म जन्मेको ठाउँ थियो ललितपुरको इमाडोल वडा नं.१ को बाक्लो गाउँ । गाउँको नाम नै बाक्लो गाउँ राखिनुको कारण चाहिँ प्रायजसो घरहरू एक अर्काबाट अत्यन्त नजिक थिए । अर्थात् एउटा घर र अर्को घरको करेसो नै जोडिएका । सायद त्यसै कारणले गाउँको नाम नै बाक्लो गाउँ राखिएको । मेरो गाउँभन्दा परका गाउँमा भने घरहरू प्रायः एउटा घरबाट अर्को घरको दुरी केही टाढा थियो । तर बाक्लो गाउँमा चाहिँ घरहरू गुचमुच्च अवस्थामा नै बनेका थिए । अहिले पनि त्यस्तै छन् ।

त्यति बेला बारीमा मात्र बनेका हुन्थे घरहरू । खेतलाई केवल अन्नबाली उत्पादनको निम्ति मात्र प्रयोग गरिन्थ्यो । खत्रीक्षेत्री अर्थात् के.सी., थापा, खड्का, बोगटी, बस्नेत, बुढाथोकी, गोदार थापा र गिरी थरका मान्छेहरूको एउटा सामुदायिक बस्ती थियो मेरो गाउँ । गाउँभन्दा केही पर महर्जनका तीन चार वटा मात्र घर थिए र त्यसभन्दा परतिर थापा र खत्रीकै पातलो बस्ती थियो । त्यो बस्तीभन्दा दक्षिण- पश्चिममाथिको अग्लो ठाउँमा बिष्टहरूको घर थियो र गाउँको नाम पनि बिष्ट गाउँ भनिन्थ्यो ।

गुचमुच्च परेका घरहरू भएको गाउँमा सार्वजनिक ठाउँ कतै थिएन । हुने कुरा पनि भएन । कतै अग्लो बारी थियो त कतै गहिरो खेत । खेतबारीमा मौसम अनुसारको विविध बालीहरू – धान, गहुँ, मकै, कोदोका साथै हिउँदमा सागपात, काउली, काँक्रा, फर्सी, आलु, लसुन, प्याज, काँक्रो, फर्सी, बोडी, घिरौँला आदिको खेती गरिन्थ्यो । हामी केटाकेटीहरूलाई बिहान, साँझ अनि शनिवारका साथै स्कुलले दिने हिउँदे बिदाको दिनमा पनि खेल्ने ठाउँ भनेकै घरको आँगन, बारीको पाटो, सार्वजनिक बाटो र खोला किनारको बगर मात्र थियो ।

वार्षिक परीक्षा सकेपछि स्कुलले मीन पचासको बिदा भनेर डेढ महिनाभन्दा पनि बढी बिदा दिन्थ्यो । स्कुलले पौष १ गतेका दिन मनाइने संविधान दिवसको अवसरमा सबै विद्यार्थीहरूलाई टुँडिखेलमा लैजान्थ्यो । संविधान दिवसमा विभिन्न विद्यालय र अन्य सङ्घ संस्थाहरूले झाँकी ल्याउँथे र नगर परिक्रमा गरेर टुँडिखेलमा भेला हुन्थे । कार्यक्रम सकिएपछि चार बजेतिर स्कुलले त्यहाँ नै सबै कक्षाको वार्षिक परीक्षाको रिजल्ट पनि सुनाउँथ्यो । आफू परीक्षामा पास भएपछि निकै खुसी भएर घर आइन्थ्यो र बा-आमालाई पास भएको खबर सुनाइन्थ्यो । छोरा पास भएकोमा बा-आमा अझ धेरै खुसी हुन्थे ।

