ल उठ्, उठ् । छिटो… ढिलो भइसक्यो ।

आमाले मलाई उठाउनु भयो । आँखा मिच्दै उठेँ । ठोकुवा बाँसको टाटीमा माटोले लिपेको बेरा, त्यसमा सानो झ्याल थियो कोठामा । मैले बाहिर हेरेँ, टहटह जून थिए । निस्कँदा त शिवप्रसाद दाहाल, सिबित्रा दाहाल, गुरुप्रसाद दाहाल, अनन्ता दाहाल, देवी कार्की, कमला पराजुली र भगिरथा दाहाल हुनुहुन्थ्यो । अनि मेरै उमेरका गाउँका साथीहरू सन्तोष, दीपक, जीवन अनि दाजुहरू राजन र श्याम, दिदीहरू राधिका, दुर्गा, इन्दिराहरू आँगनमा हुनुहुन्थ्यो । सबैले झोला भिरेका थिए ।
किन आए ?

मलाई पनि किन उठाउनु भएको हो ?

केही थाहा थिएन । हतार हतार गरेर मलाई पनि एउटा झोला पिठ्यूँमा भिराइदिनु भयो । झोला हेरेँ, मेरै किताबहरू बोक्ने थैली मुखे झोला थियो । थैलीको जस्तै दुईतिर डोरी तान्दा मुख बन्द हुने भएकोले हामी थैलीमुखे झोला भन्थ्यौँ ।
‘ल, यताबाट हिँड्दै गर ।’ हातले इसारा गरेर बुवा (कृष्ण)ले भन्नु भयो ।

चोरी औँलाले यता भनेर देखाइएको बाटो हामी हिँड्यौँ, हिँडिरह्यौँ ।

हामी कहाँ हिँडेका ?

किन हिँडेका ?

झोलाभित्र के छ ?

किन लगेका ?

हामीलाई त्यो पनि थाहा थिएन ।

“यताबाट यो आली नै आली जाओ ।” फेरि, हामीलाई औँलाले इसारा गर्दै भन्नु हुन्थ्यो । हामी इसारा पछ्याउँदै त्यतै त्यतै जान्थ्यौँ । जति छिटो हिँडेँ पनि अगाडि त बुबाहरू नै । “यहाँ भएको सामान के होला ?” म बेला बेला पिठ्यूँको झोलालाई हात पछिल्तिर लगेर छाम्थेँ । छाम्दा नरम र गिलो जस्तो लाग्थ्यो ।

तर,  खै के हो । अनुमान पनि गर्न सक्दिन थिएँ ।

लगभग दुई घण्टा जति हिँडेपछि, पूर्वमा आकाश घामले डामेजस्तै देखिन थाल्यो । सुनौला किरणहरू छरिन थाले ।
‘अब चैँ उज्यालो भए छ होला ।’ मैले अन्दाज गरेँ ।

एउटा खोलोको बगर जस्तो ठाउँ पनि आइपुग्यो । बगरमा कोही दाउरा चिर्दै थिए । कोहीले चुल्होमा केके पकाउँदै गरे जस्तो देखिन्थ्यो । सानो स्वरले क्यासेट पनि बजिरहेको थियो । मैले हेरेँ, त्यो क्यासेट मेरै भिनाजु (गुरुप्रसाद दाहाल) को थियो ।

भोकले गर्दा हामी लखतरान भइसकेका थियौँ । हामीहरूले बोकेका झोलाहरू त्यहाँ पुगेपछि मात्र बुवाहरूले झिकेर लानु भयो । मलाई हेर्ने चाहना थियो- झोलामा के होला ? हामी पछि पछि गयौँ । एक ठाउँमा चट्टी, गुन्द्रीहरू ओल्छ्याइएको थियो । त्यहीँ झोलाहरू राखेर पालै पालो खोल्न थाल्नु भयो । मैले हेरेँ, कुनै झोलामा किताब, कुनैमा क्यासेटका चक्का थिए । जुन अहिले पनि मसँग केही सुरक्षित नै छन् । अनि कुनैमा बिस्कुटहरू थिए ।

