कृति देशप्रेमले ओतप्रोत छ । व्यक्ति सातसमुद्र पारी रहँदा पनि आफ्नो देशको राष्ट्रियता, संस्कृति, संस्कार, चाडवाड, प्राकृतिक सम्पदा जस्ता कुराहरु छातीभित्र सल्बल्याइरहेका हुन्छन् भने विदेशमा रहेका हरेक नपालीले छातीमा देश बोकेर बसेको हुन्छ भन्ने भावले पाठकहृदय पगाल्छ ।
स्याङ्जामा जन्मेर देवदहमा हुर्किएका कवि, गीतकार अनि समाजसेवी व्यक्तित्व महेश्वर शर्मा करिब डेढ दशकदेखि अष्ट्रेलियाको सिड्नीमा कर्मथलो बनाएर बस्दै आएका छन् । निबन्ध लेखनबाट साहित्यिक यात्रा शुरु गरेका उनले विं.सं. २०७४ मा नै पहिलो कविता कृति ‘प्रवासका जूनहरु’ सार्वजनिक गरिसकेका छन् भने ‘संवेदनाकाे आकार’ उनको दोस्रो कृति हो । परदेशमा प्रविधिसँग प्रतिस्पर्धा गर्दै निर्वाह गरेको जीवनबाट समय व्यवस्थापन गरेर नेपाली भाषा साहित्यको प्रवर्द्धन र संवर्द्धनका लागि समर्पित हुनु भनेको ठट्टाको विषय होइन । विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक एवम् सामाजिक संस्थाहरुमा आवद्ध रहेर सक्रिय भूमिका निर्वाह गरिरहेका शर्मा हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष हुन् ।
महेश्वर शर्माकृत संवेदनाको आकारभित्र लामा छोटा गरेर जम्मा ४० वटा कविता सङ्ग्रहित छन् । पहिलो कवितामा नै आमाको महिमा र महत्व भाव अभिव्यक्त गरिएको छ ।
“फराकिलो हुनु भनेको आमा हुनु हो,
गहिरो हुनु भनेको पनि आमा हुनु हो,
आखिर आमा भनेको,
सागर भन्दा गहिरो हुनु रहेछ ।”
यसरी आमालाई सम्बाेधन गरेर शुरु गरिएका यस कृतिभित्रका कविताहरुमा बगर, ढुङ्गा, रुखको भोगाइ उल्लेख गरिएको छ । केही आकार बन्न खोप्पिनुपर्छ, ताछिनुपर्छ, हिर्काइनुपर्छ, बजारिनुपर्छ तर यहाँ मान्छे सित्तैमा आकार खोज्छ अनि प्राप्ति हुँदैन भन्ने भाव छ कतै भने कतै कविलाई आगो झोस्नेहरुनै प्रिय लाग्छन् किनकी आगोले नै त अँध्यारोलाई चिर्न साहस दिन्छ भन्ने लाग्छ । दुख दिने भनेको नजिककाहरुले नै हो किनकी कहाँ प्रहार गर्दा दुखाउन सकिन्छ भन्ने समिपकालाई मात्र थाहा हुन्छ भन्ने कविको भाव कवितामा पोखिएको छ ।
‘परमाणुभन्दा खतरनाक बचनको तीर हुन्छ’ बाँच्दा बाँच्न नदिने अनि मरेपछि फूलमाला पहिराउने, शालिक बनाउने, गुणगान गाउने सोच, कुरुप अनुहारमा रङ्ग पोत्ने पुरुषहरु दानव हुन् भन्ने प्रसङ्ग, जन्मदिने आमालाई आश्रम पठाउने अनि आमाको जन्मदिन भव्य जमघटमा मनाउने छोराको संस्कार, एक बोरा चामल दिएर फोटो खिच्ने अनि समाजसेवी भएको देखिने चरित्र, सामाजिक सञ्जालका कारण सम्बन्धहरु आत्मीय भन्दा बढि देखावटी हुँदै गएको प्रसङ्ग, भौतिक सम्पत्तिले सम्पन्न भएकाहरुले मानवीय संवेदना रित्तिएका हुन्छन् र यी भोको नै देखिन्छन् सँधै भन्ने भाव जस्ता थुप्रै मार्मिक भावहरु कृतिभित्रका कविताहरुमा छताछुल्ल पोखिएका छन् ।
प्रस्तुत कृति देशप्रेमले ओतप्रोत छ । व्यक्ति सातसमुन्द्र पारी रहँदा पनि आफ्नो देशको राष्ट्रियता, संस्कृति, संस्कार, चाडवाड, प्राकृतिक सम्पदा जस्ता कुराहरु छातीभित्र सल्बल्याइरहेका हुन्छन् भने विदेशमा रहेका हरेक नपालीले छातीमा देश बोकेर बसेको हुन्छ भन्ने भावले पाठकहृदय पगाल्छ । सन्तानका लागि भनेर भोकै र नाङ्गै नङ्ग्रा खियाएका बाआमाको दुःखमा नै मृत्यु हुन्छ । बाँच्दा एक गिलास तातो पानी नदिएका छोराहरु बा आमाको मृत्युपश्चात कुशे औँसी र मातातिर्थ औँसीमा वृद्धाश्रम गएर उँहाहरुको जन्मदिन मनाउँछन् भन्ने तितो सत्यले सिटामोल ओकलेको छ । कवि आमालाई नदीसँग तुलना गर्छन् । आमाहरु आफू हजारौँ ठक्कर खाँदै भए पनि अरुका लागि निरन्तर बगिरहन्छन् भन्ने कविहृदय आमाको सम्झनामा झुकेको छ । भीडमा निस्सासिँदै, तँछाड मछाड गर्दै लाइन बसेर मूर्तिमा दुध चढाउने अनि मन्दिर अगाडि मागेर बसिरहेका भोका पेटहरु नदेख्ने धर्मात्माहरु देखेर कवि चकित पर्छन् ।
