विश्वविद्यालय सेवामा समर्पित जीवन कति भाग्यमानी हुँदो रहेछ-दिनानुदिन आज त्यसको महिमा बोध गर्दै छु । तर त्यस सेवामा जडित हुँदैमा त्यो आनन्द ल्याउने ढोका खुल्दैन किनभने ढोकासम्म नपुगी परपरै त्यो व्यक्ति अन्धकारतिर पस्न पनि सक्छ । जसले समयमै अलिकति साहित्य कलाका वा प्राज्ञिक गोरेटा खन्ने कष्ट गर्छ ऊ एक सम्मानित यात्री बनेर त्यता जान सक्छ, यता आउन सक्छ ।
मैले विश्वविद्यालयका ३५ वर्ष केवल चक, डस्टर र मासिक बेतनलाई चढाइनँ । नेल्टा नामक अङ्ग्रेजी भाषा शिक्षकको राष्ट्रव्यापी संस्थाको अध्यक्ष बनेर घुमेँ । विश्वविद्यालयका प्राज्ञिक कामहरूमा हिँडेँ । म सधैँ नव चेतनाको संवाहक बनेर हिँडेँ । आज पनि हिँड्ने मेरा बाटा तिनै हुन् । कति पहिलेका मित्रहरू भेटिन्छन्, कति नयाँ थपिँदा छन् ।
मैले २०५८ सालदेखि तानसेन पाल्पाको दर्शन गरेको हुँ । पाँच सात पल्ट पुगेँ; प्रत्येक पल्टका कर्म अविस्मरणीय छन् । मलाई फेरि पनि त्यहाँ पुगौँ लाग्छ, त्यहाँका साहित्यिक प्राज्ञिक बन्धुबान्धव भेटौँ लाग्छ, कुनै उत्सवको आयोजना गरी हाँसिराखेर फर्कौं लाग्छ । त्यस्ता प्रत्येक पल्टका प्रत्येक जसो ठाउँमा उमङ्ग छ । मैले त्यस्ता अनुभूतिलाई अक्षरमा जोगाएर राख्ने गरेको छु । मेरो एउटा निबन्ध सङ्ग्रह छ साझा प्रकाशनको ‘सँगै बसौँ यो रात’; त्यसले सधैँ पाल्पालाई सम्झाउँछ । त्यो सम्झना हो २०६३ पुस ७ गतेको थियो ।
सातौँ हुनुपर्छ यसपालि असार तीन गते पुनः पाल्पा जाने जोग पर्यो । यसको उद्देश्य थियो पाल्पाली विद्वान श्री चोलेश्वर शर्माकृत सगरमाथा ‘एक पहाडको नाम होइन’ शीर्षक कृतिको लोकार्पण एवं साहित्यिक भेटघाटको अवसर ।
यो उच्च तापमानको याममा त्यत्तिकै लागि त्यहाँ पुग्ने थिइनँ होला तर पाल्पाका बन्धुबान्धव र त्यहाँको साहित्यिक उन्नतिमा समर्पित नव पुस्ताको श्रद्धा र प्रेमले तानेपछि मेरो मन थामी नसक्नु हुन्छ । यसपालि त्यस्तै भएको थियो—सुकर्मटोल घरैमा आएर डा. शंकर गैरेले भेटे, पाल्पादेखि कार्यक्रम जोड्ने फेरि सार्ने मिलाउने कर्ममा समर्पित अर्का विद्वान डा. टंक पन्थ पनि हरपल सम्पर्कमा थिए । मलाई पाल्पा पुगेर यस्ता सज्जन स्रष्टाहरुसँग एक हप्ता साहित्य कला गरेर बिताऊँ जस्तो हुन्छ । खास गरी वरिष्ठ साहित्यकारहरू अति बढेर काठमाडौँका चोकहरूमा जब बाटो काट्न नसकिने हुन्छ, त्यस बेला पाल्पा जस्ता मनोहारी ठाउँको सम्झना हुन थाल्छ ।
यसपालि असार तीन गते बुद्ध एयर चढेर हामी (श्री मुक्ति बराल र म) भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय पुग्यौँ । बाहिर डढेलो लागेको भीरका शिरमा उभिएजस्तो हुन गयो । ह्वारह्वार छ राजस्थानको मरभूमिदेखि धूलकण बोकेर उडेको तातो कुइरीमण्डल । आकाश छ्याङ्गै छ, सूर्य धेरै तल झरेको अवस्था । हाम्रो स्वागतमा पाल्पादेखि झरेका डा. शंकर गैरे पनि गर्मीले लोलाउन लागेका थिए । त्यहाँका मिसिनले देखायो, तापमान ४५ डिग्री । यस्तो ठाउँमा म उभिएको पहिलो पल्ट थियो ।
