विषय प्रवेश:

नेपाली साहित्य संस्थान सिलगढीद्वारा आयोजित धमारी प्रतियोगिता (२०१५) मा विजयी भएर भारतीय नेपाली साहित्यमा चर्चित बनेकी पवित्रा लामा (सन् १९७६) को कविता वाचन शैलीसँगसँगै ‘अभिसङ्गी कविता’ शब्द नेपाली साहित्यमा प्रयोग हुन थालेको हो । सभ्यताका पेण्डुलमहरू (२०१६), म देह रातो रङ्गिन्छु (२०१९) जस्ता कविता सङ्ग्रह प्रकाशित गराएर नेपाली साहित्यमा छुट्टै स्थान ओगट्न सफल बनेकी पवित्रा लामाले महुवा (२०२२) उपन्यासका माध्यमबाट देशको मूलधारदेखि अलग हुँदै आएका आदिवासी जनजीवनको भोगाइ र सङ्घर्षकाे कथा सुनाएकी छन् ।

भारतीय नेपाली उपन्यास साहित्यमा महुवालाई आदिवासी जनजीवनका सङ्धर्ष र उनीहरूका समस्यालाई उठान गरिएर लेखिएको पहिलो उपन्यास मान्न सकिन्छ । सर्जकले आफ्ना वरिपरी जे देख्छन्, अनुभव गर्छन् त्यसैलाई कलमद्वारा व्यक्त गरेका हुन्छन् । डुवर्समा जन्मेर आदिवासी समुदायसँग नजिकमा रहेकी अनि प्रसाशनिक पदमा रहेर बङ्गालका विभिन्न स्थानमा कार्यरत रहेकी पवित्रा लामाले उनीहरूका जीवन भोगाइ, समस्या, सङ्घर्षलाई नजिकबाट हेर्ने मौका पाएकी छन्, यसका साथै उनीहरूका दु:ख, कष्ट महसुस पनि गरेकी छन् । यिनै अनुभूति, अनुभव आदिलाई यस कृतिमार्फत पाठकसमक्ष पुराएकी छन् ।

विषय विस्तार:

भारतको क्षेत्रभित्र पर्ने मध्य तथा पूर्वी मैदानी,पहाडी र पठारी भूभाग महुवा उपन्यासको पृष्ठभूमि रहेको छ । यी भारतका आदिवासी बहुल क्षेत्रहरू हुन्। पर्यावरणीय अतिक्रमण, सरकारी नियम कानुन, गैरसरकारी निकायका विभिन्न चलखेलद्वारा आफ्नो मूलथलोबाट विस्थापित भएका र किनारीकृत गरिएका देशका मूलवासिन्दाहरूले आफ्नो उपस्थिति बचाइराख्न गर्नु परेको लडाईको कथा महुवा उपन्यासमा पाइन्छ |

उपन्यास प्रथम पुरुष दृष्टिकोणबाट विवरणात्मक ढङ्गमा शुरु भएको छ; त्यसपछि डायरी शैली र पूर्वदीप्ति शैलीका माध्यमबाट कथाले गति पाएको छ | महुवा उपन्यासमा जम्मा २८वटा अध्याय छन् र प्रत्येक अध्यायलाई उपयुक्त शीर्षक दिइएको छ | उपन्यासका घटना, पात्र र परिवेश एकाअर्काका पुरक रहेका छन् | उपन्यासको प्रस्तुतिकरणमा नौलोपन पाइन्छ |

उपन्यासको पूर्वाधमा वर्ण्य क्षेत्रका आदिवासी समाजको जीवन्त चित्रण अनि आफ्ना पुर्खाका रगतले सिँचेको जमिन बचाउँनका निम्ति गरेको सङ्घर्ष पाइन्छ भने उपन्यासको उत्तरार्धमा कथानकमा पाइने विभिन्न प्रसङ्ग, घटनावली केही पात्रका जङ्गी क्रियाकलाप ,छापामार युद्ध, गाउँमा युवाहरूले सङ्गठित भएर समानान्तर प्रशासन चलाउने कार्य, जनसेनाको गठन जस्ता प्रसङ्ग आदिले नक्सल आन्दोलन र नक्सलवादको सम्झना गराउँछ | १९६७ मा पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला अन्तर्गत नक्सलबाडी क्षेत्रबाट विशेषत: साना कृषकहरू माथि जमिन्दारहरूको उत्पीडनको विरोधमा शुरु भएको आन्दोलन नै पछिबाट नक्सल आन्दोलन नामले परिचित भएको हो | वैचारिक र आदर्शवादी विचारधाराबाट सुरू भएको यस आन्दोलनले पछि गएर हिंसात्मक रूप लिएको पाइन्छ | यद्यपि उपन्यासमा कतै पनि नक्सल आन्दोलन वा नक्सलवाद नामको उल्लेख भएको भने पाइँदैन |

