दाजु गुरुङ, हङकङ

“अंकल, सुन्नुहोस् त ।”

“ के मलाई भन्नुभा’ हो ?”

“हजुर,.. यो ब्रेकफास्ट बेड नंं. ४२० मा पुर्याइदिनुहोस् न, मेरो बुबाकहाँ । अलिक हतारमा छु अर्को हस्पिटलले दिएको अप्वाइटमेन्ट भ्याउन ।… प्लिज !”

दोस्रो तलाको फुड क्याफेबाट कफी पिएर फर्किरहँदा यौटा युवतीको अनुरोधमा टक्क रोकिन बाध्य बनाउँछ मेरा पाइलाहरूलाई । एकछिन त अलमल्ल पर्छु मलाई हो कि अरूलाई भन्नेमा ? किनकि वरपर पनि अरू भलाद्मीहरू उभिएछन् लिफ्ट पर्खने लाइनमा । मलाई नै किटान गरेपछि स्विकारेँ उनको अनुरोधलाई । हतारहतार ब्रेकफास्टको प्याकेट थमाएर दौडिन् “थ्याङ्क्यू अङ्कल” बोल्दै । म पनि लिफ्ट चढेर लागेँ चार तलामाथि, अंकोलोजी डिपार्टमेन्टतिर ।
आज १७ नोबेम्वर २०२१ बुधवारको दिन । सीतालाई चौथो सर्कलको नियमित केमोथेरापी लगाउने पालो । अलिअलि नर्वस छु यति ठूलो रोगसँग लामो समयदेखि लडिरहेको बिमारी भेटिँदा । र, निको हुनेमा सतप्रतिसत आशान्वित छु उनको प्रतिरोधको हिम्मत देखेर ।

नयाँ ठाँउ मेरो लागि मेडिसिटी हस्पिटल । केही अनभिज्ञ पनि छु यहाँका तौरतरिका बारेमा । पहिलो पटक पुगेको घरदेश भित्रिए यता । र, म नयाँ भएको कारण शोभा नानीसँगै आएकी छिन् सहयोगी बनेर । थोरै हतास हुन्छु हस्पिटल छिरिरँहदा । पहिलो कुरो चार तलाको ठूलो हलतिर छिर्ने ढोकामा टाँसिएको नाम पढेर । जसमा लेखिएकोछ—अंकोलोजी डिपार्टमेन्ट ।’ मन मुटु नै चसक्क हुन्छ नाम पढिरहँदा । छातीमा हात पुग्छ, अनायसै । असहज र अबरुद्ध भए झैँ लाग्छ निर्वाद चलिरहेको श्वासप्रश्वास । सायद, अरू जो कोहीलाई पनि यस्तो अनुभूति हुनसक्छ यहाँ पुगिँदा । गह्रौँ पाइलाले पछ्याइरहे सीता र शोभालाई ।

शोभा, सधैँ सँगै हुन्छिन् चाहे बी एन्ड बी हस्पिटल होस् या मेडिसिटी । अनि घरको काममा । यता हस्पिटल भित्रका सबैै तौरतरिका बारे पनि राम्रो जानकारी राखेकी छन् सुरुदेखि नै । हस्पिटल पुगेर कहाँ फाइल बुझाउने ? कसरी बिरामी भर्ना गर्ने ? कहाँ गएर विल बनाउने ? कहाँ गएर औषधी खरिद गर्ने आदि इत्यादि । साह्रै जाँगरिली र सहयोग गरेर नथाक्ने बानी । यता अरू पनि धेरै दिदीबहिनीहरू जोडिएका छन् सीता ओछ्यान परेदेखि । जयसीता, पूजा, जीवनी, सृजना, जेनीलगायत धेरै नामहरू छन् यो सूचीमा । हरतरहले सहयोग र साथ पुर्‍याइरहेछन् सबै खाले समयमा । यसरी पनि उनीमा थप ऊर्जा प्राप्त गरिरहे झैँ लाग्छ, मृत्युलाई जित्ने आत्मविश्वासको यात्रामा ।

एकएक गर्दै वेडहरू भरिन्छन् “डे कियर(सिफ्ट)” मा आउने बिरामीहरूले । बिरामीसँगै सलबलाउँछन् हस्पिटलका चिकित्सक र परिचारिकाहरू । कसैलाई फुर्सत छैन कामबाहेक अन्य कुरा सोच्न । दौडिरहेछन् एउटा कर्मको लयमा,आ-आफ्नै जिम्मेवारी वहन गर्दै । अनि नजिक आएर बिरमीलाई बोलाउँछन्—“हजुरलाई कस्तो छ सीता आन्टी ?” फिस्स हाँस्छिन् ठिकै छु आशय झल्काउँदै । हेरिरहन्छु, उनीमा जागृत एउटा मिठो सन्तुष्टिको लहर ।

