श्रीमद्भागवतलाई पौरत्स्य वाङ्मयको अमूल्य र महत्त्वपूर्ण ग्रन्थ हो । यसको अध्ययन गरेका र यसको भावार्थका बारेमा ठुलाठुला विद्वानहरूले आ–आफ्नो वैचारिक पक्षबाट व्याख्या विश्लेषण गर्ने गरेका छन् । त्यसैले ‘विद्वानहरूको विद्वत्ताको परीक्षा भागवतमा हुन्छ’ (विद्यावतां भागवते परीक्षा) भनिएको छ । पौरस्त्य वाङ्मय परम्पराको निकै प्रसिद्ध यो भनाइ भागवतको अर्थगाम्भीर्य र भाषिक प्रौढताको मूल्याङ्कन गरेर लेखिएको मानिन्छ । श्रीमद् भागवतलाई सम्पूर्ण ताप-दुःखको अन्त्य र परम आनन्द प्राप्तिका लागि पढ्ने, सुन्ने र बुझ्ने गरिन्छ ।

जीवनजगतकाे वास्तविक तत्त्व ब्रह्म (‘वेद्यं वास्तवमत्र वस्तु शिवदं तापत्रयोन्मूलनम्’ भागवत, १.१.२) र त्यसलाई बुझ्न सहयोग गर्ने विषयहरु माया, सृष्टि, स्थिति, प्रलय, जीवात्मा, पुनर्जन्म, मुक्ति, जगत्, भक्ति, ज्ञान, कर्म आदिलाई विभिन्न आख्यान, संवाद, स्तुति, गीत आदिका माध्यमबाट प्रतीकात्मक अर्थको तहमा व्यक्त गरिएकाले भागवतमा अर्थगाम्भीर्य छ भने धीमहि, दुर्मेधान्, संरोहयित्वा जस्ता वैदिक व्याकरणबाट सिद्ध गर्नुपर्ने केही शब्दका साथै लौकिक संस्कृतमा निबद्ध परिष्कृत र स्तरीय भाषाशैलीको प्रयोग रहेकाले भाषिक प्रौढता छ । अर्थगाम्भीर्य र भाषिक प्रौढताकै कारण यसको रहस्य बुझ्न विद्वानहरूले पनि निकै मिहिनेत गर्नुपर्ने भएकाले विद्वानहरूको विद्वत्ताको परीक्षा गरिने कसीका रुपमा भागवतलाई लिइएको हो भन्ने गरिन्छ ।

श्रीमद्भागवतलाई उखु मानेर त्यसको रसका रुपमा निचोरेर डा. प्रेमप्रसाद चौलागाईंले भागवत सार तत्त्वको विवेचना गरेका छन् । भागवतको रचना सन्दर्भलाई हेर्दा पनि यसभिध जीवन जगतकाे गहन पक्षलाई उद्घाटन गरिएको छ । अझ सिङ्गो ग्रन्थ पढेर त्यसको भाव गाम्भीर्य बुझ्न निकै साधना गर्नुपर्ने हुन्छ । यसको तात्पर्यार्थ र भाषा दुवै दृष्टिले यसको रहस्य बुझ्न सामान्य प्रतिभाबाट सम्भव छैन भन्ने पनि स्पष्ट हुन्छ । त्यसैले डा. प्रेमप्रसाद चौलागाईंले यसको सारतत्त्वको निरुपण गरेका छन् यस कृतिमा । विषयको गहनताका दृष्टिले नै भागवतलाई वेदरुपी कल्पवृक्षको पाकेको फल र सम्पूर्ण वेदान्तको सार एवम् जीव र ब्रह्मको एकतारुप कैवल्य,मोक्ष (परम आनन्दको अवस्था) प्राप्त गराउनु नै यस कृतिको मुख्य प्रयोजन हो भन्न सकिन्छ ।