आफ्नो चाकरी जीवनबाट राजिनामा दिएका भूतपूर्व पुलिस सुपर विनय कुमारद्वारा लिखित पुस्तक ‘निलो कथा’ (A Blue Story) ले पाठकलाई पुलिसी शोषण, पुलिस विभागभित्रका द्वन्द्व, एनकाउन्टर, जेलभित्र बन्दीहरूको आत्महत्या जस्ता संवेदनशील तथ्यहरू प्रस्तुत गर्दछ । उपन्यासमा आदिवासीहरूको जल जङ्गल,जग्गा जमीनको सुरक्षा र त्यसैसँग जोडिएका गाँस,बास,कपास जस्ता विषयहरूमा सम्बन्धित ‘महुवा मुण्डा एण्ड जनजागरण मञ्च र स्वराज माइनिङ एण्ड कम्पनी लिमिटेड’ माझको दीर्घमियादी अदालती प्रक्रिया चलिरहेको छ । महुवा उपन्यासको औपचारिक समाप्ति देखाइएको छैन । उनीहरूको भविष्य अनिश्चितताको समयचक्रमा खुम्चिएको छ; जीवन सङ्घर्ष निरन्तर चलिरहेको छ ।

साहित्यमा आदिवासी विमर्श:

भारतीय इतिहासमा आदिवासी समाजको आफ्नो छुट्टै संस्कृति र पहिचान रहेको छ । भारतमा नब्बेको दसकमा उदारीकरण र मुक्त व्यापार व्यवस्थाका कारणले देशी कम्पनीका साथै बहुराष्ट्रिय कम्पनीका ठुला ठुला प्रोजेक्टहरूका निम्ति आदिवासीहरू आफ्नो पुर्खौली जङ्गल र जमिनबाट विस्थापन भएका हुन् ।

भारतीय साहित्यमा आदिवासी विमर्श बिसौँ शताब्दीको अन्तिम दसकदेखि सुरु भएको मानिन्छ | अमेरिकेली उपन्यास साहित्यमा पनि ‘धरतीको उपन्यास’ (नोभल अफ द सोएल)भनेर उपन्यासको एउटा छुट्टै वर्ग वा समूह स्वीकृत छ र यस्ता उपन्यासमा अति दूरवर्ती क्षेत्रका आदिवासीहरूको जीवन- सङ्घर्ष चित्रित गरिएको हुन्छ । उनीहरूको अस्तित्व ,आदिवासी संस्कृति, जीवन और समाजबारे साहित्य रचना भएको पाइन्छ । आदिवासी साहित्यको अवधारणामा तीनवटा मत पाइन्छन् । पहिलो आदिवासीहरूका विषयमा लेखिएको कुनै पनि साहित्य; दोस्रो आदिवासी लेखकद्वारा वा स्वानुभूतिद्वारा लेखिएको साहित्य अनि तेस्रो आदिवासी दर्शनलाई आधार मानेर लेखिएको साहित्य जसमा आदिवासीहरूका जीवन र समाज उनीहरूको दर्शन अनुरूप अभिव्यक्त भएको हुन्छ ।

आदिकालदेखि नै आदिवासी समाजलाई पछाडिएको मानेर उनीहरूलाई दोस्रो श्रेणीको नागरिक झैँ व्यवहार गरिन्थ्यो । उनीहरू वर्षौंदेखि जातिगत भेदभाव, विदेशी आक्रमण, अज्ञानता, अशिक्षा आदिका कारणले जङ्गल, पहाड, कन्दरा, कुनाकाप्चामा बस्न बाध्य थिए । वर्तमानसमयमा सचेत लेखक,सर्जक,कलाकार, समाजशास्त्री, राजनीतिज्ञ ,मानवअधिकार सङ्गठन आदिले विभिन्न माध्यमद्वारा उनीहरूका समस्याहरूलाई उठान गर्ने, सरकारका शोषणकारी नीतिहरू विरूद्ध आवाज उठाउने, त्यस क्षेत्रमा शिक्षाको प्रचार-प्रसार गर्ने आदि कार्यहरूले आदिवासी समाजमा जागृति ल्याएको छ ।