एउटा निक्कै ठूलो हलभरि राखिएका बिरामी र वेडहरूमा थरिथरिका उपचार विधि र प्रविधिहरू । तर एउटा समनता— सबैमा स्लाई सिरेन्ज अनिवार्य भिराइएकाछन् वेड नजिक ठड्याइएको स्टिलको स्ट्यान्डहरूमा । त्यही हेर्न जोड्न बेड बेडमा औषधी बोकेर दौडधुपमा देखिन्छन परिचारिकाहरू । निलो पहिरनमा कहिले यता कहिले उता नजरमा सलबलाई रहन्छन्, शान्त सालीन छायाहरू ।

कति छिटो दुई हानी सकेकोछ समयले । पत्तै भएन, फरक परिवेशका नौला नौला परिदृष्यहरूमा हराइरहँदा । यता लामो पर्खाइ र थकाइले हो वा समय दौडेर ? कफी पिउने चहाना राख्छन् शोभा र सीताले । मेरो पनि सहमति जोडिँदा फुड—क्याफे पुगेर फर्किरहेछु दुई कप कफी र केही ब्रेडहरू बोकेर । अनुरोधको सौगात थपिएसँगै दुई वटा खाजाका प्याकेट भए चौथो तला पुगिँदा ।

“सर, यो तपाईंकाे ब्रेकफास्ट र कफी ।”

“हजुरलाई पो दुःख दिइछ छोरीले ?”

“छैन, .. यति सानो कामलाई किन दुःख मान्ने !”

मैले यति बोलिरहँदा बिस्तारै बेडमा सोझिएर बस्दै बोल्नुहुन्छ दुब्लो (बिरामी) मान्छे । मेरै उमेर समूहको । बेडमा एक्लै भएकोले ब्रेकफास्ट अगाडिको टेबुलमा राखिदिन्छु सजिलोको लागि । मेरो हातमा खाजाको अर्को प्याकेट बाँकी भएकोले फेरि आउने बाचा गर्छु कुरा गर्ने मन हुँदाँहुदै । मोडिन्छु सीता र शोभा रहेको बेड नम्वर ४२९ तिर ।

एउटा सानो पार्टेशनले अलग गराएकोछ यी दुई बेडहरूलाई । एउटा मुख्य ठूलो हलमा छ र अर्को केही सानो कोठा जस्तो भागमा ।

झण्डै एक महिना भयो काठमाडौं आएको । धेरै पापड पेल्नुपर्यो नेपाल आउन । एक त कोभिड-१९ ले जन्माएको लकडाउन कहर अर्को लाई-सीले उब्जाएका सवाल र रहर । एकैसाथ लैजानुपर्ने समय र बाध्यता । प्रायः निश्चित थियो नेपाल फर्किए पछि केही समय बस्नुपर्ने । एक त सीता बिरामी । फेरि घर गएपछि हतार गर्न मिल्दैन, कहाँ आगो लिन गए झैँ ! यसरी पनि ‘लाई-सी ’ ( दास्रो कथा संग्रह) हङ्कङमा लोकार्पण गरेर मात्र नेपाल फर्कने मनको एउटा चाहना  । किन कि हङकङको कथा (गर्भधान र जन्म) लाई—सी । यसरी हङकङसँग बढी नजिक रहेकाले मेरो मानसिकता पनि पहिले यतै देखाउने रहर । फेरि नेपाल गए पछि फर्कने निश्चित नहुँदा गरिहालौँ पछि धेरै ढिलो हुने एक समय स्वार्थ भनौं वा मनको अर्को तर्कना । अर्थात् थोरै आफ्नै लिडेढिपी । यो लिडेढिपी र स्वार्थले केही समय अलमल्यायो तुरन्तै नेपाल फर्कने मितिलाई । झण्डै एक महिना नै अलमलिएँ समय सामान्य रहँदासम्म । कहिलेकाहीं स्वस्वार्थले कता कता धकेलिँदो रहेछ, मान्छेको मन र कर्तब्य । तब गौण बनिदिन्छन् आवश्यकता र जरुरी अनि स्वस्वार्थ नरिवल भए पनि गहकिलो लाग्ने फलामे ढक जस्तो ।

जति बेला नेपाल आएँ धेरै सामान्य भैसकेको थियो सीताको अवस्था । तर पनि रातभरि छट्पटिरहन्थिन् पीडाले पिरोलिँदा । कति साह्रो पीडा निदाउन नसकिने । वल्टोकोल्टो भएर सुत्न नमिल्ने । जता राख्यो त्यसरी निदाउनु पर्ने महिनौँदेखि खपिरहेको यथार्तता । उनको पीडाको क्रन्दन रातभरि सुनिरहन्थेँ झ्याप्प निद्राले नछोपेसम्म । बेला बेला तातो पानी माग्थिन् उठेर पिउन नसक्दा । मधुरो लाईट जलाए हेर्थे, रोगले पीडाले थकाइले अत्यधिक च्यापेको कान्तिहीन अनुहार र गलेको शरीर । अनि बिस्तारै कपाल पातलिँदै गएर नाङ्गो देखिन थालेको टाउको । हेर्दा हेर्दै कति बेला आँखाबाट आँसुले वयल खेल्थे पत्तै नहुने । यस्तो बेला उनको शिर सुमसुम्याउन पनि डराउँछु, हातभरि कपाल झर्ने डरले ।

