राती गर्मीले निद्रा नलाग्दा म गर्मीलाई पनि साक्षी भावले हेर्दै ओछ्यानमा पल्ट्यापल्ट्यै अबेलासम्म विपश्यना साधनाको अभ्यास गरिरहन्थेँ, कुन बेला आँखा लाग्थ्यो, थाहा हुँदैनथ्यो ।

नेपाल सरकारको कृपाले भनौँ अथवा विश्वव्यापी मन्दीको खप्कीले भनौँ, कामधामको चाप झ्याप्पै घटेको थियो । साथीहरू गर्मीको छुट्टी मनाउन देश-विदेशका शीतल ठाउँमा घुम्ने योजना गुन्दै थिए, कोहीकोही त स्विटजरल्याण्ड नै पुगेका थिए । मेरो मगजमा पनि थुप्रै खुराफातहरू चल्दै थिए, तर निर्णयमा पुग्न सकेको थिएन । यसैबिच धम्म तराई विपश्यना ध्यान केन्द्रका प्रबन्धक जोशीजीसित फोनमा कुरो भयो ।

जोशीजीबाट थाहा भयो, “ठिक्क दुई दिनपछि ध्यान शिविर सञ्चालन हुँदै छ, देश-विदेशका मिलाएर करिब २० जना साधकहरूको नाम पनि आइसकेको छ, सहायक आचार्यको रूपमा काठमाडौँबाट विवेक गुरुजी आउने कुरो छ । “अचेलको गर्मीमा तिर्खाएको मान्छेलाई के चाहियो ? कागतीको रस र गुलियो मिसाइएको एक घुट्को जल त हो ।”

मेरो काकाकुल घाँटीमा तलबल सुरु भइहाल्यो । “दस दिनको शिविरमा बस्न सकियो भन्ने सहरिया कोलाहलबाट टाढा हुने तर निकै पर जानु नपर्ने र लामो अन्तरालपछि स्वयंसित बात मार्ने अवसर पनि जुर्ने, “यावत गणितीय हिसाबकिताब जोडेर मैले जोशीजीलाई अनुरोध गरेँ, “त्यो शिविरमा बस्ने साधकहरूमा मेरो नाम पनि जोडिदिनोस् है ।”

“दस दिनसम्म मौन बस्नु पर्ने, लेख्न अथवा पढ्न पनि नपाइने, इसारामा पनि कुरो गर्न नमिल्ने । रातदिन त्यही शिविर क्षेत्रमा थुनुवाजस्तै बस्नु पर्ने, बाहिरका मान्छेको अनुहारसम्म हेर्न नमिल्ने । खानलाई जे र जति दिइन्छ, त्यतिमै सन्तोष गर्नु पर्ने । आफ्ना भाँडाकुँडा आफै मस्काउनु पर्ने, आफ्ना लुगा आफै धुनु पर्ने, आफ्नो कोठाको लागि खानेपानीको जोहो पनि आफैँले गर्नु पर्ने । खानेकुरोको रूपमा आफूसँगै जरुरी औषधीबाहेक क्यै राख्न नपाउने । राती बास बस्ने जेजस्तो सुविधा उपलब्ध छ, त्यसैमा काम चलाउनु पर्ने । अखबार, रेडियो अथवा टिबी सुविधा त उपलब्ध हुने कुरै भएन । मोबाइल फोन त वर्जित हुने नै भयो ।” यावत नियमहरू बारे एक पुरानो साधक भएको हिसाबले म पहिलादेखि नै अवगत थिएँ ।

तर त्यहाँ थुप्रै नयाँ-नौला अनुभवहरू मेरो प्रतीक्षामा थिए । पहिलो अनुभव त त्यहाँको उखरमाउलो गर्मी नै थियो । त्यत्रा हरिया-अग्ला रुखैरुखले घेरिएका हामी साधकहरूका कोठा त झनै भान्साकोठा जतिकै ताता थिए । दिउसो कोठामा यसो पल्टिन खोजियो भने भन्ने ओछ्यान आफैमा ताप्केजस्तै रातोतातो भइसकको हुन्थ्यो, पल्टिन आँट नै हुँदैनथ्यो ।

