जीवनमा असहनीय व्यथाले एउटा छुट्टै कथा जन्माउँदो रहेछ। हाँस्दा-हाँस्दै अचानक आइपरेको कहालीलाग्दो स्थितिले जीवनलाई यस्तो प्रकारले उजाड बनायो कि सबै थोक निरर्थक लाग्न थाल्यो। समयको त्यो मोडदेखि आजको यो मोडसम्ममा जति पदचापहरू परे, ती सबैलाई पछि फर्केर हेर्दै शब्द शब्दमा उनेर कथाको रूपमा लिपिबद्ध गर्न लागेको छु।
पतिको निधनपछि छियाछिया भएको मनमुटु लिएर म मुर्दा सरह जीवन बाँच्न लागेँ। पल प्रतिपल उनीसित बिताएका ती क्षणहरू, उकाली ओरालीका सुख र दुःख, जीवन गोरेटोका ती प्रेमिल बाटाहरूमा सँगसँगै एकर्काका छाया बनेर हिँडेका असीम सम्झनाले आज भएभर बिथोलिन्छु। अतीतका तुवाँलोहरूमा नै आफैलाई हराएर स्वयंलाई बिर्सिपठाउँछु।
ससाना दुई छोराहरूका भोक र तिर्खा, दुखाइ र रुवाइको ख्यालसम्म मानसपटलमा नरहने गरी म भित्रैबाट बिथोलिएको थिएँ। मेरो हाल केवल उनकै यादमा एकोहोरिएको थियो। दिन रात मनस्थिति असहनीय व्यथामा केन्द्रित बनी बिथोलिएको थियो। घाम डुब्दै गइरहेको स्थिति आँखा अघि थियो। उज्यालो, अँध्यारो, सहज र असहज सबै परिस्थितिहरूमा पनि उनैलाई खोजिहिँड्ने, सोधिहिँड्ने भएकी थिएँ।
घटना सन् १९९९ को। हामी चुङथुङ चिया कमानमा थियौँ। पति सो चिया कमानको प्रबन्धक। त्यसै अवधिमा म माथि अप्रत्याशित रूपले आइपरेको पीडादायी ७ जूनको बज्रपातको स्मरण मात्र गर्दा पनि म अझै अनायासै कहालिन पुग्छु। त्यो दिन हामी दुवैको व्यस्त कार्यक्रम थियो। कमानको कम्पनीको सिलिगुडी ब्रान्च अफिसमा मिटिङ थियो र पतिलाई सो मिटिङमा जानु थियो साथै उसै दिन उनको भाइ बुहारी (मेरो देवर देवरानी) पनि हाम्रो घरमा केही दिनलाई आउँदै हुनु हुन्थ्यो र उनीहरूलाई पनि साथमा लिएर आउनु थियो।
अब घरमा आउने पाहुनाको लागि धेरै दिनलाई खानेकुरा र अन्य आवश्यक सामग्रीहरू जोहो गर्नलाई म चाहिँ दार्जिलिङ बजार जानुपर्ने भयो। दिनको करिब १० बजेतिर हामी आ-आफ्नो गन्तव्यतर्फ निस्कियौँ।
म साँझ पाँच बजेतिर घर फर्किएँ तर उनी भने आधारातसम्म बाटो हेर्दा पनि घर फर्की आएनन्। रातको एघार बज्यो तर उनी आइपुगेनन्। त्यस बेला आज जस्तो मोबाइलको सुविधा र सेवा थिएन । त्यसैले खबर दिनको लागि पनि मानिस नै आइपुग्नु पर्थ्यो। कसो कसो मिलाएर ल्याण्डलाइनबाट सिलीगुडी ब्रान्च अफिसमा फोन गरेँ। तर फोनमा “साहेब त यहाँ बाट ७ बजे नै निस्किसक्नु भएको थियो” भन्ने जवाफ आयो।
मेरो मन विचलित भयो। आत्तिएर के गरूँ कसो गरूँ को स्थितिमा पुगेँ।
उनी आफैले बिहान बनाएको कार्यक्रमअनुसार, उनको मिटिङ सकेपछि एनजेपीबाट भाइ बुहारीलाई पनि लिएर आउने कार्यक्रम निश्चित थियो र घरमा उनीहरूको निम्ति खाना तयार गर्ने र अतिथि सत्कारको निम्ति घरको सजावट र सरसफाइ गरी व्यवस्थित राख्ने अभिभारा मेरो थियो। भाइ-बुहारीको दार्जिलिङ भ्रमण प्रथम भएको हुनाले उनीहरू अति उल्लसित थिए होला तर हामी पनि यो आसन्न भेटघाटको अवसर देखेर असीम खुसी थियौँ। महिना दिन बसेर दार्जिलिङ घुम्दा उनीहरूको सबै प्रबन्ध र परि चाँजो मिलाइदिने साथै सहयोग गर्ने सम्पूर्ण जिम्मेवारी मेरो थियो।
