म आज नितान्त आफ्नै बारेमा लेख्न बस्दै छु । यद्यपि यसअघि लेखिएका लेख, रचनाहरू पनि कुनै न कुनै रूपमा मसँगै सम्बन्धित थिए । अलिकति अतीततिर फर्केर हेर्दा म सारै बुद्धु रहेछु । मेरो दिमाग सारै बोधो पनि थियो । हिसाबमा त म जिरो नै थिएँ भन्दा पनि हुन्छ । भन्न पनि मलाई कत्तिले यो सारै सोझो छ । यसले केही पनि गर्दैन भन्थे । जसो भनेको त्यसै भयो । मैले जीवनमा त्यस्तो केही पनि लछारपाटो लाइनँ । न मेरो जीवनमा पढाइ नै काम लाग्यो ।

इजरायलमा हुँदाको कुरा हो । मैले एउटा यस्तो कविता लेखेँ । कविताको शीर्षक थियो, सोझो हुनु पनि गरिब हुनुजस्तै रहेछ । यो कवितालाई धेरैले आत्मसाथ गरे । कत्तिलाई यो कविताले व्यङ्ग्यको काम पनि गर्‍यो । त्यो कसैका लागि लेखिएको थिएन । आफ्नै लागि लेखिएको थियो । आजका मितिसम्ममा लगभग १०० जति विभिन्न खाले पत्र-पत्रिकामा ४०० भन्दा बढी लेख, रचनाहरू छापिएछन् ।

मैले लेख्न थालेको पनि ३०/३२ वर्ष जति भएछ । मेरो पहिलो रचना यही थियो, भन्ने पनि मलाई अहिले यकिन छैन । ४९/५० सालतिर प्रकाशित गल्लीका सिकारहरू र प्रेम गर्ने भनाउँदाहरू शीर्षकका यी दुई कवितालाई मैले मेरा पहिलो रचना मान्ने गरेको छु । आजसम्म मैले जे जति लेखेँ । त्यसले मलाई अझै पनि लेखक तथा कवि बनाएको अनुभूति गराएको छैन । मैले धेरै गर्नु थियो । एक छेउ पनि गरेको छैन । खासमा साहित्यको क्षेत्रमा । यसमै लागियो । यसमै रमाइयो ।

अझ भनौँ, मैले त्यो कवितामा आफ्नो सोझो पनको वर्णन र त्यसबाट फाइदा उठाउनेहरूप्रति व्यङ्ग्य गरेको थिएँ । जसबाट अलिकति अरू भन्दा बाठो हुँ भन्नेहरूले आफ्नो सोझोपनबाट उठाएको फाइदाको चर्चा-परिचर्चा पनि । कवितामा भनिएजस्तो त्यति विघ्न म सोझो पनि थिइनँ । धनी पनि थिइनँ र गरिब पनि थिइन । यद्यपि त्यो धेरैको जीवनसँग मेल खान सक्ने कविता भने थियो । पछि मैले त्यो कवितालाई बन्साका बोटहरू कविता सङ्ग्रहमा सङ्ग्रहित गरेँ ।

म अत्यधिक लेख्ने मान्छे हुँ । केही न केही लेखिरहन मन लाग्छ । लेखिरहन्छु पनि । लेखेपछि कतै न कतै पठाउँछु । सम्पादकले छापिदिनुहुन्छ । खुसी लाग्छ । एउटा लेखकलाई आफ्नो रचना छापिँदा खुसी नलाग्ने कुरै भएन । लेख्नु मेरो कर्म भयो । विषय मर्म । नलेखी त एकै छिन् पनि बस्न सकिन्न । सायद लेखक,कविहरूको यस्तै लत हुन्छ ।

