
महेन्द्र राजमार्गको झापा खण्डको मध्यतिर एउटा बजार छ । दुधे बजार । पुरानो माध्यामिक विद्यालय भएकाले वरपरका सात गाउँमा यो निक्कै नामी ठाउँ हो । रैथाने जनका मुखमा ‘दुधे स्कुल’ भनेर कहलिएको भए नि यसको नाम भन्ने लम्बेतानको रमणीय छ- राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय।
यही स्कुलमा कक्षा सातमा पढ्दाको सम्झना छ । भाइ डिल्लीराम छ मा पढ्थ्यो, म थिएँ सात किलासमा। घरबाट हिँडेर पुग्दा एक घण्टा बढी लाग्ने बाटो थियो। गाउँबाट राजमार्गको अर्को कहलिएको बजार झिलझिले निस्कन मच्चिएर हिँड्दा ४० मिनेट कममा कहिले पुगिएन। अनि झिलेझिलेबाट पूर्व राजमार्गै राजमार्ग लाग्दा अर्को २५ मिनेटमा पुगिन्थ्यो दुधे स्कुल ।
स्कुल छुटेर बेलुका चार बज्दा बिहान आठ बजे टिपेर हिँडेको मोहीभातले छोडिसकेर कन्दनी खुकुलो भइसकेको हुन्थ्यो सधैँ । किसान बाआमाको सधैँको टिमटिम आर्थिकमा हुर्किएका हामीलाई दिउँसो टिफिनमा दुधे बजार निक्लेर मुरै-बरफ खाजा खाने पैसो कहिले हुँदैन थियो जेपमा भने नि हुन्छ। दशैँ, तिहारको बिदापछि खुल्ने स्कुलका केही दिन वा फारु गरे केही हप्ता भने दक्षिणा र देउसीको सिदाबाट हुने अलिअलि आयस्ताले केही दिन मुरै-बरफ वा मुरै-चटपटे खाइनु भने बेग्लै कुरा थियो।
दुधे स्कुल छुटेपछि बेलुका चार बजे एकैछिन दुधे बजारमा मेलै लाग्थ्यो स्कुलेको हुलले। बजारलाई केन्द्रविन्दु पारेर चारतिर फैलिने विद्यार्थीको बथान सम्झन लायक लाग्छ अझै पनि। उँधो लाग्ने तल ब्याङडाडासम्म पुग्थे हिँडेर। उँभो लाग्ने पुरानो नौ नम्बर चुरेफेदी गाउँतिर लम्किन्थे। पूर्व लाग्ने माइधार, भालूखोला, सात नम्बर र पस्सिम जाने धरमपुर, केरखासम्म। ताँती देखिन्थ्यो चारैतिर।
एकदिनको कुरा । सधैँझैँ स्कुल सकियो चार बजे। हामी दुई दाजुभाइ पनि स्कुलबाट निस्किएर चोकमा आयौँ। चोक बजारमा भरिबन्न थिए विद्यार्थी। मोटर पर्खिने कि हिँडेर पस्सिम झिलझिलेतिर लाग्ने भन्ने निधो हुन एकैछिनको ‘अलमल समय’ सधैँ हुन्थ्यो पस्सिम लाग्नेको। काँकडभिट्टाबाट धरान वा विराटनगर छुट्ने र फर्किने बसका खलासी, कन्टेक्टर र डाइबर चेतबाबै थिए दुधे स्कुलका विद्यार्थीसँग। आफ्ना बसमा चढ्नेसँग भाडा उठाएर कमाउनुपर्ने उनीहरुका बसमा भाडा नतिर्ने विद्यार्थी ठेलमठेल खाँदेर कहिलेसम्म लैजानु तिनले पनि।
