डर लाग्यो ! आफूभन्दा उमेरमा जेठाहरू पङ्क्तिबद्ध थिए, पछाडितिर । बाँसको छडीले ढाँडतिर सुम्ल्याउँदै उनीहरूलाई पङ्क्तिबद्ध गराइरहेका थिए, एक जना मान्छे । निक्कै क्रूर लाग्थ्यो, ती बाँसका छडी बोकी यताउता गरिरहेको मान्छे । उनको गतिविधि देख्दा मेरो सातो हरायो !

यस्तो त्रासदीका बिच म पनि पङ्क्तिबद्ध भएँ । अनि गीत गाउन सुरु गरे मभन्दा जेठाजेठीहरूले, “गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली…जय जय जय नेपाल सुन्दर शान्त विशाल…।”

यो गीत पहिलो पटक सुनेको थिएँ, त्यसैले त्यो गीत गाउन नसक्दा पछाडितिर बाँसको छडी बोकेर यताउता गरिरहेका र कसैकसैको ढाँड सुम्ल्याइसकेका मान्छेले आफूलाई पनि बाँकी के बाँकी राख्लान् भन्ने अर्को भय थपियो । पहिलो दिन जोर जबरजस्ती पङ्क्तिबद्ध भएर उभिएँ । दोस्रो दिन झन् डर लाग्यो ।

र प्रार्थना गर्दा “श्रीमान् गम्भीर नेपाली…” गाउनुपर्ने चलन सुरु हुनुभन्दा अघि नै म दुई तीन पटक डरले रुँदै कराउँदै गणेशधाराको त्यो पाठशालाबाट उम्केर आएको थिएँ । आफ्नो घरमा आइसकेपछि मात्र दम लिएको अहिले पनि मेरो सम्झनामा ताजै छ ।

पछाडितिर फर्केर हेर्दा अहिले मभन्दा जेठाहरू तीन जनाको अनुहार स्पष्ट रूपमा चिन्छु । उनीहरू थिए, कृष्णप्रसाद भण्डारी, गोपाल विश्वकर्मा र मानबहादुर लिम्बू । उनीहरू मभन्दा जेठापाका थिए, कक्षा ३ मा पढिरहेका । पङ्क्तिबद्ध हुन लाग्दा सायद केही गल्ती गरेकोले उनीहरूको ढाँडमा सुम्लिएको बाँसको छडीको प्रहार निक्कै ननिको लाग्दो थियो ।

पाठशालाको आँगनमा यस्तो त्रासदी देखेर केही पटक रुँदै भाग्दै गर्दा बाँसको टाटीले बेरेर निर्माण गरिएको गणेशधारास्थित गणेश प्राथमिक विद्यालयबाट एक वर्षका लागि म “ड्रप आउट” भएँ ।

मेरा दाजु मानबहादुर र दिदी बिमला सोही स्कुलमा पढिरहेको समय त्यहाँ पुग्दाको क्षणहरू सम्झँदा दुई वटा क्षणको झलझली सम्झना आउँछ । एक जना गुरुआमा रातो सारी, रातै चोलो लगाएर सिउँदोमा रातो धर्सा कोरेकी र मायालु पाराले बाँसको टाटी र फुस्को छानाको घरमा पढाउने । उनलाई विद्यार्थीहरू “सरस्वती दिदी” भन्थे । शिक्षकलाई त सर भन्ने चलन आइसकेको थियो, तर महिला शिक्षकहरूलाई अहिलेजस्तो “मिस” वा “म्याडम” भन्ने चलन पाठशालाहरूमा भित्रिइसकेकै थिएन । बाँसको छडी बोकेर विद्यार्थीहरूमाथि गोरु चुटाइ गर्ने ती मान्छेलाई विद्यार्थीहरू “पिताम्बर सर” सम्बोधन गर्थे । उनको नाम उच्चारण हुनासाथ सबै थर्कमान ! ती सरसँग मेरो खास साक्षात्कार भएको छैन । धनकुटा बजारबासी ती शिक्षक अहिले सेवानिवृत्त जीवन व्यतीत गरिरहेका होलान् ।

सरस्वती दिदीको भौतिक देह यो संसारमा छैन, अहिले ।

० ० ०

समय क्रममा गणेशधारामा रहेको टाटीले बारेको फुस्को छानाको त्यो स्कुल मेरो टोलको पल्लोपट्टि सर्‍यो । हामी त्यो ठाउँलाई “पल्लोपट्टि” नै भन्थ्यौँ ।

