प्रकृतिले सिँगारेको डाँफे चरीजस्तै सुन्दर छ— त्यो गाउँ । तल हरियो फाँट छ । त्यहाँको हावापानीजस्तै जनजीवन पनि सरल छ । पौरखी भोकले मर्दैन । यो भनाइ त्यहाँका मानिसमा लागू हुन्छ । उनीहरू खेतीपाती र पशुपालनमा निर्भर छन् । सहरको गन्ध पस्तै नपसेको गाउँले परिवेश छ । फाँटको मुकुटजस्तै देखिने खाट डाँडाको थुम्कोमा भलायडाँडा स्कुल छ ।

सबै विद्यार्थीको दिनचर्या उस्तै उस्तै नै छ । सबै बिहान सबेरै उठ्छन् । जेजस्तो मिल्छ खान्छन् ।  डोको नाम्लो र हँसिया लिएर “माछी काँ छ, खोलीको लेउ-लेउमा छ, माया काँ छ, कलेजी छेउ-छेउमा, पानी तालैमा, मलाई बोलाऊ है जाने बेलैमा” जस्ता लोकगीत गाउँदै खेतबारीमा पसेर एक डोको घाँस ल्याउँछन् अनि स्कुल जाने गर्छन् ।

हो, त्रिशूलीमा सेती मिसिएझैँ म पनि उदयपुरकाे नेपालटारमा तिनीहरूसँगै मिसिएँ ।

रहरको बेला । उत्साह र उमङ्गको बेला । हामी तीन दिदी-बहिनी र दुई जना भाइ एकसाथ स्कुल जान्थ्यौँ । पढाइ पनि खेलजस्तै रमाइलो लाग्थ्यो । जिन्दगी पुतलीजस्तै लाग्थ्यो । दिनहरू उत्सवजस्तै लाग्थे । बारीमा मौसमअनुसार अम्बा, आँप, लिची, कटहर र खनिउँ फल्थे । तिनका रूखमा चढेर स्कुलबाट फर्कँदा भोकले राँकिएको पेटको जलनलाई शान्त पारिन्थ्यो ।

भोक पनि हरेक युगको एउटा व्यथा हो, बिनादुर्घटना हुने घाउ हो । स्कुलबाट फर्कँदा फर्कंदै रूख चढेर  फलफूल खाएपछि प्राथमिक उपचारले घाउ निको पारेझैँ लाग्थ्यो । बल्ल घर आइन्थ्यो । बाख्रापाठा, गाईगोर र भैँसीको यथोचित सेवा गर्नुपर्ने जिम्मेवारी हुन्थ्यो । सो काम हाँसिखुसी गरिन्थ्यो । बेलुकाको खाना खाएपछि दिदीभाइ, दाजुबहिनी एउटै टुकीको वरिपरि बसेर आ-आफ्ना गृहकार्य गर्थ्याैं । गृहकार्य सँगसँगै हाम्रा अतिरिक्त क्रियाकलापको मुख्य समय आउँथ्यो । त्यसमा ठट्टा गर्ने, चिमोट्ने, चल्ने अनि बाआमाले थाहा पाउनु होला र गाली खाइएला भनेर हाँसो भित्रभित्रै दबाउने । भित्रभित्रै त हाँसेर भुतुक्क पनि भइन्थ्यो, हाँस्दाहाँस्दै आँसु नै आउने कार्यसमेत हुन्थे तर पनि अतिरिक्त क्रियाकलापका यी तमाम कार्यहरू बडो गोप्य रूपमा सम्पादन गर्नुपर्ने हाम्रो बाध्यता थियो ।

