विषयप्रवेशः

हामी अझ बढी चेतनशील, विकसित, सभ्य, सुसंस्कृत, सिर्जनशील र एकताबद्ध हुँदै जानुपर्नेमा उल्टै चेतनाहीन, पछौटे, छाडा, विकृत, मूर्ख, स्वार्थी र विभाजित हुँदै गइरहेका छौँ । परिणामस्वरूप सामाजिक, आर्थिक,सांस्कृतिक,मनोवैज्ञानिक एवम् राजनीतिक आदि विकृति विसगङ्तिहरू बढ्दो क्रममा रहेका छन् । हाम्रा चाहना, सिद्धान्त र भाषणले सहकार्य र समुन्नति नै भन्दछन् तर हाम्रो बानी र व्यवहारले सोही कुराको पुष्टि गरिरहेका छन् त ? छैनन्, बिल्कुलै छैनन् ।

“व्यङ्ग्यको नाइके पात्र म स्वयम् नै हो भनेर नमाने पनि ध्रुवसत्य यही हो ।”

यो विचार स्रष्टा ईरान राईको हो । उक्त दृष्टिकोण सही छ, यथार्थ छ । यो दृष्टिकोण मुखास्त्र व्यङ्ग्य निबन्धसङ्ग्रहको सम्पादकीयमा व्यक्त गरिएको छ । उनीद्वारा सङ्कलित तथा सम्पादित व्यङ्ग्य निबन्ध सङ्ग्रह मुखास्त्र संयुक्त व्यङ्ग्यनिबन्धसङ्ग्रह २०७८ असोज, ४४ औँ भैरव अर्याल, स्मृतिदिवसको सन्दर्भ पारेर प्रकाशन गरिएको छ । नेपाली साहित्यको क्षेत्रमा ईरान राईको महत्त्वपूर्ण योगदान रहेको छ ।

उनका मौलिक कृतिहरू धेरै प्रकाशित छन्, जस्तैः नयाँ युगको खोजीमा (संयुक्त कवितासङ्ग्रह,२०५२),सप्तकोशीको किनारबाट (हाइकुसङ्ग्रह,२०५२), जिउँदो लास (हाइकुसङ्ग्रह,२०५७), झन्डाकविता (कवितासङ्ग्रह,२०६०), सङ्कटकाल (हाइकुसङ्ग्रह,२०६२),सुस्केरा (संयुक्त साहित्यसङ्ग्रह,२०६३), दहीचिउरे (हाइकुसङ्ग्रह,२०६६), छायाको चित्र (प्रश्नोत्तरी,२०७२ ), पुरानो काग (हाइकुसङ्ग्रह,२०७७), लिम्पियाधुरा (हाइकुसङ्ग्रह,२०७७), कट्टु (व्यङ्ग्य निबन्धसङ्ग्रह,२०७७),

यसैगरी उनका नाटकहरू यसप्रकार छन्ः धुम्रपान २०४४, गरिबको पनि पालो आउँछ २०४७, गरिबको आँसु २०४७, रगत २०४८, हत्या २०४९, षडयन्त्रको हुरी २०४९, नाता २०५० ।

 मुखास्त्रभित्रका अस्त्रहरूः

मुखास्त्र संयुक्त व्यङ्ग्य निबन्धसङ्ग्रहभित्रका अस्त्रहरूका बारेमा सङ्क्षिप्त अनि समीक्षात्मक चर्चा गरिएको छ । यस सङ्ग्रहमा प्रदेश नं. १ का निबन्धकारहरूका तेत्तिसवटा निबन्धात्मक अस्त्रहरू रहेका छन् जसको चर्चा यसरी गरिन्छ ।

अस्त्र नं. १ (नियति)

नियति निबन्धका लेखक अनिल पौडेल, उनको यस निबन्धमा राजनीति जस्तो हुनुपर्ने त्यस्तो नभएर राजनीतिमा देखिएका विकृतिहरूलाई केलाउँदै व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २ (सङ्क्षिप्त नामको कमाल)

सङ्क्षिप्त नामको कमाल निबन्धका लेखक आचार्य अ., उनको यस निबन्धमा गोप.विनि.त्रिवि.जस्ता अनेक सङ्क्षिप्त लेखनविषयमा चर्चा गर्दै विद्यालय, क्याम्पसहरूमा विद्यार्थीले शिक्षकको नाम राख्ने विषयमा विस्तृत चर्चा गर्दै विकृत मानसिकताका विद्यार्थीप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ३ (मुखास्त्र)

