रह शर्माज्यू,

नमस्कार !

तपाईंले फोन गर्नुभयो चितवनबाट । हरिहर सविताका बारेमा केही लेख्नका लागि अनुरोध गर्नुभएको थियो । लगभग डेढ-दुई महिनासम्म सविताजीका बारेमा लेख्नका लागि कुनै सोच बनाउन सकेको थिइनँ । तपाईंले पुनः फोनमार्फत सम्झाएपछि भने सविता सरका बारेमा मैले कलम चलाउनै पर्छ भन्ने अठोट लिएँ र यो लेख तयार पार्ने कोसिसमा छु ।

मलाई समस्या के पनि छ भने उहाँसँग मेरो अन्तरङ्ग अलिक बढी नै छ, अहिले उहाँसँगको सम्बन्धका बारेमा लेख्नका लागि मैले कहाँबाट सुरु गरुँ र कसरी अन्त्य गरुँ ? म अन्योलमा छु । लगभग बाह्र वर्ष पहिलेको भेट नारायणगढ बजारमा नारायणी नदी किनारको कार्यक्रमबाट सुरु गरुँ अथवा तनहुँको बन्दीपुरबाट गरुँ ? आँबुखैरेनीबाट सुरु गरुँ कि भिमादबाट सुरु गरुँ अथवा त्रि.वि.को गेष्टहाउस काठमाडौँ पुगुँ ? पोखरा त उहाँका लागि पानीपँधेरो नै थियो । सम्बन्ध जतिसुकै समयको होस्, बाटो त मैले फ्ल्यास ब्याकमै हिँड्नुपर्छ । संस्मरणहरु फ्ल्यास ब्याकमै त लेखिन्छन् नि होइन र रहजी ?

रह शर्माज्यू ! मान्छेको जीवनमा यस्ता मान्छे बिरलै भेटिँदा रहेछन् जसलाई बिर्सन सकिँदो रहेनछ, सम्झना आजीवन गहिरिँदो रहेछ । त्यस्ता मान्छे अविस्मरणीय भावी जीवनका लागि मार्गदर्शक एवम् प्रेरणाका स्रोत बन्दा रहेछन् । सङ्घर्षलाई कर्तव्यका रुपमा बुझ्ने मानिसले कर्ममा विश्वास गरेको हुन्छ । कर्मबाट विमुख हुनेहरुलाई त मान्छेको संज्ञा पो कसरी दिनु र ! कर्तव्यबाट विमुख हुनेहरुले आफ्नो र आफ्ना शाखासन्तानभन्दा बाहिरका मानिसको हितमा काम गर्दैनन् । विशेष गरी दलका अधिकांश नेता र कतिपय कर्मचारीहरुमा कर्तव्यपथबाट विचलित हुने प्रवृत्ति मौलाएको छ । निम्न वर्गका किसान, श्रमिक तथा मजदुरहरु साँझबिहान हातमुख जोर्न र बिरामी पर्दा उपचारसमेत नपाउने अवस्थामा छन् ।

आजको हाम्रो समाजमा व्याप्त यस किसिमको यथार्थलाई बुझेर चिन्तन र विश्लेषण गर्नेहरु, अनि अनुरुपको जीवन बाँच्नेहरु निकै कम मात्रामा छन् । सामन्ती समाज एवम् निरङ्कुश व्यवस्थाको विरोध गर्नेहरु स्वयम् नै सत्तामा पुगेपछि नव सामन्तवादी र निरङ्कुश बन्ने परिपाटीले फ्वाँफ्वाँ गर्दै फणा फुलाएको यस समयमा त्यसका विरुद्ध पनि आवाज उठाउनेहरु समाजमा निकै कम मात्रामा भेटिन्छन् ।

