१. गौरवी आत्मकथा – बाआमा

नेपाली स्वाद र शैलीको आख्यान हो । यो नितान्त हाम्रो कथा हो । हामीले भोगेको द्वन्द्वको कथा हो । नेपाली परिवेश र पात्रको सजीव चित्रण हो । नेपाली मौलिकता र मनको कथा हो । हरेक कथाहरूमा पाठकहरूले आफैँलाई पाउने कथाको पुस्तक हो – “बाआमा” ।

यसका हरेक कथाहरूमा आफैँलाई खोज्नुपर्छ । आफैँलाई भोग्नुपर्छ र आफैँलाई समाल्नुपर्छ । यो हजारौं कर्मशील युवाहरूको नलेखिएको कथा हो । नभनिएको व्यथा हो र लेखकहरूसँग छलिएको विषय हो ।

पुस्तकको आमुखमा भनिएझैं – “बाबा विश्वासका देवता, आमा यथार्थकी देवी ! विश्वासभन्दा ठूलो कुनै अर्को भगवान् छैन, कुनै अर्को पूजा छैन । यथार्थभन्दा पर कुनै लोक छैन, कुनै अर्को दुनियाँ छैन” साँच्चै कति सुन्दर छ यो आमुखोद् गार ! यसैबाट पुष्टि हुन्छ एक पात्रको बाआमाप्रतिको अगाध श्रद्धा र सम्मान ।

आफ्नो सन्ततिप्रति भरोसा राख्ने बाआमाको गौरवी आत्मकथा हो र आफ्ना जन्मदाताप्रति श्रद्धाभाव व्यक्त गर्ने लाखौं छोराछोरीको नबुनिएको कथा हो यो । यो एक फरक स्वाद र शैलीमा लेखिएको हाम्रो सामाजिक ब्लुज हो । यथार्थ र साझा कैरन हो । पुस्तकको हरेक पन्ना-पन्नामा हाम्रै समाज मगमगाउँछ । अनि हाम्रै गाउँ-घरको सौन्दर्य बास्ना आउँछ ।

आफ्नो थातथलोमा श्रीमानको सुगन्ध सुगेर बस्ने आमाहरूको कथा हो । यसभित्र बाबाको जीवन सङ्घर्षको कथा बुनिएको छ । आमाको अप्रतिम प्रेम र सौन्दर्य उजागर भएको छ ।

घरमा बा-आमा हुनु भनेको ईश्वरको उपस्थिति हुनु हो । बा-आमा पढ्दाको आनन्द साँच्चै विशिष्ट रह्यो ।

***

२.’सोकेसको ऎना’भित्रका – पोटिला निबन्धहरू

बोधराज पौडेल कविता र निबन्धसँग जोडिएको सुपरिचित नाम हो । उहाँको अर्को परिचय पत्रकारितामा पनि छ । पत्रकारिता उहाँको जीविकोपार्जनको साधन हो भने- कविता र निबन्ध हृदयको साधना ।

केही दिनअघि बोधराजजीसँग सम्पर्क भएको थियोे । त्यो सम्पर्क भेटमा रुपान्तरण भयो । चियाको चुस्कीसँगै हामीले एक अर्कालाई गहिरोसँग चिन्ने अवसर पायौं । बागबजारको एउटा कुइनेटाेमा बसेर हामीले चिया पियौं ।

हरेक मानिससँग एउटा विशिष्ट खुबी हुन्छ । दुर्भाग्य धेरै मानिसहरूले आफ्नो विशिष्टता चिन्नै सक्दैनन् । म बोधराजजीलाई हेरेर अनुमान गर्दै थिएँ – ‘आफ्नो खुबी चिनेका मान्छे ।’ मानिसले नजानेको केही छैन । नबुझेको केही छैन । संसार जान्दछ मानिस । संसार बुझ्दछ मानिस । संसारलाई सिकाउँछ / संसारलाई बुझाउँछ तर आफैँलाई चिन्न सक्दैन मानिस ।

बोधराजजीमा मैले त्यो ठीक उल्टो पाएँ । उहाँले आफूभित्रको विशिष्टता चिन्नु भएको छ । आफूलाई चिन्नु भएको छ । बुझ्नु भएको छ । उहाँसँग रहँदा मैले गहिरोसँग त्यस्तो अनुभूति गरेँ । सुन्दर कविताको सर्जक । गहिरो सौन्दर्य र दर्शन बोकेका निबन्धहरू हेर्दा लाग्छ उहाँ लेख्नकै लागि जन्म्मिएको सरस्वतीका वरद पुत्र हुनुहुन्छ ।

