आमा दुई अक्षरको एउटा सानो शब्द हो । रूपमा यो सानो देखिन्छ तर अर्थ व्यापक छ। कुनै कलमले पनि यसको अर्थ ओकल्ने सामर्थ्य राख्दैन। परिभाषाभित्र समेटिन नै सक्दैन यो शब्द, अनुभूत गर्ने कुरा मात्र हो। यसको तौल ब्रह्माण्डभन्दा गह्रुङ्गो छ। शब्दमा सर्वथा सुन्दर शब्द हो आमा जसको उच्चारण गर्दामा नै एउटा स्नेह र ममत्वपूर्ण ध्वनि वरिपरि तरङ्गित हुन पुग्छ अनि न्यानो पनको आभास हुन्छ। आमा त्यस्तो नाता वा चरित्र हो जसले हरेक नाता र वस्तुको अभावलाई पूर्ति गर्न सक्छिन् तर यो पृथ्वीमा त्यस्तो सम्बन्ध वा चरित्र नै छैन जसले आमाको अभाव पुरा गर्न सकोस्। त्यसैले त आमालाई सर्व पूज्य, सर्वमान्य मानिन्छ।
मेरो जीवनको पलकमा तीता मिठा घटनाहरू कहिले भाला बनेर घोच्न आइपुग्छन् त कहिले इन्द्रकमल बनेर मनभरि फुल्छन्। मेरो जीवनको अत्यन्तै दुखद र वेदनामय घटना मेरी आमाको मृत्यु हो । आमाको मृत्युको घटनाले कोमल हृदयमा सधैँ भाला बनेर घोचिरहन्छ । कहिल्यै खाटा नबस्ने घाउ बनेर चहर्याइरहन्छ । त्यो मृत्युको वेदनामय सम्झना मेरो दिलमा जीवितै छ। कुनै मृत्यु यति धेरै हृदय विदारक हुन पुग्दो रहेछ की त्यो मृत्यु बिर्सन आफ्नै मृत्यु कुर्नु पर्ने पो रहेछ ।
आज म आमा शब्दसँग खेल्न गइरहेको छु। त्यसकै नशामा डुब्नेछु। समग्र ‘आमा’ नाताको योगदान र उत्सर्गको विषय निकाल्ने कोसिस गर्नेछु। यसै क्रममा संसारभरका दिवङ्गत आमाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। अनि जीवित आमाहरूको स्वस्थ, सुखी र दीर्घ जीवनको कामना गर्दै चरणमा शिर झुकाउँछु । साथै मन मस्तिष्कमा झलमल्ल उज्यालिने दियो बनेर बस्नुभएकी आफ्नी ममतामयी आमासँगको अतीत अञ्जलीमा थापेर पिउनेछु अर्थात् आफ्नी आमा स्व. नन्द कुमारी अर्यालको पनि केही प्रसङ्ग कोट्याउने छु ।
मलाई यो धर्ती टेकाउने र संसार देखाउने मेरी आमा स्व. नन्द कुमारी अर्याल हुन् भने मैले आँखा खोलेको पहिलो धर्ती गोरखा हो। यी दुवै सर्व पूज्य छन् । आफूलाई बिर्सुँला तर यिनलाई बिर्सनै सक्दिन म। मैले मात्र हैन, मेरा सन्ततिहरूले समेत यिनका गुणको बखान गर्दै कालान्तर सम्म श्रद्धाको पाती चढाइ रहनेछन् ।
पुरुषलाई शिक्षित बनाउँदा एउटा व्यक्ति शिक्षित हुन्छ तर एउटी नारीलाई शिक्षित बनाउने हो भने पुरै परिवार, समाज शिक्षित हुन्छ भन्ने सत्य बोध तत्कालीन समाजलाई नभएको होइन तर नारीप्रति संस्कार, संस्कृति मृदु र उदार नहुनाले क्षमताहीनले मात्र हैन धनी र सम्पन्न परिवारमा जन्मेर पनि उनीहरूले पढ्न पाउँदैनथे। नारीहरू शिक्षाको अवसरबाट पुरै वञ्चित थिए।
वि. सं. १९९४ सालमा भारतको बनारसबाट उच्च शिक्षा हासिल गरी फर्कनु भएका मेरा शिक्षित पिता स्व. पं. दण्डपाणि अर्ज्यालकी श्रीमती र सम्पन्न, धनी बाबुकी छोरी भैकन पनि मेरी आमा भने पुरै निरक्षर हुनुहुन्थ्यो। औपचारिक शिक्षा केही थिएन आमाको।
सन्तानको अथाह ज्ञानको मुहान र पहिलो पाठशाला हुन् आमा। असल संस्कार, सभ्यता र संस्कृतिको स्रोत मात्र हैनन् हरेक जिज्ञासा र प्रश्नका उत्तर पनि हुन। त्यसैले निःसङ्कोच घोषणा गर्न सकिन्छ कि, “विद्याजस्तो कुनै नेत्र छैन, आमाजस्तो महागुरु अरू हुनै सक्दैन” ।