भगवानकाे यो ‘भगवत इदम्’ भन्ने अर्थमा ‘भगवत्’ शब्दमा ‘अण्’ प्रत्यय भई भागवत शब्द बनेको हो । कनिष्ठ भएर पनि भाषा र भाव दुवै दृष्टिले उत्कृष्ट महापुराणका रुपमा रहेको यस ग्रन्थको मूल नाम ‘भागवत’मा आदरसूचक ‘श्रीमत्’ शब्द जोडेर पूरा नाम ‘श्रीमद्भागवतमहापुराण’ राखिएको हो । श्रीमद्भागवतको स्वरुप र आयाम हेर्ने हो भने १२ स्कन्ध र ३३५ अध्यायमा समेटिएको छ भने ६ अध्याय भागवत माहात्म्यमा संरचित छ । बाह्र स्कन्धमा संरचित भागवतको पहिलो स्कन्ध उपक्रमका रुपमा र दोस्रो स्कन्ध भागवतको मुख्य विषयको सारका रुपमा रहेको छ ।

उपक्रम अंशका रुपमा रहेको पहिलो स्कन्धमा भागवत रचनाको सन्दर्भ, राजा परीक्षितकाे जन्म र उनलाई तक्षक नागले डसेर सात दिनमा मृत्यु हुन्छ भनी ऋषिपुत्रले दिएको श्रापलाई प्रस्तुत गरिएको छ । मृत्यु नजिक आइपुगेपछि गङ्गाको किनारमा ध्यानमग्न भएका परीक्षितले आफूलाई भेट्न आएका शुकदेवसँग मृत्यु नजिकै आएका व्यक्तिले के गर्नुपर्छ भनी प्रश्न गरेपछि प्रत्युत्तरमा शुकदेवले जीवनजगत्को वास्तविक तत्त्वको बोध गर्नुपर्ने बताई चतुःश्लोकी भागवतको उपदेश गरेका छन् ।

चतुःश्लोकी भागवत भगवान् नारायणले ब्रह्मालाई जीवनजगतकाे वास्तविकताबारे दिएको उपदेश हो । ब्रह्मको सगुण रुप भगवानद्वारा गरिएको उपदेशात्मक अर्थ र भगवानका निर्गुण रुप ब्रह्म र सगुण रुप भगवानका विभिन्न अवतारको वर्णनका सृष्टिको वर्णनका रुपमा रहेको छ । यसको दोस्रो स्कन्धमा चतुःश्लोकी भागवतका माध्यमबाट समग्र भागवतको मुख्य प्रतिपाद्य विषय प्रस्तुत गरिसकेपछि तेस्रोदेखि बाह्रौँ स्कन्धका दश स्कन्धमा विभिन्न कथाका माध्यमबाट भागवतको मुख्य विषयको विस्तार र बाह्रौँ स्कन्धको उत्तरार्धमा उपसंहार,निष्कर्ष प्रस्तुत गरिएको छ ।

तेस्रोदेखि बाह्रौँ स्कन्धसम्म प्रस्तुत गरिएका भागवतका विषय हुन्ः सर्ग, विसर्ग, स्थान, पोषण, ऊति, मन्वन्तर, ईशानुकथा, निरोध, मुक्ति, आश्रय । तेस्रो स्कन्धमा सर्गको वर्णन गरिएको छ । सर्गको अर्थ सृष्टि हो । भागवतका अनुसार निर्गुण ब्रह्मले त्रिगुणात्मिका माया-कृतिलाई साथ लिएर गर्ने सृष्टि सर्ग हो । यस सृष्टि प्रक्रियामा निर्गुण ब्रह्मको ‘एकबाट धेरै बन्न चाहन्छु’ भन्ने इच्छाअनुरुप मूल प्रकृतिमा लीन भएका सत्व, रज र तमोगुणमा आपसी क्रियाप्रतिक्रिया भएपछि महत्तत्वको उत्पत्ति हुन्छ ।

