साहित्यको सन्दर्भमा अब परिवेश विमर्श पनि प्रखर रूपमा बढ्दै आइरहेको छ। मानिसले चरणबद्ध रूपमा सम्पन्न गरेको विकास कार्यले अब मानिसलाई सङ्कटमा धकेल्दैछ। मान्छेले गरेका विकासकार्यले विनास निम्त्याएको छ। मान्छेले गरेका विकास कार्यहरूले यस पृथिवीलाई असन्तुलन पर्यावरणलाई खललता प्रदूषणको पराकाष्ठा आदिले सङ्कटको घडी आएको छ।

अब मानिसलाई बाँच्नका लागि चाहिने अक्सिजनको अभाव हुनेछ। पृथ्वीमा पानीको सतह असन्तुलित हुँदैछ, गाउँ सहर प्रदूषित हुँदैछन्। खानेपानीका मुहान सुक्दैछन्, अतिवृष्टि र अल्पवृष्टि, असमय वृष्टि हुनेछ। पृथ्वीको ठोस वस्तु तरल वस्तु र ग्यास आदिको सन्तुलन खलबलिएको छ। विश्वमा अक्सिजनको कमी र कार्बोन्डाइ अक्साइडजस्ता विषालु ग्यासहरूको मात्रा बढ्दै छ। यसो हुँदा अबका मानिसहरूलगायत पशुप्राणीले सास फेर्न पनि कठिनाइ पर्ने सम्भावना छ।

अब विश्वभरका मानिसहरू पृथ्वीको बढ्दो प्रदूषणबारे चिन्तित हुनथालेका छन्। मानिसले आफ्नो स्वार्थका पूरा गर्नका निम्ति अन्यप्राणी, उद्भिद, वायु पानी सबैमा विनाश गर्दैआएको छ। यही विनाशलीला रोक्न संस्करका केही मानिसहरू आन्दोलित छन्, प्रयासरत छन्। पर्यावरणविद्हरूले मानिसहरूलाई पर्यावरण प्रदूषण रोक्न विभिन्न प्रकारले सचेतता फैलाइरहेका छन्। विश्वका विभिन्न देशहरूमा अन्तर्राष्रिय सम्मेलन आयोदना गरिरहेका छन्। सरकारहरूले पनि यस दिशातर्फ कदम चालिरहेका छन्। साहित्यमा पनि पर्यावरण चेतना प्रबल बन्दै गइरहेको छ। साहित्यमा पर्यावरण चेतना खोज्ने प्रणाली विकसित भएको छ।

नेपाली कवितामा पनि पर्यावरण चेतना देखिन थालेको छ। अध्ययन गर्दै लगे लेखनाथ पौड्यालका तरूण तपसी, ऋतुविचार, महाकवि देवकोटाका मुनामदन, शाकुन्तल, वनकुसुम आदि काव्यहरूमा यो चेतना प्रशस्तै मात्रामा पाइन्छ। अविनाश श्रेष्ठको ‘करोडौं सूर्यहरूको अन्धकार’, विजय हितानको ‘वागमति ब्लुज’ र स्वच्छन्द सुसेलीहरू भाग १ र २ (सम्पादित), अविनाश श्रेष्ठको ‘करोडौं सूर्यहरूको अन्धकार’, डा देबेन सापकोटाको ‘परिश्रान्त पृथिवी’, राजा पुनियानीको ‘तङसिङ’ आदि कविता सङ्ग्रहहरूमा पनि पर्यावरण चेतना प्रखर रूपमा पाइन्छ। अझ स्वच्छन्द सुसेलीहरू भाग १ र २ गरी दुई पुस्तकले नेपाली कवितामा यस चेतनालाई अघि बढाउन विजय हितानको ठुलो भूमिका छ।

