बैशाख पूर्णिमाको दिन हाम्रो बुबाको श्राद्ध तिथि पर्छ । प्रायः सबैजसो श्राद्धमा म दुर्गापुर जान्छु । त्यहाँ मेरो जेठो दाजु मोहनको घर रहेको छ । दाजु र म नजिकै छौँ । झापाको दमक-दुर्गापुर । यो वर्ष छोरी लुना र म गएका थियौँ । त्यसैदिन भाउजूले मलाई बृन्दावन परिक्रमा गर्न जाऔँ भन्नुभयो । दाजु भाउजूले जाने टुङ्गो गरिसक्नु भएछ । मैले छोटो जवाफ दिएँ- “म जान्नँ ।”
त्यो परिक्रमाका लागि एक महिनाको समय लाग्ने थाहा पाएको थिएँ । त्यति धेरै समय मसँग थिएन । त्यसैले भनेँ- ‘तपाईंहरु जानुहोस् ।’
म भर्खरै आसामको गुवाहाटी हुँदै विश्वनाथ चारआलीसम्मको आठ दिनको रमाइलो यात्रा गरेर आएकी थिएँ । भाउजूले भनेको यात्राको कुरा कहाँ पुग्यो मलाई केही थाहा भएन । अर्थात् मैले जान्न पनि चाहिनँ । तर, यो यात्राको कुरा त अगाडि बढी नै रहेको रहेछ । मैले जान्न भनेकाले दाजुले अरु बहिनीहरुसँग सल्लाह गर्नुभएछ । यात्रा त दशैँ सकेर बृन्दावनमा तिहार मनाउने गरी तय भएछ । बहिनीहरु तारा, निता, मञ्जु, दाजु मोहन, भाउजू गंगा, कान्छो भाइ रामेश्वर (देउता), बुहारी धनमाया र भदो अंकितले समेत यात्रुको लिस्टमा नाम चढाएछन् ।
बहिनीहरुले मलाई फोनमा धेरै ढिपी गरे । तर पनि मैले जानेमा सहमति जनाइनँ । त्यसमा मेरो एउटा कारण थियो । त्यो के भने, त्यही समय अर्थात् त्यही दशैं तिहार बीचको समयमा हाम्रो अर्को मणिपुरसम्मको साहित्यिक यात्रा तय भइसकेको कुरा मेरो साहिँलो देवर बाबु (डा. गोविन्दराज भट्टराई)ले भन्नुभएको थियो । त्यो साहित्यिक यात्रा पारिवारिक नै थियो । त्यो समूहमा हामी एकै परिवारका छ जना सदस्य सामेल थियौँ । मलाई मणिपुरको यात्राले लोभ्याएको थियो । त्यही भएर पनि मैले दाजुभाइ, दिदीबहिनीसँगको यात्रामा जाने निधो दिन सकिनँ ।
बहिनीहरु मलाई नलिई नजाने भनी ढिपी कस्न थाले । हो पनि, म नजाँदा बहिनीहरुलाई मात्र होइन, म आफैँलाई पनि नरमाइलो लाग्नु स्वभाविक थियो । त्यतिबेला म साह्रै अप्ठ्यारो दोधारमा परेँ । मेरो मनले कताको यात्रा रोज्नु भनी निणर्य गर्न सकिरहेको थिएन । म उता दाजु बहिनीहरुसँगको रमाइलो यात्रा सम्झन्छु अनि यता आफ्ना परिवारसँग मणिपुरको यात्रा सम्झन्छु । दुइटै यात्रा छाड्न मन मान्दैन । तर, एउटा मात्र रोज्नुपर्ने बाध्यता आइपरेको छ । कारण, दुवै यात्रा एउटै समयमा तय भएका थिए ।
दुइटै यात्रा छोड्न मन छैन । के गर्नु ? एकदिन मैले बुहारी टिकालाई सुनाएँ, “हेर न म कता जानु ? कस्तो अप्ठ्यारो पर्यो ।”
टिकाले कुनै दुविधानै नराखी भनिन्- “मामा सानिमाहरुसँग जानू । घरकासँग त सधैँ गइरहनु भएकै छ ।”
एकदिन बहिनी तारासँग फोनमा कुराकानी भयो । उसले भनी- “दाजु बिराटनगर टिकट काट्न आउँदै हुनुहुन्छ । हामी तपाईंको समेत टिकट काट्छौँ । तपाईं जानैपर्छ ।”
रेलको टिकट कम्तीमा एक महिनाअघि काट्नुपर्छ । त्यसैले दाजु बिराटनगर जानुभएछ । मैले जेसुकै गर है भनेँ । पूर्ण सहमति पनि जनाइनँ । तर म समेतको टिकट ताराले मेसेन्जरमा पठाइदिई । टिकट काटिसक्दा समेत मेरो मन दोधारमै थियो । एकदिन जेठानी दिदी (सुधा भट्टराई)सँग भिडियो कल भयो । मैले आफ्नो यात्राको बारेमा सुनाएँ । दिदीले पनि बुहारीले भनेकै कुरामा समर्थन जनाउनुभयो । अनि मैले अठोट गरेँ, यसपालिको यात्रा म दाजुभाइ, दिदीबहिनीहरुसँगै गर्छु । बीचबीचमा फोन गरेर साहिँलो देबर मलाई मणिपुरको बारे सम्झाउँदै गर्नुहुन्थ्यो । मन अमिलो पार्दै म मणिपुरको यात्रामा सहभागी हुन नसक्ने कुरा बताउथेँ ।