त्यसबाट तामस, राजस र सात्त्विक अहङ्कारको उत्पत्ति हुन्छ र उक्त त्रिगुणात्मक अहङ्कारबाट, पञ्चमहाभूतः पृथिवी, जल, तेज, वायु आकाश पञ्चतन्मात्राः रुप, रस, गन्ध, स्पर्श, सङ्ख्या आदि भौतिक जगतकाे उत्पत्ति हुन्छ । यसरी प्रकृतिबाट महतत्त्व हुँदै समग्र विषयहरुको उत्पत्ति हुने यस प्रक्रियालाई नै भागवतमा सर्ग भनिएको छ । यस सृष्टिमा प्रकृति स्थूल रुपमा दृश्यमान हुने भएकाले यसलाई प्राकृत सृष्टि पनि भनिएको छ ।

विसर्ग भनेको सृष्टिको विविधता हो । भागवतको चौथो स्कन्धमा सृष्टिको विविधताअन्तर्गत जीवसृष्टिलाई लिइएको छ । प्राकृत सृष्टि भइसकेपछि जीवको सृष्टि हुन्छ । यस क्रममा सर्वप्रथम निर्गुण ब्रह्मको सगुणसाकार रुप प्रकट हुन्छ । निर्गुण ब्रह्मको सगुणसाकार रुप भनेको ब्रह्मा (सृष्टिकर्ता), विष्णु (पालन कर्ता) र शिव (संहार कर्ता) को समष्टि रुप हो । विराट् रुप पनि निर्गुण ब्रह्मकै सगुण रुप हो । निर्गुण ब्रह्मले माया,प्रकृतिको साथ लिई विराट् रुप धारण गरेपछि उक्त विराट्को सहायताबाट ब्रह्माले जीवसृष्टिको विस्तार गरेका छन् । जीव सृष्टिका लागि ब्रह्माले पहिले मानस प्रक्रिया अवलम्बन गरेका छन् । यस प्रक्रियाबाट सृष्टिको निरन्तरता हुन नसक्ने बुझेपछि उनले जैविक प्रक्रिया अपनाएका छन् ।

ब्रह्माद्वारा गरिएको जीवसृष्टिलाई वैकृत सृष्टि भनिएको छ । यसअन्तर्गत सर्वप्रथम उद्भिज्ज (भुइँ फोरेर पैदा हुने) वनस्पति, औषधि आदिको सृष्टि, यसपछि अण्डज (अण्डबाट उत्पन्न हुने) र जरायुज (सालनालसहित उत्पन्न हुने) पशुपक्षींको सृष्टि र अन्त्यमा मनुष्यहरुको सृष्टि भएको छ । यसरी भागवतले वनस्पति पनि जीव हुन् भन्ने मान्यतालाई निकै पहिले नै स्थापित गरिसकेको छ । मनुष्यको सृष्टि अन्त्यमा गरिएकाले होला, समग्र सृष्टि प्रक्रियाकै उत्कृष्ट सृष्टिका रुपमा मनुष्य रहेको छ । जीवनजगतकाे वास्तविकताको बोध गरी परम आनन्द प्राप्त गर्ने सामर्थ्य पनि मानिसमा मात्र रहेकाले यसलाई सर्वोत्कृष्ट जीवको संज्ञा दिइएको हो ।

भागवतमा अन्य वर्णित विषयहरुमा जीवहरुको सुरक्षित किसिमले स्थिति होस् भन्ने उद्देश्यले सृष्टि गरिएका आकाशमण्डलका सूर्यचन्द्र आदि विभिन्न ग्रहहरु र भूमण्डलका विभिन्न द्वीप, समुद्र र वर्षहरुको वर्णन (स्थान, पञ्चम स्कन्ध), जीवहरुको सुरक्षा र पालनको समुचित व्यवस्था (पोषण, षष्ठ स्कन्ध), जीवले आफूले गरेको कर्मअनुसार फल भोग्ने र पुनर्जन्म प्राप्त गर्ने प्रक्रिया (ऊति, सप्तम स्कन्ध) सृष्टिप्रक्रियालाई सुव्यवस्थित बनाउन सहयोग गर्ने विभिन्न समयका राजाहरु र तिनका कार्य (मन्वन्तर, अष्टम स्कन्ध), निर्गुण ब्रह्मका विभिन्न सगुण रुप,अवतार र उनका प्रेमी भक्तहरुको विभिन्न आख्यानले युक्त भएका गाथाहरु (ईशकथा, नवम स्कन्ध), जीवनलाई दुःखी बनाउने काम, क्रोध, लोभलाई त्यागी परम तत्त्व (ब्रह्म र ब्रह्मको सोह्रै कलासम्पन्न पूर्ण अवतार श्रीकृष्ण) को चिन्तनमा एकाग्र हुने प्रक्रिया (निरोध, दशम स्कन्ध), जीव-मनुष्यले समस्त दुःखबाट मुक्त भएर परम आनन्द प्राप्ति गरेको अवस्था (मुक्ति, एकादश स्कन्ध) र सम्पूर्ण जीवनगजत्को पारमार्थिक सत्ताका रुपमा रहेको ब्रह्म (आश्रय) को वर्णन गरिएको छ ।