आज आदिवासी जीवन, रहन-सहन, उनीहरूका परम्परा एवं सामाजिक-सांस्कृतिक व्यवस्थाबारे साहित्य लेखिन्छ । जसको मुख्य उद्देश्य देशको मुख्यधाराबाट टाडामा रहेका, उपेक्षित भएर बसेका उनीहरूको मौखिक साहित्य, लोक कला, सिप, शिल्प, दक्षता आदिलाई व्यापक समाजमा परिचित गराउनु अनि उनीहरूमा आत्मविश्वास जगाउनु हो । साहित्यमा आदिवासी विमर्शले देशका मूल निवासीहरूकोप्रति भेदभावको विरोध गर्दछ । आदिवासी विमर्शमा आदिवासी अस्मिताको पहिचान,गरिनुका साथै उनीहरूको अस्तित्वसम्बन्धी सङ्कट त्यसका कारण र निवारणबारे पनि चर्चा गरिन्छ ।

 

महुवा उपन्यासमा देखिएका केही विशेषताहरू:

प्रकृति पूजक-

आदिवासी समाज प्रकृति पूजक हुन्; प्रकृतिको अपमान उनीहरू सहदैनन्; उनीहरूका निम्ति प्रकृतिका सम्पूर्ण जड- चेतन तत्त्व नै सुन्दर हुन्छन् । आदिवासी समुदाय प्रकृतिको उन्मुक्त वातावरणमा बाँचेका हुन्छन्; प्रकृतिको लय र ताललाई अनुसरण गर्छन् । यसैले प्रकृतिप्रति उनीहरूका हृदयमा सहज प्रेमभाव विकसित हुन्छ । आदिवासी र प्रकृतिको सम्बन्ध उपन्यासमा यसरी वर्णन गरिएको छ – ‘दुई चार चुरा अनि हातमा खोपिएको जून ताराको नीलो चिन्ह अनि पाउमा खोपिएका पातका निशानले उनको जातिगत परम्परालाई इङ्गित गर्छ’ (पृ. २५) ।

‘आदिवासीहरू प्रकृतिका नजिक छन् भन्ने कुरा उनीहरूको आदिम रूप रङले नै व्याख्यान गरिदिएको हुन्छ । अझ सुन्दरता थप्न यसरी शरीरमा फूल, पात, चरा, जून, तारा कोठी, ज्यामितीय आकारहरू खोप्ने प्रथा अद्भुत लाग्छ मलाई| मेरी आमाको निधारका माथिल्लो भागमा लहरै खोपिएको पाँचवटा पात मलाई अझ पनि याद छ । (पृ२६)

उग्रवादी क्रियाकलाप –

सामाजिक विषमता नै वर्ग सङ्धर्षको जननी हो । आदिवासीका पिता पुर्खाले जमिन्दारको अत्यचार सहनु पर्थ्यो भने पछिल्लो खलकले सरकार र उद्योगपति/ अन्तर्राष्ट्रिय कम्पनीको मार खप्नु परेको छ । सामाजिक, आर्थिक राजनैतिक प्रशासनिक असहिष्णुताको कारणले बंशी (कम.चाँद), अभिषेक (कम. मिठू), कम.शन्नु, जबरू, बिमना, गुञ्जा जस्ता युवक-युवतीहरू उग्रवादी बनेका छन् ।

सामाजिक, आर्थिक विषमता र शोषणको विरोधमा स्वत: स्फूर्त विद्रोही बनेका हुन् यी युवाहरू । सरकारले उनीहरूको क्रियाकलापलाई देशको आन्तरिक सुरक्षाको निम्ति चुनौति ठान्दछ । आदिवासीबहुल क्षेत्रमा एकातिर उनीहरूको जीवनयापनको निम्ति शिक्षा, स्वास्थ्य जस्ता बुनियादी सुविधासम्म उपल्ब्ध छैन, रोजगारको कुनै अवसर छैन भने अर्कातिर औद्योगिक विकासको नाममा त्यस क्षेत्रका प्राकृतिक सम्पदाको दोहनमा निजीकम्पनिहरू लागिपरेका छन् । आदिवासी युवक-युवतीहरू उग्रवादी बन्नुका पछाडि यस्ता विभिन्न कारणहरू रहेका छन् ।

