हेमन्ता झ्यालतिरको सिटमा थियो। म उसैको देब्रेपट्टिको सिटमा। मेरा लागि बाबाले किन्दिनुभएको कफी रङको बर्को लिएर हिँडेको थिएँ। रातिको दुई बज्न लागेर पनि होला अप्रिल महिनामा पनि निकै जाडो थियो। दुवै जनाले बर्को टाउकोसम्म ढाकेर ओढ्यौँ। कुनै कुनै झ्यालका सिसाले आफ्ना जड छोड्ने भएर खुकुलिएका थिए। बन्द गर्दा पनि गाडीको वेगमा गन्द्राङ्-गुन्द्रुङ हुँदा झ्याल उदाङ्गो भइदिन्थ्यो। अनि प्रवेश हुन्थ्यो चिसो सिरेटो। आँखामा निद्रा लडीबुडी गर्दा पनि निर्दयी चिसो हावाको मायाले निदाउन दिएन। बर्कोमा गुटुमुटु भएर निदाउने प्रयास त भयो तर झ्यालको नाङ्गोपनाले निद्रा लजाइरह्यो।
आधा घण्टाअगाडि आसामको जखलाबन्द भन्ने ठाउँमा रातिको खानामा मासुभात टन्न खाएर बसमा आफ्नो सिटमा बिराजेका थियौँ। बस चढ्नुअगाडि अङ्गुर किनेको थिएँ, बिस रुपियाँको। दुवै जना प्लास्टिकबाट पालैपालो अङ्गुर निकाल्दै, मिठास लिँदै सफरमा थप उत्साह बढाउँदै थ्यौँ।
बस आफ्नो गन्तव्यतिर झन् वेगमा गुड्न लाग्यो। केही समयमा अलिअलि निद्राले हामीलाई लट्ठ्याउन थाल्यो। बस कन्डक्टरले बिजुली बन्द गर्दियो। बसमा अन्धकार। सडकमा गुडेका वाहनहरूको हेड लाइटको उज्यालो मात्र बेलाबेला देखा पर्दथ्यो। प्रायः यात्रीहरू निदाइसकेका थिए। एक्कासि गरररर गरेको आवाज आयो। सपनामा बस तेर्सिएको जस्तो लाग्यो। मान्छे भयभीत स्वरमा चिच्याउन लागे। बस तेर्सिंदातेर्सिंदै छ-सात सेकेण्डमा ड्याम्म कोल्टे परेर लड्यो।
एकछिन त म शून्य बनेँ। मान्छे हाइँ र हुइँ गर्दै कोलाहलको क्रम बढाउँदै गए। मेरो मुखबाट केही शब्द नै निस्किन सकेन। मुखबाट तात्तातो रगत भलभल आउन लाग्यो। डरले शरीर काँपिरहेको थियो। थर्थराएको मुखले लामो अनुलोम-विलोम गरेको रगत नै फुरुरु हुँदै अगाडितिर उछिट्टियो। मुखमा हातले छामेँ, ओठमा चोट लागेर रगत आएको बुझेँ। चल्नी झन्झन् गरेको थाहा लाग्दा छामी हेरेँ, टुटुल्को पुक्क उठेको औँलाले खबर दियो। यति जोडले बस लडेकोमा यति चोट लागेको मलाई सामान्य नै लाग्यो। बाँचेँ त्यही ठुलो भाग्य। आफू सही रहेको आफैँ प्रमाणित गरेँ।
अब थाहा गर्नु थियो हेमन्ताको के हाल भयो ? ऊ झ्यालतिर फर्केर ‘आइयाआइया’ गर्दै रहेछ। उसलाई धेरै चोट लागेछ भनी म आत्तिएँ। सिटको हेन्डसपोटर र बसको भित्तामा च्यापिएको रहेछ हेमन्तको देब्रे हात। उसले निकाल्न सकेको थिएन। मलाई लाग्यो, यसको हात अब चुट्टिने भो। मैले पनि उसको चेपिएको हात निकाल्न यत्न गरेँ तर सकिनँ। हेमन्ताले निकै बेर प्रयास गरेपछि हात निस्कियो। हात निकालिसक्दा उसले सामान्य भएको भान गरायो। उसलाई अन्य ठाउँमा चोट लागेको रहेनछ। हामीसँग गोपालजी पनि सहयात्री थिए। उनले नै हामीलाई गन्तव्यमा लिएर जाँदै थिए। ऊ हामी बसेको विपरीत दिशाको अघिल्लो सिटमा थिए। हामी भएको ठाउँमा आएर हालचाल लिए। ‘हामी सही छौँ’ भनेर उत्तर दियौँ।