मेरी आमा नन्दकुमारी अर्याल पिता स्व. पदमप्रसाद र माता देवका देवी खनालकी माइली छोरीको रूपमा गोरखा जिल्लाको साबिक दरभुङ गा.वि.स.मा वि. सं. १९६९ फाल्गुणमा जन्मनु भएको थियो । ६ भाइ छोरा र ४ बहिनी गरी १० सन्तानमा तेस्रो ज्येष्ठतामा पर्नु हुन्छ मेरी आमा । पदमप्रसाद खनाल आफ्नो गाउँको द्वारे हुनाले सबैले कदर गर्थे। द्वारेलाई बाली, सेर्मा उठाउनेदेखि आफ्नो इलाकामा दण्ड, सजायसमेत तोक्ने अधिकार हुन्थ्यो। यसरी आमाको माइती गन्यमान्य, ठुलाबडा र धनी मानी कहलाउँथे। तामाको ठुला ठुला रोचामा सुरक्षित राखेका रुपियाँ पैसा बेलाबेलामा आँगनभरि घाममा सकाउँथे । तर अफसोस अशिक्षाको छायामुनि त्यो गाउँ पिल्सिएको थियो । मेरो सम्पन्न मावली परिवारले समेत खासै शिक्षा आर्जन गर्न सक्नु भएन ।
आमाको बाल्यकाल रमाइलो र सुखपूर्वक बित्यो। नौ वर्षको उमेरमा गोरखा बजार निवासी मेरा पिताजी दण्डपाणि अर्यालसँग आमाको विवाह वि. सं. १९७८ मा सम्पन्न भयो । मेरा पिताजीको भने यो दोस्रो विवाह थियो । उहाँको प्रथम पत्नी नर्मदादेवीको जायजन्म नहुँदै सानै उमेरमा आगोले पोलिएको कारण मृत्यु भएको थियो । गोरखामा द्रव्य शाहलाई राज्याभिषेक गराउने नारायणदास अर्यालदेखि १३ औँ पुस्ताका दण्डपाणि अर्यालको परिवार शैक्षिक, सामाजिक र आर्थिक रूपमा सबल थियो। बहु प्रतिभाका धनी यो परिवार ज्योतिष, गुरु, पुरोहित र धर्मशास्त्रको ज्ञाता अनि शिक्षासेवीको रूपमा मर्यादित थियो ।
शिक्षित समुदाय ज्यादै नै न्यून त्यो समयमा आफ्नो पतिले आर्जन गर्नु भएको विद्या मग मगाउँदो श्रीखण्ड हुन पुग्यो। पति शिक्षक, ज्योतिषशास्त्री, इतिहासवेत्ता, समाजशास्त्री, धर्मशास्त्री आदि हुनाले घरतर्फ मर्यादित जीवन थियो अर्कोतर्फ माइती परिवार पनि सबल, सक्षम हुनाले आमाको जीवन सन्तोषजनक रूपमा सुखपूर्वक बित्दै गयो।
सन्तानको जायजन्म क्रमशः बढ्दै थियो । सन्तुलित परिवारको आकाङ्क्षा पालेर बसेकी मेरी आमालाई समयले साथ छाड्दै गयो। फलतः पहिलो, दोस्रो, तेस्रो र चौथो सन्तान सबै छोरी मात्रै जन्मिए । आमाको खुसी खुम्चिएर कच्याककुचुक हुँदै गयो । पुरातन त्यो समाजमा छोरा अनिवार्य आवश्यकता थियो। वंश धान्न र पिण्डपानीको लागि भने पनि छोरो चाहिन्थ्यो । नियोजनको आधुनिक साधन नभएको र न्यून सन्तानको अवधारणा विकास भई नसकेको त्यो पुरातन जमानामा जायजन्म थपिँदै गयो। पाँचौँ र छैटौँ सन्तान पनि छोरी नै जन्मिए। आमाको पिर, चिन्ता अर्बुदको जराझैँ झन् फैलँदै गयो । आँखाका परेला ओभानो हुन सकेनन् ।
लगातार छ वटी छोरी नै छोरीहरू जन्मँदै गएपछि पिताजीलाई अर्को विवाह गर्नको लागि घरायसी र सामाजिक दबाब बढ्न थाल्यो । छोरी दिनेको लर्को लाग्यो । एकातर्फ छोरा नजन्मेको पिडामा रन्थनिएकी मेरी आमालाई अर्कोतर्फ सौता भित्रिने सम्भावनाले जिउँदै जलाउन थाल्यो ।
यो प्रसङ्गमा पिताजीले आमालाई कहिल्यै अपहेलन गर्नु भएन। छोरा र छोरी जन्मने प्रजनन प्रक्रियालाई सामान्यतया बुझ्नु भएको थियो। पिताजीको स्वभाव र चिन्तन आफ्नै किसिमको थियो। अर्को विवाहको प्रस्तावलाई उहाँले ठाडै अस्वीकार गर्नु भयो । मुटुको काँडो भई भित्रिने सौताको प्रसङ्ग हट्नाले आमालाई केही राहत मिल्यो। समय आफ्नै गतिमा थियो, चलिरह्यो । आमाले क्रमशः सातौँ र आठौँ सन्तानको पनि जन्म दिनुभयो । ती दुवैले पनि छोरीकै रूपमा यो धर्तीमा पाइला टेकेका थिए ।
