Chovar Blues Mobile Size

दार्जिलिङको नेपाली साहित्यमा दिल ठकुरीमा नाम नयाँ होइन। उनी विभिन्न पत्र पत्रिकामा छाएका छन्। उनका कविता, गजल लेखादिन पत्रिकातिर आइरहेका पाउँछौं। उनी आफ्नो धुनमा लेख-पढको काम गरिरहने, आफ्नै सुख-दुःखको संसारमा रही सुख दुःखकै भावलाई आफ्नै तरिकाले व्यक्त गरिरहने व्यक्ति हुन्। उनी एकजना भुक्तभोगी चिया श्रमिकदेखि कमानको मुन्सी बाबुसम्म बनेका एक इमानदार, सरल सोझा स्रष्टा हुन्। यो मोडसम्म उभिएर भन्ने मुक्तक सङ्ग्रहपछि यो गजल सङ्ग्रह ‘स्पन्दनका घाउहरू’ प्रकाशित भएको छ।

नवीन पौड्याल (कालिम्पोङ)

‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कलासँग घनिष्ठ सम्बन्ध राख्दै लयबद्ध, सरल र प्रतीकात्मक रूपमा लेखिन्छ। गजलमा मतला, मकता, मिसरा, मिसरा ए उला, मिसरा एक सानी, शेर, काफिया, रदिफ, तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै लेखिन्छ। गजल शव्दको अर्थ र इतिहासको बारेमा विभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भए तापनि गजलमा हुनुपर्ने मूलभूत तत्वहरुमा भने त्यति धेरै मत भिन्नता पाइन्न। गजलमा मूल रूपमा प्रेम-प्रितीका विभिन्न भावलाई व्यक्त गर्ने माध्यम हो। यद्यपि यसमा सबै विषयमा लेखिने गरिन्छ। कविता लेखनका क्रममा गजल फस्टाउनका निम्ति केही कारण छन्।

सर्वप्रथम त वर्तमान समय र अवस्थामा देश र समाजमा आएको सामाजिक, राजनैतिक, आर्थिक विकृतिलाई व्यङ्ग्य कस्न सुविधा भएको छ। अहिले देखिएका नेपाली गजलमा यस्ता सामाजिक राजनैतिक आदि पक्षमा देखिएका विकृतिलाई ठुङ हानेको देख्न पाइन्छ। जीवन बचाइका साह्रा-गाह्रा राजनैतिक वितण्डा र अप्ठ्यारा स्थितिहरूलाई सबैभन्दा प्रभावकारी ढङ्गमा अभिव्यक्ति दिने साधन अब गजल भएको छ। सामाजिक विकृतिमाथि व्यङ्ग्य व्यक्त गर्न घुमाउरो पाराले खासै असर पर्दैन वा प्रभावकारी हुँदैन। यसका लागि गजलको प्रयोग नै प्रभावकारी मानिन्छ।

भारतमा पनि नेपालको जस्तै धेरै गजलकार निस्किएका छन्। गजलका संरचना, बहर र प्रणालीलाई धेरैले पालन गर्न नसके तापनि गजलका धेरै नजिकसम्म पुगेका छन्। भारतमा पुस्तकाकार र विभिन्न पत्र-पत्रिका फाट्ट-फुट्ट रूपमा गजल लेखिए। लेख्ने भारतभूमिका वर्तमान पिँढीका गजलकारहरूमा गोविन्दसिंह घतानी गोविन्दे, गोविन्द शाण्डिल्य, खुसेन्द्र राई, दीपक ठटाल जलन, बासुदेव पुलामी, अनिलकुमार छेत्री, सुवास श्रेष्ठ, वीरेन्द्र खँड्का, असीम सागर, मनोज बोगटी, राजा पुनियानी, कमल रेग्मी, लीलाबहादुर छेत्री गोठाले, बलराम सापकोटा, डिल्लीप्रसाद अधिकारी, सुरेन्द्र चामलिङ, मनोहर शर्मा अविनाश, पवन नामदुङ, ध्रुब चौहान, शैलेन्द्र समदर्शी, सरिता समदर्शी, सन्तोष गुप्ता, सञ्जीव छेत्री, महेश दाहाल, कर्ण विरह, युवराज घलेभाइ, प्रकाश राई बादल, नवीन पौड्याल, कमल भट्टराई ‘भावुक’, मोहन ठकुरी, सपन प्रधान, पदम पराजुली, सूरज रोसूरी. सूरज सुब्बा, मिलन बान्तवा, केवलचन्द्र लामा, नोर्ज्याङ स्याङदेन, जस योञ्जन प्यासी, धिरेन छेत्री, धिरेश आचार्य, रोशन राई चोट, अरूण साङपाङ, छुदेन काविमो, सुकुमार बराइली, विकाश बान्तवा, योगेन छेत्री, दीपेन्द्र आचार्य सुमी, आई.के सिह, नैना राई, ज्ञानेन्द्र सुब्बा, विक्रम राई, दीलिपराज राई, बुद्ध राई, सुरज सुब्बा, प्रदीप कँडेल विप्लव, सुकुमार बराइली, शरद् रावत, दिवाकर ठकुरी, दिवाकर आले आदि प्रमुख हुन्।

