मानिस स्वयं एउटा सिर्जनात्मक सौगात हो, सृष्टिको । जन्मँदै उसले अनन्त सिर्जना तत्त्व त्यस्तै अनेक सम्भावनाहरू लिएर आएको हुन्छ । यद्यपि त्यसलाई हामीले नचिनेरै त्यो मरिजान्छ । आविष्कारकहरू, वैज्ञानिकहरू, ठूला ठूला दार्शनिक बुद्धिजीवीहरू पनि हामीजस्तै साधारण मानिस नै हुन् । फरक त्यत्ति हो, उनीहरूले आफूभित्रका सम्भावनालाई जान्न सकेको हुँदा अलग भए, अग्लिए । हामी पनि कम्ती होइनौँ तर कम्ती बन्न खोज्छौँ ।

अघिदेखि आफू कम्ती हुनुको कारण मैले खोजिरहेँ । यस्तैमा डा. गोविन्दराज भट्टराईले मभित्रको सम्भावनालाई देखाइदिए । हो म त्यही सम्भावनालाई उत्खनन गर्न साहित्यक मार्गमा लागेँ । प्रायः मानिसहरूले आफूसँग के छ भन्ने नै थाहा पाउँदो रहेनछ । आश्चर्यको कुरा ऊसँग फेरि त्यही थोक पर्याप्त हुन्छ । जुन थोक नदेखेर ऊ बिथोलिइरहेको हुन्छ । त्यतिखेर ऊसँगको अमूल्य चिजलाई पहिचान गराइदिने कोही हुनुपर्छ ।

थोरै मानिस मात्र त्यस्ता हुन्छन् जसले आफूभित्रको खुबीलाई बोध गर्न सकेका हुन्छन्, धेरै धेरै त बोध नभएरै जान्छन् । फेरि थोरैले त्यो सौभाग्य पाएका हुन्छन, जस्तो कमलराज भट्टराई एउटा सौभाग्य प्राप्त स्रष्टा हुन् । आफूभित्रको दीपलाई जीवनको उत्तरार्द्धमा आएर बल्ल जागृत गराएका छन् ।

यतिखेर सम्झनाका गोरेटामा छब्बीस पाइलाहरू एक संस्मणात्मक पुस्तक पढेपछि मलाई अर्को थोक बोध हुन्छ, उमेर हाम्रो बाधक तत्त्व किञ्चित होइन रहेछ । बाधा गर्ने त त्यही मन हो नि, ऊ भन्छ, “अब उमेर ढल्किसक्यो केही गर्न सकिँदैन, यस उमेरमा आएर के नै गर्नु छ र ?”

होइन, त्यस्तो कुरा पटक्कै होइन । मन तन्द्रामा जान थाल्यो, ब्युँझिएन, तत्परता देखाएन भने चाहिँ साँच्चै वार्धक्यले छोपेको हुन सक्छ । यसबेला आएर साहित्यकार कमलराजले समयमा नहिँडिएको मार्गलाई पनि सहज बनाएका छन् । भनौँ अब उनी ब्युँझिएका छन् । समयमा आँट गर्न नसकेका कर्ममा उनी अहिले आँट गरिरहेका छन् । उनको सम्झनाका गोरेटामा छब्बीस पाइलाहरू यस्तै आँट गर्न नसकेका, उमेरलाई बाधक देखेका, आफूभित्रको सिर्जनात्मक तत्त्वसँग परिचित नभएकाहरूको लागि एउटा दृष्टान्त बनेको छ ।

डा. गोविन्दराज भट्टराईले भूमिकामा लेखेका छन्—सुषुप्त ज्वालामुखीले विष्फोटको दिन पर्खेको मात्र रहेछ । यस अभिव्यक्तिले पुनः मलाई अर्को जिज्ञासु बनाउँछ, सबैभित्र ज्वालामुखी छ तर नभएजस्ता किन हुन्छौँ ?