तर धेरै आत्तिनु परेन, कमल घिमिरेले हामीलाई एसी जडित कारमा बसाएर उत्तरतिर हाँक्न थाले । त्यो चौडा राजमार्ग, बिचबिचमा सूर्य तापमुनि बाटा बिच कतै उत्तर कतै दक्षिण फर्केर बसेका बुद्ध भगवान् देख्दा निकै साहस आयो । छेउछेउका एकनासे बोट वृक्ष भर्खर बढ्दै थिए झ्याम्म भएर ।
बटौली सहर चिनी नसक्नु भएछ । सफा चौडा मार्ग, विशाल भवनहरूले संरक्षित भैरहवासँग जोडिएको, प्राचीन कालका वरपीपल मासिएपछि रुन र हाँस्न नसकिरहेको । बजार सिरानको कस्तुरीमा पसेर झानिएका शरीरलाई अलिअलि पर्सादी चढायौँ । त्यहाँदेखि सुरु भएका फस्के भीर, घुम्ती र पहिराको दर्शन गर्दै नजानिँदो उकालो लाग्यौँ । एक छिनदेखि ढुङ्गा, बालुवा बगर ओछ्याएर सुतेको तिनाउ नामको काल्पनिक नदी तटैतट उँभो लाग्यौँ । नदीमा जल थिएन तर ठाउँ ठाउँमा झोलुङ्गे पुल टाँगिएर ती उजाड बगरको रमिता हेर्दै थिए । वारि र पारिका डाँडा र पाखा हरिया बुट्यान र जङ्गलले छोपिने प्रयत्नमा थिए तर ठाउँ ठाउँका फस्के भीरहरू पछारिएर बाटा छेउका पहाडको फेद हुँदो मुर्छा परिरहेका पनि देखिन्थे ।
तानसेन बजार पुग्दा पाँच बज्यो । बस बिसौनी नजिकै पौवा नामक गगनचुम्बी विश्रामालय उभिएको देख्यौँ । गाडी हाँक्तै कमलले त्यसकै फेदमा रोके । आजको नियतिमा पौवा लेखिएको रहेछ । यसको दुई काँल्लामाथि सगौरव उभिएको ह्वाइट लेक थियो, सधैँ हामीलाई बास दिने पाल्पाको स्वर्ग आज गुम्यो कि क्या हो !
डा. गैरेले हामीलाई भित्र हुले जहाँ चोलेश्वर शर्मा नामक एक आदरणीय विद्वान स्रष्टालाई देख्यौँ, त्यहीँ थिए डा. टङ्क पन्थ, दीन पन्थी र अन्य आतिथेय । त्यहीँ बिसायौँ, परिचय कार्यक्रम सम्पन्न गर्यौं। एकएक चियासँग भोलिपल्टको कार्यक्रम रूपरेखा मिलाएर बिदा भयौँ । हामीलाई डा. टंकले बिजुली भर्याङ चढाएर तेस्रो तलामा पुर्याई फिरे । गर्मी ३० डिग्री थियो । पहाडी डाँडामा पनि पङ्खा नघुमाई नसकिने जस्तो । यता विमोच्य कृतिका पाँच पाठ पढिसक्नु थियो आजको गर्मीले दिनभरि तेल काढेको शरीर अब कतिन्जेल पढेर बस्न सकिने हो ! म अलिक चिन्तामा थिएँ ।
चोलेश्वर शर्माको विनयशीलता मात्र होइन एउटा सुकिलो जीवन बिताएर उमेरको माथ्लो चौतारीमा पुगेका स्रष्टा उहाँहरूले ससम्मान यति टाढा साहित्य गर्न बोलाइदिनु हाम्रा लागि सानो कुरा थिएन । त्यसैले ती अल्पभाषी विद्वानले बिदा मागेर गएपछि डाइनिङमा झरेर दालरोटी खायौँ, अनि फेरि कोठा चढ्यौँ ।
पङ्खामुनि ढल्केर मैले सङ्कटमोचनका निमित्त पिंडालीलाई चिठी शीर्षक निबन्ध पल्टाएँ । जम्मा बिस निबन्धमा यो समेत सातवटा पढ्न बाँकी थिए । यस निबन्धमा नेपाली हास्यव्यङ्ग्यमा समर्पित भैरव अर्याल, केशवराज पिंडाली, श्याम गोतामे, राम कुमार पाँडे, श्रीधर खनाल, मोराश, ध.च. गोतामे—सबैको नाम लिएर तथ्याङ्क बुझ्दा एक बाहेकले सम्मान पुरस्कार नपाएको साहित्यकारको रुपमा नगनिएको तथ्य भेटियो । एकदिन पिंडालीले चोलेश्वर शर्मालाई हास्यव्यङ्ग्यकार लेखिदिएकोमा त्यसको घोर विरोध गरेका छन् । कारण हास्यव्यङ्ग्यकार कुनै काम लाग्ने लेखक होइन भन्ने लाग्छ ।