हरेक पटक एक एक मुठ्ठी औषधिका चक्कीहरू खानुपर्ने । दुखाइ बढ्याे भने झन नयाँ नयाँ औषधिहरू थपिने । सायद औषधिको कारण होला खानामा अरूची देखाउने । तर पनि शारीरिक तौल कम नहुने । छक्क परेका छन् रे चिकित्सकहरू । यस्तो अवस्थामा भेटिरहेछु उनीलाई, घर फर्किए यता । तर एउटा भरोसा लाग्ने कुरो उनमा रहेको आत्मविश्वास । कहिले कमजोर नठान्ने । बोलिरहेछिन् हात खाली नराखी । सधैंँ बिहान बेलुका खाना पकाउँथिन् मेरो लागि । पाहुना आए चिया खाजा बनाउन आफैँ अगाडि सर्ने । नगर भन्ने शब्द सुन्न नमान्ने । यति बेला मानौं केही भएको छैन स्वास्थ छिन जस्तो लाग्ने । जब सिरानी छेउ झोलामा राखिएका औषधिमा नजर पुग्थ्यो आत्तिन्थेँ मन थाम्न नसकेर । के भन्ने के नभन्ने ? बोल्न गाह्रो हुन्थ्यो सम्झाउने शब्दहरू नभेटिँदा । समय आफैँ पीडादायक बन्दै जान्छ उनको हालत सम्झेर देखेर । अनि पीडाले गलेर लुथ्रुक्क हुन्छु बसेको ठाउँबाट उठ्नै नसक्ने गरी ।

हरेक दिन दुखेको भाग देखाउँदै भन्ने गर्थिन— “मेरो शरीरको दाहिने पट्टीको भाग माथिदेखि तलसम्म झमझमाउने गर्छ सहनै नसक्ने गरी । यति साह्रो पीडा हुन्छ, विष मागूँ झैँ लाग्छ घरीघरी । तर यस्ता काँतर सोच सोच्नै सक्तिनँ सपनामा पनि । डर लाग्छ घरीघरी । कतै कति बेला ढल्ने हो कि थाहा नपाउने भएर ।… तर अझै केही त्यस्तो लाग्दैन केही हुन्छ भन्ने ।”

अनि बरर्र आँसुका ढिकाहरू वर्षन्छन् परिवेशलाई छिन्नभिन्न गर्दै । थोरै सम्हालिँदै फेरि बोल्छिन्— “धन्न बेलैमा आइदिनुभयो मेरो बुढो ।” रोकिँदै थप्छिन् “अस्तिसम्म होचा ठाउँ वा भुइँमा बस्न त के कल्पना पनि असम्भव । उठ्न उठाउन देखि शौचालय जानसम्म अरूको सहारा चाहिने । हरेक छिन छिनमा सहयोगी चाहिने । कहाँ सजिलो र सम्भव थियो र एक्लो हुँदा ? धन्न एक्लो छैन म । भाग्यमानी रहेछु यस अर्थमा । नभए के हालत हुन्थ्यो होला मृत्युसँग लडिरहेको बेला ? थोरै डराउँछु ती यर्थाथ सम्झेर ।”

सायद धेरै पीडाले होला, मनैदेखि बोलिरहे झैँ लाग्छ मेरो हात समाएर । मभित्र पश्चात्ताप र आत्मग्लानि चुलिएर सगरमाथा पुग्छ यति बेला । मैले स्वस्वार्थ कारण झण्डै एक डेढ महिना ढिलो गरेको थिएँ नेपाल फर्कन । हरेकपल्ट घोचिरहन्छ त्यो ढिलो गरिएको निणर्यले । कहिलेकाहीँ सानो चहानाले पनि स्वार्थी बन्दो रहेछ मान्छे । अनि स्वार्थले जन्माएको हिनताबोधमा खुलेर बोल्न नसकिँदो रहेछ हरेक उत्तर प्रतिउत्तरहरूमा ।

सत्य हो एक डेढ महिना ढिलो भएको । दोस्रो पुस्तक प्रकाशन तयारीले अलिकति बाटो रोक्यो त्यो समयमा । उनी मृत्युसँग लडिरहेको बेला जति मेरो उपस्थितिको जरुरी थियो, त्यति आवश्यकता थिएन आफ्नै लहडमा अलमलिरहनु । …हो धेरै थिए आफन्त र सहयोगीहरू तर मलाई नै खोजिरहेन्थिन रे अनुहारको भीडमा । अनि बेला बेला सोध्ने गर्थिन रे— अमिरको ड्याडीको फ्लाईट कहिले रे ?’