यात्रा भन्नासाथ नरमाउने को होला र ? यो वर्ष मेरो लागि भ्रमण वर्षजस्तै भयो । यो वर्षको सुरुमा अर्थात् २०७९ बैशाख १ गतेका दिन विश्वनाथ चारआलीमा भएको ‘नेपाली साहित्यका नयाँ लेखन धारहरु’ विषयक साहित्यिक कार्यक्रममा जाने मौका परेको थियो । त्यो रमाइलो अवसर जुटाउने मेरो साहिँलो देवर गोविन्द हुनुहुन्छ । पूर्वमा आयोजना हुने प्रायः कार्यक्रममा उहाँका माल्दाजु कमलराज र म सामेल हुने गरका छौँ । उहाँले गर्दा नै धेरै महत्वपूर्ण र भव्य कार्यक्रमहरुमा जाने मौका पाएकी छु । भन्न त किताब नलेख्नेलाई म लैजान्न भन्नुहुन्छ । आसामबाट फर्केपछि उहाँका माल्दाइ कमलले ‘जीवनका गोरेटामा छब्बीस पाइलाहरु’ शीर्षकको संस्मणात्मक कृति प्रकाशित गरिसक्नुभएको छ । तर मैले नलेखे पनि उहाँहरुको साहित्यिक टोलीमा पर्ने म आफूलाई भाग्यमानी ठान्छु । म लेखक नभएता पनि असल पाठक चाहिँ पक्कै हुँ ।
अन्ततः म मणिपुरको यात्रालाई छाडेर दाजुभाइ, दिदीबहिनीसँगै धार्मिक यात्रामा सामेल भएँ । भारत यात्राको टिकट काट्दा दाजु र बहिनी ताराले सल्लाह गरेर बीचबीचमा घुम्नेडुल्ने समय मिल्ने गरी टिकट काटेका रहेछन् । रातभरि रेलको यात्रा र दिनभरि डुल्नेघुम्ने समय मिलाएर टिकट काटेका रहेछन् । त्यही भएर यात्रामा हामीलाई धेरै सहज भयो । दिनभरि घुम्यो, राति रेल चढ्यो । यो सबै ताराको डिजाइन थियो । यस्ता कुरामा ऊ धेरै अनुभवी र व्यवहारिक छ ।
हाम्रो यात्रा कोजाग्रत पूर्णिमाकाे भोलिपल्ट अर्थात् असोज २५ गते बेलुका नेपाली समय अनुसार पौने नौ बजे जोगबनीबाट आरम्भ भयो । हाम्रो यात्रामा जम्मा नौजना सदस्य थियौँ । रातभरि रेलको यात्रा गरी २६ गते बिहान मुगलसराय (हाल दिनदयाल) ओर्लियौँ । त्यसपछि हामी बनारस शहरतिर लाग्यौँ ।
कान्छी बहिनी मञ्जुका आफन्त बनारसमा रहेछन् । उहाँहरु मार्फत् बहिनीले बस्ने ठाउँको बन्दोबस्त फोनबाटै मिलाइसकेकी थिई । ती आफन्तको निर्देशन बमोजिम हामी कालभैरब मन्दिरको गेटमा यसरी मेरा हरेक गतिविधिहरुमा ओर्लियौँ । हामीलाई लिनका लागि उहाँ आइसक्नुभएको रहेछ । उहाँले हामीलाई जगदम्बा नेपाली धर्मशालामा बस्ने बन्दोबस्त मिलाई दिनुभएको रहेछ । दुईवटा कोठा लिएर हामी त्यहीँ बस्यौँ । त्यहाँबाट गंगास्नान गर्ने पञ्चगंगा घाट नजिकै पर्दोरहेछ । त्यहाँ नजिकै खानाको लागि अर्डर दिएर हामी गंगास्नानका लागि पञ्चगंगाघाटमा स्नान गर्यौं । गंगाजीमा बाढी आएको रहेछ । गंगाको धेरै फेदतर्फ नझरी माथि सिँढीतिरै नुहायौँ । खाना खाएर हामी बनारस शहर डुल्न निस्कियौँ ।
विश्वनाथ मन्दिर मैले सुनेको मात्र । आफैँ सशरीर त्यहाँ पुग्न पाउँदा आनन्दको सीमा रहेन । पहिल्यै देख्नेहरुको भनाइ अनुसार विश्वनाथ मन्दिर पुग्न साँघुरो गल्ली हुँदै हिँड्नुपर्थ्याे । मन्दिर पनि साँघुरो सङ्कुचित क्षेत्रमा खुम्चिएर बसेको थियो । तर मोदी सरकारले आसपासका घरहरुलाई मुअब्जा दिएर अन्तै सारेको रहेछ । त्यसकारण, मन्दिरसम्म पुग्ने बाटो र परिसर समेत फराकिलो रहेछ । सजिलै दर्शन गर्नसक्ने गरी व्यवस्थापन गरेको पायौँ ।
बेलुका अश्वमेघ घाटमा गएर गंगा आरती हेर्यौं । त्यहाँ विशाल भीड थियो । आरती सकिएपछि निस्कँदा टोली सदस्यहर तितरबितर हुने सम्भावना देख्यौँ । त्यसैले, आरती समापन हुनुअगावै हामी त्यो भीड छिचोल्दै बाहिर निस्कियौँ ।
असोज २७ गते बिहान हामी मणिकर्णिका घाट स्नान गर्न गयौँ । ४१ वर्षअघि बुबाको जीवनका अन्तिम समयमा आफ्नो शीर देखाउँदै बुबाले भन्नुभएको थियो- “मेरो यो मोहनको हातले मणिकर्णिकामा लगेर सेलाओस् ।” बुबाले भनेको मलाई सम्झना छ । सतिदेवीको मृत्युले शोकाकूल भई उनको शवलाई बोकेर हिँड्नेक्रममा सतिदेवीको कानको मणि यसै स्थानमा झरेको हुनाले यो ठाउँमा शक्तिपीठ बनेको हो भन्ने कथन रहेछ ।
