राजधानीबाट नजिकै भएर पनि म जन्मेको लतिलपुरको इमाडोल गाउँ वडा नं. १ दुर्गम पहाडको कुनै अनकन्टार ठाउँजस्तै थियो । हनुमति (हनुमन्ते) नदी किनारमा अवस्थित उक्त गाउँको घरहरू बजार क्षेत्रमा जस्तै गुचमुच्च अर्थात् एक अर्कोबाट नजिक नजिकै भएको कारण गाउँको नाम नै बाक्लो गाउँ राखिएको थियो । गाउँको बिचको बाटो मात्र अलिकति फराकिलो थियो । त्यो बाटोबाहेक अन्त जाँदा खेत वा बारीको डिल नै गोरेटो बाटोजस्तो थियो । विद्यालय जाँदा बोजे पोखरीको डिलै डिल हिँडेर जानुपर्दथ्यो । सडक, खानेपानी, बजार आदिको कुनै सुविधा थिएन । नुनदेखि सुनसम्म किन्नको निम्ति ललितपुर पाटनको सुनधारा, मङ्गल बजार, टङ्गाल र गाबाहाल पुग्नुपर्थ्यो

वि.सं. २०२० सालमा म नौ वर्षको भएपछि इमाडोल गाउँकै नयाँ पाटीस्थित महेन्द्र आदर्श हाई स्कुलमा दुई कक्षामा पढ्न थालेँ । घरमा नै सावाँ अक्षर लेख्न पढ्न जानिसकेको हुँदा मैले एक कक्षामा पढ्नु परेन । त्यहाँ ६ कक्षासम्म पढेपछि २०२५ साल फागुनमा बा’ले मलाई ललितपुरको पाटनढोकास्थित पाटनढोका हाई स्कुलमा कक्षा ७ मा भर्ना गरिदिनुभयो । पाटनढोका हाई स्कुल र पाटन कलेज एउटै कम्पाउन्डभित्र थियो । पूर्वी भागमा पाटन कलेज र पश्चिमतर्फ पाटनढोका हाई स्कुल ।

घरबाट पाटनढोका स्कुलमा पुग्न झन्डै पैँतालिस मिनेट हिँडेरै जानुपर्थ्यो । स्कुल पुग्नुभन्दा केही वर बालिफल टोलको सडक किनारामा नै थियो अशोक हल । हलको माथि र प्रवेशद्वारमा रहेको पत्रिका पसलमाथि सिनेमाको पोस्टर टाँसेको हुन्थ्यो । ललितपुर जिल्लाभरिकै एक मात्र सिनेमा हल थियो अशोक हल । म स्कुल जाँदा र फर्किँदा सधैँ त्यही हल अगाडिको बाटो भएर जानुपर्दथ्यो । पाटनको च्यासल टोल जाने बाटोदेखि पाटनढोकासम्मको बाटोमा ठुलठुला ढुङ्गा छापिएको थियो । पाटनढोका हाइ स्कुल र अशोक हलको दुरी चार पाँच मिनेटको थियो ।

म नितान्त गाउँले ठिटो एक किसिमले गँवार नै थिएँ । सिनेमा भन्ने नाम मात्र सुनेको थिएँ, तर त्यो कस्तो हुन्छ केही थाहा थिएन । गाउँमा कहिलेकाहीँ भारतीय मान्छेले बाइस्कोपमा देखाएको भारतको विभिन्न सहर, मन्दिर, मस्जिद, ताज महल आदिको फोटो मात्र देख्न पाएको थिएँ । मेरो घरमा रेडियो थिएन । घरभन्दा केही पछाडि बोगटीको घरमा ग्रामोफोनमा कालो चक्का राखेर गीत बजाएको सुनेको थिएँ ।

पाटन हाई स्कुल र कलेजका विद्यार्थीहरू हाफ-टाइमको समयमा अशोक सिनेमा हलमा जान्थे । स्कुलमा पढ्न थालेको केही समयपछि म पनि साथीहरूसँगै हलमा जान थालेँ । हलभित्र दायाँ बायाँ सिसाको फ्रेमभित्र एकातिर चलिरहेछ र अर्कोतिर आउँदै छ भन्ने शीर्षकमा सिनेमाको केही फोटोहरू टाँसेको हुन्थ्यो । स्कुलले दिएको आधा घण्टाको हाफ टाइमको समय हामी अशोक हलमा गएर बिताउँथ्यौँ र त्यहाँको चहल पहल हेरेर फेरि स्कुलमा फर्किन्थ्यौ । बिस्तारै बिस्तारै सिनेमा हलमा जानु हाम्रो दैनिकीजस्तै भयो । कक्षाका सहपाठी थिए किरण थापा । उनी अलिअलि चित्रकारिता पनि गर्थे । उनी सिनेमा हलबाट फर्केपछि कक्षाकोठामा बसेर साझा कापीको पानामा सिनेमाको पोस्टरको नक्कल उतार्थे ।

