आत्मपरक शैलीका माध्यमबाट मनका विविध भावहरुलाई निबन्धकार तिलकराज शर्मा सहजतापूर्वक प्रकट गर्न सक्षम रहेका उनकै निबन्धहरु साक्ष्य छन् ।

वि. सं. २०११ आश्विन १४ गते माता रत्नमाया पौडेल र पिता जीवनाथ पौडेलका पुत्ररत्नका रूपमा तनहुँको आरुस्वाँरा शेरबेसीमा तिलकराज शर्मा पौडेलको जन्म भएको हो ।

मिलनसार, विनयी र कर्मनिष्ठ पौडेल जी सम्प्रति रत्ननगर नगरपालिका–२, चितवनलाई स्थायी बसोबास बनाई धार्मिक अनुष्ठान, सामाजिक सेवा, साहित्यिक–साधना र अध्ययन गर्दै जीवनलाई सार्थक बनाउने प्रयास स्वरूप स्नातकोत्तर तहसम्मको शिक्षार्जन गरेका तिलकराज शर्मा शहीद स्मृति बहुमुखी क्याम्पस, चितवनका पूर्व सह प्रशासक हुनुका साथै विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थामा आबद्ध रहेका छन् ।

वि. सं. २०२८,०२९ सालदेखि नेपाल मा.वि.मा पढ्दैदेखिका उनी मेरा सुख–दुःखका सहृदयी साथी हुन् । मलाई अझै के सम्झना छ भने वि. सं. २०२८ तिर नेपाल मा.वि.मा पढ्दै गर्दा विद्यालयमा आयोजित सांस्कृतिक वा साहित्यिक कार्यक्रमहरुमा तिलकराज शर्माको सहभागिता रहनु र साथीहरुका बिच हाइहाइका पात्र हुँदै वीरेन्द बहुमुखी क्याम्पसबाट उनको ’अन्तर्राष्ट्रिय खैनी सम्मेलन’ नामको निबन्धले तहल्का मात्र मच्चाएन उनलाई दरो दीर्घकालीन हास्यव्यङ्ग्य निबन्धकारका रूपमा स्थापित गरायो । आजभोलि गजल कविता वा निबन्ध जे लेखून् तिनमा उनका हास्य व्यङ्ग शैली नै मुखरित भएका हुन्छन् ।

यदाकदा कविता र गीत लेख्ने तिलकराज शर्मा हास्यव्यङ्ग्यात्मक निबन्धकारका रूपमा चितवनका चर्चित साहित्यकार हुन् । उनका प्रकाशित पुस्तकाकार कृतिहरुमा ’पार्टी खोल्ने धुनमा’ ( हास्य व्यङ्ग्य निबन्धसङ्ग्रह, २०५२ ) र दौरा सुरुवाल र टोपी आतङ्क ( हास्य व्यङ्ग्य निबन्धसङ्ग्रह , २०६५ ) उल्लेख्य छन् । यिनका अतिरिक्त फुटकर रूपमा निबन्ध, कथा, संस्मरण, कविता र गजलहरु विभिन्न पत्र–पत्रिकाहरुमा प्रकाशित देखिन्छन् भने ’नूनको पर्खाइमा’ (कवितासङ्ग्रह) र ’अमेरिकाका ऐंसेलु निकै मिठा थिए’ ( यात्रा संस्मरण ) उदार प्रकाशकको पर्खाइमा छन् ।

समाजसेवाको क्रममा भारत र अमेरिकाको भ्रमण गरिसकेका निबन्धकार तिलकराज शर्माका प्रशंसनीय कार्यहरुबाट प्रभावित भई विभिन्न संघसंस्थाले पुरस्कृत र सम्मानित गरेका छन् । रसरङ्ग प्रतियोगिता २०३७ ( प नि स चितवन ), शिक्षा सेवा स्वर्णपदक २०४४ (राष्ट्रिस शिक्षा समिति), दीर्घसेवा स्वर्णपदक २०५८ (शहीद स्मृति बहुमुखी क्याम्पस, चितवन) , समाजसेवा सम्मान २०५८ (सञ्जीवनी तुलसी सेवा समिति, काठमाण्डौ) , वाल्मीकि साहित्य सम्मान २०६१ (चितवन), भाषा तथा साहित्य सम्मान २०६४ (कृष्ण प्रणामी सत्सङ्ग परिषद् (झापा), कालिका स्रस्टा सम्मान २०६४ (चितवन) , समाजसेवा तथा साहित्य सम्मान २०६५ (कृ प्र यु प , चितवन)जस्ता एक दर्जनभन्दा बढी संस्थाहरु रहेका छन् ।