स्वच्छन्द सुसेलीहरूमा एकात्तर जनाका जम्मा ८२ वटा कविताहरू समावेष छन्। उनले परिवेशलाई नै लिएर कवितामा सचेतता अभियानमा लागि परेका छन्। उनीपछि डा देवचन्द्र सुब्बा पनि यस क्षेत्रमा अघि आएका छन्। उनको पुस्तक नेपाली कवितामा परिवेश (२०२१) यस किसिमको अध्ययनका लागि कोसेढुङ्गो सावित भएको छ। यसमा कवितामा परिवेशलाई कतिको प्रयोग गरिएको छ भन्ने कुरामा अनुसन्धान र सर्वेक्षण गरिएको छ। यसअघि डा गोविन्दराज भट्टराईले पनि नेपाली पर्यावरण कविताको सैद्धान्तिक आधारमा स्थापना गरेका हुन्। यता भारतका केही कविहरू पनि पर्यावरणलाई लिएर गम्भीर बनी यसतर्फ सचेत भएर कविता लेख्ने गरेको थाहा पाइन्छ। मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, सञ्जय बान्तवा, देबेन सापकोटा, राजा पुनियानी आदि सक्रिय देखा परेका छन् ।

नेपाली साहित्यमा अब डा. देवेन सापकोटालाई बढी चिनाइरहनु पर्दैन । उनको जन्म १ जनवरी, १९६० मा शिङ्री असममा भएको हो। उनी जानुका देवी र गङ्गाराम सापकोटाका कनिष्ठ सुपुत्र हुन्। उनले पशु चिकित्सा विज्ञानमा पोस्ट डाक्टरेट गरेका हुन्। उनी यसै विषयका वरिष्ठ प्राध्यापक हुन्। हालसम्म उनका प्रकाशित कृतिहरू हुन्- १. यता हुँदा उताको झझल्को (यात्रा संस्मरण, २०१९), २. मनोराग (कथासङ्ग्रह, २०२०), ३. परिश्रान्त पृथिवी (२०२१)। यीबाहेक उनका फूटकर केही कथा कविता निबन्ध आदि प्रकाशित छन्।

उनी विभिन्न साहित्यिक सङ्गठनमा पनि सक्रिय देखिन्छन्। उनी अस्सीको दशकतिर अविनाश श्रेष्ठरको नेतृत्त्वमा चलेको कोलाज कविता आन्दोलनमा पनि सक्रिय थिए। उनी देउराली साहित्य सामाजिक मञ्चका अध्यक्षका रूपमा कार्यरत छन्। उनले विश्वव्यापी कोरोना महामारीको समयमा २०२१ मा अनलाइन पर्यावरण कविता प्रतियोगिताको पनि आयोजना गरेका थिए। यसैगरी उनले हालैमा प्रकाशित भइरहेको असमेली पर्यावरणीय कविता (सम्पादकद्वय देबेन सापकोटा र अनुपमा कट्टेल) ग्रन्थको पनि सङ्कलन र सम्पादन गरेका छन्।

२०२१ मा प्रकाशित गौहाटीका डा. देवेन सापकोटाको परिश्रान्त पृथ्वी पर्यावरण चेतनामा आधारित कवितासङ्ग्रह हो। यस पुस्तकको भूमिका पर्यावरण कार्यकर्ता विजय हितान, समालोचक डा. गोविन्दराज भट्टराई र ज्ञानबहादुर छेत्रीका रहेका छन्। तीनजना समीक्षकहरूले यस कवितासङ्ग्रहलाई एउटा विशुद्ध पर्यावरण चेतनाको नमुनाका प्रस्तुत गरेका छन्।

विजय हितानले यस भिक्षका कविताहरूलाई पर्यावरण चेतनाका आधारमा दसवटा विषयवस्तुगत वर्गीकरण गरेका छन्- विकास निर्माणको प्रभाव, जैविक विविधता, पर्यानारीवादी चेतना, परिवृत्तीय, ग्राम्यता र नगरीकरण, प्रदूषण, जलवायु, परिवर्तन, वन्यजन्तु र चोरी सिकार, धर्म र पर्यावरण र अन्य। असमका वरिष्ठ समालोचक श्री ज्ञानबहादुर छेत्रीले यस कवितासङ्ग्रहलाई भारतीय नेपाली कवितामा एउटा माइलस्टोन भनेर मूल्याङ्कनपरक तोक दिएको छन्। उनका अनुसार जीव र जड वस्तुहरूको एकार्कासँग अन्योन्याश्रित सम्बन्ध हुन्छ र देवन सापकोटाले यसलाई सचेततापूर्वक काव्य सिर्जना गरेका छन्। विजय हितानले खुट्याएका उपर्युक्त दसवटा विषयवस्तुबाहेक स्थानीयता र सार्विकता, ऋतुपरक वर्णन, भविष्यको सङ्केतलाई पनि जोड्न सकिन्छ।

