
झमझम पानी परिसकेपछि छ्याङ्ग आकाश उघ्रिन्छ। दिन सफा हुन्छ। कुइरो चिरेर उज्यालो पसेपछि एउटा धुम्म क्षण समाप्त हुन्छ । कुइरोभित्र गुम्सिएर उज्यालो खोज्दै जीवन सल्बलाउँछ। आफूले भोगेको जीवन अरुको निम्ति रमाइलो लाग्न सक्छ, तर आफ्नो मर्म त आफैँसँग हुन्छ। अथाह पीडाको सागरमा डुबुल्की लगाउनेलाई मात्र थाहा हुन्छ वास्तविक पीडा। पीडा जीवनको सार। जीवन भोगाइमा पीडा, दुःख-सुख, हाँसो-आँसु हुन्छन् नै । जीवनलाई म कसरी परिभाषित गर्न चाहन्छु, त्यो ममाथि नै निर्भर गर्दछ ।
जीवन बँचाइमा सङ्घर्ष, विद्रोह, व्याकुलता, सकारात्मक पक्ष – नकरात्मक पक्षले छोड्दैन। मनमनै मुर्मुरिनेहरू पनि हुन्छन्। खुलेर विरोध गर्नेहरू पनि हुन्छन्। जीवन बँचाइको संघर्षलाई ख्वार्लाप्पै निलेका कुराहरू कवितामार्फत फलाक्छन् कवि । आफ्नो वरिपरिका परिवेशलाई तानेर कृति सजाउनमा खप्पिस हुन्छन् साहित्यकारहरू। आञ्चलिकताको प्रभाव पर्छ नै । हाम्रो सम्पत्ति पहाड हो, कमान हो , जङ्गल हो। यी थोकहरू नै हाम्रो बाँच्ने सहारा हुन्। हाम्रो प्रत्येक उज्यालोले सङ्घर्ष लिएर आउँछ । सङ्घर्ष गर्ने हातहरू कहिल्यै गल्दैनन्, थाक्दैनन् ।
विद्रोहका स्वरहरू उचालिन्छन्, थेचारिन्छन् । सङ्गति हुँदैन जीवनमा, विसङ्गतिले घ्वाप्पै छोपेको हुन्छ। कमानमा जीवन मिलेको भन्दा नमिलेको भेटिन्छ। जीवन जगतका तीता-मीठा कुराहरूसँगै आफ्नो जातिको अस्तित्व र अस्मितालाई लिएर पनि चिन्तित देखिन्छन् कविहरू। जुन चिन्ता कविता भएर कोरिन्छन् । यस्तै सबैथोकलाई मनमस्तिष्कमा राखेर हिँड्ने इमान्दार कवि हुन् मदन ओझा ।
भारतेली कवि मदन ओझाको नेपाली साहित्य अनि संगीत क्षेत्रमा बेजोड योगदान छ । उनको कविता सङ्ग्रह “आँसुपछिका आँखाहरूले हेर्दा…”लाई एउटा जीवनीपरक कविताको श्रृङ्खला मान्न सकिन्छ । शीर्षक कविता “आँसुपछिका आँखाहरूले हेर्दा…” मा कवि मदन ओझाले जिन्दगीको वास्तविकतालाई पीडा, छट्पटी, अशान्त भएका आँसुले भरिएका आँखाहरूले हेर्न नसके पनि आँसु थामिएपछि बाध्य भएर हेर्नु नै पर्ने विवशतालाई कवितामा उतारेका छन् ।
जीवनलाई समयवोधका रहस्य मानेर हिँड्ने मदन ओझा हाम्रो बाबा-बाजेको पालाजस्तो गाँस-बाँसको बचाइको त्रास र चिन्ता नपरोस् भन्दै कविता कोर्छन् । कवितांश-
“गाँस र बाँसको अर्को जीवाइमा
फेरि बाबु-बाजेका सपनाहरूभन्दा बेग्लै पनि
त्रासको कुन्नि कस्तो चिन्ता हामीमा फेरि पनि नपरोस् ।”
कविले हिजोको समय उपभोग गरे अनि अहिलेको समय पनि उपभोग गरिरहेका छन् । मान्छेमा रिस, आरिस, लोभ, मोह, होड, हतारको भरमार छ आजको समयमा। कविलाई लाग्छ यो कलियुग ध्वस्त हुन्छ नै । कवितांश-
“संसार मासिने अत्याधुनिक युग
कलियुगको कलाकृतिको आकार भताभुंग नै”