बडो आनन्दका थिए हाम्रा ती दिनहरू ।

कहिलेकाहीँ बेस्सरी हाँसो उठ्थ्यो । भित्रभित्रै दबाएको हाँसो थाम्न नसकेपछि एकसाथ खित्का छुट्थ्यो । घरै उचालिने आवाजले ध्यान भङ्ग पारेपछि बाको रिसले सगरमाथा छुन पुग्थ्यो । त्यसपछि सुरु हुन्थ्यो बाको धुँवाधार गाली । गालीको फोहरा सुनेपछि हाम्रो पनि विपश्यनाजस्तै ध्यान सुरु हुन्थ्यो । पूरै ज्ञानी बन्थ्यौँ हामी सबै बाँदरहरू । मानौँ हामी बुद्धत्वको निकट छौँ । बुद्धकै जस्तो शान्त मुद्रा वरणपछि पुनः  गृहकार्य सम्पन्न गर्नेतर्फै लाग्दथ्यौँ । हाम्रा लागि हरेक दिन नयाँ बनेर आउँथे । हरेक दिन रमाइलोका नयाँ शृङ्खला थपिन्थे । “शोक न सुर्ता भोक न भकारी” भनेझैँ सबैतिर उमङ्गै उमङ्ग थियो । कुनै चिन्ता थिएन । कुनै सुर्ता थिएन ।

० ० ०

 २०३७ साल जेठ महिनातिरको कुरा हो, मलाई एक्कासि ज्वरोले सताउन थाल्यो । अहिलेको जस्तो भए त कोरोना भनेर क्वारेनटाइनमै राख्थे होलान् । तर त्यो बेला त कोरोनाको हजुरबाबु नै पनि जन्मिसकेको थिएन होला शायद । त्यसैले क्वारेनटाइन र आइसोलेसनजस्ता शब्दहरूसँग परिचय गर्नै परेन । त्यो त खासमा टाइफाइडको ज्वरो रहेछ भन्ने कुरा अहिले याद हुन्छ । आज छोड्ला, भोलि छोड्ला भन्दाभन्दै दिन, साता, पक्ष हुँदै महिना बित्यो । म झन् झन् उठ्नै नसक्ने हुँदै गएँ । शरीरमा तागतको “त” सम्म पनि बाँकी रहेन । हातखुट्टा चल्नै नसक्ने भइसकेका थिए । हुँदाहुँदै शरीरै पनि अरूको सहाराविना ओल्टोकोल्टो फेर्नै नसक्ने भयो ।

परेला र खाने मुखबाहेक कुनै पनि अङ्ग मेरा वशमा थिएनन् ।

महिनौँदेखि नुहाउन नपाएर सायद नमिठोसँग गनाएकी थिएँ हुँला । झिँगाहरूका लागि चाहिँ खेल्ने र झुल्ने चौतारो जस्ती भइसकेकी रहिछु । आखिर अवस्थाकै कुरा न हुन्— मौका परेपछि हात्तीलाई पनि भुसुनाले रुवाउँछ भन्छन् । त्यो बेला मेरो भन्दा झिँगाको दिन बलियो थियो । मेरो अनुहारभरि भन्किन्थे । हुल बाँधेर विचरण गर्न भ्याइहाल्थे । च्यइँयँ गर्दै फुर्फुरिन्थे । नाकैमाथि बसेर खूब हात धुन्थे । जहाँ मन लाग्यो त्यहीँ ठुङ्थे । मस्तले चर्थे । मानौँ म उनीहरूका लागि पोसिलो आहारा हुँ । रसिलो चरन क्षेत्र हुँ । उनीहरूकै नाममा हकभोगको लालपुर्जा निकालिसकिएकी एकलौटी खुराक हुँ ।

कठैबरी म ! देख्दादेख्दै यति दीन-हीन बन्न पुगेँ !

जेठ महिनादेखि चलेको यस किसिमको दिनचर्याको शृङ्खला साउन महिना पुग्दासम्म झन् झन् बिग्रँदै गएको थियो । सुधार हुुनुको सट्टा खस्किँदै थियो । कहिले चेत अवस्थामा त कहिले इन्तु न चिन्तुकै हालतमा रहन्थेँ । मेरो जीवन रक्षार्थ खटिनुभएकी सबैभन्दा ठुली डाक्टर भनूँ या सुविधा सम्पन्न अस्पताल, मेरी प्राणप्यारी आमा मात्रै हुनुहुन्थ्यो । वहाँ नै वैद्य र वहाँ नै झाँक्री पनि  । उहाँले जाने जति सबै झारफुके मन्त्र गर्नुहुन्थ्यो । साँझ बिहान दैलाबाट पहेँला, राता र काला अक्षता फाल्नुहुन्थ्यो । स्वस्थानीको ‘यं ब्रह्मा वरूणेन्द्र रूद्रमरूत’ भन्दै मेरो निधारमा खरानी दलेर फुकिदिनुहुन्थ्यो । यो दोखकै ज्वरो हो हेर्न आउने छिमेकीले । आउने जतिले सुझाएसम्म र भेटिएसम्म सबै जडीबुटी पनि खुवाउनुभयो ।

