
वषिष कहिले ज्यादै ज्ञानी, शान्त र व्यावहारिक देखिन्छे त कहिले असाध्यै घमण्डी, असामाजिक र बुझिनसक्नुकी भैदिन्छे।
सामाजिक सञ्जालका अनेकथरी झिल्के एप्सहरूमा समाजद्वारा प्रतिबन्धित वर्जनाहरू छताछुल्ल पोख्ने नयाँ पुस्ताको कथा बोकेको उपन्यास फेक स्माइल पढिसक्दा निराशाको पोखरीमा चोबलिएको मन सङ्गालेर म केही लेखिरहेको छु । आफ्नै स्टाइलमा जीवन बाँच्न मन पराउने नयाँ पुस्ता मूलतः समाज निरपेक्ष व्यवहारहरूको फैलावटलाई आफ्नो सिर्जनात्मकताको उच्चतम प्राप्ति ठानिरहेको देखिन्छ । कलेजका मार्क्सिसटहरूमा शिक्षाको उज्यालो पोखिरहेको यही पुस्ता सामाजिक जीवनका वास्तविक भोगाइहरूबाट दिनहुँ टाढा भएको छ किन्तु यो पाटो पनि हाम्रो जमानाको यथार्थ हो । यथार्थबाट भाग्न सकिँदैन किन्तु यथार्थको सही दिशाबोध हुनु नितान्त जरुरी कार्यभार बन्नुपर्छ तर यही कार्यभारबाट जमाना साँच्चै भागिरहेको छ ।
किशोरकिशोरीहरूमा समयभन्दा अगावै पूर्व वयस्कता देखा पर्नु , आफू मात्र सही हुँ भन्ने जिद्दीपना बढ्दै जानु , शारीरिक आकर्षण र साँचो प्रेमको भिन्नता नबुझ्नु जस्ता प्रवृत्तिहरू हाम्रो जमानाका ससाना तर एक हिसाबले भन्नुपर्दा निकै गम्भीर दोष हुन् । इनफ्याचुएसनको ( शारीरिक आकर्षण ) आयतन बढ्दै गएपछि किशोरकिशोरीहरूको व्यवहारमा आउने अजीवका परिवर्तनहरूले सही निकास पाउन सकेनन् भने जीवन साँच्चैको भार बन्न पुग्छ अपितु आफ्नो गाउँथलोबाट टाढा कुनै बिरानो सहरमा अनजान मनहरूभित्र उम्रँदै गरेको पिरतीको मीठो तृष्णा कालान्तरमा जीवनको अर्कै मृगतृष्णा बन्न पुग्दा यौवन अवस्थाका नवयुवा युवतीहरू कस्तो वर्तमान बाँच्न पुग्लान् ?
प्रेमको आवेगलाई सिर्जनात्मक बनाउन सकिने उपाय र आधार छँदाछँदै पनि अहिलेका नयाँ पुस्ता किन कुनै पनि वैकल्पिक बाटो सोच्न सकिरहेको छैन ? प्रेमको आकार , प्रकार र हैसियत हुन्न वा हुनु हुँदैन भन्ने आदर्श बोकेर हिँड्दा हिँड्दै पनि अन्ततः प्रेमले पनि अन्त्यमा एउटा आकार ग्रहण गर्नै पर्ने रहेछ । प्रेमले पनि एउटा खास गन्तव्य समात्नै पर्ने रहेछ ।
भावना कँडेलको उपन्यास फेक स्माइल पढिरहँदा एउटा पाठकको मनमा अनेक खुलदुली र शङ्काहरूको उत्ताउलो रोमान्चकता सल्बलाइरहन्छ्न् । खास गरी नयाँ पुस्ता उर्फ प्लस टु जेनेरेसनलाई लक्ष्य गरी बुनिएको खिरिलो कथानकको भाषाशैली पनि यही नौलो पुस्ताका निम्ति छ्नोट गरिएको छ ।
प्रत्येक शब्दमा बोलिएका संवाद र शैली , पात्रहरूको सोच र क्रियाकलाप सामाजिक आदर्शभन्दा भिन्न देखिन्छ । पात्र संवादहरूमा प्रयोग भएका भरपूर अङ्ग्रेजी शब्द र वाक्य निर्माणका स्वाभाविक-अस्वाभाविक डिक्सन पढिरहँदा नेपाली भाषा अलि अर्कै किसिमले बोल्ने जेनेरेसन तयार भएको अनुभव गर्न सकिन्छ ।