त्यसपछि अर्को पढेँ – मलाई चुनाउ नामको आम मिठो लाग्छ । यसमा आम चुनावहरु बेलाबेलामा ल्याएर धूर्त र तस्करहरूले गाउँ ढाँटेको, खर्च उडाएको उनीहरूले सपना छरेर जित्ने प्रयत्न गरेका कर्मप्रति व्यङ्ग्य छ । पाकेका ‘आम’ खान्छन् कोया जति जनतालाई । यस प्रक्रियालाई यसरी व्यङ्ग्य गरेका छन्—“आम नेताले जनतालाई आम झैँ स्वाद लिई लिई चुस्छन् । आँखा चिम्लिएर यसैलाई आम चुनाव भनिन्छ । यसलाई महानिर्वाचन पनि भन्छन् । भनिएको यथार्थमा मह निर्वाचन हो । गुलियो छान्ने प्रकृया । कमाउनेको गुलियो । मतदाता र उम्मेदवार दुवैलाई चुनाउ ‘कमाऊ’ को अर्को नाउँ हो ।” (पृ. ८६)
अर्को पढ्न बाँकी निबन्ध रहेछ मास्कवादका बाटामा नेपाल जसको व्यङ्ग्यार्थ भित्र छ । त्यो माधव नेपाल, प्रदीप, आदि नेपालहरूको राजनीतिक उत्थान काल थियो । मनमोहन अरू वाममार्गी अकासिएको बेला थियो । मार्क्सवाद चिप्लेर ‘माक्सवाद’ भयो । भ्रष्टाचार, षड्यन्त्र, अन्याय, झूठ प्रचार कहाँ पुग्यो । व्यक्तिगत स्वार्थले देश डुब्यो । त्यो चरित्र अझै छ, सबै राजनीतिक दलमा समानता छ । अद्यावधि त्यही चरित्र विकसित छः देश सेवाको मास्क अनुहारमा छ, लक्ष्य बैङ्क ब्यालेन्स, घर—घडेरी, विदेश । देश—सेवा । समाजसेवाको मास्क अनुहारमा, लक्ष्य: पद प्रतिष्ठा । राजनीतिको मास्क अनुहारमा, लक्ष्य: आफैलाई जिउँदो शहीद स्थापित गर्न, र सुख सुविधाहरूको दुनो आफ्ना भागमा घोप्ट्याउन । यही हाम्रो चरित्र । यही नै मास्कवादका वाटामा नेपाल अग्रसर भएको प्रमाण हो । राष्ट्रसेवा होइन, राष्ट्र मेवा । काजु, बदाम, किस्मिस । (पृ. ९५)
अरू चार निबन्ध थिए – नेपालको खेती, पुरस्कार पाउनुको नमज्जा, नेपाली साहित्यमा शर्माहरू र होटेल श्रीराम जनकपुरधाम । गर्मीको यात्राले शरीरमा थकान भरेकाले ढल्किने सल्लाह गर्यौं । तर हामी ढल्केपछि (नौ बजेपछि) तानसेन सहर जागेर उठे झैँ गर्न थाल्यो । अघिल्तिर छ बसपार्क; सामुन्ने छ गुल्मी जाने उकाली रोड । त्यहाँ नबिसाई जोरजोर गाडी तल र माथि गर्न थाले, चर्को हर्न फुक्न थाले । कोठा सानो छ, अट्याच बाथरुमवाला तर सिङ्गल झ्याल, अक्सिजन निख्रेर राति नै परान सकिने हो कि जस्तो लागी उठेर अनुसन्धान गर्यौं—सरुवा झ्याल बाहिर जाली रहेछ त्यो निकाल्यौँ, पर्दा हटायौँ । अब रात काटिन्छ होला भन्ने भयो ।
तर झ्याल पारिपट्टि समानान्तर अर्को घर रहेछ । खुला झ्याल ढोका भित्र खुला मानिस सुतेका आँखामा परे । ती मान्छे हल्ला गर्ने, कराउने, उत्पात थियो । यो अश्लील रात आज आँखा नजोडी बित्ने भयो जस्तो भयो । दुई कान्ला माथिको स्वर्ग सम्झे, त्यो होटेल ह्वाइट लेकमा आनन्दले उचालिएर मैले उस बेला रातभरि कविता लेखेको थिएँ ।
धेरै पछि पौवाकी होटेल मेनेजरले फोन गरिन्, “सर ! माफ गर्नु होला । निर्दोष सरले हजुरहरूको लागि एसी रुम बुक गर्नुभएको थियो रहेछ । उहाँका पाहुना आउनै होलान् भन्ने ठान्यौ । पाहुना हजुरहरू नै हुनुहुँदो रहेछ, थाहा भएन । अब हजुरहरू एसी रुम सर्नुहुन्छ ?”