२०२५ सालको चैत महिना थियो । त्यस बेला अशोक हलमा दाह्रा सिंह, मधुमती र निशी अभिनीत हुश्न का गुलाम (सन् १९६६) सिनेमा चलेको थियो । हाउसफुल भएको दिनमा काउन्टरबाट टिकट लिन नसकिने र ब्ल्याकमा टिकट किन्न आफूसँग पैसा थिएन । सिनेमा चलेको झन्डै तीन चार हप्तापछि काउन्टरमै टिकट पाउन थालेको एक दिन मैले ४३ पैसा तिरेर थर्ड क्लासको टिकट किनेँ । टिकटमा थर्ड क्लास ‘च’ भनेर छापेको थियो । लाइट म्यानले टर्च लाइटले सिट देखाएपछि म त्यहाँ गएर बसेँ । म पहिलो पटक त्यति ठुलो हलभित्र पसेको थिएँ । मेरै सामुन्ने थियो ठुलो सेतो पर्दा । वरिपरि साना साना बिजुली बत्ती बलेको थियो । कुनै सिनेमाको गीत बजिरहेको थियो । दर्शकहरू आउँदै-बस्दै गर्न थाले । मैले पछाडि फर्केर हेरेँ । टाढा टाढा ढोकासम्म र माथिल्लो तलामा पनि मानिसहरू देखेँ । हलको तल्लो तलामा थर्ड, सेकेन्ड, फस्ट र स्पेसल क्लासको सिट अनि माथिल्लो तलामा ड्रेससर्कल र बल्कोनीको सिट हो भन्ने कुरा धेरै पछि मात्र थाहा पाएँ ।

हलभित्र मानिसहरूको हल्ला यथावत् थियो । म त्यहाँको चहलपहल हेरेर चुपचाप बसिरहेँ । झन्डै पन्ध्र बिस मिनेटपछि हलभित्रको सबै बत्ती निभ्यो । बत्ती निभ्ने बित्तिकै हल पूरै अँध्यारो भयो । आफूसँगै बसेको दर्शकको अनुहार पनि नदेखिने । बत्ती निभेपछि कोही दर्शकहरू सिटी बजाउन र ताली पिट्न थाले । होहल्ला बढ्यो । हलभित्र आउँदै गरेका दर्शकलाई लाइट म्यानले टर्च लाइटले टाढा टाढाको सिट देखाउँथ्यो । बाहिर उज्यालोबाट भित्र पसेपछि केही नदेखेर पूरै अन्धोजस्तो भइँदो रहेछ ।

पर्दामा सिनेमा सुरु भएपछि दर्शकहरू सिटी र ताली बजाउन थाले । आफूm पहिलो पटक सिनेमा हलभित्र छिरेको थिएँ । आँखै अगाडीको सेतो पर्दामा ठुलो ठुलो दृश्य र आवाज घन्किन थाल्यो । अघिल्तिर पर्दामा देखिएको दृश्यले मेरो त आँखा नै तिरमिरायो । ठुलो ठुलो आवाज कानभित्रै ठोकिएजस्तो भयो । सिनेमाको पर्दा निकै नजिक भएर होला टाउको अलिकति माथि उठाएर हेर्नुपर्ने थियो । हिन्दी भाषा पहिलो पटक सुन्दै थिएँ । कति बुझेँ कति बुझिन म भन्न सक्दिन । दारा सिंह खेलेको सिनेमा भएकोले होला धेरैजसो फाइट अर्थात् अहिलेको भाषामा द्वन्द्वको दृश्य धेरै थियो । फाइटको दृश्य आयो की हलमा हल्ला र सिटी धेरै बज्थ्यो ।