उपर्युक्तबाहेक अझै पुराना र नयाँ हाँचका गजल लेख्नेहरू प्रकट भएका छन्। तीमध्ये दिल ठकुरी, सङ्गम सुधा, कृष्णनील कार्की, पुष्कर सिङ्गर, केशव शर्मा, कैलास पाण्डे, छिरिङ लेप्चा तुवाँलो, जमुना दाहाल, जिवीका अश्रु, दिलमान राई चोट, दीपक दवाडी, नम्रता शर्मा, निमा तामाङ, निरूविन्दु परियार, निर्मल तामाङ, पी लक्की शेर्पा, सुमन सरोवर, समिर शर्मा, सृजना अधिकारी, स्वर्णिम लिम्बू, हेमन्त भट्टराई, अजनीस राई, अनुप शर्मा, अर्जुन कार्की, आदर्श दाहाल, अदय थुलुङ, उमेश प्रधान, एम कुमार रिजाल, कमला तामाङ, कृष्ण पी ठटाल, कुमार खतिवडा, कुशल राई आक्रोश, जनकराज उपाध्याय, जे बी बराइली, दीपक पन्थ, ध्रुव चौहान, नैना अधिकारी, पवन नामदुङ, प्याट्रिक राई ठुले, प्रकाश कुइकेल, प्रितम आचार्य, प्रेम विश्वकर्मा, बी कमल राई, भानु खवास, मणिराज खनाल, मनोहर शर्मा अविनाश, महेश दाहाल, मिलन बोहोरा, मोहन छकुरी, रजत गोले, रेगन बमजन, राजु प्रधान हिमांशु, राम प्रसाद दाहाल, रोहिणी तुम्खेवा, राजेश तामाङ, लोचन ब्लोन, वसन्त थापा, केवलचन्द्र लामा, विकाश दुलाल, विकास विस्मित, विनोद रसाईली, विमल खतिवड़ा माइला, विशाल के सी, विष्णुकुमार बराईली, शर्मिला प्रधान, श्रवण कुमार प्रधान, सञ्जीव छेत्री, सिमरण कौर, सुरज खनाल, सुरेन गुरूङ आदि सक्रिय छन्।

प्रायः कविहरूले गजलमा पनि हात हालेको पाइन्छ भने कतिपय त गजलमा नै एकनिष्ठ समर्पित भई लागेका पनि छन्। भारतीय गजलका लेखन परम्परा, प्रवृत्ति, गजलकार र तिनका कृतित्व आदिका बारेमा समीक्षात्मक अध्ययन पनि आएका छन्। यस क्रममा डा दिवाकर प्रधान, डा जस योञ्जन, नवीन पौड्याल, सुवास श्रेष्ठ, शैलेन्द्र समदर्शी, मिलन बान्तवा, डा गोमा देवी शर्मा आदि रहेका छन्। अझ शैलेन्द्र समदर्शीको लेखनमा रहेको ‘गजल सिद्धान्त र सिर्जनावलोकन’, मिलन बान्तवाको सम्पादनमा साहित्य अकादमीको नयाँ दिल्लीबाट ‘भारतीय नेपाली गजल’, डा. जमदग्नि उपाध्याय सम्पादनमा रहेको ‘गजल सिद्धान्त र विकास यात्रा’ जस्ता ग्रन्थ पनि प्रकाशित भएका छन्।