भेडाबाख्राका हुलजस्ता भाडा नतिर्ने, ठाउँ मात्रै ओगट्ने र छुराजस्ता मुख भएका दुधे स्कुलका विद्यार्थीको पीरले पूर्वबाट आएका बस दुधे बिसौनी भन्दा परै झरना खोला नेरै रोकेर मान्छे ओराल्थे। अनि, दुधेबाट चढ्ने, धेरै भाडा उठ्ने सम्भावित लामो दुरीका गैर-विद्यार्थी पेसेन्जरलाई समेत बाल हानेर मोटर उडाएर लान्थे डाइबरले रोक्नुपर्ने ठाउँमा नरोकी। यो सब गर्थे हामी विद्यार्थीका पीरले। दुधे स्कुलका विद्यार्थी हामी केटाकेटी बसमा कथम् चढ्न पायौँ भने “बहिनीको, भाइको भाडा झिकौँ त लु” भन्दै आउने कन्टेक्टरलाई “के को भाँडा झिक्छ हो बसमा, भाँडा त आमाले झिक्छिन् भात पकाउन” भन्थिम। एक दिन होइन, दुई दिन होइन रुनु न हाँस्नु भएर उसै छोड्थे हामीलाई तिनले। दिनैपरे चाराना दिन ठिक्क पारिएको हुन्थ्यो गोजीमा। तर त्यो त्यति सजिलै अन्तिम नै नभई, झ्वाँक्की कन्टेकटरकै फेला परेर मोटरबाट खुर्मुर्याउनै नआँटी निकालिन्नथ्यो।
पञ्चायत नै थियो देशमा। अनि गाउँमा, बजारमा, विद्यालयमा सबैतिर पञ्चमुखियाहरुको रजगज थियो त्यो बेला। नौ, दस किलासमा पढ्ने दाजु-दिदी विद्यार्थीहरु अहिलेका जस्ता साना र ‘नाजुककली’ भन्नु जस्ता खालका हुँदैन थिए त्यो बेला। मैले चिनेकै कति दस किलासका दाजु विद्यार्थीहरु घरमा स्वास्नीका धनी थिए । हुर्केका, हातपाखुरा सप्रेका, बलियाबाङ्गा, परेको जेसुकैमा पछि नपर्ने वयस्क स्वरुप र बेहोराका हुन्थे त्यो बेला नौ दसमा पढ्नेहरु । स्कुल नलागेका दिन धान फल्ने झापाका खेत, खलियानमा जोर राँगा कज्ज्याएर दिनभर जोत्न वा गाडामा नारेर बोझ ओसार्न लायो लागेका सक्षम हुन्थे ग्रामीण दुधे स्कुलका विद्यार्थी । यस्ता बलियाबाङ्गा जोरुका मालिक समेत भएका विद्यार्थीले भनेको ठाउँमा किन मोटर रोकिनस्, किन हामीलाई चढाइनस्, किन भाडा मागेर किचकिच गरिस् आदि भनेर उल्टीसुल्टी किक हानेर डाइबर, कन्टेक्टर र खलासी भाइको सेरगेम गरिरहन्थे प्राय: दुधे स्कुलका दाजुहरुले। स्कुल सकेर कुनै जोग संजोगले मोटर ठाउँमा थामिएर घुस्न पाइयो भने त्यो दिन वीर भएझैँ लाग्ने, घर नि चाँडै पुगिने। मोटरवाला र दुधे स्कुलका विद्यार्थीको सम्बन्ध यस्तै थियो।
यस्तो तितो सम्बन्ध भएका मोटर कुरेर भने विरलै बसिन्थ्यो। दुई खुट्टाले हिँड्ने कामलाई ‘एघार नम्बर’ भन्थे मान्छे। एउटा खुट्टोलाई एक र अर्को खुट्टोलाई एक गरेर दुई एकलाई हारमा ठड्याउँदा एघार भएको हिसाबसँग जुधाएर एघार नम्बर भनिएको रे हिँड्ने कामलाई। “लौ एघार नम्बर चलाऔँ, गाडी भाडा थिएन एघार नम्बरमा आएँ” आदि खुब चल्तीको बोली थियो।
भीडमा हराएका हामी दाजुभाइ दुधेबाट पस्सिम झिलझिलेतिर एघार नम्बर चलाउने दाउ गर्दै थियौँ।
एउटा नौलो नौलो लाेग्ने मान्छे छेउ आएर भाइलाई चाहिँ ताकेजस्तो गरेर भन्यो, “ए भाइ एउटा काम गर्छस् ? यता आइज त, यो चिठी लगेर उउउ त्यो केटीलाई दे त, म तँलाई आठाना दिन्छु !”