औद्याेगीकरणको प्रभाव-

आदिवासीहरूको जीवनमा परेको औद्याेगीकरणको प्रभावलाई उपन्यासमा यसरी वर्णन गरिएको छ –‘सत्ता र प्रकृतिका प्रकोपमा पर्दै गएपछि आफूसित भएको भिटा,नाउ र जमिन पनि बन्धक राखिसकेपछि कोही दिनमजुर भए, कोही जोतदारकहाँ भूमिहीन श्रमिक भएर अघोषित कमारो जीवन बिताउने बाध्य बन्न थाले एउटै भान्सामा सामल पकाई एउटै आँगनमा बसी सुखदु:ख साट्दै जीवन बिताउने संयुक्त परिवारहरू बिल्लबाठ भइरहेको समय थियो त्यो ( पृ. १४) ” ।

महुवा उपन्यासमा आदिवासीहरूको जीवनका समस्याहरू र शोषण मात्र पाइँदैन तर उनीहरूको सामाजिक सांस्कृतिक जीवन, आस्था विश्वास ,रीति- थितीमा पनि अतिक्रमण भएको पाइन्छ ; नद-नदी, पहाड, जङ्गलको क्रन्दन पाइन्छ । केही उदाहरण- ‘ कारखाना अनि आवसनको जग बसाल्ने महत्त कार्यमा साल, शिरीष, कुम्भी, टून, पाङ्ग्रा, जामुन, पीपल, भेलाटी, सेहुन्द, खैर बेल आदिका प्रशस्तै रूखहरू शहीद भए | वसन्त अनि ग्रष्मकालमा जङ्गललाई प्रेम र उन्मादले रातै रङ्गाइदिने सयौं पलाश,मन्दार अनि गुलमोहर चुपचाप बलि भए ।(पृ७८)

विकासको नाममा विनाश-

विकासको नाममा विनाश भएको उल्लेख उपन्यासमा पाइन्छ – ‘समुद्रसितको निकटताले पनि माझीघाट यी फिरङ्गीहरूको आकर्षणको केन्द्र बनेको हो । हेर्दा हेर्दै यस गाँउका वरिपरिका हरिया जङ्गलहरूमा सभ्य भनाउँदाहरूको आगमन शुरू भयो । हरिया वनका वक्षस्थललाई धलीमली गर्दै चौडा सडकहरू बनिन थाले, रेलका जाल अछ्याइन थालियो, कहिले जङ्गल नदेख्नेहरूले, रूखका नामसमेत नजान्नेहरूले अन्धाधुन्ध जङ्गल फाँड्न थाले ।

सगुन, शीशम, मेहगेनीहरूसहित जङ्गलका दुर्लभ उद्भिद अनि फूलहरू, खनिज अनि बहुमूल्य पत्थरहरू, जानवरहरू अनि पक्षीहरू भनौं बुधाबलङ्गाले सयौं वर्ष लगाएर मलजल गरेको जैविकता र सुन्दरता कहिले सडक अनि कहिले समुद्र भएर अन्जान गन्तव्यतर्फ़ निर्यात हुन थालेपछि बुधाबलङ्गा बहुलाउन थालिन् अनि काल भैरवी भएर किनारका गाउँहरूलाई नै सोहोरेर बगाउन थालिन्’ (पृ.१७) ।

उत्पीडन-

आधुनिक वैज्ञानिक र तकनीकी विकासको परिमाणले आदिवासीहरूको जीवन शैलीमा परिवर्तन आएको छ । मानसिक शोषण, अशिक्षा, अन्धविश्वास आदिका कारणले पछाडिएका छन् । आदिवासी पुरूष, महिलाहरू शहरतिर पलायन भएका छन् मजदुरीका निम्ति । शहर-बजारमा उनीहरूले लैङ्गिक उत्पीडनका साथै वर्गीय उत्पीडन पनि खप्नु परेको कैयौँ उदाहरणहरू उपन्यासमा पाइन्छ – ‘मेहनत मजदुरी गर्दै बिस्तारै डेरा जमाएका उनका साथीहरू दिलु र बिरेनलाई केही वर्षअघि सीआरपीएफले आतज्ञ्कीका शङ्कामा बन्दुकका बटले कुट्दै अनि लात हान्दै शक्तिमान ट्रकमा खाँदेका थिए (पृ.३७)।