रुढीगत अन्धविश्वासमा परिवार र समाज लपेटिएको थियो । छोरा नजन्मनुमा नारीको मात्र कमजोरी मानिन्थ्यो र दोषी ठहरिन्थिन् उनी। एकातिर आफ्नो मन खडेरीले खाएको बालीजस्तो भएको छ अर्कोतिर जोरीपारिले लाञ्छनारूपी काल कुट विष मुखबाट निकाल्थे। अलच्छिनी नारीको रूपमा दर्जा हुनुभयो आमा। ताडना र आरोप नियमित फेर्ने सास सरह भए आमालाई।कतिपयका रुखो वचन काँड बनेर छातीमा रोपियो। दुखको आकाश आमामाथि घोप्टियो। आमालाई आफ्नै जिन्दगीले जिउँदै जलाई रह्यो । उहाँले आफ्नै दुर्भाग्यलाई सराप्नु सिवाय अरू उपाय केही थिएन त्यहाँ ।
एकातर्फ आमालाई टोपी धुने रहर जाग्थ्यो अर्कोतर्फ भाइटिकाको दिन मेरी दिदीहरूले घरको थाम (पिलर) लाई भाइ सम्झेर टीका लगाइदिन्थे। यो परिदृश्य बाट आमा र दिदी भावुकतामा निचोरिन्थे अनि उहाँहरूको रोदनपूर्ण छाल कष्टतर्फ उक्लन्थ्यो ।
समय बग्दै र बहँदै गयो। लगातार आठ वटी छोरी जन्मिँदासम्म पनि छोरा पाउने बाआमाको चाहनामा बिर्को लागेन । मेरो बाआमाको गहिरो चाहना र अटल विश्वासप्रति क्रूर समयको जोर चलेन। अन्ततोगत्वा निर्दयी र अविवेकी समयले हार खायो, घुँडा टेक्यो। परिणाम स्वरूप वि.स. २००० सालमा बाआमाको नवौँ सन्तानको रूपमा पहिलो पुत्र रत्न जन्मियो। अहिले म कल्पना गर्छु- सूर्यले अन्धकार नाश गरेझैँ त्यो छोराको जन्मले उहाँहरूको चिन्ता, पिर र वेदना नास गर्यो अनि सपरिवार खुसीको भेलमा समाहित हुनुभयो। यसै क्रममा वि. सं. २०१३ सालसम्म आइपुग्दा पितामाताको चौथो छोरा र पन्ध्रौँ तथा अन्तिम सन्तानको रूपमा यो पङ्क्तिकारले जन्मने सुअवसर पायो । मेरो रोदनपूर्ण पहिलो ध्वनि गोरखा धर्तीमा गुन्जियो। म रुँदा मेरी आमा हाँसेकी पहिलो र अन्तिम पटक त्यही थियो।
पन्ध्र सन्तान जन्माउनु, हुर्काउनु, लालन-पालन, शिक्षा, स्वास्थ्य, मोर्नु-भाग्नु अनि विवाह दान आदि इत्यादि कर्म गर्दागर्दै आमाको जिन्दगीमा कति धेरै चुनौती र कष्ट थपिए होलान् ? पिडा र दुखको भर्याङ कति धेरै चढ्नु भयो होला ? समस्या र कठिनाइ जस्ता कुराहरू छाया बनी पछि लागे होलान्। आमाका ती कष्ट साध्य दिनको कल्पना मात्रले पनि पिडा बोध गराउँछ । उहाँले व्यहोर्नु भएका दुख, पिर अनि चिन्तायुक्त स्थितिको श्रुति अनुभूतिले ठुँगेको ठुँगै गर्छ अनि ङ्याकेको ङ्याक्कै गर्छ मलाई। निसासिन्छु र भावुकताले कष्ट शुष्क हुन पुग्छ मेरो ।
आफू आमाको अन्तिम सन्तान | लामो समयसम्म उहाँको काखमा बसी मातृ वात्सल्यमा रमाउँदै स्तनपान गरेको बालापनको अत्यन्त मनमोहक सम्झना मेरो हृदयको पर्दामा अझै ताजा छ। आमाकै काख पोल्टामा बसेको, खेलेको र सदा आमाकै वरिपरि घुमेको दृश्य सम्झिन्छु । त्यसले मलाई सदा ऊर्जा थपिरहन्छ। त्यति मात्र हैन मलाई फुल्याउन आमाले गाउनु भएकी लोरीको पनि धमिलो याद छ। आमाको त्यो लय मेरो जीवनको सबैभन्दा ठुलो सङ्गीत भएको छ।
आमा माया, ममता, दया र त्यागकी प्रतिमूर्ति हुन्। आमाको रूप एउटा देखिन्छ तर उनी वहुविशेषताबाट सिँगारिएकी हुन्छिन्। चोट सन्तानलाई लाग्दा पिडा आमालाई हुन्छ। सन्तानको सफलतामा पहिलो खुसी हुने व्यक्ति आमा नै हुन् । आमा डक्टर, वैद्य, धामी अनि झाँक्री पनि हुन् । रोग व्याधिबाट जोगाउन अनेक परिपन्च गर्छिन् । एकातिर तेल मालिस गरेर शरीर निरोगी र बलियो बनाइदिन्छिन् अर्कोतर्फ हर बखत पोषणयुक्त खानाको व्यवस्थामा दत्तचित्त हुन्छिन् । यसैले शब्दमा, अर्थमा अभिव्यक्त गर्न नसक्ने, ममता र कर्तव्यको अनन्त उचाइ हुन् आमा। माया अनि वात्सल्य ताकी विश्वविद्यालय नै हुन्।