भाइले मेरो मुख हेर्यो र “जउँ ?” भन्यो।
यो गर्ने काम हो कि होइन सायद मेरो राय बुझ्न खोज्दै थियो ऊ। अलिक जोखिमयुक्त काम छ भने सधैँ मेरो तोक बुझेर चल्ने उसको बानी नै परिसकेको थियो।
===
त्यो मान्छेले देखाएकी केटी एउटी घिमिरेकै छोरी थिई । उसको भाइ मेरै कक्षाको भएर मैले चिनेको। केटी सधैँ देखे जानेकी हो । अरु स्कुले केटीभन्दा अलिक नक्कलझक्कल पार्न सिपालु र राम्री पनि । सधैँ आइरनले धार खिचेर सनक्क पारेको सुकिलो सेतो सट र जोर घुँडापछाडिका खोप्ला देखिनेदेखिने छाँट पारेर निलो फरक लाउँथी त्यो । केटी उसका साथीको हुलमा लागेर उँधो नहरचोक जान झरिसकी। निर्णय गर्ने समय एकदमै कम थियो। जोखिम तीन थिए: ढिलो गरे अर्कोले बिजनेस जिब्ट्याउला र आँखै अगाडि आठाना कमाउला, ढिलो गरे बाटो लागिसकेकी केटी टाढा पुग्ली र काम फत्ते नहोला र छिटो गरेर चिठी लगेर दिए चाबुक भेटिएला। काम गर्नसके आउने आठानाको खाजा खाँदै बाटो लाग्न सकिन्थ्यो भन्ने लोभले मुखमा पानी आएको छ, गुम्ला मौका भनेर चित्तमा औडाहा चलेको छ, गरिहाल्ने आँट आइहालेको छैन।
“म जान्छु बाराना दिनू” भाइले भन्यो । जेसुकै जोखिमको काम भए पनि तम्सेर अघि सरिहाल्नु उसको जन्मगुण लक्षणजस्तै थियो । म भने कुनै पनि काम कुरो गर्दा निक्कै पर्गेल्न र जोखिमका केस्रा केलाउनपट्टि लाग्दो रहेछु त्यो बेलैदेखि कि क्या हो। झट्टै आँट आइहालेन मलाई अघि सर्ने।
एकछिन अलमल गरेजस्तो गर्यो त्यो मान्छेले। मुखमा पान खाइरहेको छ। आँखा ठुलाठुला बल्ड्याङ्ग्रे र राता छन्। थिरमा उभिन नसकेर अलिअलि हल्लिए हल्लिए जस्तो गर्छ। अहिलेको जीवन भोगेको अनुभवले बुझ्दा मायाले पत्र बुझ्छे कि बुझ्दिन के भर ? भनेर भैपरी आउनसक्ने पीरको व्यवस्थापनको लागि दिउँसै अलिअलि टोड्क्याएर निस्केको जस्तो। ऊसँग नि समय कहाँ थियो र ! मायाले बाटो तताइसकेकी छ। पर पुगिसकी। बल्लतल्ल हुन्छ बाराना दिन्छु भन्यो।
पैसा देऊ पहिले भनेर मागियो ।
“कस्तो मुला रछ, दिन्छु भनेपछि खुरुक्क पहिले दिएर आइज न !” लभ खोज्न निस्केको मनुख्ये ठाडै मुख छाडेर सम्बोधन गर्छ हामीलाई। चिठी दिएपछि आफ्नो बाटो लाग्यो त्यो वैरागी भने त गयो निमेक खेर भन्ने लागेर मैले हुन्न भनेर अड्डी कसेँ। पैसा नदिई हामी आटको पाट नचलेपछि एउटा आठानी र पाँचवटा गाईछाप र चिठी हातमा हालिदियो भाइका। भाइ कुदेर गयो र ताकेकी केटीलाई चिठी तेर्स्याउँदै केही भन्यो। के भन्यो सुनिएन तर केटीले हात उजाएको र केही भनेको देखियो। केटो फाैरन दौडेर आयो चिठी हात नलाई। हात परेको बाराना फिर्ता गर्नुपर्ने भयो भनेर मेरो मन खिन्न भयो त्यो देखेर।
