विगतमा महाकाव्यको जुन भूमिका थियो आज उपन्यासको त्यही महत्त्व छ । देश, समाज, परिवार, व्यक्ति सबैको बहुआयामिक अध्ययन गर्ने विधा नै उपन्यास हुन पुगेको छ । पश्चिमी साहित्यबाट विकसित भएर आएको यो विधा आज विश्व साहित्यकै मूल विधा हुन पुगेको छ । अनेक पात्र र घटनाहरुका माध्यमबाट जीवन र संसारलाई चिनाउने भएकैले यसले यस प्रकारको सम्मान पाएको हो । उपन्यास आफैँमा इतिहास त होइन तर इतिहासलाई इतिहास बन्न सहयोग गर्ने महत्त्वपूर्ण विधाचाहिँ हो । किनकि यसले विभिन्न कालखण्डमा भएका सामाजिक, ऐतिहासिक तथा मनोवैज्ञानिक रुपमा समाजको अध्ययन गर्दछ । जसका आधारमा कैयौं अनुसन्धानहरु तथ्यको नजिक पुग्न सक्छन् ।

कृष्ण धराबासी

नेपाली साहित्यमा उपन्यासको यात्रा धेरै लामो छैन । वि.सं. १९६० मा गिरिषबल्लभ जोशीको वीर चरित्र उपन्यासलाई आधार मानी वि.सं २०६० मा नेपाली उपन्यासको एक शताब्दी मनाइयो । त्यसो भए नेपाली उपन्यासको यो एक सय पन्ध्र वर्षको यात्रामा कस्ता कस्ता र कति संख्यामा उपन्यासहरु पाइयो होला र ती उपन्यासको कालिक महत्त्व के कस्तो रहेको होला ? यस क्षेत्रमा अध्ययन गरिरहेका वा भविष्यमा गर्नेहरुले मानक तयार गर्दै जालान् पनि ।

हामीले हेर्ने भनेको नेपाली उपन्यासको यात्राकथा नै हो । सबै उपन्यासकारले उपन्यास लेख्नु अघि यसको इतिहास र यस अघिका उपन्यासको स्तर मूल्याङ्कन गर्दै अघि बढ्नु पर्ने पनि होइन । सिर्जनाको क्षेत्रमा काम गर्ने मान्छे सिर्जनामै रमाउने हो । पाइला गन्दै आउनेहरुले तिनको आकारको नाप लिँदै गर्लान् ।

धेरै वर्ष नेपाली उपन्यासमा एकछत्र शासन गरे डा. ध्रुवचन्द्र गौतमले । त्यसैले कुनैबेला उनलाई उपन्यास सम्राट पनि भनियो । अचेल आख्यान पुरुष भनेको पनि सुनिन्छ । सिर्जनाको कुरा गर्दा नेपाली उपन्यासलाई सुरुदेखि नै प्रयोगको गोरेटोमा हालेर त्यसलाई राजमार्ग बनाउने काम यिनैले गरेका हुन् । अरु राम्रा उपन्यास लेख्ने दौलतविक्रम बिष्ट, मदनमणि दीक्षित, पारिजातहरुका आआफ्नै फरक विशेषताहरु छन् । नेपाली उपन्यासले विशेष गति लिएको भनेको २०४६ सालपछि नै हो, जब देशमा प्रजातन्त्रको उदय भयो । त्यस अघिसम्म नेपाली लेखकहरु कवितामै केन्द्रित थिए र कविताबाट नै विद्रोह गरिरहन्थे ।

२०५० देखि २०७५ को प्रारम्भसम्म आइपुग्दा यो पच्चिस वर्षमा नेपाली उपन्यासले मारेको फड्को विगतका कुनै दशक वा रजत वर्षहरुसँग तुलना हुन सक्दैन । नेपाली साहित्यको आज भनेको उपन्यास काल हो । प्रत्येक व्यक्ति यदि ऊ लेखक हो भने जीवनमा केही नसके पनि एउटा उपन्यास लेख्न चाहन्छ र लेखिरहेको पनि छ । लेखिएका वा छापिएका उपन्यासहरुको गुणवत्ता आफ्नो ठाउँमा छ तर लेखिन हतारिएको अहिलेको विधा उपन्यास नै भएको छ । यो हतारसँग सुन्दर प्रयोगका विधिहरु पनि रमाउँदै प्रवेश गरिरहेका पनि छन् ।