अहिले चलिरहेको अन्धाधुन्ध रूख कटनी पशु हत्या विकास निर्माणबाट विनाश लीलालाई कवि सापकोटा स्पष्ट रूपमा उतारेका छन्। प्रस्तुत सङ्ग्रहमा जम्मा एकचालिसवटा प्रायः छोटा छोटा आयामका कविता सङ्गृहीत छन्। यसमा रहेका जम्मै कवितामा विश्वमा खतरामा रहेको पृथ्वीको बारेमा चिन्तन र चिन्ता गरिएको छ।

कविले आफ्नो कविताका मूल उद्देश्य पृथ्वीलाई केन्द्रमा राखी यस्ता कविताहरूलाई पृथ्वीवाद भनेका छन्। कविका अनुसार अहिले विश्वव्यापी महामारीको मूल कारण मानिसकै अवाञ्छित, क्रियाकलाप हो। मानिसले अनधिकार र एकाधिकार वनको दुरूपयोग गरिरहेको छ र यो क्रम यथावत्।

“त्यो बल्ल फेला पर्यो” भन्ने कवितामा मान्छेको विगतका कुकार्यले नै कोरोना जन्मिएको भनेर अऩ्य पशुहरूले समेत मान्छेलाई खिच्याइरहेका छन्। मान्छे जति नै उपकरण र तकनिकीले उच्च भए पनि यस महामारीमा उ लाचार भएको छ। अब जुनकिरी, पुतली मौरी आदि मानिसका हितैषी कीट पतङ्ग प्राणीहरू विलुप्त भइसकेका छन्। कविता पुस्ताका बीचको अन्तरालाई यसरी अभिव्यक्त गरेका छन्-

डाँड़ापारि कुनै एक गाउँमा

नातिले हजुरबुबालाई बुझाउने प्रयत्न गर्दै

कागज कलमले चित्र कोर्दै

जैविक जीवन र खाद्य शृङ्खलाबारे अबको पुस्ताले अघिल्ला पुस्ताका मानिसहरूले देखेर अनुभव गरेका कुरा देख्न र भोग्न पाउँदैन। अबको पुस्ता त मानसिक, पर्यावरणीय सबै कुराबाट प्रदूषित छ। अब कुवा र नदी सुक्न लागेका छन्, रूख पनि घटेका छन्।

यस कवितासङ्ग्रहमा वन्यजस्तु वनस्पति हावापानी आदि जस्ता पर्यावरण प्रणालीलाई नै केन्द्र बनाएर लेखिएका छन्। मान्छेका एकल अधिकार होइन। वन्यप्राणी वनस्पति नदी नाला पहाड पर्वत समुद्र हरेकका अस्तित्व र अधिकारका विषयमा कलम चलेका छन्। यसमा रहेका एकेकवटा कवितामा नै पर्यावरणीय चेतना पाइन्छ। अबको वैश्विक समस्या भन्नु नै असन्तुलित पर्यावरणबाट उब्जेका समस्या हुन्।

देवेन सापकोटाको ‘परिश्रान्त पृथ्वी’का पर्यावरणीय विषयहरूलाई यसका भूमिका लेखक विजय हितानले यस कवितासङ्ग्रहका बारेमा गम्भीर अध्ययन प्रस्तुत गरेका छन् । कविताभित्रका संवेदन पक्षबारे प्रकाश पारेका छन्। मानिसको मानसिकतामा नै विध्वंस भरिएको छ। जङ्गल फँडानी, नदी अतिक्रमण गरी सहर बसाउने आदि जस्ता प्राकृतिक कार्यकलापले परिवेश प्रदूषित गरिएको छ।