“यो मध्यरात हुने समयमा सुतेको अवस्थामा किन दुख दिनु हुन्छ बैनी !”
यी दुवै काँठेहरू टोपीधारी छन्, यस्तो नामी होटेलको एसी रुममा सुत्ने पाहुना होइनन् होला भन्ठानेछन् । हाम्रो पनि गल्ती छ; अलिक टाइँफाइँ गरिएन । भोलिपल्ट बिहानै आएर चोलेश्वर सरले साह्रै पश्चात्ताप गर्नु भयो, सुपुत्र निर्दोषले ठुलो थकथक । के भयो, के भयो-यो रात उसै गयो ।
भोलिपल्ट ब्रेकफास्ट पश्चात् नानीहरूले हामीलाई ठुलो एसीमा सारे । तल वर्तुङ मदन पोखरा टाढा टाढा सम्म सारा देखिने आनन्दकर सफा र भव्य थियो । स्वच्छ बिहानमा स्नान पछि बाँकी निबन्ध पढौँला भन्दै थिएँ, डा. टंक पन्थ भाइ आइपुग्नु भयो । एक उर्वर स्रष्टा सुन्दर छन्द कवि र नामी समालोचक नेपालीमा बोलीपिच्छे लोकगीतका गेडा गाउन थाल्छन् नाच्न तयार पर्छन् ।
अघि २०६३ साल पुसको त्यो रात टंक पन्थ, टंक भट्टराई, शंकर गैरे, नारायण नेपाल, वनमाली निराकार, रुद्र ज्ञवाली, एकनारायण पौडेल र डुप्लिकेट गायक धनराज गिरी थियौँ । एकनारायण बसेको घरमा कविता र गीत गाएरै उज्यालो पारेका थियौँ । तिनै पन्थले आज आफ्नो आवासमा पुर्याए, सानो सुन्दर एक साधकलाई सुहाउने थुम्कीबाट दक्षिणी पाल्पा आँखैमा आउने ठाउँमा रहेछ । उनले आफ्नो नवीन सङ्ग्रहबाट एक सुन्दर कविता वाचन गरी सुनाए अनि चियापान पश्चात् हामी उकालियौँ । पौवामा पुगेर खाना खायौँ ।
त्यसपछि विश्राम गर्दै अन्तिम तयारी गर्दै बसेका थियौँ । दुई बज्नासाथ आजका स्रष्टा र अन्य साहित्यकार आउनुभयो । एक छिनको समय एक चिया गफलाई चढाएर हामी लाग्यौँ- धवल पुस्तकालय । नारायणस्थान भन्ने एउटा दुर्ग जस्तो ठाउँ जहाँ २०० वर्षअघि अमरसिंह थापाले बनाएको अमर नारायणको मन्दिर र प्राचीन परिवेश छ । त्यसको शिरमा बनिएको धवल पुस्ताकालयको इतिहास पनि सानो छैन- वि.स. १९९३ को परिवेशमा “पढ्ने दलान”बाट आएका यी अक्षरमा चलेको यस पवित्र मन्दिरमा आइपुग्दा ती दूरदर्शी पुर्खाप्रति श्रद्धाले यो शिर नुहिन्छ । जब आफ्नो ठाउँ सम्झिन्छु, धूर्तहरूले छक्क्याएर आज पनि एउटा पुस्तकालय, वाचनालय स्थापना नगरेको नगरपालिका नेपालमा अर्को छैन त्यो हो दमक । त्यसको सट्टा त्यहाँ जगतको अघि मूर्खता प्रमाणित गर्ने तीन अरबको टावर ठडिँदै छ ।
धवल पुस्तकालयका अध्यक्षको सभापतित्वमा सभा आरम्भ भयो । तीन बजेको थियो, प्राचीनताको आभास दिने त्यो “पढ्ने दलान”मा सुरुमै दुई सय जति स्रष्टा/श्रोता भरिएका थिए । यतिखेर पाल्पाका शैक्षिक अग्रणी, तीन पल्ट क्याम्पस प्रमुख चलाइसकेका चोलेश्वर शर्मा खनालप्रति श्रद्धा भावले नुहेका साराका उपस्थितिले भरिएको छ । जिल्ला सभापति, प्रमुख अधिकारी, पालिका प्रमुख, विद्यालयदेखि अन्य गन्यमान्य कतिको मूल क्षेत्र साहित्य नभए पनि आजका स्रष्टाप्रति सबैको शिर नुहेको क्षण । कसैसँग नटेर्ने, सारा कुर्सीवाला, राजनीतिकर्मी, समाजका अगुवा भन्नेहरूलाई मात्र होइन तानसेनवासीलाई नै ढाडमा फोका उठ्ने गरीको लाठा बर्साएका छन् चोलेश्वरज्यूले ।