पल्लोपट्टि एउटा सानो चौर थियो ।

धनकुटा नगरको भू-बनौटको कुरा गर्दा तमोर नदीदेखि चुलिवन नामको डाँडा उठेको छ, जुरुक्क । त्यो ठाडो बजार क्षेत्रबाट उत्तरतिर क्रमशः उक्लिने क्रममा सल्लेरी बन हुँदै हेलिप्याड डाँडा ठडिएको छ । फेरि थोरै तेर्सिंदै त्यो शृङ्खला चिहाने डाँडा हुँदै उक्लिएको छ । त्यहाँबाट कागते, निगाले हुँदै हिलेमास्तिर पुगेर गुराँसे, राम्चेलगायत पहाडी शृङ्खलामा ठोकिँदा अङ्ग्रेजी वर्णमालाको “टी” आकारको संरचना बनेको छ । यो शृङ्खलाले तमोर नदीबाटै उभिएर पश्चिमतिरबाट बेल्हारा र पूर्वतिर ताङ्खुवा चुलाचुली शृङ्खलाले समानान्तर यात्रा गरेको छ ।

हाम्रो टोलदेखि पल्लोपट्टिको त्यो सानो हरियो चौरमा हामी बाल्यावस्थामा लडीबुडी खेल्न जान्थ्यौँ । दाजु पुस्ताकाहरूले त्यहाँ भलिबलको नेट टाँगेर खेलकुद अभ्यास गर्थे । दसैँको बेला लिङ्गे पिङ हालेर रमाइलो गर्थे । लिङ्गे पिङकै विषयले हाम्रै छिमेकबिच एक पटक झगडा हुँदा एउटा दसैँमा त रगत पनि बग्यो ।

समय क्रमसँगै त्यहीँ चौरदेखि अलिमाथिको जग्गा सम्म्याउन लागियो । बिस्तारै त्यहाँ जग खन्न सुरु गरियो । पर्खाल ठडिन लाग्यो । जस्ता पाताको एउटा घर बन्यो । घरको छानामुन्तिर टाँसियो पहेँलो भुइँमा निलो अक्षरले कोरिएको साइनबोर्ड, श्री गणेश प्राथमिक विद्यालय स्थापना: २०२९ ।

अनेकौँ वर्षा र हिउँद सहँदै बाँसको टाटीले बारिएको यस पाठशाला स्थापनाको ६ वर्षपछि हाम्रो टोलनेरको पल्लोपट्टि ढुङ्गा र माटोको गारोबाट पाठशाला भवन ठडियो । यो पाठशाला भवन निर्माण हुँदा सूर्यप्रसाद दवाडी धनकुटा नगरको वडा नम्बर ४ का अध्यक्ष थिए । उनले आफ्नै घरसँग जोडिएको गणेशधाराबाट त्यो पाठशाला हाम्रो टोलमा ल्याइपुर्याएका थिए, अलि खुला र फराकिलो ठाउँ खोज्दै । उनीपछि भैरवबहादुर श्रेष्ठ वडाध्यक्ष भए । हाम्रै टोलका छिमेकी खड्गबहादुर पाख्रिन नगर सभासद् चुनिए । उनीहरूले पनि यो विद्यालयको संस्थागत विकासमा केही न केही योगदान दिएको यस प्रसङ्गमा स्मरणीय हुन आउँछ । उनीहरू सबै पञ्चायतकालीन जनप्रतिनिधिहरू हुन् ।

त्यो बेला यस ठाउँमा दिउँसो १ बजेपछि सिधै सप्तकोसीको शीतल हावा आइपुग्थ्यो सरर । अहिले किन हो त्यस बेलाजस्तो मीठो हावा बहेको अनुभूति हुँदैन । साँझ मौसम सफा रहेको बेला त्यहीँ ठाउँबाट सप्तकोसी देख्न पाइन्थ्यो । प्रदूषणले अहिले त्यो सुन्दर दृश्य दुर्लभ प्रायः हुन पुगेको छ । त्यो बेला हामी लडीबुडी खेल्ने हरियो चौरमाथि सडक बनिसकेको छ, गाडी दौडन्छ । यहाँ गाडी दौडन थालेपछि गाडीवालहरूले नै यो ठाउँको न्वारान गरिदिए, स्कुलडाँडा ।

० ० ०

म गुच्चा खेल्दै थिएँ साथीहरूसँग ।  मार्बलको गुच्चालाई हातमा अँठ्याएर हान्नुपर्ने र मार चाहिँ रुद्राक्षका दानामा प्रहार गरी जित्नु पर्ने । संयोग पनि कस्तो भने मैले यो गुच्चा खेलमा कहिल्यै जीत हासिल गर्न सकिनँ । खेल्न चाहिँ खुब खेलेँ, तर हार बेहोर्दै ठिक्क !

