रुखबाट पुरानो पातहरू झर्नु अनि नयाँ पलाउनु- यो संस्कारलाई स्वयम् भगवानले त जित्न सकेका छैनन् भने हामीहरू मानव ! मेरी आमाको स्वर्गारोहण साँच्चै एउटा प्राकृतिक निरन्तरता थियो ।

गत वर्ष, आजैको दिन । नेपालबाट खबर आएपछि म आफैँ मेनेजरलाई भेट्न गएँ र दुःखको खबर सुनाए ।

“म भोलिबाट काममा आउन्न । मेरी आमा यो संसारबाट बिदा हुनुभयो ।”

मेनेजरले निकै भावुक भएर जिज्ञासा राखे- “कति वर्षको हुनुहुन्थ्यो ? केही रोग थियो कि ?”

“९२ वर्षको । केही रोग थिएन ।”

“अहो ! ९२ वर्ष ! उहाँको ९२ वर्षको जीवन सुखमयसँग नै बित्यो त ?”

उसलाई मैले उत्तर दिएँ- “सुखमयसँग नै बित्यो । उहाँलाई गाह्रो भएन ।”

उनलाई मैले उत्तर त दिएँ तर म आफैँलाई मेरो उत्तरमा विश्वास लागेन । म सन्तोष भइनँ । किनकि मेरो आमाको पूरै जीवन सुखमय थिएन । उहाँले उत्तरार्धमा जति सुख भोग गरे पनि पूर्वार्धको जीवन कहालीलाग्दो थियो । अत्यासलाग्दो थियो ।

राणाकालजस्तो सामन्त युगमा जन्मनु र हुर्कनु सजिलो थियो र ? पञ्चायत शासनजस्तो कठोर अवस्थामा रहन-सहन गर्न सहज थियो र ? बहुदलीय व्यवस्थाजस्तो भद्रगोल वातावरणमा घर-व्यवहार गर्न सजिलो थियो र ? तर उहाँलाई पार गर्न बाध्य थियो, पार गर्नुभयो । यी त थिए हरेक नेपाली नागरिकले भोगेका र सहेका सकसहरू, अनि राष्ट्रिय स्तरको परिपाटी ।

मेरी आमाको त्योभन्दा अर्को सकस थियो पारिवारिक सकस । तीन वर्षको उमेरमा बाबुको मृत्यु । आठ वर्षको उमेरमा हजुरबाबुको मृत्यु ! १५ वर्षको उमेरमा आफूभन्दा अलि पाको उमेरको व्यक्ति, मेरो पिताजीसँग विवाह । २२ वर्षको उमेरमा आमाको मृत्यु, त्यसपछि एक्ली । अभिभावकविहीन । के एउटी नेपाली नारीको जिन्दगी सहज थियो । अझ अर्को सकस मेरी आमाले ब्यहोर्नु परेको थियो कि ! आफ्नो नजिकका नाता पर्ने फुपू (बाबुको बहिनी) र उनका श्रीमान् नै सबैभन्दा ठुलो लुटाहा भएर निस्कनु साथै मेरी आमाको सम्पत्ति हडप्न खाेज्नु । अर्को क्रूर बज्रपात थियो- मेरी आमाका सम्पूर्ण ६ जना काकाहरू एक-एक गरेर मर्नु । त्यो धिताल परिवारको पुत्र नाश नै भएको थियो ।

कसरी त्यत्रो विघ्न बज्रपात एउटी महिलाको टाउकोमा पर्‍यो त ! कसरी त्यस्तो सिकारमा परिन् त ! अनि त्यो भवसागरबाट कसरी उम्कन सफल भइन् ।

० ० ०

मेरी आमाको कहानी यसरी सुरु हुन्छ । नब्बे सालको भुइँचालो जाँदा झोलुङ्गोमा सुतेको थिएँ- भन्ने आधारमा नै मेरो दाइले उहाँको नागरिकता बनाइदिनु भएको हो । उहाँको जन्म मिति १९८८ साल असार हुन गयो । गोरखा जिल्लाको खरीबोट भन्ने ठाउँमा खरदार लिलाधर धिताल र ईश्वरीप्रसाद धिताल दुई जना दाइभाइ थिए । उनीहरू त्यति बेलाको नेपालको सप्तरी र सर्लाहीमा खरदार पद थियो । निकै सम्पत्ति कमाएका थिए । दाइभाइ छिट्टी-भिन्न हुने बेलामा पाँच धार्नी जति सुन गायब भयो । एकले अर्कोलाई दोष लगाए । झगडाले चरम रूप धारण गर्यो । उनीहरूले निर्णय गरे कि ! गोरखा कालिका माईको मन्दिरमा गएर कसम खाने । “मैले यो सुन लुकाएको छैन । लुकाएको भए यिनै कालिका माईले मेरो दर-सन्तान नास गरुन् ।” दुवैले कसम खाए ।

