मेरा हातमा ‘मेघदूतमा के छ ?’ नामक कृति छ । र कृतिकार विश्वराज अधिकारीसँगको समीपता छ । यद्यपि कृतिकार विश्वराज अधिकारी मेरा बालसखा होइनन् । बैँसालु सुसेली पनि सँगै सुसेलेका होइनौँ । तर साहित्यका लर्कासर्काले चिनारु भएपछि भौतिक रूपमै चिनिएका स्रष्टा हुन् । स्रष्टा अधिकारी र म वर्तमानमा यति घुलित भएका छौँ कि लाग्दछ हामी लगौँटिया यार हौँ । र, उँभौली समयमा उँधौली जीवनसँग साक्षात्कार गर्दैछौँ ।

खेमराज पोखरेल

संयोग यस्तो रह्यो कि म समथर फाँट सप्तरीको मैथिली भाषा सभ्यता भएको कञ्चनरूपमा जन्मेँ र कृतिकार अधिकारी पनि त्यस्तै समथर फाँट सर्लाहीको बज्जिका भाषासभ्यता भएको छतौनामा जन्मे । वर्तमानमा अमेरिकाको ओक्लहोमा राज्यमा कृतिकार अधिकारी बस्ने र म अमेरिकाकै टेक्सस राज्यमा बस्ने गरेका छौँ । भनाइको सार साहित्यको साङ्लाले हामी दुई बाँधिएका छौँ । त्यसकारण म भन्न सक्छु कि म कृतिकार अधिकारीलाई लेखनीको हिसाबबाट धेरै नै चिन्दछु ।

अमेरिकाबाट नेपाल पुगेका बखत कृति ‘मेघदूतमा के छ ?’ कोसेली पाएको थिएँ । अहिले फुकाएको छु । कृतिको भौतिक स्वरूपमा आँखा पुगेको छ मेरो । आवरणमा प्रेमातुर युगल जोडीको चित्र छ जसले प्रेम र यौनको बारेमा बताइरहेको छ । आवरणले नै मलाई आकर्षित गराइरहेको छ । कृतिको पश्च भागमा साहित्यकार एल बी क्षेत्रीको छोटो मन्तव्य राखिएको छ, जसमा ‘नारी सौन्दर्य, प्रेम, यौन र सम्भोगको दर्शनसहित यौन भावनाहरू बारे समीक्षात्मक विश्लेषण गरिएको छ’ भनिएको छ ।

आकृति क्रिएसन, हेटौँडा नेपालले प्रकाशन गरेको छ । कामलीन भएका पंक्षीमध्ये एकलाई ब्याधाले मार्दा उत्पन्न भएको सुकोमल, हृदयविदारक र विछोड शृङ्गारको वर्णनबाट सुरु भएको छ पुस्तक । ‘मेघदूतको पुनर्पाठ र विश्वराज’ शीर्षकमा वीरगञ्ज मुकामका वरिष्ठ पत्रकार चन्द्र किशोरको भूमिका छ । जसमा ‘ आजको समयमा महिला र पुरुष समकक्षताको प्रश्नमा, प्रेम अभिव्यक्तिको सबालमा, यौनको सम्भावना र सीमाका बारेमा बडो कलात्मक तरिकाले वर्णन गरिएको छ’ भन्ने सार निकालिएको छ ।

त्यसलगत्तै राखी गौचन, गीतकारको परम्परिक शुभकामना छ । प्रेमको सैद्धान्तिक धरातलमा उभिएर सर्जक विश्वराज अधिकारीले प्रेमलाई बुझाउने प्रयत्न गरेका छन् । प्राकृतिक प्रेम र दायित्ववाला प्रेम खुट्याएका छन् । आमाले आफ्ना बच्चालाई गर्ने प्रेम र विपरीत लिङ्गी प्रेमलाई प्राकृतिक र अन्य प्रेमलाई दायित्ववाला प्रेममा वर्गीकरण गरेका छन् । लगत्तै ३१ ओटा आलेखको विषयसूची छ । पुस्तकको पछिल्लो पातोमा कृतिकार अधिकारीको परिचय छ ।