घर, परिवार अनि समाजले छोरीलाई गरेको विभेद देखेर कवि हृदय अमिलो हुन्छ । छोरीले पनि मान्छे भएर बाँच्न पाउनु पर्ने कुरा कविले आफ्ना कवितामा अभिव्यक्त गरेका छन् । आफैले जन्माएकी छोरीलाई कम र छोरीको बिहेपश्चात जोडिएको सम्बन्ध ज्वाइँलाई बढी दक्षिणा दिने प्रचलनमा पनि कवि विभेद देख्छन् ।
मान्छे किन मान्छे भएर बाँच्न पाउँदैन ? र किन फेरि मान्छे भएर बाँच्न चाँहदैनन् ? जब मान्छे मान्छे भएर बाँच्दैन, तब मान्छेबाट मान्छे नै अस्ताउने सम्भावना हुन्छ भन्ने अत्यन्तै गहिरो भाव व्यक्त भएका मानवीय संवेदनाहरु कृतिभित्र प्रशस्तै भेटिन्छन् ।
कविले आफ्ना कवितामा छोराको मानवीय हृदयलाई घर, परिवार, समाजमा रहेका संस्कार नामका ऐजेरुले पत्थर बनाएको संकेत गरेका छन् । धन, नाम, दाम, इज्जत कमाउनु पर्ने ठेक्का छोरालाई नै दिएर जसरी पनि यी कमाउनै पर्छ भन्ने धूनमा छोराको हृदय निर्मम बनाइदिएको छ । ‘छोरामान्छे भएर रुन हुँदैन’ प्रचलनले छोरामान्छे भित्रको आँशु पत्थर जमाउन बाध्य बनाएको र यो समाजले के भन्ला भन्ने डरको कपडाले शरीर ढाकिएको हुनाले त्यो कपडा न धुँदा पखालिन्छ ! न च्यात्दा च्यातिन्छ भनेर कविले गहिरो संवेदना अभिव्यक्त गरेका छन् । कवि भन्छन् “तर यहि समाजमा एउटी आमा छिन् जो आफ्नो छोरालाई स्वतन्त्र बाँच्न भन्छिन्” ।
कृतिभित्रका कतिपय कविताहरुमा बस्तीका मान्छेहरुको स्वाभिमान निर्भिक उभिएको छ अनि सहरका मान्छेहरुको दरिद्रता छताछुल्ल पोखिएको छ । युगौँयुग नखाइकन अघाउँछन् बस्तीका मान्छेहरु, युगौँयुग खाएर पनि भोकाइरहन्छन् सहरका प्राणीहरु ? भन्ने वाक्यले पाठकीय मथिङ्गलमा ठूलो हल्चल ल्याउँछ । छिमेकीसँगको सम्बन्ध मिठास भइदिए हुन्थ्यो भन्ने अपेक्षा पनि कविले आफ्ना कवितामा अभिव्यक्त गरेका छन् ।
यसरी हेर्दा संवेदनाको आकारभित्र माटोको माया चुलिएको छ, राष्ट्रप्रेम पोखिएको छ, आमाको सम्मान उभिएको छ, समानताको आवाज ओकलिएको छ, विभेदको चित्कार बोलिएको छ, मानवीय संवेदनाको गुलाब फुलाएको छ, परदेशको भोगाइ समेटिएको छ, सकारात्मक सोचको सन्देश प्रवाह भएको छ । यति सरल भाषा शैलीमा यति गहिरो भाव अभिव्यक्त गर्न सकिन्छ भन्ने एउटा गर्भिलो कृति जन्मिएको पाठकलाई आभास हुन्छ ।
म जस्तै भुँइमान्छे पाठकका लागि नदी जस्तै शालीन बगेको भाव पठनयोग्य हुन्छ र बोेधगम्य पनि हुन्छ । संवेदनाको आकार अध्ययन गर्दै गर्दा त्यस्तै स्वाद पाइन्छ । एकै बसाइमा पढेर सकिने छरितो आकारमा तयार भएको, शुरु गरेपछि छोड्न मन नलाग्ने, मानवीय संवेदनाले ओतप्रोत कविता कृति संवेदनाको आकार सार्वजनिक गर्न सफल भएकोमा लेखकलाई हार्दिक बधाई एवम् कृति सफलताको एक भूगोल शुभकामना । नेपाली साहित्य आकाशमा शर्माको हातले समाएको कलमबाट अझै सशक्त साहित्यिक ताराहरु चम्किऊन् भन्ने कामना गर्दै पाठकीय हातले समाएको कलम यतै बिसाउँछु ।
जय साहित्य ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।