म जे लेख्छु सरसरती लेख्छु । लेखिसकेपछि त्यसलाई आफूसँग राखिरहन्न । एकतिर पठाइदिन्छु । छापिएर आउँछ । छापिएर आएपछि कस्तो भएछ भनेर एक पल्ट सररर पढ्छु । मेरा रचनाका पाण्डुलिपिहरू अहिले थन्किएर बस्न पाउँदैनन् । म त्यसरी थन्किएर बस्न दिन्न पनि । प्रायः अधिकांश लेख, रचनाहरू छापिइसकेका छन् । लेखी नसकेका रचनाहरूको छुट्टै कुरा हो । यति हुँदाहुँदै पनि मेरो साहित्यप्रतिको मोह किञ्चित घटेको छैन । बरु अझ ऊर्जाशील बनेर बढ्दै पो छ ! अक्षरको खेतीपातीमा लागेको मान्छे मर्दैन भनिन्छ । त्यति मात्र होइन, बुढो पनि हुँदो रहेनछ । ८४ वर्षको उमेरमा पनि अस्तिसम्म मैले लीलबहादुर क्षत्रीलाई उस्तै उत्साहित देखेँ ।

झट्ट हेर्दा त्यो कविता सरल, सहज र सामान्य झैँ लागे पनि मेरो विगतदेखि वर्तमानसम्म मानिसहरूले मप्रति गरेको व्यवहारलाई निचोरेर लेखिएको कविता हो । मेरो जीवनको सम्पूर्णता जो लेख्न मिल्ने जति सबै मैले साहित्यमा लेखिसकेँ । अब त भोग्न बाँकी जिन्दगीको मात्र लेख्न बाँकी छ ।

सकेसम्म मैले आफूलाई एउटा इमानदार यथार्थवादी लेखक ठानेको छु । साहित्यलाई कर्म । पूणर्कालिक लेखन र व्यवसायिक लेखक बन्न समय पुर्‍याउन सकिएन । मैले चाँहदाचाहँदै पनि भनेजस्तो समय निकाल्न सकिन ।

भन्न त साहित्यमा हतार गर्नु हुँदैन, भनिन्छ । मैले अति हतारो पनि गरेँ कि मलाई लाग्छ कुनै पनि साहित्य वर्तमानमा लेख्यो भने वर्तमान नै हुन्छ । भविष्यमा लेख्यो भने त्यो भूत हुन्छ । त्यही विषय वर्तमानमा लेखे अनुभूति हुन्छ भने पछि लेखे संस्मरण, कथा, निबन्ध वा अन्य । त्यस भित्रका सानातिना कुराहरू भुल्न सकिन्छ र त्यसको सौन्दर्य र कलात्मकतामा आउने उज्यालो कम हुनसक्छ । यद्यपि कालजयी रचना कालजयी नै हुन्छ भए पनि त्यसलाई समयले अझ सिँगारपटार गर्न मद्दत गर्छ । यो मैले अनुभवसँगै महसुस गरेको कुरा पनि हो ।

आजसम्म मलाई लेख्न प्रेरणा प्रदान गर्ने, हौस्याउने, सरसहयोग र मद्दत गर्ने मेरा प्रेरणाका स्रोत, शुभचिन्तक र आफ्ना-आफन्तप्रति सदैव ऋणी छु । नहुने कुरै भएन । जसले गर्दा म यहाँसम्म आइपुगेँ । मेरा लेख रचनाहरूलाई स्थान दिने सबै पत्र-पत्रिकाहरूप्रति मेरो सदैव सद्भाव छ । ती प्रति पनि ऋणी छु । यस कारण पनि ऋणी छु कि मैले पाण्डुलिपिको भारी बोकेर कहिल्यै हिँड्नु परेन । गल्लीका सिकारहरू र प्रेम गर्ने भनाउँदाहरू शीर्षकका दुई कविताहरू झुल्के घाम र कनकाई स्मारिकामा प्रकाशित भएपछि सुरु भएको मेरो सार्वजनिक साहित्यिक यात्रा  विभिन्न खाले पत्र-पत्रिकाहरूमा झाँगिन पुग्यो ।