आज वैचारिक सङ्घर्षलाई निरन्तरता दिने मानिसहरुको खडेरी छ । विगतमा हामीले आदर्शका धरोहर मानेका अधिकांश पात्रहरु पनि जीवनको उत्तरार्धमा आएर चिप्लिएका उदाहरण हाम्रासामु प्रशस्त छन्, नामै पो किन लिनु र ! जो हेर्यो उस्तै देखिन्छ । यही भिडभन्दा पृथक् रहेर आफ्नो गन्तव्यलाई पच्छ्याउँदै अगाडि बढेका र बढ्ने क्रममा तत्कालीन आँधीहुरीले तन र मन दुवैलाई क्षतविक्षत पारे पनि विचलित नभई निरन्तर खटिएका स्रष्टा हुनुहुन्छ हरिहर सविता ।

रहज्यू ! कहाँबाट सुरु गरुँ म सविता सरका बारेमा लेख्न ? उहाँसँग यस्तो माया बस्यो कि, अजम्बरी माया, जुन माया सायद म नमरुन्जेलसम्म पनि मेरो मानसपटलमा रहिरहन्छ । कस्तो अचम्मको हुँदो रहेछ हगि मायाको डोरो ! हुन त पोखरामा पनि मेरा थुप्रै साथीहरु हुनुहुन्छ । सहकार्य र सहयात्रामा पोखरेली साथीहरुको पनि मलाई उत्तिकै माया लाग्छ र उहाँहरुले पनि मलाई माया नै गर्नुहुन्छ तर नजिकको भन्दा टाढाको माया नै गाढा हुँदोरहेछ ।

मैले सविताजीलाई टाढाको भन्नुको आशय भौगोलिक दूरीका आधारमा हो रहजी ! अन्यथा नसोच्नुहोला । चितवन र पोखराको सम्बन्धलाई मलजल पुर्याउनमा सविताजीको भूमिका विशेष रहेको छ । घनश्याम र रविलालहरुको पुस्तापछि सविताजीले हाम्रो पुस्तासँग हात बढाउनुभएको थियो । कहिले हामीले उहाँलाई पोखरा आसपासका लेकहरुमा चढायौँ त कहिले उहाँले हामीलाई रापती खोलाको तीर हुँदै माडीतिर डोर्याउनुभयो । समान पोयामा मायाको डोरो यसरी नै बाटिइरहेको थियो, मजबुत हुँदै थियो ।

म आफ्नै काममा व्यस्त थिएँ ।२०७५ साल पुस ७ गतेको दिन थियो । बिहानमा फोन गर्नुभयो भीमजीले र बिचैमा डोरो चुँडेको खबर सुनाउनुभयो । म किंकर्तव्य विमूढ बन्न पुगेँ । तीन-चार दिन पहिले त सविताजीसँग फोनमा कुराकानी भएकै थियो । आज बिहान बिहानै उहाँ नभएको अप्रिय खबर सुन्नु पर्यो । अति नै मर्माहत भएँ म ।

हामीले सवितासँग सम्बन्ध रोपेका मात्रै थिएनौँ रहजी ! त्यस सम्बन्धरूपी बिरुवालाई एक दशकभन्दा बढी समय लगाएर मलजल र गोडमेल पनि गरेका थियौँ । देख्दैमा रहरलाग्दो भएर बिरुवा हुर्किसकेको थियो । सम्बन्धको बाली लहलहाउन थालेको थियो । हामी त्यही सुगन्धी हावामा चितवन र पोखराको बाटो नापिरहेका थियौँ । कहिले सहरिया कङ्क्रिट र कहिले त्यसभन्दा परका लेकाली बस्तीमा बास बसेका यादहरु एकैसाथ मडारिएका छन् अहिले मेरो मानसपटलमा । आकाशमा बादल बरु सबै समय कहाँ मडारिन्छ र ! तर मेरो मनमा सविता सरसँगको आत्मीयता यसरी आएको छ कि म कुन समयलाई प्राथमिकतामा राखुँ ? कुन दिनको यादलाई फोकस गरुँ ? कुन चाहिँ रातको संस्मरण लेखुँ ? एउटै खाटमा उहाँ र म सँगै सुतेका रातहरु पनि मेरो मानसपटमा अझै ताजै छन् ।

