आजभन्दा तीस पैँतिस वर्ष पहिलेसम्म पनि काठमाडौँमा मनोरञ्जनको साधन भनेको विभिन्न समयमा मनाइने र देखाइने गरेको सांस्कृतिक पर्व नै मुख्य थिए । तर ती पर्वहरू वर्षको एक पटक मात्र चल्ने हुनाले अर्को पर्वको लागि वर्ष दिनसम्म पर्खिनुपर्ने अवस्था अद्यावधि छँदै छ । त्यसको अतिरिक्त अन्य मनोरञ्जनको साधनमा सिनेमा र त्यसपछि फुटबल मुख्य थिए । सिनेमा सधैँ चलिरहन्थ्यो भने फुटबलको खेल बेलामौकामा मात्र खेलिन्थ्यो । काठमाडौँमा मान्छेको भीड हुने स्थानहरूमा सिनेमाघर, दशरथ रङ्गशाला, टुँडिखेल र रत्नपार्क प्रमुख थिए । काठमाडौँ उपत्यकाका मान्छेहरूको फुर्सदको समय बिताउने र अन्य जिल्लाबाट काठमाडौँमा आएकाहरूले आफन्त र साथीभाइसँग भेटघाट गर्ने मुख्य थलो रत्नपार्क थियो । स्थानीय बसको मुख्य बिसौनी पनि रत्नपार्कमा नै थियो । रत्नपार्क देह व्यापार गर्ने केटीहरूको केन्द्र थियो र दलालहरू पनि ग्राहकको खोजीमा भेटिन्थे ।

मानिसहरूको भीड हुने ठाउँ न्युरोडको भूगोल पार्क र पीपलबोट पनि मुख्य थियो । त्यहाँ साहित्यकारहरू र राजनीतिक व्यक्तित्वको भेटघाट गर्ने थलोको रूपमा चर्चित थियो । मैले थियो किन भनेको भने अब त्यहाँ बिगतको जस्तो चहलपहल छैन न्यूरोडको पीपलबोट पनि सुनसान छ । दुई चार जना बुट पालिस गर्ने र दुई चार जना यात्रु बाहेक अरू कोही भेटिँदैनन् । त्यहाँ नेपालबाट र भारतबाट प्रकाशित समाचार पत्रदेखि साहित्यिक र सिने पत्रिका आदि पाइन्थ्यो । अहिले त्यहाँ पत्र–पत्रिका बेच्न पाइँदैन । पत्र–पत्रिकाको खबर एफ्.एम्. र युट्युबमा जति बेला मन लागेको बेला हेर्न र सुन्न पाइन्छ । प्रविधिको विकास र विस्तारसँगै पुराना चलन र प्रथाहरू क्रमशः लुप्त हुँदै गएका छन् ।

राजधानीको बिचमा रहेको पूरै टुँडिखेललाई वरिपरि सानो र त्यसमाथि फलामे सुइरो राखेर बनाएको पर्खालले घेरिएजस्तै रत्नपार्कलाई पनि त्यसरी नै घेरिएको थियो । पर्खाल होचो भएकोले नाघेर पनि भित्र पस्न सकिन्थ्यो । तर अहिले शहीद गेटदेखि रत्नपार्कसम्मको पर्खाल विशाल संरचनामा निर्माण भएको छ । उहिले रत्नपार्कभित्र प्रवेश गर्न अहिलेको जस्तो टिकट लाग्दैनथ्यो । भित्र खासै व्यवस्थित सुविधा केही पनि थिएन । उत्तरतर्फको रानीपोखरालाई कृषि विकास बैङ्क, रेस्टुराँ र विभिन्न थरीका पसल राखिएको भवनले छेकिएको थियो । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि काठमाडौँ महानगरका तत्कालीन मेयर केशव स्थापितले रानीपोखरीको दक्षिणतर्फको सम्पूर्ण संरचना हटाउन लगाएपछि रत्नपार्कबाट पनि रानीपोखरी देख्न सकिने भयो ।

रत्नपार्कभित्र सानोतिनो नाङ्ले पसल थाप्नेदेखि लिएर जादु देखाउने काम पनि हुन्थ्यो । जादु देखाउनेमा मुख्य दुई जना नेपाली मध्येमा एक जना दुब्लो पातलो र अर्कोचाहिँ मोटोघाटो डम्म परेको थिए । प्रायः सबै उमेरका मान्छेहरू खास गरी युवा–युवती, केटा–केटी, अधबैँसे लोग्नेमान्छे र स्वास्नीमान्छेहरूको समय बिताउने थलोको रूपमा रहेको रत्नपार्कमा हरेक दिन जादु देखाइन्थ्यो । दिनको एघार बाह्र बजेको समयतिर रत्नपार्कमा मान्छेहरू आउन थालेपछि जादुगर डिबडिबे बजाएर दर्शकलाई आफूतिर आकर्षित गराउन थाल्थे । जादुगरले डिबडिबे बजाएपछि मान्छेहरू जादुगरको वरिपरि उभिन पुग्थे । जादुगर दर्शकलाई अनेक ठट्टा सुनाउँदै हँसाउँथ्यो र सकेसम्म बढी दर्शकको भीड गराउन कोसिस गर्दथ्यो । जादुगर जिब्रोमा प्लास्टिकको टुक्रा राखी बेलाबेलामा चराचुरुङ्गीको आवाज निकालेर दर्शकलाई मनोरञ्जन पनि दिन्थे । भुईँमा एउटा सानो बाकस, दुई वटा चिया खाने सिसाको गिलास, एउटा सानो गोल्टिन बट्टा र रातो रुमाल हुन्थ्यो । जादुगर पान–सुपारी चपाइरहेको हुन्थ्यो ।