पछिल्ला उपन्यासहरु प्रेम, यौन वा स्वैर काल्पनिक उडानहरुमा भन्दा सामाजिक विषयवस्तुहरुमा बढी केन्द्रित हुन थालेका छन् । व्यक्ति मनोविज्ञानभन्दा समाज वैज्ञानिक अध्ययनलाई आजका उपन्यासहरुले रुचाइरहेका छन् । जीवनका समस्याहरुको नजिकमा पुग्न खोजेका कारणले पनि होला अहिले यही विधा पठनका लागि बढी रुचिकर लागेको पनि । यथार्थमा देश चिन्न यसप्रकारको लेखनको उपस्थिति आजको आवश्यकता पनि हो । तर मानव मनलाई पन्छाएर समाज मात्र हेर्न थालियो भने त्यस्तो साहित्य आवरणीय मात्र रहन जानेछ । कालान्तरमा तिनीहरु नयाँ लुगा उग्लिँदै गएजस्तै एक दिन रंग गुमाएको च्याँग्लो देखिनेछन् ।

जसरी मानिस आन्तरिक र बाह्य संरचनाले बनिएको छ, जसरी मानिस आँखाले देखिने, स्पर्श गरिने वा पञ्चभौतिक चेतनाले छोइने छ, जो सबैले चिन्छ, त्यस्तै त्यही भौतिकीभित्र चेतनाले मात्र बुझिने र चिनिने अर्को व्यक्तित्व पनि सँगै छ । जसलाई आध्यात्मिकहरु आत्मा भन्छन्, मायालुहरु मन भन्छन्, ज्ञानीहरु चेतना भन्छन् । दुबै व्यक्तित्व सँगसँगै बोकेर हरेक मानिस हिँडिरहेको हुन्छ । शरीरलाई साधन बनाई लीला गर्छ मानिसको चेतनाले । त्यो चेतन तत्त्वलाई छायाँमा पारी शरीरतत्त्वलाई मात्र हामीले सिंगारी रह्यौँ भने त्यसले समग्र जीवनको जसरी प्रतिनिधित्व गर्दैन त्यसैगरी समाजतत्त्वलाई अध्ययन गर्न समाज मनोविज्ञानलाई बिर्सिए त्यो कुनै विकासे प्रतिवेदनको आख्यानीकरण मात्र हुन जान्छ ।

यो उपन्यास जसको बारेमा म चर्चा गर्न लागिरहेको छु, यसले मलाई आश्चर्यजनक रुपमा जालझेल गरेको छ । नेपाली साहित्यमा यसप्रकारका थोरै उपन्यास मात्र पढिएका छन् । वीर सिक्काले तिलस्मीलाई भित्र्याएको थियो । त्यसबेला भारतीय र उर्दू साहित्यमा चलिरहेका तिलश्मीहरुको प्रभावले काम गरेको हुँदो हो । तर आज विज्ञानले ती तमाम तिलश्मीहरुलाई भत्काइसकेको छ र आश्चर्यहरु बिस्तारै अनुपस्थित हुँदै गइरहेका छन् ।

बरु आज विश्व साहित्यमा तथ्य र कल्पनाको प्रतिस्पर्धात्मक दौड चलिरहेको छ । विज्ञानलाई सिरानी हाली कल्पनाको खेल खेलिरहेछ समाज । प्रत्येक हत्केलामा तेर्सिएका मोबाइलहरुले सबैखाले आश्चर्य र कल्पनाहरुलाई तथ्यका समिप उभ्याउने गरेको छ । यस्तो बेलामा एउटा लेखक यदि उपन्यास लेख्न सोच्दै छ भने उसले आफूलाई उपन्यासकारको रुपमा तयार गर्न के के गर्नु पर्दो हो ?

मैले धेरै पहिला विजय मल्लको अनुराधा पढेको थिएँ । त्यस उपन्यासमा गरिएको पागलको मनोविज्ञानको प्रस्तुति अनौठो लागेको थियो । त्यसबेलासम्म म दार्जिलिङतिरबाट निस्किने व्यावसायिक नेपाली प्रेम उपन्यासहरु र हिन्दीका त्यस्तै उपन्यासहरुको विशेष पाठक थिएँ । तर अनुराधापछि मेरो उपन्यास पठनको बाटो मोडिएको थियो र मनको अर्कै तहतिर पनि कथाहरु कुद्दा रहेछन् भन्ने लागेको थियो ।