यति राम्रो परिष्कृत, खारिएको शैली, सुन्दर लेखन भएका स्रष्टा यसअघि कहाँ हराएका थिए ? अचानक फेरि कहाँबाट उदाए ? आखिर हो रहेछ, उनीभित्र पहिले नै ज्वालामुखी थियो । त्यो संस्मरण पढ्दा उनको यो प्रथम कृति हो भन्ने नै लाग्दैन । आरम्भिक चरणको अपरिपक्वता म कहीँ देख्दिनँ ।

यसरी साहित्यिक जगतमा उपस्थित हुनुको श्रेय, लेखकले आफ्ना पारिवारलाई दिएका छन् । अझ बढी श्रेय भाइ गोविन्दलाई दिएका छन् ।

“स्रष्टा मनलाई एउटा दह्रो चोट नै आवश्यक हुने रहेछ” आमुखमा डा. भट्टराई भन्छन्, “मैले २०७६ मा सम्झनाको सागमा केही दिन लेखेँ । … त्यो पढेपछि माल्दाइले ठाउँ ठाउँका तथ्य र तिथिमिति अनि घटनामा गहिरो टिप्पणी गर्न थाल्नु भो । … यति साल हुनु पर्ने गोविन्द यति साल भएछ; अथवा घटना यस्तो हुनु पर्ने गोविन्द यस्तो भएछ … आदि ।

तब मैले भनेँ यसरी हुन्न—कुराले च्यूरा भिज्दैन भन्ने उखान छ दाजु । आफूले लेखेर भन्नोस् । आफ्नो पनि यस्तो जीवन छ, ती अनुभव छन्, तिनलाई अक्षरमा उतार्नोस् । त्यो मात्र पारा बौद्धिक हुन जान्छ, प्राज्ञिक हुन जान्छ । नत्र तपाईंकाे ज्ञान छ धेरै, स्मरण शक्ति राम्रो छ तर त्यो व्यर्थ खेर भइरहेको छ । यत्रो व्यापक अध्ययन छ । त्यसको सदुपयोग भएन यी कुरा लेखेरै देखाउनु पर्छ (पृ–ख)।”

खास विषयलाई मैले अगाडि नबढाएर यसरी प्रस्तावनामै भुल्नुको एउटा अर्थ छ—प्रत्येक मानिसले आफूभित्रको त्यो सुषुप्त ज्वाला देखून्, चिनून् । प्रस्तुत अभिलेखले एउटा प्रेरणा देओस्, एउटा सकारात्मक चेतना पाठकमाझ पुगोस्—कम्तीमा एउटै स्रोतालाई यसले छोएछ भने पनि म आफूलाई धन्य ठान्ने छु ।

हिजोसम्म कमलराज भट्टराई केही सिर्जना नभएका मानिस थिए । आज उनी साहित्यकार भइसकेका छन् । भर्खरै प्रकाशित उनको कृतिले जगत् देख्नुमा अर्को झन् ठूलो शर्त रहेको छ, डा. भट्टराईको वाणीलाई फेरि प्रसङ्गमा जोड्न चाहन्छु, “मलाई गुहाटी विश्वविद्यालयबाट निमन्त्रणा आयो । त्यो कार्यशाला सकेर मणिपुर पनि पुग्ने योजना बनियो र घरमा सुनाएँ । दाजु–भाउजूले भन्नुभयो, ‘त्यो नौलो ठाउँमा हामी पनि जाने ।’

मैले आफ्नो निर्णय सुनाएँ—‘अबदेखि आफ्नो कृति नहुनेलाई साहित्यिक यात्रामा लिएर कतै जान्नँ ।’

निर्णय कठोर थियो । त्यसले गर्दा दाजुलाई पीर पर्यो र निहुरिन कर लाग्यो । काम त गरेकै थियो । सङ्ग्रह गर्नु र छाप्नु बाँकी थियो । अरू दुई मित्र पनि त्यसै गरी लागे । नत्र जान नपाइने भयो (पृ–घ)।”

संस्मरणात्मक लेख र यात्रा साहित्यको संयोजन भएको, छब्बीस वटा आलेखहरूको सङ्ग्रहमा बाल्यकालदेखिका स्मृतिहरू रहेका छन् । लेखक जन्मनु भन्दा अघि वि.सं. १९९९ देखिका केही सन्दर्भहरू आएका छन् । त्यसमा वर्तमान मिसिएको छ । जीविकाको खोजीमा लेखकका माता पिता पूर्वी नेपालको ताप्लेजुङ छोडेर भुटान जान्छन् । त्यहीँबाट स्मृतिहरू शुरु भएका छन् ।