पुरानो जमरा पिँधेर, सयपत्रीको फूलको चन्दन बनाएर, हाडेबदाम घोटेर र अरू पनि के के हो के के खुवाइ नै रहनुभयो ।

दिउँसो काममा जाँदा कसैले आमालाई सुनाएछन्— “यो दोखको जोरो हो । अर्थोकले यल्लाई निको पार्न गाह्रो छ । हुट्टिट्याउँको फुल पानीमा पकाएर ख्वाउन सकियो भने मात्रै बिसेक हुन्छ ।”

नारान शिव, मेरी आमा ! उहाँलाई हुट्टिट्याउँको फुलको हुटहुटीले सतायो । कहाँ कहाँ खोज्नुभयो होला ? को को इष्टमित्र गुहार्नुभो होला ? कुनै आफन्तको माध्यमबाट हुट्टिट्याउँको फुल त हैन, कपासको टुक्रो घरमा आइपुग्यो । हुट्टिट्याउँको फुल कपासमा राखेर सुकाएको रे ! त्यो कपासै पानीमा पकाएर पनि मलाई खुवाइयो । मेरो बेथा भने बिसबाट उन्नाइसमा झरेन ।

कठै मेरी आमा, उनको छोरी बचाउने आशा भने घट्दै घटेन ।

छिमेकीहरू बेला बेलामा मलाई हेर्न आइरहन्थे । मेरो उँधो लाग्दो हालत देखेपछि खस्याक् खुसुक् गर्दै आमासँग कुरा गर्थे । उनीहरूसँगको खासखुसपछि आमा लुसुक्क बाहिर निस्कनुहुन्थ्यो । एक छिन कतै हराउनुहुन्थ्यो र बटुकोमा अलिकति झोल बोकेर आउनुहुन्थ्यो । मान्छेपिच्छेका सल्लाह अनि सल्लाहबमोजिमका अनेकानेक रङका झोल बनाइरहनु हुन्थ्यो । कुनै टर्रो, कुनै खल्लो न खल्लो, कुनै असाध्यै तीतो र कुनै चाहिँ हेर्दै दिगमिग लाग्ने खालका हुन्थे ती औषधीहरू ।

यस्ता औषधीहरू बनाएर ल्याएपछि मेरो शिर आफ्नो काखमा राख्नुहुन्थ्यो । आशा र निराशामिश्रित नजरको मायालु हेराइले मसँग आँखा जुधाउनुहुन्थ्यो । अनि बटुकाबाट तुरूक् तुरूक् पार्दै तिनै अनेक थरीका झोलहरू खुवाउन थाल्नुहुन्थ्यो । मलाई पनि लाग्थ्यो आमाले खुवाएको यो झोल नै सञ्जीवनी हो र यसले चाहिँ च्वाट्टै निको पार्नेछ ।

बाँच्न पाउने यही आशाले सकी-नसकी पिउँथेँ घुटुक्क घुटुक्क । निकै समयपछि मात्र भाइबहिनीमार्फत ती झोलहरूका रहस्यहरू खुल्दै गए । गँड्यौला, चिप्ले कीरादेखि खुम्रे कीरासम्म र केराको थाममा पाइने गभारो उब्जाउने कीरादेखि दशौँ थरीका गन्धेझारसम्मका धरती माताका प्रिय सन्ततिहरू मेरो प्राण रक्षार्थ बलि चढिसकेका रहेछन् । ढिलै भए पनि थाहा त पाएँ, तर थाहा पाएरै पनि गर्न त के नै सकिन्थ्यो र ! अब त्यति बेला आएर उल्टी गर्न बल गरेर पनि त भएन केरे ! ओखती नै हो भनेपछि ठिकै छ भनेर चित्त बुझाउनु बाहेक अर्को उपाय पनि त के थियो र ?

