कुनै पुस्तकहरु मस्तिष्कले मात्र पढिँदैनन् । त्यसको मर्मस्पर्शी शब्दहरु हृदयमा टाँसिएर बस्छन् । पुस्तकका प्रत्येक शब्द अनि भावले  लामो समयसम्म कम्पनयुक्त  झङ्कार पैदा गराउँछन् । यो ठिहिर्याउने पुसको जाडोमा पनि  त्यै झङ्कारले कम्पायमान भएको छु। मर्ममै प्रहार गर्ने भाव  अनि न्याययुक्त चेत भएको सामान्य मानिसलाई पनि यो पुस्तकले त्यै विदीर्ण मनोदशाको मानिस बनाइदिन्छ जुन म आज आफैँ भोग्दै छु।

बिमल बस्याल

उदय प्रकाशद्वारा लिखित “मोहन दास” उपन्यास राज्य र व्यवस्थाको खोक्रोपन र मृत चेतना बोकेको समाज प्रति गहिरो व्यंग्य गरिएको छ।  समाजको मृत परम्परा, चेतना अनि तिनका मूल्य मान्यताप्रति धज्जी उडाउने यो कृति मानवीय मूल्य अनि भावनासँग समभाव राख्ने आजसम्म कै उत्कृष्ट कृति मानेको छु।

तर संयोग कस्तो भने पुस्तकालयमा यो पुस्तक पढ्दै गर्दा उता यस्तै खाले घटना घट्यो। सुनसरी एक ज्वेलर्समा काम गरेकै आधारमा र एउटा अमुक हस्ताक्षर गरेकै भरमा सामान्य मजदुर गर्ने गरिबमाथि करोडौँको जरिबाना गर्दै अदालतले दोषी करार गरेको छ। जाहेरी दिने व्यक्तिले  जाहेरी दिने निवेदनमै उहाँको कुनै संलग्नता छैन भन्दा पनि न्याय गरेकाे देखिएन ।

यस्ता घटना धेरै घट्ने भए पनि सार्वजनिक थोरै नै हुन्छ।  तर हाम्रो जस्तो देशमा (खोक्रो आदर्श अनि ढोंग रच्ने समाजमा) गरिब र कथित जातजातिको नाउँमा कतिसम्म नीच व्यवहार हुन्छ भन्ने दृष्टान्त हो यो घटना।

उपन्यासमा बिम्बात्मक रुपमै लेखकले  मोहनदास उनकी श्रीमती कस्तूरबा, आमा पुतलीबाई, अनि बाबु कावादास नै पात्र राखेका छन् र भारतीय  महान कवि गजानन माधव मुक्तिबोध न्यायिक आसनमा छन्।

जसको वास्तविक जीवनमा पनि यिनै पात्र हुन् गान्धीको परिवार ।  गान्धी जीवनभर सत्य अनि अहिंसाको पक्षमा सतिसाल झैँ उभिरहे तर उपयोगको राजनीतिले उनैको सहकर्मी मानिएका जवारलाल नेहरु, मोहम्मद अलि जिन्ना, सरदार बल्लव भाइ पटेल ढोंगी स्वार्थको चक्रमा फसे।  तिनकै कारणले हिन्दु-मुसलमान युद्द भयो।  अनि उनले सत्याग्रह गरे। यही सत्य र अहिंसाका महान अनुयायीलाई उनकै समाजका एक व्यक्तिले गोली हानी मारिदिए।  गान्धीको वास्तविक नाम हो “मोहनदास करमचन्द गान्धी” । तिनै गान्धी आजको भारतमा कति निरिह छन् भन्ने महान ट्रेजेडीको कथा हो- “मोहनदास” ।