बुबाको अन्तिम इच्छाअनुसार बुबाको अस्तु लिएर दाजु र भिनाजु जगन्नाथ गड्तौला यस घाट आउनुभएको थियो । बुबाको अस्तु विसर्जन गरिएको कारणले पनि हामीलाई यो घाट हेर्ने र नुहाउने इच्छा भयो । मैले नै दाजुलाई यो प्रस्ताव राखेकी थिएँ । ४१ वर्ष अगाडि दिवंगत हुनुभएका पिता र ५ वर्ष अगाडि दिवंगत हुनुभएका माताको स्मरण गर्यौं । एकछिन हामी सबै बाआमालाई सम्झेर भावुक भयौँ ।
दाजुभाउजू र मलाई त बुबाको सम्झना छ । बहिनी तारालाई पनि केही झल्को होला । तर, निता र मञ्जुसँग त बुबाको झझल्को पनि छैन । बुबा बितेका बेला यी दुई बहिनीहरु सानै थिए भने कान्छो भाइ गर्भमा नै हुर्कंदै थियो । बुबालाई त त्यसको आभास पनि थिएन ।
त्यसपछि दुईटा अटो चढेर हामी बनारसमा अवस्थित हेर्नुपर्ने प्रमुख ठाउँहरु गयौँ । नयाँ विश्वनाथ, मानस मन्दिर, कौडादेवी मन्दिर र हनुमान मन्दिर । कौडादेवी मन्दिरमा सबैले कौडा किनेर चढायौँ । वनारसका मुख्य गल्लीहरु घुम्यौँ । विश्वनाथ मन्दिर मैले सुनेको मात्र थिएँ । आफै सशरीर त्यहाँ पुग्न पाउँदा मन आनन्दित भयो ।
कणिकर्णिका घाट नुहाइसकेर हामी सारनाथ तिर प्रस्थान गयौँ । सारनाथमा विशाल बुद्धको मन्दिर रहेछ । बुद्धले त्यस ठाउँमा बसेर आफ्ना चेलाहरुलाई शिक्षा दिएको ठाउँ रहेछ । हामी छिटै त्यहाँ पुगेकाले मन्दिर खुल्ने समय १ घण्टा जति बाँकी रहेछ । हामी त्यहाँको चिडियाखाना र पार्कका मनोरम दृश्य हेरेर रमायौँ । मन्दिर खुलेपछि त्यहाँ रहेको बुद्धको स्वणर्मूर्ति दर्शन गर्यौँ । वनारसको प्रसिद्ध सारी बनाउने ठाउँ पनि सारनाथमै रहेछ । हामीले सारीहरु हेर्याैं तर कसैले पनि किनेनौँ किनकि हाम्रो यात्रा भर्खर सुरु भएको थियो र मन हुँदाहुँदै पनि यात्रामा अतिरिक्त भारी थप्न भने चाहेनौँ । सारनाथ घुमेपछि हामी बनारस शहर नै आयौँ ।
वनारसमा पुगेपछि त्यहाँको प्रसिद्ध पान खाने सबैको इच्छा भएअनुसार हामीले वनारसी पान खायौँ । बहिनीहरुले ‘खै के पान वनारस वाला । खुल जाए बन्द अकलका ताला’ भन्ने गीतमा टिकटक पनि बनाए र एकछिन रमाइलो भयो । यसरी दुईदिनको रमाइलो बनारस घुमाइपछि रेलबाट हामी प्रयाग पुग्यौँ । प्रयागमा हाम्रो एकदिनभरिको मात्र बसाइ थियो । असोग २८ गते हामी प्रयागमा त्रिवेणी संगम (गंगा, जमुना, सरस्वती) नुहाउन गयौँ । गंगा र जमुना संगम भएको ठाउँ गंगा नदीको बीचमा रहेछ । हामी डुङ्गा चढेर संगम पुग्यौँ । विशाल नदीको बीचमा संगम स्नान गर्न वरिपरि डुङ्गा राखेर बीचमा नुहाउने ठाउँ टाँड जस्तो बनाएर तिर्थयात्रुलाई सजिलो बनाइदिएको रहेछ ।
हाम्रो डुङ्गा चलाउने माझी बुढो बडो रमाइलो पाराले गफ गर्ने रहेछन् । हामीलाई वरिपरिको वातावरणको जानकारी गराउँदै संगम भएको ठाउँमा एकजना पण्डा भएको डुङ्गामा पुर्याइदिए । ती पण्डाले हामीलाई नुहाउने तौरतरिका सिकाए । पुजा सामग्री पनि उनैले दिए र संकल्प गराई नुहाउन लगाए । पण्डाले भनेबमोजिम हामी सबैले नियमपूर्वक आनन्दले नुहायौँ । तीन नदीको संगम भने तापनि त्यहाँ गंगा र जमुना नदी मात्र देखिँदा रहेछन् । सरस्वती चाहिँ भित्रभित्रै दबिएकी छन् भन्ने किंवदन्ती रहेछ । गंगाजीको पानी सेतो र जमुनाको पानी नीलो देखिने रहेछ । धेरै परसम्म आ-आफ्नै रङ्गमा बग्दा रहेछन् । संगम नुहाएपछि हामी गंगा किनारमा सुतेका विशाल हनुमानको दर्शन गर्यौं । दर्शनपश्चात् रेल्वे स्टेशनतिर लाग्यौँ । प्रयाग रेल्वे स्टेशन साहै्र सफा र बस्न पनि सुविधा भएको रहेछ । यात्राभरि देखेको स्टेशनमध्ये सबैभन्दा सफा प्रयाग रेल्वे स्टेशन लाग्यो । त्यहाँ सबै झोला बिसाएर हामी पालै पालो गरेर प्रयाग घुम्यौँ । राति १० बजेको रेल चढेर हामी दिल्ली प्रस्थान गर्यौं ।