म्याँ म्याँ गरेर मेरा पछिपछि दगुर्दै खोले माग्ने प्यारा मुनेहरूले मलाई नदेखेको महिनौँ भइसकेको थियो । ती मुनेहरूले मेरो बाटो हेरेर घाँस र खोले पाउने आस नै मारिसके होलान् । भर्खर जन्मिएका साना मुनेहरूले त मलार्ई बिर्सी नै सकेका थिए होलान् । घाँस हाल्न जाँदा फ्वाँ गर्दै तर्साउने अनि खुच्चिङ भनेझैँ गरेर मुन्टो हल्लाउँदै जिस्किने बानी परेका साथीजस्ता झाले र माले गोरुहरू पनि न्यास्रिए होलान् । उनीहरूलाई के थाहा म निरीह प्राणी बनेर बाध्यताको ओछ्यानमा लम्पसार परेको पर्‍यै छु । पासो थापेर मौका कुरिरहेको कालसँग लडाइँ जितेर फुर्फुरिँदै उठ्ने आसमा सकी नसकी श्वास फेर्दै छु ।

शरीर जति नै अशक्त भए पनि पुतलीजस्तै फुर्फुराउने चञ्चले मन भने मसँगै छँदै थियो । यो मन कहिले पौवा र बैजनाथ खोलामा पौडी खेल्न पुग्थ्यो । कहिले स्कुलको सांस्कृतिक कार्यक्रममा गीत गाइरहेको हुन्थ्यो । कम्मर मर्काई-मर्काई नाचिरहेको हुन्थ्यो । काली भैँसीका ढाडैमा चढेर ऊ सँगसँगै गैह्रीको आहालमा पौडिन्थ्यो । गणेश चौथी मनाउँदै छिमेकीका उखु र काँक्रा चोरेर रमाइलो गरिरहेको हुन्थ्यो । घर मुन्तिरको ठुलो आँपको टुप्पोमै पुगेर काँचा आँपहरू नै टिपेर खाइरहेको हुन्थ्यो । तर मलाई व्यथाले नमिठोसित चिमोटेपछि मसँगै दुख्न आइपुग्थ्यो— टुप्लुक्क । असह्य कष्टसँगै मीठो कल्पनाको शृङ्खला घरीघरी भङ्ग हुन्थ्यो । म भने भिजेको चिसो सिरानीमाथि साबिककै ओछ्यानमा मुढोझैँ ढलेकी हुन्थेँ । कल्पनाको संसारमा तुवाँलो लाग्थ्यो । म मेरै हालतमा फर्किन्थेँ । उही असहाय र हृदय विदारक हालतमा । मेरो निधारमा हात राखेकी उनै आमाको सुँक्कसुँक्क मात्र सुनिन्थ्यो र वातावरण निस्तब्ध बन्थ्यो !

आमा हुनुको अर्थ, मर्म र पीडालाई कसो कसो मैले पनि बुझ्न सक्ने खालको तर एकदमै बोझिलो वातावरण बन्थ्यो ।

लामो समय रोगशैयामा हुँदा अनेकानेक घटना-प्रसङ्गहरू पनि मनमा आए । भनूँ न, सम्झनाका तरेलीमा पौडिँदै गर्दा कैयौँ पटक हाँसेकी र रोएकी पनि भएँ म । ती धेरै कुराहरूबारे मलाई उत्ति चासो पनि छैन अब । तर एक दिन भएको अविस्मरणीय घटनालाई भने चाहेर पनि अझसम्म भुल्न सकेकी छैन मैले । समयले जीवनका धेरै सम्झनालाई धूलीसात् गरिसक्यो । तर त्यो घटना-प्रसङ्ग कहिल्यै पुरानो हुँदै भएन । विस्मृतिको खाडलमा पुरिन नै सकेन ।

जहिले पनि त्यो विशेष प्रसङ्ग मेरो स्मृतिको पर्दामा सलबलाइरहेकै हुन्छः

म महिनौँदेखिकै साबिकको कोठा र ओछ्यानमा सुतिरहेकी थिएँ । मेरो सम्पूर्ण शरीर अरू बेलाभन्दा निकै बढी दुखिरहेको थियो । मुखमा थुक सुकसुकेजस्तो भएको थियो । चिसो भएको थियो शरीर पनि र सम्भवतः मन पनि । आमाले बेलाबेलामा मुखमा पानी राखिदिनुहुन्थ्यो र म निल्न खोज्थेँ । घाँटीमै गाँठो परेझैँ हुन्थ्यो । पटक्कै निलिँदैनथ्यो । आँखा सुख्खाजस्ता भएका थिए । अनौठोसँग बिझाइरहेका पनि थिए  । जति बल गरे पनि मैले छ्याङ्ग देख्न सकिरहेकै थिइनँ ।