सायद कालिका माईको श्राप लाग्यो वा त्यो बेलाको हैजाको नियन्त्रण हुन सकेन । लिलाधर धिताल (मेरी आमाको हजुरबाबु)का सम्पूर्ण ६ जना छोराहरूलाई एक-एक गरी हैजाले लग्यो । बुहारीहरू विधवा भए । मेरी आमाको बुबा रुद्रप्रसाद पनि मर्नुभयो । केही वर्षपछि लिलाधर आफू पनि मरे । त्यसपछि मेरी आमा एक्लो टुहुरी बन्नुभयो । उहाँ आफ्नो घर खरीबोट छोडेर बाबुका मामाघर लुइँटेल भञ्ज्याङ्मा सहारा लिन आउनुभयो । एकातिर अथाह सम्पत्ति, अर्कोतिर अभिभावकविहीन, टुहुरी अनि सामन्तीहरूको बिगबिगी  । त्यति बेलाबाट मेरी आमाको सकसका दिनहरू सुरु भए ।

अपराधी प्रवृत्ति भएको व्यक्तिले नाता-गोता, इष्ट मित्र केही पनि वास्ता गर्दैन । आफ्नो नजिकको भन्ने आफ्नी फुपू र फुपूका श्रीमान् गजेन्द्रराज देवकोटा भन्ने व्यक्ति सबैभन्दा पहिलो दुस्मन भएर निस्किए । मेरी आमाको सम्पत्तिमा उनका आँखाहरू तिखो भएर गढ्न थालेपछि मेरी आमालाई जिउन धौ-धौ पर्‍यो । आधा जीवन दुःखमा बिते । आफ्नी फुपूले आफ्ना श्रीमानका नजिकका नाता पर्ने भानिज भाइ, मेरो पिताजीसँग मेरी आमाको विवाह गराइदिनुभयो तर आफ्ना श्रीमान् त्यति निर्घृणी भएर देखा पर्लान् भन्ने फुपूलाई पो के थाहा ? उनले गर्दा मेरा पिताजीले समेत हैरान खप्नु पर्यो ।

मेरी आमाको कुनै अलौकिक प्रतिभा थिएन । कुनै गौरव थिएन । केवल थियो- साहस अनि निडरता अनि अन्याय सहन गर्न नसक्ने क्षमता ।

“रोपाइँ गर्न लागेको दाँदे र जुवा काट्दा तपाईंलाई डर लागेन ?” हामीले एउटा प्रसङ्गमा आमालाई सोधौँ ।

“के को डर !” उहाँले भन्न थाल्नुभयो- “आफूले रोपाइँ गर्न भनेर ठिक्क पारेको खेतमा गजेन्द्रराजले रोप्नलाई हलो-गोरु नार्न लागेको छ अरे भन्ने थाहा पाएपछि हातमा एउटा खुर्पा लिएर दौडिँदै गएँ । दुई हल गोरु लगाएर भरखर साउन सुरु गर्दै गरेको रहेछ । परियामाथि सारेर हिलोमा पसेँ र हपाहप नारा, जुँवा काटकुट गरेर फ्याँकिदिए अनि गोरुहरू एक एक गरेर फुकाइदिएँ । डिलमा बसेर गजेन्द्रराज कराउँदै थियो । धेरै बोलिस् भने तपाईं पनि काट्छु भनेपछि ऊ पनि भाग्यो ।”