प्रयागबाट १० बजे राति रेल चढेका हामी बिहान झिसमिसे उज्यालो हुँदै गर्दा दिल्ली रेल्वे स्टेशनमा ओर्लियौँ । धर्मशालामा बस्न पाइने आशामा हामी चाँदनी चोक पुग्यौँ । चाँदनी चोक पुग्दा त्यहाँको सत्यनारायण धर्मशाला खाली नभएको र नेपालीलाई बस्न पनि नदिने भन्ने बुझियो । त्यसपछि त्यहाँ आसपासमा होटल र लज खोज्न दाजु र तारा निस्किए हामी त्यही सामान रुँगेर बस्यौँ । त्यहाँ वरिवरि कुनै होटल लज नभेटिएपछि कान्छी बहिनी मञ्जुले इन्डियातिरै बस्ने उसका आफन्तलाई सम्पर्क गरी बस्ने ठाउँको बारेमा जानकारी लिई । नेपालीलाई खान बस्न सबै सुविधा भएको होटल-लज पहाडगंजमा छ भन्ने कुरा थाहा भयो । बहिनीले अनलाइनबाटै बस्ने ठाउँको होटलवालासँग सम्पर्क गरेर बसाइको व्यवस्था मिलाई ।
वास्तवमा त्यहाँ खाना र आवासको राम्रो प्रबन्ध रहेछ । होटल र लजहरु प्रशस्त रहेछन् त्यहाँ । पहाडगंजमा ठूलो सङ्ख्यामा नेपालीहरु भेट हुने रहेछन् । हामीले दिल्ली रेजेन्सी होटलमा आफ्ना झोला बिसाएर खाना चाहिँ नेपालीहरुले खोलेको होटलमा नै खायौँ । दिल्ली घुम्नका लागि लज मालिकले नै गाडीको व्यवस्था गरिदिए । लज मालिकले भनेको निर्धारित समयमा हामी तयार भएर तल झर्यौं । चियानास्ता गरी विहानै दिल्ली यात्रामा निस्कियौँ । हामीलाई लिन प्रमोद नाम गरेका भाइ आए । उनी हाम्रो दिल्ली घुमाइभरिका एकदिने गाइड रहेछन् । एक जनाको रु. ४०० को दरले प्याकेजमा घुमाउने व्यवस्था रहेछ । त्यो प्याकेजभित्र अक्षरधाम चाहिँ पर्दो रहेनछ । त्यो आफ्नै हिसाबले घुम्नुपर्ने रहेछ । दिल्ली पुगेकै दिन बस्ने बन्दोबस्त भएपछि हामी नुहाइधुवाइ, खानपिन सकेर अक्षरधाम घुम्न निस्कियौँ ।
मेट्रो चढेर अक्षरधाम जान भनी मेट्रो स्टेशन पुग्याैँ र मेट्रो चढ्यौँ । हामी चढेको मेट्रो गलत परेछ । त्यो थाहा पाएर सुरुमा निता ओर्ली । तर हामी अरु चाहिँ झर्नै नपाई रेलको ढोका बन्द भयो । हामी रेलभित्र भयौँ निता मात्र बाहिर । रेल आफ्नो गतिमा हुइँकियो । हामी सबै आत्तियौँ । त्यहाँ आत्तिनु सिवाय कुनै उपाय पनि थिएन । हामी अगाडिको स्टेशनमा ओर्लियाैँ । तर अब बहिनी छैन । फेरि फर्कनु कि पर्खनु ? हामीले केही सोच्न सकिरहेका थिएनौँ । फोन गर्न फोन छैन । तर प्रत्येक पन्ध्र मिनेटको फरकमा मेट्रो आउँदा रहेछन् । हामी अर्कोमा बहिनी आउँछे भन्ने आशामा बस्यौँँ । नभन्दै निता अर्को मेट्रो चढेर त्यही हामी भएको ठाउँमा आइपुगी । बहिनीसँग छुट्टिएको पन्ध्र मिनेटको अवस्था अविस्मरणीय र अवणर्नीय छ । हामी सबैले खुसीको सास फेर्यौं । अनि अर्को मेट्रो चढेर हामी अक्षरधाम घुम्न गयौँँ ।
मेरो दिल्ली घुमाइ यो दोस्रो पटक थियो । म पहिले पनि गएकी थिएँ । कान्छो देवरबावु (देवेन्द्र) दिल्ली बस्नुभएको बेला हामी श्रीमान श्रीमती गएका थियौँ । भाइले हामीलाई दिल्लीका हेर्न लायक मुख्य मुख्य ठाउँ सबै घुमाइसक्नु भएको थियो । त्यसैले यो अक्षरधाम घुमाइ पनि मेरो दोस्रो पल्ट थियो । हुन त जतिपल्ट गएपछि प्रायः सबै ठाउँमा केही नयाँ देख्न पाइन्छ । अक्षरधाममा पनि धेरै कुराहरु थप भएको पाएँ । अघिल्लो पटक गएको भन्दा हेर्न लायक अन्य थुपै्र कुराहरु थप भएका रहेछन् । घुम्दै, दृश्यहरु फोटोमा कैद गर्दै आनन्दित भयौँ ।
असोज ३० गते प्याकेजभित्र पर्ने अन्य ठाउँको भ्रमणमा निस्कियौँ । गाइड भाइ प्रमोदले सरल भाषाशैलीमा सबै ठाउँको बारेमा जानकारी गराउँदै लगे । संसद भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, दिल्ली गेट, कुदुवमिनार, लोटस टेम्पल, लाल किल्ला, गान्धी समाधि आदि दिल्लीका मुख्य मुख्य ठाउँको अवलोकन गरी साँझ होटलमा आइपुग्यौँ ।
===