सबै जना बस बाहिर निस्किन लागे। बस मुख्य द्वारको आडमा घायल अवस्थामा सुतेको थियो। त्यहाँबाट निस्किने सम्भव थिएन। बसको अनुहारको सिसा सबै फुटेको रहेछ। बस लड्दा झर्याम्म गरेको आवाज आएको थियो होला तर अर्धनिद्रा र डरमा भएकाले सिसा फुटेको आवाज सुनिएन। सबै जना त्यहीँबाट निकास हुन थाले। हामी पनि त्यहीँ नूतन द्वारबाट होसले बाहिर निस्क्यौँ।
बाहिर आएर तीनै जनाले चोट लागेको ठाउँ निहारियो। हेमन्ताको हात च्यापिएको मात्र रहेछ। गोपालजीको कम्मरमा आन्तरिक चोट लागेछ। ऊ सामान्य थिए। मेरो ओठ फुटेको थियो, देब्रे हातको कान्छी औँलामा काटेको थियो, देब्रेपट्टिको चल्नीमा ठोक्किएर टुटुल्को उठेको थियो। सटभरि रगतको छिटैछिटाले रगतिएछ। कफी रङको बर्कोमा पनि रगतको छिटाले बेहुलाले सिउँदोमा सिन्दूर हाले पछिको सेतो कपडाझैँ भएको रहेछ। म पनि सामान्य नै थिएँ।
आधा घण्टापछि अर्को बस आयो। डराई डराई त्यो बसमा बसियो। गन्तव्यसम्म जानु थियो, बसमा चढ्दिनँ भन्न मिलेन। मनमा अघि घटेको घटना काँचो भएको हुनाले होला बस अलिकति हल्लिँदा पनि मन चिसो भएर आउँथ्यो। त्यो समयमा हामीसँग मोबाइल थिएन। भएको भए घरमा कल गर्थ्यौं होला ! घटनाको विवरण सुनाउँथ्यौँ होला ! परिवारलाई चिन्ता लागेर पक्का पनि त्यहीँबाट फर्केर आउनु भन्नुहुन्थ्यो होला ! छोराप्रतिको चिन्ता बेग्लै। हेमन्ताले ‘आइयाआइया’ भनेको बेला भिडियो बनाउँथेँ होला ! फुटेको सिसाबाट निस्केको ठाउँमा सबै मिलेर फोटो पनि लिने थियौँ होला ! सामाजिक सञ्जालमा अपलोड गरेपछि घर-परिवारले थाहा पाउने थिए अनि गन्तव्यसम्म नपुगी घर फर्की आउने आदेश आउँथ्यो होला। तसर्थ त्यो परिस्थितिमा मोबाइल नभएको नै उचित। मोबाइल नभएर त्यो परिस्थितिलाई एकोहोरिएर घटनालाई जिउन पाइयो।
यसरी हामी ढुकढुक हुँदै तीन जना गुवाहटी रेलवे स्टेसन पुग्यौँ। त्यहाँबाट हामीले लामो यात्राका लागि हाँकिनु थियो जहाँ मेरो भविष्य कुरेर बसेको थियो।
यो लामो यात्राको योजना केही दिनअघि नै भएको थियो। मेरो दिल्ली जाने पहिले केही योजना थिएन। हुनु पनि कसरी ? एउटा साधारण परिवारको सोझो बाउको सोझो छोरो। करियर कसरी बनाउने, के पढ्ने, सरकारी शिक्षा योजनाको अन्तर्गत सित्तैमा कसरी पढ्ने, यो सबै कुराको जानकारीबाट अनभिज्ञ थिएँ। धनीमानीका छोराछोरी अलिक ठुलो कक्षा पुगेपछि हामी त्यो कलेजमा, यो विषय पढ्ने, त्यो होस्टेल बस्ने, यो बनिने, इत्यादिको योजना गर्न लाग्छन् तर गरिब परिवारका छोराछोरीले दस पढे ठुलो भाग्य। कलेज पढ्ने, होस्टेल बस्ने खर्च कसले दिने र ? यस्तै खर्चको डरले सानैबाट दस या बाह्र पढेपछि बाबाआमाका लागि सहारा बन्नलाई कमाउनतिर लागी हाल्ने, प्रायःको लक्ष्य हुन्थ्यो।