आन्तोन चेखबको बेड नं. २१ पढेपछि धेरै दिनसम्म म आफैँलाई पनि त्यही पात्र जस्तै मनस्थितिमा पुगिने हो कि भन्ने डर लागिरह्यो । बिन्ध्या सुब्बाको अथाहा र निर्गमन, संजीव उप्रेतीको घनचक्कर र आलु नौनी र कफी जस्ता उपन्यासहरुले समाज र व्यक्तिकाबीचको मानसिक द्वन्द्वको अनौठो चित्रण गरेका छन् । पढ्दै जाँदा कति पाठकले आफैँमाथि पनि शंका र प्रश्नहरु गर्न थाल्दछन् । कतिले त डरले टुंग्याउनै नसकेको पनि बताएका छन् ।

अहिले मैले चर्चा गर्न लागेको एक सर्को माया उपन्यासको शीर्षकले खासै पठन आकर्षण गर्दैन । यो शीर्षकले उपन्यासभित्रको विषयवस्तुलाई खासै सम्बोधन गर्दा पनि गर्दैन । तर जब आख्यानभित्र प्रवेश गर्दै गएँ यसले बिस्तारै तान्दै लान थाल्यो ।

ग्रिन टी को जस्तो स्वाद लिँदै पढ्न लागेँ । लामा लामा प्याराग्राफ, खण्ड नछुट्याइएको लेखन, यात्रा विवरणको पट्यारलाग्दो वर्णन । उपन्यासका लागि चाहिने कत्ति मसलाहरु नपुगिरहेको थियो सुरुसुरुमा । माल्दिभ्सको भौगोलिक वर्णन, त्यहाँको टापु र जीवनसँगको सम्बन्ध, त्यहाँको विकास, समाज र कानुनको चर्चा आदिले उपन्यास भन्दा यात्राको भार बढी बोकिरहेको पाइन्छ । माल्दिभ्सको जुन प्रकारको वर्णन छ त्यसले प्रत्येक पाठकलाई माल्दिभ्स नपुगे पनि हुने गरी सन्तुष्टि दिन्छ ।

कथाले जब चालिसे थरको मान्छेको संगतमा हाम्रो नायकलाई लगेर जोड्छ अनि यसले उपन्यासको उकाली चढ्ने बाटो खोज्न थाल्छ । नायकको आफ्नो रोमाञ्चपूर्ण जीवनसँग जोडिन आउने अन्य पात्रहरुको शाखा कथाहरुले उपन्यासलाई बिस्तारै आकर्षक र पठनीय बनाउँदै जान थाल्छ । उसको नशालु कथाबाट दिक्क लागिरहेको बेला जब चालिसेले त्यहीकी एक महिलासँगको प्रेम र वियोगको कथा भन्छ, जब एक बिदेशी मित्र जैरोल्डले आफ्नो भत्किएको गृहस्थी र नेपालमा भएको हवाई दुर्घटनाको कारुणिक कथा भन्न थाल्छ, जब एक नेपाली पात्र जेडीले आफ्नो बाबुले एउटी दलित महिलासँग बिहे गरेपछि उनले भोगेको सामाजिक दुर्व्यवहारको कथा भन्छ उपन्यासले पाठकलाई रुचिको धरातलतिर झार्दै जान थाल्छ ।

वास्तवमा यी तीन शाखा कथाहरुले पारिवारिक, सामाजिक र जैविक मनोविज्ञानको सुन्दर विश्लेषण गरेका छन् । यस उपन्यासको सबैभन्दा शक्तिशाली आख्यान पक्ष भनेकै यही हो, जसले देश र विदेशको जीवनलाई एकै ठाउँ जोडेर मानवीय समस्याहरुको सम्बोधन गरेको छ ।

जब नायक नेपाल आइपुग्छ उपन्यासको कथा समाप्त भइसकेको हुनुपर्नेमा किताब त अझै निकै पृष्ठ नै पढ्न बाँकी भएर अगाडि फैलिरहन्छ । अनि लाग्छ, लेखकमा कुरालाई बित्थामा लम्ब्याउने भोक रहेछ । अब के नै होला र कथाले भन्न बाँकी ? हुँदै भए सुधार केन्द्रमा जाला तर त्यसका लागि यति धेरै पृष्ठ नै किन चाहिएला त नि !