हिँड्ने बेलामा हामीले पुस्तक अदान-प्रदान गर्यौं । उहाँले मलाई ‘सोकेसको ऎना’ दिनुभयो । मैले ‘सन्दिग्ध शताब्दी’ दिएँ । हामी एक अर्काको निजात्मक अनुभूतिका अक्षरहरू बोकेर फर्कियाैँ ।

यतिबेला मेरो हातमा बोधराज पौडेलको ‘सोकेसको ऎना’ छ । यसभित्रका हरेक निबन्धहरूले मन तानिरहेको छ । समकालीन निबन्ध विधाका शक्तिशाली निबन्धकार बोधराज पौडेल राजधानी बसेर समयको आवाज बुलन्द गर्ने वैचारिक निबन्धकार र कवि हुन् ।

अभिव्यक्ति कौशलता अनि शिल्प र शैलीका हिसाबले पौडेलका निबन्धहरू हृदयस्पर्शी मात्रै नभएर मर्मस्पर्शी र मस्तिष्कस्पर्शी पनि छन् । उहाँका हरेक निबन्धले समाजको गहन विषय उठाउँछ्न् । निबन्धलाई अनिर्बन्ध बनाउँदै अनेकानेक सन्दर्भ उधिन्न थाल्छ । उहाँका निबन्धलाई एउटा अदृश्य रसायनले जोड्दै जान्छ र अन्त्यमा निक्कै कलात्मक सौन्दर्यले पाठकीय मस्तिष्कमा गहिरो कम्पन दिन पुग्छ । उहाँका निबन्धमा मानवीय संवेदना, असन्तोष, विद्रोहको मौन उछ्वास, अस्तित्वबोध र कथित सभ्यता विरुद्धको प्रतिबिम्बन प्रकटीकरण गहिरोसँग भएको पाइन्छ ।

कविता र निबन्ध कर्ममा निरन्तर लागिरहेका बोधराज पौडेलको ‘सोकेसको ऎना’ निबन्धसङ्ग्रहले हामीले भोगेको युगीन यथार्थलाई निक्कै मसिनोसँग अनुभूति गरिरहेको पाइन्छ । सङ्ग्रहभित्र समेटिएका बत्तीस निबन्धहरूको भाषामा बलियो पकड मात्रै छैन । उत्तिकै मिठास र सौन्दर्य छ । विचारमा वैविध्यता छ र दर्शनका स्वादले निक्कै खँदिला अनि पोटिला लाग्छन् उहाँका निबन्धहरू ।

कृतिभित्रका हरेक निबन्धले पाठकको मस्तिष्कमा शाश्वत तस्बिर मात्रै खिच्दैनन्, हृदयमा मीठो बास्ना पनि छोडेर जान्छन् । त्यो नै बोधराज पौडेलकृत निबन्धकारिताको सौन्दर्य र निजत्व हो ।

***

३. कथामा नवीन स्वाद : उठ तिलोत्तमा

शशी थापा पण्डित समकालीन पुस्ताकी शक्तिशाली कवि हुन् । उनका कवितासँग म निक्कै मोहित र द्रवीभूत छु । कवितामा उत्तरोत्तर सम्भावना रहेकी पण्डितको साहित्यको आयाम अनन्त लागिरहेको छ ।

कविता पढिरहेकाे एउटा स्रष्टाकाे लेखन अर्को बिधामा पनि उत्तिकै बेजोड हुनु अपवाद नै हो । म अहिले उनको पछिल्लो पुस्तक, ‘उठ तिलोत्तमा’ कथासङ्ग्रह पढिरहेकाे छु । उनका कथाको शिल्पले तानिरहेको छ मलाई । उनी आफ्ना कथाका पात्रहरूमा निक्कै सचेत भएर पोखिएकी छिन् ।

निक्कै कुतूहलपूर्ण सामाजिक कथाहरूले भरिएको यो संग्रहमा हामीले भोगेको समयका चित्र र चरित्रहरू छन् । कतै प्रेममा चुर्लुम्म डुब्न सकिन्छ । कतै अप्रिय चीत्कार बोकेका पात्रहरूसँग आफ्नो दु:ख बिसाउन सकिन्छ । कतै इतिहासका नमीठो द्वन्द्व सम्झिएर झसङ्ग होइन्छ । कतै स्वैर-कल्पनाको मनमौजी उडानमा मस्त उडान भर्न सकिन्छ ।