यता हङकङको जनजीवन बिस्तारै सहज बन्दै गइरहेथ्यो, लामो कोभिड आतङ्कदेखि । बिस्तारै खुल्न थालेका थिए बाह्य सम्पर्कका उडानहरू । तर म भने आँखा चिम्लिएर लागिरहे लाई-सी प्रोमोशनमा । आखिर सानो स्वार्थ भनाैँ या काम सकेर मात्र कर्तव्यतिर हिँड्छु भन्ने लेडेढिपी । अड्किए रोकिए आँखा चिम्लिए जसरी । र त हारिरहेछु अहिले उनको हरेक सवालहरूमा । घरीघरी असाध्य पीडादायक बनिदिन्छ परिवेश यस्तै यस्तै कारणहरूले ।

सीता र शोभा दुवै जना मौन छन् बेड नं.४२९ मा । बिरामी र रुगौलो दुवै मस्त निद्रामा । केवल निशब्दतालाई स्लाईनबाट औषधि पानी मात्र थोपा थोपाको मात्रामा झरेर गतिशीलताको प्रमाण दिइरहेछ यो वर्तमानलाई । एउटी आँखा चिम्लिएर कुर्सीमा ढल्केकी छिन् अर्की लगातार औषधि चढाइरहँदाको असर र थकानले ओइलाइरहे झैँ लाग्छ, अनिद्राका रातहरू बोकेर ।

केही खुसी पनि लाग्छ हरेक रात निदाउन नसकेको पीडा सम्झँदा । वेड नजिक पुग्छु तर कोही नबोलिँदिदा कता कता पीडाको आवाज आइरहेकै लाग्छ दुवै कानका भित्ताहरूमा । निद्रामा पनि किमो स्लाईनको थोपा थोपामा झर्दै उनको दायाँ हातको नसाको बाटो हुँदै हराइरहेछन् शरीरको भित्र भित्र तहहरूमा । हेरिरहँदा चसक्क चसक्क बिजिरहन्छ मेरो छाती, थोपाका निर्वाद गतिसँगै । यति लामो समय निरन्तर स्लाईन चढाएको कहिल्यै देखेको थिइन यो उमेर वा बेलासम्म । बिहान साढे दस बजेदेखि सुरु गरिएको किमो र अन्य औषधिका पोकाहरू निरन्तर झुन्डिरहेछन् बेडको सिरानीछेउ उभ्याइएको स्टिलको स्ट्याण्डमा । भन्दैछन् पाँच बजेसम्म चलिरहेछ यो सिलसिला । कति व्यस्त समय, शौच जाँदा पनि सँगै जान्छ यो स्ट्याण्ड किमो झुन्ड्याउँदै । आएदेखि दुईपल्ट मैले नै डोर्याएकोछु बाहिरी हलको पल्लो कुनामा रहेको शौचालयसम्म ।

बाधा नपरोस् भनेर चुपचाप ब्रेकफास्टको पेपर ब्याक बिसाइ दिन्छु नजिकको टेबुलमा । साँच्चै निदाएका रहेछन् दुवै जना । छोएन पेपर ब्याकको आवजले । यता मौनता छाए पनि अर्को बेडमा बिस्तारै बोलेको सुनिन्छ पर्दाको पछाडिबाट । केही परको भित्तो नजिकको बेड रुगौला भने जोडजोडले फोनमा बोलिरहेछ बेफिकर रवाफ देखाउँदै । सोचेँ, नेपाल हो यहाँ जसलाई जे गर्न पनि छुट छ चाहे हस्पिटलमा होस् वा अन्य पब्लिक एरिया । चर्को बोल्ने वीर कानुन मिच्ने बहादुर । पलना गर्ने निमुखा ठहर । यस्तालाई सम्झाऊँ आइलाग्ने डर । कति असर परेको होला बिरामीलाई ? तर यस्ता असंस्कारिक हर्कतलाई बहादुरी सम्झने गर्छन् मुर्ख बुद्धिमान मनुवाहरू । दिक्क बनाउँछ एकछिनको बसाइँलाई ।

स्टिलको सेतो स्ट्याण्टमा झुन्ड्याइको स्लाईन पानी मात्र होइन किमो हो किमो । जुन हरेक दुई हप्ता पछि नियमित दिइने चौथो लहरको किमो थेरापी । कस्तो कस्तो प्रविधि ? आङ नै सिरिङ्ग हुन्छ कतिपय औषधिको जानकारी हुँदा । अघि यो औषधि चढाइरहँदा सानी नर्सले भनेकी थिइन्— “एक घण्टा लाग्छ यो एक पोको औषधि पास हुन । फेरि शरीरको बाह्य भागमा पर्न दिनु हुँदैन, परे स्किन पिल्साउने डर । बडो होसियार हुनुपर्छ यो चढाउँदा ।”

उही दृश्य घुमिरहेछ अहिलेसम्म । उनले बोलेका शब्दहरू अझै कानमा गुन्जिएको आभास हुन्छ पाइपबाट बिस्तारै थोपा थोपा किमो झरिरहँदा । आफैंंलाई सोधिरहन्छु शरीरमा पार्न नहुने तर शरीरभित्र पठाउन मिल्ने कस्तो अचम्म । उनको भित्री अङ्गहरू कति पिल्सिरहेको होला असह्य पीडा बनेर । चसक्क दुख्छ मन । तर शान्त छिन् सीता गहिरो निद्रामा । अलिअलि सन्तोषमा अलिअलि बेचैनले हेरिरहन्छु निःशब्दतामा औषधिले गलाएको, थकाएको, सताएको थिलथिलो शरीरलाई ।