केही समयपछि त्यो परिवार पुनः ताप्लेजुङ नै आउँछ । मधेस झर्छ । सङ्घर्षका अनेक भुमरी पार गरेर शिक्षार्जनका लागि म पात्र अर्थात् स्रष्टा कमलराज बनारस पुग्छन् । उनकै केन्द्रियतामा परिवारिक दृश्य चित्र बनिएको छ । मस्त यौवनका उनी सुखद कल्पना र यथार्थको सुन्दर भविष्य खोज्दै अन्त्यमा विराटनगर हानिन्छन् । पुस्तक व्यापारमा लाग्छन्—वि.सं. २०३५ सालसम्मको त्यो संस्मरणात्मक सिलसिला खण्डित भई वर्तमानको यात्रा साहित्यमा कृतिको अन्त्य हुन्छ ।

प्रस्तुत विवेच्य पुस्तकले नेपाल र भुटानलाई जोडेको छ । बनारस पुर्याएको छ । दुई भागमा विभाजित—पहिलो खण्डमा रमाइला बालस्मृतिहरू छन् । किशोर र वयस्कको विगत कठोर छ । दोस्रो खण्डमा यात्रा अनुभव रहेका छन् ।

लेखकका अतीतमा आज कति थोक विश्वास गर्न मुश्किल पर्छ । ती इतिहास भइसकेका छन्—नलेखिएका इतिहास । साहित्य एक किसिमले सामाजिक इतिहासको अभिलेखन पनि हो । सामाजिक मनोविज्ञानको लेखोट पनि । तत्कालीन समयको समाज अध्ययनको लागि साहित्य एउटा उपयोगी सामग्री हो । अझ आख्यान भन्दा पनि जीवनी र संस्मरणमा त्यो बढी भरपर्दो हुन्छ । सम्झनाका गोरेटाेमा छब्बीस पाइलाहरू त्यस समाजको मूल्याङ्कनका लागि त्यस्तै एउटा उपयोगी सामग्री बनेको छ । आजका हामीलाई ती कुरा पत्यारै लाग्दैन । कस्तो युग थियो त्यो ।

मानव एउटा अस्थिर प्राणी हो । सुखमा, दुःखमा ऊ चलायमान भइरहन्छ । दुःखमा अझ बढी ऊ गतिशील हुन्छ—सुगमताको खोजीमा, उज्यालोको आकाङ्क्षामा, अज्ञात अभिलाषामा । देश बाहिरका नेपाली आज जहाँ जहाँ स्थायी बसोबासमा छन्—तिनीहरूका पुर्खा त्यही अज्ञात भोलिको खोजमा मुगलान पसेका थिए । त्यसो त मुगलान जाने क्रम अहिले झन् वृद्धि भएको छ । संस्करण भएको छ त्यो क्रम । अनादिकालदेखिको त्यो निरन्तरताको अन्त्य छैन ।

पुर्खाको थलोमा सहज जीविका नचलेर प्रवासिनु पर्दा सुख त के थियो होला र नै ? आफ्नै भूमिमा त अनुकूलता मिलेन भने पराईको गाउँ ठाउँ अनुकूल कसरी हुन सक्छ ? तर पनि ज्ञात नभएको भविष्यले कतै सुगमता भेट्टाउँछ कि ? यही मनोविज्ञानले लेखक परिवार भुटान गएको थियो । लेखकका पिता शिक्षित भएकै कारण भुटानमा बसेका नेपालीहरूले उनलाई झिकाएका थिए—आफ्ना नानीहरूलाई पढाउन, पण्डित कर्म गर्नको लागि ।

समाजसेवी, सचेत, संयमित लेखकका पिताजीले त्यहाँका राजाबाट सम्मान समेत पाएका थिए, “त्यसबेला लिइएको जनगणनाको अभिलेख पिताजीले तयार गर्नु भएको र उहाँकै हस्तलिपि अहिले पनि दोरोखाको अड्डामा भेटिन्छ भन्ने कुरा त्यताबाट आउनेहरूले सुनाउँछन् (पृ—८)।”

यातायात नभएको त्यो समय भुटानदेखि सात दिन लगाएर भट्टराई परिवार २०१४ सालमा फेरि त्यही ताप्लेजुङ नै फर्किन्छ । शुरुका चारवटा रचना—भुटानको बाल्यकालीन सम्झना, भुटानको जनगणनामा हामी नेपाली, अनौठा र रोमाञ्चकारी यात्रा जस्ता शीर्षकमा लेखक धेरै साना छन् । भुटानी परिवेशका ती बालस्मृति यता नेपालकै जस्तो लाग्छ—चाडपर्व, हावा पानी, खेतीपाती, रहनसहन सबै उस्तै उस्तै ।