भागवतको मुख्य उद्देश्य नै आश्रय तत्त्वरुप ब्रह्म र जीवको अभेदको बोध गराएर मानिसलाई परम आनन्द प्राप्त गराउनु हो । चारै वेदका महावाक्यहरु ‘प्रज्ञानं ब्रह्म’ (ऋग्वेद), ‘अहं ब्रह्मास्मि’ (यजुर्वेद) ‘तत्त्वमसि’ (सामवेद), ‘अयमात्मा ब्रह्म’ (अथर्ववेद) ले भनेको कुरा पनि यही हो । वेदका व्याख्यात्मक ग्रन्थ र पौरस्त्य वाङ्मयका प्रस्थानत्रयी (परमतत्त्व-आत्मतत्त्व बोधका तीन मार्ग)का रुपमा रहेका उपनिषद् (श्रुतिप्रस्थान), श्रीमद्भगवद्गीता (स्मृतिप्रस्थान) र ब्रह्मसूत्र (तर्कप्रस्थान) को सार पनि यही हो ।

जीव र ब्रह्मको एकत्वको बोधको स्थितिमा मानिस ज्ञानी, समदर्शी र त्यागी बन्दछ । यही स्थितिलाई जीवन्मुक्तिको अवस्था भनिन्छ । भागवतका प्रवक्ता शुकदेव यही जीवन्मुक्तिको अवस्थामा थिए । यो कुरा उनले भागवतमा बोलेको वचन र गरेको व्यवहारबाट थाहा हुन्छ । राजा परीक्षितलाई सात दिनसम्म भागवत सुनाएर एवम् सुनेको कुरालाई मनन र निदिध्यासन गर्न प्रेरित गर्दै व्यहारमा उतार्न सिकाएर जीवन्मुक्त बनाउने कार्य पनि उनले नै गरेका छन् ।

सुरुमा अज्ञानको स्थितिमा रहेका राजा परीक्षित् ‘तक्षकको डसाइबाट सात दिनमा मृत्यु हुन्छ’ भनी ऋषिपुत्रबाट पाएको श्रापपछि अत्यन्त दुखी र भयभीत भएका छन् तर शुकदेवबाट समग्र भागवत सुनेर त्यसको मनन र निदिध्यासन गरिसकेपछि चाहिँ उनमा ज्ञानबाट आफूभित्रको ब्रह्म उर्फ अहं ब्रह्म परमधाम ब्रह्माहं परमम् गतिको अनुभूति गर्दै मृत्यु भयबाट छुटकारा पाएको बताएका छन् । यसबाट जीवनमा सबैभन्दा ठुलो भय भनेको मृत्युभय हो र यसको कारण भनेको अज्ञान हो भन्ने देखिन्छ ।