कवि अर्को कविता केही नहुनु कति शून्यतामा भन्दै जीवनको रहस्य खोज्छन्। देशको निम्ति सहिद भएर आफूले बाँचेको जीवन सार्थक पारे पनि सहिदकी पत्नी चित्त बुझाउन सक्दिनन् । शून्य लाग्छ चारैतिर। कवि कवितामार्फत सान्त्वना दिन चाहन्छन्। कवि भन्छन्-
“यौटा महान् देशको वीर सपुत भएर गए
सदैव स्वर्ण अक्षर इतिहासको मानचित्रभरि
सहिदको मूल्याङ्कन पन्नामा अमर-अमर रहनेछन्।”
आफू बस्ने देशको माया हुन्छ सबैलाई। देशको एकता र अखण्डता रहिरहोस् भन्ने चाहना छ कविको। देशको निम्ति सहिद हुने जवानहरूको सम्झना छ कवितामा। कविता शून्यबोध नाटकीय दन्त्यकथाको परिक्रमा-मा कारगील युद्धमा सहिद हुने दार्जीलिङे गोर्खे जवानको स्मरण गरिएको छ। कवि भन्छन्-
“सम्भवतः सैन्यबलका सशक्त दह्रिलो बनाउन ठूलो
साहसिक युद्ध नै… आवश्यक पर्दछ।”
सांकेतिक, प्रतिकात्मक भाव उतार्नमा खप्पिस ओझाका कविता धेरै पहिला लेखिएका हुन् तर आज पनि नौला लाग्छन्।
कविता विस्मृतिका पलहरूमा आफ्नो जीवन प्रेमिकाको प्रतीक्षामा बिताउन वाध्य भएको कुरा छ। आफ्नो अस्तित्व र अस्मिता जोगाउने हुँदा बैँश बितिसकेर बुढेसकाल लागिसकेको छ, बुढेसकालमा सहारा चाहिन्छ कविलाई। नैराश्यको सपनाले रङ्गाल्न आए पनि कवि ओझा उज्यालो र अँधेराका गल्लीहरूमा लडेनन् ।
कवि ओझा स्वयं शिक्षक भएकाले शिक्षाको महत्त्व बुझेका छन् अनि अरुलाई पनि बुझाउन चाहन्छन् । गुरूलाई सर्वज्ञाता मान्छन् कवि ओझा। कवि भन्छन्-
“जीन्दगीको हरेक भोगाइमा शिक्षाको
सुकीर्ति सुमार्ग छरिन सकोस् ।”
शिक्षण क्षेत्रमा प्रवेशिएपछि इमान्दार हुनुपर्छ। ठग्ने, ढाँट्ने, समय बर्बाद गरेर विद्यार्थीहरूको भविष्यसँग खेलवाड़ गर्ने शिक्षक-शिक्षिका हुनुभन्दा नहुनु नै असल हो। आफूले पाएको, जानेको ज्ञान बाँड्नु परम कर्तव्य हो । दिनहुँ आफूले पनि केही न केही नयाँ कुरा सिकेर विद्यार्थीलाई सिकाउनु नै एउटा असल शिक्षकको धर्म र कर्म हो । कवि यो मनको परिवेशभरि शिक्षाको मूल्याङ्कन गर्न चाहन्छन् ।
कवि फेरिँदो युगको चित्र दर्शाउँछन् । भरपूर निराशा बोले पनि आशाका धर्सा तानिन्छन् । कविताको शीर्षकमै निराशा छ, गीत-स्पर्श कथाको आँखामा छेलिँदै व्यथा बल्झन्छ…। कवि भन्छन् – एउटा जिन्दगीको हारमा साउँसुदका प्रश्नहरूमा नबाँच ।
मान्छेको जिन्दगीलाई व्यथा, घात-प्रतिघात मान्छन् कवि । जीवन कहिले घाम, कहिले पानी भन्छन् । कवि भन्छन् – मेरो जिन्दगी सकिँदै गएको अबाटो भएको बेघर हुन् । जिन्दगीलाई स्वार्थी मान्ने कवि कवितामा कोर्छन्-
“कहीँ गरीबले सत्य जीत पाउन सक्दैनन्
कहीँ धनीले झुट बोल्न लाज मान्दैनन्”
जिन्दगीकै कुरा गर्दै कवितातिर कवि मान्छेले सुख खोज्दै हिँड्नुपर्छ भन्छन् । कवितांश-
जसरी भए पनि जिन्दगीमा त्यो मान्छेले कहीँ न कहीँ
सुखको
रमाइलो बलेसीमा बसेर
सम्पूर्ण समस्याको बोझलाई थेचारेर यौटा
यौटा सकुञ्जेलसम्मन् बरु
गीत गाउन सकोस्। ( कतिपय ऐंठन पर्नु…?)
