रिलको हिरोलाई तीन घण्टा हेर्दा आफूलाई त्यहीँ पाउँथे । सेतो पर्दा अगाडि थर्ड क्लासको टिकट काटेर फिल्म हेरिरहँदा आफैलाई हिरो जस्तो लाग्थ्यो । त्यहाँ भएका अन्याय, अत्याचार हुँदा आफूलाई पुगूँ पुगूँ लाग्थ्यो र त्यस्ता अन्याय र अत्याचारलाई जरैदेखि निमोठेर फाल्न रहर जाग्थ्यो ।

जब फिल्म सकिन्थ्यो । ती अन्याय, अत्याचारहरू पनि सकिन्थे । त्यसपछि भने वास्तविक संसारमा आफूलाई पाउँथे । पचासको दशक थियो । फिल्म भनेपछि मरिहत्ते । फिल्म कस्तो होला ? कस्तो सन्देश बोकेको होला ? भन्दा पनि फिल्म हेर्न पाए भैगो । कथा बुझ्ने मानसपटल थिएन । फाइट गन्ती गर्ने । जति धेरै फाइट भयो, त्यति धेरै फिल्म सुन्दर लाग्थे । फाइट नभएको फिल्म हेरेपछि खिन्न मान्दै बिनाबित्थामा पैसा तिरिएछ भनेर आफैलाई गाली गर्दै बाहिरिन्थ्यौँ । त्यस्ता फिल्म पनि यदाकदा त्यो बेला नभएका होइनन् ।

फिल्मको भोक यति बिघ्न थियो कि, हलमा लाग्न पाएको हुन्न थ्यो । जसरी पनि हेर्नेका लागि तम्सिहालिन्थ्यो । तर, हाम्रा लागि पैसा भिलेन बनिदिन्थ्यो । थर्ड क्लासको टिकटको मूल्य ५ रुपैयाँ पर्थ्यो । त्यो मूल्य चुकाउनु मेरा लागि ठुलै जँघार तरे जस्तो हुन्थ्यो । कहीँ कतैबाट आउने बाटो थिएन । बाआमाले बेला बेला खाजा खान दिएको एक-दुई रुपैयाँ जोगाएर फिल्म हेर्ने जोहो गरिन्थ्यो । मुख सुकाएर फिल्मका लागि जोहो गरिन्थ्यो । आधा पेट काटेर फिल्म हेर्ने एक प्रकारको रोग नै लागेको थियो ।

फिल्मका बहुआयमिक दृष्टिकोण जसरी आज बुझिन्छ । त्यस बेला त्यस्ता आयामहरूबारे चर्चा हुनुभन्दा पनि बाल मानसपटलमा फाइट गन्ती गरिन्थ्यो । त्यही फाइटका कथाहरू गाउँमा साथीभाइलाई जस्ताको त्यस्तै सुनाउँदा अर्को आनन्द । साथीभाइले पनि फिल्म हेरेझैँ मान्दथे । सञ्चारको अर्को साधन थिएन । मनोरञ्जनको भोक पूरा गर्ने अर्को बाटो थिएन । कसैले फिल्म हेर्‍यो भने त्यसरी नै बेलिबिस्तार लगाउने बानी हुन्थ्यो । झुरुप्प भेला भई फिल्मको कथा सुन्थ्यौँ । सुन्दा पनि फिल्म हेरे झै आनन्द मान्थ्यौँ ।

पारिवारिक अवस्था तथा औकातका आधारमा फिल्म हेर्ने सामर्थ्य होइन । तर, जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखान झैँ पुग्थ्यो । फिल्मको लत कहाँबाट सुरु भयो भन्ने यकिन छैन । तर, सबैभन्दा पहिलो पटक हेरेको फिल्म (सानो पर्दामा) ‘कुसुमे रुमाल’ हो । त्यहाँका दृश्यहरू उति याद छैनन् । तर, फिल्म हो भनेर धेरैले भनिदिएका थिए । सायद थियो होला त्यो बेला । तर, अहिले चाहिँ थिएछ भन्ने लाग्छ ।

उः बेला प्रशस्त टेलिभिजन थिएनन् । टेलिभिजन हुने खानेका घरमा मात्रै हुन्थे । हाम्रो गाउँ हुने खानेको गाउँ भन्दा पनि हुँदा खानेको गाउँ थियो । वर्षभरि दुःख गर्दा पनि खान नपुग्ने भएकाले मनोरञ्जनका साधनले पाइला टेकेको थिएन । गुच्चा, ढुस, रुमाल लुकाइ नै मनोरञ्जनका साधन हुन्थे । त्यसैबाट आनन्द लिइन्थ्यो । त्यो आनन्द अहिले कहाँ छ र ?