जबसम्म मन शुद्ध हुँदैन तबसम्म अज्ञानको निवृत्ति हुँदैन, यसर्थ निष्काम कर्म र भक्ति-सेवा गरेर मनलाई शुद्ध बनाएको र तत्त्वज्ञानबाट जीवनको वास्तविकता, आत्मतत्त्वको बोध गरेको वा जीवन्मुक्ति प्राप्त गरेको व्यक्ति नै संसारका सबै किसिमका भयबाट मुक्त भई परम आनन्द प्राप्त गर्दछ भन्ने भागवतको मान्यता हो । भागवतका अनुसार जीवनजगत्को वास्तविक तत्त्व भनेको सत्, चित् र आनन्दस्वरुप ब्रह्म हो । यसैलाई भागवतका विभिन्न ठाउँमा परमतत्त्व, परमात्मा, आत्मतत्त्व, आत्मा आदि नाम दिइएको छ । यही ब्रह्मबाट नै सम्पूर्ण जगत्का साथै जीवात्माको सृष्टि भएको हो ।

श्रीमद्भागवतका अनुसार ब्रह्मबाट सम्पूर्ण जीवनजगतकाे सृष्टि हुन्छ र पुनः ब्रह्ममै विलीन हुन्छ । यस्तै ब्रह्मले पनि आफैँभित्र रहेको सत्अंशरुप सामग्री र चित्अंशरुप इच्छाशक्ति एवम् कलाको प्रयोग गरी जीवनजगत्को सृष्टि गर्ने भएकाले ऊ जीवनजगतकाे अभिन्ननिमित्तोपादान कारण हो भनिएको छ ।

सूक्ष्म शरीर र स्थूल शरीरको प्रसङ्गको उल्लेख गर्दै यस पुस्तकमा स्थूल शरीर भौतिक तत्त्व (हाड, मासु, रगत) आदिले बनेको हुन्छ । भौतिक तत्त्वअन्तर्गत पृथिवी, जल, तेज, वायु, आकाश यी पाँच तत्त्व पर्ने भएकाले यिनबाट बनेको शरीरलाई पाञ्चभौतिक देह भनिन्छ भन्ने कुरालाई स्पष्ट पारिएको छ । अन्नबाट बन्ने भएकाले स्थूल शरीरलाई अन्नमय कोश भनिएको छ । अन्नबाट बनेको रजोवीर्यको पिण्डमा कारण शरीर हुँदै बनेको सूक्ष्म शरीरको प्रवेश गर्भावस्थामै हुने भए पनि गर्भावस्थाबाट बाहिर निस्केको अवस्थालाई जन्म भन्ने गरिएको छ । यही स्थूल शरीरबाट सूक्ष्म शरीरको विच्छेदन हुनुलाई मृत्यु भनिएको छ । यसैले ज्ञान प्राप्त नगरी भौतिक शरीरको मृत्यु हुँदैमा परम आनन्द-मुक्ति प्राप्त नहुने भएकाले मृत्यु र मुक्ति फरक कुरा हुन् भन्ने भागवतको मान्यता हो ।

पूर्वीय आध्यात्मवाद र पश्चिमी भौतिकवाद दुवै दृष्टिकोणलाई एकैसाथ राखेर यसको तत्त्वको निरुपण यस पुस्तकमा गरिएको छ । परमाणुवादी वैज्ञानिकले पनि सृष्टिको कारक तत्त्वका रुपमा रहेको परमाणुलाई (सत्, चित् र आनन्द यी तीन तत्त्वको समष्टि रुप निर्गुणनिराकार ब्रह्म भएझैँ) तीन तत्त्व न्युट्रोन, इलेक्ट्रोन र प्रोटोनको समष्टिका रुपमा लिएका छन् (म्याक्सवेल इन्साइक्लोपिडिया, सन् २०१५: १८१) । यही एकीकृत ऊर्जापुञ्जका रुपमा रहेको एटममा महाविस्फोट भएर त्यसमा रहेका अदृश्य परमाणुहरु गतिशील भएपछि सृष्टिप्रक्रिया प्रारम्भ हुन्छ र प्रलयपछि पुनः एटममै विलीन हन्छ भन्ने मान्यता वैज्ञानिकको हो ।