कबिरपन्थी समुदायमा मोहनदास विश्वकर्मा  पहिलो बि ए पास गर्ने व्यक्ति थियो।  देशभरमै पहिलो श्रेणीमा दोश्रो टपर भएर आफ्नो समुदायको नाम उँचो राखेको थियो । अखबारमा उसको फोटो छापिएको थियो।  स्वाभिमान, इमान्दार उसका पर्याय थए।  सोर्सफोर्स, जालसाजी लगाएर जागिर खाने उसको औकात र स्वाभिमान अनि पहुँच थिएन। त्यसैले लिखितमा जति धेरै अंक ल्याए पनि अन्तर्वार्तामा सधैँ फालिन्थ्यो।  अरु आठ पास वा थर्ड डिविजनहरुले जागिर पाइरहेका थिए।  निरास भएर अन्तमा ऊ बाँसको सामाग्री निर्माण अनि तरकारी खेतीमा लाग्यो।

लेनिन नगरको ओरियन्टल कोल माइन्सबाट एकदिन अन्तर्वार्ताको लागि चिठी आयो। अन्तर्वार्ता अनि प्राविधिक परीक्षामा पनि ऊ पास भयो।  पन्ध्र दिनमा उसको नियुक्ति हुने पक्का भयो।  त्यै खुसियालीमा ऊसँग भएको दुई हजार आफ्नो परिवारको लागि खर्च गर्ने निधो गर्यो। बच्चाको लागि नियमित दुधको पनि व्यवस्था भयो।

तर तोकिएको चिठी समयमा आएन।  तीन पल्ट अफिसमा गएर सोध्दा पनि नियुक्ति पाएन। पछिल्लो पल्ट त झनै रुखो व्यवहार भोग्यो।  उसलाई लाग्यो यो पनि उसको हातबाट गयो।  उता घरमा ठुलो आशाले परिवार बसेका छन्।  कामको चाप परिसक्यो, ऋण पनि लागिसक्यो। त्यसैले उसले यो जागिरको आश मारी आफ्नै काम धन्दातर्फ फर्क्यो।  तर चार वर्ष पछि उसकै जेठानबाट थाहा पायो बिछिया टोलको जमिनदार नगेन्द्र नाथको छोरो बिसनाथले उसकै नामबाट जागिर खाएर सबै सुविधा भोग गरिरहेछ।

मोहनदास एक्कासि जमिन भासिएको महसुस गर्यो।  प्रमाणपत्रहरुमा उसको फोटो टाँसिएको थिएन। त्यसैको फाइदा उठाएर बिसनाथले आफ्नो  तस्बिर टाँसेर आवश्यक सबै ठाउँमा प्रमाणित गरायो।  ब्राम्हण बिसनाथ अब कामी मोहनदास  उसको बाउ नरेन्द्रनाथ कावादास पत्नी अमिता कस्तूबाई, आमा रेनुकादेवी पुतलीबाई बनेर सुविधा भोग गरिरहेछ। सारा गाउँ जान्दछ कि वास्तविक मोहनदास को हो ? तर सत्यको पर्दा छेउ पर्ने कसैको आँट  भएन।

मोहनदास कोल माइनस पुग्यो हाकिमलाई सत्य कुरा बताउने संकल्प लिएर । उसको कोठाको ढोकासम्म नपुग्दै ऊ अपमानपूर्वक कोठाबाट निकालियो। उसलाई स्नातक उत्तीर्ण भनेर कसैले पत्त्याएन।  दुखको आँधी  सामना गरेर उसको आफ्नै अनुहार पनि नचिनिने भैसकेको थियो।  खानको लागि दमडि नै नभएको अवस्थामा  उसको आङ ढाक्नको लागि उपयुक्त प्रबन्ध हुन सक्दैन थियो।  झुत्रे झाम्रे देखिएरै  पनि ऊ अपमान सहन बाध्य हुनपर्यो । कथित सभ्य देखिने भए पनि हाकिमले घुसको अन्धोपनले चिन्न सक्ने कुरै थिएन।  सुरक्षाकर्मीले बाहिर निकालिदियो।

मोहनादासको सहपाठी  बि ए थर्ड डिविजन  बिजय सब इन्सपेक्टर भइसकेको थियो।  जिपमा आइरहेको बिजय र मोहनदासको परिचयपत्र भिरिरहेको बिसनाथ रक्ताम्मे मोहन दासलाई देख्छ।  बिजयले बेस्सरी जिप कुदाएर मोहनदासलाई किच्न खोज्छ तर बिजुलीको पोलमा छेकिएर मोहनदास बाँच्यो।