कुनै हालतमा पनि अर्काको सम्पत्ति लुट्छु भन्ने दुस्साहस भएपछि कसको के लाग्छ र ? असारमा गजेन्द्रराजले खेत रोप्न त सकेनछ तर जब दाइ हाल्ने बेला भयो फेरि उसको लुट देखा परेछ । त्यति बेला धादिङबाट गोरखातिर कामका लागि तामाङहरू जाने चलन थियो । उनीहरू निर्माण र खेतीपातीको काम गर्थे । तिनै मध्येका एक हुल तामाङहरूलाई अलि बढी ज्याला दिने लोभमा त्यो खेत लुट्न प्रपञ्च गर्दै थियो । मेरी आमाले थाहा पाइहाल्नु भएछ । उहाँ हुर्रिएर पुग्नुभएछ ।

“एक जना पनि खेतमा टेकिस् भने तेरो खुट्टा काटिदिन्छु” भनेर उफ्रिन थालेपछि तामाङहरूको भागाभाग चलेछ ।

मान्छेमा हुने सम्पूर्ण अवगुणले भरिपूर्ण थिए गजेन्द्रराज । त्यस्ता व्यक्ति नै मेरा बाबु-आमाको पछि लागेपछि मेरो बाबु-आमाको के गति भयो होला ! कल्पना गरौँ ! बहु श्रीमतीमा रमाउने, अर्काका उठिबास गर्न खप्पिस । तर मीठो बोली वचन, नरम स्वभाव । त्यही मिठो बोली वचनले नै होला सात वटा श्रीमती त मैले नै देखेँ । भित्र-भित्र कति थिए । त्यति बेला बनेको गीत अहिले पनि सुन्न सकिन्छ-

“गाउँका राडी फूडी गजेन्द्रराजलाई”

“बाँझो कुजो विष्णुप्रसादलाई”

गजेन्द्रराजको मृत्यु हुँदा पूरा गाउँ नै सेताम्मे थियो । उसको नाममा बरखी बार्नेहरूको हुलले गाउँलाई सेतै पारेका थिए । हुन त उनको पनि यसमा केही दोष थिएन । उनलाई अपराधी मान्न मिल्दैन । जसले गरिब निचर्न सक्यो, जसले डकैती गर्न सक्यो उसैको बोलबाल भएको बेला केही पनि कमजोर हुन चाहन्थ्यो । राणाहरूले जनतालाई त्यही सिकाएका थिए । उनीहरू यस्तै ठगहरूको कुरा सुन्थे ।

सके गुण्डागर्दी गर्ने । नसके डकैती गर्ने । डकैती पनि गर्न नसके चोर्न पनि पछाडि नपर्ने प्रवृत्तिका थिए गजेन्द्रराज । एक रात उनले एक हुल्याइ केटाहरू जम्मा गरेछन् र मेरा माता-पिता नभएको बेलामा हाम्रो घरमा पसेछन् । उनीहरूको उद्देश्य गर-गहना मात्र नभई जग्गाका लालपुर्जा र अन्य कागजातहरू चोर्नु थियो । उनीहरूले बाकस र सन्दुसहरू फोडे । दराज भाँचे तर पाउन सकेनन् । मेरो पिताजीले यस्तै हुन्छ भनेर अर्कै ठाउँमा सारी सक्नुभएको थियो ।

अनौठो यो भयो कि ! भोलिपल्ट उनी आफैँले चोरी गर्ने व्यक्तिको खोज तलासको जिम्मा लिए गजेन्द्रराजले । निकै भावुकता दर्साउँदै मेरो पिता-माताप्रति दयालु बने । तर के भइदियो भने सन्दुस फोर्न प्रयोग भएको बन्चरो र खुर्पा उनैको ठहर भयो । उनी आफैँले आफ्नो घरबाट लगेका थिए तर फिर्ता गर्न भ्याएनछन् ।

अर्को अनौठो यो भयो कि – चोरी गरेको सुन सबैले बाँडीचुँडी गर्ने सर्तमा गएका केटाहरू, सुन पाउन नसकेपछि आफूहरूबीच नै पोला-पोल गर्न थाले । सहभागी आफैँ भनाभन गर्न थाले । उनीहरूमा नै भागाभाग भयो ।

जब कुनै व्यक्ति लुट र डकैतीमा रमाउन थाल्छ तब उसले न त वर्तमान देख्छ न भविष्य । उसको दिमागमा कठोरता भरिएको हुन्छ । विवेक कुहिइसकेको हुन्छ । ऊ एकोहोरो हुन्छ । त्यस्तै लक्षण गजेन्द्रराजमा आइसकेको थियो । एक दिन मेरो बाबु-आमा बस्दै आएको घरको धुरीमा चढे  र भटाभट उदार्न थाले । यसलाई कसले सहन सक्छ र ? मेरी आमाले भुइँबाट ढुङ्गा हान्न थाल्नुभयो । भनाभन सुरु भयो ।

“होइन यो के गरेको ? कसरी आयो यो आँट ?”