जून महिना कमानमा चियापत्तीको सिजन चल्दै थियो। उनलाई त घरमा बस्ने फुर्सद नै थिएन। यसैले भाइ-बुहारीको यो प्रथम भ्रमणमा घुमघाम गर्ने उनीहरूको इच्छा पूरा गरिदिने साथै मिरिक पशुपतिको हरियाली, चियाका गाछहरूले डम्मै ढाकेका हरिया डाँडाकाँडा र सुन्तला लटरम्म फलेका बारीहरूका दृश्यहरू देखाउने र अवलोकन गराउने जिम्मेवारी मैले लिएकी थिएँ।
नानीहरू गोथल्स मेमोरियल स्कुलको होस्टेलमा थिए, जसको पूर्ण व्यवस्था गर्ने र उनीहरूलाई एक महिना पहाडी उपत्यका घुमाउने सम्पूर्ण जिम्मेवारी पनि मेरो थियो। यस अवस्थामा पति भन्दा पनि मलाई धेर असारको पन्ध्र थियो भन्दा हुन्छ।
फेरि अघिकै घटनाक्रममा आउँछु। त्यसरी ७ जुन १९९९ को त्यस दिन दार्जीलिङबाट आवश्यक सरसमान लिएर म त घर फिरेर पनि उनलाई पर्खिबसेकी थिएँ तर उनी भने रात परिसक्दा पनि घर फिरेका थिएनन्। खोज्नु जाऊँ त कहाँ जाऊँ, कसबाट मैले उनको जानकारी पाउँ! यस्तै असमञ्जस स्थिति र सुर्ता फिक्रीले रात फर्लक्कै ओभानै बित्यो।
भोलिपल्ट ८ जून सह-प्रबन्धकलाई लिएर प्राय; १० बजे घरबाट निस्कनै लाग्दा अचानक परबाट उनकै जिप्सी आइरहेको देखेँ। मैले बल्ल उनी आइपुगे भन्ठानेर निश्चिन्त बन्दै गाडी आफ्नो छेउमा आउन्जेलसम्म पर्खी बसेँ। अचानक स्थिति मैले सोचेभन्दा बेग्लै देखेँ। गाडी गेटअघि रोकियो तर गाडीभित्र उनलाई कतै देखिनँ। मनमा ह्वात्तै चिसो पस्यो। मेरो होस् हवास उड्यो र निःशब्द बने। उनले लगाएर गएका जुत्ता र पेटी मात्र हातमा लिएर हाम्रो ड्राइभर देश बहादुर थापा गाडीबाट निस्केको देखी म झनै झस्किएँ।
मैले अनायासै सोधेँ- “के भयो ? खै साहेब ? देख्दिन त ?” ड्राइभर चुपचाप निरुत्तर उभिएर हेरि मात्र रह्यो। ऊ गाडीबाट आँपको ढाकी र अन्य खानेकुराहरू एक सुरमा उतार्न थाल्यो। म छक्क परेर निर्निमेष हेरिरहेँ। दोहोऱ्याएर केही सोध्ने साहससम्म नभएकाले गलाबाट केही शब्दहरूसम्म निस्कनु सकेन।
मेरो असहाय अवस्था देखेपछि ड्राइभरले मुख खोल्यो- “साहेब त बिमार हुनुभयो। फिरेर लङ्भिउ आइपुग्दा दाँत बाँध्नु भयो र लङ्भिउको प्रबन्धककोमा उहाँलाई राखेर तपाईंलाई लिन आएको।” मैले उपरान्त केही सोध्न सकिनँ। तुरुन्तै उनको चस्मा, भिक्स, चप्पल अनि केही लुगा लिएर उनै सह-प्रबन्धकसित लङ्भिउतर्फ लागेँ।
लङ्भिउ पुगेपछि थाहा लाग्यो त्यहाँको प्रबन्धकले उनको अवस्था देखेर अघिबाटै सिलीगुडी ‘सनराइज नर्सिङहोम’-मा भर्ना गर्न पुऱ्याएका रहेछन्। हामी लगत्तै त्यतै मोडियौँ।