“ओइ भाइ के भो, चिठी दिनस् ?” निशाको तालमा खुट्टाले उभिन त्यति राम्रो भर नगरेजस्तो देखिने त्यो हल्लनपुरीले सोध्यो।
“झन्डै मारी, राँडा, बोक्सा पर जा भनेर कुट्न खोजी ।” भाइको बोलीले काममा निक्कै खतरा भएको संकेत गर्यो।
केटी फर्केर हामीतिर हेर्दै, लोतेलोते गर्दै आफ्नो हुल छोडेर पछिपछि बस्दै हिँड्न थाली। केही न केही मायाको चस्को परिसकेको जस्तो गरेकी छे केटीले। मायाको रनाहाले भेटेर अघि जस्तो रौद्र नहोला, अब थामिएली जस्तो आस गर्न सकिन्छ देख्दा। मुन्टो बटारेर घरीघरी हेर्दै छे हामीतिर अझै। अलिअलि आसा अझै बाँकी छ मनमा त्यो बाराना कमाइएला भन्ने।
“जा त भाइ अर्को एकपल्ट कोसिस गर्, बरु अर्को चाराना थपिदिन्छु, एक रूप्पे हुन्छ तँलाई“ त्यो प्रेमचरीले फेरि उकास्यो। प्रेमचरो दिउँसै निस्केको छ बीच बजारमा मायाको खोजीमा। पाइ पाइ गरेर प्रेमको बजेट बढाउँछ बरु तर आफैँ पत्र दिएर आइ लभ यु भन्न सक्दैन। त्यसको काँतरपनको फाइदा हामीलाई पनि छ अर्कोतिर।
‘लु थप्नू चाराना, फेरि जान्छु। तर, कुट्छु जस्तो गरी अघि पनि। परैबाट छेउमा फ्याँकिदिएर आउँछु, हातैमा त दिन्न” भाइले भन्यो।
“लौ ले त्यो चाराना फिर्ता, म आठाना दिन्छु, तेरो हातमा एक रूप्पे हुन्छ” गोजीबाट एउटा आठानी निकाल्यो र भन्यो।
त्यसको प्रेम प्रस्ताव फत्ते गर्ने त्यत्रो खतरामय जिम्मेवारी दिएको छ। जाबो चाराना बढी भएर एक रुपियाँ चाराना हुँदा के बिग्रिन्थ्यो हामी श्रमजिबीको पारिश्रमिक। त्यसले ती पाँचवटा गाईछाप पाँच पैसे फिर्ता मागेरै छोड्यो।
हतार हतार चारना फिर्ता गरेर अर्को आठाना बुझेर भाइ फेरि दौडियो। उसका हुल तल कहाँ पुगिसकेका थिए वास्तै नगरी कसैलाई पर्खेजस्तो अभिनय गर्दै हाम्रो नै चाला कुरेर बसेको प्रस्टै थियो केटीले। म र त्यो ‘चित्तचोर’ पर्खेर बस्यौँ अबको खतरा के आउने हो हेर्न। सम्पूर्ण दुधे बजारलाई केही पत्तोफाँट छैन त्यहाँ के हुँदैछ भन्ने। एउटा प्रेम उमार्न एकजोर लुरे विद्यार्थी र एउटा अघाएको प्रियतम कसरी लिट्टी कसेर लाग्या छन् कसैलाई थाहा छैन दुधे बजारमा। चिठी पठाउने र पुर्याउने हामी दुई पाटी आफ्नो लक्ष्य भेदनमा दत्तचित्त छौँ। हामीलाई कसैको पर्वाह छैन जसरी दुधे बजार हाम्रो ‘मिसन लभ लेटर र मिसन दुई मोहोर’बारे बेपर्वाह छ।