टोलमा यसरी गुच्चा खेल भइरहेको बेला एक जना भद्रभलाद्मीको आगमन भयो । अनि चल्यो, हामी बचेराहरूको भागाभाग । हामी डराउँथ्यौँ, ती भद्रसँग । उनी थिए, तासजुवा र गुच्चाखेलका सख्त विरोधी  । हाम्रो मन उनलाई ठुलो सम्मान गर्थ्यो । त्यसैले उनको आँखा छली छली गुच्चा खेल्थ्यौँ । उनी छेउ पर्नासाथ हाम्रो भागाभाग चल्थ्यो । त्यो दिन पनि त्यस्तै भयो ।

“ए…ए…तिमीहरू भाग्न पर्दैन, लु सबै यहाँ जम्मा होऔँ त”, हामीप्रति घृणा र आक्रोश भावबाट नभई मायालु भाव प्रकट गरेर बोलावट भयो । फेरि अर्को आदेश आयो, “तिमीहरू हातखुट्टा धोएर तयार होऊ त !”

हामीले हाम्रा मयलले कटकटिएका हात खुट्टा धोयौँ । त्यसपछि हामीलाई पङ्क्तिबद्ध गराइयो, भेँडाबाख्राजस्तै । र सरासर नयाँ बनिसकेको भवनमा सञ्चालित पाठशालामा लगेर हाम्रो नाम लेखाइयो । त्यतिखेर त्यो पाठशालामा प्रधानाध्यापकको जिम्मा निर्मला तुलाधरको काँधमा थियो । रातो सारी, रातो चोलो र सिउँदोमा रातो धर्सो हालेर मायालु पाराले पढाउने तत्कालीन प्रधानाध्यापक सरस्वती बस्तीको अर्कै पाठशालामा सरुवा भइसकेको रहेछ । यसरी म लगायतलाई भेडा बाख्राजस्तै पङ्क्तिबद्ध गराएर स्कुलमा भर्ना गरिदिने व्यक्तिको नाम हो, रेख ब्लोन । त्यो जमानाको स्नातक, मेरा छिमेकी दाजु । मलाई कलम समाएर अगाडि बढ्न प्रेरित गर्ने पहिलो व्यक्ति ।

० ० ०

म त्यतिखेर कक्षा २ मा पढिरहेको थिएँ । डाँडाबजार तिरबाट एक जना हामीभन्दा अलि पाको लाग्ने भगिमान लिम्बू कक्षा ३ मा पढ्न आएका थिए । डाँडाबजारस्थित भानु माविका तत्कालीन प्रधानाध्यापक कृष्ण ब्लोनले त्यहाँबाट आफ्नै घरनिकट हामी पढिरहेको पाठशालामा पढाउन भनी आफ्नो घरमा भगिमानलाई ल्याएका थिए होलान् भन्ने मेरो अनुमान छ । त्यो दिन बिहीबार थियो ।

२०३७ साल वर्षादको समय । वर्षा मात्र भएन, आँधी पनि चल्यो । हामी कुनाकाप्चा, कोही बेञ्चमुनि लुकिरहेका थियौँ । क्षणभरमै अध्यारो कक्षाकोठा उज्यालो भयो । हामी पढिरहेको स्कुलको छानालाई आँधीको झोक्काले उडाइसकेछ । त्यसपछि भाग्दै जाँदा मलाई भगिमानले सम्हाल्दै मेरो घरसम्म पुर्‍याए । अलिपछि अरूहरू चिच्याउँदै आत्तिँदै आइपुगे । पछि भगिमान आफ्नै गाउँ डाँडाबजार फर्के । अहिले कता छन्, केही थाहा छैन मलाई ।

त्यतिखेरको प्रचलनअनुसार बिहीबार बिहान आधा दिन मात्र पाठशालामा पढाइ हुन्थ्यो, धनकुटा नगरमा । बिहीबार धनकुटामा हाट लाग्ने र त्यो दिन किनमेल गर्ने भनेर राणाकालिन उर्दीअनुसार पाठशालाहरू बिहान सञ्चालन हुने र सरकारी कार्यालयहरू दिउँसो १ बजेदेखि मात्र खुल्ने चलन धनकुटा नगरमा लामो समयसम्म चलिरह्यो । यसबाट धनकुटामा जागिर गर्ने निजामती कर्मचारीहरूले लामै अवधिसम्म अतिरिक्त लाभ लिइरहे । उनीहरूमा कस्तो गजब थियो भने बिहीबार आधा दिन, शुक्रवार आधा दिन र शनिवार पुरै दिने बिदाको सुविधा थियो । यसबाट सर्वसाधारणले भने राम्रैसँग असुविधा उपभोग गरिरहे । फेरि बाहिरबाट धनकुटामा जागिर खान आउनेलाई दुर्गम भत्ताको पनि सुविधा थियो । धनकुटा घर हुनेहरू पनि धनकुटाबाट बसाई सराई अरू ठाउँमा गराएर दुर्गमभत्ता पड्काउँथे ।