दुई दिनको दिल्ली बसाइपछि असोज ३० गते हामी दिल्ली केन्ट जक्सनबाट बेलुका ४ बजे रेल चढ्यौँ । त्या रेलेले विहान पाँच बजे जम्बुतबी ओराल्यो । जम्बुतबीबाट छ बजेकोे बस पक्रेर जम्बुकटरातिर लाग्यौँ । विहानको उज्यालोमा बाहिरी सौन्दर्य हेर्न लायक थियो । कतै सुरुङको बाटो, कतै पहाडको बाटो । जम्बुकटरा पुग्दा करिब दश बजेको थियो । त्यहाँका होटलवालाहरुले हामी नयाँ मान्छे देखेर वरिपरिबाट घेरे । ती मध्ये एकजना मान्छेका पछि लाग्यौँ । होटलका गाडि त्यहीँ हुँदा रहेछन् । ती व्यक्तिले हामीलाई गाडी चढाई पठाए । सिंह प्यालेस होटल एण्ड लज कटरामा तीन तला माथिको एउटा ठूलो कोठामा झोलाझाम्टा थन्कायौँ । नुहाइधुवाइ र खानपिन त्यही होटलमा भयो ।
दिउँसो दुई बजे हामी वैष्णोदेवी दर्शनार्थ यात्रामा निस्कियौँँ । पैदल हिँड्ने ठाउँसम्म हामीलाई होटलकै गाडीले पुर्याइदियो । त्यहाँ पर्ची (परिचयपत्र कार्ड) बनाएर मात्र वैष्णोदेवीको यात्रा सुरु हुँदोरहेछ । हामी सबैले पर्ची बनाएर घाँटीमा झुन्ड्याई यात्रामा अघि बढ्यौँ । पैदल हिँड्न नसक्नेका लागि घोडा पाल्की आदिको पनि सुविधा थियो तर हामी सबैको हिँडेरै जाने निधो गरेका थियौँ । हाम्रो टोलीमा अरुको दाँजोमा हिँड्न नसक्ने चाहिँ म थिएँ । बाटोभरि फलामे ट्रस्टमा टिनको छानो, भुईमा पार्किङ टायल ओछ्याइएको, बाटो उकालो तर पैदल यात्रीलाई सुविधायुक्त बनाइएको रहेछ । समाउँदै हिँड्नलाई रेलिङ, थकाइ मार्न ठाउँ ठाउँमा बस्ने बेन्चहरु, सफा ट्वाइलेट ठाउँठाउँमा, सुफत मूल्यका चिया, कफि, नास्ताका होटलहरु व्यवस्थित तरिकाले सञ्चालन भएका रहेछन । पैदल यात्रीका लागि दुःख नहोस् भनेर सजिलो बाटो बनाइएको रहेछ । हामी विस्तारै विस्तारै हतार नगरी बस्तै खाँदै हिँड्याैँ ।
करिब छ घण्टाको पैदल यात्रा गरेपछि अर्धकुमारी मन्दिर पुग्यौँ । त्यहाँ धेरै भिड भएकाले दर्शन गर्न सकेनौँँ । बाहिरी दृश्यावलोकनमै चित्त बुझायौँ । फर्कंदा अर्धकुमारी मन्दिर दर्शन गरौँला भनेर हामी अगाडि बढ्यौँ । त्यहाँ झमक्क साँझ परेको थियो । बाटाभरि घोडा, पाल्की र पैदल यात्रीको असाध्यै भीड थियो । जाने र फर्किनेहरुको लस्कर छ । त्यहाँको बाटोले सुत्ने समय पाउँदो रहेनछ । रात र दिन नछुट्टिने रहेछ । चौबिसै घण्टा जागृत अवस्थामा रहने अद्भूत ठाउँ रहेछ त्यो । मधुरो धूनमा हरसमय भजन बजिरहँदो रहेछ । मन्दिरसम्म पुग्नका लागि हेलिकप्टरको पनि व्यवस्था रहेछ । तर हाम्रो टोलीले त्यो बारेमा जान्न चाहेनौँ । हिँड्न सक्नेलाई हिँड्नैमा मजा जस्तो लाग्यो, छुट्टै आनन्द । हिँड्दै बस्दै गरेर करिब नौ घण्टाको हिडाइँपछि करिब साढेदश बजे राति हामीले वैष्णेदेवीको दर्शन पायौँ ।
वैष्णोदेवीको दर्शनपछि भैरवनाथको दर्शन गर्न हिँड्यौँ । भैरवनाथ मन्दिर अझ उचाइमा रहेछ । हाम्रो टोली विस्तारै विस्तारै घस्रँदै अघि बढ्दै थियो । मलाई हिँड्न अलिक कठिन भएको बुझेर बहिनी ताराले मान्छे बोक्ने ट्रलीवालालाई एकजनालाई भैरव मन्दिर पुर्याएको कति लिन्छौ भनेर सोधी । उसले एकजनाको पाँचसय लाग्ने कुरा बतायो । अनि उसैले सोध्यो- को जाने? ताराले मतिर देखाई । मलाई मोटो देखेर होला त्यो ट्रलीवालाले भन्यो- ‘उसका तो सातसो लगेगा’ ।
मलाई रिस उठ्यो र म फटाफट हिडेँ । बहिनीहरु हाँसे । दिदीलाई मोटी देखेर सातसय भन्यो । ‘मै एकहजार दुङ्गी तुम सातसो बोला’ भन्दै हिँड्न थाल्यौ ।
रातिको १ बजे भैरवनाथको दर्शन गरेर ओरालो झर्न थाल्यौँ । तल झर्दा भैरवनाथबाट छोटो बाटो पनि रहेछ । त्यही छोटो बाटो ओर्लियौँ । तर अलि ठाडो ओरालो भएकाले निकै सतर्क हुँदै बिस्तारै हिँड्यौँ । बस्तै खाँदै ओरालो झर्दा हामी करिब विहानको आठ बजे लगातार अठार घण्टाको हिँडाइपछि कटराको लजमा आइपुग्यौँ । सबैजना गलेर मरेतुल्य भएर लजमा पुग्नासाथ ओछ्यानमा लड्यौँ ।