केटोले चिठी दस हात वरैबाट फुत्त फ्याल्यो केटीको छेउमा गएर र पुच्छर उचालेर भाग्यो। केटीले चिठी टिपेर किताबको च्यापमा हाली र उँधो फाल तोडी साथी भेट्न। लौ काम बन्यो।अब खाइने भो मुरैखाजा भोकोपेटमा भनेर खुसीको सिमासाँधी रहेन।
सँगै हिँडेर घर जाने गाउँका केटा नि छन् अलिक पर । हेमे नेउपाने, सिसांग चेम्जुङ, फडिन्द्र चेम्जुङ, धने तामांग, मंगले लिम्बू सम्झिन्छु त्यहाँ विद्यमानमध्येका। तै मोटर आइहाल्ला कि भनेर भोक प्यासले हत्तु भएर कुर्दै बसेका। हामी दुई भाइसँग भने आज कमाइ भएको पैसा छ। उनीहरुसँग छैन। हामी लुसुक्क चटपटे मुरै बेच्ने लाइनतिर छिर्यौं।
त्यो बेला “हाम्रा पालामा” को समय थियो। एउटाले खाजा वा केही खाएको देख्यो भने अहिले जस्तो उसको भोजन उसको खुसी भन्ने थिएन। “ओए, खोइ ले ले मलाई पनि” भनेर माग्ने। हुन्न, दिन्न भन्यो भनेँ र अलिक निम्जो छ भने “… लोभी” “…काे बान लोभी” आदि भनेर एक, दुई लात्ती पीँध चर्किने गरी जमाउने वा खोसेर एक दुई बुजो खाइदिने सामान्य हुन्थ्यो।
हामी रातो बरफ र मुरै खान पल्केका थियौँ। रातो बरफलाई मुरैको सोलीमा चोबेर त्यसले टिप्ने मुरैका दानासहित बफर चुस्ने एउटा चलन थियो त्यो बेला। तर महादेवको डमरु बजाएर बरफ बेच्ने सुरुङ्गाको श्यामवर्ण भाइ टोक्री खाली गरेर हिँडिसकेको रहेछ। दाजुभाइ सल्लाह गर्दा आज आठानाको मुरै मात्रै खाने, भोलिलाई बाँकी आठाना उबार्ने भन्ने भयो। आठानाको मुरै कागजको सोलीमा र बाँकी आठानाको बजेट हाप्पिनको गोजीमा दबाएर हामी दुई भाइ मूल रस्ता राजमार्गमा निक्लियौं। एउटै गाउँ जान भाग्गेजोग्गेले बस आइहाल्ला कि भनेर कुर्दै बसेका उल्लेखित दौँतरीले “खोइ ले ले अलिकति” भनिहाले। मुरैको सोली भाइको हातमा थियो। पेटको द्वार मुखले पानी काढ्दै थियो अब खाँदै बाटो लाग्ने हो एघार नम्बर भनेर। भाइले केटालाई मुरै दिन अलिक कन्जुस्याइँ गरेजस्तो गर्दै समय गाल्दै लोतेलोते पाइला चाल्दै लम्किँदै थियो।
“छोड्दे, लोभी बाउनले दिँदैन” एउटाले जात खुलाएर आशा मार्यो।
“कुनै दिन त हाम्रो नि होला नि पैसा, माग्लास् नि ।” अर्कोले दागा धर्यो।
हामी त्यसदिनका पौरखी खाजावाल नबोली आफ्नो गोहो पक्डेर उम्किन खोज्दै थियौँ। पाँच छ जना थियौँ हुलमा। अचानक बीच सडकमा एउटा चारानी र अर्को एउटा आठानी घामको टकले टल्किरहेको देखियो।