मेरी आमाको जिन्दगीको रस्साकस्सी चल्दै गयो । पिताजीको जागिर, खेती किसानीबाट पहाडी जनजीवनको गति आफ्नै रफ्तारमा राम्रै चलेको थियो । माइतीतर्फको सम्पन्नताले पनि आमालाई भरथेग गरेको थियो । एक्कासि मौसम विरोधी बनेर पितामाताको अगाडि ठिङ्ग उभियो। अर्थ रुपी चट्याङ परिवारमा बज्रियो।
वि.सं. २०११ सालको घटना हो । गोरखा बजार वरिपरि अत्यन्तै ठुलो वर्षा भयो। अतिवृष्टिले खोलानालाहरू बहुलाजस्ता अनियन्त्रित भए ।आफ्नो विध्वंसकारी उग्र रूप देखाए। फलस्वरूप हाम्रो ४५ मुरी धान फल्ने अत्यन्तै उर्वर खेत छिनभरमा नै बगरमा परिणत भयो। पहाडी परिवेशमा त्यति खेत हुनु भनेको राम्रै परिवेश मानिन्थ्यो । हेर्दाहेर्दै समय शत्रु बनेर हाँस्न पुग्यो। बाआमाका आँखामा एकातर्फ घरभरि हुर्कँदै गरेका लाला बाला सलबलाए अर्कोतर्फ बगरमा परिणत खेत।
लडाइँमा होमिएको बन्दुक समान निर्दयी परिस्थितिको सामना गर्नुको विकल्प थिएन उहाँहरूसँग । पिच बाटोमा गुडिरहेको पारिवारिक बाहानको आर्थिक गति कच्ची बाटोमा चल्ने गोरु गाडाको गतिमा पुग्यो । क्रमशः आर्थिक अभाव र दुख बिछोड नहुने दुष्ट साथीको रूपमा रहन आयो । यसै मेसोमा प्रदीप मैनालीको रचनामा तिलक सिंहले गाएका अहिलेको मर्मस्पर्शी लोकप्रिय गीत सम्झना गर्नु सान्दर्भिक हुने देखेँ मैले-
“साथी रहेछ दुख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ” ।
सुख र दुखको मिश्रण नै जीवन हो। दुख, सुख समाजको रीत हो भन्ने सत्य बुझ्नु भएको थियो आमाबाले। त्यसैले त अभाव र दुखलाई अवसरको रूपमा लिनुभयो । परिश्रम र मिहिनेत गर्न कहिल्यै छाड्नु भएन । आमाको वाक्य सम्झिरहेछु म । भन्नुहुन्थ्यो- “ बाबु ! हार्नु गलत होइन। पटक पटक हार्न सकिन्छ तर हार मान्नु ठुलो भूल हुनेछ “। निरन्तर सङ्घर्ष गरेर दुखको माटोमा सुखको फूल फुलाउने प्रयत्न गर्दै जानु भयो । उहाँले हार कहिल्यै मान्नु भएन। क्रमशः सन्तान हुर्काउँदै, बढाउँदै र पढाउँदै लैजानु भयो । निरन्तर कर्म गर्दै जानु भयो।।
यो दुनियाँमा डुब्ने गति सबैको सूर्यकै जस्तै कहाँ हुन्छ र ? आज बेलुका डुब्यो भोलि बिहानमा नै उही सान, सौन्दर्य र रापको साथ उदाउन पाउने । पितामाताका सन्तानले पढे, नोकरी गर्न थाले, समय सापेक्ष व्यवसाय चलाउँदै गए। केही समय त अवश्य पर्खन पर्यो नै तर स्थितिमा क्रमशः सुधार हुँदै आयो । इज्जतपूर्वक सबैले हातमुख जोर्न सक्ने भए। पितामातालाई यो नै सुख र सन्तोषको विषय बन्न पुगेको थियो होला भन्ने ठानेको छु।
पन्ध्र सन्तानको जन्म भए पनि मैले थाहा पाउँदादेखि चार छोरा र पाँच छोरी बाँकी थियौँ। समयको मागअनुसार क्रमशः सबै सन्तान गोरखाबाट धेरै नै पहिले काठमाडौँमा स्थानान्तरण भयौँ। स्थानान्तरणको क्रम रोकिएन। हाल बहुसङ्ख्यक परिवार युरोप, अमेरिका र अस्ट्रेलियामा पापी पेटको भरथेगमा क्रियाशील छौँ ।
