सबैले महसुस गरेको कुरा हो, जीवनको सबैभन्दा आनन्दको भाग बचपन हो । यसमा न जिम्मेवारी हुन्छ, न भविष्यको चिन्ता, न परिवाको भरणपोषणको चिन्ता । मात्र आनन्दै आनन्द  । बाबाआमाको छत्रछायामा यो जीवन अति कोमल, सरल, सहज, निर्मल र चिन्तामुक्त हुन्छ । यसको  मूल्य चाहिँ फेरि बचपनको जीवनदेखि उकालो लागेपछि मात्र थाह हुँदो रहेछ । मलाई पनि बचपनको महत्त्व घर छोडेपछि थाहा लाग्न थाल्यो ।

३ अप्रिल, २००८ मा बाटोमा घटेको ठुलो बस दुर्घटनाको अनुभवको पोको भिरेर दिल्ली आगमन भयो । घरबाट लिएर आएको ब्यागमा मूल्यवान् वस्तु केही थिएन । दुई-तीन जोर लुगाफाटा, एक जोर जुत्ता अनि साथमा एउटा डायरी र कलम थियो । तर मनमा पालेको सपना चाहिँ मूल्यवान् थियो; उज्ज्वल र सफल जीवन बनाउने । त्यही सपना लिएर दिल्ली र हरियाणा राज्यको सीमामा स्थित सूर्या फाउण्डेशनको ट्रैनिङ् कैम्पस् साधना स्थली झिंझौलीमा प्रवेश गरियो ।

यो स्थानमा आएको पहिलो चोटि थिएन; सन् २००४ मा क्षेत्रीय स्तरको शिविर असममा चयन भएर अग्रिम प्रशिक्षण शिविर गर्न आएको थिएँ । पुनः यो स्थानमा आउँदा जिउभरि आनन्द सञ्चारित भयो । पहिलो चोटि बिस दिनका लागि आएको थिएँ  । यो पटक भने कति दिन यहाँ बसिन्छ, समयलाई मात्र थाहा थियो । यो ठाउँ नै आनन्दले परिपूर्ण भएको जहाँबाट आध्यात्मिक, देशभक्ति, सात्त्विक एवं सांस्कृतिक ऊर्जाको भावना उत्पन्न हुने । बाह्र एकडमा फैलिएको क्यामपसमा खेल्ने ठुलठुला मैदान, तरणताल, बिल्डिङका बनावट साधारण एवम् सात्त्विक भाव प्रकट गर्ने, छात्र एवम् शिविरार्थीलाई बस्ने बिल्डिङको नामले नै देशको विरासत याद गराउने- अर्जुन आवास, मङ्गलम आवास, चाणक्य आवास, दुर्गा आवास, संदीपनि भवन, ऊँ भवन, भारतमाता मण्डप, माधवम् आवास, केशवम् आवास, अजीत आवास, स्नानका लागि ठुलठुला प्रेसरपम्प, अश्वशाला, गौशाला । यहाँको वातावरण नै शुद्ध एवम् सात्त्विक जहाँबाट आश्रमको झैँ दिव्यता सञ्चार हुन्छ ।

सानैबाट बाआमाको संस्कार एवम् राष्ट्रिय स्वयम् सेवक संघ एवं सूर्या फाउण्डेशन संस्थामा जुडेर शान्तचित्त संयमी चरित्रको स्वभाव आउनाले यो वातावरणमा समायोजित हुन्छु भनी मन अश्वस्त थियो । त्यो समय क्यामपसमा बिस-पच्चिस छात्रावास बाहेक अरू केही शिविर र कार्यक्रमको आयोजना भएको थिएन । क्यामपस खाली थियो ।

गोपालजीले क्यामपसमा छोडेर आफ्नो कार्यस्थल छत्तीसगढ गए । दुईचार दिनसम्म हामी दुवै भाइ खाली बस्यौँ । घरको सम्झनाले सताउन लाग्यो । दस कक्षाको रिजल्ट पनि आएको थिएन । रिजल्ट सुन्न आतुर थिएँ ।