प्रस्तुत कवितासङ्ग्रहमा रहेका एकचालिसवटा कविताहरू जम्मैमा नै परिवेश चिन्तन र चिन्ता गरिएको पाइन्छ । उनका निम्ति अहिले मान्छे यस्तो गतिविधि गर्छन् जसले मान्छे आफैँ विपतमा हाल्दैछ भने अन्य प्राणी र पृथिवीलाई नै सङ्कटमा पार्दैछ । पृथिवीको खाद्यशृङ्खलामा खलल आउन थालेको छ। चारैतिर जङ्गल फाँडेर पहाड नाङ्गो भइरहेको छ, पहिरो झरिरहेको छ, बाढ आउने क्रम बढिरहेको छ, पिउने पानीको घोर सङ्कट पर्न थालेको छ। कुवा सुक्न लागेका छन्, हिमालचुलीमा हिउंमा कालो धब्बा देखिन्न थालेको छ, ग्लेसियर पग्लँदै छ। नगरीकरणका नाममा वनजङ्गलको अन्धाधुन्ध फँडानीले मानव सभ्यतालाई नै सङ्कटमा धकेल्दैछ। मौरीको अन्त्यसितै मानव सम्भयताको अन्त्य हुने भयावह सङ्केत यसरी गरेका छन्-

हराइ गए भने मौरीहरू
यस विश्वबाट
फल्ने छैन अनाज
विनाश हुनेछ मानिसको अनिकालमा। (पृष्ठ ७३)।

उनका अनुसार अब जन्मदिनको ठुलठुला उपहार दिनका सट्टा गँड्यौलाको उपहार दिएर पर्यावरण सचेत हुन परेको सन्देश दिएका छन्।

यसमा प्रकृतिको संवेदनशील पक्षबाट नै काव्यिक सौन्दर्यको खोजी खोजी गरिएको छ । मानवीय स्वार्थले गर्दा प्रकृतिमा आएको विशृङ्खलता, असन्तुलन र विध्वंसलाई कवितामा प्रकट गरिएको छ । माछा, कुवा, नदी, हावा, पानी, मौरी,रूख, गँड्यौला, समुद्र, पुतली, बाढी, जुनकिरी, हिउँ जस्ता प्राकृतिक वस्तुहरूलाई मानवीय संवेदनासित जोडेर कविता बुन्ने प्रयास गरिएको छ।

बढ्दो औद्योगिक कारखाना र सवारी साधनको प्रयोगले उत्सर्जित धुँवालाई प्रकृतिका निम्ति ‘अभिघातीय प्रतियोगिता’ भन्ने संज्ञा दिका छन्। प्रतीक र बिम्बको कुशल प्रयोग गरिएको छ। उनले पृथिवीमाथिको परत (Atmosphere) मा परेको ओजोन प्वाललाई ‘प्वाल परेको छाता’ को प्रतीक बनाएका छन्। जसरी प्वाल परेको छाताले पानी राम्ररी छेल्दैन, त्यसरी नै ओजोन फाटेर प्वाल परेपछि विभिन्न विषालु किरण पृथिवीमा आउनेछन् भन्ने संकेत गरेका छन्।

शहरलाई ‘कङ्क्रिटको कारागार’ भनेका छन्। यसमा स्थानीय रङ्गको पनि चित्रण गरेका छन्। म दिहिङ-पाटकाइ बोल्दैछु बाढी गएपछि जस्ता कवितामा असमेली परिवेशको झलक पाइन्छ। त्यहाँका नदी नाला, हावा पानी पनि प्रदुषित भइसकेका छन्, नदी सुक्न लागेका छन्, पहाड नाङ्गो भइसकेको छ भन्ने कुरा उल्लेख गरेका छन्।

सङ्ग्रहमा केही कविताको अन्त्यमा कवितामा प्रयुक्त विशेष शब्द, स्थान र प्रसङ्गको अर्थ खुलाएका छन्। सामान्य पाठकले कविता नबुझे तलका यी सङ्केतहरू पढ्दा मात्र पनि अर्थ खुल्न सहयोग मिल्छ। यसमा अङ्ग्रेजी शब्द पनि प्रशस्त मात्रामा प्रयोग गरिएको छ। यसो हुनाको मूल कारणअङ्ग्रेजीमा बढी प्रचलन, नेपालीमा त्यसको पर्याय शब्दको कमी, पाश्चात्य चिन्तनको प्रभाव आदि हुन सक्छन्। यद्यपि यस्तोमा नेपालीमा रहेकै शब्दको प्रयोग गरे अर्थद्यौतन गर्न समस्या पर्ने छैन।

