कहिलेकाहीँ म स्वयंलाई कथाहरूबिच पाउँछु भने कहिले कथालाई आफैँभित्र। लेखिएका कथाहरू पनि बाँचिएको जिन्दगी हो अनि आफूले जिउँदै आएको जिन्दगी पनि आफ्नै कथा हुन्। प्रत्येक मानव जातिले जीवनमा कुनै न कुनै कथा लिएर आएका हुन्छन् अनि जीवनभर भोगेर जान्छन् । मलाई  लाग्छ मानव जीवन नै कथा हो । यस्तै यस्तै वास्तविकता र कल्पना बोकेको कथासङ्ग्रह हो “समयका रेखाहरू”।

कहिलेकाहीँ कलम चलाउँदा कल्पना पनि गरेको थिइनँ, कथा लेख्छु/कविता कोर्छु/मुक्तक र रम्बास मेरा अभीष्ट हुनेछन् । अनायासै जीवनले देखेका, भोगेका, सुनेका र समयले देखाएका कथाहरू आउँदै गए, लेख्दै गएँ, पत्र-पत्रिकाले माया गरे। समय त आउँछ जान्छ तर समयलाई समातेर तुइनमा राखेर  हरेक कामका निम्ति समयलाई उबार्नुपर्छ, निकाल्नुपर्छ, अंशबन्डा गर्नुपर्छ। मैले पनि मेरा दैनन्दिन कार्यक्रमहरूबाट समय चोरेर साहित्य सिर्जना गरेँ, कति सङ्कलन गरेर पुस्तकाकारका रूपमा तयार भए, कति हराएर गए । “समयका रेखाहरू” समयको उपज भएर आम पाठक र साहित्यधर्मी समक्ष पल्हाएर  आएको छ, साहित्यका पाठक र समीक्षकहरूले कुन ठाउँमा राखिदिनुहुनेछ सुम्पन ल्याएँ ।

कोभिड १९- (कोरोनाकाल) जति आतङ्कित, भयावह, हाहाकार र तालाबन्दी/ नजरबन्दी भएर आएको थियो मैले त्यस आतङ्ककारी समयलाई सदुपयोग गर्ने कोसिस गरेँ , नयाँ-पुराना डायरीहरू पल्टाएर समय समयमा कोरिएका, लेखिएका, प्रकाशित भएका वास्तविक, काल्पनिक, देखिएका, सुनेका र भोगिएका क्षणहरूलाई मुक्तक/कविता/ रम्बास  र कथाहरूको सङ्कलन गर्ने समय पाएँ त्यही समयको परीक्षण हो “समयका रेखाहरू” !

कथासङ्ग्रह तयार त भयो तर पुस्तक प्रकाशन गर्ने कुरामा असमञ्जसमा परेँ  ? निष्कर्षमा पुग्न लामो समय लाग्यो। नरबहादुर भण्डारी डिग्री कलेज, तादोङका प्राध्यापक डा. टेकबहादुर छेत्री जनपक्ष प्रकाशनका मात्र होइन नेपाली साहित्य जगतका विद्वान् शुभचिन्तक हुन्, उनको योगदानको कदर हुनुपर्छ । उनले कुनै दिन जनपक्ष प्रकाशनको सिलसिलामा भनेका थिए- “भाउज्यू, बत्तीमुनि अँध्यारो अवश्य हुन्छ तर त्यस अँध्यारोलाई पनि अर्को बत्ती बालेर उज्यालो पार्न सकिन्छ,”  झट्ट हेर्दा, सुन्दा डा. साहबको कुरा सामान्य देखिएला तर यसमा लुकेको रहस्य अकाट्य र सैद्धान्तिक छ ।

उक्त ब्रह्मवाक्य मनमा प्रोत्साहन र जागरण भएर आयो,  हुन पनि जनपक्ष प्रकाशनले हजारौँ स्थापित एवं नवोदित लेखक साहित्यकारका कृतिहरू प्रकाशित गरेर आम पाठकसमक्ष पुर्याउँदै आइरहेको छ भने आफ्ना कृतिहरू पनि किन प्रकाशित नगर्ने ! कौतुहलतासित तयारी पाण्डुलिपि बोकेर मेरा श्रीमान् पुण्यप्रसाद शर्मा र म प्रातः स्मरणीय गुरुदेव वरिष्ठ साहित्यकार श्री नरबहादुर दाहालको निवास दार्जिलिङस्थित सुकुनामा पुगेका थियौँ।

