समाजका लाटा–सोझा जनता अगाडि बढेमा आफ्नो बर्चस्व तथा हैकममा चोट पुग्छ भन्ने साँघुरो सोच राखेका कारण एकलव्यले द्रोणलाई जिउँदो मुर्दाको संज्ञा दिएको छ ।
लेखसारः
राज्यसत्ताको मूल धारभन्दा बाहिर रहेका वर्ग, समूह, व्यक्तिका दिनचर्यालाई विषय बनाएर लेखिएको साहित्य सीमान्तकृत-सबाल्टर्न साहित्य हो । समाजको विकासमा सीमान्तकृतहरूले खेलेका भूमिकालाई प्रकाशमा ल्याउनुपर्छ; उनीहरूको पहिचान, प्रतिनिधित्व र आवाजको खोजी साहित्यका माध्यमबाट गरिनुपर्छ भन्ने अभिप्रायसँगै नेपालमा पनि सबाल्टर्न साहित्यको सिर्जना हुन थालेको छ । रविलाल अधिकारीको ‘एकलव्य’ (२०३५) सबाल्टर्न चेतनामा आधारित लघुकाव्य हो ।
यस काव्यले उत्पीडित दलितहरूले आफ्नो शैक्षिक अधिकारका लागि विद्रोह गर्नुपर्ने आवाज उठाएको छ । आचार्य द्रोणले राजकुमारहरूलाई मात्र शिक्षा दिन्थे, तल्लो जातका मानिसलाई शिक्षा दिनु अपराध ठान्दथे । उनले दलित भएकै कारण एकलव्यलाई शिक्षा दिन मानेनन्, हप्काएर पठाए । काव्यमार्फत् अधिकारीले द्रोणाचार्यजस्ता गुरुको अर्थात् ब्राह्मणवादको विरोध गर्दै दलितहरूको पहिचान तथा अस्तित्वको खोजी गरेका छन् । काव्यमा एकलव्यले अर्जुनजस्ता सम्पन्न घरानाका बालकहरूले सहजै शिक्षार्जन गर्न पाउने तर भिल्ल जातिका गरिब बालकहरूले शिक्षा लिन नपाउने तत्कालीन परिपाटीको विरोध गरेको छ ।
कथित तल्लो जातिको पात्र एकलव्यको प्रतिरोधी चेतनाको विश्लेषण गर्नु लेखको उद्देश्य रहेको छ । लेखमा सीमान्तीय चिन्तनका आधारमा साक्ष्यहरूसहित दलित पात्र एकलव्यको प्रतिरोधी चेतनाको विश्लेषण गरिएको छ । काव्यलाई दलित जातिले शिक्षार्जनका लागि प्रतिरोधी क्रान्तिको खोजी गरिएको सीमान्तीय चेतयुक्त काव्य हो भनेर निष्कर्ष निकालिएको छ ।
मुख्य पद
सीमान्तकृत-सबाल्टर्न, ब्राह्मणवाद, उत्पीडन, प्रतिरोधी चेतना, आर्य–अनार्य ।
विषयपरिचयः
‘एकलव्य’ (२०३५) रविलाल अधिकारी (२००७) द्वारा रचित लघुकाव्य हो । अधिकारीले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । यिनका हालसम्म कविता–काव्य, निबन्ध, समालोचना लगायतका विधामा लगभग दुई दर्जन कृतिहरू प्रकाशित छन् । ‘बुकीफूल’ कविता सङ्ग्रह (२०३१), ‘एकलव्य’ पौराणिक लघुकाव्य (२०३५), ‘परदेशीलाई पत्र’ पत्रात्मक कविता सँगालो (२०४१), ‘आँसुको अँजुली’ शोककाव्य (२०४१), ‘हर्के’ ऐतिहासिक लघुकाव्य (२०४६) यिनका कविता–काव्यहरू हुन् ।
सबाल्टर्नमा दलित, आवाजविहीन, सीमान्तकृत तथा उत्पीडित वर्ग पर्दछ । यो शासन गर्ने वा हैकम चलाउने वर्ग नभई सधैँ अधीनस्थ र पराधीन हुन्छ । सबाल्टर्न अरुका निम्ति माध्यम बन्छ, यो शासकको प्रयोगको वस्तु पनि बन्न सक्छ । सीमान्तकृतका आवाज, दिनचर्या एवम् उत्पीडन नै सबाल्टर्न साहित्यको विषय हुन्छ । सबाल्टर्नको सम्बन्ध सांस्कृतिक अध्ययन तथा उत्तरऔपनिवेशवादसँग गाँसिएको छ ।
यसले साहित्य माथिबाट होइन तलबाट अर्थात् तल्लो वर्गबाट लेखिनु पर्ने मान्यता राख्छ । यसमा सीमान्त वर्गको पहिचान, प्रतिनिधित्व र आवाजको खोजी गरिन्छ । यसले सीमान्त वर्ग वा समूहका राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक अवस्थाको अध्ययन गर्छ । सत्ता, शक्ति र प्रभुता (हेजेमोनी) हत्याएर अवरजनका लागि दमनकारी एवम् विभेदकारी शक्ति भइदिने सम्भ्रान्त वा माथिल्ला वर्गका कैरनको पनि यसले अध्ययन गर्छ ।