जुन सम्बन्ध लामो समयसम्म टिक्छ, त्यसको पृष्ठभूमिमा अनेक भेटहरु हुँदा रहेछन् । एउटा-दुइटा भेटमा मात्रै त कहाँ आत्मीयताले गहिराइ लिन्छ र रहजी ! तपाईं हामीलाई खुसी बाँड्ने मान्छे हुनुहुन्थ्यो सविता । त्यही त हो नि नजिकको साथी जसले सुखदुःखमा साथ दिन्छ, साथी भेट्नैका लागि भनेर सुदूर यात्राको तय गर्छ । मेरो तुलनामा बढी नै फुर्सदिलो हुनुहुन्थ्यो सविता । सम्बन्धलाई प्रगाढ बनाउन समयको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनु पर्ने रहेछ ।

मेरा निम्ति त कुनै कुनै यस्ता समयसन्दर्भहरु पनि आइपरे, सविताजीले आफ्नै ठानेर बोलाउँदाबोलाउँदै पनि कतिपय ठाउँमा म उपस्थित हुन सकिन । मेरा आफ्नै बाध्यताहरु थिए, समस्याहरु थिए । सम्झना आउँछ सविताजी ! विगतमा तपाईं चितवनबाट र म पोखराबाट घनश्याम ढकालको शवयात्रामा पशुपति पुगेका थियौँ तर खबर पाएर पनि म तपाईंको पार्थिव शरीरमा श्रद्धाको फूल चढाउने अन्तिम समय नारायणी किनारमा उपस्थित हुन सकिन । समयको अभाव भयो मलाई । यो मेरा लागि बेला बेलामा चसक्क बिझाउने सन्दर्भ हो र अहिले यस प्रसङ्गलाई लेखोटमा जोड्ने क्रममा पनि मेरो मुटु नराम्रोसँग चोइटिएको छ सविताजी !

“समयको लगानी गर्न सक्नेहरु असल मान्छे बन्छ,” भन्छन् तर मैले समयको सदुपयोग गर्न अझै पनि राम्रोसँग सकिरहेको छैन सविताजी ! चितवनका स्रष्टा र पोखराका स्रष्टा बिचमा सेतुको काम गर्नुहुने तपाईं पोखरेली स्रष्टाहरुका लागि पनि उत्तिकै समयको व्यवस्थापन गर्नुहुन्थ्यो । हामीले निम्ता गर्दा तपाईंले कहिल्यै मुन्टो बटार्नुभएन । हामी पोखरेलीहरुलाई सुझाव मात्रै कहाँ हो र ! वैचारिक साथ पनि दिने मान्छे हो ।

कति रात त हामीले वैचारिक बहसमा पौडँदापौडँदै अनिदै बिताएको पनि स्मरण छ मसँग । डा. कृष्णराज अधिकारी, भीम रानाभाट, तपाईं र मेरा भेटका रातहरु कुनै समयमा पनि दुईवटा कोठामा बितेनन् । काठमाडौंमा त्रि.वि.को गेष्ट हाउस होस् वा सुन्धाराको गेष्टहाउस होस्, चाहे पोखरा नजिकैको पुम्दीभुम्दीस्थित कालाबाङ घरेडी गुरुङ बस्तीको होमस्टे होस् अथवा डा. अधिकारीकै घरको कोठा नै किन नहोस् । नारायणगढको गेष्ट हाउसमा मात्रै कहाँ हो र ! तपाईंकै घरमा पनि हामी एउटै कोठामा त सुतेका थियौँ नि ! मनपेट मिलेपछि एउटै खाटमा पनि त तिन जनासम्म अटाइँदो रहेछ नि हगि सविताजी !

दालभातको भोक त बरु पानीले पनि मेटाउँदो रहेछ तर मायाको भोक मेटाउन निकै गाह्रो हुँदोरहेछ रहजी ! एक हप्तामा एकातिरबाट फोन आएन भने हामी निकै छटपटिन्थ्यौँ भन्ने यथार्थको अनुभूतिका लागि सविताजी र मबिच भएका त्यति बेलाका कल डिटेल सुन्न पनि सकिन्छ । त्यो मसिनो स्वरको मिठासपूर्ण बोली त्यति सहजै त म कसरी बिर्सन सक्छु र !