यसरी मेरो टोलदेखि पल्लोपट्टि स्थापना भएको पाठशालामा मलगायतका मेरा समवयीहरूको पढाइ सुरु भयो । यहीँ स्कुलबाट अक्षरारम्भ गरेको मैले आफूलाई त्यहाँ रहँदासम्म अब्बल साबित गर्दै रहेँ । पहिले गणेशधारामा जस्तो बाँसको छडीको आतङ्कसँग त्यति डराउनु परेन । म आफूमा त्यो खालको डर पनि भागिसकेको हुँदो हो या पाठशाला घरै नजिक आएकोले पनि म आफूमा आत्मविश्वास अलि बढेर गएको हो ।

बनेको दुई तीन वर्षपछि आँधीले स्कुलको छाना उडायो । फेरि छाना छाइयो । निर्मला तुलाधरको प्रधानाध्यापन कालसम्म कक्षाहरूको पार्टेसन पनि थिएन, झुप्प झुप्प राखिएर पढाइन्थ्यो, पढाउनेलाई पनि गाह्रो । हाम्रै टोलका अग्रज दिलबहादुर बम्जन प्रधानाध्यापक भएर आएपछि पाठशाला भवनभित्र काँचो इँटाले पार्टेसन गरियो, छुट्टाछुट्टै कोठामा पढ्न पाउने व्यवस्था भयो ।

त्यहीँ पाठशाला कक्षा ३ मा प्रथम स्थान हासिल गरेर म स्थानान्तरित भएँ । हामी पढिरहेको त्यो बेला कक्षा ३ मा जिल्ला स्तरीय परीक्षा हुन्थ्यो । नतिजा सुन्ने दिन पनि आयो । तल्लो कोप्चेका रुद्रकुमार प्रधान हाम्रा प्रधानाध्यापक थिए । उनले तत्कालीन कक्षा ३ का हामीलाई हाम्रो परीक्षाको नतिजा यसरी सुनाए,“राजकुमार सुब्बा फस्ट, मेनुका कार्की सेकेन्ड, जीतबहादुर राना थर्ड, घमण्डबहादुर विश्वकर्मा फेल, अरू सबै पास !”

घमण्डबहादुर मेरा दाजु डम्बरका साथी शेरबहादुर विश्वकर्माका भाइ हुन् र हाम्रो एउटा बारीको सँधियार पनि । उनलाई परीक्षामा सकेसम्म सहयोग गर्थें । जिल्ला स्तरीय परीक्षामा सिट प्लानिङमा हामी को कता पर्यौं, मैले त्यो बेला परीक्षामा उनलाई सहयोग गर्न सकिनँ । सँगै परेका परीक्षार्थीलाई सकेसम्म आफूले जानेको सिकाइदिने बानी मेरो । स्नातकोत्तर तहको परीक्षासम्म यो बानी ममा रहिरह्यो । मैले मेरा एक जना साथीलाई यहीँ प्रसङ्गमा सम्झन्छु, जसलाई सिकाउँदा झन्डै म आफैँ कारबाहीमा परेको थिएँ ।

परीक्षा हलमा कसैलाई सिकाइ सघाउनु अनुशासनहीनता हो । म आफैँ कलेज पढाउँदाताका परीक्षा हलमा गार्ड गर्दा यो अनुशासनलाई कडाइका साथ पालना गराउन परीक्षार्थीहरूमाझ प्रस्तुत भएँ । तर आफूले पाएको ज्ञान कसैलाई बाँड्न पाउँदा अहिले पनि मलाई परमानन्द प्राप्त हुन्छ ।

कक्षा ३ मै पढ्दाको एउटा सम्झना पनि यहाँ उल्लेख गरिहाल्न मन लाग्यो । गणित विषयको परीक्षा थियो । तीन घण्टा समयको परीक्षा मैले दुई घण्टा पुरा नहुँदै सकेको थिएँ । उत्तर पुस्तिका बुझाएर जान लाग्दा परीक्षा गार्डका रूपमा खटेका एक जना शिक्षकबाट आदेश आयो,“ओइ, एकछिन पख् ।” त्यसपछि म टक्क अडिएँ । उनले सरसरती मेरो उत्तरपुस्तिका हेरे । पुरै पुस्तिका हेरिसकेपछि मेरो पिठ्यूँमा धाप मारेर उनले भने,“स्याबास, लु अब जा ।”