झिंझौली क्यामपसको विशेषता भिन्न एवं प्रेरणाले भरिएको । क्यामपसको व्यवस्था साथै साफसफाइजस्ता प्रत्येक काम त्यहीँ बस्ने अधिकारी, छात्रावास र शिविरार्थीले स्वयम् गर्नुपर्दो रहेछ  । दुईचार दिनपछि म र हेमन्ता पनि यी कामबाट अछुतो भएनौँ । शारीरिक गतिविधि सिकाउने अनि व्यवस्था प्रमुख सेवानिवृत्त फौजी जोधा सर थियो । उसले बिहानीको खाजा र दिनको खाना खाएपछि हामीलाई उसको कार्यालयमा बोलायो । मज्जाले काम गर्न लगायो; स्टोरमा गद्द, भाँडा, थाल, च्यादर, कुर्सी, राशनका सामान मिलाएर राख्नु पर्ने, फौजी ढङ्गमा ।

एकदिन फुटबल मैदानका पोल अनि क्यामपसभरि लगाइएका झन्डाका सबै पोलमा पेन्ट गराउन लगायो । दिनको खाना उपरान्त हामी त्यही काममा दैनिक व्यस्त भयौँ । यस्तो दिनचर्याले मनमा निराशाको ताल बनिन लाग्यो । निराशाले घरको सम्झना अझै बढाउन थाल्यो  । म र हेमन्त आपसमा कुरा गर्न थाल्यौँ; ‘यार हामी यही काम गर्न आएका हौँ मणिपुरबाट ? राजूदाले तिमेरको भविष्य बनिन्छ भनेका होइनन् ! दिल्लीको टन्टलापुर घाममा यसरी काम गरिराख्यो भने कालो बिहारी भइन्छ होला केही दिनमा !’ यथार्थमा अप्रिलको घाममा जाडो क्षेत्रबाट आएकाले काम गर्नु कष्टको कुरा थियो । तर समयलाई जित्न सकिँदैन । आइपरेको काम तन्मयताले गर्दा मात्र जीवनको मूल्यवान् अनुभव पाइँदो रहेछ । हामीसँग मनमा बनिएका तालमा डुब्नु या पौडिनु दुई विकल्प थिए । अहिले हामी भारी मनले पौडिने क्रम जारी राख्यौँ ।

छात्रावासमा हाम्रै गाउँका नेपाली विद्यार्थी पनि थिए । त्यही कारणले हामीलाई सबैसँग मित्रता गर्न सहज भयो  । हामीले ती सबै काम गरेको देखेर विद्यार्थीले भन्ने गर्थे- ‘तिमीहरू यहाँ आएर फस्यौ । यहाँ पढाइ हुँदैन । काम मात्र लगाउँछन् । यहाँ भविष्य राम्रो छैन । अगाडि पढाइ गर्न यहाँ सहज छैन । दिए भने पनि करेस्पोन्डेन्समा गर्नुपर्छ ।’ छात्रावासबाट यस्तो नकारात्मक कुरा सुनेर मनमा कतै न कतै प्रभाव पर्न थाल्यो । दैनिकी यस प्रकारका कुरा सुन्दा अनि दिनै काम गरेकाले यहाँ नआएको भए पनि हुने रहेछ जस्तो एक मनले कुरा ओथार्न लाग्यो । दस कक्षा परीक्षाको निम्ति तयारी गर्दा वाक्क भएको मनमा वाक्कपनको रेखा मेटिसकेको थियो । अगाडि पढ्ने भूत मनमा सवार भयो तर यहाँ पढ्ने राम्रो व्यवस्था देखिएन ।