‘गाउँकी किशोरी अनि युवतीहरूलाई अब पुलिस अनि बेला बेला आइपुग्ने सेनाका जवानहरूले जताततै जिस्काउने, अपमान गर्ने, थानामा बिनासितै बोलाउने जस्ता घटनाहरू हुन थाल्यो । अब जामतलामा कोही सुरक्षित थिएनन् (पृ८०) ।

‘आदिवासी युवकहरूलाई चोक-बजारतिर अपमानित गरिएका, सामूहिक पिटाई गरिएका, युवतीहरूलाई कटाक्ष गरिएका बेइज्जत गरिएका जस्ता नस्लीय घटनाहरूले हामी अत्यन्तै दुश्चिन्तामा परेका थियौँ (पृ.१०२) ।

अतिक्रमण-

उपन्यासमा त्यहाँका मूल वासिन्दाहरूको पुर्ख्यौली थलोबाट थलोमा भएको अतिक्रमण यसरी वर्णन गरिएको छ -‘विगतमा सरहुलको हर्षोल्लास अनि करमको चहलपहल मात्र चिन्ने अनि अटब्बे घना जङ्गल भएको यहा को धरती आज जङ्गलविहीन रूगरूगे पाखा मात्र बनेको छ जङ्गलहरू मासेर बनाइएका चिल्ला, फराकिला सडकहरू त्यस्ता व्यक्तिहरूका नाउँमा सुशोभित छन् जसका नामहरू हाम्रा जनजीब्रोले उच्चारण गर्न सक्दैनन्’ (पृ१३) ।

आदिवासी अर्थात् त्यस ठाउँका मूलवासी भएर पनि उपेक्षित र सङ्घर्षपूर्ण जीवन बिताउनु पर्ने तितो सत्य उपन्यासमा पाइन्छ | “ हामी स्वेच्छाले हाम्रो सम्पूर्ण भूमि विकास परियोजनाका निम्ति सरकारलाई नि:शर्त प्रदान गरिरहेछौँ … यस भूमिलाई हामी राष्ट्रहितमा समर्पित गरिरहेछौँ” जस्ता अङ्ग्रेजीमा लेखिएका भूमिदान पत्रमा बलजफ्ती बूढी औँलाको छाप लगाएर आफ्ना पुर्खाका जमिनबाट निर्वासन गरेर सरकारले अनुर्वर ठाँउमा पुनर्वास गराए पछि ती रैथाने आदिवासीहरूको अवस्था निम्नदेखि निम्नतर हुँदै गएको देखिन्छ |

महुवाको महक-

महुवा उपन्यासकी मूख्य पात्र हुन् र उनकै नाममा उपन्यासको शीर्षक रहेको छ । तर उपन्यासमा सुरूदेखि अन्तसम्म उनको प्रत्यक्ष उपस्थिति थोरै पाइन्छ । महुवाको परिचय, उनका क्रियाकलाप, सङ्घर्षका कथा, मनोद्वन्द्व आदि सबै ‘म’ पात्र (धनीराज) को डायरी लेखनबाट पाठकले पाउँछन् । महुवा उपन्यासको चुरो बुझ्नका निम्ति मनुष्य र प्रकृति माझको सम्बन्ध अनि उनीहरूका लोकगाथा, लोक संवाद, लोकगीतको संवेदना बुझ्न जरूरी हुन्छ । उपन्यासमा महुवा, जुगनू काका, धनीराज, जामुनी फुपू, गुनि बड़ी जस्ता अनेकौँ पात्रहरू भौतिक सुख सुविधाको अभावमा पनि जीवनप्रति सकारात्मक दृष्टिकोण राख्छ्न् । अनवरत सङ्घर्षमा रहेर पनि उनीहरूभित्र सौन्दर्य चेतना अटुट रहेको पाइन्छ ।

भाषा-

उपन्यासमा प्रयोग गद्यलयात्मक भाषाशैलीले पाठकलाई सुरूदेखि नै बाँधेर राखेको छ । केही उदाहरणहरू