साढे चार कोरी उमेर पार गरिसक्नु भएर पनि तीस-चालीसको पट्ठो भएर साहित्य सिर्जनामा निरन्तर लागिरहन पछि नपर्ने साहित्यिक देउराली नरबहादुर दाहालले  पाण्डुलिपि पल्टाएर भन्नु भयो, “गीताश्रीका मुक्तक, कविता, कथा म अनलाइन या सामाजिक सञ्जालमा पढिरहेको छु। लेखाइलाई निरन्तरता दिनु, कथा, मुक्तक तथा कविता स्तरीय छन्, यस कथासङ्ग्रहको भूमिका म लेख्छु ।”लब्धप्रतिष्ठित् साहित्यकार नरबहादुर दाहालका मुखारविन्दबाट निस्किएका यी आशीर्वचनले मेरो हृदय खुसीले पुलकित भयो, मनमनै ईश्वरलाई धन्यवाद दिएँ, आँखा रसाए, दक्षिण सिक्किमको सानो गाउँमा जन्मिएर पढे बढेकी सोमदत्त ढकालकी छोरी एवं साहित्यकार तथा जनपक्ष प्रकाशनका संस्थापक पुण्यप्रसाद शर्माकी अर्धाङ्गिनीका नामले परिचित हुन पुगेकी म गीतादेवी शर्मा साहित्यिक नाम “गीताश्री शर्मा”-ले  नेपाली साहित्य जगतमा परिचय दिन सक्ने भएकीमा स्वयंलाई गर्व बोध भयो ।  मन भक्कानिएर आयो, बोल्ने शब्द पाइनँ ।

मेरा प्रकाशित-अप्रकाशित कृतिहरू लेख्दा आएका कमीकमजोरीहरूलाई काठमाडौँदेखि पनि रातदिन फोन र सामाजिक सञ्जाल मार्फत लेख्न झकझक्याइरहने, लेखाइमा आएका कमीकमजोरीहरूलाई झिजो नमानी करेक्सन गरिदिने मेरा लेखनकलाका आदिगुरु आदरणीय गुरुदेव डा. शैलेन्दुप्रकाश नेपाल अनि मेरा पतिदेव पुण्यप्रसाद शर्माले शब्द शब्द केलाएर भाषा शुद्धीकरण गरिदिनु भएको छ, मेरा दुवै देव ! अथवा भनौँ मेरा गुरुदेव र पतिदेवको साथ, सहयोग, अतुलनीय छन् ।

भाइ भीम शेर्पाले खूबै यत्नसाथ आफ्नो कलाले सजाएर तयार गरिदिएको पुस्तक “समयका रेखाहरू” प्रकाशित भएर आएकै दिन पहिलो प्रति बोकेर गुरुदेवको आशीर्वाद लिन सुकुना निवास स्थानमा पुग्यौँ। आफ्नो भूमिका बोकेको कृति “समयका रेखाहरू” हात परेपछि पिता तुल्य वयोवृद्ध गुरुदेव श्री नरबहादुर दाहालको मुहारमा छचल्केको खुसी  र उहाँको मुखारविन्दबाट निस्किएका आशीर्वचन आजीवन अविस्मरणीय भएर रहेका छन्, आँखाबाट ओझेल हुन मान्दैनन्