आमाको जीवनरूपी पुस्तकका थप पाना पल्टाउने अनुमति माग्छु। आमा नन्द कुमारी धैर्यवान् र सहनशील नारी हुनुहुन्थ्यो। टोल, छिमेक, नाताकुटुम्ब र समाजसँग घुलमिल हुन सक्ने अत्यन्तै मिलनसार, भद्र र सहयोगीको रूपमा परिचित हुनुहुन्थ्यो । धरावासी सबैलाई कुटुम्ब ठान्ने मेरी आमाको हृदय विशाल मैदानभन्दा फराकिलो अनि उहाँको सोचाई, चिन्तन र मनोभावना हिमालभन्दा उच्च थियो । सबैलाई फूलको आँखाले हेर्नु हुन्थ्यो। आफ्नो छायाको शीतलतामा धेरैलाई सुस्ताउन दिनुभयो ।असहज परिस्थितिमा पनि उज्यालो र हँसमुख रही सन्तान मात्र हुर्काउनु भएन आफ्नो पतीलाई सधैँ प्रोत्साहित र उत्साही बनाई सहयोग र टेवा दिइरहनु भयो । श्रीमान्को लाचार छायाको रूपमा नरही उहाँको जीवनको पहिरो थाम्नु भयो। एकातिर पतिको च्यातिएका सपनाहरू सिलाउनु भयो भने अर्कोतिर प्रीति पोख्दै दिलमा पारिजातको सुगन्धित पुष्प बनेर बस्नुभयो । यसरी मेरो पिताको व्यक्तित्व विकासमा मेरी ममतामयी आमाको प्रत्येक्ष र परोक्ष योगदान रह्यो ।
परिवारको मियो हुनुहुन्थ्यो आमा । उहाँकै वरिपरि घुमेका हुन्थ्यौँ हामी सन्तान। धेरै गर्भ बोक्दा र पाउँदा छियाछिया अनि जीर्ण भएको आफ्नो शरीर काँडामा सुताएरै भए पनि हामीलाई फूलको विच्छ्याउनामा सुताउनु भयो आमाले। सन्तानको आशाको दियो कहिल्यै मर्न दिनुभएन र त्यो दियोमा सदासर्वदा तेल थपिरहनु भयो । हाम्रो ओठमा देखिएको मुस्कानमा स्वर्गको अनुभूति गर्नु हुन्थ्यो। आमाको माया यति गहिरो हुन्छ, उनी श्रीमान् छाड्न सक्छिन् तर कोख परित्याग गर्न सक्दिनन् । रोएर- हँसाउने, हारेर जिताउने मात्र गर्दिनन् आमा, आफू मरेर भए पनि सन्तान बचाउँछिन् ।
मलाई लाग्छ कुनै पनि व्यक्ति यो जुनीमा मातृ ऋणबाट मुक्त हुनै सक्दैन । भगवानले त सुख मात्र हैन दुःख पनि दिन सक्छन् तर आमाले त्यो गल्ली गर्न सक्दिनन् । आमा भगवानको प्रतिच्छाया मात्र हैनन्, भगवानको पनि भगवान् हुन् ।
मेरी आमाको जीवनमा दुखका अन्य थप कुरा सम्झनु पर्दा- आफ्नै गोठको गोरुले हानेर घाइते भै लामो उपचारमा लाग्नु पर्यो । कानमा लगाइरहेको मूल्यवान् अठजल हराउनु, माइलो पुत्र बिरामी परी दश दान सँगको कर्म सम्पन्न गर्नु र २०४५ सालमा आफ्नै पतिको मृत्युका घटना आदि पर्दछन् ।
आमाको यथार्थ गुणगान र विशिष्ट विशेषताको सन्दर्भमा धेरै अक्षर खर्च गरिसकेको छु र अझै थप्न सकिन्छ- आमा पर्वमा बडादसैँ हुन्। उज्यालोको प्रतीक दीपावली मात्र हैनन् सप्तरङ्गी इन्द्रेणी आदि इत्यादि हुन् आमा। यस्ती महान् आमाले एकातिर श्रीमानको लाससँगै चितामा भस्म हुनु पर्ने बर्बर र आततायी कालो संस्कारयुक्त सती प्रथा अझै भुल्न सकेका छैनन् अर्कोतिर आधुनिक शिक्षित र सभ्य भनिएको वर्तमान समय पनि आमा र आमाको लिङ्गप्रति मृदु, सकारात्मक छैन। उनीप्रति यथोचित कदर गर्दैन र उदारता देखाउँदैन संस्कृति । शासन शक्तिबाट पृथक् त छन् नै पुरुष सत्ताको विवेकरहित पाङ्ग्राले समेत किचिएका छन् नारीहरू । भ्रूणमा नै सिद्धिन विवश मात्र छैनन्, छोरीको जन्म हारेको कर्मको रूपमा रूपान्तरित भएका छन् । समाज हाँक्ने शिक्षित छोरा मातृ दिवसमा आमा भेट्न छाउपडीमा पुग्छ अझै। यस्तो कुहिएको, कृतघ्न रीत र समयको साछी बन्नु पर्दा क्षोभ र ग्लानिले पोल्छ मलाई।
आमा नन्द कुमारीलाई वृद्धावस्थाले अँगाल्ने क्रममा बिर्सने अर्थात् डिमेन्सिया रोगले पनि समात्यो । उहाँ ७७ वर्षमा आइपुग्दा पतिको मृत्यु भयो। त्यसपछि त झन् ग्रस्त बनायो आमालाई डिमेन्सियाले । बसाइँ हाम्रो काठमाडौँमा भै सकेको थियो । सामान्यतया घर कम्पाउन्डमा हिँड्न सक्ने आमाले आफ्नै “सन्तान” समेत नचिन्ने र मिनेट अगाडिको कुरा र घटना पनि बिर्सनुहुन्थ्यो | यसरी एउटा अबाेध बालिकामा परिणत हुनुभयो आमा ।