सीमान्त विकास मञ्च (सबाल्टर्न फोरम, सन् २००५) का अनुसार सीमान्तीकृत केन्द्रको सुविधा तथा विशेषाधिकारबाट बहिष्कृत र उपेक्षित हुन्छ (शर्मा, २०७०, पृ.३१९) । सबाल्टर्न अध्ययनमा सीमान्तकृतहरूका सामर्थ्य र सम्भावनाको खोजी गरिन्छ । सीमान्तकृतहरू सङ्गठित हुन नसक्नु र भए पनि उनीहरूका आवाज सम्बन्धित पक्षले नसुन्नु जस्ता सीमान्तकृतले भोगेका समस्याको समेत सबाल्टर्नमा अध्ययन गरिन्छ ।
प्रस्तुत ‘एकलव्य’ पौराणिक लघुकाव्यमा शार्दूलविक्रीडित छन्दका जम्मा ११५ श्लोक छन् । यसमा ‘प्रत्यागमन’, ‘साधना’ र ‘विरोध’ गरी तीन खण्ड रहेका छन् । “यस लघुकाव्यको विषयवस्तु पुराणप्रसिद्ध सन्दर्भ (एकलव्य र द्रोणाचार्यको सम्बन्ध) रहेको छ । तर पूर्णतः पौराणिक आख्यान यसमा छैन” (ज्ञवाली, २०६२, पृ.१०९) ।
विषयवस्तु पुराणबाट लिइए पनि यसको विचार पक्ष नयाँ छ । “लेखकले पौराणिक कथालाई आधार बनाएर त्यसमा आफ्नै युगसापेक्ष गराई नयाँ दृष्टि प्रदान गरेका छन् । आजको युग पहिलेको युगजस्तो होइन । कतिपय पुराना मान्यताहरू भताभुङ्ग हुँदै छन्” (श्रेष्ठ, २०३५, पृ. भूमिका) । यसमा दलित, दबाइएको तथा हेपिएको पात्र एकलव्यको भूमिका प्रमुख छ । काव्यमा गुरु द्रोणले निषाद जातको एकलव्यलाई दमन गरी ज्ञानार्जनबाट बञ्चित गरेको विषय छ ।
दलितहरूमाथिको भेदभाव, नारीमाथिको अत्याचार, अनार्यप्रतिको घृणा लगायतका विषयवर्णनमा केन्द्रित भएकाले यस काव्यलाई सीमान्तीय कोणबाट अध्ययन–विश्लेषण गर्न सकिन्छ । यसमा सीमान्तकृत पात्र एकलव्य आफ्नो अधिकारप्राप्तिको लडाइँमा अगाडि बढेको छ । काव्यकारले सबैले समान रूपमा ज्ञान आर्जन गर्न पाउनुपर्छ भन्दै उत्पीडित–दलितको पक्ष लिएका छन् । दरबारीया गुरु द्रोणले निषाद जातिको एउटा बालक एकलव्यप्रति गरेको क्रूर व्यवहारको विरोध गरेका छन् ।
ब्राह्मणवादी चिन्तन बोकेका सङ्कीर्ण विचारका गुरुको विरोध गर्दै काव्यकारले एकलव्यमार्फत दलितहरूका पक्षमा आवाज उठाएका छन् । बोल्न नसक्ने दलित जातिको आवाज काव्यकारले बोलिदिएका छन् । काव्यकारले माथिबाट होइन, तलबाट इतिहासको पुनर्लेखन गरेका छन् अर्थात् दलनमा परेका पात्रको जगमा अडेर यस काव्यमा विषयको विन्यास गरेका छन् । पौराणिक घटनाप्रसङ्गको सहयोगमा सीमान्त वर्गमा आएको प्रतिरोधी चेतनाको विषयलाई विन्यास गरेका छन् ।
जातीय समानता र सामन्ती सत्ताप्रतिको विद्रोह रविलाल अधिकारीको काव्यलेखनको मुख्य वैशिष्ट्य हो । यिनी सबै जातिले समान रूपमा ज्ञान आर्जन गरेर समाज सभ्य र मानिस समृद्ध बनोस् भन्ने चाहना राख्ने कवि हुन् । काव्यमा जातीय विभेदको प्रस्तुति कुन रूपमा भएको छ र काव्यकारले सामाजिक कलङ्कका रूपमा रहेको जाति प्रथाको अन्त्य कसरी गर्न चाहेका छन् ? काव्यमा सीमान्तीय पात्रहरूलाई कसरी विद्रोही बनाइएको छ र दलित जातिलाई शिक्षा आर्जनबाट बञ्चित गराइएको अवस्था कुन रूपमा अभिव्यक्त छ भनेर अध्ययन गर्नु यस लेखको समस्या हो ।
शैक्षिक क्षेत्रमा दलितमाथि गरिएको विभेदको अन्त्यका विरुद्धमा अगाडि बढ्नका लागि एकलव्यले कस्तो ऊर्जा प्रदान गरेको छ भनेर अध्ययन गर्नुलाई यस लेखमा समस्याका रूपमा प्रस्तुत गरिएको छ ।
यस लेखमा ‘एकलव्य’ काव्यमा अभिव्यक्त शैक्षिक जगतमा गरिएको जातीय विभेद तथा उत्पीडनलाई सबाल्टर्न चेतनाको प्रतिरोधी चिन्तनका सापेक्षतामा विश्लेषण गरिएको छ । काव्यमा व्यक्त एकलव्यको विद्रोह एवम् कथित उच्च जाति भनिएका गुरुबाट लेखपढका लागि बञ्चितीकरणमा पारिएको एकलव्यको प्रतिरोधी चेतना र काव्यमा व्यक्त भएको सामन्ती चिन्तनलाई सीमान्तीय कोणबाट अध्ययन–विश्लेषण गर्नु यस लेखको उद्देश्य हो ।