_‘अत्यासलाग्दो गर्मीमा पहिलो वर्षाका थोपाहरू अचानक सुक्खा जमिनमाथि बर्सँदा माटाको जुन मोहक सुगन्ध सारा वातावरणमा फैलिन्छ, महुवालाई सम्झँदा मेरो मन मस्तिष्कमा त्यही शाश्वतता मगमगाउँछ’ (पृ. ९) ।

_‘पीड़ा र आँसुको सम्बन्ध रगतको भन्दा बाक्लो हुन्छ’(१२)।

_जीवनको कुनै एक घुम्तीमा पुगेर क्लान्त भएपछि तर्क जहाँ सुस्ताउँछ, त्यही मोड़बाट यात्रा शुरू गर्दछ आस्थाले’(७३)।

_‘आफ्नो माटोको मोह कति अगाध, कति अथाह हुँदोरहेछ भन्ने कुरा त्यस माटोबाट बलजफ्ती उखालिँदा मात्रै थाहा हुँदो रहेछ महुवा । माटोबिना अर्थहीन हुँदो रहेछ मान्छेको अस्तित्व’ (पृ११४)।

_प्राणवायु बनेर हामीलाई जीवनदान दिने हावा , हाम्रो तृषित ज्यानलाई तृप्त पार्ने वर्षाका बादल, हामीलाई आफ्नो सङ्कल्पमा अटल, अडिग रहन सिकाउने पहाड़-पर्वत-पठार, हामीलाई आशावान बन्न सिकाउने वन-जङ्गल, जीवन छन्दमा बग्न सिकाउने नद-नदी अनि उदार बन्न प्रेरित गर्ने आकाश पनि अब शक्तिशालीहरूकै अधीन भइसक्यो’(पृ.१८९)।

यस बाहेक सादरी भाषाका संवादहरू र एकाध शब्दहरू यथास्थान प्रयोग भएर उपन्यास प्रभावशाली बनेको छ |

निष्कर्ष –

भारतीय संस्कृति र इतिहासमा आदिवासीहरूको महत्त्वपूर्ण स्थान रहेको छ । आदिवासी जीवन शैली, रीतिरिवाज, परम्परा, सामाजिक, सांस्कृतिक पक्ष आदिलाई लिएर विभिन्न भाषामा साहित्य लेखिएका छन् । आदिवासी जनजीवनको कथा र व्यथा भारतीय नेपाली आख्यान लेखनमा पाइएको फरक विषय र चिन्तनधारा हो । महुवालाई भारतीय नेपाली आख्यान साहित्यमा आदिवासी जनजीवनका सङ्धर्ष र उनीहरूका समस्यालाई उठान गरिएर लेखिएको पहिलो उपन्यास मान्न सकिन्छ ।

यस उपन्यासका माध्यमबाट पाठकसामु एउटा सिङ्गो आदिवासी समाज उपस्थित भएको छ । आज आदिवासी समुदायले आफ्नो अधिकार खोज्न थालेका छन् । उनीहरूले आफ्नो शिक्षा, स्वास्थ्य, सरकारी आर्थिक योजना, राजनैतिक हिस्सेदारी जस्ता गहन विषयमा प्रश्नहरू उठाउन थालेका छन् । उनीहरू आफ्नो भौतिक, सांस्कृतिक अस्मिताको रक्षा गर्न सचेत र सङ्गठित बनेका छन् अनि आफ्ना समस्याहरूप्रति आम जनता, समाज र देशको ध्यान आकर्षित गर्न सकेका छन् । यस उपन्यासमा आदिवासीहरूका समस्याहरूलाई आर्थिक सङ्घर्षको रूपमा मात्र हेरिएको छैन तर जल जंगल र जमिनको रक्षाको निम्ति उनीहरूको आत्मनिर्णयको अधिकारको माग पनि राखिएको छ । उपन्यासमा सर्जकको वैचारिक स्पष्टता टड्कालो देखिन्छ । महुवा उपन्यासमा आदिवासी जीवनका समग्र सूक्ष्म तत्त्वहरूको आलेखन हुनु उपन्यासकारको व्यापक दृष्टिको परिचायक मान्न सकिन्छ । उपन्यासकारको प्रगतिशील दृष्टिकोण नै यस उपन्यासको शक्ति हो ।