सबै भन्दा बढी गोरखापत्रमा छापिएको रचनाले खुसी प्रदान गरेको सम्झना ताजै छ । त्यो बेला गोरखापत्रमा रचना छापिनु पनि सामान्य कुरा थिएन । मधुपर्क, गरिमा, कविता र समकालीन साहित्य त्रैमासिक त अहिले पनि पारिश्रमिक दिने स्तरीय पत्रिका मानिन्छन् । यिनमा रचना छापिनु भनेको त आफूलाई हिउँचुली मै पुर्‍याउनु जस्तो थियो । निरन्तर हिँडिरहँदा त पुगिँदो रहेछ ठाउँमा । गन्तव्यमा नै त नभनौँ । आधाउँधो बाटो छिचोलेर अब ओरालो लागेको भान हुन थाल्यो । अब त बाटो पनि देखियो । बाटो देखिसकेपछि त यात्रा पनि सहज हुँदो रहेछ । बाटो पनि सजिलो लाग्दो रहेछ ।

लेख्न बस्नु मात्र पर्छ बसिसकेपछि केही न केही त लेखिहालिन्छ । लेख्न अभ्यास मात्र होइन, यसमा अध्ययन पनि उत्तिकै हुनु पर्ने रहेछ । कलात्मकता त लेखनको मेरुदण्ड नै भयो । त्यसपछि विषयवस्तु भाषाशैली आदि तत्त्वहरू त छँदै छन् । सबैसबै धनसम्पत्ति आर्जन गर्नपट्टि लाग्दा पनि म भने जुन कुरामा लागेर केही पाइँदैन, सधैँ त्यही कुरामा लागिरहेँ । यो केप्रतिको आकर्षण हो ! अलि बढी नै महत्त्वाकाङ्क्षी भएँ कि अब त लत नै बसिसकेछ ।

लत मात्र होइन, महा लत नै बसिसकेछ । नलेखी बस्न नसकिने । आत्मसन्तुष्टि भन्दा पनि मनमा लागेका सबै कुरा लेखिसक्दा पनि पूर्ण भएजस्तो लाग्दैन । यो कस्तो तृष्णा हो ! सधैँको अपूर्णता । साहित्यको विशेषता अपूर्णता मै सम्पूर्णता भएर पनि हो कि हिँड्दै गर्दा एक जना दाइले भन्नुभयो, “त्यो फल्नो साहित्यकार अरे सानो हुँ भन्दैन” ।

“हैन, दाइ साहित्यकारहरू प्रायः त्यस्तै हुन्छन् । माइन्ड गर्नु हुँदैन । घमन्डी भए पनि इमानदार हुन्छन् । बेइमान हुँदैनन् ।” मैले यसो भनेर बचाउ गरेपछि उहाँको मुखमा पनि बुझो लाग्यो, सायद उहाँले पनि त्यो कुरा महसुस गरेको हुनुपर्छ । त्यसपछि उहाँले पनि सच्चिँदै भन्नुभयो, हैन, मान्छे ठिक छन् । भेटमा राम्रैसँग बोलचाल पनि हुन्छ । त्यही हो अलि मै हुँ भने झैँ गर्छन् । सायद ममा पनि त्यो अवगुण देख्दो हो कसैले । म त्यहाँ भन्दा अगाडि जान चाहिन । त्यसपछि हाम्रो संवादले विट मार्‍यो ।

विचार त हरेक मान्छेले हरेक मान्छेको गरिरहेकै हुँदो रहेछ भन्ने लाग्यो । उहाँले गरेको कमेन्टले म पनि निक्कै बेर रन्थनिएँ । मानिसलाई जे बने पनि जस छैन । मैले आजसम्म लेखकमा कुनै खोट देखेको थिइनँ । बुढाले देखाए । विषय अर्कैसँग सम्बन्धित भए पनि क्षेत्रले थोरै मन कुँडियो । सबैसँग रत्तिन सक्नु पर्ने रहेछ । देवकोटा र लेखनाथको पालादेखि साहित्यकारलाई हेर्ने दृष्टिकोण फरक रहेजस्तो लाग्यो । त्यसो त गीत, सङ्गीत र कलाकारहरूलाई हेर्ने दृष्टिकोण पनि पहिले फरक थियो ।