साँच्चै जीवन संसारको नाट्यशाला मात्र हो। जीवनशैलीको दर्पणमा मानिएको रोएको मन, व्यथा, आँसु प्रतिबिम्बित हुन्छ। तर पनि कवि आशावादी देखिन्छन्। कवितांश-
उफ् !
“कति वीभत्स यहाँ अन्धकार रातको दबाउमा
यौटा उज्यालो आकाश हेर्न मनपर्छ ।”
( जीवनशैलीको दर्पणमा मन र व्यथाको प्रतिविम्ब)
कविता शून्यबोध- मा कवि जीवनदेखि थाकेको कुरा गर्छन् । आफ्नो माया गर्ने प्रियसीको अनुपस्थितिमा शून्यबोध महसुस भइरहेको कुरा गर्छन् । जीवनका सहयात्रीहरू सम्झेर प्रसन्न चित्त भए पनि बुढेसकालमा जीवन ढल्किँदै जाँदैछ भनेर नैराश्य भाव प्रकट गरे पनि प्रत्येक बिहानीको न्यानो प्रभातमा पुनर्जन्म हुन्छ भनेर आशा देख्छन् । कवि जीवनलाई व्यथाभित्रको अमिल्दो कथा मान्छन् ।
कवितामै कवि पाठकलाई नेपालको आकर्षक पर्यटकीय स्थल पोखरा घुमाउँछन् । पोखराको फेवाताल झील अनि माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णा हिमालको कुरा छ। फेवाताल झील बीचमा वराही मन्दिर छ। जसलाई कवि जलदेवी ईश्वर भनेर सम्बोधन गर्छन्। कवि पोखराको मनोरम स्थलमा पनि जिन्दगीको पीडा-व्यथा सम्झिन्छन्।
कवितांश-
“फेवातालको सुशान्त लहरहरूभित्र
प्रार्थनाका घण्टीहरू बज्न अघि नै परेवाहरू
आकाशमार्गतिर उडेर जान्छन्
भनौँ भने यस्तो लाग्छ
सबै यथार्थमा कही- कतै नरोकिइ निःस्सार शून्यतालाई छाम्दै
जिन्दगीका हरेक व्यथा पीडाहरू सँगाल्दै
यात्रामा मलाई हिँड़नु छ ! (फेवाताल)”
जीवनवादी कवि हुन् मदन ओझा । अधिकांश कविता जिन्दगीको परिभाषा पाइन्छ । कवि जीवन रुन र हाँस्न हो अनि बाँच्न र मर्न पनि हो भन्छन्। कविता यदि मृत्यु नभए अन्तहीन प्रश्न-मा भन्छन्-
“रुन र हाँस्न जीवन छँदैछ
बाँच्न र मर्न पनि लेखेको नै छ
इतिहास भोलि के हुन्छ ?