जब मान्छेको भीडले जादुगर वरिपरि घेरिन्थ्यो तब ऊ भन्न थाल्थ्यो– ‘म आज तपाईँहरूलाई यस्तो जादु देखाउँछु, जुन आजसम्म तपाईँहरूले हेर्न पाएकै छैन । चुपचाप र शान्त भएर बसिदिनु होला । यदि होहल्ला गर्नुभयो भने मेरो तन्त्र–मन्त्र चिप्लिन्छ । तन्त्र–मन्त्र चिप्लेपछि जादु पनि चिप्लिन्छ । तपाईँहरूले जादु हेर्न पाउनु हुन्न ।’ जादुगरले त्यति भनेपछि वरिपरिका मान्छेहरू केही शान्त हुन्थे ।

त्यसपछि जादुगरले भुइँको रातो रुमाल टिपेर हावामा झट्कार्दै दर्शकसँग सोध्थ्यो ‘यो रुमालमा केही छ ?’ दर्शकमध्ये कोहीले छैन भन्थे कोही टाउको हल्लाउँथे । तब जादुगर खल्तीबाट एउटा दस रुपैयाँको नोट निकाल्थ्यो र दर्शक समक्ष देखाउँदै सोध्थ्यो– ‘ यो नोट कति रुपैयाँको हो ?’ धेरैले एकसाथ भन्थे– ‘दस रुपैयाँको ।’

त्यसपछि जादुगर गोल्टिन बट्टालाई दर्शक सामु देखाउँदै त्यो गोल्टिन बट्टाभित्र दस रुपैयाँको नोट राख्थ्यो र सबैलाई भन्थ्यो– ‘ल राम्ररी हेर्नोस् यो बट्टाभित्र मैले दसको नोट राखेको छु । म दसको नोटलाई सयको नोट बनाउँछु । तपाईँहरू शान्त भएर बसिदिनु होला ।’ यति भनिसकेपछि ऊ त्यो गोल्टिनलाई घोप्टाएर भुइँमा राख्थ्यो र रातो रुमालले छोपिदिन्थ्यो ।

‘देख्नु भो नि, मैले तपाईँहरूकै आँखा अगाडी यो गोल्टिनमा दसको नोट राखेर त्यसलाई रुमालले छोपिदिएको छु । सबै जना हल्ला नगरी बस्नु होला । तपाईँहरूको हल्लाले मेरो तन्त्र–मन्त्र चिप्लियो भने यो दसको नोट सय रुपैयाँको बन्दैन । धेरै नजिक पनि नआउनु होला । केही पछिपछि हटिदिनुस्’ भन्दै दर्शकको वरिपरि घुमेर डिबडिबेलाई जोड जोडले बजाउन थाल्थ्यो । दर्शकहरू केही पछि हट्थे । त्यो जादु हेर्न उभिएकाहरूको भीडमा पकेटमार पनि हुन्थे र कसै कसैको खल्ती साफ गरिदिन्थे । जादु हेर्नमै ध्यान दिएर बसेको मान्छेलाई आफ्नो खल्तीको पैसा झिकेको पत्तै हुँदैनथ्यो ।

जादुगरले त्यति गरेपछि सबै दर्शक दस रुपैयाँको नोट सयको कसरी बन्दो रहेछ भनेर बडो उत्सुकताका साथ उभिइरहन्थे । दर्शकलाई कुरैकुराले मख्ख पार्दै जादुगर बाकस खोलेर त्यसभित्रबाट औषधीका केही पुरिया झिक्थ्यो । सिसाको गिलासमा पानी राखेर त्यसमाथि केही धुलो मिसाउँथ्यो । पानी रातो हुन्थ्यो । जादुगर पानीको गिलास हातमा उठाएर दर्शकलाई देखाउँदै भन्थ्यो– ‘यो हाम्रो रगतजस्तै रातो छ । हाम्रो रगत सधैँभरि रातै हुनुपर्दछ । रातो रगत कालो हुँदै गयो भने ज्यानमा तागत हुँदैन । तागत नभएपछि घरकी श्रीमती पनि पोइल जान्छे ।’ उसको पछिल्लो वाक्य सुनेपछि सबै जना गलल हाँस्थे । विशेष गरेर युवती र महिलाहरू मजेत्रोले मुख छोपेर लाज मान्थे ।