यता हरेक वेडसँग एउटा मात्र कुर्सी राखिएको छ बिरामी कुरुवाका लागि । कुर्सीमा निदाइरहेकी शोभालाई नबोलाई थोपा थोपा चुहिरहेको किमो ब्यागलाई हेर्छु जुन उधोमुन्टे लगाएर झुण्डिरहेछ स्टिलको स्ट्यान्डमा । टप्प टप्प टप्किँदै निरन्तर समाहित भइरहेछन् उनको रक्त सञ्चार नलीबाट । मानैँ वर्षौदेखि तृषित छन् उनका भित्री इन्द्रियहरू ।

लाग्छ, थकित भइसके होलान् उनका रक्त नलीहरू अतिरिक्त बोझ थपिँदा । एउटै ठाउँ मात्र प्रयोगले होला केही सुनिए झैँ लाग्छ नाडीको सुइ गाडिएको भाग । साह्रै झन्झटिलो छ उनको लागि यो स्लाईन चढाउने नसा फेला पार्न । उस्तै नयाँ नर्सहरू डराउँछन् फेला नपर्दा । यसरी पनि सधैँ एकै ठाँउको प्रयोग । उफ ! दुखाइमाथि दुखाइ थपिरहँदा दुखाइले पनि नछुने भइसके झैँ लाग्छ उनको शरीर । अझैँ थप्न बाँकी नै छ, किनकि तीन चार वटा स्लाईनका पोकोहरू नजिकको टेवलमाथिको किस्तीमा पल्टिरहेछन् पालो पर्खाइमा ।

बिरामीको चौतारी पो हो हस्पिटल ? थाकेर विश्राम लिइरहे जस्ता । यो विश्राममा वरपरका सबै बेडहरू भरिएका छन्, यसरी नै स्लाईनका पोकाहरू साथमा भिरेर । सबैको छेउमा एक एक जना कुरुवा बसेका छन् बिरामी हेरचाहमा । र, निलो ड्रेस लगाइएका नर्सहरू मात्र ओहोरदोहोर गरिरहन्छन् बिरामीका बेडहरूमा । लाग्छ, बिरामीहरूलाई आशाका दीप बाँडिरहेछन् खुसी मनले । यौटा विशेषता भनाैँ वा फरकता निलो ड्रेसमा सजिएका हुन्छन् नर्सहरू । बेलाबेला देखा पर्छन् निलो ड्रेसमाथि सेतो एप्रोन लगाएकाहरू । डाक्टरहरूले मात्र लगाउने गर्दा रहेछन् सेतो ड्रेस । सायद, पहिचान गर्न सजिलो बनाएको हो कि डाक्टर र नर्सहरूबीच ।

साह्रै व्यस्त रहन्छन् परिचालिकाहरू । त्यस्तै व्यस्त देखिन्छन् डाक्टरहरू । अनि सानो कम्प्लेनमा पनि तुरुन्तै आइपुग्छन् नर्सहरू । सरकारी हस्पिटलहरूमा पनि यस्तै जाँगर लगाइदिए कति धेरै सुविधा पाउने थिए होलान सर्वसाधारण बिरामीहरूले । तर डाक्टर नर्सहरूमा निजी स्वार्थ भारी भैदिएर हो वा सरकारी काम कहिले जाला घाम भएर हो उचित जाँगर नदेखाउँदा सेवाग्राहीमा वितृष्णा बढेको बढैछ सरकारी सेवा र हस्पिटलहरूप्रति । जहाँ हरेक पाइला पाइलामा जिउ हजुरिया गर्नुपर्छ डाक्टरदेखि सबै तहका मनुवाहरूलाई । नत्र बाह्र बज्छ हरेक पाइला पाइलामा । तर साँचो बोल्दा कम अराजक छैन स्वंयम् हामी पनि ।

एउटा तितो सत्य, जहाँ सरकारी सेवा वा व्यवस्थापन रहन्छ यस्तै अव्यवस्था र संस्कारले जरो गाँडेको छ हल्लाउ नै नसकिने गरी । अर्को जड राजनीतिक बेथिति । बेथिति नै थिति जस्तो हरेक क्षेत्रमा । अनि नीरिह मान्छेमाथि मात्र बर्सन्छ नियम कानुन हतियार बनेर । पालन गर्ने विवश छन्, सर्वसाधरण केही सामाजिक पद्वतिका कारणले र केही आफ्नै हैसियतका कारणले । चिकित्सकहरू पनि कम छैनन् कथनी र करनीमा । फरक फरक व्यवहार र हिसाबहरूमा । निजी क्लिनिकमा पुग्ने हो भने डा.साहेबहरू गलेर पग्लेर मैन बन्छन् अनि सरकारी ड्युटीमा बटार्न नसकिने फलाम जस्तो । हेर्दै बटारिएको घोच्ला जस्तो । तब बाध्य हुन्छन् बिरामी निजी अस्पतालमा धाउन । यस्तै यस्तै बाध्यतामा कुम्ल्याइरहेछन् निजी हस्पिटलहरूले मन लाग्दी शुल्कहरू अनि दिनदिनै दुर्गन्धित र असफल बनिरहेछन् सरकारी हस्पिटल वा सेवाहरू । धन्य मेरो देश नेपाल !