“ए बिसनाथ मर्न लाग्यो ? किन गाडीअगाडि आउँछस् ?” उनीहरुले भने।  त्यस बिरानो सहरमा उसलाई  चिन्ने कोही थिएन।  तर महा बदमास बिसनाथ बदनाम थियो।  आफ्नो परिचय त हरायो नै ऊ फटाहा बिसनाथमा परिणत भयो। पुरै बजारमा बिसनाथ आफूलाई कोल माइन्सको डिपो अधिकारि भएको कुरा गर्दै हिँड्छ भन्ने हल्ला फ़ैलाइएको थियो।  त्यसैले अर्को चोटी अफिसबाट भित्र छिर्न पाएन।

पछि एक चिनारुमार्फत महा प्रबन्धक एस के सिंहलाई भेटेर सत्य कुरा बतायो सिंहले । उसको कुरा राम्ररी सुन्यो। छानबिन गर्न अफिसर श्रीवास्तवलाई निर्देशन दियो।  उता बिसनाथले आफ्नी श्रीमतीको जवानी र पैसाको सदुपयोग गर्यो।  न्याय पाएन उसले।  यस घटनाले मोहनदास विक्षिप्त भयो।  उता प्रोजेक्ट निर्माणार्थ कठिना नदीमा बनेको बाँधले तरकारी जमिन जलमग्न भयो। कहिले मदिरा नपिएको ऊ कडा खाले मदिराको कारणले दस दिनसम्म बेहोस भयो । त्यही बिचमा उसको बाबु कावादासको मृत्यु भयो। दागबत्ती पनि उसको छोरो देवदासले दियो।

न्यायप्रेमी हर्शबर्धन सोनीले उसको मुद्दा लड्ने बतायो। तर मुद्दा दर्ताका लागि चाहिने पाँच हजार रुपैयाँ ऊसँग भएन।  सोनीले आफ्नै खर्चमा उसको मुद्दा लड्यो। बिसनाथले मजिस्ट्रेट र साथीहरुलाई घुस दिएर आफ्नो पक्षमा पार्यो।  मोहनदास हार्ने पक्का पक्कि भयो।  न्यायिक दण्डाधिकारि गजान्धमाधव मुक्तिबोध न्यायाको  लागि प्रख्यात थिए।  आपतकालीन सुरक्षित न्यायिक अधिकार प्रयोग गरी उनी आफैले जाँचबुझ गरे।  जालसाजी गरेकालाई थुनाइदिए। मोहनादासले क्षतिपूर्ति पाउन बाँकी थियो तर अचानक मुक्तिबोधको मृत्यु भयो।

बिसनाथाको वकिल रासबिहारी पार्टिको खेलाडी थियो। सारा गाउँलेबासीलाई थाहा छ मोहनादास विश्वकर्माको नाममा बिसनाथले जागिर खाइरहेछ। तर सरकारी कागजमा मोहनदास वास्तविक मोहनदास हैन।  उसको साक्षी लाग्ने कोही भएन।  बिसनाथ र नागेंद्रनाथ छुटे। सहि बिजयको सहयोगमा बिसनाथाले प्रहरी माटोमा लियो र उसको हात खुट्टा भाँचिदियो।  उसको बाह्र बर्षे छोरो गायब पारिदियो। छोरोको अवस्था सहन नसकेर अन्धी आमा  पुतलिबाई मरी। बिसनाथले सारा सहर अनि गाउँमा संहार मच्चायो। मान्छे उजुरी गर्न जाँदा मोहनदासको नाउँमा उजुरी गर्थे तर प्रहरी उही मोहनदासलाई पक्री कारबाही गर्थ्यो।  अन्तमा ऊ मोहनदास आफू नभएको दावा गर्न लायो अनि मोहनदास नभन्न आग्रह गर्थ्यो।

 …

 