त्यहाँ अझै मानिसहरू आइरहेका थिए । सबै हात मिलाउँथे । किन हो खुसी देखिन्थे । हामीजस्तै केटा केटीहरू पनि निकै नै थिए । तर धेरै मानिस मैले चाहिँ नदेखेका र नचिनेका थिए । केही समयपछि सबै गोलो घेरामा बस्न थाले । हामीलाई पनि गोलो घेरामा बसाए । हामी पनि बस्यौँ, जसरी स्कुलमा रुमाल लुकाइ खेल्न बस्थ्यौँ । एक जनाले स्टिलका गिलास, अर्काले चिया र बिस्कुट बाँड्दै आए । चिया त घरकै जस्तो थियो, दूध नहालेको । मैले हेरेँ र हतार हतार चोरी औँला डुबाएँ । तातो भयो । हतार हतार औँलो चुसेँ । आहा !  चिनी त हालेकै रहेछ । खुसी लाग्यो । किन नलागोस्, त्यस बेला चिनी हालेको चिया खान त हाम्रा लागि दसैँ नै आउनु पर्थ्यो । भोकले लखतरान भएको बेला चिनी हालेको रातो चियामा बिस्कुट चोबेर खुब खाइयो ।

गोलो घेराको एकछेउमा पहिला खै, को हो आएर बोल्न थाले । त्यसपछि उनले पालै पालो अरूलाई बोल्न बोलाए । सबै आउँदै, बोल्दै जान थाले । कसले के बोले ख्याल भएन । हामी चिया र बिस्कुट खान व्यस्त थियौँ । ध्यान पनि गएन । तर केही क्षणमा एक जना व्यक्तिले आएर बोल्न थाले । यस बेला भने हामी सबैको ध्यान उनैतिर गयो । हातमा एउटा कागजको टुक्रा पनि बोकेका थिए उनले । हात हल्लाइ हल्लाइ बोल्थे । त्यो पम्फा ठकुरानीले विदेशी… …खै के के भनेर गाली पनि गर्दै थिए । बोल्न चाहिँ बोले । गाली पनि गरे जस्तो लाग्थ्यो । तर के बोले, को हो त्यो पम्फा…किन… थाहा भएन । बोल्ने मात्रै होइन त्यहाँ कसै-कसैले गीत पनि गाए । कसैले नाचे पनि ।

मेरो दिमागमा त्यही मानिसले बोलेको दृश्य आइरह्यो । ओहो ! कत्रो स्वरले बोलेको… किन गाली गरेको होला…..को होला…केही क्षण मैले सम्झिरहेँ । घाम ओरालो लाग्दै थिए । अलिअलि गरेर मानिसहरू लाखापाखा लाग्न थाले ।
‘लु हिँड ।’ रित्ता झोला भिराइदिँदै बुवाले भन्नु भयो ।

अब चाहिँ बुवाहरू अगाडि लाग्नु भयो । हामी पछि पछि लाग्यौँ । घर फर्क्याैं ।

= = =

अहिले सम्झन्छु । त्यस बेला २०४२ साल रहेछ क्यार । पञ्चायत विरोधी आन्दोलनका कार्यक्रमहरू भइरहँदा रहेछन् । पञ्चहरूको विरोध गर्दै जन पक्षीय समर्थन जुटाउन त्यो मानिस भाषण गर्दो रहेछ जसलाई खोलाका बगरमा देखेको थिएँ । जसलाई पिपलको छहारीमा भएको चौतारामा देखिरहन्थेँ । त्यो चौतारो गौरादह बजारको चौबाटो (चोक) मा रहेको पिपलको  चौतारो रहेछ । त्यो खोलो, त्यो बगर किस्ने रहेछ । जहाँ हामीलाई झोला बोकाएर लगिएको थियो । त्यो पिकनिकका नाममा पञ्चायत विरोधी कार्यक्रम रहेछ । त्यो कार्यक्रम महिलाहरूको अगुवाइमा भएको रहेछ ।

तत्कालीन पञ्चहरूले थाहा नपाउन भनेर बस्तीदेखि टाढा एकान्त पारेर जनताहरूलाई भेला गराई सचेत पारिँदो रहेछ । धेरै समयपछि पो चिने, हातमा कागजको टुक्रा लिएर ‘पम्फादेवीले विदेशी बैङ्कमा पैसा राखेर…।’ आदि  इत्यादि भनेर विरोध गर्ने त्यो व्यक्तिलाई । त्यहाँ मोहन खनाल, अम्बिका भण्डारी, गङ्गा कार्की, इन्द्र गिरी, तारा श्रेष्ठ, देवी कार्की हुनुहुँदो रहेछ । त्यहाँ नाच्नेमा भगवती भेट्वाल र बोल्नेमा मेनुका काफ्ले (हाल: अनेम सङ्घ, केन्द्रीय सदस्य), टिका घिमिरे, हिरा थापा हुनुहुँदो रहेछ ।