नसोच – यो त यौटा स्वप्नभरिका योजनाहरू मात्र हुन्।”
जिन्दगीकै कथा व्यथा समेटिएको कविता हो मनको खाल्डोमा घाउको पीर । जिन्दगीको दुई पाटा छ कवितामा उज्यालो र अँध्यारो। गरिबी र धनी, मलामी र विवाह, गाउँ र सहरभित्रको जिन्दगीलाई छेवैबाट छाम्ने कवि ओझा भन्छन्-
“ आज म आफ्नै जिन्दगीको घाउमा पसीनाले निर्थ्रक्क भएको छु।”
कता-कता अगमसिंह गिरीको प्रसिद्ध खण्डकाव्य युद्ध र योद्धाको सम्झना गराउने कविता हो निर्वाध ज्वालामा युद्धका चिन्तनहरू । जातीय अस्तित्व र अस्मिताको चिन्तामा डुबेका कवि मदन ओझा बेघर जिन्दगीको कुरा गर्छन् । हामी अर्काको निम्ति लड्नु र मर्नु मात्र होइन, देशको सीमाना रुँगेर सहिद हुनु मात्र होइन, हामीले पनि आफ्नो हक र अधिकार पाउनुपर्छ। कवितांश-
“मलाई पनि त घुरेनबारीको
कोठेबारीको
अधिकार दिनुपर्छ
सीमाना मात्र मेरो कोठेबारीको, रखवाली होइन
हजुर ।
यति रुंगेर मात्र मेरो पेट भरिन्न
यो देश तिम्रो पनि हो
मेरो पनि हो”
आजको समयको वास्तविकतालाई छर्लङ्ग पार्ने कविता हो अविश्वासको पर्दा यौटा दागमा खोलिन्छ ।
कवि भन्छन् – “लीलाम हुन्छ मानवताको खोक्रोपन।”
कविता जिन्दगी – मा कवि निरन्तर बगिरहेको टिस्टामा अन्धा-धुन्ध जवानीका वैंशहरू आत्महत्या गरिसकेका कुरा गर्छन्। आँसु नै जिन्दगी हो भन्छन् कवितामा। अर्को कविता जीवन भोगाइ कहीँ विद्रोह… -मा कविको जीवनबारे खिन्नता, नैराश्यता भाव छँदैछ। कविताको सुरुवातमै भनेका छन् – सृष्टि र मृत्यु अपरिहार्य नै छ।
मनको घाउ कविताले जिन्दगीको आयामसँग भारतमा गोर्खा जातिको गाँस र बासको कुरा अनि आफ्नो अस्तित्व चिन्हारी खोसिदाँ मन बेहाल हुन्छ भन्ने व्यथा पोखाएको छ। यहाँ शान्ति र सुरक्षासित बाँच्न नसकेको कुरा गर्ने कवि ओझा जातिको अस्तित्व, चिन्हारीको चिन्ताले निस्सासिन्छन्।
कवि गीतको भाकामा अर्को कविताको शीर्षक रच्छन् – पीर सहन्छु सिर्फ बाध्यता भन्दिनँ ।
यस कवितामा पनि कवि जीवनवादी भएर भन्छन् –
“जिन्दगीको यात्रामा हर्ष अमहर्षको व्यथा
केवल सृष्टिमा नै मृत्यु निश्चित छ।”
कवि मदन ओझा जातीय अस्तित्वको परिस्थितिमा भावोदगार पोख्दै आत्मपीड़ा बताउँछन् जीवनको। सङ्घर्षमा जीवन दुखेको चित्कार गर्छन् कवि। जिन्दगी भन्न नहुने सल्किँदै रोगग्रस्त घाउमा गइरहेछ – भन्दै कवि त्यो जिन्दगीको यौटा भूल र फूलमा बाँचेको आफैँलाई हेर्न चाहन्छु भन्छन् ।
प्रभावपरक र दामी कविताको रुपमा हेर्न सकिन्छ विद्रोहको समारोहमा बुढो कवितालाई। तीव्र व्यङ्ग्य र विद्रोह बोलेको यस कवितामा कवि बूढ़ो कविता बोकेर दार्जीलिङको मुटु छाम्न तम्सिन्छन्। परम्परागत भेदभाव, साहित्यिक गोष्ठीको अभावको कुरा गर्दै साहित्यको खेतीले सन्तुष्टि नदिने अनि बस्तीमा गएर बरु तरुल खन्ने व्यङ्ग्यात्मक विचार छ। सरकारप्रति व्यङ्ग्य कस्दै यो सरकार नरकंकाल भन्छन्। कतै कवितामा जीवनशैलीको बलेंसीमा मायाका अभिव्यक्तिहरू पोख्छन् कवि। आन्दोलन र मृत्युः सम्झौता मान्छन् कवि। यस कविताले जातीय अस्तित्वको चिनारीको आवाज उठाएको छ। क्रान्तिको स्वर चिच्याएको छ।
कवितांश –
“खोइ, हाम्रो जातित्वको इतिहास घर
सुगौली सन्धिको – तोरण टाँगेर चिच्याएर…
यो, दासत्वको संविधानभरि न्यायको समाधान हुनपर्ने-
कवि सरकारलाई प्रश्न गर्छन्। खोइ ! हाम्रो घर ! भारतमा जन्मेर विदेशी ?