सुप्रसिद्ध निबन्धकार तिलकराज शर्माको हास्य व्यङ्ग्य निबन्धसङ्ग्रह दौरा सुरुवाल र टोपी आतङ्क’का बारेमा केही संक्षिप्त पाठकीय धारणा राख्ने प्रयासमा छु । यद्यपि कृतिको भूमिका लेखनका सन्दर्भमा निबन्धकार रामबाबु घिमिरेका ’निबन्धकार र निबन्धका बारेमा केही कुरा’ , समीक्षक तथा कविवर गोविन्दराज विनोदीका ’दौरा सुरुवाल र टोपी आतङ्कको दृष्टिसाक्ष्य ’ र समालोचक डा. लक्ष्मणप्रसाद गौतमका ’मीठो व्यङ्ग्यका घोचक बान्कीहरु’ र प्रकाशकीय मन्तव्यमार्फत भाषाविद्, कवि तथा नियात्राकार केदारनाथ खनालद्वारा समेत कृति उपर साङ्गोपाङ्ग विश्लेषण भइसकेको अवस्थामा थप उल्लेख गर्नुपर्ने खासै विषय म देख्दिनँ ।

’बन्ध’ धातुमा ’घञ्’ प्रत्यय र ’नि’ उपसर्ग लगेर ’निबन्ध’ को निर्मिति हुन्छ । यसमा लेखकले वस्तुपरक वा आत्मपरक अथवा आगमन वा निगमन शैलीमा भावना र विचारका यावत् भावहरु प्रकट गरिनु नै निबन्धको आदर्श हो । शिल्पका आधारमा निबन्धलाई कति वर्गमा छुट्याइएको छ म त्यतातिर जान्न ।

भनिन्छ, वास्तविकतामा विकृति भरिँदा हास्योदय हुन्छ भने वास्तविकतामा विसङ्गति छरिँदा व्यङ्ग्योदय हुन्छ । त्यसैले साहित्यमा हास्यव्यङ्ग्य सिर्जनाहरु अत्यन्त लोकप्रिय रहेका छन् । अझ मुटु नै फुट्ने गरी व्यङ्ग्यको सुइरोले रोप्नु तिलकराज शर्माको त हास्यवङ्ग्यात्मक प्रवृत्ति बनिसकेको छ । दौरा, सुरुवाल र टोपी आतङ्क’ यसैको ज्वलन्त नमुना पनि हो ।

जीवन–जगतमा छिरलिएका असङ्गतिप्रति हास्य र व्यङ्ग्यका माध्यमबाट प्रकट गरिनुलाई हास्यव्यङ्ग्यात्मक शैली भनिन्छ । दौरा सुरुवाल र टोपी आतङ्क निबन्ध सङ्ग्रहमा एक्काइस ओटा विविध–विषयका शीर्षकहरुमार्फत सांस्कृतिक, शैक्षिक, सामाजिक, प्रशासनिक, साहित्यिक, राजनीतिक, आर्थिक, पारिस्थितिक, पारिवारिक र वैयक्तिक क्षेत्रमा परिव्याप्त विकृति, विसङ्गति, हत्या, हिंसा, आतङ्क र अराजकताजन्य ताण्डव लीलाप्रति मुङ्ग्रे प्रहार गरी वार्तमानिक सङ्गतिहीनताको पर्दाफास गरिएको छ ।

कृतिको पहिलो ’मन दुखेको छ’ निबन्धले युगीन यथार्थलाई राजनीतिक परिवर्तनले झनै धराशायी बनाएको तथ्य अघि सारेको छ भने ’जनै विवाद र समाधान’ ले सांस्कृतिक विचलनप्रति तीव्र प्रहार गर्दै बाहुन–छेत्रीमा निहित सर्वसत्तावादी चरित्रप्रति झटारो हानेको छ ।

’हे प्रभु ! मलाई पद चाहिएन’ मा पद–लिप्सा र सत्ता–मोहको आहालमा डुब्नेहरुप्रति कटाक्ष गरिएको छ ।