इतिहास पढ्नेहरुको जमातमा हामी इतिहास रच्न हिँडेका मान्छेहरु ! सविता सर ! तपाईंको सत्यको पक्षधरतालाई सम्मान नगरी म कहाँ बस्न सक्छु र ? अल्पमतमै भए पनि सत्य बोल्ने मान्छे पाएको थिएँ मैले । भोलि नै मर्छु कि जस्तो गरी गर्नुपर्ने कामहरु आजै गर्ने सविताजी ! हामी समयलाई आफ्नै बाटामा हिँडाउने पक्षमा थियौँ तर समयले धोका दियो । तपाईंलाई इतिहासले दिएको धोकाका बारेमा त मैले तपाईंकै मुखबाट धेरै कुरा सुनेको थिएँ । इतिहासको यस कालखण्डमा तपाईंको सम्झनामा लेखिएका यी शब्दहरुको पनि के नै अर्थ रहला र ! भेडाहरुको बिचमा छौँ हामी, भेडाहरुले पुराण सुनेको इतिहास हामीसँग छैन सविताजी !

जीवन सङ्घर्षलाई सहर्ष स्वीकार गर्ने त्यो जीर्ण भइसकेको रोगी र पातलो शरीरको सामर्थ्यलाई सलाम गर्न मन लाग्छ सविताजी ! फु गर्दा पनि ढल्लाजस्तो शरीरबाट भुलभुलाएको आत्मीयता र मुस्कानबाट सुरु हुने मिठासपूर्ण बोलीलाई मैले तपाईंबाट प्राप्त अमूल्य उपहार ठानेको छु । अन्यायका विरुद्धमा लड्दालड्दै स्पात बनेको तपाईंको शरीर त सकियो सविताजी तर विचार कहाँ सकिँदो रहेछ र ! जस्तोसुकै खडेरीमा पनि विचारको मुना त अङ्कुराएकै हुन्छ नि हगि !

रहजी ! मैले सविता सरसँगका दर्जनौँ भेट, सहकार्य र सहयात्रालाई सिलसिलेवार प्रस्तुत गरिरहेको छैन र विवरणहरुको फेहरिस्त तयार पार्ने पक्षमा पनि म छैन । मलाई त यस दुनियाँमा समस्या भोगेको मान्छे मन पर्छ, समस्याबाट भागेको मान्छे होइन । बरु राज्यको कोर्राले शरीर छियाछिया होस् तर आततायी सत्तासँग कहिल्यै झुक्न नपरोस् । आत्मविश्वासका साथ अगाडि बढ्न सकियोस् । आफ्नो विश्वासमाथि आफैँले घात गरेर मोजमस्तीमा रमाउने मान्छेलाई पनि कसरी जीवित मान्नु र सविताजी ? तपाईंकै ढाडमा कोर्रा बर्संदा आँसु चुहाउनेहरु अहिले कसरी मुखभरि डलरको बुजो हालेर फिँज निकाली निकाली पाउर काट्न सकेका हुन् ! अचम्म लाग्छ, स्वाधीनताका विरुद्धमा कम्मर मर्काई मर्काई नाचिरहेका छन् तपाईंका तिनै पुराना कतिपय साथीहरु ! जो हिजोसम्म तपाईँसँग सँगसँगै एउटै बाटो हिँडिरहेका थिए आज कहाँ छन् तिनीहरु ? यद्यपि हामीहरु गोरेटो खनिरहेका छौँ सविताजी ! थाकेका छैनौँ, हामी गन्तव्यमै पुग्न चाहन्छौँ ।

गोरेटो हिँड्ने क्रममा तपाईंको एउटा अभिलाषा त पूरा गर्न सफल भयौँ तर अर्को चाहिँ तपाईंकै जीवनकालमा पूरा गर्न सकेनौँ सविताजी ! सायद आफ्नो अन्त्यकाल आएको महसुस भएर हो कि दोस्रो अभिलाषाका लागि तपाईंले मलाई निकै ताकेता पनि गर्नुभएको थियो यद्यपि मेरो व्यस्तता र बाध्यतालाई पनि बुझ्नुहुन्थ्यो तपाईं ।