काव्यमा एकलव्यमा देखिएको प्रतिरोधी चेतनाको अध्ययन–विश्लेषण गर्नुलाई नै यस लेखको मुख्य विषयवस्तु बनाइएको छ । लेखमा काव्यका सम्पूर्ण तत्वहरूका आधारमा नभई सीमान्तीय कोणबाट यस काव्यको विश्लेषण गरिएको छ । काव्यको संरचना पक्ष तथा कलाको अध्ययन–विश्लेषण गरिएको छैन । काव्यमा अभिव्यक्त दलितहरूमाथिको दमन तथा जातीय भेदभावका नाउँमा गरिने शोषण र उत्पीडित वर्गको प्रतिरोधी चेतनाको सीमान्तीय विश्लेषणमा लेखलाई सीमित गरिएको छ ।
…
विधि-सैद्धान्तिक पर्याधारः
प्रस्तुत लेखका लागि रविलाल अधिकारीद्वारा सिर्जित काव्य ‘एकलव्य’ का साथै द्वितीयक सामग्रीहरूको सहयोग लिइएको छ । विद्वान् समीक्षक-समालोचकहरूले लेखेका सन्दर्भसामग्रीहरूको अध्ययन गरेर प्राप्त तथ्य-सूचनाका आधारमा वर्णन र विश्लेषण गरिएको छ । द्वितीयक सामग्रीका रूपमा विभिन्न पत्रपत्रिका एवम् पुस्तकमा विभिन्न समयमा प्रकाशित रविलालका रचनासँग सम्बन्धित-सान्दर्भिक लेख–समालोचनाहरूको उपयोग गरिएको छ ।
समसामयिक सन्दर्भमा सबाल्टर्नका उन्नायक, विस्तारक र केन्द्रीय विचारक इटालेली नवमाक्र्सवादी एन्टोनियो ग्राम्सी (१८९१–१९३७) हुन् । ग्राम्सीले जेल बस्ने क्रममा तयार पारेको कृति प्रिजन नोटबुक्समा प्रयोग गरेको सीमित अर्थले बिसौँ शताब्दीमा संस्कृति र साहित्यको अध्ययन गर्ने सिद्धान्तका रूपमा मान्यता पायो ।
ग्राम्सीले प्रभुता वा प्रभुत्व (हेजेमोनी) का सन्दर्भबाट सबाल्टर्नलाई हेरेका छन् (शर्मा, २०७०, पृ. ३१६) । ग्राम्सीका अनुसार प्रभुता वा शक्तिको प्रयोगका दुईवटा तह (राजनीतिक समाज र नागरिक समाज)का विभिन्न अङ्ग (न्यायालय, सेना, चर्च, शैक्षिक संस्था आदि) को प्रयोग शक्तिशाली सम्भ्रान्त वर्गले गर्दछ । यस किसिमको प्रभुताको प्रयोग सबाल्टर्नले गर्न पाउँदैन, ऊ सम्भ्रान्त समूहद्वारा शासित भएको हुन्छ । समाज परिवर्तनका लागि वैकल्पिक प्रभुता अर्थात् अर्गानिक बुद्धिजीवी स्थापित गर्न सङ्गठित हुनुपर्छ भन्ने धारणा ग्राम्सीको रहेको छ ।
ग्राम्सीद्वारा स्थापित सबाल्टर्न र प्रभुत्वसम्बन्धी सिद्धान्तको प्रभाव युरोपबाट अमेरिका हुँदै क्रमशः दक्षिण एसियामा पर्यो । दक्षिण एसियामा रणजित गुहाले सबाल्टर्नहरू निर्धा–निमुखा हुन्; उनीहरूलाई बोल्न लगाउनु पर्छ भन्ने धारणा राख्छन् भने गायत्री स्पिभाकले सबाल्टर्न बोल्न सक्दैनन् भन्दै उनीहरूलाई चेतनशील बनाउने कुराप्रति विमति राख्छिन् (बराल, २०७३, पृ. १८२) । विनिर्माणवादी ज्याक डेरिडाको विनिर्माण, मिसेल फुकोको नवइतिहास जस्ता दर्शनले पनि नवकेन्द्रको स्थापना र इतिहासको पुनर्लेखनलाई जोड दिँदै सीमान्तीय अध्ययनलाई बल पुर्याएका छन् । आजभोलि सबाल्टर्नलाई उत्तर उपनिवेशवादी लेखनसित सम्बद्ध सांस्कृतिक अध्ययनका रूपमा पनि लिएको पाइन्छ ।