भुटानबाट देश प्रस्थानको बेला चमर्चीमा पहिलोपल्ट गाडी देख्दा ती अञ्जान बालक कसरी तर्सिन्छन्, “आफैँ कुद्ने वस्तु आफ्नै अगाडि पहिलोपटक देखेर हामी केटाकेटीहरू डराएका थियौँ । केही बजारे खाने कुरा किनिदिएर फकाउँदै हामीलाई गाडीमा राखियो (पृ–१६)।”

त्यसरी तर्सिएका बालक अहिले राष्ट्रकै सम्पदा भएका छन् । तिनीहरू को हुन् ? थाहा छ तपाईंलाई ? ती बालक उनै लेखक र उनका दाजु डा. तुलसी अनि भाइ डा. गोविन्दराज भट्टराई थिए ।

अरूजस्तै त्यो परिवार उतै मुगलानमा अल्पिएको भए आज मैले यति कुरा लेख्दै हुने थिइनँ । शायद म पनि यसरी शब्दसँग खोल्दै हुने थिइनँ । किनकि डा. गोविन्दराजकै प्रेरणामा म आज भाषा साहित्यको अनुरागी भएकी हुँ ।

तत्कालीन समयको दैनिकी अहिले बडो अनौठो लाग्छ, हाँसो पनि आउँछ । त्यो एक किसिमको प्राचीन युग लाग्छ वर्तमानमा रहेर हेर्दा । दाँत दुखेर असह्य हुँदा आरानमा गई तानो सनासाले दाँत उखेलेको तथा पिलो निस्किएर फुटाउन नसक्दा, फलामको सुइरो तताएर घोच्ने उपचार विधि विद्यमान पुस्तालाई कल्पना होइन तिलस्मी घटना लाग्छ । समाज विकास गतिविधि कसरी रूपान्तरित हुँदै यहाँ आइपुग्यो ? त्यस समय र अहिलेमा कति धेरै अन्तर आए, कति परिवर्तन भए । यस्तो कुराको अध्ययन समाजविज्ञानले गर्ला । साहित्यका पाठकले पनि यस विषयमा केही जानकारी लिन सक्छ ।

भुटानबाट फिर्ती भएको परिवार ताप्लेजुङको हाङदेवा आइपुगेको छ । त्यसपछि पाँचथरको च्याङथापु जान्छ । घरबासको टुङ्गो छैन । एउटा फिरन्ता जस्तै लाग्छ त्यो परिवार । जायजेथा उतै (भुटान)छोडेर आएका छन् । पिताजी दुवैतिर रखवारी गर्दै हुन्छन् ।

ती यायावर कहीँ स्थिर छैनन् । सुगमताको, शिक्षाको, चेतनाको दीप खोज्दै बास सारिरहन्छन् । त्यति सानो उमेर ४-५ वर्ष हुँदादेखिको घटना पनि स्मृतिमा ताजै रहेको, लेखकको तीक्ष्ण स्मरण शक्तिको प्रशंसा गर्न मन लाग्छ ।

त्यतिखेर पठनपाठनको सहजता थिएन । स्कूल कहीँ कतै खुलेका थिए, टाढा टाढा । ब्राह्मण परिवारमा गीता चण्डी घरमै पढाइन्थो, अनिवार्य थियो । त्यो बालक्रीडामा बेला बेला हँसाउने तत्त्व आइरहन्छ । पुस्तक पढ्दै गर्दा म एक्लै हाँस्छु, रमाउँछु । व्रतबन्धपछि बाल्यकालीन स्वतन्त्रताको अन्त्यले, त्यतिखेरको ब्राह्मण कुलको संस्कार कति कठिन थियो, थाहा हुन्छ, “व्रतबन्ध हुनुअघि बिहान उठेर मुख धुने काम मात्रै हुन्थ्यो । कुनै दिन मुख धुन बिर्सिए पनि आपत्ति हुँदैन थियो । छिमेकमा दिइएका खाने कुरा निर्बाध खान पाइने । हामीलाई अब ठुलै बोझ थपिएको थियो । बिहान उठ्यो, धारामा गयो, मुख धोएर चोखो पानी ल्यायो, पूजा चौकामा बसेर गायत्री जप्यो । पूजा गर्ने, टीका लगाउने अनि मात्र खान पाइने । पहिले बेलुका उब्रेको भात तातो दूधसँग खान पाइन्थ्यो, अब हेरेरै अघाउनु पर्ने भयो (पृ–३१)।”