ती शिक्षक मेरा दाजु डम्बरका कक्षा १० का सहपाठी थिए, अहिले पख्रिबास नगरपालिकाका मेयर । अर्थात् ज्ञानबहादुर गुरुङ ।

० ० ०

यो स्कुलमा कक्षा ३ सम्म पढेर म हाम्रो टोलभन्दा उत्तर दिशाको हिडाइमा ४० मिनेट जतिमा पुगिने तत्कालीन वारीपात्लेस्थित भाषा निम्न माध्यमिक विद्यालयमा पुगेँ । यो स्कुल नेपालकै तेस्रो पुरानो स्कुल हो, वि.सं. १९५८ मा स्थापना भएको ।  कक्षा ७ सम्मको अध्ययन यस स्कुलबाट पुरा गरेर म आफ्नो टोलभन्दा दक्षिणतिर बजार क्षेत्रको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा पुगेँ । त्यहीँ स्कुलबाट २०४५ सालको ब्याचको रूपमा एसएलसी दिएर परीक्षाफल पर्खेर बसिरहेको थिएँ ।

० ० ०

२०४५को भदौ ५ गते पूर्वी नेपालमा ठुलो भूकम्प गयो । उदयपुर केन्द्र रहेर गएको यस भूकम्पबाट पूर्वी नेपालमा धेरै धनजनको क्षति भयो । धनकुटा अछुतो रहने कुरा भएन । मैले अक्षरारम्भ गरेको गणेश प्राथमिक विद्यालय पनि क्षतिग्रस्त भयो । जीर्ण रहेको पर्खाल ढालियो । त्यो ठाउँ सम्म्याउन लागियो ।

एसएलसीपछिको समयलाई सकेसम्म सिर्जनशील बनाउने इच्छा थियो मेरो । टाइपराइटर सिकेर सरकारी जागिरका लागि प्रयास गर्ने इच्छा पनि थियो । तर हाम्रो परिवार मेरो त्यस तालिमका लागि आवश्यक शुल्क तिर्न असक्षम थियो । त्यसैले मैले त्यो तालिमका लागि रोइकराई गर्ने इच्छा पनि गरिनँ ।

म कक्षा १ बाट २ मा पुगेको बेला मेरा कतिपय सहपाठीहरूलाई उनीहरूको अभिभावकले त्यस सरकारी स्कुलबाट झिकेर नवस्थापित बोर्डिङ स्कुलमा हालिदिएका थिए, त्यतिखेर मलाई पनि युनिफर्म ड्रेसमा टाई र कालो छालाको जुत्तासहित पछाडि भिर्ने ब्यागमा किताब कापी र हातमा टिफिन क्यारियर बोकेर बोर्डिङ स्कुल जाने मन नभएको कहाँ हो र ? मलाई पनि “मामा आए घोडा, माइजू आइन् डोली…”को सट्टा “जोनी जोनी एस पापा, इटिङ सुगर नो पापा…” गाउने रहर नभएको कहाँ हो र ?

तर म अभिभावकको आर्थिक क्षमताबारे राम्रै जानकार थिएँ । त्यसैले आफूभित्र गुम्सिएको त्यो आफ्नो इच्छा पुरा गराउने जिरह गर्दै एकै शब्द कहिल्यै उच्चारण गरिनँ, अभिभावकसमक्ष । र मैले त्यहीँ धुले पाठशालाबाट आफ्नो विद्याको उन्नतिका निमित्त दत्तचित्त रहनुमै आनन्द उपभोग गरिरहेँ । त्यसैले धुलोबाट उठेर यहाँसम्म आइपुगेको हुँ भन्दा मलाई कम्ती गौरवबोध हुँदैन ।

पछि त्यो स्कुलका लागि हाम्रो टोलमुनिका टोलका एक जना दानवीर हरिप्रसाद श्रेष्ठ (हाल: दिवङ्गत)ले आफ्नी दिदी दुर्गा श्रेष्ठको नामको जग्गा उपलब्ध गराए । स्वास्थ्य तालिम केन्द्रमुन्तिरको जग्गामा गणेश प्रावि लामो समय सञ्चालनमा रह्यो । सरकारी विद्यालयले भोग्नु परिरहेको बेहालतबाट यस स्कुल पनि अछुतो रहेन । अन्ततः यो स्कुल अहिले भाषा उच्च माविमा मर्ज भएको छ । यहीँ स्कुलका निमित्त निर्माण भएको दुई वटा भवन अहिले प्रयोगविहीन छन् ।