जब अलिक ठुलो भइयो तब फिल्म हेर्ने र दाजुहरूबाट फिल्मका कथाहरू सुन्ने प्रचलन बस्यो । साँझतिर फुटबल खेलेर थकित भएपछि दाजुहरूका कुरा सुनेर पाकेको भात पनि भुलिन्थ्यो । घरबाट एकोहोरो भात खान आइज भनेर बोलाउँदा पनि बेवास्ता गरी फिल्मका कथा सुन्नमा मस्त हुन्थ्यौँ । त्यही कारण पनि फिल्मप्रति मोह बस्दै गएको थियो ।

त्यही रनाहाकै कारण मोरङको रङ्गेलीमा सञ्जय दत्तको सडक भन्ने फिल्म लागेको हुँदो हो । त्यो बेला हिरोको नाम याद थिएन । धेरै पछि मात्रै सञ्जय दत्त रहेछ भन्ने ज्ञात भयो । फिल्मको नाम पनि सडक नै थियो थिएन । यकिन छैन । तर सञ्जय दत्तको फिल्म लागेको थियो भन्नेमा म ढुक्क छु ।

फाइट हेर्ने ध्याउन्नमा हुनेका लागि हिरोको मतलब हुँदैनथ्यो । मुख्य पात्र को हो भन्ने भन्दा पनि फाइट खेल्ने पात्रहरू चाहिँ कति छन् भनेर गन्ती गरिन्थ्यो । त्यही गन्ती साथीलाई सुनाउँदा अभिमानले फुल्थे । आलु खाई पेडाको धाक भने झैँ थियो ।

बर्खा यामको समय थियो त्यो । गाउँकै एक जना भाइ (उमेरले करिब ३ वर्ष कान्छो) रमेश थापासँग साइकल हुइँक्याउँदै फिल्म हेर्न जाँदै थियौँ । घरबाट करिब डेढ घण्टाको बाटो हुँदो हो । तर, बाटो राम्रो नभएकाले झण्डै २ देखि अढाई घण्टा लाग्थ्यो । खोला तथा नदीमा पुलहरू थिएनन् । घरदेखि २५ मिनेटको दूरीमा पर्ने दोहमना बजार । यो बजार पूर्वमा लोकप्रिय बजारमध्येको एक हो । जसले मेरो घरको मात्रै हैन, गाउँभरिको चाडपर्वदेखि दैनिकी टर्थ्यो । नुन सिद्धिए पनि सोही बजारबाट किन्नुपर्ने बाध्यता थियो । आइतबार र बिहीबार गरी सातामा दुई दिन लाग्ने यो बजार पशुहाटका कारण पनि पूर्वभरि चर्चित छ र थियो ।

यही बजारको बाटो भएर रङ्गेली पुगिन्थ्यो । बाटो असजिलो खालको थियो । तर, पनि मानिसहरू छोटो बाटो भएकाले यसैलाई प्रयोग गर्थे । बिचमा डाँस खोला तर्नुपर्ने बाध्यता थियो । हिउँदका बेला खासै मतलब हुन्न थ्याे । तर, बर्खाका बेला झण्डै सप्तकोसीको रूप धारण गर्थ्यो । जसले गर्दा यस खोलासँग मानिसहरू निकै नै डराउँथे । तर, म चाहिँ यो खोलासँग निकै परिचित थिएँ । कयौँ भेलहरूमा पौडी खेल्ने भएकाले पौडीबाज झैँ थिएँ । बगाएर ल्याएका रुखहरू पक्रिन्थ्यौँ र दाउरामा प्रयोग गर्थ्यौं ।

त्यसकारण पनि यस खोलासँग हित्तचित्त मिलेको थियो । तर, खोला कहिल्यै साथी हुँदैन भन्ने बूढाबूढीको आहान थियो । तर, त्यो आहानलाई बेमतलब गर्थ्यौं । त्यो खोलासँग कहिल्यै डर लागेन । जस्तोसुकै भलबाढीमा पनि पस्ने आँट जो थियो । नभन्दै त्यहीँ आँट लिएर फिल्म हेर्नका लागि सोही बाटो भएर जाँदै थियौँ । दोहमना बजार र रङ्गेली बजारको बिच भागमा पर्ने त्यो खोला तर्नु थियो । बर्खा याम भएकाले खोलाले केही फरक रूप धारण गरेको थियो ।