यस्तो अनुभूति लेखक कमलराजको मात्रै होइन, त्यतिखेरका ब्राह्मण जातिको साझा आचार संहिता यस्तै थियो । स्व. नगेन्द्र शर्माको निबन्धमा पनि यिनै यस्तै अनुभूतिहरू हुन्थे ।

२०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्था खारेज गरेपछि—त्यसको विरुद्धमा २०१८ सालमा नेपाली काङ्ग्रेसको सशस्त्र क्रान्ति शुरु हुन्छ, दनदनाउँछ । त्यतिखेर लेखक १०-११ वर्षका हुन्छन् । त्यो युद्ध आतङ्कको वस्तुस्थिति—माओवादी जनयुद्धकै समयको प्रतीत हुन्छ । भौतिक संरचना ध्वंस गर्ने युद्ध नीति जुन समयमा पनि उस्तै हुँदो रहेछ ।

पञ्चायतकालमा प्रधानपञ्च अनि सुब्बाहरू गाउँका राजा सरह हुन्थे । राज्य सञ्चालनको साम, दाम, दण्ड, भेदको केही शक्ति उनीहरूको हातमा हुन्थ्यो । त्यसको दुरूपयोगमा सर्वसाधारणहरू मारमा पर्थे । च्याङ्थापुको जनजीवन शीर्षकमा ती कुरा केही आएका छन् । गरीब, असहाय, निमुखा नागरिक जुनै युगमा, जसको शासनकालमा पनि दलिएकै हुन्छन्, दबिएकै हुँदा रहेछन् ।

पूर्वी पहाडमा भरस लाग्दो जीवन नभेटेपछि भट्टराई परिवार मधेस झर्छ । धेरै धान फल्ने, कठिन शारीरिक परिश्रम गर्न नपर्ने, पढ्नका लागि प्रशस्त स्कूलहरू, ठाउँ ठाउँमा बजार र यातायातको सुविधा भएको मधेसले विकट गाउँका मानिसलाई लोभ्याउँछ । पहाड त्यसरी मधेस झर्न थाल्यो ।

समय अगावै लेखक परिपक्व भइसकेका हुन्छन् । वयःसन्धिको त्यस चरणमा उनले घर व्यवहार सम्हाल्न थालिसकेका थिए । खेतीपाती पशुपालन, जीविका त्यसैमा चल्छ । मधेसको घरमा उनी एक्लै थिए ।

कर्ममा आधृत हाम्रो समाज विभाजनको परम्पराले सदियौँदेखि जातिवाद निर्धारण गर्दै आयो । स्कूल पाठशाला सञ्चालन नहुनु अघिदेखि नै बाहुनले वेद पढ्यो, शास्त्रार्थ गर्यो । ब्राह्मण कुलका नीति पालन गर्नु त्यति सहज थिएन, जति सहज अरू जातिलाई थियो । लेखककै उमेरका गैरबाहुनहरू बालक्रीडामा रमाउँदा अर्को बाहुन केटो भने कठिन आचरणमा रहेर चण्डी रुद्री जानिसकेको हुन्छ । सानै उमेरमा श्राद्ध गराउने, सत्यनारायण पूजा सम्पन्न गर्ने भइसकेका हुन्छन्, उनी । आफ्नो कर्मप्रति उनी जिम्मेवार छन् ।

गौहत्याको दोषमा पुग्दा त्यो समय सत्य युगझैँ लाग्छ । गौमाता र गौपुत्रको कत्रो श्रद्धा थियो । प्रशासनिक नियम कानून उस्तै कडा थियो । अहिले त्यस्तो छैन ।

ठूलो परिवार, नानाभुना धेरै भएको । लेखकका ठूला दाजु अध्ययनका लागि बनारस गएका छन् । आफूमुनिका भाइ पनि पढाइका लागि घैलाडुवा जान्छन् । पिताजीलाई पहाड र मधेसको रेखदेखमा दौडधुप छ । साना भाइ बहिनी र आमा विकट पहाडमा छन्—खेत नजिकैको ओडारमा । लेखक भट्टराईले मधेसको गृहस्थी एक्लै थामेका छन् ।