भविष्य दिशाहीन। गाइड गर्ने कोही थिएनन् उस बेला। गाउँमा प्रायः केटाहरू दस या बाह्र कक्षा पढिसकेपछि जागिर गर्न इम्फाल, दिल्ली, मुम्बई, बैङ्गलुरूजस्ता सहर पस्थे या फौजी कुद्नेमा लिप्त हुन्थे। फौजीमा लाग्नु सबैको मुख्य लक्ष्य। परिवारलाई यसैमा गर्व लाग्थ्यो। सय जनामा दस जनाले अघिको पढाइ गर्थे। मलाई फौजीमा जान मन थिएन न इम्फालमा काम गर्न। मलाई अगाडि पढ्ने त मन थियो तर के पढ्ने, कहाँ पढ्ने, केही मेसो पाएको थिइनँ। म कक्षा पाँचबाट सम्बद्ध भएको संस्थाले जे मार्गदर्शन गर्दै आएको थियो, त्यहीँ बाटोमा हिँड्दै थिएँ। लक्ष्य थिएन। तर सही मान्छे बन्ने अनि बा-आमाको नाम रोशन गर्ने मनको कुनामा अखण्ड ज्योति प्रज्वलित थियो।
१८ मार्च, २००८ मेरो साथै हेमन्ताको कक्षा दसको बोर्ड परीक्षा सिद्धियो। राजु बिष्ट जो अहिले दार्जिलिङ लोकसभा क्षेत्रका माननीय सांसद छन्, त्यो समय सूर्या फाउण्डेसन संस्था अन्तर्गत चल्ने आदर्श ग्राम योजना प्रकल्पमा अखिल भारतीय प्रकल्प प्रमुख थिए। परीक्षाको दुई-तीन दिनपछि उहाँको फोन हेमन्ताको घरमा आउँछ। ‘हर्क र हेमन्ता दिल्ली आउनु, संस्थाले यतै पढाउँछ अनि जागिर पनि संस्थाले लगाइदिन्छ’ भन्ने राजु दाको कुरा हेमन्तले सुनायो मलाई। म अति खुसी भएँ। किन नहुनु आखिर त्यही चाहेको थिएँ। भर्खरै दस कक्षाको परीक्षाको तयारीमा पढ्दा-पढ्दा वाक्क भएको विद्यार्थी।
सूर्या फाउण्डेसन संस्थामा म कक्षा पाँचदेखि नै जुरेको हो। यो संस्थासँग जुर्नुअघि राष्ट्रिय स्वयं सेवक सङ्घमा स्वयंसेवक पनि बनेको थिएँ। मलाई सूर्या फाउण्डेसनमा प्रवेश गराउने गुरुमा थिइन्, गायत्री गुरुआमा। उहाँले सूर्या फाउण्डेसन, दिल्लीमा शिक्षक व्यक्तित्व विकास शिविर गरेर आइन्। त्यसपछि आदर्श ग्राम योजनाको प्रकल्पको अन्तर्गत बाल विकास केन्द्र, म पढ्ने स्कुल, सनातन संस्कृत विद्यालयमा सुरु गरिन्। गुरुआमा पनि सनातन संस्कृति विद्यालयमा शिक्षिका थिइन्। म, मेरो कक्षामा अब्बल नम्बरको विद्यार्थी थिएँ। गुरुजनको प्रिय पनि।
गुरुआमा बाल विकास केन्द्रमा पढाइ छोडेर अन्य विभिन्न गतिविधिहरू गराउँथिन्- देशभक्ति गीत, भजन, योग, खेल, विभिन्न शारीरिक एवम् बौद्धिक प्रतियोगिता। फलस्वरूप मेरो व्यक्तित्वमा प्रतिस्पर्धाको भावना प्रत्येक कुरामा जागृत हुँदै गयो। यही भावनाले मलाई अरूभन्दा भिन्न हुन सहयोग पुर्यायो। उहाँको प्रेरणा अनि मार्गदर्शनमा संस्थाको प्रत्येक पाइला चाल्दै गएँ। आत्मविश्वास अनि नेतृत्व गर्ने गुण विकसित हुँदै गयो। दस कक्षामा पुग्दा सात-आठ सूर्या फाउण्डेसनका शिविरमा भाग लिइसकेको थिएँ शिविरार्थी एवम् शिक्षकको रूपमा। मलाई राम्रोसँग थाहा पनि थियो कि सूर्या फाउण्डेसनले जरुरतमन्दहरूको भविष्यलाई सपार्ने एउटा राम्रो अवसर दिन्छ।
राजु दाको सन्देश घरमा बाबालाई भनेँ। सायद पढाइमा सधैँ अब्बल अनि सप्रिने बाटोमा हिँडेर होला ‘जान्छु’ भन्दा बाबाले नाइँनास्ति गर्नुभएन। मेरो दिल्ली जाने निधो भयो। मेरो साथमा जाने थियो मेरो साथी हेमन्ता। राजु दाले हामीलाई लिन दिल्लीबाट गोपालजी पठाइदिए।
परीक्षा सक्किएकाे पन्ध्र दिनमै घर छोडेँ मेरो जीवनको लामो यात्राका लागि। मेरो गृह त्यागको श्रीगणेश भएको थियो।