कृतिको नामसमेत रहेको ’दौरा सुरुवाल टोपी आतङ्क’मा राष्ट्रियताप्रति उपेक्षा गर्नेहरुका साथै प्रशासन तहमा रहेर गैर जिम्मेवार हुनेहरुको झाँको झारेिएको छ । राजनीतिक विचलनको पराकाष्ठामा सहिदको दुरुपयोग भएको तथ्यलाई ’सहिद बन्ने चान्स पाइएन’ले पुष्टि गरेको छ । देशलाई टाट पल्टाउने खालका राजनीतिक र आर्थिक पक्षलाई’ पूरक बजेटमा पार्टीको प्रभाव’ द्वारा जोडदार व्यङ्ग्य गरिएको छ ।

’श्रीमतीको अभिनन्दन हुने रहर’ र ’नारी स्वतन्त्रता’ दुवै निबन्धले नारी उत्पीडनका समस्यासहित प्रतिष्ठायुक्त कार्य पनि प्रतिष्ठाहीन कार्यमा रूपान्तरित भएको यथार्थप्रति व्यङ्ग्य गर्दै ’मलाई के रोग लाग्यो कुन्नि ?’ ’ व्यवसायको खोजीमा’ र ’ यता कतै प्रजातन्त्रेलाई देख्नु भयो कि ?’ मा निजी वैयक्तिक मनोदशा, बेरोजगारी उहापोह र वार्तमानिक मूल्यहीन राजनीतिप्रति काँचो वायु जाग्ने गरी प्रहार गरेका छन् ।

’लेख्न मन लागेका कुराहरु’ मा सुप्रसिद्ध निबन्धकार रामबाबु घिमिरेको लेख्न नपर्ने कुराहरु उपर टिप्पणी मूलक मनोधारणा प्रकट गरेका छन् ।

‘पोखरा, अतीत र वर्तमान’, ‘अध्यक्ष हुँ म’,  ’सङ्क्रामक सद्विचार’, ‘श्रीमतीको कचरच र यस पटकक तीज’ , ’ म प्राज्ञ,मेरो प्रज्ञा प्रतिष्ठान’, ‘विज्ञापन र म’ निबन्धहरु अति रोचक र घोचक बन्न पुगेका छन् ।

यसैगरी ’सान्दाजुलाई पत्र’, ’म र सुन्दरी प्रतियोगिता’ र ’महान् बन्ने धुनमा’ जस्ता निबन्धमा कतै युगीन चेतना र कतै सांस्कृतिक विचलनप्रति कडा व्यङ्ग्य गरिएको छ ।

===

उपसंहारः

हास्यव्यङ्ग्यात्मक सिर्जनाको लागि गहिरो अध्ययन र साधनाको खाँचो हुन्छ । विशिष्ट अभिव्यञ्जनात्मक क्षमताको विकास नभई कसरी अनुप्रास, उखान, टुक्का र झर्रा शब्दहरुको प्रयोगसहित सरल सरस र सुबोध शैलीमा शिष्ट, शालीन र सुसंस्कृत हास्य–व्यङ्ग्य सिर्जना गर्न सकिन्छ ? यो त तिलकराज शर्मा पौडेलजस्ता प्रतिभावान सिद्धहस्त लेखकहरुबाट मात्र सम्भव हुनसक्दछ । हरेक देशको आफ्नो पहिचानसहितको विशिष्ट राष्ट्रिय पोशाक हुन्छ । पहिचानको दुहाइ दिएर राजनीति गर्ने नव–सरदारहरु नै राष्ट्रिय पोशाकप्रति उदासीन रहेपछि सर्वसाधारण जनतामा भयोत्पन्न हुँदा व्यङ्ग्य स्वरूप प्रकटित दौरा सुरुवाल र टोपी आतङ्कको इजहार न हो यो ।

आत्मपरक शैलीका माध्यमबाट मनका विविध भावहरुलाई निबन्धकार तिलकराज शर्मा सहजतापूर्वक प्रकट गर्न सक्षम रहेका उनकै निबन्धहरु साक्ष्य छन् । निबन्धमा कतै हास्य रूपको बहुलता कतै व्यङ्ग्य रूपको बहुलता देखिए पनि प्रायः उनका निबन्धहरु सन्तुलित नै छन् ।देशमा विद्यमान तमाम विकृति र विसङ्गतिहरु निर्मूल गरी समाजलाई स्वच्छ समुन्नत र समृद्ध पार्ने निबन्धकार तिलकराज शर्माको अभिलाषाहरु पूरा हुन् भन्ने शुभकामनासहित लेखनी थाम्दछु ।