पितामाताको अन्त्य अवस्थासम्म सँगै बस्ने अवसर समयले मेरो परिवारलाई सुम्पियो । चार भाइ हामी दाजुभाइ मध्ये दुई भाइ पहिले नै अलग हुनु भएको र सगोलका दाजुको परिवार परदेश रहनु भएबाट पितामातासँगै रहने अनुकूल मलाई मिल्यो। पितामातालाई मैले पालेँ, पोसेँ, स्याहारसुसार मात्र हैन वृद्धावस्थाको लौरोरूपी सहाराको काम गरेँ भन्ने भ्रम र मूर्खतापूर्ण सोचाइ ममा कहिल्यै आएन । “मसँग” उहाँ बस्नु भएको छ भन्ने मिथ्या ज्ञान ममा कहिल्यै भएन बरु “पितामातासँग” हामी बस्न पाएका छौँ र काख पोल्टामा खेल्न पाएका छौँ भन्ने यथार्थतामा रमाएका थियौँ।
जीवन दिई हुर्काउने बढाउने, पढाउने पितामाताको अतुलनीय योगदानलाई बिर्सेर वृद्धावस्थामा दुई चार वर्ष सँगै बस्नुलाई मैले “ पालेँ “ भन्ने अशोभनीय शब्दको प्रयोग कुनै सन्तानले गर्छ भने त्यो उसको अहङ्कार हो र पितामाताप्रतिको अनास्था, अपमान हो भन्ने मेरो मान्यता रहेको छ। अर्थात् पितामाता “पालिने” वस्तुमा पर्दैनन् । त्यस्तो ‘गलत शब्दको प्रयोग गर्ने हाम्रो संस्कार नै सङ्कुचित छ भन्ने लाग्छ। बरु पितामातासँगै उहाँको अन्त्य अवस्थासम्म एउटै छानामा ओतिँदै स्नेहपूर्ण अँगालोमा बाँधिई रहने सौभाग्य मिलेको हर्षानुभूतिले मन सधैँ चङ्गा भएर उडिरहन्छ मेरो। पिता माताले एउटै भान्छामा सधैँ खाने अवसर मात्र दिनु भएन विश्वास गरी वृद्धावस्थाको जीवन आफूलाई सुम्पिनु भयो भन्ने अहोभाव, गर्वानुभूतिले मेरो हृदय सधैँ उज्यालिइदिन्छ । यो गौरवपूर्ण भूमिका निर्वाह गर्न पाउनुलाई जीवन जिउनुको एक मात्र सार्थकता ठानेको छु मैले ।
आमाको सेवा उपयुक्त रहोस् र अन्त्य अवस्थासँग कुनै तकलिफ नहोस् भन्ने कर्तव्य बोध गरी मेरी श्रीमतीले पेन्सनको नजिक पुगेको १९ वर्षे स्थायी शिक्षण पेसालाई कसैको दबाब बेगर स्वेच्छ्याले परित्याग गरिन्। पितृको आशीर्वाद र सुभावनाको प्रतिफल स्वरूप नै होला सायद हाल अमेरिकामा उनी थोरै नै किन नहोस् दुई किसिमको पेन्सनको हकदार बन्न पुगेकी छन् ।
आमाको वृद्धावस्था मेरो मनको पर्दामा नाचिरहेछ । उहाँलाई नुहाई, धुवाई, तेल मालिस र भोजन गराउँदा अनि मलमूत्र व्यवस्थापनका घटनाहरू प्रस्तरमा कुँदिएको अक्षरझैँ मेरो हृदयमा र भावनामा कुँदिएर रहेको छ। यो सुकर्ममा संलग्न मेरा हातहरूमा हरदम आमाकै सुगन्ध प्रभावित भै रहेको अनुभूति हुन्छ । मेरो यो कर्मको सम्पूर्ण श्रेय उनै आमालाई जान्छ जसले मलाई यो संसार देखाउनु भयो अनि पोषणयुक्त दूध पिलाई कर्म गर्न सक्ने बनाउनु भयो ।
आमाको गरिमा र यथार्थ गुणको उल्लेख गरिरहँदा कतिपय आमाले सन्तानबाट पाएका अपहेलना, दुख र बुहार्तनका घटनाहरू घट्ट घुमेझैँ मेरो दिमागमा घुमिरहेछन्। आमाप्रतिको कर्तव्य निर्वाहमा क्रमशः स्खलित हुँदै गएको देखिन्छ समाज। आमाले सन्तानलाई फूल संझेर हरदम दिलमा राखिन् तर सन्तान भने काँडा बनेर घोच्न उद्यत छन्। सन्तान भनेको आमाबाट छुट्टिएको अङ्ग होइन र ? आफ्नै अङ्गको रुखो वचन र गलत व्यवहारबाट प्रताडित छन् आमा । यसको मूल कारण हाम्रो विद्यालयीय नैतिक शिक्षामा देखिएको खस्कँदो अवस्था त हैन ?