गौरादहको डिपु चौकबाट पश्चिम माहारानीझोडा गाविसमा पर्ने स्कुलचौन बजार हुँदै बिहानै हिँड्नु मेरो (स्कुलचौन स्थित मकालु मावि जान) विगत चार वर्षदेखिको दैनिकी भएको छ । यही क्रममा, मिलन चोकैबाट पश्चिम लगभग एक सय पचास मिटर कालो पत्रे बाटोअगाडि गएपछि देब्रेपट्टि अर्को बाटो लाग्छ । त्यही बाटोको मोडमा एउटा फलैँचा पनि छ । जाडोमा यहाँ बेलुकीपखको सूर्यजस्तै जीवन भएकाहरू घाम तापिरहेका भेटिन्छन् । गर्मी याममा बरको छहारीमा अनुहारभरि अनुभवका विषाक्त रेखा भएकाहरू बाघचाल खेलिरहेका पाइन्छन्, त कोही समसामयिक गफ गरिरहेका पाइन्छन् । हाटबजारबाहेक कहिलेकाहीँ म यहीँ देख्ने गर्थेँ, त्यो खोलाको बगर र चौतारामा बोल्ने मान्छेलाई । जो चण्डी, रुद्रीदेखि मार्क्सवाद र नौलो जनवादका कुरा अरूलाई बुझाइरहेको हुन्थ्यो । कि त विकास निर्माणका योजना सुनाई सुन्दर सपनाहरू पुलाइरहेको हुन्थ्यो । यति मात्र होइन, अनुभवका ज्ञाताहरू भन्ने गर्थे- ‘यतातिर पुराणलाई आधुनिकतामा व्याख्या गर्ने ऊ मात्रै हो ।’

= = =

अँधेरी रात, सबै नतमस्तक थियौँ । केही समयमा एम्बुलेन्स आयो । उहाँलाई स्टेचरमा राखिँदै थियो । छेउमा उहाँकै तत्कालीन गौरादहको उपप्रधानपञ्च जन पक्षीय सहकर्मी दिपक कार्की हुनुहुन्थ्यो । वि.स. २०३८ सालमा गौरादह गाउँ पञ्चायतबाट माहारानीझोडा छुट्टिएपछि तत्कालै २०३८ देखि २०४६ सालसम्म माहारानीझोडाको पहिलो जन निर्वाचित प्रधानपञ्च, २०४६ पछि अविच्छिन्न २०४९ सालसम्म माहारानीझोडा गाविसको अध्यक्षका साथै विभिन्न सङ्घ-संस्थाको अभिभावक भएको मान्छे, आज मेरो मानसपटलमा केही सुनेको, केही देखेको र भोगेको इतिहास रिल भएर आयो । विचार गरेँ, सम्झिएँ र देखेँ- ‘हिजो भावना, संवेदना र सिद्धान्तको भरमा जिन्दगीभरि अरूका समस्या र सास्तीमा साथी बन्ने मान्छे आज यतिखेर आफ्नै समस्या र सास्तीसँग सङ्घर्ष गर्न नसक्ने स्थितिमा पुगेको ।’

= = =

भन्नेले त भने, सुनियो- ‘अब उनको ठाउँ लिने मानिस यो गाविसमा नै कोही छैनन् । उनी हुँदा पो राम्रो थियो । अब त उनको पार्टीलाई पनि ठुलो क्षति भो । अब विपक्षले ठाउँ पाउने भए ।’ एउटा मान्छेको देहावसानमा समाजले अभिभावकत्व गुमाएको महसुस गरेको हाम्रो समाजको इतिहासमा विरलै क्षण भेटिन्छ ।
समय बित्न केही समय लागेन । दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भयो । मत पेटिकाहरू जिल्लामा भेला गरिए । गणना सुरु भयो, गाविस गाविसको । पालो आयो माहारानीझोडाको । मत पेटीका खन्याए र भने एक कर्मचारीले- “यो त देवीबाको गाविस हो ।”

भनेको सुन्दा छाती गर्वले फुलेर आयो । मैले मनमनै भनेँ हेर- “वीरासनमा रहने विरथी छोडिए पनि ऊप्रतिको कत्रो साख ।”

झरीपछिको आकाशजस्तै भयो । यतिका समय बित्यो । हुरीमाझमा उभिएको सतिसाल जस्तै, न कुनै छर-छिमेक, न कुनै सङ्घ-संस्था, न त पार्टीले यो अनुभव गर्नु पर्यो ।  हुन त, सामाजिक अगुवामा ठुलो मुटु र दिमाग दुई वटै हुनु पर्छ । तर हृदयको शक्ति दिमागको शक्तिभन्दा कयौँ गुना बलियो हुन्छ भन्ने मान्यताको नेतृत्व गरी समाजलाई नैतिक नेतृत्व दिने अग्लो कदको अभाव रह्यो । बरु बहुपक्षकै क्षति भयो ।