उठ तिलोत्तमाभित्रका हरेक कथाहरूमा नवीन स्वाद छ, पृथक शैली छ र अनन्त आयाम छ । उनका हरेक कथाका पात्रहरूसँग आफूलाई भेट्टाउन सकिन्छ । समाजको यथार्थ बुझ्न सकिन्छ । युगको मीठो-नमीठो परिस्थिति बुझ्न सकिन्छ । हरेक कथा आ-आफ्नै आयामले अर्थपूर्ण र मर्मस्पर्शी छन् । यथार्थ भन्ने हो भने उनका कथाहरूको पाठक बन्नुमा साँच्चिकै मज्जा आउने रहेछ ।

पण्डितको कथा उप्काउने शैली उम्दा छ । भाषा सरल र कलात्मक छ । भावका हिसाबले पनि उत्कृष्ट छन् कथाहरू । कथाको शिल्पले नयाँ क्षितिज उघारेको छ । बन्दुक चलाउन मात्रै होइन, साहित्य सिर्जना गर्न पनि हिम्मत चाहिन्छ । उनको लेखनमा सामाजिक विसङ्गति र कुसंस्कार जरैदेखि उधिन्न सक्ने हिम्मत छ । समकालीन कथाकारको यो हिम्मतलाई एउटा पाठको तर्फबाट सतत सलाम ।

***

४.फरक परिवेशको कथासङ्ग्रह – ग्याब्रियले

केही दिनदेखि मेरो हातमा छ – एउटा कथासङ्ग्रह । म यसभित्रका कथाहरूमा तानिएको छु । म बजारमा आएका धेरै किताबहरू पढ्दिनँ । पढ्ने सम्भावना पनि हुन्न । नितान्त थोरै किताब मात्रै पढ्छु । जो मनदेखि पढूँ-पढूँ हाेऊन् । पढ्दा मन तानोस् । मस्तिष्क रुझाओस् अनि लामो समयसम्म पुस्तकले मस्तिष्कमा डेरा जमाओस् ।

कथाकार विश्वेश्वरप्रसाद कोइरालाको मदेशतिर कथाकी पात्र ‘विधवा’ र हरिश कल्पितको ग्याब्रियले कथाभित्रकी पात्र ‘मिका’लाई म सम्झिरहेको छु । कोइरालाको ‘विधवा’पात्रमा घरजम र प्रेमकी अनन्त भोकी पात्र हुन् भने कल्पितको ‘मिका’ घरजम भत्काएर, प्रेमले अघाएकी फुक्काफाल पात्र हुन् । सायद यी दुबै पात्र मेरो मस्तिष्कमा अनेकौं कथा-उपकथा बनाएर बसिरहने प्रतिनिधि पात्र हुन् । यस्ता पात्रहरू मनमा धेरै छन् ।

– मेरो मनमा सधैं एउटा प्रश्नले हिर्काइरहन्छ – के कथासँगै कथाका पात्रहरूको पनि आयु सकिन्छ त ? पाठक भएर सोच्दा त्यो सम्भावना छैन । हरेक पाठकका मस्तिष्कमा आफूले पढेका कैयौं पात्रहरू जीवित छन् / हुन्छन् ।

मैले उहाँको पछिल्लो कथासङ्ग्रह ‘ग्याब्रियले’ पढेँ । निक्कै सुन्दर कथासङ्ग्रह लाग्यो मलाई । कथाका पात्रहरू जीवन्त छन् । लेखनको शैली मीठो छ । उहाँका केही फुटकर कथाहरू पढेको थिएँ । ती कथाहरूले मेरो मस्तिष्कमा निक्कै प्रभाव जमाएर बसेका थिए । सङ्ग्रहका रूपमा भने ‘ग्याब्रियले’ नै हो । उहाँको कथा लेखन शैली अब्बल लाग्यो । हरेक कथाहरूभित्रको संसार सुन्दर लाग्छन् । परिवेशको जीवन्त चित्रण छ । पात्रहरूको प्रस्तुति यथार्थ छन् । कथाको बुनोट निक्कै कसिलो र परिपक्व छन् ! हरेक कथाको भाव निक्कै फाँटिला र खँदिला छन् ।