कविलाई भविष्यको चिन्ता छ। सन् २०५० सम्ममा यो पृथिवीका मानिसहरूको के अवस्था होला भनी चिन्तित छन्। यस चिन्तालाई बिम्बको माध्यमबाट अभिव्यक्त गरेका छन्। सुस्केराहरू, खिस्रिक्क पर्छन् धुँवाहरू, विवशता, अतिक्रमणहरू, गाउँले मन, विचरा कवि, एक युगपछि ब्युँझदा, बिचरा बुढो नदी, कठैबरी, कङ्क्रिटको कारागार, प्रायश्चित, पहाडको पीडा आदि जस्ता संवेदनशील पदावली आदिका माध्यमले पनि काव्यिकता दिन खोजेका छन्।

यसमा रहेका केही कविताहरूको शीर्षकले नै कविताभित्रको मुख्य भाव बुझ्न सकिन्छ। ‘बोन्साइ’, ‘सन् २०५० को पृथिवी’, ‘माछा महान’, ‘बाढी गएपछि’, ‘पुतली’, ‘समुद्रमुनिका सुस्केराहरूमा बिचरा बुढ़ो नदी’, ‘फुच्चे मानिस’, ‘विस्थापन’, ‘डिकोडिङ मेसिन’, ‘अपशकुन’, ‘जन्मदिनको उपहार’, ‘रुख’, ‘कठैबरी मौरी’, ‘कङ्क्रिटको कारागारभित्र म’, ‘एक परित्यक्ता कुवा’, ‘प्रायश्चित्त’, ‘म दिहिङ पाटकाइ बोल्दैछु’ आदि।

देवेन सापकोटाको यस कविता सङ्ग्रह अध्ययन गर्दा केही खट्किएका कुरा पनि छन्। यसमा काव्यत्व कम र तथ्यात्मकता र विषयवस्तु उठान बढी छन्। पर्यावरण चेतनालाई लिएर विभिन्न कोण प्रतिकोणबाट चिन्तन गरिएको थियो, पृथ्वीको भविष्यको चिन्ता गरिएको छ। कवितात्मकताभन्दा प्रोपागान्डा बढी राखिएको छ। तर कवितामा हुनुपर्ने रागात्मकता, अर्थगत तहमा व्यञ्जनात्मकता, शब्द र वर्ण प्रयोगगत सचेतता, शिल्प सौन्दर्य, काव्यिक प्रस्तुतिकरण, शाब्दिक कोमलता, गेयात्कता, आन्तरिक लयात्मकता, अनुभूतिगत संवेदनशीलता जस्ता तत्व भने कम मात्रामा पाइन्छन्।

यसमा रहेका कविताहरू काव्यात्मकताभन्दा विषयवस्तुको भारले थिचिएर चेप्टिएका छन्। यसभित्रका कतिपय कविताहरू कविताजस्ता नभएर कानुनी दस्तावेज र चेताउनीको लौरोजस्ता बनेका छन्। पाठकले यसभित्रका कविताहरू पढ्दा काव्यिक रसानुभूतिभन्दा पर्यावरणको चिन्ताले सताउँछ, भविष्यको डर देखाउँछ।

कविले यसमा मूलतः भौतिक परिवेश र मानसिक परिवेशलाई कथ्य रूपमा प्रस्तुत गरेका छन्। भौतिक परिवेशलाई सञ्चालन गर्ने तत्त्व नै मानसिकता हो। हाम्रो जीवनशैली, मानसिकता, क्रियाकलाप गतिविधिमा नै निर्भर हुन्छ। हामीले रूख काटेर काठको व्यवहार गर्छौं, हामी जङ्गल फाँडेर शहर बसाउँछौं, बिल्डिङ ठड्याएर आफ्नो शान बढ़ाउँछौं। मोबाइलका टावरले पनि पर्यावरणलाई प्रभावलाई कविले व्यक्त गरेका छन्। हाम्रा एकेकवटा गतिविधि हाम्रै भविष्यको अन्धकारतिरका पाइला हुन् भन्ने कुरामा कविले समाजलाई चेतावनी दिएका छन्।