त्यो परिवार एकै ठाउँमा भेला भएको, चाडपर्व मनाएको, उत्सवमा रमाएको दृश्य कहीँ आउँदैन । त्यस वर्ष मधेसको दशैँ दुई ठेट्ना दाजु भाइ (गोविन्दराज र कमलराज) मिलेर मनाउँछन् । त्यो दृश्यचित्र कल्पना गर्दा मात्रै पनि उदेक लागेर आउँछ । फरक खालको सङ्घर्ष, त्याग र कठिनाइ, दुःख र अवसादलाई मुक्का हान्दै आएको लेखक परिवार आज प्रतिष्ठित छ, गौरव आर्जन गर्न सकेको छ । सामान्य कष्टसँग विनिमय भएको प्रतिष्ठा होइन त्यो । कृति पढ्दा यति कुरा थाहा हुन्छ ।

सम्झनाका गोरेटामा छब्बीस पाइलाहरू पुर्खाको थातथलो छोडेर मुगलान पस्नेहरूको वास्तविक कथा हो, पराईको आँगनमा मन नथामिएर पुनः फर्किनेको व्यथा हो । त्यस्तै अभेग पहाडबाट मधेस झर्नेहरूको प्रतिनिधि सङ्घर्ष हो, शिक्षाको लागि तत्कालीन युवा पुस्ताले भोग्नु परेको निरीह अनि साझा अनुभूति हो । त्यस्तै सम्पूर्ण मानव जातिकै मनोविज्ञान हो । पानीले ओरालो खोजेजस्तै मानिसहरू सुगमताको लागि कसरी अन्धकारमा हाम्फाल्छन् ? कति अस्थिर छ, कति आकाङ्क्षी छ, कति जब्बर छ, हार्न जान्दैन मान्छे । त्यही नहार्नेको वास्तविकता हो यो ।

पुस्तकमा अपार चुनौतीहरू छन्, गरिबी र अभाव साङ्केतिक रूपमा आएका छन् । यद्यपि त्यस घडीले करुण भाव उत्पन्न चाहिँ गरेको छैन । ती अभाव र कष्टलाई सहज स्वाभाविक तवरले लिँदा त्यसो हुँदैन । अरूको, जगत्को, सबैको अवस्था उस्तै, एउटै छ भने त्यतिखेर विषाद पनि विषाद हो जस्तो लाग्दैन ।

व्यवधान र हैरानी त सबैका उही नै हुन् । उस्तै छन् । तर त्यस अवस्थाबाट उठ्ने चाहिँ कम्ती हुन्छन्, जस्तो लेखक परिवार उठेको छ । प्रायः त दैनिक जीविकामै समाप्त भएका हुन्छन् ।

घरमा छट्याछुटु बिहेको कुरा चल्न थालेको छ । जेठा दाजुले बिहे नगर्न सल्लाह दिँदै लेखकलाई बनारस लिएर जाने कुरा गर्छन्, अध्ययनको लागि । त्यतिखेर मेरो मन शान्त हुन्छ । दाजुप्रति आस्था उत्पन्न हुन्छ । दाजुभाइका मनमा त्यो पीडा छ—उनी पनि पढून्, शिक्षित होऊन् । घैलाडुवा जाँदा, दाजुसँग छुट्टिने बेला भाइले रुँदै भन्छन्, “… जसरी पनि तपाईं बनारस जानै पर्छ । म परीक्षा सकेर घर आउँदा हाम्रो भेट नहोस् (पृ–६९)।”

यथार्थमा परिवारको धावा केवल जीविकाको लागि मात्र थिएन । अझ बढी त शिक्षाको लागि स्विकारिएका विपदहरू थिए । त्यस समयमा पनि शिक्षाको चेतना लिएर, दौडधुपमा थिए । पढाइको लागि आफैँआफ घर छोडेर हिँड्नु, त्यसैका लागि अप्ठ्याराहरूसँग जुध्नु समान्य उदाहरण होइन । ज्ञानार्जनको लागि दाजुभाइको त्यो एकीकृत चेतना र एकभाव बडो प्रशंसनीय लाग्छ, कति अग्रगामी छ त्यो चेतना, कति विशाल छ त्यो चेतना । एकापस र मेलमिलापमा पढाइलाई अघि बढाउँछन् ।
डा. गोविन्दराज भट्टराईकृत सम्झनाको सागरमा केही दिन—त्यसमा शिक्षाकै लागि गरिएका सङ्घर्षहरू छन्, शिक्षाकै लागि स्विकारिएका बाधाहरू छन् । त्यसमा वैयक्तिक सङ्घर्षका कुरा ज्यादा छन् । यता सम्झनाका गोरेटामा छब्बीस पाइलाहरूमा चाहिँ पारिवारिक जीवन सङ्घर्षका कुरा धेरै छन् । आखिर दुवै पुस्तकको चुनौतीहरू शब्दान्तरमा, अज्ञात दीपकको खोजी रहेको छ ।