तीमध्ये मैले अक्षरारम्भ गरेको पाठशाला भवनको परिसरलाई बारबेर गरेर सुरक्षित त राखिएको छ । यस वरिपरि अहिले झार जङ्गल उम्रेको छ । तर भवन जस्ताको तस्तै उभिएको छ, निर्जन अवस्थामा । यस भवनसँग मेरो विद्याको मात्रै होइन, वृत्ति विकासको पनि न्यानो सम्बन्ध पनि जोडिएको छ । दुई वर्षअघि आफ्नो जन्मस्थान पुग्दा दिनदिनै त्यो जीर्ण पाठशाला भवन अगाडी उभिएर उत्पातै नोस्टाल्जिक बनेको थिएँ ।

कुनै बेला विद्यालय अन्यत्र सरेपछि खाली भएको यस भवनमा हामी स्थानीयहरूले खल्तीबाट आनासुकी झिकेर आफ्ना छोराछोरी पढाउनका लागि बोर्डिङ स्कुल सञ्चालनमा ल्याएका थियौँ । यहीबाट मेरी दुई छोरीको पनि अक्षरारम्भ भयो । पछि हामीले आफ्नो पैसा फिर्ता लियौँ । यस भवनमा सञ्चालनमा ल्याइएको बोर्डिङ स्कुललाई अरूले नै अहिले अन्यत्रै भवन बनाएर सञ्चालन गरिरहेका छन् । त्यसैले यो भवन निर्जन बन्न पुगेको छ ।

० ० ०

फेरि मैले एसएलसी दिएर बसेको खाली समयको फेरोतिर आफ्नो लेखनी मोड्न चाहेँ ।

पत्रपत्रिका पढ्ने लत म आफूमा सानैदेखि बसेको थियो । पाए सित्तैमा र सित्तैमा नपाए किनेर पढ्ने बानी थियो । पञ्चायत कालमा तत्कालीन मालेका भूमिगत नेताहरूलाई सेल्टर दिएको र पार्टीको सांस्कृतिक अभ्यास र गतिविधि खुलेआम रूपमा हाम्रो एउटा घरमा हुने भएकोले त्यहाँ जम्मा हुने अखबार, पत्रपत्रिका र पुस्तकका अक्षरहरुमा मेरा आँखा दौडन्थे, बुझे पनि नबुझे पनि । त्यस बेला मैले पढेको साहित्यिक पत्रपत्रिका हुन् “सङ्कल्प”, “झिसमिसे”, “उत्साह”, “अक्षलोक” आदि ।

अहिले पनि पढ्नका लागि समय पाउँदा म सब थोक भुल्ने गर्छु । पढेको कुरालाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेर लेख्न पाउँदा थप आनन्दानुभूति हुन्छ ।

म एसएलसीपछिको खाली समयको सदुपयोगका लागि पुस्तक, पत्रिका र अखबार सक्दो पढ्ने विचारमा थिएँ ।

धनकुटामा सुविधासम्पन्न सिनेमा हल थिएन । २०४४ सालको हिउँदमा राजा बीरेन्द्रको धनकुटा भ्रमण हुँदा नेपाल टेलिभिजनले अस्थायी स्टेसन खडा गरी उनको भ्रमणको गतिविधिलाई जनसमक्ष प्रस्तुत गर्न ठाउँ ठाउँमा टेलिभिजन सेट राखिएको थियो । खुल्ला आकाशमा हिउँदका शीत र ठिहिरो सहँदै हामी टेलिभिजन हेर्थ्यौं । टेलिभिजनमा टेलिफिल्म तथा छायाङ्कन गरिएका नेपाली गीतहरू (अहिलेको भाषामा म्युजिक भिडियो) पनि हेर्न पाइने भएकोले मनोरञ्जन र कलाकारिताको क्षेत्रमा केही सूचनामूलक ज्ञानहरू हासिल गर्ने अवसर प्राप्त भएको थियो । फलतः म “कामना” मासिकको पनि नियमित पाठक बन्न पुगेको थिएँ । “गरिमा” र “मधुपर्क” पढ्न पाए म आफूले आफैलाई चिमोटेको पनि थाहा नपाउने गरी हराउँथे ।