फिल्मका लागि त्यो खोला बाधक हुँदै थियो । तर, पनि मैले आँट गरेँ । साइकललाई पनि सँगै लानु थियो । मान्छे पनि पारि तर्नु थियो । बाढी आएकाले साइकललाई हातले आकाशतिर फर्काएर खोलामा प्रवेश गरेँ । अन्ततः सुरुमै धेरै गहिरो भएकाले मसहित साइकल पनि डुब्यो । हेलिएर झनै तल तल पुग्न थालेँ । त्यो अवधिसम्म डुबेको डुबेकै थिएँ । रमेश बाहिरै थियो । ऊ पनि पस्ने आँट गरिरहेको थिएन । साइकल छाडौँ भन्ने मनमा नआएको होइन । तर, साइकल छाड्ने आँट आएन । किनकि साइकल छाडे घरमा बास हुन्न थ्याे ।

त्यो बेलाको सवारीको साधन नै साइकल थियो । वरपर जान मात्रै हैन, सातुसामल बोक्नदेखि लिएर टाढा टाढाको यात्राको सारथी नै साइकल थियो । साइकल छाड्ने बित्तिकै ज्यान त बच्ला तर घरमा बचिने सम्भावना छैन । के भनेर टार्ने ? त्यस कारण खोला प्रवेश गर्दा जुन अवस्थामा थियो त्यही अवस्थामै मलाई खोलाले बगाउँदै थियो । त्यो अवस्थासम्म डुबाइरहेको थियो । बेला बेला टाउको निकालेर श्वास चाहिँ फेर्थे । तर, हिम्मत हारेको थिइनँ । किनकि त्योभन्दा कयौँ ठुलो भलबाढीमा पौडी खेलेको अनुभव जो थियो । त्यही अनुभवकै कारण हिम्मत कति पनि हारेको थिइनँ ।

अन्ततः त्यही हिम्मतले काम गर्यो । साइकलसहित आफूलाई पनि बाहिर निक्लन सफल भएँ । बाहिर निस्किएपछि पनि फिल्म हेर्ने हुटहुटी सकिएको थिएन । कसरी तर्ने भन्ने विषयमा रमेश र मैले छलफल गर्यौं । खोलामा डुबेको त क्षण भरमै भुलिहालियो । अब के गर्ने भन्ने निधो गर्न सकेनौँ । ज्यान मात्रै भएको भए त सहजै पारि तरिन्थ्यो । साइकल पनि भएकाले गाह्रो थियो । ज्यानलाई मात्रै तार्दा १२ बजेको शो छुट्ने अवस्था आउँथ्यो । किनकि त्यहाँबाट पनि हिँडेर जाँदा झन्डै १ घण्टाको हाराहारीमा लाग्थ्यो । त्यस्तो अवस्थामा के गर्ने भन्ने रनभुल्लमा थियौँ दाजुभाइ ।

लुगा लगाई वरि हामी केही माथिबाट तर्ने निधो गर्यौं । माथि र तल गर्दागर्दै समय चिप्लिँदै थियो । उः बेला सूर्य हेरेर समयको आकलन गरिन्थ्यो । घडी थिएन । जाने कि नजाने भन्ने भन्दा पनि खोला कसरी तर्ने भन्ने चाहिँ समस्या थियो । अन्ततः हामीले त्यस दिन फिल्म हेर्ने उत्कट अभिलाषालाई त्यही विराम लगायौँ । खोलामा साइकल तार्न नसक्दा फिल्म हेर्ने चाहना अधुरै भयो ।

धेरै पछि त्यो फिल्म कुनै अर्कै हलमा हेरियो । फिल्मको भोकले ज्यानै चट हुन लागेको त्यो पल सम्झिँदा अहिले ज्यानै सिरिङ्ङ भएर आउँछ । त्यो बेला सायद धेरै फिल्म हेरेकै कारणले होला अहिले फिल्मप्रति कुनै मोह छैन । जब फिल्म भनेको रिल लाइफ हो भन्ने बुझियो त्यसपश्चात् फिल्म हेर्न निकै कम गरियो । अहिले वर्षमा एक पटक पनि फिल्म हलमा गएर हेरिँदैन । त्यति बेला वर्षमा एक पटक मात्रै हलमा फिल्म हेर्ने सौभाग्य जुर्थ्यो । आज अवस्था फरक छ । तर, फिल्मप्रतिको मोह बिलकुल परिवर्तन भएको छ ।