मेरो पहिलो बनारस यात्रामा अन्ततः लेखक बनारस जान्छन् दाजुसँग । त्यस समयको विद्यार्थी जीवनले, समाजको वस्तुस्थितिको चित्रात्मक विम्ब खिचेको छ । नेपाली युवाहरूको लागि बनासर एउटा गन्तव्य बनेको छ । केन्द्र बनेको छ—शिक्षाको, राजनीतिको । सँगसँगै त्यतिखेर नेपालको शैक्षिक गतिविधिसँग शासक सकारात्मक थिएनन् भन्ने पनि अर्थ छ ।
घर छोडेपछि ब्राह्मण पुत्र किसिम किसिमका असमञ्जसमा पर्छन् । बनासर पुगेको भोलिपल्ट कपाल काट्दा फेरि त्यस्तै अप्ठ्यारो आइपर्छ । उस समयको ब्राह्मण मनोविज्ञानले कृतिलाई धेरै ठाउँमा प्रभाव पारेको छ, “मैले आजसम्म नगरेको काम गर्नु पर्यो । कपाल लामो हुँदा टुप्पी बाहेक सबै खौरिने गरेको थियो । ऐनामा हेर्दाहेर्दै म कुरूप बनेँ । … धन्न त्यहाँको चलन अनुसार लामो टुप्पी राख्नु पर्ने हुँदा टुप्पी चाहिँ बचेको थियो (पृ–७५)।”

इन्टरमिडिएट परीक्षा दिएपछि लेखक बनारसबाट घर फर्किन्छन् । त्यसपछि मेहन्द्र मोरङ क्याम्पस विराटनगरमा कलेज पढ्ने इच्छा, माइग्रेसन शर्टिफिकेट नहुँदा पूरा हुँदैन । उता पिण्डेश्वर क्याम्पसमा शास्त्री पढ्नको निम्ति उत्तरमध्यमासम्मका प्रमाणपत्रहरू नभएर अनि धरान कलेजमा प्रवेशिका परीक्षाको लागि समयमा नपुग्दा उनका वाञ्छाहरू निराश हुन्छन्, ओइलिन्छन् । कलेज प्रवेश नपाएको मनस्तापमा उनी विराटनगर हानिन्छन् । पुस्तक पसल गर्छन् । यसरी उनको व्यवसायिक जीवन सुरु हुन्छ ।

विराटनगरमा पुस्तक पसल आरम्भ एक संस्मरणले देशको शैक्षिक स्थिति र शासकको निरङ्कुशताबारे केही नभनेरै धेरै थोक व्यक्त गरेको छ । लेखकको दैनिकीमा ती कुरा आउँछन् । यो २०३५ सालतिरको सन्दर्भ हो । त्यतिखेर नेपालीहरूको पठन संस्कृति विस्तार हुँदै गरेको थाहा हुन्छ—अनेक किसिमका पुस्तक तथा पत्रपत्रिका चालु हुनुले त्यो कुरा बताउँछ । बौद्धिकता होइन प्रायः मनोरञ्जनका पठन सामाग्रीमा रमाउने पाठकहरू ज्यादा छन् । शासकले आफ्नो बचाउका लागि पत्रपत्रिका माथि लगाएको प्रतिबन्धले पनि, नागरिकहरूको बौद्धिकतामा अङ्कुश लगाएको अवगत हुन्छ ।

मनोविनोदका सामाग्रीमा भुल्नु रहर भन्दा पनि विवशता ठूलो छ, “भारतबाट आउने पुस्तक पत्रिका सबै भन्सारमा जाँच गराएर पास भएपछि मात्रै ल्याउन पाइन्थ्यो । … कुनै दिन नेपालको राजनीतिबारे लेखिएका पत्रिका भए भन्सारमै जफत हुन्थे । त्यसो हुँदा यस्ता खबर छापिएका पत्रिकाहरू एकदुई प्रति मात्रै ल्याएर भन्सारमा बुझाइन्थ्यो । बाँकी प्रति उतै रेल्वे स्टेशनको पुस्तक पसलमा राखेर अलिअलि गर्दै सटभित्र लुकाउँदै अथवा साइकलमा ल्याइन्थ्यो र पसलमा लुकाएर राख्नुपर्थ्याे । यस्ता पत्रिका अरू दिनभन्दा धेरै बिक्री हुन्थे । चिनेका मान्छेलाई मात्रै पुरानो पत्रिकाले बेरेर खुसुक्क दिनुपथ्र्यो । एक पटक त्यस्तो पत्रिका कहाँबाट जासूसको हात लागेछ । मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइयो र चार घण्टा बसाएर बयान लिई कागज गराएर छोडियो (पृ–९२÷९३)।”