म, दिल्ली आएको बेला मेरो माइलो दादा, प्रदीप घरमा थिएन । ऊ पढाइका लागि जवाहर नवोदय विद्यालय, माउमा गएको थियो । म दिल्ली आएको उसले सुइँको पनि पाएको थिएन । म प्रदीप दादाको धेरै सम्मान गर्थें र अहिले पनि गर्छु । ऊ मेरालागि आदर्श । हामी एउटै स्कुल सनातन संस्कृत विद्यालयमा पढ्थ्यौँ । एक दिनको कुरा हो । हामी साथै स्कुल जाँदै थियौँ । बाटोमा घुम्ती दुकानमा मैले गोल्डी मिठाइ (सुपारीबाट बनिएको) किनेँ । दादालाई पनि दिएँ तर दादाले ‘म सुपारी खान्न’ भनेर अस्वीकार गर्दियो । उसले स्वीकार नगर्नु मेरो लागि ठुलो अर्तीको कुरा भइदियो । जीवनमा कहिलेकाहीँ भनेर उपदेश दिएको भन्दा गरेको देखेर सिकिन्छ । मान्छेलाई कर्मले अधिक प्रभाव पार्छ । त्यो दिनदेखि मैले चौबिस वर्षसम्म सुपारी मुखमा हालिनँ ।

एक महिनापछि दादा माउबाट घर आएपछिको कुरा हो । घरमा कल गर्दा दादासँग कुरा भयो । उसले म दिल्ली गएकोमा मजाले झपारो । ‘हर्के कमसेकम बाह्र त रेगुलर पढ् । यति पनि पढिनस् भने पछि गएर दुःख पाउँछस् । पढाइ भनेको पढाइ हो । दिल्ली त पछि फेरि जाँदा हुन्छ । दिल्ली जाने भूत सवार भएको सकियो भने घर आइज । पढाइ गर अनि पछि जानू ।’ शून्य भएर दादाको कुरा सुनेँ । उसका प्रश्नमा म अमुक, उत्तरहीन । दादाको कुराले विचलित भएको मनमा अझ भुइँचालो चल्यो । केही बेरमा जवाफ दिएँ- ‘दादा अब आइहालेँ । आउँदा त गोपालले लिएर आयो । एक्लै कसरी आउनु ? अनि यहाँ पढ्न मिल्छ अरे भन्दै त छन् ।’

म दोधारमा परेँ । सानैबाट उज्ज्वल भविष्य दिन्छु भन्ने जुन कुरा मनमा अङ्कित भएको थियो त्यही सूर्या फाउण्डेशनको नकारात्मक कुरा छात्रावासबाट सुन्दा अनि दादाको कसिलो  सुझावले म किंकर्तव्यविमूढ भएँ । मनमा खरो पल्टियो ।

राति सुतेको बेला अर्न्तात्माबाट सोचेँ । म आउन त आइहालेँ भविष्य बनाउन । गाउँमा सबैलाई थाहा छ; हर्क सूर्या फाउण्डेशन दिल्लीमा पढ्न अनि भविष्य बनाउन गएको छ । राम्रो विद्यार्थी हो केही न केही त ठुलै गर्छ होला भन्ने सबैले मनमा पालेका होलान् । तर म घर घुरे भने सबैले मेरो खिल्ली उडाउँछन् छन् । मेरो असफलताको कुरा काट्ने छन् । म कसरी असफल अनुहार देखाउनु गाउँमा! आउनु आइहालेँ, अब मैले यस्तै परिस्थितिमा सफल भएर देखाउनु पर्छ ।

अर्न्तात्माबाट यही सङ्कल्प निस्कियो । सूर्या फाउण्डेशनमा बस्ने नै निर्णय गरेँ । तर दस कक्षा पढेर आएको विद्यार्थीको सफलताको मापदण्ड के हो भनेर रत्ती पनि थाहा थिएन । मैले कतिसम्म गर्दा मेरो लागि सफलता हो भन्ने कुरा आकलन गर्ने सायद त्यो समय मेरो अल्प बुद्धि थियो ।

मैले त मनमा निर्णय गरिसकेको थिएँ तर हेमन्ताको मनमा के चल्दै छ त्यो जान्नु थियो । एकदिन हामी प्लास्टिकका कुर्सी साफ गर्दै थियौँ ।

उसलाई सोधेँ, ‘हेमन्ता त के गर्छस् ? यहाँ आएको धेरै फाइदा हुन्छ जस्तो लागेन । तँ घर जान्छस् कि ?’