पोखरामा एकल कविता वाचन गर्ने चाहना थियो तपाईंमा । तपाईंका लगभग आधा दर्जन कविता त हामीले प्रलेसको केन्द्रीय सम्मेलनमा जाँदा त्रि.वि. गेष्टहाउसको माथिल्लो तलाको कोठामा राति ११ बजेसम्मै बसेर सुनिसकेका थियौँ । त्यति बेला श्रोताका रुपमा म र डा.अधिकारीबाहेक परशुराम कोइरालाले पनि साथ दिनुभएको थियो । तपाईंको वाचनशैलीबाट म त परिचित नै थिएँ तर पोखरेली अन्य स्रष्टाद्रष्टाहरुका बिचमा पनि तपाईंलाई उभ्याउनुपर्छ भन्ने चाहना हामी पोखरेली साथीहरुभित्र समेत टुसाएको थियो । त्यस चाहनालाई हामीले प्रलेस, कास्कीको ब्यानरमा सम्पन्न गरेका थियौँ । गद्य र शास्त्रीय छन्दका कविताहरु वाचन गर्नुभयो तपाईंले । साँझपख महेन्द्रपुलको एउटा होटलको सभाकक्षमा आयोजित उक्त कार्यक्रम निकै प्रभावकारी पनि बनेको थियो ।

तर दोस्रो अभिलाषा चाहिँ मलाई आजीवन बिझाउने विषय बन्यो सविताजी ! तपाईंले पोखराबाट एउटा कृति प्रकाशन गर्ने रहर गर्नुभएको थियो । प्रकाशनका लागि पनि पोखरेली संस्था नै सहयोगी बनोस् भनेर दुईवटा डायरी भरेर पाण्डुलिपि पठाउनुभएको सायद २०७४ सालको सुरुतिरै हो । ती दुईवटा डायरीमध्ये सानो चाहिँ अर्थात् परिच्छेद एकदेखि बाइससम्मको डायरी कृष्ण सरले हेर्दै हुनुहुन्थ्यो भने बाँकी तेइसदेखि बैसट्ठी परिच्छेदम्मको ठुलो डायरी मैले हेर्दै थिएँ । दुवै डायरीमा गरेर तपाईंका मसिना अक्षरमा २६४ पृष्ठ भरिएका थिए ।

तपाईंले बढी नै ताकेता गर्न थालेपछि भने प्रेसमा टाइप गर्न लगाई मैले एकपटक प्रुफ पनि हेरेको थिएँ तर कम्प्युटरमा बसेर करेक्सन गर्न बाँकी नै थियो । आजसम्म प्रकाशित हुन नसकेको यो कृति मलाई लाग्छ, तपाईंले आफ्नो जीवनकालमा लेखेका कृतिहरुमध्येको सर्वोत्कृष्ट कृति हो । मैले तपाईंका प्रायः पुस्तकहरु पढेको छु तर यसमा तपाईंको अनुभूति जसरी छचल्किएर आएको छ त्यति मैले अन्यमा भेटेको छैन । आफ्नो जीवनको आरोहअवरोहलाई समेटिएको यो कृति वैचारिक कोणबाट पनि कमजोर छैन, उत्तिकै सशक्त छ ।

लमजुङको अलाइँचे, खाल्टागाउँदेखि चितवनबाट अन्तिम बिदाई लिनुभन्दा केही पहिलेसम्मको जीवनले भोगेका समस्या र सङ्घर्ष मात्रै कहाँ हो र ? क्रान्तिकालको राजनीतिक परिवृत्त र त्यसमा आफ्नो संलग्नतालाई लिपिबद्ध गरिएको यो संस्मरण एक हिसाबले तपाईंकै आत्मकथा हो सविताजी ! यसमा जनयुद्ध र आफूले जेलको कठोर यातना भोगेको संस्मरण मात्रै छैन, वैचारिक दर्शनलाई निकै परिष्कारका साथ प्रस्तुत गर्नुभएको छ । किशोर अवस्थादेखि प्रौढावस्थासम्मका उतारचढावहरुलाई समेटेर तयार पार्नुभएको यही नै थियो सायद तपाईंको अन्तिम घिडघिडो जुन हामीले समयमै पूरा गर्न सकेनौँ । आज पनि ठूलो चाहिँ डायरी मेरै दराजमा थन्किरहेको छ । जब त्यो डायरी देख्छु मैले तपाईंलाई मेरो बन्दै गरेको झुपडीको अगाडिपट्टि उभिइरहँदा उधारो निम्तो गरेको याद आउँछ सविताजी !