साँच्चै रहेछ, भोजराज सर- अँध्यारो बाटो भए पनि आफूभित्रको उज्यालो बालेर हिँडे, जस्तो सुकै हावाहुरीले पनि निभाउन सक्दो रहेनछ । त्यस दिन तपाईंले भन्नु भएको थियो- ‘असल नेतृत्व कर्ताले आफूपछि आफ्नो कार्यभार सम्हाल्ने असल उत्तराधिकारी बनाउँछ । त्यो मात्र असल नेतृत्वकर्ता हो, जसले आफू जतिकै आफ्नो उत्तराधिकारीलाई निपुण बनाउँछ ।’
अहिले हेर्दा लाग्छ- कुनै पनि व्यक्तिको व्यक्तित्व विकासमा धेरै कुराहरूले प्रभाव पारेको हुँदो रहेछ । व्यक्तित्व नै व्यक्तिको चिनारी रहेछ जसबाट ऊ अरूभन्दा पृथक् देखिन्छ । व्यक्तित्व नै अरूलाई प्रभाव पार्न सक्ने एउटा विशेष गुण पनि रहेछ । व्यक्तिको व्यक्तित्व नै बाह्य रूपमा उसको परिचालक पनि हुँदो रहेछ ।

= = =

२०७० साल वैशाख ३१ गते-

बिहानको नौ बजेको हुँदो हो । मलामीको लर्को पश्चिमको गाऊँ- बजारदेखि पूर्वी क्षेत्रकै व्यापारी केन्द्रको बजारसम्म । वाल-वनितादेखि युवा-वृद्धासम्म ।

साक्षीहरूले  त भने- “माईमा द्रोणाचार्य क्षेत्रीपछिको अहिलेसम्मको दोस्रो मानव सागर देवीकै…।”

साँच्ची ! हामी वृद्ध भयौँ र मृत्युले हाम्रो ढोका ढकढक्यायो भने हामी हाम्रो जिन्दगीलाई कसरी फर्केर हेर्छौं ? हामीले के गर्याैं, जो समाजले हामीलाई सम्झिरहला ? हामी आफूलाई समाजले कसरी सम्झेला भन्ने ठान्छौँ ?

आखिर, एउटा जीवन रोकिए पनि अरू जीवनहरू त हिँडिरहेका नै त हुँदा रहेछन् नि । लाग्थ्यो- आँसुमा आँसुकै भेल मिसिएर माई बगिरहेछ । हेर्छु, मृत्युपछि पनि देवी जैतुनका वृक्ष हुन्, जो ढलेर पनि हरित छन्, जो मरेर पनि बाँचिरहनेछन् ।

संयाेग पनि, मैले आजै मकालु मा.वि. कक्षा दसमा यही पढाएर आएको थिएँ- ‘उनको देहावसानले गर्दा वरिपरि गाउँको अपार क्षति भो । भोका-नाङ्गा, दुःखी-दरिद्रीका बाबु मरे । पीडितहरूको टेक्ने लट्ठी भाँचियो । न्यायको बत्ती निभ्यो । अनाथ-अशक्तहरूको आशा-स्तम्भ ढल्यो । गाउँका धवन्तरी अस्ताए ।’

= = =

बि.स. १९९९ साल माघ २६ गते पिता लक्ष्मीप्रसाद र आमा डम्वरकुमारी काफ्लेका ज्येष्ठ पुत्र रत्नका रूप आएदेखि जीवनका एकतीस वसन्तलाई लेकका गोठहरूदेखि बेँसीतिरका खेतीसम्म बिताएर अलिक उज्यालो समय, सरल र सहज ठाउँको खोजीमा वि.स. २०३० सालमा ताप्लेजुङको फाकुम्बाबाट पूर्वी नेपालकै चेतनाको उर्वरिलो भूमि मानिने झापा (माहारानीझोडा) आइपुगेका सरल र शालीन व्यक्तित्वका धनी, मृदुभाषी देवीप्रसाद काफ्ले फेरि मधेसबाट पहाड फर्केर जीवन बसाउनै भनेर कहिल्यै गएनन् । त्यो दुरी सधैँका लागि तन्किएर रहिरह्यो ।

हिँड्दाहिँड्दै मोडमा, हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ, रहेछ जीवन त्यस्तै ।