आफू काममा मात्र विश्वास राख्ने भएको हुँदा नचाहिँदा आडम्बर, बढिबढाउ, फाँफाफूफू, विज्ञापन र मपाईँ हुन नजाने, नजान्ने परम्पराबाट अगाडि बढिरहने भएको हुँदा पुस्तक विमोचनमा मेरो कुनै सोच थिएन । तर भाग्यवश काठमाडौँबाट डा. शैलेन्द्रुप्रकाश नेपालद्वारा सम्पादित एवं प्रकाशित हुने “हिमाली सौगात”- पत्रिकाको स्वर्ण अङ्क “सिक्किम साहित्य विशेषाङ्क”-को सम्पादन र प्रकाशनका निम्ति हामीले पनि सक्दो दायित्व निर्वाह गर्ने मौका पाएका थियौँ यसर्थ उक्त विशेषाङ्कको लोकार्पणका निम्ति सन् १९९२ जुलाई १९ तारिख    तदनुसार वि. सं २०७९- श्रावण ३ गतेका दिन पत्रिकाका संस्थापक सम्पादक एवं साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’-को पावन जन्मदिनको सुअवसर पारेर “पूर्णप्रकाश नेपाल ‘यात्री’ संस्थाले उक्त सिक्किम साहित्य विशेषाङ्कको विधिवत् लोकार्पण गर्ने तिथि तय भएको हुँदा अतिथि सम्पादकको नातामा पुग्नै पर्ने बाध्यतापूर्ण निमन्त्रणा पायौँ।

“मौकामा चौका हान्नु”, “मौका आउँछ पर्खँदैन त्यसमा चुक्ने बढो मूर्ख हो”, “मौकामा दाउ छोप्नु”, “पशुपतिको दर्शन सिद्राको व्यापार”, आदि धेरै उखानहरू आँखाका सामु आएर छमछम नाचेपछि श्रद्धेय गुरुदेव समक्ष, – “कथासङ्ग्रह ‘समयका रेखाहरू’ पनि प्रकाशित भएर आइसकेको छ । यसको पनि लोकार्पण गर्ने आशीर्वाद पाउने आदेश पाएपछि पुस्तकका केही प्रति बोकेर हामी दुवै २०७९ श्रावण २ गतेका दिन सिलगढी हुँदै नेपालको भद्रपुर हवाई अड्डाबाट बुद्ध एयरमा काठमाडौँ पुग्यौँ। यसअघि पनि धेरै पटक पशुपतिनाथ तथा तीर्थस्थलहरूको दर्शन गर्न, प्रकाशित पुस्तकहरू काठमाडौँका प्रकाशक एवं पुस्तक वितरकहरूकहाँ पुर्‍याउन र हाम्रा आफ्नै माइला दाज्यू-भाउज्यू श्री टेकनाथ न्यौपाने उहाँ स्वयं पनि विद्वान् साहित्यकार हुनुहुन्छ साथै भतिज-बुहारी र नाति-नातीनीलाई भेट्न गइरहे तापनि यस पटकको काठमाडौँ यात्रा बेग्लै जोस र उमङ्गले भरिएको थियो, एउटा पवित्र महान् चाडपर्व भएर  आएको थियो ।

श्रावण ३ गते पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. शैलेन्द्रुप्रकाश नेपालद्वारा सम्पादित एवं प्रकाशित पत्रिका “हिमाली सौगात”-को पचासौँ अङ्क “सिक्किम साहित्य विशेषाङ्क”-को विधिवत् लोकार्पण तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीका बाहुलीबाट सुसम्पन्न भएपछि मेरो कथासङ्ग्रह  “समयका रेखाहरू”को पनि कुलपतिकै बाहुलीबाट लोकार्पण हुने सौभाग्य  प्राप्त भएको थियो। दुवै कृतिको विमोचनको कार्यक्रमपछि पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रदान गरिने वाङमय पुरस्कार राष्ट्रवादी चिन्तक एवं साहित्यकार डा. मोदनाथ प्रश्रित २०७७ अनि आयामेली वरिष्ठ कवि वैरागी काइँलालाई २०७८ सालको पुरस्कारले विभूषित गरिएको थियो भने हिमाली सौगातको विषयमा शोध कार्य गर्ने रश्मीदेवी अधिकारीलाई “यात्री विद्या पदक २०७७” साथै यात्रीको नियात्रा कविता विषयमा विशेष अनुसन्धान गर्ने चूडामणि काफ्लेलाई “विशेष विद्या पदक २०७८” पनि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिको करकमलद्वारा प्रदान गर्दै उनले भने, “पूर्णप्रकाश नेपाल यात्री अध्ययन अनुसन्धान केन्द्रले नेपाली भाषा साहित्यको योगदानमा पुर्‍याएको सेवा प्रशंसनीय, ऐतिहासिक एवं अद्वितीय रहेको छ ।”