यस्तो ऐतिहासिक उपस्थितिबिच मैले चोलेश्वर शर्माको सगरमाथा एक पहाडको नाम होइन शीर्षक कृति लोकार्पण गर्ने सुअवसर प्राप्त गरेँ । कार्यक्रम सञ्चालनमा डा. पन्थ थिए । टिप्पणीकर्ताहरू दीन पन्थी र वनमाली निराकार । अरू ससाना साढे दुई मिनेटका वक्तव्य र शुभकामना निकै थिए । चोलेश्वर शर्माले आफ्नो मन्तव्यमा यस घरीलाई जीवनमा सर्वाधिक प्रसन्न भएको दिनका रूपमा उल्लेख गर्नुभयो ।
त्यस्तो उत्पात खुसी हुनुपर्ने दिन ता थिएन किनभने यस्तो अद्भुत प्रतिभाशाली व्यक्ति, हास्यव्यङ्ग्यमा यस्ता निबन्ध रच्ने अर्को प्रतिभा कोही छैन । उहाँलाई भैरव अर्यालसँग जोड्न मिल्छ तर जसले केवल दुई निबन्ध सङ्ग्रह तयार पारी पर्खी बस्नु भएछ । एउटा म त अप्रिल फूल भएछु । अघि नै प्रकाशित अर्को अर्थात् आज लोकर्पित सङ्ग्रह चाहिँ चार दशकदेखि साझा एकेडेमी यस्तैका दराजमा मौन भएर लुकी बसेको रहेछ । मोफसलको बिमार त्यसमाथि व्यङ्ग्य लेख्ने, व्यवस्थाको छाला काढ्ने कृतिलाई साझा/एकेडेमीले प्रकाशित गर्दैनन् ।
त्यहाँ भित्रकाहरू ता स्वामीभक्त हुन्छन् मालिकका ताबेदार भन्ने कुरा उहाँले बुझ्नु भएन नत्र सुँगुरको खोरमा बुद्धिजीवीको लघु-प्रवचन, कुकुरहरूका पक्षमा, मलाई चुनाउ नामको आम तिर्खा लाग्छ जस्ता उनीहरूको विरुद्धमा निबन्ध लेखी उनीहरूलाई छापिदिनोस् भन्नु हुन्थेन होला । त्यो भूल भयो, ठुलो भूल; चालीस वर्ष लम्ब्याए र अन्त्यमा फिर्ता लिएरै आफैँ छपाउन पर्यो । धन्य कृति छाप्नु पर्छ भन्ने छोरा, बुहारी, नाति-नातिनाका हजुरबुबा बन्न पाउनु भएछ उहाँ । नत्र धेरै छोराहरूले साहित्यकार बाबुआमा बित्नासाथ तिनका पुस्तक दराज र पाण्डुलिपि समेत चनाचटपटेलाई बेचेर श्रद्धाञ्जली सभाको आयोजना गर्दछन् । काठमाडौँमा प्रत्येक पल्ट त्यसो भइरहेछ ।
वनमाली निराकार र दीन पन्थीले चोलेश्वर शर्माको लेखन शक्तिलाई मिहिन विश्लेषणले चिनाए । प्रमुख अतिथिका पालामा म उभिएँ । अग्लो पानसमा दीप जलिरहेको थियो । गोलाकार विशाल बैठकमा सज्जनहरू खाँदाखाँद थिए । अलिक गर्मी थपिएको थियो । निर्पङ्खे त्यस हलमा श्रोता/दर्शक थपिँदै थिए ।
“आज म पाल्पाको तानसेन शहरवासी तपाईं सज्जनहरू समक्ष अति आनन्दले उकुसमुकुस भएको अनुभव सुनाउन चाहन्छु । आनन्दको एउटा कारण हो पाल्पाको यस साहित्य कला भवनमा छ वर्ष पश्चात् पुनः भेट हुँदैछौँ । त्यो भेट एक युवा कवि आरबी निश्चलको कविता कृति पैताला विमोचन थियो । यो भेट ज्येष्ठ नागरिकको सम्मान प्राप्त गरिसक्नु भएका ७८ वर्षीय चोलेश्वको निबन्ध सङ्ग्रह विमोचनको छ । मलाई खुसी सँगै दुख पनि लागेको छ चोेलेश्वर शर्मा जस्ता अद्भुत प्रतिभालाई अगेनामा लोहोरो पोल्न लगाएर पाक्ला भन्दै रुङ्न लगाएछन् । त्यो अवधिभरि कथा, कविता, नाटक सिर्जना गरे/गराएको भए पाल्पामा सायद उहाँलाई भेट्ने कोही हुने थिएन होला ।