बुटवल र काठमाडौँको सेटिङमा सजाइएको कथा पात्रहरूको स्वाभाविक निर्माण र चयन , कथाको प्रवाहमा एक्कासि आइपर्ने दुर्घटना र भवितव्यले कथाको एकरसतामा ठुलै तरङ्ग ल्याइदिन्छ्न् । कथाको मुख्य पात्र कबिन र वषिष ( वषिष शब्दको सही उच्चारण कसरी गर्न सकिन्छ ? उपन्यासकारले बसिस भन्न खोजेकी हुन् वा वसिस नै हो ? ) वरिपरि घुमेको कथावस्तु अनि पात्रहरूको फुक्काफाल र समाज निरपेक्ष क्रियाकलापको घनत्वले उपन्यासको औपन्यासिक कलामा क्षति त पुगेको छैन भन्ने प्रश्न उठाउन सकिने ठाउँ भने छन् ।
यद्यपि अहिले फिल्मकार , उपन्यासकार वा कुनै सर्जकले आफ्नो सिर्जनामा समाज र मान्छेहरू यस्ता हुनुपर्छ, दुनियाँले यस्तो आदर्श बोकेर हिँड्नुपर्छ सामान्यतः भन्दैन । लेखिसकेपछि लेखकको मृत्यु हुन्छ भन्ने कथन पनि चर्चित नै मानिन्छ । कृति पढेपछि प्रबुद्ध पाठकहरूले नै सही गलत पहिचान्नु श्रेयष्कर हुन्छ । फेक स्माइलको कथा पनि हाम्रो समयकै कथा हो जो कबिन र वषिषहरूको जीवनको तृष्णा अनि मुटुभरिको घाउ बोकेर एउटा व्यथित जुनी बाँचिरहेको छ । कतिपय व्यथाको ओखती हुँदैन । मनको घाउ सायद सधैँ दुखिरहँदो हो । जीवनको मोडमा कति घटनाहरू यसरी घटेर जान्छन् – जसमा कसैको गल्ती हुँदैन । यद्यपि घटना र दुर्घटनाहरूको शृङ्खलामा दुखिबस्ने मनहरू अनगिन्ती हुँदा रैछ्न् ।
ललितपुरको कुमारीपाटीमा रहेको गल्ली क्याफेमा चिया चुरोट खान आउने अल्लारेहरूमध्ये कबिन नाउँ गरेको केटोको प्रेम कहानी उसकै दृष्टिबिन्दुबाट सुनाइएको छ । बुटवल थालथलो भएको कबिन फेसबुकमा देखिएकी एउटी विचित्रकी राम्री बाहुन केटीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँछ । एम बी एस पढ्न काठमाडौँ आएको कबिन आफ्नो उमेरजन्य स्वभावअनुसार फेसबुकमा देखेर उत्पातै राम्री लागेकी झन्नै ऊसँगैकी केटी वषिषप्रतिको आकर्षणले हुनसम्म छटपटाउँछ ! कुन सन्जोगले हो उनीहरू छिटै साथी बन्छन् ।
वषिषको चरित्र हेर्दा ऊ कुनै बाइपोलार डिसअर्डरले (एकै छिनमा खुसी हुने , एकै छिनमा रिसाउने एक किसिमको मानसिक समस्या) ग्रस्त भएकी हो कि भन्ने लाग्छ । वषिष कहिले ज्यादै ज्ञानी, शान्त र व्यावहारिक देखिन्छे त कहिले असाध्यै घमण्डी, असामाजिक र बुझिनसक्नुकी भैदिन्छे। उसको सौन्दर्यबाट मोहित बन्न पुगेको कबिन दिनदिनै उहीँ विचित्रकी केटीसँग आकर्षित हुँदै जान्छ ।
केही समयको ठुस्काठुस्की र नोकझोकपछि उनीहरू एक अर्कालाई राम्रैसँग मन पराउन थाल्छन् । ओखलढुंगा थातथलो भएको भनी बताइएकी वषिष निकै सम्पन्न परिवारकी हो भन्ने बुझिन्छ किन्तु उसको पृष्ठभूमि धेरै प्रकटमा खुलस्त पारिएको छैन ! कविन निम्न मध्यम परिवारको केटो हो भन्ने बुझिन्छ । फेसबुकबाट साथी बनेका कबिन र वषिष अब राम्रै गरी एक अर्कालाई मन पराउन थाल्छन् । यो मन पराइको डिग्री कबिनकै बढी देखिन्छ । कबिन वषिषका एक र अनेक अनौठा बानीहरूसँग परिचित हुँदै जान्छ । उनीहरू कतै घुम्न जाने, भोजनालयहरूमा खान जाने, पानी पुरी खाने, बारहरूमा डान्स गर्ने, रातभरि दिनभरि घुम्ने, मदिरा सेवन गर्ने, चुरोट र अरू नशालु पदार्थ खाने जस्ता कृत्य कुकृत्य दोहोर्याइरहन्छ्न् ।