देवकोटालाई हेरेर लेखक, कविहरू अलि सनकी, चुरोट पिउने, एकान्तप्रेमी, घमन्डी आदि स्वभावका हुन्छन् । लेखनाथको पालादेखि दाह्री पालेका, झुत्राझाम्रा लुगा लाउने हुन्छन् भन्नेजस्तो छाप पर्‍यो कि ! भन्नेको मुख थुन्न त काँ सकिन्छ र ! त्यसपछिका कतिपय लेखकले त्यस्तो धारणालाई भाँच्दै ल्याएको भान पनि हुन्छ । साँचो अर्थमा भन्ने हो भने लेखक तथा कवि किमार्थ त्यस्तो स्वभावको हुँदैन । बरु उसलाई आर्थिक र समयको अभाव हुनसक्छ । ऊ त सत्यवादी पो हुन्छ । इमानदार हुन्छ । ऊ जे देख्छ भोग्छ र अनुभूत गर्छ त्यही लेख्छ । उसले के बिराउँछ । उसले समयको भरपुर सदुपयोग गर्छ । आफ्ना लेख, रचनाहरूलाई सन्तानलाई जस्तै माया गर्छ ।

आफ्नै कुरा गर्दै छु म । मेरो लेखनको उत्तरार्ध काल पूर्वार्ध जस्ताे सहज बनेन । घरका मान्छेहरू नै भन्न थाले, लेखेर के हुन्छ ? पैसा कमाउनु पर्छ । के खाने ? कसरी बाँच्ने ? मलाई यो कुराले एकातिर सारै चित्त दुख्थ्यो, भने अर्कोतिर टाउको सियोको टुप्पोले झैँ घोच्थ्यो । मेरो पहिलेदेखिको लत हो । नलेखी बस्न सक्दिन । लेखेर केही बिग्रँदैन । राम्रै हुन्छ भनेर सम्झाउँदा पनि कहिले बत्ती निभाइन्थ्यो । कहिले त्यही विषयलाई लिएर झगडा हुन्थ्यो । कहिले त मलाई मैले लेखेका ती सम्पूर्ण चिजहरू पुरस्कार र प्रमाणपत्रहरू सहित पर खोलामा लगेर बगाइदिऊँ कि कतै भेला पारेर डढाइदिऊँ झैँ पनि लाग्थ्यो । लेखनको एउटा युग निर्माण गरिसकेको मान्छे त्यसो गर्न पनि सक्दिनथेँ । कहिले यही कुराले धेरै प्रताडित पनि हुन्थेँ म ।

साहित्यका खातिर मैले परिवारको त गरिन-गरिन, आफ्नै स्वास्थ्य पनि ख्याल गरिन । कहिले त म बिहानको ३ बजे मात्र पनि सुत्थेँ । १२ त सधैँ जसो नै बज्थ्यो । यही कारण पनि म बिरामी परिरहन्थेँ । खासमा मेरो घाँटीको समस्या थियो । यद्यपि मैले यसको कुनै पर्बाह नै गरिन । निरन्तर लेखिरहेँ । लेख्न थालेपछि न भोक न तिर्खा न निद्रा विन्दास लेख्थेँ म । बिरामी हुँदा पनि म उठ्नै नसक्दा मात्र नत्र उठ्न सक्ने भएपछि उठेर लेख्न थालिहाल्थेँ ।

कागजका पन्ना र टुक्रा म गोजीमा पनि बोकी हिँड्थेँ । कलम त प्रायः साथमै हुन्थ्यो । कुन बेला के फुर्छ टिपेर राख्थेँ अनि पछि त्यसलाई मूल लेखमा समाहित गर्थेँ । अहिले पनि प्रायः त्यसै गर्छु ।