वास्तवमा मोहन दास सुक्तियुक्त भाषा अनि सुखान्त कथाको रुपमा परिचित छैन । मलाई यो उपन्यास पढ्दा मेरो  मस्तिष्क आन्दोलित भइरह्यो।  प्रतिबिम्बयुक्त भाषा अनि सुक्तिको रुपमा भन्दा पनि भावको लालित्यले पाठकको मन मस्तिष्क हल्लाइदिन्छ।  समाजमाथिको चोटिलो व्यङ्ग्य अनि चोटिलो भाषा शैली र नश्लीय जातिवादले ग्रस्त समाजको वास्तविकता देखाइदिने यस उपन्यासले जातीय अनि आर्थिक अहंकारको विभेदग्रस्त समाजको वास्तविक ऐना प्रस्तुत गर्दछ।  दक्षिण एसियामा यस्तै समस्या फैलिएको छ । जातीय द्वन्द्व, सामाजिक  र आर्थिक समस्याकै कारण मात्र नभएर श्रेणी विभाजनको तल्लो तहमा पारिएर केही देशहरू न्युनतम समवेदनाबाट समेत वञ्चित छ। यो समस्या भारतको मात्र नभई समग्र नेपालकै एक बेजोड कथा साहित्यमार्फत कथिएको छ।

प्रतिबिम्बको रुपमा उदय प्रकाशले चयन  गरेका यी पात्र माहात्मा गान्धी र उनको परिवारसँग मेल खानु एउटा संयोग मात्र होइन। आधुनिकतम भारतमा माहात्मा गान्धी कति असान्दर्भिक हुँदै गइरहेका छन् भनेर वास्तविक चित्र प्रस्तुत गर्दछ। झन् आजको समयमा बि जे पिले गर्ने धार्मिक वकालत अनि जातीय श्रेष्ठताको मुद्दा मूल्यांकन गर्नु पर्दा गान्धीले जीवनभर गरेका त्याग र सत्यको वकालत आज धूलिधूसरित हुन गएको छ।  नत्र भने गान्धीको विचार समयानुकूल लागु गर्नु सट्टा उनकै हत्यारा नाथुराम गोड्सेको चर्चा र गुनगान गाउनु नै न्याय ठहरिएको छ । यो आजको समाजमा ज्यादै निस्क्रिट कार्य हो। तसर्थ समाज जति अग्रगमन आधुनिकतातर्फ जाँदै छ त्यति नै नस्लीय राष्ट्रवाद, जातिवादले जरा गाडिरहेछ। आधुनिक विचारसँग नाता नगाँसेर चार पाँच सय वर्ष अगाडिको धार्मिक मूल्य-मान्यतासँग समभाव राख्नु आजको समयको लागि सान्धर्भिक र उपयुक्त  हुन्न।

मोहनदासकै दैनन्दिनसँग  रहेरै हाम्रो समाजको मूल्यांकन र दाँजो ज्यादै उपयुक्त हुनेछ। सत्ता शक्ति र पैसासंग हेलमेल र उठबस हुनु मानवीय गुण नै विडम्बना बनेको छ। जो सत्ता र शक्तिबाट टाढा छ अनि कथित तल्लो जातको छ भने ऊ न्यूनतम न्यायबाट विमुख हुनु पर्छ । यस्तो दृष्टान्त पढेलेखेका अनि  बौद्दिक समाजमा समेत भेटिन्छ।

साहित्य अकादमी पुरस्कारबाट सम्मानित यस कृतिका लेखक भुइँ तहका मानिसको आवाज बोल्ने लेखक हुन्। साहित्यकै माध्यामबाट शोषित र दमित समाज र व्यक्तिहरुको आवाज दिने लेखक हुन् । न्याय र समानताको खोल ओडेका ढोंगीहरुको पर्दाफास गर्छन् अक्षरका माध्यामबाट।  र  अन्तमा उनी लेख्छन् मोहनदासको गाउँ पुरंबरा तपाईंहरूलाई पोरबन्दरको याद आउँदैन ? किनकि महात्मा गान्धी पोरबन्दरमै जन्मेका हुन्…।