तर अनौठो जादु भयो अकस्मात् । ज्यान सुते पनि आँखा खुलै थिए । एकाएक आँखा छ्याङ्ग भए । झरीपछि खुलेकोजस्तो कञ्चन र सफा आकाश देखिरहेकी थिएँ । मेरा आँखा आकाशमाथि उडिरहेको एउटा अनौठो दृश्यमा ठोक्किन पुगे । मैले दन्त्यकथामा सुनेको पुष्पक विमानजस्तै फूलैफूलले सिँगारेको एउटा भव्य विमान देखियो— आकाशमै । विमानमा जम्मा नै एक जना व्यक्ति बसेका थिए र ती मुस्कुराइरहेका थिए । तिनको अनुहार दिव्य अनि मुस्कान पनि भव्य थियो । ती अरू मान्छेहरूभन्दा अलि पृथक् र अलि ठुला पनि देखिन्थे । पहेँलो रङ्गको झिलमिले वस्त्रमा सजिएका थिए उनी । मान्छे हुन् अथवा कुनै दिव्यपुरुष मैले खुट्याउनै सकिनँ । उनी चढेको विमान बादल डुलेको चालमा आकाशमै डुल्दै थियो । म आँखा झिमिक्क नगरी उनैतिर हेरिरहेकी थिएँ । उनले पनि मलाई नै हेरिहरेका थिए । हेराइ अत्यन्त स्नेहालु थियो । मेरी आमाले मलाई काखमा सुताएर आँखामा हेरिरहेजस्तै ।

विमानले म भए तिरको बाटो समात्यो । त्यो विमान पनि स्वचालित नै थियो कि कुन्नि— ती मान्छेले पनि विमानको उडान र अवतरणका लागि केही गरेकै थिएनन् । उनको ध्यान मतिर मात्रै थियो । लाग्थ्यो, म उनकी कोही आत्मीय जन हुँ । उनी पनि मेरा आफन्त हुन् । आदरणीय व्यक्तित्व हुन् । मैले याद गर्न नसकेका नजिकका नातेदार हुन् ।

हामी दुवैले एक अर्कालाई एक तमाससँग हेरिरहेका थियौँ । उनका चमत्कारिक आँखा अनि वात्सल्यपूर्ण हेराइका कारणले पनि होला— छिनको छिनमै तिनले मेरो मन जितिसकेका थिए । वर्षौंपछि मीराले श्रीकृष्णको दर्शन गर्न पाउँदा अपार खुसीले छचल्किएझैँ गद्गद् बनेकी थिएँ म पनि— छिनको छिनमै । सिङ्गो आकाशमा मैले उनलाई मात्र देखिरहेकी थिएँ । शायद उनले पनि धर्तीमा मलाई मात्रै देखेको हुनुपर्छ । विमान मन्दमन्द गतिमा मेरो ओछ्यानतर्फ आफैँ अवतरण हुँदै थियो । मेरो सम्पूर्ण ध्यान त्यो विमान र त्यसमा विराजमान तिनै दिव्य मुहार भएका पुरुषतर्फ मात्र थियो ।

विमान मेरो छेवैमा अवतरण भयो । तर पनि उनी विमानमा बसिरहेकै थिए । विमानमै बसी बसी तिनले बडो स्नेहपूर्वक मेरो टाउको सुमसुम्याए । उनको स्पर्शले म वणर्नातीत रूपमै आनन्दित बन्न पुगेँ । सत्ते सत्ते ! छिनमै उनको त्यस स्नेहको कञ्चन दहमा आनन्दले पौडिन थालेँ म । भोकाएको दुधे बालकसामु आफ्नी आमा आएर मुस्कुराउँदा त्यो बालकमा जति खुसी छाउने हो, मलाई पनि त्यस्तै अनुभूति भएको थियो ।