यसै प्रसङ्ग चर्चा गर्दै डा. चौलागाईंले ब्रह्म र एटम पुञ्जमा समानता देखिए पनि परमाणुवादी वैज्ञानिकले चाहिँ सत् अर्थात् परमाणु चाहिँ नित्य छ र यसबाट चेतनाको उत्पत्ति हुन्छ भन्ने मान्यता राखेका छन् भन्ने कुरा बताएका छन् । वस्तुतः परमाणुवादी वैज्ञानिकले भौतिक परमाणुबाट चैतन्यको सृष्टि हुन्छ भन्नुको अभिप्राय चैतन्यको अभिव्यक्ति हुन्छ भन्नु हो । किनभने संसारको सृष्टिमा नयाँ तत्त्वको उत्पत्ति हुँदैन, भएकै तत्त्वको संयोजन मात्र हुन्छ भन्ने कुरा अधिकांश दर्शनले स्विकारेका छन् भन्ने कुरा उल्लेख गरिएको छ । विज्ञानले पनि वंशाणुलाई नित्य नै मानेको छ । परमाणुवादीले एकातिर कुनै पनि नयाँ पदार्थको उत्पत्ति हुँदैन, देखिएका पदार्थ केवल परमाणुका विस्तार मात्र हुन् भन्ने मान्यता राख्नु र अर्कोतिर चैतन्यको उत्पत्ति हुन्छ भन्नु आफैँमा विरोधाभासपूर्ण हुन्छ । यसैले चैतन्यको उत्पत्ति नभई अभिव्यक्ति हुन्छ भन्दा परमाणुवादीको कथन तर्कसङ्गत बन्ने देखिन्छ ।

यसै सन्दर्भमा थप पुष्टि गर्दै पाश्चात्य परमाणुवादी वैज्ञानिकको मान्यता भागवतको मान्यतासँग केही फरक देखिए पनि आधुनिक भौतिक शास्त्रीहरुको सृष्टिसम्बन्धी मान्यता भने भागवतसँग निकै मिल्दोजुल्दो देखिन्छ भन्ने मत राखेका छन् । यद्यपि आधुनिक भौतिकशास्त्रीले पनि स्पष्टतः आत्मचैतन्यको कुरा गरेका छैनन् तर पनि भागवतमा उल्लेख गरिएको सृष्टिप्रक्रिया र आधुनिक भौतिक शास्त्रीहरुले उलेख गरेको सृष्टिप्रक्रिया निकै मिल्दोजुल्दो देखिन्छ । आधुनिक भौतिकशास्त्रीले जीवनजगत्को उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै बिन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै बिन्दुमा हुने बताएका छन् । यो बिन्दु ऊर्जाशील अदृश्य उपपरमाणुको समूह हो । उनीहरुले अदृश्य उपपरमाणुको संश्लेषण भएर सर्वाधिक घनत्वमा रहेको त्यस बिन्दुलाई कृष्णच्छिद्र भनेका छन् ।

भौतिक शास्त्री आइन्स्टाइनले कृष्णच्छिद्रको अधिकतम गुरुत्व शक्तिका कारण त्यसभित्र छिरेको प्रकाशसमेत बाहिर ननिस्कने र त्यसले सबै चिज आफूमा समाहित गर्ने भएकाले त्यसको भार बढ्छ भन्ने धारणा राखेका थिए । पछि हकिङले अधिक गुरूत्व शक्तिले गर्दा कृष्णच्छिद्रभित्र हरेक चिजहरु खुम्चिएर खाँदिएर रहने र अझ खुम्चँदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुने तथा बिस्तारै कृष्णच्छिद्र नष्ट हुने बताए ।

उक्त विकिरणको नाम उनकै नामबाट हकिङ्स रेडियसन राखिएको छ । विकिरण उत्सर्जन नगर्दा चाहिँ महाविस्फोटन भएर त्यसबाट नयाँ ब्रह्माण्डको सृष्टि पनि हुन सक्ने विचार व्यक्त गरे (विकिपिडिया, सन् २०२१ः३–९) । भौतिक शास्त्रीको यो मान्यता भागवतको आधार ग्रन्थ ऋग्वेद (१।१२९।१—५) को ‘‘सृष्टिपूर्व अन्धकारबाट ढाकिएको सूक्ष्म, व्यापक आफ्नो शक्तिपुञ्जबाट निर्मित एक तत्त्व मात्र थियो । यसबाट सर्वप्रथम सङ्कल्प पैदा भयो । जुन प्रथम मानसिक शक्तिका रुपमा थियो ।…यस शक्तिपुञ्जबाट चारैतिर किरण फैलियो, जुन किरण पदार्थको रुपमा प्रकट हुन थाल्यो ।’’ भन्ने भनाइसँग मिल्दोजुल्दो देखिन्छ ।