सिनेमा चलेको सवा घण्टापछि इन्टरभल भयो । म दस मिनेटपछि फेरि भित्र गएँ । त्यो समयमा हलभित्र पनि चुरोट पिउन पाइन्थ्यो । चुरोट पिएर फ्याँकेको धुवाँ ठस्स गनायो । आफू  कहिले चुरोट नपिउने भएर होला वाकवाकी लागेजस्तो भयो । करिब एक घण्टापछि सिनेमा सकियो । सिनेमा भनेको गीत सुन्ने र फाइट हेर्ने रहेछ जस्तो लाग्यो ।

मैले पहिलो पटक हुस्न का गुलाम हेरिसकेपछि बिस्तारै सिनेमा हेर्ने बानी बस्यो । यताउतिबाट पैसा जोहो गरेर भए पनि सिनेमा हेर्न थालियो । त्यस बखत सिनेमा हेर्नु नै मनोरञ्जनको पहिलो साधन थियो । सिनेमा हलमा नयाँ सिनेमा चलेको तीन चार हप्तासम्म टिकट पाउनै कठिन हुन्थ्यो । नयाँ सिनेमा चलेको पहिलो दिनमा पहिलो सो हेर्नेको चुरीफुरी हेर्न लायक हुन्थ्यो । मेरा सहपाठी साथी थिए शैलेस । एक दिन उनलाई र मलाई पनि पहिलो दिनको पहिलो सो हेर्ने हुटहुटी लाग्यो ।

राजेन्द्रकुमार, वैजयन्तीमाला र प्राण अभिनीत गँवार (१९७०) नामको सिनेमा भोलिपल्टदेखि चल्छ भन्ने पक्का भइसकेको थियो । हामी घरबाट चाँडै आएर टिकट लिन लाइनमा बस्यौँ । घण्टौँ कुरेर बडो मुस्किलले टिकट लियौँ त्यो पनि ड्रेससर्कलको । सिनेमा हलमा यति भीड थियो कि भनेर साध्य थिएन । पहिलो पटक हामी दोस्रो तलाको ड्रेससर्कलमा बसेका थियौँ । गँवारमा नायक राजेन्द्रकुमारको डबल पार्ट अर्थात् दोहोरो भूमिका थियो । खलनायक थिए प्राण । प्राण र राजेन्द्रकुमारको फाइटको दृश्य आयो कि हल नै थर्कने गरी सिटी बजाउने र ताली पिट्ने गर्थे दर्शकहरू । पहिलो दिन पहिलो शोको सिनेमा हेर्न पाउँदा संसारै जितेको अनुभव भयो । त्यसपछि राजेन्द्रकुमार, माला सिन्हा र सुजितकुमार अभिनीत गीत (सन् १९७०) सिनेमा पनि पहिलो दिन पहिलो सो हेरेका थियौँ । गीत सिनेमामा सबैभन्दा बढी आठ वटा गीतहरू थिए । भनौँ गीतकै निम्ति बनेको थियो गीत सिनेमा ।

अशोक हलमा सिनेमा हाउसफुल भएको दिन हलभित्र र बाहिरको चहल-पहल निकै आकर्षक र रमाइलो हुन्थ्यो । सिनेमा हेर्न आउनेहरूको भीड हलको बाहिर सडकसम्म पुग्थ्यो । बिहानको १२ बजेको सो हेर्नको लागि बिहान ११ बजे टिकट बिक्री हुन्थ्यो । टिकट काउन्टर अगाडि दर्शकहरू बिहानैदेखि जतिसक्दो चाँडो लाइनमा बसिसक्थे । टिकट सजिलै पाइन्नथ्यो । टिकटको लागि मारामार कुस्ती नै भनौँ वा ठुलो सङ्घर्ष गर्नुपर्थ्यो । मान्छेमाथि मान्छे चढेर समेत टिकट लिन्थे बलिया केटाहरू । लाइनमा नै नबसी टिकट लिन खोज्ने र लाइनमा बसेका दर्शकबिच झगडा र कुटाकुट पनि हुन्थ्यो । आश्चर्य के भने एक छिन टिकट बिक्री गरेपछि टिकट सकियो भनेर काउन्टर बन्द गरिदिन्थे र सिनेमा हलको मूल ढोकामा हाउसफुल लेखिएको बोर्ड झुन्ड्याइन्थ्यो । यता ब्ल्याकको हातमा भने टिकटको मुठा नै हुन्थ्यो । काउन्टरबाट टिकट नपाउनेहरू टिकट किन्न ब्ल्याकको पछिपछि जान्थे । कहिले त टिकट किन्न भित्र गल्लीसम्म पनि जानुपर्थ्यो । सिनेमाको टिकटको ब्ल्याक नहोस् भनेर कहिलेकाहीँ पुलिस पनि आउँथे हलमा । तर पुलिसको आँखा छल्दै ब्ल्याकहरू दर्शकलाई टिकट बेच्न माहिर हुन्थे । बसै सिनेमा हलमा टिकट ब्ल्याकमा बिक्री हुन्थ्यो ।