अघि २०५८ सालमा जीवा लामिछानेले नेपाली निबन्ध साहित्यको नमुना विश्वमा प्रस्तुत गर्ने लक्ष राखे । अनि एक समितिले लक्ष्मी प्रसाद देवकोटा हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, शंकर लामिछाने, बानिरा गिरी, राममणि रिसाल गर्दै युवराज नयाँघरे सम्मका १५ स्रष्टाका तीस निबन्ध छान्यौँ, तीनमा एकजना श्री चोलेश्वर हुन्थ्यो । उहाँ त्यसरी सेलेक्टेड नेपाली एसेजमा पसेर विश्व भ्रमण गर्दै हुनुहुन्थ्यो । यस्ता व्यक्ति चालीस वर्ष मौन रहँदा कसलाई नोक्सान भयो ? त्यो त पाल्पालाई यस्ता प्रतिभा जन्माउन अरू एक शताब्दी लाग्न सक्छ ।
त्यसैले पाल्पाली समाजले, स्रष्टा, साहित्यकर्मी, राजनीतिज्ञ, कलाकार सबैले उहाँलाई चिनौँ, निरन्तर सिर्जनाको लागि प्रेरित गरौँ, प्रोत्साहित गरौँ । यस्ता व्यक्ति कुनै अवसरमा वञ्चित भने कत्रो क्षति हुन्छ ।
स्रष्टा चोलेश्वरको उच्च स्वाभिमान गाउने यी निबन्धहरू कतै नझुक्ने छन्; कतै नदब्ने, आत्मसम्मानले टलपल छ त्यो मन । उहाँको उर्वर लेखन कालमा देशमा सल्केको डढेलो, ती सङ्कटका दिनमा क्याम्पस प्रमुखको भार खेप्ने लेखान्त … यस्तै केले दिएन तर लेख्नु भनेको झन् पिरमा झन् कष्टमा रहेछ ।
मैले सुनाएँ – प्रा. अभि सुवेदीको विभागमा शक्तिशाली विद्यार्थीले आगो लगाए, उहाँले अग्निको कथा (नाटक) लेख्नुभयो, मेरो विभागमा अर्को वर्ष झोसे, मैले विश्वविद्यालयमा अग्निपूजा (निबन्ध) लेखेँ । यहाँ चोलेश्वरका निबन्ध पढ्दा गाउँहरू उजाड भएको, शहर बहुलाएको, देश विकसित दिशातिर फाल हानेको चिन्ता छ । खालि दुश्चरित्र बढेका, दलाल, भ्रष्टाचार, ठग, हृदयहीनहरूले देश खोक्र्याएको चिन्ता छ । एक संवेदनशील र स्वाभिमानी नागरिकको लागि ता त्यो स्थिति आज चरम निन्द्रामा छ । सरकार नै भ्रष्टाचार केन्द्र बनेको छ ।
किन यसरी हामी नैतिकहीन भयौँ, किन समाज मूल्यहीन र स्खलित छ । लेखकको एउटै तर्क छ “देशभन्दा देशवासी ठुला हुन थालेपछि त्यस्तै हो ।” वृक्षारोपण, गाईजात्रा महोत्सव शीर्षक निबन्धले देखाउँछन् । सबभन्दा ठुलो भ्रष्टाचार वनको नाममा छ प्रत्येक वर्ष ।
तानसेन एक सुन्दर ऐतिहासिक वैभवले भरिएको सहर थियो । तर आज यसलाई युवायुवतीले छोडे, कोही बुटवल भैरहवा, कोही भारत अनि अरू खाडी । यो श्रीनगरले युक्त श्रीहीन वर्तमान बेचिरहेछ । तानसेन बादलमाथि बसेको एक शहरको नामको सार तत्त्व यत्ति छ: तानसेन आफ्ना विवशता, दीनता, विपन्नताबिच अतीतको सम्पन्नता फैलाएर सल्लेरीको हावामा सुसाउँछ । युद्धमा ध्वस्त भएको देशको छातीजस्तो । जितेर पनि हारेजस्तो । जिउँदै कसैले मारेजस्तो ।
