आदि र चङ्गाको सन्तुलन मिलाउन पुछारमा कागज जोडेर लामो पुच्छर गाँसेकोलाई पुछ्रे भनिन्थ्यो ।
चङ्गा राम्रोसँग उड्नको निम्ति त्यसको कका (चङ्गाकाे माथितिर र मध्य बीचमा धागो राख्ने) छेड्ने भन्दथ्यौँ । कका पनि सही तरिकाबाट राख्न सकिएन भने चङ्गा उडाउँदा राम्रोसँग उड्दैनथ्यो । चङ्गा जति माथिमाथि उड्न सक्यो धागो पनि सिधा माथितिर हुन्थ्यो र चङ्गा लडाउँदा काटिने सम्भावना कम हुन्थ्यो । अर्को कुरा राम्रोसँग कका छेडिएको चङ्गाले आकासमा फन्का लगाउँदा पनि तीव्र गति लिन सक्थ्यो । त्यसरी फन्का लगाउन सक्ने चङ्गा अरूसँग लडाउँदा काटिने सम्भावना कम हुन्थ्यो ।
त्यसो त धागोमा राम्रोसँग माझा लागेको छ भने पनि अरूको चङ्गा धेरै काट्न सकिन्थ्यो । माझा पनि खस्रो र मसिनो हुन्थ्यो । मसिनो माझाले धागोलाई बलियो बनाउँथ्यो । माझा लगाउँदा प्रयोग गरिने भातको माड र साबुदानाको माड मुख्य थिए । हामी चाहिँ साबुदाना भन्दा पनि भातलाई मसिनो पारेर मुछेपछि त्यसमा ऐना मिसेर मसिनो पारेको धुलो हाल्दथ्यौँ । यसरी चङ्गा उडाउन र लडाउन निकै सिपालु भइएको थियो ।
धेरैजसो चङ्गा दसैँको बेला लडाइन्थ्यो । दसैँका दिनहरूमा हामी टीकाथलीस्थित गोदावरी खोलाको डिलमा बसेर चङ्गा लडाउँथ्यौँ । पारि बालकोटतर्फको खुला फाँट र परपर फाट्टफुट्ट घरहरू थिए । तरेली परेको जग्गामा धान लहलह झुलेको हुन्थ्यो । कुनैकुनै खेतमा धान काट्ने बेला पनि भइसकेको र कुनै खेतमा धान पाक्न लागेको अवस्थामा हुन्थ्यो । काटिएको चङ्गा छोप्न जाने केटाकेटीहरू सिधै धान खेतमा पस्थे र काटिएर गएको चङ्गा छोप्न दौडन्थे । त्यसरी दौडँदा धानको बोटहरू कुल्चेर नोक्सान पार्दथे । कोहीकोही खेत धनीहरू केटाहरूलाई गाली गर्दै लखेट्थे भने कोही कोही भेट्यो भने गालामा चड्कन लगाउँथे । विशेषगरी दसैँको अष्टमी, नवमी र टीकाको दिन समेत गरी तीन दिनसम्म त्यहाँ चङ्गा लडाउने काम हुन्थ्यो ।
यता पश्चिमतिरको कुनामा विशेषगरी धापाखेल, सुनाकोठी, भैंसेपाटी, लगनखेल, जावलाखेल, चोभार, कीर्तिपुर, मच्छेगाउँलगायत धेरै ठाउँमा उडाएको चङ्गाले आकाशै ढाकेको जस्तो देखिन्थ्यो । त्यहाँबाट काटिएर आएको कुनैकुनै चङ्गा हाम्रो खेत बारीतिर पनि बस्दथ्यो । त्यसलाई छोप्नको लागि दौडादौड भइरहन्थ्यो ।
बारीमा मकैको ढोडको रास लागेको र तोरी फुलिरहेको खेतमा धान लहराइरहेको, आकाशमा चङ्गा उडिरहेको, ठाउँ ठाउँमा सेता बादलहरू हावाको गति सँगसँगै घुमिरहेको देख्दा वातावरण निकै उल्लासमय हुन्थ्यो । त्यो समयमा गाउँमा न धुलो न त धुवाँ नै हुन्थ्यो । चारैतिर सफा देखिन्थ्यो । कहिलेकाहीँ आउने भुमरीले उडाएर ल्याउँथ्यो धुलो । उपत्यकाभित्रको पहाडहरू जहिले पनि हरिया र सुन्दर देखिन्थे । त्यो सुन्दरता पानी परेर फेरि बेलुकातिर घाम लागेपछि निकै हरियाली र सुन्दर देखिन्थ्यो ।