प्रस्तुत लेखमा काव्यकार रविलालको सङ्क्षिप्त परिचयका साथमा सीमान्तीय कोणबाट उनको ‘एकलव्य’ पौराणिक लघुकाव्यको विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारमा सबाल्टर्नसम्बन्धी स्थापित मान्यताअनुरूप यस काव्यमा अभिव्यक्त दलितले गरेको प्रतिरोधी चेतनाको विश्लेषण गरिएको छ । हिन्दूहरूको जात व्यवस्थामा दलित विद्यार्थीमाथि केकस्तो भेदभाव, शोषण र दमन हुने गरेको थियो-छ भनेर अध्ययन–विश्लेषण गर्नका लागि साहित्यसम्बन्धी सीमान्तीय अवधारणाको आधार लिइएको छ । सङ्कलित तथ्य एवम् विषयवस्तुको विश्लेषण वर्णनात्मक शैलीमा गरिएको छ, नेपाली समाजमा परम्परागत रूपमा आएको हिन्दू वर्ण व्यवस्थाका सापेक्षतामा यस काव्यको विश्लेषण गरिएको छ । व्याख्या–विश्लेषणका क्रममा विभिन्न उपशीर्षकहरूको योजना गरिएको छ ।
…
‘एकलव्य’मा अभिव्यक्त प्रतिरोधी चेतनाः
द्रोणको अहङ्कारका कारण एकलव्यमा प्रतिरोधको बिजारोपण
दलितहरू पौराणिक कालदेखि नै अपमानित जीवन जिउन बाध्य छन् । सामन्ती सत्ताले उनीहरूलाई लेखपढको अवसर दिएको पाइँदैन । गुरुहरूको सङ्कीर्ण स्वभावका कारण उनीहरू शिक्षा आर्जनको अवसरबाट बञ्चित भएका हुन् । दलित तथा तल्लो जातिलाई दमन गरेरै आफ्नो प्रभुत्व जोगाउनुपर्छ भन्ने ब्राह्मणवादी चिन्तन गुरुहरूमा देखिनु दुःखद् पक्ष हो । यस काव्यमा गुरु द्रोणाचार्य अमानवीय देखिएका छन् । उनी तल्लो जातका मानिसलाई शिक्षित तुल्याउन चाहँदैनन् । पढ्ने चाहना बोकेर आश्रममा आएको एकलव्यलाई उनले पढाउन इन्कार गर्दै तथानाम गाली गरेका छन्ः
तेरीमा … बजिया विचार नगरी आएर मेरा घर
‘विद्या सिक्छु हजूरबाट’ कसरी भन्छस् नमानी डर ?
पाजी शूद्र म देख्न सक्दिन छिटो बाटो तता निस्की जा
देखाई गुरु–भक्ति खूब वनका काला कुसुण्डा रिझा ।
(पृ. २)
बाहुनका अगाडि अरु जाति निम्न छन्, त्यसमा पनि अझ दलित त निकृष्ट नै छ भन्ने धारणा द्रोणाचार्यको छ । उनी युगौँयुगदेखि चलिआएको प्रथालाई परिवर्तन गर्ने पक्षमा छैनन् । दलितहरूमा ज्ञान आर्जन गर्न सक्ने क्षमता नै हुँदैन, ज्ञानआर्जनका लागि उनीहरूको मस्तिष्कले भ्याउँदैन । निषादहरूको जुनी नै धिक्कार छ भन्दै द्रोणले एकलव्यलाई निकै तल्लो स्तरको भाषामा गाली गरेका छन् । विद्या लिनेदिने उपल्लो जातले हो, तल्लो जातले होइन भन्दै उनले एकलव्यलाई हप्काएका छन् । उनले एकलव्यलाई ज्ञान आर्जनका लागि मसँग आउनै हुँदैनथ्यो भनेर अपमान गरेका छन्ः
भन्दामा सजिलो निकै छ म हुने यस्तो र उस्तो तर
गर्दा काम डरी पछिल्तिर परी भाग्छन् सबै काँतर
ठान्दो होस् घिऊभात झैँ छ सजिलो विद्या भनी दुश्चर !
विद्या वास्तवमा छ हेर्, तँ शठको सोचाइभन्दा पर ।
आचारी गुरुका अगिल्तिर गई चेलो भई शूद्रले
शिक्षा सिक्न हुने विचार कसरी पैदा गरिस् क्षुद्रले
देखाई अपमान मत्त मदले पल्टेर आँखा थुनी
मेरा सामु निकै बकिस् मनपरी धिक्कार तेरो जुनी !
(पृ. ३)
तल्लो जातिका निषादहरूलाई यस काव्यमा कुसुण्डाको संज्ञा दिइएको छ । चण्डाल कुसुण्डाहरूले निर्धक्कसँग आफूभन्दा ठूला जातिका गुरुसँग शिक्षा आर्जनका लागि अनुरोध गर्नु शठता हो भन्दै द्रोणले शूद्रहरूका कारण वैदिक धर्ममा विकृति फैलिएको महसुस गरेका छन् । द्रोणाचार्यका अनुसार एकलव्यले ज्ञान आर्जन गर्न चाहनु भनेको पुर्खाहरूले बसालेको थितिलाई भताभुङ्ग पार्नु हो । निषादहरू निषादकै ठाउँमा रहनुपर्छ । उनीहरूको धर्म जङ्गलकै अन्धकारमा रमाउनु हो, त्यहाँबाट बाहिर निस्कनु होइन । शिक्षा आर्जन, चेतनाको विस्तार निषादहरूको धर्मभित्र पर्दैन भन्दै द्रोण आफ्नो जातीय श्रेष्ठतामा कहीँकतैबाट घात नपुगोस् भन्ने चाहन्छन् । उनी निषादहरू जन्मनुको कुनै अर्थ छैन, उनीहरूको कुनै मूल्य तथा अस्तित्व नै छैन भन्छन्ः
हे धर्ती ! कुल–धर्मघातक महाचण्डाललाई किन ?