कवि मदन ओझा आफ्नो जातिको निम्ति इमान्दार छन् । जातिको माया गर्छन्, चिन्ता गर्छन्। कवि भन्छन् –
“तिर्खा मेट्ने नेपाली भाषामा
अझ भनौँ गोर्खे आवाजमा…
यौटा- घरको, इतिहासको नक्सा
मानचित्रको फ्रेममा सुरक्षित स्थान चाहिन्छ,”
अन्याय-शोषण सहँदा-सहँदा थाकिसक्यौँ । अँध्यारो बाटोमा पनि उज्यालो छिर्न सक्छन् भन्दै कवि कवितामा भन्छन्-
“पश्चिमबाट अस्त भएको घामले न्यानो पाउन सकेनौ
नयाँ, सूर्यको लालिमाले सुम्पेका चोखो हावा-पानी हिमाललाई चाहिन्छ ।”
कविता धेरै अघि लेखिए पनि आजका चाप्लुसे नेताहरूमाथि कटाक्ष छ। अरुकै भरमा बस्ने अरुकै इशारामा चल्ने हामी कठपुतली भएकोले गोर्खा जाति एकदिन म्युजियममा जाने शङ्का उठ्छ। कवि भन्छन् –
“हाम्रो आफ्नै ताल छ, संगीत छ
हामी अर्काको इशारामा
सस्तो भएर खुब नाच्यौँ ।”
हाम्रै चिन्हारीको फूल हो भुइँचम्पा फूल । कवि फूललाई माया गर्छन्। भुइँचम्पा फूललाई कवि पुर्खाहरूको मादले गीतका धुनहरूजस्तै बाँचेका रागहरू हुन् भन्छन् । कविता सङ्ग्रहको अन्ततिर कवि अझै जिन्दगीको सेरोफेरोमा मनका कथाहरू सुनाउँछन् । कविता सङ्ग्रहको अन्तमा जीवनको वास्तविकता, विवशता र बाध्यतामा सुस्केरा लिएर कविता तुर्छन्।
कवितातिर आफ्नै दार्जीलिङ छ, ट्राफिक छ, घुरेन छ, चटान छ, वर्कसी, बलेंसी, सुनाखरी फुल, तीतेपातीका फूल छन्। अँध्यारोलाई च्यातिदिऊँ सर्वत्र … भन्छन् कवि । आशावादी विचारधाराले यत्रतत्र ठाउँ ओगटे पनि नैराश्यपन त झल्किन्छ नै कवितातिर। समाजइतर छैनन् कविताहरू। समाजभित्रकै वास्तविकतालाई च्याप्प समातेर हिँड्ने कवि मदन ओझा मान्छेको कविता लेख्छन्। मान्छेको जीवन लेख्छन् कवि। स्वाङ र ढोङ्गमा विश्वास गर्दैनन् कवि। आडम्बरदेखि टाडै बसेर कविता रच्छन्, बनावटी छैन। जे देख्छन् त्यही लेख्छन्। कतिपय कविताका शीर्षकहरू केही लामा रुपमा सजाएको पाइन्छ। प्रत्यक्ष भनाइलाई भन्दा परोक्ष भनाइलाई प्रश्रय दिन्छन् कवि। साँच्चै जीवनको वास्तविकता छर्लङ्ग चियाउन सकिन्छ आँसुपछिका आँखाहरूले हेर्दा…।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