कोठाको झ्याल खोल्यो कि छेउका कलकारखानाहरूले विसर्जन गरेका छाँई (धानको भुसलाई ब्वाइलरमा इन्धनजस्तै प्रयोग गरिसकेपछि बनेको खरानी) र ससाना झुसे किराहरूको आक्रमण सुरु भइहाल्थ्यो । राती सुत्ने बेलामा तातोपन अलि मत्थर भए पनि रातभरि जिउबाट पसिना बगिरहन्थे । कोल्टो फेर्दै रात बित्थ्यो, बिहान उठ्दा सिरानीलगायत पुरै ओछ्यान पसिनाले भिजिसकेको हुन्थ्यो । हाम्रो धैर्यको परीक्षा त्यतिकैमा सकिँदैनथ्यो, बिचबिचमा बत्ती पनि गइरहन्थ्यो । बत्ती गएपछि कस्तो अवस्था हुन्थ्यो भन्ने कुरो वर्णन गरेर साध्य छैन, तराईतिरका मान्छेले बुझ्न सक्छन् ।

ध्यान केन्द्रको दक्षिण कुनामा सिरिसिया नदी र पश्चिममा सियासुत नदी रहेको छ । अचेल ती नदीहरू केही औलामा गन्न मिल्ने उद्योगहरूका कारण फोहर नालामा परिणत भएका छन्, त्यही नालाबाट उत्सर्जित सुवासको मज्जा पनि बोनसमा पाइराखेका हुन्थ्यौँ । खैर, शिविर क्षेत्रमा पैँतालिस डिग्रीको गर्मी भए पनि मजस्तो मनुवाको मनमा लुकिबसेको धनाढ्यताको गर्मी झ्याप्पै तल झरेको थियो ।

अब तपाईंहरू भन्नु हुन्छ, “दुःख पाइस् मङ्गले – आफ्नै ढङ्गले ।” कुरो ठ्याक्क त्यसो पनि होइन, आध्यात्मिक रूपमा मैले जे अनुभव गरेँ, त्यो विलक्षण नै रह्यो ।

आजभन्दा करिब २५०० बर्षअगाडि गौतम बुद्धले भनेका रहेछन्, “यस जगतमा कुनै पनि बस्तु अथवा घटना नित्य छैन, सबै थोक अनित्य नै छन् । मानव शरीर असङ्ख्य सूक्ष्म अणुहरूबाट निर्मित एक किसिमको प्रपञ्च केन्द्र हो, यो प्रपञ्च केन्द्रमा क्षणप्रतिक्षण करोडौँ-अरबौँ अणुहरूको निर्माण र विनिर्माण चलिरहन्छ । यस हिसाबले मान्छेको स्थूल कायामा आफ्नो जीवन र मरणको खेल सूक्ष्म रूपमा क्षणप्रतिक्षण चलिरहेको हुन्छ । त्यस्तै नै हो मान्छेको जीवनमा दुःखानुभूति अथवा सुखानुभूतिको आगमन तथा विसर्जन पनि, न दुःख नित्य हुन्छ, न सुख नै । यथार्थमा संसारमा कुनै पनि बस्तु अथवा घटना नित्य हुँदैन । सबै थोक अनित्य हुन्, यस चराचर जगतमा । यी अनित्य कुराहरूप्रति कुनै राग अथवा द्वेष नराखी साक्षी भावले मात्र अनुभव गर्ने बानी बसालियो भन्ने मानिस दुःखानुभूति अथवा सुखानुभूतिको जञ्जालबाट मुक्त हुँदै जान्छ । यस्तो मुक्तिको अन्तिम अवस्थालाई नै निर्वाण भनिन्छ ।”

विपश्यना साधनामा त्यही साक्षी भावलाई पुष्ट गर्ने तकनिक चरणबद्ध रूपमा सिकाइन्छ । सुरुका पहिला तिन दिनमा साधकलाई आफ्नो ध्यान नाकको दुई छिद्र वरिपरि टिकाई श्वासप्रश्वासलाई  अनुभव गर्न भनिन्छ । यसो किन भनिन्छ ? यही किन ? किन ? म आफ्नो अन्तस्करणलाई सोधिरहन्थेँ ।

यस पटकको साधना अभ्यासमा मसित नै अन्तस्करणले प्रतिप्रश्न गर्यो, “कुनै पनि मान्छे एक नवजात शिशुको रूपमा आफ्नी आमाको गर्भगृहबाहिर आउँदा सर्वप्रथम के ग्रहण गरेको हुन्छ ? अनि शरीर त्याग्न लाग्दा पनि सबैभन्दा अन्तमा के त्यागेको हुन्छ ?”