मुखास्त्र निबन्धका लेखक ईरान राई, उनको यस निबन्धमा कुरौटे चतुर राजनीति गर्ने व्यक्ति वा विपक्षीहरूका विकृत राजनीतिको तथा फोहोरी खेलप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ४ (सुरा र सुन्दरीको चमत्कार)

सुरा र सुन्दरीको चमत्कार निबन्धका लेखक केशव सुनाम, उनको यस निबन्धमा सुरा र सुन्दरीको चमत्कारलाई विषय बनाई यसको प्रारम्भ पौराणिक कथा समुद्रमन्थनमा मोहनीले सुरा पिलाएको कुराबाट हालसम्मको विकृत अवस्थालाई व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ५ (दुर्वासै दुर्वासा)

दुर्वासै दुर्वासा निबन्धका लेखक चेतनाथ धमला, उनको यस निबन्धमा समाजमा रहेका व्यक्तिका खराब चरित्रप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ६ (जो चोर उसकै ठूलो स्वर)

जो चोर उसकै ठूलो स्वर निबन्धका लेखक डम्बर बिकेल, उनको यस निबन्धमा साहित्यको क्षेत्रमा वा अन्य क्षेत्रमा पनि अवार्ड पाउने व्यक्तिको कुव्यक्तित्वप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ७ (बा–हुन)

बा–हुन निबन्धका लेखक डिबी किराँती, उनको यस निबन्धमा जातीय विभेदप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ८ (मुखौटा)

मुखौटा निबन्धका लेखक तारा ब. बुढाथोकी, उनको यस निबन्धमा मान्छेदेखि हरेक पशु वा वस्तुका मुखौटाको चर्चा गर्दै अनेक उखान टुक्काको प्रगोग गरी व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ९ (हजुरकै जय होस्)

हजुरकै जय होस् निबन्धकी लेखिका तिला लेकाली, उनको यस निबन्धमा कुनै व्यक्तिविशेषको गुणगान गर्ने र कमजोरी दर्शाउने क्रममा अनेक उदाहरण दिएर बिनापैसा काम नगर्ने व्यक्तिप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १० (बडीआमाले दिनुभएको भैलिनी दक्षिणा)

बडीआमाले दिनुभएको भैलिनी दक्षिणा निबन्धका लेखक डा.तुम्बाहाङ एम.के., उनको यस निबन्धमा पहिलेको र अहिलेको दरभाउमा धेरै फरक भएको तर दानदक्षिणा दिने तरिका उही भएको भन्दै अनेक विवरण दिँदै व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ११ (जाँड पार्टी)

जाँड पार्टी निबन्धका लेखक डा.देवी दुलाल, उनको यस निबन्धमा नेताहरूको चरित्र, उनीहरूको हिजोको र आजको स्थितिमा आएको परिवर्तनप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १२ (झुटरसः राजनीतिको दसौँ रस)

झुटरसः राजनीतिको दसौँ रस निबन्धका लेखक देवी पन्थी, उनको यस निबन्धमा संस्कृत साहित्यमा नौरस, आयुर्वेदमा षड्स भए पनि अहिले झुट चाहिँ दसौँ रसको रूपमा देखिएको छ भनी राजनीतिप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १३ (मलामी)

मलामी निबन्धका लेखक नारायणभक्त राई, उनको यस निबन्धमा वर्तमान समयमा सामाजिक अवस्था यस्तो भयावह भयो कि कोही व्यक्ति मर्दा मलामी जुटाउन धौ धौ पर्छ, मानिसमा संवेदनशीलता हराएको छ, यसमा कोही आफूलाई ठूलो ठानेर क्रियाकलाप गरेका हुन्छन् भन्ने सन्दर्भ ल्याएर समाजमा परेको प्रभावलाई व्यक्तिको कर्म अनरूप व्याख्या गरिएको छ अर्थात् कोही मलामी थुपार्न समाजसेवा, राजनीति, धर्मकर्म गर्ने गरेको कार्यप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १४ (खोजी खाने,खोसी खाने र खोस्री खाने)

खोजी खाने,खोसी खाने र खोस्री खाने निबन्धका लेखक पुण्य कार्की, उनको यस निबन्धमा मानिस संसारमा तीन किसिमका हुने तर वामदृष्टिले दुई, धर्मभीरूले दुईवर्गमा विभाजन गरे पनि निबन्धकारले भने तीन वर्गमा विभाजन गरेका छन् र खोस्री खानेको जमात धेरै भएको र खोसी खाने प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १५ (झण्डा)

झण्डा निबन्धका लेखक प्रेम ओझा, उनको यस निबन्धमा राजनीतिमा परिवर्तन भएपछि झण्डाको कुराले धेरैलाई ग्रस्त गरेको थियो राजनीतिक पण्डाहरूलाई । समाजमा खलबल अत्यधिक रहेकाले उक्त विषयप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १६ (मोफसलः नो फसल)