विद्यार्थी जीवनका हामी केटाकेटीहरूले खेल्ने खेलहरूमा खासगरी डन्डीबियो, गुच्चा र कबर्डी  नै मुख्य थिए । यसको अतिरिक्त हिउँदमा कालिमाटीको पाङ्ग्रा र मट्याङ्ग्रा पनि बनाएर पाङ्ग्रा जुधाउने र मट्याङ्ग्राले चाहिँ गुलेली हानेर भँगेरा मारिन्थ्यो । गाउँमा जब हिउँद लाग्थ्यो तब खेतबारीबाट कालीमाटी झिकिन्थ्यो । कालीमाटी झिक्दा निकै गहिरो खाडल खनेर जमिन मुनिको कालो माटो झिकिन्थ्यो, जसलाई कालीमाटी भनिन्थ्यो । त्यही कालीमाटी घाममा सुकाएर टुक्राटुक्रा र धुलो पारेर खेतबारीमा छरिन्थ्यो । त्यसले मलको काम गर्दथ्यो । विशेष गरी मकै, धान र गहुँ खेतीको लागि त्यो माटो प्रयोग गरिन्थ्यो । ठाउँ ठाउँमा खाल्डो खनेर झिकेको कालीमाटीलाई हामी केटाकेटीहरू सानो गोलाकारको पाङ्ग्रा बनाएर घाममा सुकाउँथ्यौँ र त्यो सुकेपछि त्यसैलाई नर्कटको लट्ठीको बिचमा राखेर एक अर्कासँग जुधाउँथ्यौँ । जसको पाङ्ग्रा फुट्थ्यो उसले हार्थ्यो ।

वि.सं. २०२४ सालमा जब नेपालमा पनि युरिया नामको चिनीजस्तो सेतो मल आउन थाल्यो त्यस बेलादेखि हाम्रो गाउँमा कालीमाटी झिक्ने काम पनि सधैँको लागि बन्द भयो । कालीमाटी झिक्दा खाडल भत्किएर ज्यान गुमाउनेहरू पनि थिए । साथै हिउँदका दिनहरूमा परालको कुन्यूको वरिपरि ठाडो पारेर राखेको मकैको ढोडका बिटाभित्र लुकामारी र तोरीको जगल्टामा गुल्टिन बाजी खेलिन्थ्यो । यस लेखमा गाउँमा खेल्ने गरिएका केही खेल र त्यसलाई खेल्ने तरिकाको सामान्य परिचय प्रस्तुत गर्दछु ।

डन्डीबियो :

हिउँदमा बिदाको दिन र अन्य दिनमा पनि स्कुलबाट घर आएर खाजा खाइसकेपछि डन्डीबियो खेलिन्थ्यो । डन्डीबियो खेल्ने ठाउँ चाहिँ मेरो घरको दक्षिणतर्फ रहेको खड्काहरूको विशाल बारीको पाटो नै मुख्य थियो । डन्डीबियो चाहिँ हिउँदमा बारीको पाटाहरूमा खेलिन्थ्यो । जब बारीमा भएका तोरीहरू उखेलिन्थ्यो तब बारी सबै बाँझो हुन्थ्यो । गाउँका केटाहरू जम्मा भएपछि डन्डीबियो खेल सुरु हुन्थ्यो । एउटा एक कुरेत (बुढी औँला र चोरी औँलाको दुरी बराबरको) एउटा सानो काठको बियो, जसको दुबैतिर चुच्चो पारिएको हुन्थ्यो र अर्को करिब एक हात लामो सानो लट्ठी हुन्थ्यो डन्डीबियो खेलमा ।