मैले मनमनै फर्काएँ, “एक पोको श्वास त हो ।”

“अर्थात् यो सांसारिक दुनियाँ र  तिम्रो यो प्रपञ्च केन्द्रबिच सम्बन्ध सेतुको प्रथम तथा अन्तिम भूमिका यही श्वासप्रश्वासले निर्वाह गरेको हुन्छ । र, साधनाको माध्यमले यो प्रपञ्च केन्द्रको भित्री तहसम्म पुग्नु छ भने श्वासप्रश्वास भन्दा सजिलो माध्यम अरू क्यै हुनै सक्दैन ।”

अन्तस्करणको तार्किक जवाफ सुनेर म कृतकृत्य भएँ । र, तिन दिनसम्म इमानदारीपूर्वक आफ्नो ध्यान श्वासप्रश्वासमा केन्द्रित गरिरहेँ ।

शिविरको दोस्रो चरणमा ६ दिनसम्म शरीरको टुप्पोदेखि पैतालासम्म पालोपालो गरी ध्यान केन्द्रित गर्न सिकाइन्छ, बिस्तारै साधकको ध्यान जता गयो, उतै कि सूक्ष्म तरङ्गको अनुभूति हुन्छ, कि स्थूल तरङ्गको । प्रत्येक तरङ्गको अनुभूति पृथक् किसिमको हुन्छ, कुनै बेला सुखद अनुभूति हुन्छ, कुनै बेला दुःखद पनि । हरेक अनुभूतिमा ध्यान केन्द्रित गर्न त भनिन्छ, तर साक्षी भावका साथ ।

हो त्यहीबाट सुरु हुन्छ, मान्छेभित्र लुकिबसेको पुरानो बानी र नयाँ अभ्यासबिच सङ्घर्षको यात्रा । कुनै बेला टाउको फुट्ने गरी दुख्थ्यो, कुनै बेला हातगोडा र कम्मर । तर नियमानुसार त्यसलाई पनि साक्षी भावले हेर्नु पर्ने । कुनै बेला मन नै फुरुङ्ग हुने खालको तरङ्ग शरीर भरी चल्न थाल्थ्यो, कुनै बेला आफू स्विमिङ पुलभित्र पसेको जस्तो अनुभूति हुन्थ्यो । तर त्यस्तो बेला पनि नियमानुसार त्यसलाई पनि साक्षी भावले हेर्नु पर्ने । कुनै मनमा नकारात्मक विचारहरू उत्पन्न हुन्थे, त्यसप्रति कुनै प्रतिक्रिया नदिई त्यसलाई पनि तेस्रो पक्षको रूपमा अनुभव गर्नु पर्ने । सकारात्मक विचारहरू उत्पन्न हुँदा पनि ठिक्क त्यस्तै अनुभव गर्नु पर्ने । अर्थात् तेस्रो पक्षको रूपमा स्वयमलाई प्रस्तुत गर्नु पर्ने । काम त्यति सजिलो थिएन । तर विगतका शिविरहरूको तुलनामा मैले एक खुड्किला अझै अगाडि पार गर्न भ्याए ।

त्यसरी एक खुड्किला पार गर्न सक्नुमा त्यहाँ उखरमाउलो गर्मी, नदीबाट आउने गमगम वासना र झ्यालबाट आउने मसिनो धुलो र कीराहरूको पनि ठुलै योगदान रहेको थियो । राती गर्मीले निद्रा नलाग्दा म गर्मीलाई पनि साक्षी भावले हेर्दै ओछ्यानमा पल्ट्यापल्ट्यै अबेलासम्म विपश्यना साधनाको अभ्यास गरिरहन्थेँ, कुन बेला आँखा लाग्थ्यो, थाहा हुँदैनथ्यो ।