मोफसलः नो फसल निबन्धका लेखक प्रा.डा. बद्रीविशाल पोख्रेल, उनको यस निबन्धमा गाउँ र सहरको भिन्नता स्वयम् व्यक्तिविशेषको उपज हो भनिएको छ । व्यक्तिको गाउँ र सहर बिचको असमानता देख्ने दृष्टिप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १७ (भुँडी र प्रतिष्ठानहरू)

भुँडी र प्रतिष्ठानहरू निबन्धका लेखक बाँस्कोटा धनञ्जय, उनको यस निबन्धमा विभिन्न प्रतिष्ठानहरूका विभिन्न सदस्यहरू मिलाएर राष्ट्रिय भुँडी आन्दोलन कमिटी निर्माण गरेको सन्दर्भ ल्याएर सामाजिक कुरीतिको पर्दाफास गर्दै व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १८ (नजान्ने डाक्टरको जान्ने बिरामी)

नजान्ने डाक्टरको जान्ने बिरामी निबन्धका लेखक बोधराज पौडेल, उनको यस निबन्धमा स्वास्थ्य क्षेत्रमा हुने गरेका विकृतिलाई केलाउँदै डाक्टरभन्दा बिरामी बढी जान्ने हुने सन्दर्भ ल्याई उक्त प्रवृतिप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. १९ (सञ्जाल)

सञ्जाल निबन्धका लेखक डा. भीम खतिवडा, उनको यस निबन्धमा अहिलेको मोबाइल आतङ्कले समाज ग्रस्त भएको र मानिसले आफूलाई नै हराएको अवस्थाप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २० (ब्रह्माजीको बेइमानी)

ब्रह्माजीको बेइमानी निबन्धका लेखक डा.माधव पोखरेल ‘गोज्याङ्ग्रे’, उनको यस निबन्धमा ब्रह्माको सृष्टि क्रियाकलापलाई विषय बनाई मानिसले नै सबै गर्ने हो, निर्माण गर्नेले सम्हाल्न पनि सक्नुपर्छ भन्दै कोरोनाको विषयलाई उठान गरी व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २१ (एकतारे वाद)

एकतारे वाद निबन्धकी लेखिका मिश्र वैजयन्ती, उनको यस निबन्धमा समाजमा पल्किएका अनेक किसिमका वादको चर्चा गर्दै रमिते बनेको अवस्थालाई व्यक्त गरी कामभन्दा पनि कुनै न कुनै वादमा लाग्ने प्रवृति रहेकाले कसैले कसैका कुरा नसुन्ने वाद हावी भएको स्थितिलाई दर्साई व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २२ (भरिया महीमा )

भरिया महीमा निबन्धका लेखक मुकुन्द प्रयास, उनको यस निबन्धमा मानिसले भरिया जहाँ पनि हुनुपरेको छ । एउटै शरीरका अङ्गप्रत्यङ्ग त भरिया भएका छन् भने कुनै पनि अवस्थामा भरिया हुनबाट बच्न सकिन्न भन्ने दृष्टिकोण राखी व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २३ (झिँगो)

झिँगो निबन्धका लेखक डा. रमेश घिमिरे, उनको यस निबन्धमा झिँगोलाई प्रतीक बनाई समाजमा भएका विकृत सन्दर्भहरू र फोहोरीपनका साथै अनेकार्थक शब्दबाट व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २४ (फेसन)

फेसन निबन्धका लेखक रमेश भट्टराई ‘सहृदयी’, उनको यस निबन्धमा गाउँबाट सहर पसेपछि देखिएका चाटाचाट र काटाकाटका दृश्यहरूको सन्दर्भमा अनेक फेसनले भित्र्याएको विसङ्गतिलाई उठाएर व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २५ (चाहना आदर्श समाजको)

चाहना आदर्श समाजको निबन्धका लेखक राममणि पोखरेल, उनको यस निबन्धमा देशमा केही होला भन्ने आश हराएका मानिसहरूले भित्र्याएकाे आर्जनले सत्तामा बसेर मोज गरेका व्यक्ति र सरकारप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २६ (गन्थन)

गन्थन निबन्धकी लेखिका रेखा सुवेदी, उनको यस निबन्धमा कतिपय मानिसले अनावश्यक रूपमा गन्थन गरेर अरूको र आफ्नो पनि महत्त्वपूर्ण समय बर्बाद गरिरहेका हुन्छन् जसको कारणले समाजमा विकृति र विसङ्गति बढिरहेका छन् । मानिसका उक्त प्रवृतिप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २७ (महादेवको परी–पत्र)