पठन धैर्य टुट्न लाग्दै गर्दा पनि पढ्न छोडिनँ । कथा चितवनका वरिपरि फेरि बरालिन थाल्यो । नायक चितवनमा आएर माल्दिभ्समा सुनेका उपकथाका पात्रहरुको खोजीमा जब लाग्छ , फेरि बिस्तारै पाठक मन तानिँदै जान थाल्छ र केही विशेष रहस्य बाँकी हुन सक्छ जस्तो लाग्दै जान्छ ।

कथा जब जेडीको बाबुआमालाई खोज्न थाल्छ, तिनीहरु कतै भेटिँदैनन् र चिन्नेहरु पनि कोही हुँदैनन् । जब जेडीकी भाञ्जी तृष्णा भन्ने भेटिएर पनि फेरि त्यो उसले भनेको ठेगानामा कतै हुन्न र यथार्थमा त्यसलाई कसैले चिन्दैनन्, जब जैरोल्डले भनेको हवाई दुर्घटनामा उसले भनेका कुनै मानिसहरु पनि मरेका थिएनन् भन्ने थाहा हुँदै जान्छ, चालिसेको कुनै पत्तो भेटिँदैन अनि पाठक पनि नायक सँगसँगै आश्चर्य हुँदै जान थाल्छ ।

उपन्यास त झन् झन् रहस्यभित्र पो गुम्फिँदै जान थाल्छ । माल्दिभ्समा उसले देखेका, सुनेका र भोगेका कुराहरुका साक्षी जो नेपालमा थिए ती कुनै पनि भनिएका ठाउँमा नभेटिनु मात्र होइन ती पहिले कहिल्यै पनि त्यहाँ थिएनन् भन्ने थाहा हुँदै जान्छ । अनि फेरि उपन्यास, नायक र पाठक अन्यौलमा पुग्छन् र थाकेर ठाउँ ठाउँमा उभिन थाल्छन् । अब भने कथाले पात्रलाई भन्दा पनि पाठकलाई तनाव दिन थाल्छ । पाठक नचाहँदा नचाहँदै पनि नायकको सहयोगका लागि तथ्यको खोजी गर्न अग्रसर हुन पुग्छ ।

मैले पढेका कयौं उपन्यासहरुमध्ये यो निकै अनौठो र मानसिक दबाब दिन सफल मानेको छु । सबैभन्दा मूख्य कुरा त यस उपन्यासले खडा गरेको भ्रमको जुन संसार छ त्यो नै कहालीलाग्दो छ । प्रश्नै प्रश्न उब्जिन्छन् । के साँच्चै मानिस त्यस्तो अवस्थामा पनि पुग्न सक्छ ? के मानिस सचेत हुँदा हुँदै पनि यस्तो डर लाग्दो भ्रममा पर्न सक्छ, के हामी पनि थाहै नपाई कैयौं यस्ता भ्रमहरुमा त छैनौँ ?

सञ्जीव उप्रेतीको घनचक्कर पढ्दा पनि मलाई यति सारो तनाव भएको थिएन । त्यस उपन्यासले त भ्रममै भए पनि देश, समाज, इतिहास, शिक्षा आदि कैयौं कुराहरुलाई वृहत्तर रुपमा सम्बोधन गरेको थियो । तैपनि त्यो उपन्यास वास्तवमै घनचक्कर नै छ । नेपाली उपन्यास विधाभित्र घनचक्कर सधैं एक फरक उपन्यास हो र त्यसलाई अनेकौं कोणबाट पढ्नुपर्ने हुन्छ । तर यो उपन्यासले पागलपनको अर्को अनौठो पाटोलाई सम्बोधन गरेको छ । अन्य भाषामा यसप्रकारका कस्ता किताब होलान् मलाई थाहा छैन ।

यो उपन्यासले आख्यानात्मक ढंगबाट मानव मस्तिष्कको एक विशेष समस्याको अध्ययन गर्न खोजेको रहेछ भन्ने कुरा अन्त्यमा आएर मात्र थाहा हुन्छ । जब त्यहाँ हेलोसिनेसनका बारेमा केही कुरा बुझेँ, झन् पो मनमा अनौठो डर पलाएर आयो । के साँच्चै मानिस त्यस्तो अनौठो रोगको सिकार पनि भएको हुनसक्छ त ?

कुनै आवाज, दृश्य, संसर्ग जो जीवनसँग घनिष्ठ भएर आउने गर्छन् र तिनलाई सत्य मानेर कतिपयले जीवन नै बिताएका पनि हुन सक्छन् तर ती यथार्थमा कहिल्यै सत्य हुँदैनन् र सम्बन्धित व्यक्तिले त्यसलाई होइन भनेर कहिल्यै मान्न तयार नै हुँदैन । कैयौँ मानिसमा नजानिँदो पाराले यस्तो मानसिक अवस्थाको भित्रभित्रै विकास भइरहेको हुँदोरहेछ । दिमागी यस्ता समस्याहरुले हामीलाई कैंयौं तथ्य र कल्पनाको संसारमा भड्काइरहेको हुँदोरहेछ । धेरै जसो यस्तो समस्या कुनै प्रकारको नशालु दुव्यर्सनका कारणबाट दिमागमा उत्पन्न हुने स्थिति रहेछ हेलोसिनेसन । मैले बल्ल बुझेँ, कयौ नशालु युवाहरुले गर्ने गरेका वर्णन र जिद्दीको कुरा ।