खुसी पो देखिएका छन् बिरामी र कुरुवा मस्त निद्रामा । तर कति पर्खने निशब्दतालाई ? फेरि ब्रेकफास्ट चिसो बन्ने डर । बोलाउँछु दुवैलाई उपस्थितिको आभास दिलाउँदै । मलाई कुर्सीमा बस्ने अनुरोध गर्दै उभिएर कफी पिउन थालिन् शोभा, यौटा केक हातमा बोकेर । यसै ठिक छु भनेर अस्वीकार गरिदिन्छु उनको अनुरोधलाई । लामो स्वास लिँदै बिस्तारै आँखा खोलिन् सीताले, एक लामो थकावटबाट सहज विश्राम लिए झैँ ।

पहिले त खान अरुची देखाइन् सीताले । तर मेरो ढिपी हार्न नसकेर अलिकति शरीर उठाएर कफी समातिन्, रिमोटले बेड सजिलो गरिदिए पछि । उनको रोजाइको केक पाएर होला बिस्तारै खान थालिन् पुलुक्क मलाई हेरेर । कति टीठ लाग्दो हेराइ । माया पीडा र विवशता एकैचोटि दौडिएर आउँछ विद्युतीय तरङ्ग झैँ मेरो आँखाको बाटो भएर । खान सजिलो होस् भनेर बेला बेला सहयोग गरिरहन्छु कफीको कप उचाल्न । उनको दाहिने हात बिहानदेखि नै व्यस्त छ किमोदेखि सह किमोहरू चढाउन । नाडीको नसामा सुई गाढेर किमो प्रवाह गरिरहेछन् शरीरको भित्र भित्र । अझै ३/४ वटा औषधिका पोकाहरू बाँकी नै छन्, अब को सुचीमा । हरेक दुई हप्तामा एक दिन दिनभरि नै लाग्छ औषधि चढाउन । बाँकी नै छ , खाने औषधिको मात्रा थप गणना गर्न ।

“सीता अन्टी, हजुरलाई कस्तो छ ?”

एउटी सानी नर्स हालचाल सोध्न बेडनजिक आइपुगेकी छन् यति बेला । हतारमा चस्मा तल लच्किएको हो की वा बानी ? यसो चस्माको ग्लास माथिबाट मलाई हेरेर मुसुक्क हाँस्छिन् फूलजस्ती नानी ।

बिस्तारै बोलिदिन्छु तर उनले सुन्ने गरी — “राम्रो मान्छे ।”

“अंकल पनि ..!” मुसुक्क हाँस्छिन छोटो प्रतिक्रियामा ।

कति छिटो चार पो बज्न लागेछ समयको घडी घुमेर । झल्याँस्स सम्झें बेड नं. ४२० लाई । त्यतै फर्किए शोभालाई बिरामी जिम्मा लगाएर । जम्मा ३/४ पाइलाको दुरीमा छ त्यो बेड ।

“थ्याङ्क यू अंकल , हजुरलाई दुख दिएँ ..!”

“…केही छैन यति सानो काम गर्न । बरु कस्तो छ तपाईंको बुवाहजुरलाई ?”

ती सानी युवतीसँगको छोटो दोश्रो संवाद । फर्किसकेकी रहिछन् बाहिर काम सकेर । साक्षी नाम बताउँथिन् बाबाकी कान्छी छोरीले । आइटी जागिरे ठमेलको कुनै प्राइभेट कम्पनीमा । यो पनि बताइन् युएस जाने प्रयासरतमा । बुवा बिरामीले सबै योजना थाँती रहेको । र, बुबाको परिचय शङ्कर श्रेष्ठ प्राध्यापन पेसा, ठाकुर राम बहुमुखी क्याम्पस वीरगन्ज । अनि बसाइ वीरगन्ज, रैथाने । परिचय पछि थाहा पाएँ- पेट (आन्द्र)मा क्यान्सरको तुस देखिएर पछि केही महिना अगाडि डा. पङ्कज कुमार बर्माबाट सफल अपरेशन सम्पन्न । र, अहिले अर्को चरणको उपचार किमोथेरापी भइरहेको छैटौं लहरमा ।

प्राध्यापक भन्ने बितिक्कै कताकता अपनत्व बोध हुन्छ आफ्नो विगतलाई कोट्याइ दिए झैँ। सम्मान गर्छु सर सम्बोधनले । बिरामले दुब्लो बनाएको मान्छे तर बोलाइ तगडा । पलायन नभए सायद यस्तै पगरी गुथेर यतै कतै हल्लिरहेको हुन्थेँ होला समयले डामेका खतहरू बटुल्दै । तर अहिले पहिचान हराएको भुइँ मान्छे म । कसरी कसैसँग दाँजिन सक्छु र उचाइ हराएपछि ?