टिकट विक्रेता र टिकट ब्ल्याक गर्नेको मिलो मतो र मनोमानीले दर्शकहरू टिकटको मोलभन्दा चार पाँच गुण बढी पैसा तिरेर टिकट लिन बाध्य हुन्थे । थर्ड क्लासको ४७ पैसाको टिकट ३/४ रुपैयाँसम्म लिन्थे । अशोक हलमा चलेको राजेश खन्ना र तनुजा अभिनीत हाथी मेरे साथी (सन् १९७१) सिनेमा हेर्न गएको युवकले आफ्नी प्रेमिकालाई सिनेमा देखाउनकै निम्ति बल्कोनीको ५ रुपैयाँको टिकटलाई ब्ल्याकमा ४० रुपैयाँ पनि तिरेको थियो । हुन त त्यो वेला टिकटको अग्रिम बुकिङ गर्न पनि पाइन्थ्यो । तर त्यो पनि त्यति सहज थिएन । आफूले चाहेको दिनको टिकट बुकिङ गर्न  मुस्किल हुन्थ्यो । काठमाडौँको रञ्जना, विश्वज्योति र जयनेपाल हलमा समेत टिकटको ब्ल्याक व्यापक थियो ।

अशोक हलमा सिनेमा हेर्न ट्याक्सी वा निजी मोटरमा आउने धनी मानीहरूको सान हेर्न लायक हुन्थ्यो । विशेष गरी महिलाहरू निकै सिँगार पटार र राम्रा राम्रा पहिरनमा सजिएर आउँथे । भनौँ अहिले पार्टी प्यालेसमा भोजमा गएजस्तै । महिलाहरू मोटरबाट हलको प्राङ्गणमा ओर्लने बित्तिकै वरिपरि अत्तरको बास्ना मगमगाउँथ्याे । उनीहरू जहिले पनि ड्रेससर्कल वा बल्कोनीमा गएर सिनेमा हेर्दथे ।

त्यस बखत सिनेमा हलहरूमा शनिवार बिहानको नौ बजे मर्निङ सो चल्थ्यो । अरू दिनमा भने दिउँसो १२, ३ र साँझ ६ बजे गरी तीन वटा सो चल्थ्यो । बिहानको नौ बजे मर्निङ साेमा विद्यार्थीहरूलाई टिकटमा पचास प्रतिशत छुट हुन्थ्यो । शनिवार मर्निङ् सो भन्दा पहिले अशोक हलमा ‘ए नील गगन के तले, धर्तीका प्यार पले…’  बोलको गीतको धुन बजेको आवाज मेरो गाउँसम्म पनि सुनिन्थ्यो । त्यस बखत अहिलेको जस्तो ध्वनि प्रदूषण थिएन । सुनिल दत्त, राजकुमार र मुमताज अभिनीत हमराज (सन् १९६७) सिनेमाको उक्त गीतलाई महेन्द्र कपुरले गाउनुभएको थियो ।

पाटनढोका हाई स्कुलमा तीन वर्ष पढ्दा मैले धेरैजसो सिनेमा अशोक हलमा नै हेरेँ । मैले जीवनमा सबैभन्दा धेरै पाँच पटकसम्म हेरेको सिनेमा हो प्यारका मौसम (सन् १९६९) । शशिकपुर र आशा पारेख अभिनीत उक्त सिनेमाको सबै गीत कण्ठस्थ पारेको थिएँ मैले । सिनेमा हलमा एक जना दुब्लो पातलो अधबैँसे बाहुन सिनेमाको गीत बेच्न आउँथे । तीन वटा सिनेमाको गीत छापेको पुस्तिका दस पैसामा पाइन्थ्यो । म त्यो गीतको पुस्तिका पनि किन्थेँ र घरमा लगेर पढ्थेँ । मैले र साथी शैलेसले एकै दिन दुई वटा सिनेमा पनि हेरेका थियौँ । काठमाडौँको रञ्जना हलमा १२ बजेको सो हेरेपछि अशोक हलमा ३ बजेको सो हेर्न ट्याक्सी चढेर गएका थियौँ । सिनेमा हेर्ने त्यस किसिमको सोख थियो ।