बारीको पाटामा एउटा दुई इन्च जति लामो र अलिकति गहिरो खाल्डो पारेपछि त्यसै खाल्डोमाथि बियोलाई राखेर डन्डीले जति सक्यो पर हत्याइन्थ्यो । बियो हुत्याउँदा माथिसम्म आकासिएर धेरै परसम्म पनि पुग्दथ्यो । यदि बियोलाई भुइँमा खस्नुभन्दा पहिले नै समातियो भने (अहिलेको क्रिकेट बललाई जस्तै) हारिन्थ्यो र अर्को पक्षले खेल्न पाउँथ्यो । तर बियोलाई कसैले पनि समात्न सकेन र त्यो भुइँमा खस्यो भने बियोको चुच्चोमा डन्डीले हिर्काएर हान्दा जहाँसम्म पुग्छ त्यो ठाउँबाट खाल्डोसम्म लठ्ठीले भुइँ नाप्दै ल्याइन्थ्यो । जति लट्ठी गनिन्थ्यो त्यो सङ्ख्या नै आफ्नो स्कोर हुन्थ्यो । जसले निश्चित सङ्ख्याको स्कोर पहिलो पुर्‍याउँथ्यो ऊ नै विजेता बन्दथ्यो । विजेताले विपक्षीलाई डाँडा कटाउने गर्दथ्यो । अर्थात् बियोलाई एउटा हातले समातेर अर्को हातको डन्डीले हिकाउँदा बियो जहाँसम्म पुग्छ त्यो ठाउँबाट विपक्षले बियोलाई टिपेर एकै सासमा रोकेर बियो राखेर उराल्ने खाल्डोतिर आउनु पर्दथ्यो । मेरो गाउँघरतिर डन्डीबियो यसरी नै खेलिन्थ्यो । डन्डीबियो खेल्दा धेरै दौडनु पर्दथ्यो । घरबाट हामी झन्डैझन्डै तीन चार किलोमिटर टाढासम्म पनि जान्थ्यौँ । डन्डीबियोको खेल स्थानअनुसार फरक फरक पनि हुनसक्छ ।

० ० ०

गुच्चा:

गुच्चा चाहिँ आँगन र घरनजिक बाटोमा खेलिन्थ्यो । हिउँदको चिसा दिनहरूमा पनि गुच्चा खेल्न निकै रमाइलो लाग्दथ्यो । यद्यपि जाडोको समयमा चिसोले सताए पनि त्यसतर्फ खासै ध्यान जाँदैनथ्यो । वर्षाको समयमा बाटोमा हिलो हुने हुँदा गुच्चा खेल्न सकिन्थेन । हिँड्न पनि मुस्किल हुन्थ्यो । गाउँघरमा कसैकोमा पनि चर्पी थिएन । झिकुचा कुलोको छेउमा सिस्नो घारी थियो । त्यही घारीको छेउमा प्रायः गरी सानासाना केटाकेटी र आइमाईहरू अँध्यारोमा नै आएर दिसा गर्ने गर्दथे । उज्यालो हुँदा सम्ममा त पाइला टेक्ने ठाउँसम्म पनि हुन्थेन । कहिलेकाहीँ कसैलाई बाटो छोड्न पन्छिँदा सिस्नोले च्वास्स घोच्थ्यो र पछि झमझम गरी पोल्थ्यो । रातोरातो हुन्थ्यो छाला पनि । वि.सं. २०४१/४२ सालतिर जब सुलभ शौचालयको अभियान गाउँमा पनि आयो तबदेखि त्यो समस्या पनि हटेर गयो ।

भगवती स्थानभन्दा उत्तरतर्फको बाटो अलिक चौडा र फराकिलो पनि भएकोले त्यहाँ गुच्चा खेल्न सजिलो हुन्थ्यो । गुच्चा खेल्दा उठ बस गरिरहनु पर्ने हुँदा साँझतिर कम्मर र घुँडा दुख्थ्यो भने डन्डीबियो खेल्दा भने सम्पूर्ण शरीर नै दुख्थ्यो ।

० ० ०

पिच्चे :