जन्मायौ यिनको महत्व जगमा मैले कुनै देखिन ।
(पृ. ५)
द्रोणका यिनै कटु वचननका कारण एकलव्यमा प्रतिरोधको बिजारोपण भएको छ । गुरु द्रोणको अहङ्कारले नै उसमा विद्रोहको भावना उब्जेको हो । यसबाट स्पष्ट हुन्छ कि एकलव्यलाई सङ्घर्षका साथ साधनामा लागेर प्रतिरोधी बनाउनका लागि गुरु द्रोणको ब्राह्मणवादी चिन्तनले प्रमुख भूमिका निर्वाह गरेको छ ।
…
एकलव्यको अर्जुनसँगको प्रतिरोध
एकलव्य कुनै पनि काममा निरन्तरताको साधनाबाट सफलता प्राप्त हुन्छ भन्ने सोचाइमा रहेको देखिन्छ । ऊ साधनाका लागि गुरु नै चाहिन्छ भन्ने ठान्दैन । जब गुरु द्रोणले उसलाई ज्ञान आर्जनबाट वञ्चित गराए तब उसमा ज्ञानको भोक अझ तीव्र भएर आयो र उसले आफ्नो विवेक प्रयोग गरी जङ्गलमा एक्लै साधना गर्न थाल्यो ।
यस काव्यको एकलव्यले “पुराणमा जस्तै गुरु द्रोणको मूर्ति स्थापना गर्दैन बरु साधनालाई नै मुख्य गुरु ठानेर कठोर प्रयत्न गर्छ अनि सफल पनि बन्छ” (ज्ञवाली, २०६२, पृ.११०) । मूर्ति नबनाई एकलव्यले आफ्नै क्षमताले धनुर्विद्याको साधना गरेको छ । उसको साधना, प्रसिद्धि फैलँदै गएको कुरा द्रोणका सर्वश्रेष्ठ शिष्य अर्थात् तत्कालीन धनुर्धर अर्जुनको कानमा पनि पुग्छ । यस सन्दर्भलाई काव्यमा काव्यकार अधिकारीले यसरी सङ्केत गरेका छन्ः
पाए अर्जुनले तुरुन्त सुइँको यौटा कुसुन्डो छ रे
हान्दामा धनु लक्ष्य भेद्न नचुकी जैलेसुकै सक्छ रे ।
(पृ. १०)
यसपछि अर्जुनलाई असह्य हुन्छ । अर्जुनलाई आफू नै यस संसारको सर्वश्रेष्ठ धनुर्धर हुँ भन्ने लागेको थियो । गुरु द्रोणले पनि अर्जुनलाई नै सर्वश्रेष्ठ धनुर्धर बनाउने वचन दिएका थिए र सोहीअनुसार अभ्यास पनि गराएका थिए । धनुर्विद्या सिक्ने शिष्यहरूका अगाडि अर्जुन अब्बल दर्जाका पनि थिए । एकलव्यको उपलब्धीलाई अर्जुनले आफूमाथि बज्र प्रहार भएको महसुस गरे । उनी तत्कालै एकलव्यले साधना गरेको जङ्गलमा पुगेर एकलव्यसँग उसको गुरुका बारेमा सोधखोज गरे ।
एकलव्यले द्रोण भन्ने एउटा गुरुको नाम सुनेको र चिनेको तर आफूले कसैलाई पनि गुरु नबनाएको, आफ्नै एक्लो साधना र क्षमताले धनुर्विद्या सिकेको कुरा गर्यो । उसले आफूलाई साधनामा लम्काउनका लागि द्रोणको उपेक्षाभावले काम गरेको छ भन्ने बतायो । यस सन्दर्भलाई काव्यकारले यसरी सङ्केत गरेका छन्ः
हुन् मेरा गुरु द्रोण कार्यपथमा लम्काउने कारण
मैले द्रोण सिवाय नाम गुरुको मस्तिष्कमा धारण
अर्कोलाई गरेर हैन विजयी ऐले सकेको हुन
आफै दिन्छ प्रयासले सफलता कर्तव्यमा अर्जुन !