यो उपन्यासमा पनि माल्दिभ्समा जुन दिन पहिलोपल्ट चालिसेको संगतमा परेर नायकले नशा तान्यो त्यसै क्षणदेखि नै ऊ हेलोसिनेसनमा गइसकेको रहेछ । ती पात्र, घटना, सम्वाद, प्रेम, यौन सबै भ्रम रहेछन् । यो कुरा जब नायक र पाठक दुवैले एकैचोटी थाहा पाउँछन् उपन्यासले अर्कै संसारसँग परिचय गराउन पुग्छ ।

०००

केही वर्षअघि मलाई लेखनाथ भण्डारीले एउटा उपन्यासको कम्प्युटरप्रति पढेर केही लेखिदिन अनुरोध गरी पठाएका थिए । त्यो पुस्तकका लेखकलाई पनि मैले चिनेको थिएन । आजसम्म पनि मेरो उनीसँग भेट भएको छैन । म को हुँ शीर्षकको त्यो उपन्यास लीलाराज खतिवडाले लेखेका थिए । लेखनाथले त्यो कृतिको लेखक स्वयं त्यस समस्याबाट गुज्रिएका हुन् पनि भनेका थिए । जब पढ्दै गएँ त्यस उपन्यासले पनि अनौठो गरी रन्थनाएको थियो । पागलपनको अनौठो कथा बोकेको त्यो उपन्यास पनि त्यस्तै एउटा मानसिक समस्यामा अल्झिएर भ्रम नै भ्रमको संसारमा हराएको छ ।

मानिसको दिमाग भित्र थाहै नपाइने गरी उत्पन्न हुने कैयौं यस्ता समस्याहरु हुँदा रहेछन् जसले हामीलाई जीवनभरी नै अनौठा भ्रमहरुमा खेलाइरहेको हुने रहेछ । यस्ता कुरा थाहा नभएरै समाज कैयौं अन्धविश्वासहरुको जञ्जालमा परिरहेको हुन्छ । धामी, झाँक्री, टुनामुना, साधुसन्त आदिका फन्दामा परेर अनेकौं सास्ती खानेहरु कति छन् कति । अरुको भ्रमले सद्दे मानिसलाई पनि बिस्तारै भ्रममा पार्दै लाने र कालान्तरमा सिंगै समाज नै भ्रमको जञ्जालमा पसिसकेको हुन सक्ने रहेछ । त्यो उपन्यास पनि त्यस्तै एउटा मानसिक समस्यामाथि केन्द्रित थियो । सिजोफेनिया रोगबाट ग्रस्त त्यो उपन्यासको नायकले भोगेको कहालीलाग्दो कथा पढ्दा आफैँलाई समेत डर लागेको थियो ।

दिमागभित्र हुने अनेकौं मानसिक समस्याका पछि के कस्ता कारणहरु हुन सक्दा रहेछन् भन्ने कुरा जान्नु जरुरी रहेछ । यस्ता विषयमा हामीले खासै चासो राखेका हुँदैनौँ पनि । हामीलाई चमत्कार लागेका कैयौं कुराहरु हाम्रै मानसिक दुर्बलताका उपज पनि हुँदा रहेछन् । त्यस्ता कुरा बुझ्न हामीले शरीर विज्ञानकोबारेमा सामान्य ज्ञान राख्नु जरुरी रहेछ ।

जब उपन्यासको पछिल्लो भागमा पुगेँ, मलाई सुरुमा लागेका अनावश्यक सन्दर्भ ठानेका कुराहरु पनि आवश्यक नै रहेछन् भन्ने लागेको छ । मलाईजस्तै केयौं पाठकहरुलाई पनि दिक्क लाग्न सक्ला भनी मलाई सुरुमा जे लागेको हो त्यही कुरा यो लेखको प्रारम्भमा उल्लेख गर्दै अब म मैले माथि भनेका कुराहरुलाई रद्द गर्दै उपन्यास पठनीय र नयाँ कुराको जानकारी दिन सफल कृति हो भनी कुरा टुंग्याउनु अघि हाम्रो भाषाको साहित्यमा यस्ता विषयहरुमा पनि आख्यानहरु लेखिन थालेकोमा खुसी व्यक्त गर्दछु ।