घरबाट हिँड्दा दुईचार वटा पुस्तक झाेलामा राखेको थिएँ समय मिले पढ्ने विचारमा । झोला सधैँ साथमा हुनु अनि दुईचार वटा किताब बोकी राख्नु एउटा आदत नै भैसक्यो मेरो झोलेको । राखिएको मध्ये दुइटा आफ्नै पहिलो प्रकाशन “टाँकीका फूलहरू” । त्यही थमाइदिन्छु प्राध्यापक साहेबलाई, यौटा सम्मान र उपहार स्वरूप । यो क्षणलाई कैद गरिन् छोरी साक्षीले मोबाइल क्यामराबाट । यति बेला थोरै बेस्वाद लाग्यो नयाँ प्रकाशन “लाई—सी” दिन नपाउँदा । र, बाचा गरेँ अर्को भेटमा अवश्य टक्रयाउने ।

एउटै परिवेश अर्थात् वर्तमान । एकै प्रकारका रोगबाट पीडित परिवारको कथा व्यथा सुन्ने सुनाउने क्रम चलिरह्यो केही समय । कति चाँडै आत्मीयता बढेछ थाहै नपाई र थाहा पनि भएन समय हिँडेको ।

पाँच बजे मात्र सकियो सीतालाई औषधि लगाउने काम । हस्पिटलको डिस्चार्ज विल बुझाएर फर्कंदा प्रा. शङ्कर श्रेष्ठमा किमो लगाउने काम चलिरहेको थियो थप समय तन्काइमा । बिस्तारै पातलो हुँदै गइरहेथ्यो हलमा बिरामी र अन्यहरूका उपस्थिति । यो तलामा प्रायः डे कियरका बिरामीहरू मात्र आउँदा रहेछन् तोकिएको तालिकामा । केही अगाडि फर्किए पुनः भेट्ने बाचा गरेर ।

भोलिपल्ट प्रा शंकर श्रेष्ठको एउटा लामो स्टाटस फेसबैुक आउँछ, सम्झनामा खिचिएको फोटाहरूसहित । तारिफयोग्य शब्द र टाँकीका फूलहरूसँग गाँसिएका भावनात्मक लहरहरू । खुसी लाग्छ एकछिन संयोगवश जोडिएको भेटलाई यति धेरै प्राथमिकता दिएकोमा । अलि अलि अतिरञ्जित पनि लाग्छ ममाथि खर्चिएका शब्दहरू हेरिरहँदा । अनि अलिअलि खल्लोपनले सताइरह्यो लाई—सी दिन नपाएकोमा ।

दोस्रो पटक मेडिसिटी हस्पिटलको अङ्कोलोजी डिपाटेमेण्ट वेडमा भेटिएनन् प्रो..शङ्कर श्रेष्ठ । सायद फरक पर्यो होला समय तालिका । घरीघरी मेरो नजर पुगिरह्यो वहाँ बस्नु भएको बेड ४२० मा । अर्कै अनुहार ढल्किरहेछ त्यो वेडमा । कति आउँछन् जान्छन् यहाँ थप जीवनको खोजीमा । भोलि अर्कै आउलान् । पर्सि अर्कै । चौतारी न हो चलिरहन्छ आउने जाने क्रम ।

हरेक पटकको फलोअप समयमा खोजिरहेँ त्यो अनुहारलाई । भेटिएन । सीताको किमो थेरापी चार पाँच हुँदै छैटौं लहरपछि फिजियोथेरापीको लागि रेफर गरियो भक्तपुर क्यान्सर हस्पिटलमा । अब झन् पातलो भयो मेडिसिटी धाउन । पाँच हप्ता बित्यो भक्तपुर धाउने क्रमले । त्यसपछि अन्य केन्द्रहरूमा धाउन व्यस्त । तर बेला बेला मेडिसिटी हस्पिटल जाँदा पनि खोजिरहेँ त्यो परिचित अनुहारलाई ।
फिजियोथेरापीपछि धेरै परिवर्तन आयो सीताको स्वास्थ्य अवस्थामा । केही सहज तवरले हिँड्डुल गर्न थालिन् पहिलेको तुलनामा । कपाल झरेर नाङ्गो भएको टाउकोमा बाक्लो कपाल देखिन थाल्यो नयाँ प्लान्ट गरिए जस्तो । हात गोडाका नङमा बसेको कालो दाग बिस्तारै फेरिन थाल्यो स्वभाविक रङ्गमा । अनुहारमा पनि पहिलेकै चमक देखिन थाल्यो समयमा मौसम परिवर्तन देखिए झैँ । शरीरमा थप ऊर्जा बढे झैँ सजिलै गर्न थालिन घर भित्र बाहिरको काम । वल्लोपल्लो घर आउन जानेदेखि माथि बसपार्क नजिक पुगेर तरकारी किनेर ल्याउन सक्ने भइन् स्वस्थ मानिसहरू सरह । लाग्छ , पुनर्जीवन प्राप्त गरिन् मृत्युलाई जितेर । र यस्तै सोच्ने गरेको छु हरेक दिन उनलाई हेरेर । यही मौकामा एकपल्ट पहाडघर ( खाँदवारी ) जाने योजना बन्यो स्थानीय चुनावअगाडि । झण्डै दुई हप्ता बसाइ पछि काठमाडाैँ फर्किएँ, मेडिसिटी हस्पिटलले दिएको फलोअप समयलाई भेटाउन ।