गजललाई नेपालबाट ललिजन रावल, डा घनश्याम परिश्रमी, डा देवी नेपाल, देवी पन्थी, घनेन्द्र ओझा आदिले सैद्धान्तिक रूपमा धेरै परिचर्चा गरेका गरेका छन्। यता भारतबाट पनि शैलेन्द्र समदर्शी, सुवास श्रेष्ठ, नवीन पौड्याल, मिलन बान्तवा, जस योञ्जन प्यासी आदिले गजलबारे केही मात्रामा परिचर्चा र समीक्षण गरेका छन्। हालसम्म यता भारतबाट पचासवटा जति गजलसङ्ग्रह प्रकाशित भएका छन्। त्यसबाहेक मिलन बान्तवाको सम्पादकत्वमा रहेको ‘भारतीय नेपाली गजल’ (2022) साहित्य अकादमीबाट प्रकाशित भएको छ जसमा 135 जना रचनाकारका गजल समावेश भएका छन्। गजललय, लालिमा जस्ता गजलप्रधान पत्रिका पनि प्रकाशित भएका छन्। लालिमाको निरन्तरको कामना गर्दछु।

 

नेपाली गजल सिर्जनाको मानचित्रमा अब टिस्टा भ्याल्ली, दार्जिलिङका दिल ठकुरी (जन्म १४ मार्च, १९५६, टिस्टा भ्याल्ली, दार्जिलिङ) को नाम पनि अङ्कित छ। उनको यी मोड़हरूमा (२०११) भन्ने गजलसङ्ग्रहपछि अब ‘स्पन्दनका घाउहरूमा’ जम्मा एक सय छप्पन्नवटा गजलहरू समावेश छन्। यसमा उनले आफुले बेला बेलामा लेखेका गजलहरूलाई पुस्तकमा उतार्न खोजेका छन्। लाग्छ, उनका जीवनका कमाइ नै यिनै गजल हुन्।

यसमा रहेका गजलहरूको अध्ययन गर्दा हामी जातीय चेतना, वर्गीय चेतना, रागात्मक चेतना, जीवन अनुभव, दार्शनिक चेतना आदि जस्ता प्रवृत्ति पाउँछौं। उनका निम्ति गजल आफ्नु जीवनानुभतिलाई पोख्ने साधन बनाएका छन्। उनी आफुले जीवनमा अनुभव गरेका अनुभव, ज्ञान, विचार आदिलाई गजलमा अभिव्यक्त गर्ने प्रयास गरेका छन्। उनका गजलमा जीवनानुभूति पोखेका छन्। उनी गजलमा भावसचेत हुन्। मनमा उब्जेका भावलाई सक्दो अभिव्यक्ति दिएका छन्।

दिल ठकुरीका गजलमा आफू बसेको परिवेश चिया कमानको श्रमिकहरूको अवस्थालाई पनि आक्रोश, विक्षोभको भावमा व्यक्ति गरेका छन्। उनका निम्ति चियाकमनाका श्रमिकहरूको आर्थिक, सामाजिक, राजनैतिक अवस्था कारूणिक छश्रमिकहरूले न्यूनतम श्रममूल्यसम्म पाउने गर्दैनन्। चियाकमान शोषकहरूको थलो भएको छ, श्रमिकहरूको अवस्था जस्ताको तस्तै छ। उनीहरूको आर्थिक अवस्था सुध्रिएको छैन। उनीहरू अन्यायमा परेका छन्-

“अन्याय र शोषणमा दबिएर बाँच्ने कतिसम्म

निर्धोहरूको सङ्घर्षको जिउँदो राँको सल्किन सकिनँ।”

हाम्रो जातिको बासभूमिको समस्या, ग्रामीण र चियाकमानको जनजीवनका गरिबी र अभाव आदिलाई यथास्थान दिएका छन्। यसका साथै प्रेमानुराग र प्रेमपीडालाई पनि प्रस्तुत गरेका छन्। प्रेमका विषयमा आत्म विलयन, प्रेमका विभिन्न मनोभावलाई व्यक्त गरेका छन्। यसका साथै दार्जिलिङको बिग्रँदो राजनितीलाई पनि इंगित गरिएको छ। दार्जिलिङ पहाड़का नेताहरूले स्वार्थको राजनिती गरेको, सिद्धान्तलाई बिर्सेर दलमा यता र उता गरेको देखेर गजलकार कुण्ठित छन्-

“पहाड़े राजनितीको अखाड़ामा भान्सा चखुवा

वल्लो घर पल्लो घरको चलखेल नसरे भइगो।”