“मेरी श्रीमतीले दाइजोमा पाएको घर हो यो ।”

“मेरो बाबुको सम्पत्ति कसरी तेरो श्रीमतीको हुन्छ ! सम्पत्तिको हकदार बहिनीको हुन्छ कि छोरीको ?”

वरिपरिबाट मान्छेहरू जम्मा हुन थाले । लुटाहाहरू समाजको अगाडि बोल्न सक्दैनन् । गजेन्द्रराजको पनि बोल्ने ताकत आएन । उनी भागे ।

तर उसको मन भित्रको लुट मर्न सकेको थिएन । उसको लुट अर्कोतिर मोडिन गयो । उनले आफ्नो लुट धारणालाई ईर्ष्यातिर गए । त्यही वर्ष ! मेरो माता-पिताले दिनभरि लगाएर खेत रोपेर आउनुभयो तर उनले राति गएर सम्पूर्णका खेतका डिल भत्काएछन् । गाउँका अन्य हुल्याए केटाहरूलाई पैसाको लोभमा रातभरि डिल भत्काउन लगाएछन् ।

आखिर केको लागि यो राक्षसीपन ! केको लागि यो अधमता ! मलाई बारम्बार यिनै प्रश्नहरूले जिस्क्याइरहेका हुन्छन् । के यस्ता घटना आज पनि नेपालमा होलान् ? आजका नारीले यस्तो पिडा सहन गरेका छन् । त्यस्ता अपराधीको जन्म अब यो पृथ्वीमा होला ? नहोस् । यो पृथ्वीलाई त्यो भार नपरोस् । त्यस्तो हण्डर कुनै महिला वा पुरुषले ब्यहोर्नु नपरोस् ।

० ० ०

मेरी आमाको स्वर्गारोहण भएको आज १ वर्ष भयो । २०७९ साल असार १२ गते उहाँ यो संसारबाट बिदा हुनुभयो ।

शाश्वत सत्य यो छ कि हरेक प्राणीको पछाडि मृत्युले पछ्याइरहेको हुन्छ । प्रकृतिको नियमसँग जुध्न सक्ने ताकत कसको छ र ? रुखबाट पुरानो पातहरू झर्नु अनि नयाँ पलाउनु- यो संस्कारलाई स्वयम् भगवानले त जित्न सकेका छैनन् भने हामीहरू मानव ! मेरी आमाको स्वर्गारोहण साँच्चै एउटा प्राकृतिक निरन्तरता थियो ।

सुरुका दिनहरूमा मेरी आमाको स्वर्गारोहणले मलाई जति अँठ्याएको थियो, टोकेको थियो, त्यसलाई धैर्य गर्न विवश छु । सम्हालिन बाध्य छु । किनकि यो नियमले कसैलाई छोड्दैन । यो संसारमा ऊ सुखी होस् वा दुःखी, अनि धनी होस् वा गरिब । प्रख्यात होस् या सामान्य । सबैले बिदा लिनैपर्छ । यो विधिको विधानमा चल्नैपर्छ ।

मेरी आमाको स्वर्गारोहण भएको दुई महिनापछि विश्वको सबैभन्दा सुखी महिला महारानी इलिजावेतको ९६ वर्षको उमेरमा स्वर्गारोहण भयो । त्यसको पाँच महिनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी माता हीरावेन मोदी १०० वर्षको उमेरमा बिदा भइन् । त्यति धेरै टाढा नजाऊ । मेरा मित्रहरू मनोज प्रधान, गोवर्धन पूजाका माताहरूको यही वर्ष स्वर्गारोहण हुनभयो । अर्को मित्र चिरञ्जीवी भट्टराईका पिता पनि २०७९ सालमा नै बित्नुभयो ।

यो वर्ष धेरै आमा-बुबाहरू बित्नुभयो । तिनै आमा-बुबाप्रति समर्पण ! उहाँहरूप्रति श्रद्धाञ्जली !