हेमन्ताले भन्यो, ‘जान्नँ यार । घरदेखि नआइज भन्दै छन् ।’

उसको उत्तरले मेरो मनमा शीतलता छरिदियो ।

झिंझौलीमा जति पुरानो हुँदै गइयो उति नै घरको सम्झनाले सताइरहने । यहाँ बस्ने, खाने, सुत्ने, बोल्ने, घामपानी, भाषा आदि सबैमा भिन्नता आएर होला मन सधैँ आफ्नै घरगाउँतिर दौडेर जान्थ्यो । मन त्यही नाला-खोला, गाईगोरु, हलोकोदालो, खेतबारी, डाँडाकाँडामा विचरण गर्ने । जति नै यहाँ स्वादिष्ट खाए, मुलायम गद्दामा सुते पनि घरमा आमाले पस्किएको गुन्द्रुक र ओछ्याएको बिस्ताराको आनन्द महसुस हुन्थ्यो । घरमा बिताइएका एकएक पल झलझली आँखाका सामु आउँथ्यो । लाग्थ्यो, काश ! ती दिन फेरि फर्केर आउन् !

खाली समयमा मन बचपनमा घटेका सबै घटनामा पुगेर पुनः जिउन थाल्थ्यो । लाग्थ्यो, बचपनका प्रत्येक घटना हिजै घटेका हुन् । राती सुत्ने समयमा सम्झनाले अधिक सताउने । घर हुँदा जुन चीजहरू दिनै गर्दा कष्ट र दिक्क लाग्थ्यो त्यही कुरालाई याद गरेर अहिले मन प्रसन्न हुन लाग्यो ।

===

 बचपनमा केही विशेष घटना अविस्मरणीय हुन्छन् जुन चैँ जीवनभर मनमस्तिष्कमा खेलिरहन्छन् । अहिले भक्तेले गरेको हङ्गामा सम्झेँ –

लटरम्म धान पाकेर पहेँला भएका थिए । साँझको शीतले धान भिझेर लुइँदै भोलिपल्ट झुल्किने घाममा टललल टिल्किनका लागि प्रतीक्षा गर्दै थिए । मैले दसैँमा किनेको नयाँ पेन्ट लगाएको थिएँ । डरले थुरूररर हुँदै पेन्ट मुतेर भिजाएको थाहा पनि पाएनछु । म तीन या चार सालको थिएँ होला । दिदीको पाखुरामा कस्सिएर समातेको थिएँ । दिदीको काखमा डेढ वर्षको भाइ रमेश पनि थियो । दुइटै भाइलाई च्यापेर दिदी घर छेउको धानबारीमा लुक्नु भयो ।

रातीको नौ बज्न लागेको हुनुपर्छ । ‘आज सबै मरिन्छ होला’ त्रासले बलक्-बलक् गरेको मनले यही जाप गर्दै थियो । बाबा घरमा हुनुभएको भए यस्तो हुँदैनथ्यो होला । बाबाको खाँचो भएको सबै ससाना छोरा-छारीलाई महसुस भयो । जुनले चारैतिर उज्यालो छर्दै थिए । धान पन्साएर हेर्दा आँगनको दृश्य भयभीत पार्ने थियो । सातआठ वर्षका मसिने (माइजूका भाइ) भक्तेको एक हातमा फाँसी लागेको समान खुट्टा छटपटाउँदै ङ्याकेको हातलाई छुटाउन प्रयास गर्दै थिए । माइजू र सानी दिदीले चिच्याउँदै गुहार लगाउनु भयो । भक्तेको आफ्ना खुट्टामा नियन्त्रण थिएन । प्राण हर्ने गरी लामो समयसम्म एउटा हातको फाँसीमा मसिनेलाई झुण्ड्याउन सकेन । भ्यात्त गरी मसिने भुइँमा झरे ।