सरकारले पनि योजना र उत्सव गर्छ, गराउँछ । ती सबै नक्कली क्षणिक टार्ने तमासा मात्र हुन्, वृक्षारोपण जस्तै युवा वर्ष पनि अर्थहीन तमासा मात्र हो । यस्ता वर्ष भरि चल्ने तमासा क्षेत्रमा सरकारी बजेट खन्याउँदै ढाकछोपका कर्म निरन्तर राख्दछन् । लेखकको मूल आत्मा तिनैमा छ ।
लेखकमा विश्व साहित्यको विशिष्ट ज्ञान देखिन्छ । साहित्य र मृत्यु बारे फाटफुट कुरामा विचित्रताले भर्ने दाँते, लियोनार्दो भिन्ची, टल्सटोइ, हेमिङवे, कामु, देवकोटा, हृदयचन्द्र, अर्याल, कटुवाल, अनेक आउँछन् भने कति ठाउँमा ग्रीसेली कवि छन् । त्यसै गरी समकालीन सङ्गीत, कला, गीत, विज्ञान, सिनेमा र चल्तीका फेसन, रङ्गकर्मी, सिनेमा, खेलाडी सबै कण्ठ छन् । कत्रो रुचि, कत्रो सामान्य ज्ञान । तर प्रत्येक पुस्ता र परिस्थिति कुनै व्यङ्ग्यात्मक दृष्टान्तको लागि पुकारिएका छन् ।
भ्यागुता महानतामा एउटा महत्त्वहीन विषय छ भ्यागुताको । तर त्यसैले पनि लेखकलाई कसरी छोएर निबन्ध लेखाएको छ । कुकुरको पक्षमा जस्तै मानिस कुरा गर्न लायक छैनन् । बरु यी पशुपक्षी जीवहरू पात्र बनेर आउँछन् एकपल्ट नानीमैया सांसद चुनिए जस्तै । देशको जर्जरताले लेखकलाई बारम्बार छुन्छ, पराधीनताले मूर्ख शासित देशमा हाम्रो अधोगमनले, विवेकहीनताले बिक्री भइरहेको देश अरब इज्रायल भारत अमेरिका कहाँ कहाँ नाच्दो छ । आडम्बरी समाज बहुलाउँदो छ, आफ्नो अतीतलाई डिलिट गर्दै । देशै पो सकिने हो कि । सगरमाथा एक पहाडको नाम होइन, मेरो गाउँको नाम छैन, तानसेन बादलमाथि बसेको एक शहरको नाम जस्ता निबन्ध पढ्दा एउटा देश प्रेमले उम्लेको स्रष्टाको दर्शन बोध हुन्छ ।
त्यसका साथै आफ्ना संस्कृतिहरू भत्काउँदै अनाम व्यक्ति बन्दै गाउँ छोड्ने, देशै छोड्ने एउटा वर्ग अनि भ्रष्टाचार र अत्याचारमा लिप्त भई रमाएको देख्दा लाग्छ अब हामीलाई बाँच्ने ठाउँ छैन । गाउँ घरका सुन्दर नाता सम्बन्ध चुँडिए, चालचलन, संस्कृति, सोच, सारा बदलिए, कर्महरू फेरिए, बारी खेत बाँझा भए । घर उजाड र रित्ता छन्; वास्तवमा दिनानुदिन नेपाल डरलाग्दो हुँदै छ । कतै भागौँ कि कसो गरौँ जस्तो । यद्यपि लेखकले खिचेको चित्र ता तीस चालीस वर्ष पुराना हो तर पनि विश्वग्रामीकरणको छेद त्यसै बेला पस्न थालेको थियो । चोलेश्वरका निबन्धमा त्यही रिक्तताको निर्जनताको र हीनताको भय छ भने त्यसको उत्कर्षमा पुगेको देशको स्थिति अनुभव गर्दै मैले हालै विश्वग्रामीकरणका ईश्वरलाई एक पुकारा शीर्षक निबन्धमा व्यक्त गरेको छु ।
शीर्षक निबन्धमा एक पश्चिमाले सगरमाथाभन्दा अग्लो अर्को पर्वत भेटियो भनी निराधार हल्ला छापेपछि अत्यन्तै उद्वेलित भई आफ्नो राष्ट्रको सुकीर्ति बचाउन यसको अपमानको प्रतिकार गर्दै यो निबन्ध रचेका छन् ।
मेरो गाउँको नाम छैन । प्रत्येक नेपालीलाई छुने एक मास्टर पिस हो । नेपालीले संसार सिके, संसारका नक्कल गर्न जाने तर आफू र आफ्नोपन सारा भुलेर ।