वषिष कहिले रिसाउँछे, कहिले थर्काउँछे, कहिले सन्किन्छे, कहिले फन्किन्छे कहिले हप्तौँ बोल्दिन । कहिले हप्तौँ हराउँछे । कहिले नशामा झुम्छे ! कहिले बान्ता गर्छे । हुन त कविन पनि यी काम नगर्ने होइन तर उसको मात्रा अलि कम देखिन्छ । उनीहरूको प्रेम कहानी पढ्दा कबिनको हत्ते गराइ अलि बढी नै देखिन्छ । वषिष कबिनलाई हुनसम्म सताउँछे तर कबिन सताइनुमा पनि आनन्द नै पाइरहन्छ । वषिषको मायामा सर्वाङ्ग डुब्छ । सर्वाङ्ग पग्लिन्छ । उनीहरूबीच शारीरिक सम्पर्क पनि हुन्छ । सामान्य उतारचढाव बाहेक सबै कुरा नर्मल नै भैरहेको हुन्छ तर यी सबै कुरा हुँदासम्म पनि कबिनले वषिषको कष्टमय अतीत थाहा पाएको हुँदैन । वास्तवमा वषिषको व्यक्तित्व निर्माणका थुप्रै जटिल पाटाहरूसँग बिल्कुलै अपरिचित कबिन त्यतिबेला नराम्रोसँग पछारिन्छ जतिबेला वषिष आकाश भन्ने केटोसँग अर्को सम्बन्ध बनाइरहेकी हुन्छे । उनीहरूबीच अब राम्रै दरार आउन थाल्छ। कबिनलाई वषिषको अतीत वास्तवमा केही थाहा हुन्न ।
उपन्यासकी अर्की पात्र जेनीले कबिनलाई वषिषको अतीत सुनाउँछे । वषिषको अतीतअनुसार ऊ खासमा अभिषेक नाम गरेको रैथाने केटोलाई प्रेम गर्थी । अभिषेक र वषिष सँगै पढेका हुन्छन् । आकाश पनि उनीहरूको साथी हुन्छ । एक अर्कालाई उत्पातै माया गर्ने उनीहरू भविष्यका योग्य डाक्टर बन्ने तर्खर गरिरहेका हुन्छन् । यसै बीच दुर्भाग्यवश अभिषेक सारै ठूलो दुर्घटनामा पर्छ । यही दुर्घटनामा उसको निधन हुन्छ र त्यसपछि वषिष नराम्रो गरी टुट्न पुग्छे । ऊ आफूलाई सम्हाल्न सक्दिन र हदै सम्मको दुर्व्यसनी बन्न पुग्छे अनि आफूलाई प्रताडित गर्छे ।
हुन त कथाको पूर्वार्धमा कबिन वषिषद्वारा दुत्कारिएपछि ऊ पनि एक्सिडेन्टमा पर्छ र बल्लतल्ल बाँचेको हुन्छ ।
वषिष अमेरिका जान्छे । कबिन बुटवल फर्किन्छ । यसरी एक अर्कासँग खुलस्त भएर पनि वास्तवमा कहिल्यै ठिकसँग आफ्ना कुरा बुझाउन नसकेका कबिन र वषिष मनभरि चोटको पोको बोकेर आगामी दिन अनि नजाने कति वर्ष आफूलाई जलाइरहने हुन् पत्तो पाइँदैन । चोट र प्रतिचोट, तिर्खा र तृष्णाको अनन्त भूमरीमा रुमल्लिइरहेका कबिन र वषिषहरू कुन अज्ञानता र कस्तो लाचारीले आफैलाई सताउने देवदास बनिराख्या छ्न् , भन्न सजिलो छैन । प्रेम र कर्तव्यको द्वन्द्वात्मक परिबन्दले जीवनको विषाक्तता मात्र अनुभव गरिरहनुपर्ने यी चञ्चल मनहरूलाई आत्मविश्वास र इच्छाशक्तिको कसिलो डोरीले बाँध्नै पर्ने देखिएको छ ।
उपन्यासकार कँडेलले कथामा प्रशस्त करुणा हालेकी छन् । साहित्यिक परिष्कारका दृष्टिले अपाच्य र अशोभनीय ठानिएका शब्दावली पनि राखिएका छन् । परिवेशलाई सहज र जीवन्त बनाउन यस्ता शब्द उपयोग गर्नुपरेको तर्क गर्न सकिए पनि साहित्यको सरहद र मर्यादा भित्रै पनि लेखक आफ्नो उद्देश्य पूर्ति गर्न सक्दो हो । कथा बुनोटको उज्यालो सम्भावना बोकेकी भावना कँडेल फेक स्माइलका धेरै अधुरा प्लटहरू पूरा गर्न अतिरिक्त औपन्यासिक कलासहित छिटै आउने कामना गर्न सकिन्छ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