यो भयभीत रात हुनु अघिको वातावरण अत्यन्त खुसीयाली भाइटीकाको दिन थियो । दुइटै दिदीले निदारमा सप्तरङ्गी टीका, घाटीमा थुङ्गेफूलको माला, टाउकोमा पगरी लगाइदिनु भयो । आमा चाडबाडमा घरमै रक्सी पार्नु हुन्थ्यो । टीका लगाइसकेर चेलीले माइतीलाई स्वादिष्ट पकवान खुवाउने बेलामा आमाले रक्सीको बोतल दिदीलाई दिँदै भन्नुभयो, ‘मतवालीले चाडबाडमा अलिकति भए पनि रक्सी चाख्नुपर्छ । दे भाइहरूलाई रक्सी चाख्न ।’ दिदीले कासको कटौरामा दिनुभयो । पहिलो चोटि थियो, प्रदीप दादा र मैले रक्सी चाखेको । रक्सी डढेको रहेछ । ठ्वास्स गनायो । दुवैको नाक खुम्चियो ।

बाबा पनि भाइटीका मनाउन आरावालकोमा जानुभयो । माइजू अनि उहाँको भाइ हाम्रोमा आउनु भएको थियो । आमा र दिदीहरूले गाईबस्तु, घरको थन्कोमुन्को गर्नुभयो । सधैँ छ बजे नै सुत्ने त्यो दिन चाँडबाँडको समय हुनाले सुतेका थिएनौँ । आगो निभेको चुल्हामा वरिपरि बसेर आमामाइजूले गफेको मस्त सुन्दैथ्यौँ । आमा चुरोट पिउनु हुन्थ्यो । आमा सुर्ती आफ्नै बारीमा लगाउनु हुन्थ्यो । सुर्ती बेर्ने मकैको खोसेला घरको बलामा झुण्डाएको हुन्थ्यो या ग्वाली बारेको मुसुरेको पातमा बेर्नु हुन्थ्यो । आमाले खोसेलामा सुर्ती बेरेर धुवाँ उठाउन लाग्नुभयो । रमेश सुतेको थियो । म र प्रदीप दादा झ्याप्झ्याप् हुँदै थियौँ । आठ बज्न लागेपछि म सिरकमुनि पसेँ ।

केही बेरमा कलाङ्-कुलुङ् आवाज आएकोले म बिउँझेँ । दिदीदादाहरू सुतेका रहेनन् । खोलापारी भक्तेको घर थियो । हाम्रो राम्रो चिनजान थियो । उनीहरूसँग आमा मेलापात गर्नु हुन्थ्यो, पर्म लगाउनु हुन्थ्यो । आइजाइ राम्रो थियो । भक्ते टुल्ल मातेर आएको रहेछ । चुलाको छेउमा बसेर अनियन्त्रण भएको मुखले अभद्र भाषामा चिच्याउँदै रहेछ । म चौकातिर आएँ । आमाले भक्तेलाई भनेको सुनेँ- ‘हेर भक्ते, तिमी अहिले मातेका छौ । अहिले दाइ पनि हुनुहुन्न । भोलि आउनु अनि कुरा गरौँला ।’

