पुस्तक र उपन्यासहरू पढ्ने क्रममा व्यग्र प्रतीक्षापश्चात् लेखक प्रगती राईद्वारा लिखित उपन्यास ‘लेखककी स्वास्नी’ हात लाग्यो । कवि/उपन्यासकार प्रगती राईको पहिलो कविता कृति “वादी विज्ञप्ति” नारी आवाजको दस्तावेज पढेपश्चात दोस्रो उपन्यास कृति पढ्ने हुटहुटी बढेको बेला प्रकाशन भएको हो, “लेखककी स्वास्नी ।”

आवरणअनुसार पुस्तकमा चित्रण गरिएका जीवन्त पात्रहरूले एउटा सिङ्गो समाजको यथार्थ बोकेको पाइन्छ । यो पुस्तकको बाहिरि एक कुराले मलाई निकै आकर्षित गरेको छ । हिजो आज कुनै पनि कृति निकाल्नु अघि प्रसिद्ध (नाम चलेका भाइरल) लेखकहरुद्वारा ‘भूमिका’ लेखाउनु पर्ने चलन चलेको छ तर भूमिकाविहीन यो पहिलो कृति मैले पढेँ । यसको अर्थ हो लेखकमा रहेको आत्मविश्वास । आफूमा आत्मविश्वास रहे कसैको औँला समातेर हिँड्न पर्दैन भन्ने दरिलो उदाहरण पनि हो। यसको अर्थ भूमिका लेखाउनु नराम्रो भन्न खोजेकी पक्कै होइन, मात्र यो पुस्तकमा केन्द्रित भएर लेख्दैछु ।

उपन्यासभित्र रहेका पात्रहरुको भूमिका आ-आफ्नो ठाउँमा महत्वपूर्ण रहेको छ । नुमा जो लेखककी स्वास्नी छिन् उनको सशक्त भूमिकाले पाठकको मन तानिरहन्छ । नुमा एक स्वास्नी, एक आमा, एक साथी, एक लथालिङ्ग परिवारको जिम्मेवार सदस्यको साथै हाम्रो समाजमा परापूर्व कालदेखि नारीमाथि गरिने दुर्व्यवहार, अन्याय, अत्याचार, यातनाजस्ता जल्दोबल्दो समस्याहरु माथि आमूल परिवर्तनको मुद्दा उठाउन अग्रसर पात्रको रुपमा नुमालाई पढ्न पाइन्छ। उपन्यासको पानाहरु जति-जति पल्टाउँदै गयो, उति-उति उत्सुकता,कौतुहलता बढेको आभास हुन्छ ।

उपन्यासले उठाएको मुख्य मुद्दा भनेको संसारका मानिसहरूको दु:खको विरुद्द कलम चलाउने लेखकहरुले आफ्नै परिवार भित्रका छोरीहरूको अस्तित्वलाई बेवास्ता गर्नुलाई एउटा ठूलो भुलको रुपमा प्रस्ट देखाउन खोजिएको छ।

जस्तै कि:

(क) जो छोरीहरूले ‘हामीलाई पनि गाउँको माया लाग्छ, बाबु आमालाई माया गर्ने, साथै राख्न्ने चाहाना हुन्छ’ भन्दा लेखकका साथीहरूले एउटा गतिलो केटासँग बिहे गर, त्यस्तामुला प्याङ्खर बारीको के माया गर्छ्यौ ?’ भन्छन् ।

(ख) गजल बनाइमाग्न आएका दाइकी श्रीमतिले ‘अन्तिम गाँस खान्नँ, छोरी पाइस् भने लखेटिदिन्छु भनेका छन् लोग्नेले’ भन्छिन्।

(ग) लेखककी आमाले ‘हैन, तिमेरु अझै यी दुइटी छोरीमा भर परेर बसिरहेछौ ? (वंश धान्ने छोरो चाहिन्छ) भन्ने संकेतमा आमाले बोल्दा पनि लेखकले केही पनि छोरीहरूको अस्तित्वको बारेमा बोल्दैन । बरू लेखककी स्वास्नी ‘नुमा’ले छोरीलाई वंश अधिकारसम्पन्न गराए समस्या समाधान हुन्छ भन्दा लेखकले उल्टै कुरा काट्दछ । यसर्थ, यो उपन्यास लेखक र लेखककी स्वास्नीबिचको कथाजस्तो लागे तापनि महिला अस्तित्त्व लडाईंको एउटा दस्तावेज(धरोहर) मान्न सकिने मैले देखेको छु ।

-अनि छुटाउनै नहुने अर्को कुरा : आजसम्म भनिँदै आएको ‘महिला दोस्रो दर्जा’ का पुरातनलाई यो उपन्यासले सर्लक्कै खनेर फालेको छ।किन कि, महिला र पुरुष दुई छुट्टाछुट्टै जाति रहेछन् र यिनमा आ-आफ्नै किसिमको विशेषता रहेछ ।