यसका साथै पिच्चे पनि खेल्थ्यौँ । पिच्चेमा चाहिँ पैसाको हार जित गर्ने गरी खेल्थ्यौँ । पिच्चे खेल भनेको पैसाको सिक्कालाई आँगनमा एउटा सानो प्वाकल (खाल्डो) पारेर त्यो भन्दा तलतिर लामो धर्सो कोरेर टाढाबाट पैसाको सिक्का फालेर खेल्ने खेल हो । गाउँमा हामीले खेल्ने ठाउँ भगवतीस्थान र त्यसकै अगाडिको पाटी थियो । भगवतीको मूर्ति अगाडिको ढुङ्गामा सानो खोपिल्टो थियो र मन्दिर अघिल्तिरको पाटीको डिलबाट त्यही खोपिल्टोमा पैसा फ्याँकेपछि पैसा वरिपरि छरिन्थ्यो । तामा र पित्तलका एक पैसा, दुई पैसा, चार पैसा, पाँच पैसा र पच्चीस पैसाका सिक्काहरूलाई पिच्चे खेलमा प्रयोग गरिन्थ्यो । तोकिएको पैसालाई माथि डिलबाट एउटा तामाको ढ्याक (वि.सं.१९८०/९०) सालतिरको तामाको ठुलो पाँच पैसा)ले ताकेर हिर्काइन्थ्यो । यदि तोकिएको पैसालाई लाग्यो भने जितियो । अर्कै पैसालाई लाग्यो भने हारियो ।

० ० ०

कबड्डी :

कबड्डी खेल झनै रमाइलो हुन्थ्यो । गाउँ नजिकै दुई वटा खोला हनुमती (हनुमन्ते) र मनहरा खोला थिए । ती दुई खोला किनारमा बालुवाको ठुला ठुला बगर थिए । बगरको बिचमा एउटा लामो धर्सो कोरेर त्यसैलाई निशाना बनाएर कबर्डी खेलिन्थ्यो । त्यो खेल खेल्दा हामी कबर्डी कबर्डी भन्दै विपक्षीलाई छुने कोसिस गरिन्थ्यो । यदि विपक्षीलाई छुन सकियो भने ऊ खेलबाट बाहिरिन्थ्यो । विपक्षीले केही गरी आफूलाई समात्यो भने उसबाट फुत्किने ठुलो प्रयत्न गर्दै धर्सोलाई हातले छुने कोसिस गरिन्थ्यो । केही गरी धर्सोलाई छुन सकियो भने आफूले जितिन्थ्यो नत्र भने हारिन्थ्यो र आफू बाहिरिनु पर्दथ्यो ।

० ० ०

फुटबल :

फुटबल भने धेरै पछि मात्र खेल्न थालियो । किनकि त्यो बेला हामीसँग फुटबल नै थिएन र किन्नको लागि पनि पैसा थिएन । कहिलेकाहीँ कपडाको डल्लो पारेर फुटबल खेलिन्थ्यो रहरै रहरमा । बगरको बालुवामा फुटबल खेल्न गाह्रो थियो । खुट्टा बालुवामा भासिन्थ्यो र केही बेरमै थाकिन्थ्यो । घोडालाई थकाउन बालुवामा दौडाउँछन् भन्थे । फुटबल खेल्ने रहर सबैमा थियो । एस.एल.सी को परिणाम नआउँदै म जागिरे भइसकेको थिएँ । मैले बिस रुपैयाँमा एउटा फुटबल किनेर ल्याएँ । सबैसँग एक एक रुपैयाँ उठाएर पछि लिने भन्ने सल्लाह भएको थियो । त्यो फुटबल लिएर हामी भक्तपुरको नयाँ ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको दक्षिणतर्फको चौरमा फुटबल खेल्न गयौँ । तर त्यो दिन खेल्दाखेल्दै फुटबल नै फुट्यो । त्यसपछि हामीसँग फुटबल भएन र अर्को किन्ने पैसा पनि भएन । हाम्रो फुटबल खेल त्यही बेलादेखि सदाको लागि रोकियो ।

० ० ०

गेम :