आमाको कुरा भक्तेको कानमा परेजस्तो पनि भएन । अझ अभद्र भाषामा कड्किन लाग्यो- ‘चाँडो तेरो बुढालाई बोला, नभए म तेरो यही सबैको ठाउँमा बेइज्जत गरिदिन्छु । यहाँ भएको सबैलाई मारिदिन्छु ।’ लरबरिँदै कुटुलाझैँ गरेर झम्टिन थाल्यो । हाम्रो डरको सीमा रहेन । पहिलो चोटि यस्तो मतुवाको प्रकोपमा परेका थियौँ । भक्तेको अभद्र भाषा र हिंसक व्यवहार देखेर यसलाई सबक नसिकाई भएन भनी आमा बाहिर चिर्पट लिन जानुभयो ।

म दिदीसँग टाँस्सिएर डर लुकाउन खोजेँ । तर भक्तेको भयलाग्दो आवाजले झन् शरीर थुरथुर हुँदै काँप्न लाग्यो । आमाले चिर्पट ल्याएर भक्तेलाई कुट्न भित्र पस्नु हुँदै थियो, भक्तेले देखी त हाल्यो । चिर्पट देखेर भक्तेको उग्रता झन् बढ्यो । अगेनोबाट आधी जलेर निभाएको अगुल्टो समातेर आमातिर झटारो हान्यो । मतुवाको निसाना सही लागेन । सबै रुँदै भागाभाग भए । जुनेली रात हुनाले सबै बाहिरतिर भागे । चौकामा केही घण्टाअघि धोएर राखेका थालभाँडाले हान्न लाग्यो । ठुली दिदीलाई लाग्यो पनि । तर डराएको बेला सायद दिदीलाई दुःखेको आभास भएन । काखको नानी भाइ रमेश अनि मप्रति दिदीलाई चिन्ता भयो । दिदीले हामी दुई भाइलाई लिएर धानबारीमा लुक्न जानु भयो । आमाले त्यो भयानक परिस्थितिलाई आकलन गरेर खोलापारी ग्वालीमा लुकेको प्रदीप दादालाई लिएर मद्दत माग्न जानु भयो । आँगनमा माइजू, सानी दिदी, मसिने थिए । तीनैजनालाई कुट्न भनेर भित्रबाट भक्ते झम्टेर आयो ।

म र दिदी धान पन्साएर आँगनको भयावह दृश्य हेरिराखेका थियौँ । सहायता गर्ने हामीमा सामर्थ्य थिएन । हाम्रो गुहार सुन्ने छेउछाउ कसैकाे घर थिएन । सबैका घर एक किलोमिटर जति टाढा थिए । पुखौजस्तो ठाउँमा नेपालीहरू पातला घर बनाएर बसेका थिए । भक्तेले मसिनेको घाटीमा च्याप्प समातेर उचाल्यो । मसिने भट्याक्भट्याक् ज्यान बचाउन प्रयास गर्न थाले ।  त्यो भयानक दृश्य देखेर मेलै लगाएको पेन्टमा मुतेको थाहा पनि पाइनँ । माइजू र दिदी रुँदै गुहार गुहार लगाउन थाले । एकछिनमा मातेर झुल्लु भएको भक्तेले मसिनेको वनज थाम्न नसकेर भ्यात्त तल छोडिदियो । तीनजनाको यता र उता भागाभाग भयो । भक्ते एक्लै लरबरिँदै यता र उता गर्न लाग्यो । योबिच आमा र प्रदीप दादा पारीबाट नन्दराम मास्टरलाई लिएर आउनु भयो । गाउँमा नन्दराम मास्टरको मान निकै ठुलो थियो । उहाँ आएपछि वातावरणमा शान्ति छायो । हामी सबै भेला भयौँ । मास्टजीले भक्तेलाई लिएर जानु भयो ।

आमा अहिले भन्ने गर्नुहुन्छ, ‘भोलीपल्ट मिटिङ गर्दा भक्तेले दुई हात जोडी, मातेर हङ्गामा गरेकाेमा माफी मागेको थियो ।’ त्यो धान पन्साएर हेरेको दृश्य अझै पनि झलझली आँखाको सामु नाच्दछ ।