जस्तै:-प्राणी जगतमा आमाको स्थान सबैभन्दा माथि छ र यो स्थानमा महिला जान सक्तछिन् । आमाको स्थान कुनै पनि हालतमा पुरुषले लिन सक्दैन । यो पहिलो स्थान पुरुषले लिन सकेन भनेर कुनै पनि महिलाले पुरुषलाई कहिल्यै “तिमेरू दोस्राे दर्जाका  हौ ।” भनेका रहेनछन् ।

अर्को कुरा: बुद्धले शान्ति फैलाए, उनी महान् व्यक्ति भए तर महिलाले प्रकृतिका थालनीबाटै शान्ति चाहिन् र समाजमा कहिल्यै उपद्रो गरिनन् बरु उपद्रो पुरुष महिलाको संसर्गमा आएर शान्तिको लालसा गर्न थाले । शान्तिको वास्तविक अर्थ बुझ्न थाले । यस्ता शाश्वत तर भन्न बिर्सिएर बित्थैमा महिलालाई गाली गरिँदो रहेछ । यो उपन्यासमा यस्ता थुप्रै कुराहरूले पाठकलाई पुरानो कुरा सम्झिएझैं बेला-बेला झस्काइदिन्छ। म पनि झस्किएँ ।

यी बाहेक, उपन्यासमा जीवन उपयोगी दर्शन, चिन्तन, बिम्बकला, भाषाशिल्प, स्थानीय संस्कार र संस्कृति, प्रेम र धैर्यता, अभाव र बाध्यता,सामाजिक मनोविज्ञान तथा विभेदको दर्पण पर्याप्त छन् ।

प्रेमको अनुभूति हरेक आत्माभित्र हुन्छ, मात्र त्यो सम्पन्नतामा देखिन्छ र अभावमा ओझेल पर्छजस्ता भावले उपन्यास निथ्रुक्क भएको छ । लेखकले वास्तवमा व्यस्त समाजभित्र गृहस्थी नारीको अभावयुक्त भोगाइ र एक कुशल लेखक जो राष्ट्रिय स्तरको भएता पनि आर्थिक अभावमा लेखकको दाम्पत्य जीवनले कतिसम्म सास्ती खप्नुपर्छ भन्ने कुराहरु छर्लङ्ग पढ्न सकिन्छ । जसको प्रत्यक्ष असर लेखककी स्वास्नीले अर्थात नारीले भोग्नु पर्दछ ।

अन्तत: लेखककी स्वास्नीले लेखकलाई राष्ट्रको विभूति सम्झेर लेखक उनको श्रीमान् मात्र नभएर एक असल सहयोगी सम्झेको त्यो पल जो कसैको मुटु चसक्क हुन खोज्छ । यो नविनतम कृति “लेखककी स्वास्नी”द्वारा लेखक र लेखककी स्वास्नीको अन्तरमनभित्र प्रवेश गरी हामीले भोग्दै आएको समाज उतार्न सक्नु लेखकको खुबी मान्न सकिन्छ ।

===

यस उपन्यासमा खड्किएका कुराहरू :

एक कुशल लेखक, समाजको शान र राष्ट्रको गहाना हुँदाहुँदै पनि उनलाई आफ्नै स्वास्नी (श्रीमती)ले सम्मान दिन नसक्नु । र, उपन्यासलाई धेरै परिघटनाहरूले पुर्नु अर्थात् झ्याम्म परेको रुखमा कुन हो मुलहाँगा, कुन हो हाँगा थाहा पाउन गाह्राे भए जस्तै उपन्यासले उठाएको मुद्दा किटाण गर्न पाठकलाई हम्मे पर्दोरहेछ ।

लेखक कि स्वास्नी पढ्दै गर्दा खुब मन परेको पंक्ति –

‘जबसम्म महिला जीवित रहन्छे, उसको इज्जत बाँचिरहन्छ । इज्जत खल्तीको पैसा होइन र कसैले लुट्दैमा लुटिने र सकिने वस्तु पनि होइन ।’

पुस्तक प्रेमी हरेक व्यक्तिले एक पटक यो उपन्यास पढ्नै पर्ने अनिभूति गरेकी छु ।

‘लेखककी स्वास्नी’को दोस्रो भाग “थाङ्रो” छिट्टै विमोचन हुने खबर पाएको छु । आशा छ “लेखककी स्वास्नी “मा खड्किएका मुद्धाहरु “थाङ्रो”मा सुल्झिएको छ।

लेखक प्रगती राईको कृतिहरु मेरो लागि सधैं पठन योग्य रहे र आउने कृति “थाङ्रो” पनि उतिकै पठनीय बनोस् । लेखकलाई धेरै बधाई साथै कृति सफलताको शुभकामना पनि ।