एकदिन प्रा शंकर श्रेष्ठको लामो फेसवुक स्टाटसले तान्यो मनै खुसी बनाएर । निक्कै लामा थिए गनथनमा खर्चिएका शब्दहरू । सारमा यति बुझेँ— “आज डा पंकज कुमार बर्माले भन्नुभयो— तपाईंले मृत्युलाई जित्नुभयो ।” यति धेरै खुसी भएँ नियन्त्रण गर्न सकिनँ आफैँलाई । हानेँ कल मेसेन्जरको बाटो भएर । पहिलो भेट १७ नोभेम्बर २०२१ पछि अर्को सालको मे २२ दिउँसो तीन बजेतिर । साह्रै खुसी हुनुभयो र लामो कुराकानी गर्‍याैँ जीवनका तिता मिठाहरू खोतल्दै । अनि शर्त बन्यो फेरि भेट्ने । अनि वहाँको जाहेरी मेरो नयाँ पुस्तक लाई-सी पढ्ने ठूलो इच्छा ।

यसपछि झन नजिक भयाैँ सामाजिक सञ्जालहरूमा । साना कुराहरू पनि सेयर गर्ने । र धेरै कुरा जान्न पाएँ वहाँका अन्य रुचि र जीवनका आयमहरू । पेशााले हिष्ट्रीका प्रोफेसर र कर्मथलो ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज । जीवनको अर्को आयाम बहुप्रतिभाशाली व्याक्तित्व । कहिले हार्मोनियममा संगीत साधना गरिरहेको, कहिले रङ्ग र कुचीसँग रमाइरहेको र कहिले मिठा मिठा रचनाहरू पोष्टर्याइरहेको पाउँछु, फेसबुक वाल पेजहरूमा चक्कर लगाउँदा । कति धेरै जीवनका रङ्गहरू इन्द्रेणी जस्तै । झन् पछिल्लो समयमा थपिएछन् ठुली छोरीको दुई लक्ष्मीहरू । एक साथ डब्बल खुसी । लेख्नु हुन्छ— ‘नयाँ जिन्दगीले पाएको खुसीका ईश्वरीय वरदान ।’

हरेकपल्ट वीरगन्जबाट काठमाडौँ आउँदा भेट्ने बाचा गरिए पनि भागिरह्यो समय परपर । प्रायः हरेक महिना मेडिसिटी धाउनु पर्थ्याे नियमित फलोअपमा । खाई कसरी कसरी जुरेन समय ? के गर्ने आ-आफ्नै समय र समस्या ।

नेपाल आएको दस महिना बितेछ एकछिन भएर । यो समय पनि कति छिटो छिटो दौडिरहेछ रफ्तार समाएर । कति भेटिए जुटिए यी पलहरूसँगै । अनि कति कमाइयो कति गुमाइयो समयको खातामा ? तर धेरै मध्ये यौटा अभाव खड्किरह्यो पुनः प्रा शङ्कर श्रेष्ठलाई भेटेर “लाई-सी’ दिन नपाएको । मृत्युलाई जितेको मान्छे भनेर सम्झने गर्छु उनको सामाजिक सञ्जालहरूमा राखिएको स्टाटस पढेदेखि ।

पछिल्ला सम्पर्कमा एउटा उपाय भनौँ या सहमति भयो छोरी साक्षीको हातमा लाई-सी थमाइदिने । त्यही गरियो १० जुलाई २०२२ मा । लाई-सी हात लगाइदिएँ छोरी साक्षी मार्फत प्रा.श्रेष्ठ कहाँ । उनीसँगको भेटमा झन् धेरै जानकारी पाएँ प्रा. श्रेष्ठ बारेमा । एक कुशल चित्रकार, सङ्गीतकारदेखि लेखन क्षेत्रमा राम्रो दखल राख्नहुने बुद्विजिवी । झण्डै एक घण्टा गफियाैँ छोरी साक्षीसँग सातदोबाटो स्थित चापाँगाउँ जाने चोकको कान्तिपुर कफी हाउसमा । अलिकति ढुक्क भएँ एउटा अधुरो काम पूर्ण हुन गइरहेकोमा ।

अब अलिक हतारिन थालेको छु म पनि सीताले पुनर्जीवन प्राप्त गरिन् भन्ने विश्वास बढेदेखि । फलोअपमा हस्पिटल धाइरहँदा यस्तै ढाडस दिन्छन् चिकित्सकहरू । उनको स्वास्थ्य स्थिति बारेमा ढुक्कले भन्ने गरेका छन् — “…ठिक छ सीता दिदीलाई । अब देशविदेश आउन जान सक्नुहुन्छ । तर औषधि लिन भने नछुटाउनुहोला किन कि यस्तो बिरामको औषधि लामो समयसम्म लिइरहनु पर्छ स्वास्थ रिकभरका लागि । ’’

१८ जुलाई २०२२ मा हङ्कङ फर्किएको छु करिब दश महिनाको नेपाल बसाइँपछि । यो समयमा धेरै सम्झिरहेछु प्रा. श्रेष्ठलाई । र भन्न चाहेँ “अर्कोपल्ट अवश्य भेट्ने आशासहित दीर्घायु सुस्वास्थको शुभकामना ।”

(२५ जुलाई २०२२)