आमाको अवर्णनीय विशेषता उपर खासै चासो र महत्त्व नदिएर नै होला सायद कतिपय आमा सन्तानको बोझ बनेकी छन् र सस्तो भएकी छन्। वृद्ध आमा असभ्य, गँवार मानिन्छिन् । आमाको अर्ति र उपदेश गनगन, कचकच बन्दै गएको पाउँछु म ।कतिपयले एकातिर आमा पाल्ने पालो लगाएका छन् अर्कोतिर आफ्नो पालो नजिकिएकोमा सन्तान चिन्तित देखिन्छन् । उता बिचरी आमा झिटीगुन्टाको पोको सार्दै कहिले यो घर त कहिले ऊ घर धाउन विवश छिन् ।
वृद्ध अनि असक्त आमाले पकाएको भात खाएर निस्किएको जवान छोरो चोकमा गुड्डी हाँक्छ – “बुढापाकाको जमाना गयो, अबको पालो हामी तन्नेरीको हो” । रोगी आमाको मुहार फर्केर पनि नहेर्ने तन्नेरी सन्तान उनले वृद्ध भत्ता बुझेकी दिन अनायासै भेट्न पुग्छ । कता जाँदै छ हाम्रो समाज ? तन्नेरी पुस्ता “भ्यालेन्टाइन डे” दिलको क्यालेण्डरमा सजाउँछन्, तर हाम्रो मातृ दिवसप्रति खासै अभिरुचि राख्दैनन् । यी कर्तव्यहीन लन्ठू सन्तानलाई के थाहा ?- “प्रेमीको सल पासो बन्ला तर आमाको पछ्यौरीले त्यस्तो पाप गर्न सक्दैन भन्ने कुरा”।
समय बलवान् छ । यसले नपछारेको कसलाई छ र ? बि. स. २०५३ माघ ९ गतेको दिन थियो । पिताजीको श्राद्ध तिथिको दिन। त्यसको तयारीमा जुटेको थियो मेरो परिवार। डिमेन्सिया रोगले गालेकी ८४ वर्षकी वृद्धा आमा क्षितिज पारिकी घामको रूपमा परिणत हुनु भएको थियो । श्राद्ध सम्पन्न हुन नपाउँदै सोही दिन मेरी ममतामयी आमाले यो धर्ती छाड्नु भयो । उज्यालोपछि हराएको ताराझैँ आमा सदाको लागि हराउनु भयो।म टुहुरो मात्र हैन, बेसहारा बनेँ। अनाथ हुन पुगेँ । समयले मलाई सडक छाप गरिब बनाएको अनुभूति भयो । रानो हराएको मौरीको घारमा परिणत भयो मेरो घर। लामो समयसम्म आँखाबाट निद्रा र जिब्रोबाट स्वाद हरायो मेरो।आमा छउञ्जेल पूर्ण रूपमा सुरक्षित अनुभव गर्थेँ।
आमालाई देख्दैमा नै हृदय पुलकित हुन्थ्यो। संसारभरको सम्पन्न, धनी ठान्थेँ र खुसी हुन्थेँ । कोहिनुर हिराभन्दा असीमित बहुमूल्य मेरी आमा मसँगै हुनुहुन्छ जस्तो लाग्थ्यो । समय आज निर्दयी र रमिते भएर हेरिरहेछ । त्यसले मेरो उज्यालोको गीत गाउने मेरी आमालाई खोसेर लग्यो । ममता र स्नेहको राग अलापिरहने वस्तु लुटेर लग्यो । योभन्दा पिडादायी अवस्था मेरो जीवनमा अरू हुन सक्दैन । मलाई निष्ठुरी समयले मातृ वियोगको रनाहामा जीवनभरि छटपटिने बनायो। आज यो घटना सम्झँदा मात्र पनि तातो घाममा परेको बरफ पग्लेझैँ मेरो हृदय पग्लन पुग्छ । आमा बिनाको खल्लो र निरस जीवन बाँचिरहेको छु म।
मातापिताको मृत्यु तिथि एउटै। हरेक वर्ष घुमिफिरी त्यो दिन पुनः आइपुग्छ- श्राद्धरूपी उत्सव बनेर। उहाँहरूको श्रद्धापूर्वक आराधना गर्छु। आदर र भक्ति भावले झुक्छु तर त्यो दिन रमाइलो कहिल्यै लाग्दैन मलाई । खुसी हुनै सक्दिन । मेरो अस्तित्वको मूल स्रोत लुटिएको र आफू टुहुरो भएको कालो दिनको रूपमा व्याख्या गर्छ मेरो मन। पिता गोरखाको दरौँदी तीरमा र माता आर्यघाटमा जलिरहनु भएको पिडादायी दृश्य आँखामा अनायासै झुल्किन आइपुग्छ अनि नमिठो विरहपूर्ण धुन हृदयमा गुन्जिन थाल्छ ।