रातभरिको निद्रा, भोक र थकानले सताएकाले हामी कोही पनि चट्पटाउने अवस्थामा थिएनौँ । तर उमेरमा म ठूली भएपनि नातामा भाउजूले ठूलोको भूमिका निर्वाह गर्नुपर्यो । भाउजूले भाउजूको मात्र नभएर यात्राभरिनै आमाको भूमिका पनि निर्वाह गर्नुभयो । भाउजुले गलेँ नभनी स्याउ किनेर ल्याउनुभयो । त्यहाँ स्याउ सस्ता र मिठा पाउँदा रहेछन् । सबैलाई उठाएर स्याउ खुवाउनुभयो । घरैबाट सातु बोक्नुभएको थियो । त्यही घोलेर सबैलाई पिउन दिनुभयो । हामी सबैलाई खुवाएर मात्रै आफूले खानुभयो । त्यति खाएपछि मात्रै सबैको अलि अलि गरेर जिउमा शक्ति सञ्चार भएको जस्तो लाग्यो । जम्बुकटरामा स्याउ, ओखर, केशर, हिङ आदि त्यहीँका उत्पादन हुन्छन् जस्तो लाग्यो किनकि त्यहाँ यी चिजहरु सस्तो मूल्यमा उपलब्ध रहेछन् । हामीले पनि केशर र हिङ चाहिँ किन्यौँ । दुईतीन घण्टा आराम गर्यौं, नुहायौँ अनि मात्र आफूलाई अलि चङ्गा महसुस भयो ।
बेलुकाको चार बजेतिर कटहरा बजार घुम्न निस्कियौँँ । त्यहाँ जेरी, राउडी, कुल्चे, चटपटे जेजे मन लागेको खायौँ । त्यसपछि एकछिन घुम्न निस्कियौँ र खाना खाएर लजमा बस्यौँ । भोलिपल्ट बिहानको बसबाट हामी जम्बुतवी आइपुग्यौँ र त्यहाँको प्रसिद्ध रघुनाथ मन्दिरको धर्मशालामा झोला सामान थन्क्याएर तम्बुतवी बजार, रघुनाथ मन्दिर घुम्यौँँ ।
एक रातको जम्बुतवी बसाइपछि रातिको रेलबाट पञ्जाव स्वणर्मन्दिर लाग्यौँ । रेलबाट ओर्लिँदा रात बाँकी नै थियो । रेल्वेमै बसेर त्यहाँको रमाइलो हेर्दै रात काट्यौँ । विहान भएपछि गुडलक नाम गरेको लजमा समान थन्क्याएर नुहाइधुवाइ गरी हामी स्वर्ण मन्दिरतिर गयौँ । स्वर्ण मन्दिर दर्शन सकेर त्यहाँको लंगर (भोजन) खायौँ । मैले टिभी च्यानलमा देखेको मेगा किचन (लंगर) त्यहाँ खान पाइयो । साह्रै व्यवस्थित, सफा, सबै स्वतस्फूर्त काममा लागेका । हजारौँ मानिसले त्यहाँ भोजन गर्दा रहेछन् । यो सबै बडो अचम्म लाग्यो मलाई । कतै पानी बाँडिरहेका छन् । कतै प्रसाद बाँड्दैछन् । बडो आनन्द लाग्ने त्यो ठाउँ । त्यही बसिरहुँ जस्तो । आखिर हिँड्नु त पर्थ्याे नै । आखाँभरि र तस्वीरमा त्यहाँका दृश्य कैद गर्दै हामी जलियाँवाला बागतर्फ लाग्यौँ ।
जलियाँवाला बाग एक ऐतिहासिक स्थल रहेछ । यस ठाउँमा १९१९ मा शान्तिपूर्ण आन्दोलन गरिरहेका हजारौँ निहत्था नागरिकहरुलाई अङ्ग्रेजहरुले घेरामा पारेर अन्धाधुन्ध गोली हानेका रहेछन् । ती विवश नागरिकहरु कतिपयले चाहिँ अङ्ग्रेजको हातबाट मर्नुभन्दा आफै आत्महत्या गर्नु ठीक भनी नजिकैको इनारमा हाम फाली देहत्याग गरेका थिए भन्ने इतिहास रहेछ । त्यो इनार अहिलेपनि सुरक्षित र संरक्षित अवस्थामा पायौँ । जलियाँवाला बागको ऐतिहासिकता सम्बन्धी चित्र र डकुमेन्ट्रीहरु पनि हेर्न पायौँ ।
त्यसपछि पञ्जाबको दुर्गाणा मन्दिर दर्शन गर्न जाने कार्यक्रम बन्यो । पञ्जाबका स्थानीयहरु स्वरको पछाडि ’ण’ जोड्दा रहेछन् । पहिला त मैले ‘दुर्गाणा मन्दिर’ भनेको बुझिनँ । मन्दिर पुगपछि मात्र दुर्गा मन्दिर भन्ने थाहा पाएँ । पञ्जाबको अमृतसरबाट हामी बिहान छ बजेको रेल चढी कुरुक्षेत्र पुग्यौँ । त्यहाँ बैरागी आश्रममा तीनरात बितायौँ । कात्तिक आठ गते पच्चीस तारिखका दिन सूर्य ग्रहण लाग्ने भएकाले कुरुक्षेत्रका प्रसिद्ध कुण्ड सूर्यकुण्ड र ब्रम्हसरोवरमा सूर्यग्रहण स्नान गर्यौं ।
र, भोलिपल्ट त्यहाँको प्रसिद्ध ठाउँ कुरुक्षेत्रमा महाभारतको लडाइँ भएको ठाउँ, भीष्मपितामह वाण शैयामा सुतेको ठाउँ आदि हेर्यौं । यो क्षेत्रको बारेमा हामीले महाभारत कथामा सुनेका र टिभीमा महाभारत सिरियलमा हेरेका थियौँ । त्यही ठाउँमा प्रत्यक्ष पुगेर हेर्न पाउँदा खुसी र आनन्दको सीमा रहेन । कुरुक्षेत्रबाट हामी नौ गते बिहान आठ बजेको बसबाट वृन्दावन तर्फ लाग्यौँ ।