यसरी ऋग्वेदमा भनिएको अन्धकारबाट ढाकिएको ऊर्जाशील तत्त्व भौतिक शास्त्रीले भनेको सर्वाधिक घनत्वको अवस्थामा रहेको बिन्दुसँग मिल्छ । ऋग्वेदमा उल्लेख गरिएको यही गतिशील र उर्जाशील तत्त्वलाई भागवतले निर्गुण, निराकार ब्रह्म भनेको छ । यसैलाई सृष्टि, स्थिति र प्रलयको कारकका रुपमा लिएको छ । भौतिक शास्त्रीहरुले पनि कृष्णच्छिद्रमा रहेका उर्जाशील उपपरमाणुपुञ्जको विस्फोटन हुँदा ब्रह्माण्ड बन्ने र विभिन्न माध्यमबाट उपपरमाणुपुञ्जमा परिणत भएपछि उक्त विन्दुमै समाहित हुने बताएका छन् । भौतिक शास्त्रीहरुले उक्त उपपरमाणु पुञ्जलाई चैतन्ययुक्त मान्ने हो भने भागवत र भौतिकशास्त्रको विचार पूर्णतः मिल्ने देखिन्छ तर उनीहरुले चैतन्यलाई पछि उत्पन्न हुने तत्त्व मान्दा यसो हुन सकेको छैन ।

ऋण (–) र धन (+) लाई संसार सञ्चालन र सन्तुलनको प्रमुख नियामक ठान्ने भौतिक शास्त्रीले जीवनजगतकाे सृष्टिको कारकका रुपमा केवल भौतिक तत्त्वलाई मात्र स्विकार्नु चाहिँ अचम्मको विषय बनेको छ । यसैले भौतिक शास्त्र पूर्ण बन्न सकेको छैन । भागवतले चाहिँ यी दुवै तत्त्वलाई ब्रह्मकै अंश स्विकारी यसैलाई जीवनजगत्को सृष्टिको प्रमुख कारक मानेकाले यो पूर्ण शास्त्र बनेको छ । यसैले यो पूर्ण शास्त्र भागवतको सारतत्त्व भनेको ब्रह्मबाट उत्पन्न जीव ब्रह्मबाट भिन्न हुन सक्दैन, ब्रह्मको शक्ति माया-अविद्याद्वारा भ्रान्त भएर उसले यो तथ्य बुझ्न सकेको छैन, जब ज्ञानबाट अविद्यामाथि विजय प्राप्त गरी उसले जीव र ब्रह्मको एकताको बोध गर्दछ । यस स्थितिमा नै सबै किसिमका भय र दुःखबाट मुक्त भएर ऊ त्यागी, समदर्शी र परमआनन्दित हुन्छ । यस किसिमको ज्ञान शुद्ध भएको मनबाट मात्र सम्भव हुन्छ । मनलाई शुद्ध बनाउने साधन चाहिँ भक्ति-सेवा, वैराग्य र निष्काम कर्म हुन् ।

वर्तमान समयमा प्रचलनमा रहेको समालोचनाको प्राचीन रुप नै टिका हो । यसको सिद्धान्तको चर्चा यस पुस्तकमा गरिएको हो । समालोचनाको प्रारुप टीकाले सारतत्त्व-कृतिनिष्ठ गूढ अर्थलाई सहज ढङ्गले बोध गराउने भएकाले ‘टीका गुरूणां गुरूः’ अर्थात् ‘टीका गुरूको पनि गुरू हो’ भन्ने भनाइ प्रचलनमा रहेको छ । भागवतको अर्थबोध गराउने उद्देश्यले पौरस्त्य वाङ्मयको परम्परामा टिका परम्परा कायम रहेको छ । उस कृतिमा टीका ग्रन्थको चर्चा गर्दै ‘टीकाग्रन्थको प्रणयन परम्परा र रामानन्दी टीका’ शीर्षकमा विस्तृत रुपमा प्रकाश पारिएको छ ।