(पृ. ११)
अर्जुन दरबारिया राजकुमार भएकाले पढ्न पाएको तर आफू निषाद भिल्ल जातिको सन्तान हुनाले पढ्न नपाएको विभेदकारी प्रचलनको विरोध एकलव्यले गरेको छ । उसले अर्जुनका सामु शासक एवम् हुनेखाने सम्पन्न वर्गले गरिब–निमुखा, दलितहरूलाई दबाएरै आफ्नो प्रभुत्व कायम राख्छन् भन्ने कुरा गरेको छ । पैसावालहरूले पढ्न पाउने र पैसा नहुने निर्धनहरू जङ्गलको अँध्यारामै जीवन बिताउन बाध्य हुनुपरेको यथार्थलाई एकलव्यले अर्जुनका सामु यसरी व्यक्त गरेको छः
पैसावाल म छैन एक वनको राजा डुलन्ते म त
मेरो छैन दबाबभित्र दुनियाँ दोब्य्राउने आदत
स्वार्थी खाडल पुर्न क्षुद्रपन ली पैसा भएकाहरू
हेर्छन दाउ मलाई नै प्रबल भै दोब्य्राउनामा बरु ।
(पृ. १२)
एकलव्यले अब पनि सामन्ती सत्ताको अन्याय सहेर बस्न सकिँदैन भन्दै अर्जुनलाई मुखभरिको जवाफ दिएको छ । गुरुले पक्षपात गरेको ऊ सहन सक्दैन । गुरुहरूको सत्ताले गरेको अत्याचारका कारण एकलव्य सङ्घर्षका लागि अगाडि बढेको हो । अर्जुनसँगको संवादमा उसको प्रतिरोधी भावना यस रूपमा आएको छः
जस्तै दुःख दिएर दुर्जनहरू बाधा पुर्याउन् तर
खाई हार परी पछाडि पथमा भाग्दैन यो जाँगर
भै सङ्घर्ष–निमग्न धान्नु छ भने आशामुखी जिन्दगी
लाच्छी भै म कदापि डर्दिन कुनै घातीहरूका अगि ।
(पृ. १३)
एकलव्य र अर्जुनका बीच धनुर्विद्यामा प्रतिस्पर्धा हुँदा अर्जुनको हार हुन्छ । पराजयको पीडा भोग्नुपर्दा अर्जुन आक्रोशित बन्छन् । आक्रोशको मात्रा बढ्दै गएपछि दरबारमा फर्केर गुरुलाई दुर्वचन लगाउँछन्; दरबारको पैसा खाएर पनि राम्रोसँग नपढाएको आक्षेप लगाउँछन् । आफूलाई सर्वश्रेष्ठ धनुर्धर बनाउने झुटो आश्वासन दिएको भनेर गुरुको ज्ञानप्रति पनि शङ्का गर्छन् । गुरु द्रोण पनि एकलव्य जस्तो क्षुद्रले आफ्नो अभिमानमा चोट पु¥याएकामा क्रोधित हुन्छन् र अर्जुनलाई सम्झउँदै भन्छन्ः
बाबु अर्जुन ढुक्क भै बस तिमी मान्दै नमानी डर
औँठो ल्याउँछु भिल्लको म जखमी पारेर दायाँ कर
दायाँ हात भए बिकाम उसले हान्दैन कैल्यै धनु
तिम्रो हुन्छ प्रसिद्धि लोकभरमा आफै कुरा सम्झनु ।
बस्ता भिल्ल बनी अपाङ्ग दिलको पारेर आशा धुलो
बन्ने छैन यहाँ धनुर्धर तिमी बाहेक कोही ठुलो
एकै मात्र महान धनुर्धर भई संसारमा अर्जुन
होला पूर्ण कबोल फेरि पहिले मैले गरेथेँ जुन ।
(पृ. १४)
यसरी यहाँनेर एकलव्यले अर्जुनसँग गरेको प्रतिरोध आचार्य द्रोणसँग पनि जोडिएको छ । एकलव्यको प्रतिरोध अर्जुनको घमन्डसँग मात्र नभई द्रोणको विद्वत्ता र अहङ्कारसँग पनि जोडिएको छ । अर्जुनजस्ता पैसावाल दरबारिया राजकुमारका अगाडि एउटा शूद्र जातिको बालकले ज्ञान सिक्नु नै महापाप सम्झने उच्च घरानाहरूको संस्कारप्रति एकलव्यले प्रतिरोध गरेको छ ।
…
एकलव्यको द्रोणसँग प्रतिरोधः
आचार्य द्रोण एकलव्यको झोपडीमा पुग्छन् । एकलव्यले उनको स्वागत गर्छ । आफूले गरेको साधनाका बारेमा बताउँछ । सुरुमा ज्ञान सिकाइदिनका लागि अनुरोध गर्न जाँदा आफूलाई द्रोणले गरेको व्यवहारको स्मरण गराउँदै उसले द्रोणको सङ्कीर्णतामाथि कटाक्ष गर्छ । द्रोणले यस समयमा एकलव्यका सामु चिल्ला कुरा गरेर फकाउने काम गर्छन् र एकलव्य निर्धन भएकाले धेरै ठूलो कुरा माग्दिन भन्दै गुरुदक्षिणास्वरूप दायाँ हातको बुढी औंला माग्छन्ः
दायाँ हात दुखेर पिर्छ कि भनी मान्दै नमानी डर
औँठाको गुरुदक्षिणा दिन तिमी होऊ बरु तत्पर ।
(पृ. १७)
जब द्रोणले दायाँ हातको बुढी औंला माग्छन् तब पौराणिक एकलव्यले जस्तै यस काव्यको एकलव्यले दक्षिणास्वरूप आफ्नो हातको बुढी औंला काटेर दिएको छैन । उसले द्रोणाचार्यलाई नै बेइमान, कपटी, धूर्त, षड्यन्त्रकारी एवम् सामन्ती चिन्तनलाई प्रश्रय दिने भन्दै निकै तल ओर्लेर गर्नुसम्म गाली गरेको छ । यहाँ काव्यकारले एकलव्यमार्फत् व्यक्त गरेका केही शब्दहरू अलिक असुहाउँदा पनि छन् । द्रोणले सिकाएर नभई आफ्नै क्षमता र साधनाबाट आफूले धनुर्विद्या आर्जन गरेको कुरो गर्दै उसले औँलो दान गर्नुपर्नाको कारण खोजेको छः
ए चण्डाल ! रचेर चाल ननिको मेरो मिठो जिन्दगी
पार्ने सारविहीन ध्येय मनमा राखेर आइस् हगि ?
मैले घात यहाँ धनुर्धर भई के के गरेको छु र
काटी यो अँगुठो चढाउन पर्यो दर्बारिया कुक्कुर ?