दार्जिलिङलाई राजनितीले पिरोलेको, लुटाहाहरूले लुटेको, धूर्तहरूले धुतेको कुरालाई अघि सारेका छन्। मान्छेका स्वार्थीपना, लोभ-लालच आदिलाई देखिएको छ। हाम्रा युवा युवती कुबाटामा लागेको, फेशनले ग्रस्त भएको, समाजमा अन्य विसंगति आदिबारे चिन्तन गरी गजलमा प्रस्तुत गरेको छ। उनकै जीवनका विभिन्न मोड़हरू बितेर गए तर चियाकमानको अवस्था उस्तै छन्। खासै विकास भएको छैन। श्रमिकहरूले पाउने सुख-सुविधा र सहुलियतहरू अझैसम्म राम्रो उपलब्ध छैन। चियाकमानका श्रमिकहरूलाई राजनैतिक दलहरू, मालिक पक्ष आदिले उपयोग मात्र गरी शोषण गरिएको कुरा उल्लेख पाइन्छ। कतै मिठो सूक्ति, जीवनभोगाइको अनुभव यसरी व्यक्त गर्दछन्-

“जोड़ घटाउ गुणा भागमै चल्यो जिन्दगी,

ओहोर-दोहोर र भागदौड़मै गल्यो जिन्दगी।”

दिल ठकुरी एक इमानदार र कर्मठ व्यक्ति हुन्। उनी आफूले मनमा खिलेका कुराहरूलाई गजलमार्फत् पोखेका छन्। यहाँ प्रेमका राग, अनुराग, प्रेमपीडा, मधु र कटु रूपमा प्रस्तुत गरेका छन्। कतै आत्मविलयन, कतै व्यक्तिगत अनुराग, कतै नैराश्य कतै खुशी व्यक्त गरिएको छ। मानिसमा जसरी मनको अवस्था परिवर्तन हुन्छ, त्यसरी नै यहाँ गजलकारको मनको अवस्था बदलिएको पाइन्छ। कुनै गजल पनि एक रसका छैनन्। विषयगत वैभिन्य, अनुभूतिगत चञ्चलता, प्रस्तुतिगत रोचकता उनका गजलका प्राप्ति हुन्। सामान्य पाठकलाई उनका यी गजलहरू रोचक र रमाइलो र आफ्नै अनुभूति समतुल्य लाग्दो लाग्न सक्छ। जीवनका उकाली ओरालीका संवेदना र अनुभवलाई नै गजलमा पस्केका छन्।

दिल ठकुरीका गजलमा हुनुपर्ने सामान्य नियम कति पालन भएका छन् वा छैनन्, त्यो त विज्ञ पाठकले नै उनका गजल पढेपछि थाहा पाइहाल्नेछन्। गजलका अनिवार्य चाहिने कुरा काफिया, रदीफ आदिको समेत राम्रोसँग निर्वाह भएको पाइन्न। यसमा शैली पक्षलाई ध्यान नदिएको यद्यपि उनले गजललाई मनका भावलाई पोख्ने माध्यम बनाएका हुन्। उनी भावनामा बगेका छन्, आक्रोश, पीडा, व्यक्ति गरेका छन्, सन्देश दिन चाहेका छन्, जीवन अनुभवलाई पाठकसामु प्रस्तुत गरेका छन्।

पाठकले यसमा रहेका गजललाई काफिया, रदीफ, मतला, मकता, मिसरा ए उ मिसरा ए सानी आदिलाई ख्यालै नगरी गजल भनेर नै पढ़्ने छन्। कतै काफिया जबर्जस्ति मिलाउन खोज्दा कतिपय निरर्थक शब्द, अर्कै अर्थ प्रदान गर्ने शब्दको पनि प्रयोग भएको पाइन्छ। जस्तो अर्थै नलाग्ने ‘देरकार’, आत, पिरथी, जण्डाल, झट्टु,चामेर, चोलियोस्, गाजि, जाँडो, शब्द प्रयोग भएको पाइन्छ। ठकुरीजीले लेखेर हामीलाई पस्केर दिए, अब यसको रसास्वादन गर्ने हाम्रो पालो। उनको कलम अझै चलोस्, गजलका सैद्धान्तिक पक्षहरूको पढेर अझै राम्रा राम्रा र सशक्त गजल प्रकाशित हुन्न भन्ने कामना गर्दछु। प्रस्तुत पुस्तक पाठकको हातमा छ। जसलाई जे लाग्छ, त्यही नै बुझाइ हो, त्यही नै मूल्याङ्कन हो भन्ने सकिन्छ।