“ऊ पैसा !” भन्दै सबैले छोपेर अघि बढियो। एउटा चारानीमा धने तामांगले खुट्टाको पयेट लाएर अरुलाई ढिम्किन दिएन। अर्को आठानीमा मेरो भाइ र हेमे भिडे। भुइँको आठानीलाई खुट्टाले तैंले पहिले किचेको कि मैले पहिले भन्ने लड्डी पर्यो हेमे र भाइको। एउटा खुट्टोलाई जोरको बल लाएर भुइँको आठानी अचेट्ने ध्याउन्नमा लगाउँदा हातको मुरैको सोलीमा बिर्को हुन्न भन्ने कसलाई हेक्का हुन्थ्यो र। घिम्रेकी छोरीलाई प्रेमपत्र बुझाएर आर्जेको मुरैको सोलीले कुन सड्का उँधो मुन्टो लायोलायो मुरै जति जम्मै महेन्द्र राजमार्गको तातो अलकत्रको लिसोमा परे ! पूर्वबाट बजेर आएको ‘नन-स्टप’ बसका पाङ्ग्राले हाम्रा मुरैका दानालाई रन्दा दलेसरी सडककै सतहमा थिचेर चिल्ली मैदान पारेर गयो।
अब हातमा थियो ‘खाली कागज के’ सोली मात्रै। मुरै घोप्टिएको थकथकले भेटेर मान्छे निल्लिएको मौका छोपेर हेमेले खुट्टोमा थप करेज थपेर भुइँको आठानी पनि जिब्ट्यायो। यता हामी दाजुभाइको मुख खरानी उडेको घाट जस्तो भयो। केटाले एक चरण रमट चलाएर हाँसे हाम्रो मुरै स्वाहा भएको उत्सवमा। उता हेमे र धने कुद्देर गएर बाराना जम्मैलाई एकै बजेट पारी अलिक ठुलो सोलीमा मुरै लिएर आए र हामी दुई दाजुभाइलाई सेतो गेडी नछिराई बाँकी पाँच भाइले मर्याङमर्याङ् मर्काउँदै हिँडे ! हामीसँग पनि बाँकी आठानाको बजेट नभाको त होइन तर त्यति जोखिम उठाएर कमाएको पैसा खेर गएको विस्मात् यति गहिरो पर्यो कि फर्केर गई बाँकी आठानीको मुरै किन्ने सातो र सुद्धि पनि बाँकी रहेन। चलेको चलनअनुसार “खोइ ले ले मलाई अलिकति” भनेर चमडाको हात तेर्स्याउने ठाउँ अघि आफ्नो सर्दो पर्दा राखिएको थिएन। कथम्, मुख फोरेको भए नि मुरै होइन, मुरैको मु मात्रै चाहिँ भेटिने पक्का थियो।
यो प्रकरणपछि दुई चार दिनसम्म स्कुल छुटेपछि त्यो प्रेमात्मा फेरि भेटिन्छ कि दुधे चोकमा, केही कमाइ भई पो हाल्छ कि फेरि पनि भनेर हामी दाजुभाइका आँखाले निक्कै खोज्यो। कुनै छेक-छनक मिलेन त्यसको। त्यो घिम्रेकी छोरीसँग त्यसले घरबार बसायो कि बसाएन, त्यसले त्यो चिठीको फिर्तामा पनि तीरले घोचेको पानको पात खिचेर लभबाण नै चलाई कि त्यस दिवानेको आत्मा उसै सुकाएर हिंडी केही भेउ पाइएन।
हाम्रो हालत भने यस्तो भो:
भोकले सुक्या मुखमा हाल्न
मुरै किनियो हाँस्तै
मुरै खायो अलकत्रले
जस्ताको तस्तै !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