सायद उनको अवस्था गम्भीर भएछ वा चिकित्सकहरूले नकारात्मक जवाफ दिएका थिए। त्यसैले त्यहाँ उनलाई हेर्न आएका उनकै ब्रान्च अफिसका साथी सँगी र उनीहरूका श्रीमतीहरूले मैले केही चाल नपाओस् भन्न खातिर मलाई निद्राको औषधी खुवाउने बिचार गरेका रहेछन्। यसरी उनीहरूले मलाई दबाई खुवाएर यो अवस्थादेखि बेहोसी अवस्थामा राख्ने र झट्टै केही चाल पाउन नदिने बिचार गरेका रहेछन्। मैले निद्राको दबाई लिइनँ।
बरू अत्तालिएर के भयो भनेर सोध्नतिर लागेँ। म उहाँलाई एक फेर हेर्न चाहन्छु भनी ढिपी गरेँ। तर मलाई मेरो देवरले उहाँलाई हेर्न जानबाट रोके। देवरले तपाईँ अहिले उनलाई राखेको आई.सी.यु.मा नजानुहोस् हामी हेर्छौं भनेर मलाई फर्काए वा भनौँ उनीहरूले मलाई त्यहाँबाट तर्काए।
त्यहाँ सबै अपरिचित थिए। परिचितको नाउँमा छेउछाउका प्रबन्धक र सह-प्रबन्धकहरू मात्र थिए। छोरा-छोरी आमा-बाबा मेरा साथमा यति बेला कोही थिएनन्। मैले त्यस बेला सबैलाई सम्झिएर एक्लै रोएँ। घरमा फोन गरेर आमा-आप्पा र भाइहरूलाई बोलाएँ। भाइ टाँसी डाक्टर नै भएकाले केही ढुक्क लाग्यो र यहाँ आएर बुझ्छ भनी उसलाई बोलाएँ। यता छोराहरूलाई पनि बोलाएँ। सबै आफन्तहरू आइपुग्दासम्म त असहनीय व्यथाले गर्दा म बेहोस प्रायः स्थितिमा पुगिसकेकी थिएँ। केही चाल पाइनँ।
त्यसरी ८ तारिख असहनीय गर्मीको दिन। त्यही लुगामा पसीनासरि मनभरि अत्यास बोकेर रात जागै बसेँ। उनको अवस्था गम्भीर नै थियो। बोली नै बन्द थियो। यसो हेर्दा निष्प्राण तर उज्यालिएकै अनुहार थियो। आफूसित आशाको किरण निभेको थिएन।
चिकित्सकहरूको कुनै कमी थिएन तर पनि उनको स्वास्थ्यमा २० को १९ फरक परेको थिएन। मनको अवस्था प्रत्येक क्षण क्षण टुक्रिरहेको थियो तर पनि मभित्र आशाको उजेली केही टलपल टलपल थपिँदै थियो। उनी पक्कै उठ्नेछन् अनि मसित बोल्नेछन् अनि हाम्रो संसार पूर्ववत् चलायमान बन्ने छ भन्ने मलाई लागिरहेको थियो।
८ तारिख मैले उनको अवस्थामा क्रमिक सुधार नभएपछि डाक्टर बद्ली गर्ने इच्छा व्यक्त गरेँ। कारण मलाई चिकित्सकहरूले सन्तोषजनक उपचार गरिरहेका छैनन् र नै उनको स्वास्थ्यमा सुधार नआएको होला भन्ने अनुभव भइरहेको थियो। तसर्थ चिकित्सकसँग सल्लाह गरेपछि फेरी डाक्टरहरूकै निर्देशनमा अर्को ‘प्यारामाउन्ट नर्सिङहोम’-मा लग्यौँ। त्यहाँ पनि उनको विभिन्न चेकअपहरूसित उपचार भयो। तर केही बिसेक भएन।
झनै गम्भीर हुँदै नै गयो उहाँको स्वास्थ्य स्थिति। पैसाको धेरै खर्च हुँदै गइरहेको थियो तर पनि उनी बाँचेको र हाँसेको मलाई हेर्नु थियो। भोलिपल्ट हामीले डाक्टरहरूबाट हेर्ने अनुमति पायौँ केवल ऐनाबाट। उनी आई.सी.यु.मा बेडमा सुतिरहेका थिए। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाको कुनै ठोस् जानकारी गराएका थिएनन्। हामी के गर्न सक्थ्यौँ र ! म मर्नु र बाँच्नुको स्थितिमा छटपटिइरहेकी थिएँ। भाव शून्य भएर म अस्पतालको बिल्डिङमा तलमाथि गर्दै थिएँ।
एक त यस्तो बेलामा आफूसित सबै भएर पनि कोही नभएको बराबर नै थियो। उनको रिक्ततालाई पूर्णता दिन सक्ने उनी बाहेक अरू को नै हुन सक्थ्यो र!