बेलुका हामी वृन्दावनको अट्टलाचुंगी सनकादिक आश्रममा पुगेर बस्यौँ । हाम्रो भान्जी भाउजु (कान्छी फुपुकी बुहारी) त्यही बस्नु हुने भएकाले हामी पुग्नुअगावै त्यो आश्रम खोजीदिनुभएको थियो । जस्ले गर्दा हामीलाई त्यहाँ बस्ने खान सजिलो भयो । कत्तिक १० गते भाइटिका भएकाले हामी टिका लाउने उद्देश्यसाथ मथुरातर्फ लाग्यौँ । जमुना किनारमा तिहारको टिका लगायौँ । त्यसपछि कृष्ण जन्मभूमि दर्शन गर्न गएका थियौँ तर असाध्यै भीड भएका कारण दर्शन गर्न भने सकेनौँ । र, त्यसैदिन गोवर्धन पर्वत परिक्रमा गर्याैं ।
अर्को दिन बाँकेबिहारी दर्शन गर्न गयौँ । त्यो साघुरो गल्ली असाध्यै भीड, हामी भीडमा हरायौँ । सबैजना छुट्यौँ । सबैले आ आफ्नो बुताले भ्याएसम्म दर्शन गर्याैं । मैले चाहिँ भीडमा झण्डै स्वास नै जाला जस्तो भयो र पहिलेपनि दर्शन गरिसकेको हुँदा परैबाट भगवानलाई सम्झेर दर्शन गरेर फर्किएँ । मूल बाटोमा निस्किएपछि हामी सबै भेट भयौँ । त्यसपछि रंगनाथ मन्दिर, निधिवन र अन्य धेरै मन्दिरहरु घुम्यौँ । निधिवनभित्र रात्रिको समयमा भगवान कृष्ण राधासँग सधैँ आउनुहुन्छ, त्यो कसैले हेर्नु हुँदैन, हेरेमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेछ । रात्रिको समयमा निधिवनका बाँदर पनि सबै बाहिर जान्छन् भन्ने किंवदन्ति रहेछ । त्यसभित्र एउटा मन्दिर शैया सहित रहेछ । त्यहाँ राधा कृष्णलाई लगाउने श्रृङ्गार सामग्री, लुगाकपडा, गहना, खानेकुरा, आदि राखिदिने अथवा चढाउने गर्दा रहेछन् । विहान ढोका खोलेर हेर्दा सबै सामान प्रयोग गरिसकेका अवस्थाका हुन्छन् भन्ने जनविश्वास रहेछ । मलाई चाहिँ निधिवन भनेको ठूलो जङ्गल होला जस्तो लाग्थ्यो तर ससाना होचा र धेरै पुराना पोथ्रे रुखहरु रहेछन् । त्यहाँ सोध्दा तुलसीको वन हो भन्थे । तर तुलसीको बोट जस्तो लागेन मलाई चाहिँ ।
निधिवन घुमिसकेर हामी बरसाना र नन्दगाउँ गयौँ । नन्दगाउँ राधाको जन्मगाउँ रहेछ । त्यहाँ राधाको मन्दिर रहेछ । त्यो राधाको मन्दिर चाहिँ निकै उचाइमा रहेछ लगभग १०० खुट्किला चढेर हामी त्यहाँ पुग्यौँ । मन्दिर बन्द हुने समयमा पुगेछौँ । खुल्नलाई एक घण्टा समय बाकी रहेको हामीले जानकारी पायौँ । हामीलाई ढिलो भएकाले राधा मन्दिर बाहिरबाटै दर्शन गरी नन्दगाउँतर्फ लाग्यौँ । नन्दगाउँ जहाँ श्रीकृष्ण अढाई वर्ष देखि नौ दश वर्षको हुन्जेल सम्म बसेका रहेछन् ।
नन्दगाउँबाट फर्किंदा अँध्यारो भइसकेको थियो । त्यसैले हामी सरासर आश्रममा आएर बास बस्यौँ । यो थियो कात्तिक ११ गतेको कुरा ।
===
१२ गते हामी ताजमहल हेर्न आगरातर्फ प्रस्थान गर्यौं । वृन्दावनदेखि लगभग सत्तरी किलोमिटर दक्षिण पश्चिममा रहेछ आगरा । मथुरा पुगेर आगरा जाने बस समात्यौँ । बसबाट रमाइला दृश्य हेर्दै आगरा तर्फ लाग्यौँ । आगरामा पनि अकाट्य भीड थियो । झण्डै एक किलोमिटरको लाइनमा गएर गाँसियौँ । लामो धैर्यपछि प्रवेशद्वार सम्म आईपुग्यौँ । हामीलाई लाइनमा छोडेर दाजु टिकट लिन जानुभएको थियो तर अत्याधिक भीडका कारण टिकट ल्यउन सक्नुभएन । पुरुषको तुलनामा महिलाको लाइन केही छोटो भएकाले कान्छी बहिनी मञ्जु लाइनमा लागी । ऊ टिकट काउन्टरमा पुग्दा थाहा पाइछ, इन्डियाको आधारकार्ड हुनेलाई प्रति व्यक्ति रु. ५० नत्र रु. २५० टिकट दर रहेछ । उसले कलकत्तामा भएका उसका आफन्तलाई तुरुन्तै त्यहीँबाट फोन गरेर मेसेन्जरमा आधारकार्डको फोटो खिचेर पठाइदिनु भनिछ । उहाँबाट लगत्तै आधारकार्ड पठाइदिनुभएछ र त्यो कार्डको फोटो देखाएर सबैका लागि सुलभदरको टिकट काटेर ल्याई ।