(पृ. १८)
सुरुमा गुरुलाई गुरुकै रूपमा सम्मान गरी केही ज्ञान हासिल गरूँ भन्ने उद्देश्यले एकलव्य गुरू द्रोणकहाँ गएको थियो । ऊ गुरुको असल र आज्ञाकारी चेलो बन्न चाहन्थ्यो । गुरुले विगतको त्यस समयमा भिल्ल (दलित) जातिको केटो भनेर ज्ञान दिन इन्कार गर्दै हप्काएर लखेटेका थिए, आज तिनै गुरु गुरुदक्षिणा माग्न आउँदा एकलव्यलाई उठ्नुसम्म रिस उठेको छ । प्रतिरोधमा उसले भनेको छः
ज्ञाता आज हुँदा म नित्य धनुमा लागेर आफै गुनी
आशा, आँट, प्रयासबाट फलवान् देखेर मेरो जुनी
हूँ तेरो गुरु, दक्षिणा दिन पर्यो भन्दै पसारी कर
मागी अङ्ग अपाङ्ग पार्न तँ भइस् लज्जा बिना तत्पर !
(पृ. १८)
धार्मिक ढोंग रचेर गरिब तल्ला जातिहरूमाथि अन्याय गर्ने द्रोणलाई एकलव्यले अवसरवादीको संज्ञा दिएको छ । ऊ सामन्ती चिन्तन बोकेको रुढिग्रस्त सत्ताको पतन अवश्यम्भावी छ भन्नेमा विश्वस्त छ । दलित तल्ला जातिहरू जब चेतनशील हुन्छन् तब यस किसिमको सत्ताको विनाश हुन्छ भन्दै एकलव्यले द्रोणलाई अति नै नमिठा वचनले गाली गरेको छ । गरिब–निमुखाहरूको शोषण गरेर जातीय श्रेष्ठताको दम्भ निकाल्ने गुरु द्रोणका विरुद्धमा एकलव्यको प्रतिरोधी चेतना काव्यमा यसरी व्यक्त भएको छः
यै अन्याय असत्यभित्र दुनियाँ संसार धेरै दिन
टिप्ने आस गरी घमण्ड मुटुमा बोकेर बस्छस् किन ?
तेरो हुन्छ विनाश सत्य महिमा लुक्दैन ज्यादा अब
लम्कन्छन् बिउँझी नवीन युगको निर्माणमा मानव ।
छेकेबार बनी विकास पथमा बाधा दिने औसर
कुर्छस् काल बनेर घातक कला जानेर पार्दै भर
घोप्ट्याएर समाजका नयनमा जातीयताको धुलो
सोझा शान्त गरीब शोषण गरी बन्छस् तँ आफू ठुलो ।
(पृ. १९)
मनमा कालो हुनेहरूले मान्छे मान्छेका बिच विभेदको सिर्जना गर्छन् । जो शक्ति र पदमा छन् तिनीहरूले गरिब–निमुखाको भलो चिताउँदैनन् । धर्मका नाममा अधर्म गर्नेहरू नै नीच हुन् भन्दै एकलव्यले द्रोणको ढोंगी प्रवृत्तिको विरोध गरेको छ । यस्तो ढोंगी प्रवृत्तिका विरुद्धमा असहाय गरिब–निमुखा एवं दबाइएका वा हेपिएका जातिहरू एकजुट भई सङ्घर्षमा होमिनेछन् र एक न एक दिन अधर्मीहरूको विनास हुनेछ भन्ने कुरा एकलव्यले गरेको छ । उसले द्रोणको विद्वतालाई धिक्कार्दै सङ्कीर्ण मानसिकता बोकेर समाज र मान्छे भाँड्ने गुरुका रूपमा यसरी गाली गरेको छः
राखी क्षुद्र विचार चोर्न पसिना सानो ठूलो जातमा
मान्छे भाँड्न बनी सिपालु सपना देखी सधैं घातमा
गर्छस् स्वार्थ पुरा भने त नचिनी कल्याणकारी जग
सक्दैनस् गुरु बन्न यो मुलुकको होस् बातमारा ठग ।
(पृ. २०)
समाजमा जो आफूलाई ठूलाबडा र सभ्य भनाउन रुचाउँछन् तिनीहरू नै बढी स्वार्थी छन् भन्ने कुरा एकलव्यले गरेको छ । तिनीहरूको बोली अरुको भलाइमा हुन्छ तर व्यवहार जहिले पनि आफ्नै मात्र स्वार्थको केन्द्रमा रहन्छ । तिनीहरू अन्यायी हुन्छन; निम्न वर्गको उत्थान वा मुक्ति चाहँदैनन् । तिनीहरूको हृदयमा गरिब तल्ला जातिका निमुखाहरूलाई दयामाया गर्नुपर्छ; चेतनशील बनाउनुपर्छ भन्ने भावना हुँदैन । गरिब–निमुखाहरूको शोषण गरेर नै ती सम्पन्न भएका हुन् । द्रोण यस्तै खालका ठालु हुन् भन्ने कुराको अभिव्यक्ति काव्यमा उत्पीडित पात्र एकलव्यमार्फत यसरी आएको छः
तेरो छैन हियारभित्र ममता वर्गीय उत्थानमा
आफै मात्र उठेर बान्धव भुली गर्छस् कुरा खानमा
पैसाकै जपना लिएर तममा मस्तिष्क तेरो गड्यो
बर्खे गुन्द्रुक झैँ कुहेर ननिको विद्वत्व तेरो सड्यो ।
(पृ. २१)