२००८ अप्रिलको तीन तारिख। हेमन्ताको घर अगाडि इम्फालबाट आएको ब्लुवेल बसमा चढेर म दिल्ली जाने बाटो लागेँ। त्यो समय मनमा आनन्दको बाढ थियो- नयाँ सहर जाने, नयाँ मान्छेसँग चिनजान गर्ने, गाउँको अँध्यारो रातदेखि उज्यालो सहर जाने, नयाँ जीवन सुरु गर्ने। पोकाभरि सपना थिए। त्यस प्रकारको खुसी र आनन्द सायद जीवनमा एकैचोटि मात्र आउँछ होला जसमा मन प्रफुल्लित हुन्छ, उन्मादी हुन्छ, नौलो सपना बोकेको तरुण मनमा ऊर्जा सञ्चार हुन्छ।
त्यही उत्साह र नवीन सपनाको भारी बोकेर बसमा चढेँ। यी सपनाहरूको के हाल होला भन्ने त्यो बेला मलाई भनक पनि थिएन। मनमा सकारात्मक विचार थियो, उज्ज्वल भविष्य हुन्छ भन्ने मनमा विश्वास थियो। यही विश्वासको आडमा नयाँ जीवनको मैदानमा म बससँगै अघि बढ्न लागेँ।
बस बिस्तारै-बिस्तारै गन्तव्यलाई नाप्न लागेको थियो। त्यो क्षणिक आनन्दमा, जति गाउँ टाढिँदै थियो, बाबा-आमाको माया, बचपनका यादहरू, गाउँका व्याप्त आनन्दहरू टाढा हुँदै थिए। थाहा थिएन दिल्लीमा यी सबै खुसी, पारिवारिक माया, बचपने नटखटपन जीवन्त हुन्छन् या हुँदैनन् ? घरको जस्तो प्रशस्त समय पाउँछु या पाउँदिन ? त्यी सबै कुरादेखि अनभिज्ञ थिएँ तर सूर्यको टैनिङ्गमा सुनको थिएँ ‘काकः चेष्टा बको ध्यानम् श्वान निंद्रा तथैवच, अल्पहारी गृह त्यागी विद्यार्थी पञ्चलक्षणम्’। जीवनमा सफल हुनका लागि घरको सुख, माया, मोह त्याग्न जरुरी हुन्छ। साथमा यही मस्तिष्कमा विश्वासको मन्त्र याद थियो। सूर्या फाउण्डेसनले समय-समयमा पत्र प्रेषित गरेकोमा लेखेको हुन्थ्यो- ‘आपकी उज्ज्वल भविष्य की कामना करते है’। त्यही उज्ज्वल भविष्यको खोजमा म बसको वेगमा बढ्न लागेँ।
बस आफ्नो वेगमा गुड्दै थियो, म घरदेखि टाढा हुँदै थिएँ। सेनापति, मारम, माउ, कोहिमा, डिमापुर हुँदै जखलाबन्दमा राति डेढ बजे पुगेका थियौँ। मनमा दिल्ली पुग्ने अलग्गै आनन्दले समातिराखेको थियो। सफल जीवन बनाउन हिँडेको मान्छेलाई सुइँको पनि थिएन आधा घण्टापछि गएर बस दुर्घटना हुनेछ। नयाँ सपनाको नयाँ गोरेटोमा भाग्यले परीक्षा लिनेछ।
गुवाहटीबाट रेल यात्रा सुरु भयो। मणिपुरमा रेलसेवा छैन। तर मैले सूर्या फाउण्डेसनले आसामको होजाईमा सन् २००३ अनि सन् २००४ मा दिल्लीमा आयोजन गरेको शिविरमा जाँदा रेल यात्रा गर्ने अवसर पाएको थिएँ। दुई दिनको रेल यात्रा गरेपछि, म, मेरो साथी हेमन्ता अनि गोपालजी दिल्ली पुग्यौँ। यात्रामा भएको बस दुर्घटना जीवनका लागि स्मृति भएर बस्यो। अहिले पनि कहिलेकाहीँ म र हेमन्ता साथ बसेर लामो गफ गर्दा त्यो घटनालाई सम्झेर भावनाको सागरमा पौडिने गर्छौँ। ‘चालकले जखलाबन्दमा रक्सी बेस्सरी धोकेको थियो। त्यसैको नसामा बस लडाएको थियो।’
पछि गएर एकदिन गोपालजीले भने। कसो हाम्रो ज्यान यात्रामा गएको थिएन।
क्रमशः…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।