गेटबाट भित्र प्रवेश लगत्तै दाजु हामीबाट छुट्नुभयो । ताजमहल एरिया घुमुन्जेल दाजुसँग हाम्रो भेट हुन सकेन । हामी घुम्ने क्रममा जहाँ जहाँ गयौँ, भीड पनि हामीलाई पछ्याउँदै त्यहीँ त्यहीँ पुगेजस्तो लाग्यो । अन्यत्र चाहिँ दाजुले नेपाली ढाका टोपी लगाउनुभएको थियो । हामी त्यहीँ टोपी लगाएको टाउको हेर्दै हिँड्थ्यौँ र दाजुलाई पछ्याउँथ्यौँ । तर त्यहाँ त टोपी लागाउनु भएको थिएन, कारण दुईसय जोगाउन भारतीय भएका थियौँ । हामी दाजुसँग भेट हुने कुरामा ढुक्क थियौँ तर भाउजू चाहिँ अलिक उदास हुनुभयो । हामी दाजुसँगसँगै घुम्दै फोटो खिच्न पनि पाएनौँ । त्यतिबेला दाजुसँग फोन सम्पर्क पनि हुन सकेन । फिर्ने बेलामा दाजुसँग गेटमा भेट भयो र हामी सबैमा खुसीयाली छायो । त्यसपछि पुनः बृन्दावनतर्फ फर्कियौँ ।
अब हाम्रो बृन्दावन बसाइ एकदिन मात्र थियो । त्यसैले अर्कोदिन बिहान मथुरा पुग्यौँ । त्यहाँ घुम्नुपर्ने ठाउँ सबै घुम्यौँ र गोकुल गयौँ । गोकुल घुमेर फर्किंदा बाटामा रमणरेती भन्ने ठाउँ रहेछ । ताराले त्यो ठाउँपनि हेर्नलायक छ, हेर्नुपर्छ भनी । धेरै गलेकाले होला मैले चाहिँ अलि आलस्यता देखाएँ । तर सबैको त्यो ठाउँ हेर्ने इच्छा भए अनुसार रमणरेती गयौँँ ।
त्यो ठाउँ बाल्यकालमा गोपीहरु, साथीहरु र राधासँग नदीको किनारको चिसो बालुवामा खेलेको वणर्न भागवतमा समेत पाइँदो रहेछ । अहिले पनि त्यो ठाउँमा बालुवा चिसो थियो । त्यहाँ जाने सबै तीर्थयात्रीहरुले भगवान कृष्णको लागि बालुवाको मन्दिर बनाउने, पाइला बनाउने गर्दा रहेछन् । अनि त्यही बालुवामा लडीबडी गर्ने गर्दा रहेछन् । नौला मान्छे देखेर एकजना भाइ हामी भए ठाउँमा आए । उनले त्यहाँको विधि सुनाउन र सिकाउन थाले । ती व्यक्तिले भनेबमोजिम हामीले पनि बालुवामा केटाकेटी खेलेझैँ गरेर कृष्णको मन्दिर बनायौँ, कृष्णका पाइला बनायौँ, बालुवामा लडीबडी गर्यौं । धन्य आइएछ । नआएका भए यो ठाउँको महत्व थाहा पाउन र यो रमाइलो अनुभव गर्नबाट बञ्चित हुनेथ्यौँ जस्तो हामीलाई लाग्यो ।
हाम्रो वृन्दावन बसाइँ अब एकदिन मात्र थियो । भोलिपल्ट बाँकी रहेका ठाउँहरु घुम्यौँ जसमा प्रेम मन्दिर, इस्कोन मन्दिर, नौतले मन्दिर, पागलबाबा मन्दिर थिए । वृन्दावनको प्रसाद किनेर झोलामा हाल्यौँ । चौरासी कोसमा फैलिएको श्रीधाम बृन्दावन भ्रमण गरी अलौकिक आनन्द प्राप्त भयो ।
नेपाल फर्किने दिन अर्थात कात्तिक चौध गते सनकादिक आश्रममा हाम्रो गच्छेअनुसार केही भेटी अर्पण गरेर त्यहाँका गुरुजीलाई धन्यवाद ज्ञापन गर्दै विदा भयौँ । आश्रमबाट बिदा भएर हामी साढेदशको रेल चढ्न टुन्डुला जक्सन तर्फ लाग्यौँ । निर्धारित समयमा रेल चढेर हामी पन्ध्र गते कात्र्तिक दिनको बाह्र बजे जोगवनी आइपुग्यौँ ।
===
यसरी २०७९ साल असोज २५ गते सुरु भएको हाम्रो धार्मिक तथा पर्यटकीय यात्रा निर्बिघ्न र सार्थक भयो । कान्छा भाइबुहारी बिराटनगर बसपार्कबाट सिधै सप्तरी घरतिर लागे भने दाजुभाउजु र हामी चार दिदीबहिनीहरु बहिनी ताराको घरमा गयौँ । ज्वाइँ गुणराजलाई हामी आउने पूर्वजानकारी थियो । तसर्थ, हामी बहिनीको घरमा पुग्दा खाना तयार अवस्थामा थियो । धेरै दिनपछि घरमा पकाएको स्वादिष्ट खानाले तृप्त हुने मौका पर्यो । केहीबेर थकाइ मारेर दाजु भाउजू बाइक चढेर दुर्गापुरतर्फ लाग्नुभयो भने म बहिनीहरुसँग छुट्टिन मन मानिरहेको थिएन तैपनि आफ्नो घर दमकतिर लागेँ । बहिनीहरु गाडी चढाउन बससम्म आए र मलाई गाडी चढाएर हात हल्लाउँदै उभ्भिरहे । म पनि बसको झ्यालबाट हात हल्लाइरहे । बसले आफ्नो गति लियो ।
निर्मला भट्टराई
दमक—१, झापा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।