रहजी ! चितवनको जनसांस्कृतिक महासङ्घद्वारा सञ्चालित ‘शारदा घरदैलो अभियान’मा मलाई जोड्ने कामको श्रेय पनि सविताजीलाई नै दिनुपर्छ । उहाँलाई त मैले साहित्यिक क्षेत्रको एउटा कुशल सङ्गठकका रुपमा लिएको छु । साहित्यिक अभियन्ता भने पनि हुन्छ उहाँलाई । साहित्यिक छलफलका साथै राजनीतिक क्रान्ति अझ त्यसमा पनि जब जनयुद्धको कुरो आउँथ्यो तब उहाँको अभिव्यक्ति आगाको ज्वाला भएर निस्कन्थ्यो । क्रान्तिकारीहरु नै सत्ताको भोगविलासमा चुर्लम्म डुब्न थालेपछि पछिल्लो चरणका भेटहरुमा उहाँमा आक्रोशको मात्रा बढ्दै गएको मैले अनुभूत गरेको थिएँ । यही त हो नि सच्चा क्रान्तिकारीको धर्म, होइन र रहजी ? विचार मिल्ने साथीहरुसँग खुलेर कुरा गर्ने सविताजीसँग घरपरिवारसँग सम्बन्धित व्यावहारिक कुरा पनि हुन्थ्यो तर हामी कुराका लागि मात्र कुरा गर्दैनथ्यौँ । कुरालाई व्यवहारमा र सार्थक विचारमा परिणत गर्न चाहन्थ्यौँ ।

पोखरामा स्थापित प्रगतिशील स्रष्टाहरुको साझा संस्था गण्डकी साहित्य सङ्गमको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’, कास्की प्रलेसको मुखपत्र ‘साहित्य–प्रभा’, ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जाको नियमित प्रकाशन ‘ज्याग्दीखोलाको तरङ्ग’ साहित्यिक त्रैमासिकमा सविताजीले सम्प्रेषण गर्नुभएका सविताजीकै रचना हेरे पनि थाहा लाग्छ रहजी ! उहाँमा आफू संलग्न पार्टीप्रतिको चिन्ता कतिसम्म रहेछ र आक्रोशको अभिव्यक्ति कुन रुपमा आएको छ ? हामीले पोखराका प्रकाशनमा उहाँलाई भरसक छुटाउँदैनथ्यौँ र उहाँले पनि रचना सम्प्रेषणमा कहिल्यै कन्जुस्याइँ गर्नुभएन । उहाँसँगको सहकार्य यी पत्रिकाहरु मार्फत् झ्याङ्गिइरहेको थियो रहजी ! तर के गर्नु आकाश ताकेका हरिया लहरापातहरुमा असिना पर्यो, बेमौसमी असिना । तिनै असिनाको सिकार बन्न पुग्नुभयो सविता । आज हामीमाझ हुनुहुन्न उहाँ ।

रहजी ! सवितासँग मेरा एक दर्जनभन्दा बढी नै भेटहरु भए । प्रत्येक भेटमा हामी दिनभरि वा रातभरि सँगै बसेका हुन्थ्यौँ । उहाँसँग बसेका कुनै पनि दिनहरु अँध्यारा र रातहरु बिरसिला भएनन् । प्रत्येक भेटका एक-एक गरी लेख्ने हो भने दर्जनभन्दा बढी संस्मरण हुन सक्छन् । म त्यतातिर लागिनँ । मैले चिनेजानेका, बुझेका सविता बारेका शब्दहरु यिनै हुन् । प्रत्येक भेटका फेहरिस्त पो किन तयार पार्नु र भनेर अहिलेलाई यति मात्रै लेखेँ है गाह्रो नमान्नुहोला ।

उही तपाईंको