बनारस यात्रा अनुभवबाट पुस्तकको दोस्रो भाग सुरु भएको छ । त्यसपछिका आलेखहरू वर्तमान कालका यात्रा संस्मरण, यात्राका अनुभूतिहरू रहेका छन् । विगत र वर्तमान दुवै समयका यात्राहरू यसमा सम्मिलित छन् ।

जीवन बचाइकै क्रमिकता भए पनि सम्झनाका गोरेटामा छब्बीस पाइलाहरूलाई ठ्याक्कै जीवनी भन्न मिल्दैन । सिलसिलाबद्ध जीवनकै उपक्रम संस्मरण गरिएको, यस कृतिलाई कुन विधामा राख्न ठीक हुन्छ, म जान्दिनँ । एकपछि अर्को पात्र, घटना, परिवेशमा आख्यानकै उत्सुकता हुन्छ । यद्यपि आख्यान त होइन नै । आख्यान तत्त्वले त्यस्तो बनाएको छ ।

दार्जीलिङ हुँदै कालेबुङ, कालिम्पोङको यात्रा निकै अघिको छ—२०३५ सालतिरको । त्यसको ३७ वर्षपछिको यात्रामा लेखकले पहिलेको दार्जीलिङ नभेट्टाएको बताएका छन् । त्यसपछिका अरू भ्रमणहरू हालसालैका वर्षमा गरिएका छन् । समूहमा गरिएका ती साहित्यिक भ्रमण बौद्धिक छन् । रमाइला छन्, उत्सव जस्तै । दार्जीलिङ, आसाम, तेजपुरसम्म पुगेको छ त्यो यात्रा ।
आसामको विश्वनाथ कलेजद्वारा आयोजित अन्तर्राष्ट्रिय साहित्यिक सेमिनारमा दश जनाको एउटा समूह नेपालबाट गएको छ । डा. गोविन्दराज भट्टराईको निर्देशनमा यात्रा साहित्यिकमय बनेको छ । त्यस कार्यक्रममा उनी प्रमुख अतिथि, प्रमुख वक्ताका रूपमा आमन्त्रित छन् ।

यात्रा बडो सुखद छन् । त्यो नियात्रा, नियात्रा मात्र होइन । अरू केही विशेष छ—विषयवस्तुको दृष्टिकोणले । भारतीय नेपाली साहित्यको व्यापकता र त्यहाँका वाङ्मय सेवीको त्याग र समर्पण स्तुत्य छ । उनीहरूको अतिथि सत्कार अत्यन्तै विनयशील लाग्छ । अतिथि र आतिथेयबीचको सुमधुरता प्रियंवद छ ।

नियात्राले भारतीय नेपालीहरूको शालीनता र सभ्यतालाई पनि विशेष ख्याल राखेको छ । सम्झनाका गोरेटामा छब्बीस पाइलाहरूका केही रचनाहरू यस अघि नै नेपालप्लस (युरोपबाट प्रकाशित अनलाइन पोर्टल पत्रिका) र प्रतिभा जस्ता पत्रिकामा प्रकाशित भइसकेका छन् ।

लड्न जति सजिलो छ, उठ्न उति नै गाह्रो कुरा रहेछ । प्रस्तुत कृति त्यही उठाइका आरोहावरोह हुन् । तत्कालीन समाजको मनोजगत्लाई ठम्याउन एउटा उपयोगी पाठ तयार भएको छ ।

ढिलै भए पनि साहित्यिक मार्गमा लागेका स्रष्टा कमलराजलाई अनेक शुभकामना छ । त्यो दबिएको कलम आखिरीमै भए पनि अब उत्रिएको छ । आगामी दिनमा त्यसले निरन्तरता पाओस्, लेखकको हितेच्छामा यति भन्दै गर्दा, भोलिका दिनमा छुटेका फुटेका केही मुद्राराक्षस निर्मूल हुने छन् भन्ने पनि अपेक्षा रहेको छ । त्यस्तै अझ परिष्कृत र गम्भीर कृतिहरू आइरहून् ।