उनी हजुरबा उमेरका जस्ता देखिन्थे । म सानी चुलबुले नातिनी जस्ती । स्नेहसाथ उनले म बालिकालाई उठाए । उजुर बाले नातिनीलाईझैँ बडो वात्सल्यका साथ आफ्नो काखमा राखे । त्यसपछि त झन् उनी जन्म जन्मान्तरदेखिका आफन्त हुन् जस्तो भान भयो मलाई । पराई ठानेको भए पो आमा, बा, दिदी भाइ, बहिनी गुहारेर चिच्याउँथेँ होला । तर मैले कसैलाई पनि सम्झिनँ त्यस बेला र सहर्ष बसिदिएँ उनको काखमा ।

जब म उनको काखमा पुगेँ, विमानले अघि अवतरण गर्दाकै गतिमा फेरि बिस्तारै आकाशतर्फ उचाइ लिँदै गयो । म उनको काखमा आनन्दले बसिरहेँ, बसिरहेँ, बसी नै रहेँ…..

कति समय उनको काखमा बसेँ भन्ने त यकिन छैन मलाई । तर पनि मैले थाहा पाउँदापाउँदै विमानले बादलका धेरै थेग्लाहरू पार गर्‍यो, एउटा अँध्यारो सुरुङजस्तोबाट पनि छिर्‍यो, फेरि आँखै तिरमिराउने उज्यालो भएको ठाउँमा पनि पुग्यो ।

म मुग्ध भएर हेरिरहेकी छु— विमान चन्द्रमाका छेउबाटै उडेर अझै अगाडि बढ्यो, आकाशमै एउटा तालजस्तो ठाउँ पनि आयो, त्यसलाई पनि पार गर्‍यो, कञ्चन नीलो आकाशबाट उडाउँदै लगेर ताराहरूको छेउमै पुर्‍यायो ।  यस्तो रमाइलो उडान भइरहेकै बखतमा लौन नि, विमान त पुच्छ्र्र्रेताराको पुच्छरबाट पो छिर्न थाल्यो । त्यो पुच्छरमा त कनिका छरिएजस्तै तारैतारा रहेछन् ।

तारामै घुँडा ठोक्किएलान् कि भनेर मनमा चिसो पसेकै बेला खै केको सन्तुलन नमिलेर हो, म त ती दिव्य पुरुषको काखबाट फुत्त खस्न पुगेछु । आकाशको त्यति माथिबाट अकस्मात् खस्ता म बेस्सरी झस्केर आत्तिएँ, तर्सिएँ । कानमा पनि स्वाइँय गरेर बेस्सरी हावा बज्यो । अब म भुइँमा बजारिँदा एकै चोटि धुलोपीठो हुन्छु भनेर असाध्यै डराएँ । हातखुट्टा चलाएर चिच्याउन खोजेँ तर आवाज निकाल्नै सकिनँ । जीउ थरथर काम्यो । घाँटी क्याप्प थियो, ऐँठन होलाजस्तो भयो । म विचलित भएर डराएर अलि अस्वाभाविक ढङ्गले नै छटपटाएछु क्यारे । बल्ल आमाले टाउको र हात समाइरहनु भएको सम्झना आयो ।

आँखा खुलै थिए । आकाश उस्तै थियो— झलमल्ल । केही बादलका टुक्राहरू नाचिरहेका थिए । भँगेरा र गौँथलीहरू फुर्फराउँदै यताउता उडिरहेका थिए, तर मलाई काखमा राखेर अन्तरिक्ष यात्रामा उडेका ती दिव्य पुरुष कतै देखिएनन् । उनी त निमेषभरमै अलप भइसकेछन् । साँझ पर्न पर्न लागेको बेलुकीपखको समय हुँदो हो । महिनौँदेखि सुतेको साबिकको ओछ्यानमा रहिनछु । साबिकको कोठा पनि हैन । साबिकको तला पनि हैन । म मेरो घरको छानोमुनि नै थिइनँ ।

खुला आकाशमुनि घरको आँगनको छेउमा ! त्यहाँ तुलसीको ठुलो मठ थियो । त्यतैतिर सिरानी फर्काएर लगाइएको सानो ओछ्यानमा सुतिरहेको अवस्थामा पो रहेछु । बाबै नि ! त्यो परालको ओछ्यान ! शायद घरको छानोलाई दया लागेछ क्यारे, मलाई अलिकति सियाँल ओढाएछ । शायद घामले मेरो अवस्था हेर्न सकेनछ क्यारे पारिजातको हाँगोमा छेको परेर पश्चिमपट्टि चिमचिम गरिरहेको थियो !