महादेवको परी–पत्र निबन्धका लेखक लालकुमार श्रेष्ठ, उनको यस निबन्धमा आकाश पातालको कुरा गरेर पृथ्वीमा भएका विकासका यन्त्र जोड्दै नेताका काम नलाग्ने भाषण, समाजमा भएको विकृत अवस्थालाई देखाएर व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २८ (लावण्य देशका पाँच पहाडेबाहुनको कथा)

लावण्य देशका पाँच पहाडेबाहुनको कथा निबन्धका लेखक डा. विज्ञान भिक्षु, उनको यस निबन्धमा नयाँ किसिमबाट विषयवस्तुको सङ्केत गरी स्वस्थानीको लावण्यदेशको कुरा उठाएर युधिष्ठिरादि पाँच पाण्डवको प्रतीकात्मकतामा अनेकन कथाहरू जोड्दै विस्तृतीकरण गरी वर्तमान समयको नेपालको यथार्थलाई देखाई व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. २९ (मूर्ख वाणी)

मूर्ख वाणी निबन्धका लेखक सरण राई, उनको यस निबन्धमा संसारमा कोही सर्वज्ञानी हुँदैनन् भन्दै सत्ताइसवटा मूर्ख वाणीहरू समाविष्ट गरी व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ३० (चिन्ता भो हजुर)

चिन्ता भो हजुर निबन्धकी लेखिका सरस्वती दुमी राई, उनको यस निबन्धमा विभिन्न पाश्चात्य विद्वानहरूको चर्चा गर्दै पुस्तकको महिमा बताउँदै अब जन्मदिनको अवसरमा पुस्तक उपहार दिने बानी बसाल्नुपर्ने र पुस्तक नपढ्नेहरूप्रति व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ३१ (राजनीतिमा लागौँ, साथीहो ! नेता बनौँ !)

राजनीतिमा लागौँ, साथी हो ! नेता बनौँ ! निबन्धका लेखक हर्कमान तामाङ, उनको यस निबन्धको शीर्षक नै राजनीतिसँग सम्बन्धित छ । जागिरको कुरा धेरै गरिएको भए पनि जागिर पाउन मुस्किल पर्यो भने नेता बनौँ भनी व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ३२ (पैसा)

पैसा निबन्धका लेखक हरि कट्टेल, उनको यस निबन्धमा समाज पैसामा निहित छ, यसले सबैलाई गाँजेको सन्दर्भलाई लिएर जे पनि यहाँ पैसाका लागि भएको छ भनी व्यङ्ग्य गरिएको छ ।

अस्त्र नं. ३३ ( नामको तामझाम)

नामको तामझाम निबन्धका लेखक हेमसागर पोखरेल, उनको यस निबन्धमा मानिसले नामलाई महत्त्व दिएको छ, यसमा सारा अस्तित्व रहेको कुरा गरिएको छ र अन्त्यमा भनिएको छ नामको तामझामले सस्तो लोकप्रियता नफैल्याओस्, अस्तित्ववादका सिँगौरीमा अपजसका तिरले नघोचोस् । नाम क्षणिक माखेसाङ्लो होइन बरू सम्मानित र हार्दिक पुकारको मिठासपूर्ण शब्द सङ्केत हो । कुनै पनि नाम फोस्रो रवाफको बाधकभन्दा सार्थक अभ्यासको साधक बनोस्, हार्दिक शुभनाम । यहाँ नामको तामझाम गर्नेहरूप्रति व्यङ्ग्य गरिएको छ ।

मुखास्त्रभित्रका अस्त्रहरूका केही सन्दर्भः

मुखास्त्रभित्रका अस्त्रहरूले समाजका यथार्थहरूलाई औँल्याएका छन् । समाजका सबै क्षेत्रहरू जस्तैः राजनीति, धार्मिक,सांस्कृतिक अनि शैक्षिक आदि सबै क्षेत्रको अवस्था बिग्रिएको छ । मान्छेको स्वभावमा संवेदनशीलता नभएको, आफ्नो धर्म,कर्म के हो आफैँले बिर्सदै गएको तथा समाजका विकृति र विसङ्गतिप्रति प्रहार गरिएको छ । प्रत्येक अस्त्रहरूले पाठकहरूलाई बढीभन्दा बढी खुराक पस्केका छन् । नेपाल देशको राजनीतिले आफ्नो मार्ग पहिल्याउन नसकी बाटो बिराएर हरक्षेत्र दुषित बनेको यथार्थ चित्रण गरिएको छ ।