कृतिकार विश्वराज अधिकारीको लेखनीलाई अगाडि राखेर पुस्तकभित्रको गुढ रहस्य यौन खोज्दै छु । यौन सौन्दर्यभित्र रमण गर्दै छु । मलाई थाहा छ कि मानव जिन्दगीमा अति आवश्यक कुरामा यौन पनि पर्छ । यो स्थापित मान्यता हो । सम्भोग दर्शन सृष्टिसञ्चालनका लागि मात्र होइन; प्राचीनकालदेखि नै स्थापित भएको प्रेमदर्शन पनि हो । प्रणय दर्शन पनि हो । तर वर्तमान समाजले यौनका विषयमा दोहोरो मापदण्ड निर्माण गर्छ । यौन दर्शनलाई या त सङ्कुचन गर्छ या त उच्छृङ्खल बनाउँछ । एकातिर पूजा पनि गर्छ र तत्क्षण दुत्कार्छ ।

अब कृतिभित्रको मूल विषयतिर लाग्छु । मूलतः भारतीय उपमहाद्वीपमा संस्कृत भाषामा मन्दाक्रान्ता छन्दमा महाकवि कालीदासद्वारा लेखिएको खण्डकाव्य ‘मेघदूत’ मा आधारित भएर खण्डकाव्यको मूल पाठ तथा नेपाली भाषामा भावार्थ प्रस्तुत गर्नु कृतिको अभिध्येय रहेको छ । पूर्वीय सभ्यतामा प्राचीनकालदेखि नै प्रचलनमा रहेको यौन, रति, शृङ्गार तथा तिनमा नारी-पुरुषको स्थानका विषयलाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो । सैद्धान्तिक रूपले हेर्यो भने कृतिमा यौन मनोविज्ञान, यौन दर्शन, यौन अपराध, सम्भोग शास्त्र, रतियोग, रतिवियोग सबै कुरा लेखिएको देखिन्छ ।

यो यौन सन्दर्भको कुरा गर्नुभन्दा पहिले कालीदासकृत ‘मेघदूत’ खण्डकाव्यको कथासन्दर्भ तथा यसमा प्रयुक्त भएको यौन, शृङ्गार, प्रेम तथा रतिसम्मोहन आदिका बारेमा संक्षेपमा चर्चा गरिनु आवश्यक ठानेको छु ।

कुवेरका दरबारमा सेवक भएर बसेको यक्ष पूजा गर्ने फूल टिप्न बगैँचामा पुगेको हुन्छ । र, त्यहाँ यक्ष आफ्नी नवविवाहिता प्रेयसीसँग प्रेम सौन्दर्यमा भुल्छ । दूतहरूले यो कुरा चाल पाएर फूल टिपेर ल्याउन ढिलो भएको कुरा राजामा व्यक्त गर्दछन् । राजा कुवेर क्रोधित बन्छन् । राजाले सेवक यक्षलाई श्राप याने दण्ड दिन्छन् । एक वर्षसम्म रामगिरि नामक पहाडमा गएर प्रेयसी छोडेर एक्लै बस्ने आदेश दिन्छन् ।

पत्नी विछोडको पीडामा कमजोर भएका यक्षले आफ्नो हातबाट सुनको खसेको बाला पनि उठाउन नसक्ने भएपछि पर पहाडको चुचुरोमा आफ्नो सहाराका लागि मेघ याने बादललाई देखेका छन् । बादललाई शक्तिशाली देखेका छन् । बादल याने मेघलाई दूत देखेका छन् र पत्नीवियोगको पीडा र प्रेमभाव पत्नी समक्ष पुर्याउन मेघलाई अनुरोध गर्न थालेका छन् । मेघलाई श्रीमतीसमक्ष पुग्ने बाटो बताइदिएका छन् ।

मेघलाई दूत मानेर श्रीमतीलाई खबर पठाउँछन् । यही मेघलाई दूत मानेको र यसैका माध्यमबाट प्रेयसीलाई आफ्नो प्रेम भाव व्यक्त गरिएको कथानक बोकेको खण्डकाव्य हो मेघदूत ।

मेघदूतभित्र साहित्यमा प्रयोग हुने बिम्ब, प्रतीक, अलङ्कार, उपमा, शृङ्गार, यौन, रति तथा समग्र प्रेम भाव अभिव्यक्त भएको छ । मेघदूतबिना पूर्वीय साहित्यको एउटा प्रेमिल पाटो नै अपूर्ण हुन्छ । पूर्व मेघमा ६४ श्लोक, उत्तरमेघमा ५२ श्लोक र अन्य २ श्लोक गरी जम्मा ११८ श्लोक छन् । पूर्वमेघमा मेघलाई प्रियतमासम्म पुग्ने बाटो, प्रकृति तथा होसियारीका बारेमा व्यक्त्याइएको छ भने उत्तर मेघमा यक्षको आफ्नी प्रेयसीलाई सन्देश छ । अन्य दुई श्लोकले खण्डकाव्यलाई संयोगान्त बनाइदिएको छ । तर वस्तुत यो वियोगान्त काव्य हो । रति तथा शृङ्गारका लागि यो कृति अनुपम छ ।