निबन्धहरू यस्तै यथार्थपरक र सूक्ष्म छन् । राज्य सञ्चालक र अगुवा बनेका शिक्षित राजनेता सारा स्वाँठ विरुद्ध लेखकले बेला बेला दाह्रा किट्छन् तर आक्रोश रहित भावले, शान्त रूप धारण गरेर । यो व्यङ्ग्य शैली सिक्न नसकिने विचित्र नौलो र मौलिक छ । तर समाजको चाल संस्कृति, स्थानिक बोलीहरूमा रङ्गिएर आउँछ । टाढाका अन्यलाई कति थोक नौला लाग्न सक्छन् । विपरीततामा रमाएको देखाउनु उहाँको निजी शैली हो । कसैको रागले द्वेषले कसै प्रतिको क्रोधले होइन यो प्रहार गाउँ सडिएका र सहर बिग्रेका देशको अस्तित्व मेटिने हो की भन्ने भावुक चिन्ताले छुँदा लेखिएका हुन् यी निबन्ध ।
यस्तो कलमले अगणित वर्ष बिसाएको देख्दा र सुन्दा मलाई भारी चिन्ता लाएको छ । अव पाल्पाले उहाँको शक्ति चिनोस्, यो अद्भुत लाग्ने प्रतिभाको पूजा गरोस् । जीवनको परम यथार्थलाई छोएर कलमले निर्भीकतापूर्वक नङ्ग्याउने विद्वान प्रतिभा चोलेश्वरलाई अबको ऐकान्तिक जीवनमा तपस्यामा लगाउनोस् । उहाँ पाल्पाको महान् प्रतिभा र क्रमशः देशका गौरव भैरव अर्यालको रिक्तता परिपूरक हुनुहुन्छ; वर्षको एक सङ्ग्रह निकाल्नु भयो भने पनि धेरै सक्रिय वर्ष बाँकी छन् ।”
मैले यति नै बोलेँ । पाल्पाली ढाका टोपी उपहार ढल्काएँ । हातमा पाल्पाली करुवा उपहार उचालेँ । यो देखेर होटेल पौवाले हामीलाई अझै ठुलो सम्मान गर्न सक्छ; किनभने असार महिनामा फुलेको सयपत्रीको हाइब्रिड माला पनि घाँटीमा थियो ।
० ० ०
सन्ध्याको भव्य भोजन पछि दीन पन्थीसँग छुटिएर हामी आफ्नो भव्य कोठामा सर्यौं तर मेरो हृदयमा चोलेश्वर शर्माका चिन्ता र पिरहरू नाचिरहे । उहाँको मनलाई पिर पार्ने देशका चित्रहरू फेरि पल्टाएर हेरेँ । तानसेन: बादलमाथिको शहर पढेँ अनि मेरो गाउँको नाम छैन पढेँ । यस निबन्धको अन्त्यले मेरो मनमा भर्खर चलेको पान्थर ताप्लेजुङको भन्दा ठुलो पैरो गयो: गाउँमा कुखुराहरू बासिरहेका छन् । दिनहरू उदाइरहेका छन् । स्यालहरू कराइरहेका छन् । दिनहरू अस्ताइरहेका छन् । यो साधारण छ । यसका सबै कुरा साधारण साधारण छन् । बाँझा बारी, सुक्खा खेत, अम्बाका रित्ता बोट, युवतीका फिक्का हाँसो/सुक्खा धारा/पानी/कुवा/सपना/बिपना र मानिस । साधारण साधारण । अनाम अनाम । मानिस अनाम । गाउँ अनाम ।
त्यसपछि ओछिनमा ढल्केर मोबाइलमा सानो स्वरमा डीवी पाल्पाली महेशको गीत बजाएँ—
हे नेपाल आमा, तिमीलाई संसारकै राम्री बनाउँला
दुई कोटी जन मिलेर सुसार गर्दै जाउँला…
अनि मेरो गला अवरुद्ध भयो । पल्लो खाटका मुक्ति बराल सरले यी आँखा पुछेको नदेखुन् भनी ब्ल्याङ्केटभित्र पसेँ । म देश सम्झँदा जलिरहेको चोलेश्वरको मनको कल्पना गर्दै थिएँ ।
सुकर्मटोल, कीर्तिपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।