हामी पन्ध्र सन्तानलाई जन्माई, हुर्काई , बढाई गर्न पितामाताले- व्यहोर्न परेका अनेक घटना हृदयको पर्दामा जब नाच्छ तब उहाँप्रतिको सम्मानभाव झन् उँचो हुन पुग्छ।समाजमा पितामाता र वृद्धवृद्धालाई हेर्ने दृष्टिकोणमा सकारात्मक सन्देश प्रवाह गर्ने र आफ्नै पितामाताको सम्झनामा केही गरौँ भन्ने हुटहुटी हामीमा बढ्दै थियो । पिताजी विद्वान्, बुद्धिजीवी, समाज सुधारक आदि हुनुभएको कारणले समाजको पनि नैतिक समर्थन थियो । हामी सन्ततिले केही कोषको व्यवस्था गर्यौं र बुद्धिजीवी अनि समाजसेवीहरूको अगुवाइमा पिताजीको नाममा दण्डपाणि अर्ज्याल स्मृति केन्द्र नामक सामाजिक संस्था २०६२ सालमा काठमाडौँमा स्थापना भयो । यो संस्थाले सामाजिक काम गर्नुका साथै पितामाताको संयुक्त नाममा स्थापित “दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार” बाट राष्ट्रका विविध विषयका विद्वानलाई पुरस्कृत गर्दै आएको छ।
जन्मदिने बाआमाको रगत र दूधको भारा यो जुनीमा तिर्न त के सकिन्थ्यो र ? तर पनि एउटा सानो पुष्पको थुङ्गा उहाँहरूको पाउमा समर्पण गर्न पाएकोमा भने केही सन्तोष मिलेको छ हामी सन्ततिहरूलाई ।
आमा सन्तानको हाँसो र खुसी हुन्। उत्साह र उमङ्ग मात्र हैनन् पूजा र तीर्थ पनि हुन्। उज्यालोको सूर्य हुन भने शीतलताको चन्द्रमा । धर्ती समान सहनशील त छन् नै, ढपक्क ढाकेर संरक्षण गर्ने आकाश पनि हुन आमा।आमा शब्दको उच्चारण गर्दामा नै हृदयको द्वार खुल्छ। आमाको प्रशंसा गर्ने क्रममा मेरो भित्री मन गुनगुनाउँछ- “संसारभरकी यस्ती महान् आमा अनि मानव जातिको अति प्रिय र एक मात्र सर्व श्रेष्ठ नाता “आमा” मर्न नै हुँदैन थियो। लाग्छ- आमा जस्ती अति विशेष पात्रलाई मार्नु प्रकृतिको मूर्खता हो। ज्ञानहीनता हो। यो सरासर नियम विपरीत छ। नियम विपरीत चल्ने र आमाको योगदानको अवमूल्यन गर्ने प्रकृतिलाई हदैसम्मको सजाय तोक्नु पर्छ भन्छ मेरो मनको अदालत।” ओहो ! म त केही बहकिन पो पुगेछु। आमाको योगदान र उत्कर्षको प्रसङ्गले पग्लिएछु।
आमाको ममता, वात्सल्यतालाई आत्मसात् गर्दै उहाँको स्तुति र पूजा गर्नु सन्तानको परम कर्तव्य हो । संसारभरकी आमामा समर्पित यो संस्मरणात्मक लेख लेखिरहँदा मेरो हृदयमा एउटा लोक भाका गुञ्जिरहेछ। त्यो भाकाले समातेका शब्दले सम्प्रेषण गर्ने अर्थको महानता र गहिराइलाई हामी सबैले हृदयङ्गम गर्दै आफ्नो जीवनभर आमाको अभिनन्दन गरी रहौँ ।
“बिर्से पनि दुनियाँ सारा
नबिर्से है आमाको दूध भारा।”
गोरखा बजार
हाल:~ म्याडिसन अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।