‘ल हेर्नुस् हाम्रो रगत कसरी कालो हुन्छ’ भन्दै जादुगर गिलासमा भएको रातो झोलमा सानो कागती टुक्रा निचोरेर हाल्थ्यो । त्यसपछि पानी कालो हुन्थ्यो । दर्शक त्यो देखेर छक्क पर्थे ।

‘हामी दाल, भात र सागसब्जी मात्र खाँदैनौँ । हामी जाँड, रक्सी, चुरोट, बिँडी, सुर्ती, पिरो, अमिलो आदि शरीरलाई हानी पुर्याउने विषादी पनि खान्छौँ । जसको कारण हाम्रो रगत कालो हुँदै जान्छ । हाम्रो शरीरमा गानोगोला, वायु, पित्त, कफ, अपच, अरुचि, झाडा, पखाला, थकाई, दुर्बलता जस्ता अनेक रोकले आक्रमण गर्छ । तीस वर्ष पार नगर्दै साठी वर्षे बूढोजस्तो भइन्छ । बुढो भएपछि श्रीमती पोइल जान्छे, साना केटा–केटीको बिचल्ली हुन्छ । ’ भन्दै ऊ एक पटक ठूलो ठूलो आवाजमा डिबडिबे बजाउँछ । दर्शकहरू श्रीमती पोइल जान्छे भनेपछि झनै हाँस्थे । उनीहरू बडो व्यग्रता र उत्सुकतासाथ उभिइरहन्थे ।

जादुगर भन्न थाल्थ्यो– ‘मेरा प्रिय दाजुभाइहरू, तपाईँहरू निराश हुनुपर्दैन । मसँग त्यसको उपाय पनि छ । उपाय मात्र होइन रामवाण औषधी छ । तपाईँको जस्तोसुकै रोगलाई पनि निर्मूल पारिदिने, शरीरमा शक्ति दिने र सधैँ फुर्तिलो बनाउने औषधी छ ।’ यति भनिसकेपछि बाकसबाट साना साना केही राता र पहेँला पाकेट झिक्थ्यो । एउटा बट्टाबाट केही कालो र सानो गोला झिकेर रातो पानी भएको गिलासमा दुई तीन दाना खसाल्थ्यो । दाना पानीमा पग्लिँदै गएपछि पानी पहिलेको जस्तै रातो हुन्छ ।

‘सबैले देख्नु भो नि, मैले यो औषधी राख्ने बित्तिकै कालो रगत फेरि रातो बन्यो । तपाईँहरूको पनि यस्तै कालो रगत हुनसक्छ । मसँग कालो रगतलाई रातो रगत बनाउने केही औषधी छ । यसले कालो रगत रातो पार्ने मात्र होइन पेटको गानोगोला, अपच, टाउको दुख्ने, रिङटा लाग्ने, खान मन नलाग्ने, अरुचि आदी सबै रोगलाई निर्मूल पार्छ । यो औषधी एक पाकेटको दस रुपैयाँ र दुई पाकेटको बिस रुपैयाँ मात्र । तर जसले दुई पाकेट लिन्छ उसले एक पाकेट फोसामा अर्थात् एक पाकेट सित्तैमा पाउँछ । मसँग धेरै औषधी छैन । जसलाई चाहिन्छ उसले लिन सक्नुहुन्छ । लिन्छु भनेर गम्दागम्दै औषधी सकियो भने चुक्चुकाउनु पर्ला । छिटो गर्नुस् ।’ यति भन्दै जादुगर हातमा औषधीको पुरिया अर्थात् पाकेट लिएर दर्शकको वरिपरि घुम्न थाल्थ्यो । दर्शकहरू कोही कोही एक पाकेट, कोही दुई पाकेट किनेर एक पाकेट फोसा लिन्थे ।

जब दर्शकहरू औषधी लिन छोड्थे तब जादुगर बेच्न बाँकी औषधीका पाकेटलाई बटुलेर बाकसमा राख्थ्यो । आधा जसो दर्शकहरू गइसकेका हुन्थे । बाँकी दर्शकहरू भुइँमा रातो रुमालले छोपेर राखेको गिलासलाई ट्वाल्ल परेर हेरिरहन्थे । केही बेरपछि जादुगर दर्शकसँग हाँस्दै सोध्थ्यो– ‘दसको नोटलाई सय बनाउन सक्ने भए मैले पाचक बेचेर हिँड्नुपर्थ्यो र ?’

यसरी रत्नपार्कमा जादु देखाउने नाममा जादुगरहरू दिनदिनै होमियोप्याथीको औषधी बिक्री गर्दथे । समय धेरै परिवर्तन भइसक्यो । विज्ञान र प्रविधिको विकाससँगै मनोरञ्जनका अनेक साधन साथमै लिएर हिँड्न सक्ने अवस्था आइसकेकोले अब मनोरञ्जनको निम्ति जात्रा, पर्व र जादुगरको जादु हेर्न पर्दैन । रत्नपार्कको पनि स्वरूप बदलिएको छ । त्यहाँ भित्र जान टिकट किन्नु पर्दछ । अहिले रत्नपार्कभित्र मान्छेहरू जान्छन् तर त्यहाँ न जादुगर छ न त जादु हेर्ने दर्शक नै ।