– तेह्र कथाहरूको अनुक्रम रहेको ग्याब्रियले कथासङ्ग्रहभित्रको पहिलो कथा हो – ‘मोहभङ्ग’ । समाजको मनोविज्ञान र सामाजिक चित्र प्रष्ट देखिने यो कथामा एउटा शान्त र सभ्य परिवारमा एउटा खराब पात्रको उपस्थितिले परिवारको सभ्यता कसरी खलबलिन पुग्छ भन्ने कुरा सुन्दर ढंगले देखाइएको छ । यो हामीले भोगिरहेको समाजको एउटा पेचिलो प्रतिबिम्ब हो ।

अहिले मैले पढिरहेकाे निक्कै सुन्दर कथासङ्ग्रहको नाम हो – “ग्याब्रियले” । यो कथासङ्ग्रहमा कथाको बुनौट निक्कै मिहिन छ । पात्रहरूको विविधता छ र शैली पक्ष निक्कै कलात्मक छ ।

 

***

५. समाज चिहाउने आँखीझ्याल – मध्यान्तर

पछिल्लो समयमा कविताले सम्मोहित गरिरहेको पुस्तक हो – “मध्यान्तर” । निक्कै सशक्त भावमार्फत कवि सुष्मा दाहाल कवितामा पोखिएकी छन् ।

मध्यान्तर कवितासङ्ग्रह कविको पुस्तकाकारका रूपमा पहिलो पुस्तक भए पनि सघन काव्यभाव भएको ओजनदार कवितासङ्ग्रह लाग्यो । जीवनका अनेकौं अनुभूतिहरूको सुन्दर प्रस्तुति, मौलिक शैली, कविको निजत्व सहित फरक स्वादका कविता पढ्दा मध्यान्तर यो पहिलो काव्यसङ्ग्रह पढ्दैछु भन्ने कहीँ-कतै अनुभूति हुँदैन ।

कवितामा मौलिकता पनि विशिष्ट हुन्छ । हरेक कविहरूका कवितामा आफ्नै शिल्प, शैली र आफ्नै बास्ना हुन्छ । जब कविताको भीडमा कविताको पृथक स्वाद आउँछ । पृथक लय आउँछ त्यो कविता औसत कविताहरूभन्दा उत्कृष्ट हुन्छ । जो सुष्मा दाहालको काव्यात्मक खुबी हो भन्दा अत्योक्ति नहोला । समकालीन कवितामा उनको यो उपस्थितिले पक्कै महत्त्वपूर्ण ‘स्पेस’ खोज्छ, भन्ने अनुमान मात्रै होइन, मेरो दावी पनि हो ।

‘समय, ढुङ्गा र म’ कवितामा सामान्य ढुङ्गालाई ईश्वरीकरण गरिएको कल्पना मात्रै छैन । ढुङ्गालाई मानवीकरण गर्दै समयले कतिखेर कसलाई महत्त्व दिन्छ ? भन्ने कोणबाट परिवर्तनशील अस्तित्वको दर्शन उजागर गरिएको छ । ‘ऊ हराएको सूचना’ कवितामा अनेकौं अर्थहरू लगाउन सकिन्छ । कविताको शक्ति बहुल अर्थ दिनु पनि हो । कविले सोचेको अर्थहरूभन्दा पनि पर कल्पना गर्न पाठक स्वतन्त्र छ यो कवितामा । यी त उदाहरण मात्रै हुन् । यसरी हेर्दा कविले आफ्ना थुप्रै कविताहरूमा पाठकीय चिन्तन र दृष्टिकोण राख्ने ठाँउ खुल्ला गरिदिएको पाइन्छ ।

कवि सुष्मा दाहालले सामाजिक भोगाइलाई नै नयाँ कलेवरमा कविताको रङ्ग दिएकी छिन् । कविले भोगेका दु:ख-सुख, सामाजिक चेतना र आफ्नो मस्तिष्कमा उम्लिएका भावहरूलाई कविताको विषय बनाएकी छिन् । कवितामा दाहालको आशा लाग्दो र रहरलाग्दो उपस्तिथिले नेपाली कविताको फलक अझै फराकिलो बनाउने प्रसस्त सम्भावना बोकेको छ । कवि सुष्मा दाहाललाई हार्दिक बधाई तथा आगामी काव्ययात्राका लागि शुभकामना ।