प्रज्ञाप्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीको विशिष्ट आतिथ्य र पूर्णप्रकाश नेपाल यात्री अनुसन्धान केन्द्रका अध्यक्ष डा. शैलेन्दुप्रकाश‌ नेपालको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री दुर्गाप्रसाद नेपालले गरेका थिए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवं साहित्यकार श्री गंगाप्रसाद उप्रेती, राष्ट्रवादी चिन्तक एवं साहित्यकार डा. मोदनाथ प्रश्रित, प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले नेपाल भारतको सम्बन्ध र भारतीय नेपालीहरूले नेपाली भाषा-साहित्यमा पुर्‍याएको योगदानका विषयमा मननयोग्य मन्तव्य राख्नु भएको थियो।

यात्री अनुसन्धान केन्द्रका महासचिव रामचन्द्र भण्डारीद्वारा राखिएको  स्वागत भाषणबाट सुरु भएको ऐतिहासिक समारोहमा सिक्किमको प्रतिनिधित्व  गर्दै मैले पनि नेपाली भाषा-साहित्यका विषयमा बोल्ने सुवर्ण अवसर प्राप्त गरेकी थिएँ । उक्त ऐतिहासिक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राज्ञ जगत उपाध्याय, प्राज्ञ डा. तुलसीप्रसाद भट्टराई, प्राज्ञ डा. देवी नेपाल, डा. सृजना शर्मा, लक्ष्मी माली,  विनोद नेपाल, प्रमोद प्रधान, एलपी पराजुली, गोर्खा एक्सप्रेस साप्ताहिकका सम्पादक राजन कार्की, मुक्तककार मुकुन्द पौडेल, साहित्यकार चिन्तक श्री शरद प्रधान, विरविक्रम, कवयित्री तारा केसी, गार्गी शर्मा, सुशीला ढकाल, मन्दिरा मधुश्री, रञ्जना निरौला, अम्बिका अर्याल, अजीत आचार्य, भगीरथी ज्ञवाली, पवित्र अधिकारी, आनन्दप्रकाश नेपाल लगायत धेरै गन्यमान्य व्यक्तिहरूको बाक्लो उपस्थिति थियो ।

लगत्तै अर्को दिन निष्पक्ष मिडिया प्रा.ली. ( खोज अनलाइन)को तत्त्वावधानमा आफ्नै कार्यालय गोङ्गबुमा डा. शैलेन्द्रुप्रकाश नेपालको अध्यक्षतामा साहित्यिक भेटघाटको कार्यक्रम आयोजना गरिएको थियो। कवयित्री तारा केसीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा कवि  उमेश पाण्डे, प्राध्यापक डा. गार्गी शर्मा, रेणु अधिकारी मौनता, रत्नप्रसाद अणामणिको उपस्थितिमा नेपाली भाषा-साहित्यका विषयमा विशद साहित्यिक भलाकुसारी गर्ने मौका पाएका थियौँ ।  भोलिपल्ट दिउँसो  छेस्का कविताका प्रणेता श्री विनोद नेपाल, कवि ओम आचार्य, कवि एल पी पराजुलीसँग छोटो मिठो भेटघाट  पछि कवयित्री/ साहित्यकार एवं वरिष्ठ पत्रकार रञ्जना निरौलाले रात्रि भोजको आयोजना गरेर आतिथ्य जनाएकी थिइन् ।

साहित्यकारहरूसँगको सौहार्द भेटघाट, तीर्थहरूको दर्शन, आफन्त र मान्यजनसितको भलाकुसारीमा मग्न रहेर रमाइरहेको समय लगायत अझै कतिपय कार्यक्रमहरूमा पनि उपस्थित रहन नसकेको तीतो अनुभूतिलाई मनमा राखेर आफ्नै स्वदेश फर्किन परेको थियो । हुन त मानव जाति कुन कुरामा कहिले पो तृप्त हुन्छ र सन्तोष गर्दछ ! तर मलाई लाग्दछ, “सन्तोषं परमं सुखम् !!

गान्तोक,  सिक्किम