खेलमा अर्को एउटा खेल थियो जसलाई हामी गेम खेल्ने भन्दथ्यौँ । यो पनि हिउँदका दिनमा बारीको पाटामा नै खेलिन्थ्यो । गाउँघरमा फुटेका घ्याम्पाका खपटाहरूलाई साना साना गोलाकार चक्का  बनाइन्थ्यो । पन्ध्र बिस वटा माटाका गोलाकार चक्कालाई भुइँमा ठाडो पारी चाङ् लगाएर राखिन्थ्यो र  त्यसकै नजिकबाट एउटा सानो सावरको हाते भकुन्डोलाई पर फ्याँकेपछि त्यसलाई भुइँमा खस्नुभन्दा पहिले नै समातेर बलले खपटाको चाङलाई हिर्काइन्थ्यो । यदि भकुन्डो चाङमा लागेर ढल्यो भने उसले जित्थ्यो र त्यही भकुन्डो टिपेर विपक्षीलाई नै ताकेर हिर्काइन्थ्यो । त्यसरी भकुन्डोले हिर्काएपछि भुइँको चक्का टिपेर फेरि छिटोछिटो चाङ लगाइन्थ्यो । विपक्षीले भकुन्डोले हिर्काउनुभन्दा पहिले नै चाङ तयार भयो भने ‘गेम भयो’ भनिन्थ्यो । यस्तो थियो माटाको चक्का र सावरको भकुन्डोबाट गेम खेल्ने तरिका ।

० ० ०

कित्ता :

त्यस बखत नेपालमा चुरोट कारखाना थिएन । भारतबाट चुरोट र बिँडी नेपालमा ल्याइन्थ्यो । हाम्रो गाउँघरमा खास गरी तीन प्रकारका चुरोट पाइन्थ्यो – फूलमार, मोटरमार र क्याटमार । ती चुरोटको बट्टामा फूलको, खेत जोत्ने ट्याक्टर र कालो बिरालोको फोटो हुन्थ्यो । तिनै फोटो अनुसार चुरोटको नाम पनि फूलमार, मोटरमार र क्याटमार भनेर राखिएको थियो । हामी रित्ता चुरोटका बट्टालाई च्यातेर कित्ता बनाउँथ्यौँ र खेल्दथ्यौँ । कित्ताहरूको भाउ पनि फरक फरक थियो । सबैभन्दा बढी कित्ताको भाउ क्याटमार अनि मोटरमार र अन्त्यमा फूलमारको हुन्थ्यो । अर्थात् एउटा क्याटमार कित्ता बरार दुईवटा मोटरमार र तीनवटा फूलमार हुन्थ्यो भने एउटा मोटरमार बरार दुईवटा फूलमार कित्ता हुन्थ्यो । यस्तो थियो कित्ताको भाउ पनि । सानोमा हामीसँग पैसा हुन्थेन । पैसा हुने भनेको दसैँमा टीका लगाएपछि पाउने दक्षिणा नै हो ।

० ० ०

पिङ :

यस प्रकार गाउँका केटाकेटीहरूले प्रायः खेल्ने खेल भनेकै तिनै खेलहरू थिए । दसैँ र तिहारमा पिङ खेलिन्थ्यो । दसैँमा राखेको पीङ तिहारसम्म पनि रहन्थ्यो । तिहार सकिएपछि पिङलाई झिकेर अर्को वर्षको निम्ति भनेर डोरीलाई सम्हालेर राखिन्थ्यो । कतै कतै रोटेपिङ पनि हुन्थ्यो । डोरीको पिङ ज्यादै सस्तोबाट बन्थ्यो भने रोटे पिङ बनाउन काठ धेरै चाहिन्थ्यो र बनाउनको निम्ति पनि धेरै समय लाग्थ्यो । नितान्त मरोरञ्जनको साधन हो पिङ खेल्नु । एक पटक रामकोट कुमाइटीमा मेरो मामा शिव गिरीले रोटे पिङ बनाएर हाल्नु भएको थियो । डोरीको पिङमा भन्दा त्यसमा निकै रमाइलो लागेको थियो । मैले जीवनमा पहिलो पल्ट मामाघरमा नै रोटे पिङ खेल्न पाएको थिएँ । त्यो नै अन्तिम पनि थियो ।