चलचित्र क्षेत्रप्रति ममा केही चासो जगाउने काम एक जना साथीले गराएका थिए । धनकुटामै सुटिङ भएर प्रदर्शनका लागि आउन लागेको चलचित्र “कुसुमे रुमाल”को प्रसङ्गसँग पनि अलिकति जोडिन्छ यो सम्झना ।
कक्षा ८ मा पढ्दाताका एक जना साथीले हामीलाई “कुसुमे रुमाल”का स्टिकरहरू उपहार दिए एक दिन । चिटिक्क परेको ती स्टिकर हाम्रा लागि अमूल्य थिए, त्यस बेला । ती साथी भन्थे,“यो फिल्म त हाम्रा मामा माइजूले बनाउनु भएको नि !” उनी “कुसुमे रुमाल”को कथासार यसरी बताउँथे, उदितनारायणले यसो गर्छ, भुवन केसीले उसो गर्छ, जितेले खुब हसाउँछ । ट्वाँ परेर उनको कुरा सुन्दै उनैले दिएको स्टिकर हेर्दै हामीलाई थप उत्सुक हुन्थ्यौँ ।

ती साथी पढाइ मेधावी थिए र व्यवहारमा एकदमै विनयी र मिलनसार । साह्रै अनुशासित पनि । उनीसँगको करिब ७/८ महिनाको सान्निध्यपछि उनले धनकुटा छाडे । उनको बुबाको सरुवा धनकुटाबाट इनरुवातिर भयो । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा थिए, उनका बुबा । ती मेरा साथी हुन् शिशिर चापागाईँ (हालः अमेरिका), गोपीकृष्ण हलका सञ्चालक तथा फिल्म निर्माता उद्धव पौडेलका सहोदर भान्जा ।

शिशिरले धनकुटा छाडेपछि उनको खुब न्यास्रो लागिरह्यो । त्यो न्यास्रोलाई हामी आरामी पत्रबाट मेट्ने गर्थ्याैं । आजभोलि त सजिलो छ, बेलाबेलामा उनीसँग च्याटिङ हुन्छ ।

“कामना”को नयाँ अङ्क पनि बजारमा आयो । तर त्यो किन्नका लागि फुटेको कौडी पनि थिएन गोजीमा । पत्रिका पसलेले मजस्तो भर्खरै एसएलसी दिएर बसेको बेरोजगार बबुरोलाई उधारो पत्याउने कुरा भएन । सित्तैमा मागेर पढ्ने कल्पना पनि गर्न सकिएन । छटपटी भयो, उत्पात ! पुस्तक पसल गयो, बिक्रीका लागि झुन्ड्याइएको पत्रिकाको आवरणको फोटो हेर्यो, अक्षरहरू पढ्यो, अनि चित्त बुझायो ।

तर चित्त कहाँ बुझ्दो रहेछ र ? एउटा भोको पेटले पूर्णिमाको चन्द्रमालाई त रोटी देख्छ भने स्वादिलो खाना आफ्नै अगाडि देखिदा म भोको पेटलाई कस्तो भयो होला ?

० ० ०

ठिक त्यहीँ बेला माथि मैले बेलिबिस्तार लगाएको पाठशाला भवनको पुनर्निर्माण लागि फेरि जग्गा सम्म्याइँदै थियो । मैले त्यहाँ पुगेर काम मागेँ, “म पनि यहाँ काम गर्न चाहन्छु ।” सुरुमा पत्याएनन् । तर काम पाएँ । गैँती, बेल्चा चलाएर त्यहाँको ढुङ्गा माटो उठाएँ । एसएलसी दिएर बसेको, पढाइमा पनि राम्रै भनेर टोलमा पत्याइएको मान्छे थिएँ । त्यतिखेरै त्यहीँ काम गरिरहेका टोले दाइ पूर्णबहादुर तामाङले मलाई व्यङ्ग्य गर्दै भनेको अहिले पनि सम्झन्छु । उनले भनेका थिए, “ओइ, तँ पढेलेखेको मान्छे, हामीसँग काम गर्न लाज लाग्दैन ? भोलिपर्सि तँलाई हामीसँगै कुल्ली काम गरेको भनेर हामीले जिस्क्यायौँ भने तँ के गर्छस् ?”