समाजका लाटा–सोझा जनता अगाडि बढेमा आफ्नो बर्चस्व तथा हैकममा चोट पुग्छ भन्ने साँघुरो सोच राखेका कारण एकलव्यले द्रोणलाई जिउँदो मुर्दाको संज्ञा दिएको छ । राजकुलको गुरुमा गरिब–निमुखा जनताको शोषण गर्ने कला पनि पर्याप्त मात्रामा हुन्छ भन्दै एकलव्यले आफू कर्तव्यपथबाट विचलित नहुने र सङ्घर्षबाट पनि पछि नहट्ने कुरा बताएको छ । ऊ आफ्नो औँठो दान गरेर अपाङ्ग बन्न चाहँदैन । सामन्ती गुरुहरूका विरुद्धमा सङ्घर्ष गर्नका लागि पनि आफू अपाङ्ग बन्न नहुने कुरा गर्दै ऊ भन्छः
आँखा बन्द गरेर क्षुद्र गुरुतालाई महान् सम्झिई
मैले छैन अपाङ्ग बन्न कर क्यै औँठो तँलाई दिई ।
(पृ. २३)
गुरुभक्तिका चिल्ला कुरा गरेर औँलो माग्ने द्रोणको षड्यन्त्रमाथि एकलव्यले निकै कडा प्रहार गरेको छ । कपटपूर्ण तरिकाले अर्काको शरीरको अङ्ग माग्नु बेइमानी हो । मानिस आफ्नो शारीरिक अवयवको हकदार स्वयं आफै हुन्छ । औंलाहरू कामका लागि बनेका हुन्; कसैलाई दक्षिणा दिनका लागि होइनन् भन्दै एकलव्यले मानवताकै विरोधी गुरु द्रोणको अहङ्कारी वृत्तिमाथि प्रतिरोध गरेको छ । गरिब–निमुखो अर्थात् तल्लो जातिको केटो भनेर हेप्ने द्रोणलाई एकलव्यले दरबारतिरै फर्कन आग्रह गर्दै भनेको छः
बोकी साहस आइछस् चतुर भै औँठो लिने दाउमा
आफ्नो हार रुँदै बता तँ अब गै सामन्तका पाउमा ।
(पृ. २३)
…
उपसंहारः
पौराणिक विषयवस्तुमा आधारित ‘एकलव्य’मा काव्यकार रविलाल अधिकारीले पुराणप्रसिद्ध विषयलाई लिएर वर्तमानलाई सम्बोधन गरेका छन् । आजका कतिपय गुरुहरूमा अहङ्कारको भाव बढ्दै गएकामा पनि काव्यकारलाई चिन्ता छ । कतिपय अहङ्कारी गुरुहरूको सङ्कीर्णताका कारण समाजले सभ्यताको गति नलिएको ठहर काव्यकारको छ ।
एकलव्यजस्ता गरिबनिमुखा दलितका सन्तानमाथि शैक्षिक अवसरमा विभेद छ । गुरु मात्र नभई समाज र राज्यले पनि एकलव्यजस्ता दलितहरूको चेतनाको वृद्धिमा उल्लेख्य सहयोग गर्न सकेको छैन । स्वार्थन्धताका कारण द्रोणजस्ता गुरुहरू लोभी र सङ्कीर्ण हुँदै गएका छन् । निषाद जातिको एकलव्यले दरबारका राजकुमार तथा उच्च घरानाका बालकहरूलाई मात्र शिक्षा दिने; कथित तल्ला जातिका बालकहरूलाई बेवास्ता गर्ने गुरु द्रोणको अहङ्कारी वृत्तिमाथि प्रतिरोध गरेको छ ।
ऊ आफूहरू जस्ता गरिब निषाद जातिका सन्तानले पनि लेखपढको अवसर पाउनुपर्छ भन्दै नीचताको पराकाष्टामा पुगेका गुरुको प्रतिकारमा उत्रिएको छ । उसले आफूलाई अपमान गर्ने गुरु द्रोणलाई समाजका सबै जातजातिमा समानता कायम गर्न नचाहने, तल्लो जातिका मानिसहरूलाई दबाउँदै दरबारको मात्र भलो चिताउने सामन्ती सोचका पृष्ठपोषकको आरोप लगाएको छ । अन्तिममा एकलव्यले आफ्नो जातिको चेतना विस्तारका लागि सङ्घर्षरत रहने प्रण गरेको छ ।
सन्दर्भ सामग्रीसूची
अधिकारी, रविलाल (२०३५). एकलव्य (पौराणिक लघुकाव्य). कास्कीः लेकाली प्रकाशन ।
ज्ञवाली, रामप्रसाद (२०६२). कवि रविलाल अधिकारीको कवितायात्रा र प्रमुख कविताप्रवृत्तिहरू. यथार्थवादी नेपाली समालोचना.
सम्पा. घनश्याम ढकाल, पोखराः गण्डकी साहित्य सङ्गम, पृ.१०२–११९ ।
बराल, ऋषिराज (२०७३). मार्क्सवाद र सबाल्टर्न अध्ययन. काठमाडौँः साझा प्रकाशन ।
शर्मा, मोहनराज (२०७०). अवरजन अध्ययन र साहित्य. भृकुटी. सम्पा. लिखत पाण्डे र अन्य, भाग १९. असार, पृ. ३१५–३२५ ।
श्रेष्ठ, सिद्धिचरण (२०३५). शुभकामना (भूमिका). एकलव्य (पौराणिक लघुकाव्य). कास्कीः लेकाली प्रकाशन ।
पोखरा– १७, कास्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।