पूर्व मेघमा भारतवर्षको तत्कालीन भूगोलको ज्यादै राम्रो वर्णन छ । प्रेमरस, यौन सौन्दर्य, रतिसम्मोहन त्यही भूगोलको वर्णनमा पनि प्रयुक्त भएका छन् । मेघलाई प्रेमी र नदीलाई प्रेमिकाको रूपमा कल्पना गरेर सम्भोगसौन्दर्यको कल्पना गरिएको छ । प्रेयसीको रूप, शृङ्गार, प्रेम तथा समस्त भौतिक तथा मानसिक प्रेमिल अवस्थाको वर्णन काव्यात्मक पाराबाट भएको छ ।

शृङ्गार साहित्यको ‘मेघदूत’ विश्वमै अनुपम कृति हो । मेघदूतको यही शृङ्गार, नारीपुरुषको प्रेम, रति, कामवासना, रतिवियोग, रतिसंयोग तथा समग्रमा यौन सौन्दर्यलाई प्रकटीकरण गर्न कृतिकार विश्वराज अधिकारीले भारतवर्षको प्राचीन सभ्यता, संस्कृति, नारीको अवस्था, प्रेमको अवस्था, विवाह, बहुविवाह, पुनरविवाह तथा समग्र यौनको अवस्थाका बारेमा प्रकाश पार्ने जमर्को गरेका छन् ।

कृतिभित्र यौनसौन्दर्यको बाह्य र आन्तरिक पक्ष दमदार भएर देखा परेको छ । यसक्रममा कृतिकार अधिकारी शब्दशक्तिका रूपमा अभिधा, लक्षणा र व्यञ्जनाका अर्थ बताउँछन् । यौन विषयले पूर्वीय समाजमा आदि कालदेखि नै स्वतन्त्रता एवम् महत्त्व पाएको प्रमाण पेस गर्छन् । शंकराचार्यलाई एक महिलाले शास्त्रार्थमा चुनौती दिन पाएको प्रसङ्गलाई उदाहरण मानेका छन् । हिन्दु धर्ममा यौन ऐश्वर्यिक कर्म हो । सम्भोग सृष्टिको निरन्तरताका लागि मात्र होइन; प्रेमको आधार र आनन्द पनि हो । त्यो आनन्द भनेको यौनानन्द हो ।

वास्तवमा यौनानन्द जत्तिको आनन्द संसारमा अन्य कुनै कुराको पनि छैन । त्यसैले मन्दिरका टुँडालमा राखिएका यौन चित्रलाई अश्लील मानिन्न । विपरीत लिङ्गी आकर्षणको सिर्जना भगवानका लीलाहरू मध्ये एक हो । राजा आफू यौन कर्ममा लिप्त तर प्रजालाई बन्धेज लगाउने चलनले गर्दा आज समाज यस्तो यौनप्रति अनुदार देखिएको हो । त्यसैले सम्भोग तथा यौनका कारणले वर्तमान युगमा पनि हत्या भइरहेका छन् भन्ने कुराहरू कृतिकार अधिकारीले कृतिभित्र अभिव्यक्त गरेका छन् ।

प्राचीन पूर्वीय सभ्यतामा रहेको यौन, रति, सम्मोहन, महिलाको अवस्था तथा यौनसौन्दर्यको कुरालाई पुष्टि गर्न कृतिभित्र महाभारतका पात्रको अवस्थालाई अगाडि सारेका छन् । कुन्तीले वरदान पाएर विवाहपूर्व नै सूर्यसँग सम्भोग गरी छोरा जन्माएको र पछि उनको विवाह कुरु राजकुमार पाण्डुसँग भएको प्रसङ्ग उठाइएको छ । यसैगरी मत्स्यकन्या सत्यवतीको रूपको प्रभावमा परेर पराशर ऋषिले सम्भोग गरी ऋषि व्यासको जन्म भएको तथ्य पनि कृतिभित्र छ । उनै सत्यवतीको प्रेमविवाह हस्तिनापुरका राजा सान्तनुसँग भयो । सत्यवती र सान्तनुका पुत्रहरू नपुंसक थिए र निसन्तान मरे ।