डाक्टरहरूसित मेरा भाइ बुहारीले उनको स्वास्थ्यको जानकारी लिइरहेका थिए। ७ तारिकाबाट नै हामी सबै भोक-तिर्खा बिर्सेर हसिन-पसिन हुँदै अस्पतालमा बसेका थियौँ। हाम्रो श्वास र साहस पनि कमजोर हुँदै गइरहेको थियो। उनलाई आई.सी.यु.मा हेर्न जाने आँट बनिरहेको थिएन। मैले आफ्नो घरको देउतादेखि संसारको सबै भगवानहरू समक्ष प्रार्थना गर्दै बलबिन्ती मागिरहेको थिएँ।
यही आत्तेस र निराशाले व्यग्र रातिको बाह्र बजेर केही समय गएको हुनुपर्छ भाइले बुहारीसित “दिदीलाई साँचो कुरा भनिदेऊ” भनेर कुरा गर्दै गरेको मेरो कामना परिहाल्यो। बुहारीले मलाई भन्नै परेन, मैले सुनिहालेँ। म निःशब्द बनेँ। म बिथोलिएँ। मुख सुकेर आयो। प्राण पखेरु गएजस्तो आभास हुँदै म स्वयंको पनि शरीर अचल हुन लाग्यो। केही सोच्न र सुन्न सकिनँ। म भाव शून्य भएँ। उनी नरहेको खबरले मलाई आफू उभिएको जमिन भासिँदै गए जस्तो र जीवनको घाम-जून सबै डुबेको भान भयो। कति कहालिएँ, कति रोएँ, कति मुर्छा परेँ कुनै हिसाब छैन।
= = =
आज यतिका वर्षहरू बितेपछि सम्झनाका कोरिडोरमा उनकै आहटको अनुभूति भइरहन्छ। उनीबिनाको यी दिन महिना र वर्षहरूमा कुनै हर्ष छैन, खुसीयाली छैन। जीवनभरि साथ दिन्छु भन्ने बाचा बन्धन राख्ने मान्छेले यसरी एक्लै पारेर मलाई छाडेर कसरी जान सक्छ? यो मेरो लागि संसारकै अपत्यारिलो घटना थियो, एउटा ठुलो प्रश्न थियो।
म त्यही दिनबाट सद्दे एक्लो भएँ। अब जुनै खुसी मैले पाए पनि उनी बिना निस्तो नै लाग्छ। उनी बिनाको यो उदास र उराठिलो जीवन मलाई अस्वीकार भए पनि श्वास मात्र फेर्दै छोराहरूका लागि बाँचिरहेकी छु। उनीपछि ममा आइपरेको पारिवारिक जिम्मेवारीहरू अब नितान्त मेरो भयो। मसिना छोराहरूलाई सम्हालेर राख्ने अभिभारा म आमासित थियो। सङ्घर्ष गरेर लडेर पनि अघि बढेर दुई छोराहरूको शिक्षा पुरा गरेँ।
समय चक्रले सबैको नजरबाट त्यो सम्पूर्ण घटना परिघटना विस्मृतिमा पुरिए तापनि मेरो स्मृतिको गर्भमा भने आलै छ। मलाई हिजैजस्तो लाग्छ मेरा यी गलाबाट पोतेका हरेक दाना चुँडिएको दिन, उनैले सजाएका सौन्दर्यको मुहारबाट हाँसो हराएको दिन, उनले नै रङ्गाएको सिउँदोको सिन्दूर भुइँमा झरेको दिन र त्यही सिउँदो मुन्तिरको बिन्दुली टिका उक्किएको दिन। म अलपत्र परेको दिन। मेरो क्षितिजबाटै उज्यालो किरण हराएको आज २४ वर्ष बितेर पुरा २५ वर्ष पुग्दा म मेरो भि.के (पति) को सम्झनालाई प्रगाढता दिँदै, मुटुभरिको औडाहा पोख्दै, थर थर काँपेका औँलीहरूले कलम समातेर व्यथालाई शब्दहरूमा लिपिबद्ध गर्न पाउँदा आफ्नो इच्छाले पूर्णता पाएको अनुभूत भइरहेको छ।
प्रिय भि.के ! तिमी मेरो स्मृतिको प्रत्येक आहटमा जीवन्त रहनेछौ, श्वास प्रश्वासमा अनुभूत भइरहने छौ, भइरहने छौ… ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।