“काम गरेर खानु केको लाज ? तपाईंहरूले मलाई त्यसरी जिस्क्याए पनि केही फरक पर्दैन” मैले सहज उत्तर मात्रै दिइनँ, दुई साता जमेरै ज्यालादारी मजदुरी गरेँ । गैँती, बेल्चा चलाएँ, ढुङ्गा माटो उठाएँ । जिन्दगीमा पहिलो कमाइ गरेँ ।

पारिश्रमिक थापेपछि मेरो पहिले काम भयो, आफूले चाहेको पत्रिका किन्ने । “कामना”को नयाँ अङ्क किनेँ । नयाँ वर्ष २०४६ को अङ्क थियो, त्यो । आवरणमा  नेपालका त्यतिखेर चल्तीका चलचित्र नायकहरूलाई उनीहरूको लोकप्रियताको कसीमा श्रेणीबद्ध गराइँदा सरोज खनाललाई पहिलो बरीयतामा राखिएको थियो । यसमाथि मैले एउटा पाठक प्रतिक्रिया लेखेर हुलाकमार्फत पठाएँ ।

त्यो २०४६ सालको साउन हो कि भदौ अङ्कमा प्रकाशित भयो, मेरो नामको पाठक प्रतिक्रिया । त्यतिखेर नेपाल टेलिभिजनमा “आठ बजे” नामको कार्यक्रम चलाएर लोकप्रिय बन्न पुगेका सञ्चारकर्मी विजयकुमारको फोटो आवरणमा छापिएको छ । त्यहीँ अङ्कमा छापियो, मैले पठाएको पाठक प्रतिक्रिया । पहिलो पटक आफ्नो नाम छापिँदा कतिसम्म खुसी भएँ भने मलाई चिमोट्दा पनि नदुख्ने अवस्था थियो ।

मैले छापिएर आएको त्यो सानो पाठक प्रतिक्रिया कति पटक पढेँ, गनेर साध्य छैन । हो, त्यसपछि मलाई पत्रपत्रिकामा आफ्नो नाम छापिरहने बानी पर्‍यो । पछि काठमाडौँमा पुगेर कामना प्रकाशनकै सहप्रकाशन “साधना” मासिकमा डेढ वर्ष काम गर्दा म सुटुक्क सुटुक्क पुस्तकालयमा पस्थेँ, र “कामना”मा छापिएको त्यो मेरो पाठक प्रतिक्रिया हेरेर भावुक बन्थेँ ।

त्यसपछि म सानोतिनो लेखरचनाहरू लेख्दै छपाउँदै गर्न थालेँ । त्यसै क्रममा मैले “गोरखापत्र”मा एउटा कथा र “अस्मिता” मासिकमा एउटा लेख छपाएको थिएँ, २०४८ सालमा । काठमाडौँ आवतजावत गरिरहने एक जना दाइको हातमा मञ्जुरीनामा पठाएको  थिएँ, यी दुई पत्रिकाबाट पाँच सय ५० रुपैयाँ पारिश्रमिक प्राप्त हुँदा मेरो खुट्टा भुईँमा थिएनन् । बुद्धि घोटेर कमाएको यो मेरो पहिलो कमाई थियो । यहीँ कमाइको खर्च बोकेर म मोरङ र झापाका भुटानी शरणार्थी शिविरमा रिपोर्टिङ गर्न गएको थिएँ ।

यसरी स्कुलडाँडामा धुले स्कुलमा अक्षरारम्भ गरेर, त्यहीँको ढुङ्गा माटो उठाएर अगाडि बढेको मान्छे हुँ म । त्यहीँ ज्यालामजदुरी गरेर प्राप्त पारिश्रमिकबाट किनेको पत्रिका, कलम, कापी, हुलाक टिकट र खाम प्रयोग गरी पत्रिकामा नाम छपाएपछि भरिएको ऊर्जाबाट आज म यो यात्रासम्म आइपुगेको छु । २२ वर्ष सक्रिय पत्रकारिता गरेँ । एक पटक नेपाल पत्रकार महासङ्घको केन्द्रसम्म पुगेँ । त्यहीँ पाठशालामा अक्षरारम्भ गरेको मैले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा आठ वर्ष पढाएँ ।

अक्षर र शब्दहरूसँगको मोहनी मनभित्र कतिसम्म गढेको छ भने केही न केही नलेखी बस्नै नसक्ने अवस्थामा पुगियो । यसै क्रममा एउटा आख्यान र तीन वटा इतिहासका पुस्तक त बजारमा ल्याई नै सकियो । बाँकी अरू पनि निकट भविष्यमा आउनेवाला छन् ।

म कसरी भुल्न सकुँला र, स्कुलडाँडाको त्यो कोशे ढुङ्गालाई ? त्यहीँ कोशेढुङ्गाबाट गन्तव्य ताकेर हिँडेको मैले जीवनमा जानेको एउटा सत्य, पसिनाको सुगन्ध सर्वश्रेष्ठ सुगन्ध हो ।