अब मेरो गाउँ पनि अहिले पुरै सहर भइसक्यो । खाली जग्गा कतै छैन । पहिले खेतीपाती गर्ने खेतबारीमा सबैतिर घरहरू बनेका छन् । सडक बनेको छ । खोलालाई साँघुरो पारेर दुवैतिर ढुङ्गाको पर्खाल लगाइएको कारण खोला निकै गहिरो भएको छ । बालुवा मात्र हुने खोलामा अब कालीमाटी मात्र देखिन्छ । खोलाको दुवैतिरको बगर हुन्थ्यो, त्यो पनि छैन । बगर अतिक्रमण गरेर घर टहरा बनाएका छन् । खोलाको बगरमा फुटबल खेल्ने र चङ्गा उडाउने कुरा पनि इतिहास भइसक्यो । बाक्लो घरैघर भएको ठाउँमा अब पहिले जसरी चङ्गा उडाउन पनि सहज छैन ।
सडकमा ठडाइएको बिजुलीका खम्बाहरू, टेलिफोन र इन्टरनेटका तारहरूको गुजुल्टो र घर घरको छानामा राखेका पानीका ट्याङ्कीहरूले चङ्गा उडाउन बाधा पारेका छन् । पहिलेको जस्तो काठमाडौँ उपत्यकामा चङ्गा उडाएको पनि देखिन्न । केही चङ्गा उडेको देखिन्छ । तर पहिलेको जस्तो एउटै चङ्गामा चार पाँचवटा चङ्गा गाँसिएर काटिएको देख्न पाइन्न । पहिले धेरैले चङ्गा उडाउँथे अब त्यो सङ्ख्या पनि धेरै नै घटिसक्यो । मैले एक वर्षको दसैँमा छोपेर बटुलेको चङ्गा सुरक्षित राखेर फेरि अर्को वर्षमा पनि उडाएको थिएँ । चङ्गा उडाउनु, गुच्चा खेल्नु, फुटबल खेल्नु, पिच्चे खेल्नु, कवर्डी खेल्नु जस्ता खेलहरू अब दिनदिनै घटिरहेका छन् ।
अहिले इन्टरनेट र मोबाइलमा नै सबै संसार हेर्न र खेल्न पाइने युग आयो । मनोरञ्जनका साधन धेरै भए । घरभित्रै मनोरञ्जन गरेर बस्न पाइने भइयो । टेलिभिजन, ल्यापटप, मोबाइल, इन्टरनेट आदिको आधुनिक प्रविधिको आविष्कार र सुविधाले मान्छे सामाजिक भन्दा बढी एक्लो हुँदै गएको छ । पुराना खेलतिर कसैको ध्यान जान छोडिसक्यो । खेल्ने ठाउँको अभावको कारण सबै घरघरमा नै मोबाइलमा भुलिरहेछन् । साथीसँगाती पनि सीमित भएका छन् । एक घरको मान्छेले अर्को घरको मान्छेलाई चिन्दैन । छिमेकमा मान्छे मरेको कुरा पनि दुई चार दिनपछि मात्र थाहा हुन्छ । सडक र यातायातको सुविधा भएपछि मान्छे पैदल हिँड्नै छोडिसके । सानो दुरीको यात्रामा पनि सवारी साधनको प्रयोग गर्दछन् । प्रायजसो सबैलाई एक्लैएक्लै हिँड्ने बानी परेको छ । पैदल हिँड्नेहरू थोरै हुन्छन् । सबैलाई पुगिसरी आएको छ । अर्थात् सबै धनी भएका छन् । अहिलेको पुस्ताले हामीले जस्तो अभावसँग जुध्नु परेको छैन । ‘घर एक संसार’ र ‘परिवार नै एक समाज’ हुँदै गएको छ ।
समय बदलियो । परिस्थिति बदलियो । संस्कार र परम्परामा परिवर्तन आयो । मानिसको सोच र विचार बदलियो । पश्चिमा देशको नक्कल गर्दै आफ्नो गाउँघर र देशको प्राचीन संस्कार र परम्परालाई ओझेलमा पारिएको छ । यसरी हाम्रो संस्कार, परम्परामा विचलन आउनुका साथै हाम्रो मौलिकतामाथि अतिक्रमण भइरहेको छ । भनौँ कि पर्व र संस्कृतिको नाममा विकृति मौलाइरहेछ । एक दिन मनाउने तीज पर्व अब महिनौँ दिनसम्म चल्न थालेको छ । यो एक प्रकारको सामाजिक विकृतिले दिनदिनै समाजमा मात्र होइन घर परिवारमा पनि गाँज्दै ल्याएको छ । आधुनिकताको नाममा आफूलाई मन लागेको गर्ने र खाने आदतले मानिसले पुरानो संस्कार र संस्कृति बिर्सिंदै गएका छन् ।
जे होस् हाम्रो देश धेरै चाडपर्व, जात्राहरू र सांस्कृतिक धर्मकर्म गर्नेहरू निकै छन् । आजभन्दा तीस वर्ष पहिले मेरो गाउँघरमा चङ्गा उडाउनु र लडाउनु पनि यौटा पर्व जस्तै थियो । अब त्यो विगतलाई सम्झनुको विकल्प रहेन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