सन् १९७० तिर हिन्दी सिनेमाका सदाबहार नायक देवानन्दले हरे राम हरे कृष्ण (सन् १९७१) सिनेमाको सुटिङ नेपालमा गरेका थिए । त्यसको एउटा गीत हे कान्छी ! कान्छी रे कान्छी रे, प्रीत मेरी साची, रुक जा नजा दिल तोड के … बोलको गीतको सुटिङ ललितपुरको एकान्तकुनास्थित गलैँचा कारखानामा भएको थियो । स्कुलको पढाइ छाडेर पीपलको चौतारोमा उभिएर पाँच दिनसम्म सुटिङ हेरेको थिएँ । त्यो नै पहिलो पटक सिनेमाको सुटिङ हेरेको र सिनेमाको पर्दामा देखिएका हिरो देवानन्द र हिरोइन मुमताजलाई प्रत्यक्ष देख्न पाइएको थिएँ । एकान्तकुनामा सुटिङ भएको गलैँचा कारखानाको त्यस ठाउँमा अहिले नयाँ भवन बनेको छ तर पीपलको त्यो रुख र चौतारो अझै पनि यथावतै छ ।

अशोक हलमा गाउँकै एक जना जुठे खत्री पनि काम गर्थे । तर उनलाई भनेर सित्तैमा सिनेमा हेर्न जानुभन्दा पनि उनले घरमा भनिदेलान् कि भन्ने डर थियो । तै पनि उनी आफैले बोलाएर मलाई एक दुई पटक सिनेमा देखाए । उनी हँसिमजाक गर्नुपर्ने, रमाइलो गर्ने र सरल स्वभावका थिए । रक्सी पिउने उनको बानी थियो । रक्सी पिएपछि उनी जहिले पनि हिन्दी सिनेमा कटी पतँग (सन् १९७१) को गीत ‘ए जो महोब्बत हे, य उन्का है काम, अरे महबुबका जो बद्लते हुए नाम …’ गाउँदै हिँड्थे । उक्त गीतसँगै उनको पनि सम्झना आउँछ ।

त्यो समयमा काठमाडौँको न्युरोडमा रञ्जना र विश्वज्योती, भक्तपुरको दूधपोखरीभन्दा पश्चिमतर्फ नवदुर्गा चलचित्र मन्दिर र ललितपुरको बालिफलमा रहेको अशोक हलसमेत गरी जम्मा चार वटा मात्र सिनेमा हल थिए । भक्तपुरको नवदुर्गा चलचित्र मन्दिरमा चाहिँ काठमाडौँ र ललितपुरमा पहिले चलाइसकेका पुराना सिनेमा देखाइन्थे । टाढा र यातायातको राम्रो सुविधा नभएकोले पनि भक्तपुरमा सिनेमा हेर्न जानेहरू थोरै हुन्थे ।

नेपालमा सिनेमाको इतिहास त्यति लामो छैन । राणा प्रधानमन्त्री मोहन शमशेर ज.ब.रा.को स्वीकृतिमा काठमाडौँको न्यूरोडमा वि.सं. २००६ सालमा काठमाडौँ नगरपालिका अन्तर्गत रहने गरी काठमाडौँ सिनेमा भवन, जसलाई जनसेवा हलको नामले चिनिन्थ्यो, बनेको थियो । २००६ साल मङ्सिर २६ गते उक्त हलको उद्घाटन भएपछि भारतका चलचित्र निर्देशक प्रेम अदिवले सन् १९४९ मा निर्माण गर्नुभएको हिन्दी सिनेमा राम विवाह तीन हप्तासम्म चलेको थियो । त्यसपछि उक्त हलमा भारतकै के.बी. तालद्वारा निर्मित अशोका (सन् ¬१९४७) सिनेमा चलेको र २००७ सालमा प्रजातन्त्र आउँदाको समयसम्ममा जनसेवा हलमा जम्मा २२ वटा सिनेमा देखाइएको इतिहास पाइन्छ । जनसेवा हलपछि काठमाडौँको न्यूरोडमा सन् १९५५ मा रञ्जना सिनेमा हल निर्माण भयो । त्यसपछि वि.सं. २०२० सालपछि काठमाडौँमा विश्वज्योती, ललितपुरमा अशोक हल र भक्तपुरमा नवदुर्गा चलचित्र मन्दिर बनेका थिए । नक्सालमा जय नेपाल हलपछि कमल पोखरीमा २०४१ सालमा कुमारी हल र बानेश्वरमा मनकामना हल निर्माण भएका थिए ।

वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि देशका अन्य भागमा पनि साना र ठुला सिनेमा हलहरू बन्न थाले । त्यसमा विशेष गरी काठमाडौँ चाबहिलको गोपी कृष्ण हल, ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हल र भक्तपुरको सूर्यविनायकमा बाराही सिनेमा हल निर्माण भए । एकातिर काठमाडौँ उपत्यकाभित्र धेरै सिनेमा हलहरू थपिँदै गए भने अर्कोतिर आधुनिक प्रविधिले घरघरमै सिनेमा हेर्ने सुविधा उपलब्ध हुन थालेपछि हलमा गएर सिनेमा हेर्नेहरूको सङ्ख्या दिनदिनै घट्न थाल्यो । पहिले पहिले एउटै सिनेमा पनि महिनौँ दिनसम्म  चल्थ्यो । अपवादकै रूपमा लिँदा काठमाडौँको नक्सालस्थित जय नेपाल हलमा राजेश खन्ना र हेमामालिनी अभिनीत सिनेमा प्रेम नगर (सन् १९७४) लगातार ६ महिनासम्म चलेको थियो । त्यति बेला एउटा हल्ला पनि चलेको थियो कि ६ महिना सिनेमा चलेपछि त्यसका कलाकार हलमा जान्छन् रे । तर त्यो सबै हल्ला मात्र रहेछ । काठमाडौँमा नयाँ सिनेमा हेर्न महिनौँ होइन कि वर्षौं पनि पर्खिनु पर्दथ्यो । भारतमा सिनेमा बनेको कम्तीमा पनि दुई तीन वर्षपछि मात्र नेपालमा त्यो सिनेमा ल्याइन्थ्यो ।

काठमाडौँ उपत्यकामा कलङ्की, बालाजु, गोङ्गबु, चाबहिल, दरबारमार्ग, सुन्धारा, कमलपोखरी, ठमेललगायत ललितपुरको ग्वार्को र भक्तपुरको सूर्यविनायकमा बनेका अत्याधुनिक सिनेमा हलहरूको अतिरिक्त सुन्धाराको सिभिल मल, कमलपोखरीको सिटी सेन्टरलगायत अन्य ठाउँहरूमा पनि सिनेमा हल सञ्चालन हुन थालेपछि दर्शकलाई नजिकै सिनेमा हेर्ने सुविधा उपलब्ध भयो । नयाँ सिनेमा हलमा वातानुकूलित लगायत अन्य सुविधा पाइन थाल्यो । पुराना सिनेमा ती सुविधा नभएको कारणले पनि हलमा दर्शकहरू बिस्तारै घट्न थाले । स्थानीय दर्शकहरूको भरमा मात्र सिनेमा हल सञ्चालन गर्न नसक्ने अवस्था आएपछि नटिक्ने भएपछि अशोक पार्टी प्यालेसमा परिणत गरियो ।

एक दिन आफूसँगै काम गर्ने कर्मचारी शरणप्यारी श्रेष्ठकी छोरीको बिहेमा आजभन्दा सात आठ वर्ष पहिले अशोक हल पार्टी प्यालेस भएपछि म भोज खान गएको थिएँ । हलभित्र पसेपछि मलाई अनौठो अनुभव भयो । हलको भित्री संरचनालाई निकै राम्रोसँग झकिझकाउ पारिएको रहेछ । जीवनमा पहिलो पटक सिनेमा हेर्न पसेको अशोक हलभित्र झन्डै चार दशकपछि बिहे भोजमा सामेल हुन पाउँदा म निकै खुसी थिएँ । अशोक हलको पहिलेको स्वरूपमा केही परिवर्तन गरी त्यसलाई अझै कलात्मक र सौन्दर्यपूर्ण बनाइएको छ । पुरानो भवनको शिखरमा लेखिएको “अशोक”लाई अहिले बिचमा सुनौलो अक्षरमा “अशोक” मात्रै लेखिएको छ । त्यस हलमा पहिले सिनेमा हेरेका दर्शक जो कोहीलाई “अशोक” हलले अहिले पनि सिनेमा हलकै झझल्को दिलाउँछ ।

वैशाख २५, २०८०