
बडा दशैँको रमाइलो व्यस्तताले अलि हल्का महसुस भएपछि म सुनबर्षी पुस्तक पसल इटहरी पुग्छु । हुन त मेरो लागि दशैँअघिकै पार्सल प्याक हो यो पुस्तक । तर दशैँ सकिएपछि मात्रै बुह्रानसँग सङ्गत भयो । पहाडी परिवेश र वातावरणमा जन्मी हुर्की गरेकी पहाडी मान्छे म, यस पालदेखि मधेसी बन्दैछु । मतलब म इटहरी बसाइँ सरेको छु ।

सुष्मा दाहाल
मैले बसेको ठाउँ तराई मलाई मधेसको सङ्घर्षको कथा पढ्ने रहर त यसै हुने नै भयो ।कुनै पनि साहित्यिक कृति पढिसकेपछि त्यसबाट प्राप्त भएका ज्ञानरुपी खुराकहरु पस्किएर लेखकसम्म पुग्नु एक असल पाठकको कर्तव्य र धर्म पनि हो । जब म बुह्रानको गाता पल्टाएर हरेक पानाका शब्द,वाक्य, हरफ र प्याराग्राफहरुमा एकाग्रताका साथ डुबुल्की मार्न थालेँ : एक प्रकारको तृप्ति लिएर यो टिप्पणीमुलक सामग्री नलेखी रहन सकिनँ । करिब सवा तीनसय पेजको उपन्यास तीन खण्डमा विभाजित छ : सपना सङ्घर्ष र स्वाभिमान शीर्षकमा ।
एक, दुई, तीनजस्ता पन्ध्र उपखण्ड छन् । निङ्मा नामकी पूर्वी पहाडकी युवती भूमिसुधार अधिकारीका रूपमा पश्चिम तराईमा पुगेपछि आफ्नै कार्यालय सहयोगी पहाडी नाम गरेको थारूको सहयोगमा बुह्रान बद्रीपुर पुगेर माइला थारू र पार्वतीसँग भेटी उनीहरूका जीवन सङ्घर्षका कथा सुन्छिन् । त्यसलाई टिपोट गरेर कथाको रूप दिन्छिन्।
…
पहिलो खण्डमा थारूहरूले लामो समय विभिन्न नाममा दास जीवन बिताएपछि नयाँ सम्भावनाको खोजीमा नयाँ मुलुक (बुह्रान) आएको कथा छ भने –
दोस्रो खण्डमा मूलतः स्याङ्जाको अर्जुनचौपारी पार्वतीका परिवारको कथा भनिएको छ । आर्थिक अभावले तराईलाई विकल्प बनाएको पार्वतीको परिवार बद्रीपुर पुगेपछि माइला थारू र पार्वतीको परिवारबीचको आत्मीय सम्बन्धले उपन्यासमा महत्त्व पाएको छ । यी दुई परिवारका माध्यमबाट थारू र पहाडियाबीचको आत्मिक सम्बन्धलाई उपन्यासमा विशेष महत्त्व दिएको देखिन्छ । भूगोलको रेखाले आत्माको सम्बन्धलाई फरक नपार्ने कुरा जति मैले बुझेको थिएँ , त्यो भन्दा बलियो धारणा बनाउन सफल बनायो यो भागले।
मेरो बुझाइमा यस उपन्यासको मुख्य उद्देश्य भनेको : परिश्रमी र इमान्दार भएर पनि थारूहरू सधैँ भूमिहीन किन भए ? दास बनेर गाँस, बास र कपासको लागि सधैँ किन सङ्घर्ष गर्नुपर्यो भन्ने देखाउनु हो भन्ने लाग्छ ।
पाठकका नाताले उपन्यासको तेस्रो खण्ड स्वाभिमान सबैभन्दा शक्तिशाली लाग्यो । पहिलो खण्ड कथानक उठानमा अल्मलिएको हो कि भन्ने लाग्छ भने दोस्रो खण्ड पहाडी जीवनमा केन्द्रित हुन पुगेको छ । उपन्यासले आर्थिक गरिबी, सोझोपन, अशिक्षा र सामाजिक अन्यायमा परेकाको कथा भन्ने अभिष्ट लिएको छ । शिक्षा र उपयुक्त पाठ्यक्रमको अभावलाई थारू जाति शिक्षाबाट वञ्चित हुनुको मुख्य कारण भएको ठहर उपन्यासमा गरिएको छ । तर पार्वतीको पारिवारिक विचल्लीको मुख्य कारण विभेद, अन्याय, अशिक्षा नभएर नियति बनेको छ ।
पहाडमा पनि विभेदका कथा छन् । तिनलाई उठाउनुपर्ने थियो भन्ने लाग्छ । पहाडको कथालाई छोट्याएर मधेसमा थारू र पहाडीको सङ्घर्षलाई र बाठा थारूबाट सोझा थारू ठगिएको विषय अझ विस्तारमा उठ्नुपर्ने भन्ने लाग्छ । सोमलाल र रमिताको यौनसम्बन्धको नालिबेलि र विस्तार पनि सान्दर्भिक नै छ । सोमलाललाई पढाइप्रति रुचि नहुनुभन्दा रुचि हुनु तर आर्थिक र पारिवारिक समस्याको कारण स्कुल छोड्नु परेको दुखद परिवेश तराईको मात्रै नभै पहाडको पनि समस्या हो किन कि हामी आम नेपाली सबैले यस्ता घटनाहरु भोग्नुपरेकै छ !
सोमलालले भूमिसुधार आयोगको सदस्यको नियुक्ति च्यातेको घटनामा उपन्यासको बिट मारेको छ , जसलाई ज्यादै प्रभावकारी र सुनौलो अन्त्य भन्छु म । लेखकले जुन उद्देश्यले यो घटना सिर्जना गरेको भए पनि सोमलालको अदूरदृष्टि, सोझोपन, थारूहरू पछि पर्नुको कारणका रूपमा लिन सकिने देखिन्छ ।आयोगमा नियुक्ति पाउनु जमिन पाउनुभन्दा ठूलो हो भन्ने नबुझ्नु सोमलालको दुर्बलता हो र यो आम थारूहरूको दुर्बलता हो जसले गर्दा उनीहरू पछि परेका छन् भन्ने देखिन्छ ।
समग्रमा बुह्रान उपन्यास ज्यादै शक्तिशाली र सुन्दर छ भन्ने मेरो बुझाइ छ ।
यस सुन्दर कृतिका कृतिकार महानन्द ढकाललाई धेरै धेरै बधाई दिन चाहन्छु । आउँदा दिनहरुमा पनि यहाँका करबाहुलीबाट यस्तै अब्बल कृतिहरु सिर्जना हुनसकून् भन्ने शुभेच्छा पनि प्रकट गर्दछु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

नेपाली यात्रा–संस्मरणमा एक नवीन आयाम ल्याउने जानुकाे ‘तमाेरकाे सुसेली’