बिहान ४ बजेको जागराममा कुनै बेला अनिदोको अनुभव भएन । झ्यालबाट आउने धुलो र कीराप्रति कुनै द्वेष भाव नराख्दै दिनमा दुई तिन पटकसम्म कोठा सफा गरिदिन्थेँ, नदीको सुवासतिर त पछिपछि ध्यान नै जान छुटेको थियो । थप मजेदार कुरो, बिहान नास्तामा म दिनहुँ एक स्याउ र एक केला खान्थेँ, दिउँसो खानामा एक सानो कचौरी चामल र एक रोटी खान्थेँ । र, साँझको भोजन अथवा खाजामा त्यही एक स्याउ, एक केला र एक गिलास कागती पानी मात्र पाउँथे । यी तिनै समयका भोजनलाई एक ठाउँमा जोड्ने हो भने मेरो सामान्य खुराकभन्दा एक तिहाइ नै थियो । थोरै मात्रामा खाँदा उच्च रक्तचापले दुःख दिने हो कि ? शारीरिक दुर्बलता आउने हो कि ? भनेर मनको एक कुनामा झिनो शङ्का थियो । त्यो शङ्का पनि मिथ्या साबित भयो । त्यस्तो क्यै भएन, बरु शरीर नै फुर्तिलो भएको थियो । मान्छेको शरीर थोरै खाएर होइन, बढी खाएर रोगिलो हुन्छ भन्ने तथ्य एक पटक पुनः पुष्टि भएको थियो ।

साधनाको अन्तिम दिनमा मङ्गल मैत्री साधनाको अभ्यास गराइएको थियो । मङ्गल मैत्री साधना अर्थात् कुनै भेदभाव नराखी यस चराचर जगतका सम्पूर्ण प्राणीको लागि स्वयमकाे अन्तस्करणबाट मङ्गल कामना गर्ने अभ्यास । स्वयमकाे मनभित्र आफूप्रति होस् अथवा अन्य कसैप्रति, हामीले अमङ्गल भाव राख्नु हुँदैन । मुखले जति सुकै मीठो कुरो गरे पनि मनभित्र अमङ्गल भाव राख्नु हुन्छ भने स्वयम्भित्र नकारात्मक ऊर्जाको प्रभाव फैलिँदै जान्छ । त्यसै प्रकार सबैको लागि मङ्गल भाव राख्नु हुन्छ भने स्वयम्भित्र सकारात्मक ऊर्जा विस्तारित हुन थाल्छ । यो अभ्यास पनि सोचे जस्तो सजिलो हुँदैन रहेछ । अभ्यासअगाडि मन एकदम शान्त र समताको अवस्थामा पुगिसकेको हुने पर्ने हुन्छ ।

पहिला पहिला अभ्यास गर्दागर्दै अन्यअन्य मान्छेबारे नकारात्मक भाव उठिराख्थे । यस पटक त्यसो भएन, अन्तस्करणभित्र त्यस्ता मान्छेहरूप्रति पनि करुणा जागेर आयो, जो मेरो अहितमा काम गर्दै आएका थिए अथवा मप्रति नकारात्मक दृष्टि राख्दै आएका थिए अथवा जोप्रति मैले प्रतिशोधको भाव राखेको थिए । त्यस्ता मान्छेको लागि समेत मङ्गल मैत्रीको कामना गर्दा मेरो मनभित्र फरक खाले विचार उत्पन्न भएन । बरु मनभित्र नौलो किसिमको प्रसन्नताको तरङ्ग उत्पन्न भयो ।

गज्जब भएन त ? बरु, पुरानो भाखा, “दुःख पाइस् मङ्गले – आफ्नै ढङ्गले”लाई मेरो मामिलामा फरक ढङ्गले प्रस्तुत गर्नु पर्ने देखिन्छ, “जे गरिस् मङ्गले – ठिकै गरिस् आफ्नो ढङ्गले ।”

भवतु सब्ब मङ्गलम् ।