मेरा वरिपरि मान्छे नै मान्छे थिए । ती मान्छेहरूमा मेरा परिवारका सदस्यहरू मात्र थिएनन् । शायद मेरो शरीरको महायात्रा गराउने प्रबन्ध गर्दै थिए । तिनका आँखा मतिर तेर्सिएका थिए । मलाई एक टकसँग नियालिरहेका रहेका थिए । मानौँ मेरो अन्तिम सासलाई कुरिरहेका थिए । मैले परालको तकियामाथिबाटै  सकी नसकी टाउको घुमाएर चारैतिर हेरेँ । सबैका आँखा रसाएका देखेँ । साना भाइबहिनीहरू रोइरहेका देखेँ । मैले तर्सिएर ऐँ ऐँ गर्नासाथ सबैका अनुहारमा अनौठो भाव छल्किरहेको देखेँ । आमाको मुखबाट पहिलो वाक्य निस्कियो— “अब यो छोरी फर्किई ।” फेरि भन्नुभयो— “ममाथि ठुलो कृपा गर्‍यौ भगवान् !”

यतिखेर त्यो घटना सम्झिँदा आफैँलाई अचम्म लाग्छ, कहाँबाट फर्किई ? किन फर्किई ? कसरी फर्किई ? तिनै वृद्धको साथमा माथि तिरै गएर उनैका साथ बसेकी भए के हुन्थ्यो ? सम्झना हुन्छ— सम्भवतः म गएकी थिएँ । सकिएकी थिएँ । माया मारेर परम् गतिका लागि तुलसीको मठमा सारिएकी थिएँ ।

अहिले सोच्छु, गएकी भए के हुन्थ्यो ? आमा मेरो वियोगमा रुनुहुन्थ्यो । जन्म दिनु, हुर्काउनु र आठ वर्षको उमेरसम्म गरेको मायाको आगोमा रापिएर जीवनभर जल्नुहुन्थ्यो । घर परिवारलाई मेरो अभाव कति दिन सड्किँदो हो ? अहिलेसम्म मलाई कसले सम्झनामा राख्दो हो ! कसको मसँग के स्वार्थ हुँदो हो ? किन हुँदो हो ? नजिकका आफन्तको माया पनि एउटा स्वार्थ नै हो । बाटोमा हामी कतिका लास देख्छौँ । तर रुँदैनौँ किन ? किनभने त्योसँग हाम्रो स्वार्थ थिएन । त्यसैले लोकमा स्वार्थ रुन्छ ।

त्यस दिनदेखि मेरो जिन्दगीले नयाँ मोड लिन थाल्यो । मेरो स्वास्थ्यमा सुधार आउँदै गयो । बिस्तारै हात, खुट्टा चलमलाउँदै गए । अरूको सहाराले उठ्न परे पनि आफैँ थामिएर बस्न सक्ने भएँ । हुन त म फेरि शिशु अवस्था फर्किएझैँ भइसकेकी थिएँ । बिस्तारै बामे सरेर घस्रिन थालेँ । सात-आठ वर्षको मान्छे बामे सर्नु भनेको अनौठो र अपत्यारिलो कुरा नै हुन सक्ला— तर सत्य यही थियो । मेरो शरीरले जिन्दगीमा दुई पटक बामे सरेको छ । भविष्यमा अझै कति पटक सर्नुपर्ने हो — त्यो मलाई अहिले नै थाहा हुने कुरै भएन ।

जिन्दगीका हरेक मोडमा मेरो दिमागले एउटा अनुत्तरित प्रश्न गरिरहन्छ— म किन फर्किएँ ?

र, यसको उत्तर खोज्ने जिम्मा चाहिँ मैले अब समयलाई नै छोडिदिएकी छु ।