यस कृतिमा टिका ग्रन्थका उदाहरणका रुपमा श्रीधराचार्यविरचित भावार्थदीपिका टीका, बल्लभाचार्यरचित सुबोधिनी टीका उत्कृष्ट टीका हुन् । यिनै टीकाग्रन्थलाई मुख्य आधार बनाएर नेपाली भाषामा भागवतको समीक्षा गरिएको कृति स्वामी डा. रामानन्द गिरिद्वारा रचित श्रीमद्भागवत महापुराण, नेपाली अनुवाद रामानन्दी रामानन्दी टीका हो भन्दै यसै कृतिको समीक्षा यस पुस्तकमा गरिएको छ ।

रामानन्दी टीका र यसमा भएको भिन्नता चाहिँ के हो भने रामानन्दी टीकामा भागवतका प्रत्येक श्लोकको अन्वय क्रममा अनुवाद गर्ने क्रममा तात्पर्योद्घाटनका दृष्टिले व्याख्येय अंशको थप विवेचना गरिएको छ भने समीक्षा कृतिमा चाहिँ रामानन्दी टीकामा विवेचना गरिएका समग्र अंशलाई विषयवस्तुको प्राधान्यका आधारमा वर्गीकरण गरी टीकाको सैद्धान्तिक आधारमा उक्त विषयवस्तुको विश्लेषण गरेर तात्पर्यको निरुपण गरिएको छ । यसैले यो कृति छोटो समयमा सहज किसिमले समग्र भागवतको सारतत्त्व बोध गर्न चाहने जिज्ञासुका लागि पठनीय र मननीय बनेको छ ।

पौरस्त्य वाङ्मयको परम्परामा प्रशस्त टीकाग्रन्थ रचिए पनि कृति समीक्षाको उत्कृष्ट विधाका रुपमा रहेको यस विधाको सैद्धान्तिक आधार बनाइएको छैन । यस पुस्तकमा समालोचनाको पूर्वीय परम्परा टिका नभएकाले यसको सिद्धान्त र प्रयोगलाई यस कृतिले स्पष्ट पारेको छ । यस सन्दर्भमा टीकाको सैद्धान्तिक आधार तयार पार्नु पनि यस समीक्षा कृतिको अर्को उल्लेख्य उपलब्धि हो । यस कृतिमा पौरस्त्य वाङ्मय परम्परामा रचित टीकाग्रन्थको सर्वेक्षणात्मक समीक्षण गरी तिनमा प्रयुक्त वैशिष्ट्यको विश्लेषणका साथै यसका समकक्षी विधाका रुपमा रहेका वृत्ति, वार्तिक, भाष्य, भाष्यविज्ञान र आधुनिक समालोचना सँग यस विधाको तुलनासमेत गरी प्राप्त भएका वैशिष्ट्यका आधारमा टीकाको सैद्धान्तिक आधार तयार पारिएको छ ।

सोही सैद्धान्तिक आधारमा भागवत, रामानन्दी टीकाको विश्लेषण गरी मूल्याङ्कनसमेत गरिएको छ । यसैले यो समीक्षा कृति भागवतका विविध विषयमा जान्न चाहने तथा भागवतका बारेमा शोध, खोज र अनुसन्धान गर्न चाहनेका लागि पठनीय तथा सङ्ग्रहणीय बनेको छ । जम्माजम्मी २०० पृष्ठको यस पुस्तकलाई सविता चौलागाईंद्वारा प्रकाशन गरिएको छ भने ओरिएनटल बुक्स, बागबजारले वितरण गरेको यस पुस्तकको मूल्य रु. ४०० रहेको छ ।