त्यसपछि सत्यवतीका आदेशमा ऋषि व्यासले ती आफ्नै आमाले पाएका छोरा याने भाइका विधवा श्रीमतीहरूसँग सम्भोग गरेर सन्तान जन्माएको प्रसङ्ग पनि छ । काशीका राजकुमारीहरूको स्वयंवरमा देवव्रत याने भिष्मपिताम्महले गरेको उदण्ड कार्य र काशीका राजकुमारीहरूको अपहरण, महाभारतमा तेस्रो लिङ्गी शिखण्डीलाई महत्त्वपूर्ण सम्मानजस्ता अवस्थाहरूको पनि वर्णन गरेका छन् । यसरी महाभारतका कथा तथा मिथकलाई आफ्नो कृतिको सामल बनाउन निकै दक्ष पाएको छु मैले कृतिकार अधिकारीलाई ।

यसैगरी प्राचीन सभ्यतामा नगरवधुलाई पनि सम्मानपूर्वक तरिकाले हेरिने गरेको कुरा नगरवधुहरू वसन्त सेना र आम्रपालीको प्रसङ्ग ल्याएर गरेका छन् । राजामहाराजाहरूको सुन्दरी कन्याहरूप्रति यौन आकर्षण रहने र अर्को धर्ममा पनि बिहे गरिने प्रसङ्गका लागि अकवर तथा जोधा बाईको बिहेको कुरा उठाइएको छ ।

हिन्दु समाजमा स्वयंवर गर्ने प्रचलनलाई महिलाले पाएको आफ्नो वर रोज्ने अधिकारका रूपमा चर्चा गरिएको छ । विदुषी गार्गीको प्रसङ्ग उठाएर प्राचीन नेपालमा नारीहरूको अवस्था राम्रो थियो भनिएको छ । यौनप्रति उदार दृष्टिकोण थियो भन्न खोजिएको छ । आधुनिक युगमा फ्रोएडले गरेको यौनको परिभाषा तथा अर्थ पनि छोटकरीमा प्रस्तुत गरिएको छ ।

रतिकर्मलाई नेपालमा उच्च तथा पूज्य मानिन्छ भन्ने कुरा लिङ्ग तथा योनि पुजन गर्ने गरेकोबाट प्रष्ट हुन्छ । यसैगरी पुस्तकभित्र उत्कृष्ट प्रेमका केही उदाहरण पेस गरेका छन् । कालीदासको मेघदूतका यक्ष र उनकी श्रीमती, शिवपार्वतीको प्रेम, क्लियोपेट्रा र जुलियस सिजरको प्रेम, सलिम र अनारकलीको प्रेम, प्रेमको अनुपम उदाहरण ताजमहल आदिलाई नमुना प्रेम मानिएको छ ।

यो बेला म कृति ‘मेघदूतमा के छ ?’ को आखिरी पातोमा छु । ‘मेघदूत’ का श्लोक तथा तिनका नेपालीमा पुनरपाठ गरिएको खण्ड काव्य पढ्दा काव्यात्मकताको उच्चतम रूप देखेको छु । संस्कृत भाषामा पकड नभएका मजस्ता पाठकका लागि कालीदासकृत ‘मेघदूत’ खण्डकाव्य पढ्न पाउनु यो कृतिको ज्यादै महत्त्वपूर्ण विशेषता हो भन्ने ठानेको छु ।

कृति मूलतः यौन सौन्दर्यका वरिपरि घुमेको छ । कृतिले यौन सौन्दर्यलाई परिक्रमा गरेको छ । पूर्वीय समाजलाई मुख्य आधार बनाएर अथवा पूर्वका भाषा, साहित्य, धर्म, परम्परा तथा संस्कृतिमा उल्लेख गरिएका मिथकहरूलाई आधार मानेर वर्तमान समाजलाई उपस्थित गराइएको छ । यौन, रति, सम्भोग जस्ता विषय निकै रोमाञ्चक तथा आकर्षण गर्ने खालका हुन्छन् नै । त्यसमाथि यौन सौन्दर्यको मियो समातेर कृति लेखिएको हुनाले आम पाठकजस्तै म पनि रोमाञ्चित भएको छु । त्यसैले यौन सौन्दर्यभित्र रोमाञ्चकता पस्कनु यो कृतिको अभिध्येय हो भन्ने ठानेको छु ।

यो कृति हृदय तथा यौनका बारेमा छ । यो कृतिमा दिमागको खुराक वा पेटको खुराक गौण छ । किनभने हृदय जहाँ तर्क, बुद्धि वा परिवेश केही हुँदैन । त्यसकारण यो कृतिका पढाइबाट हृदय पल्लवीत हुन्छ । यौन मुजुराउँछ । मुस्कुराउँछ । खासमा मानवजीवनमा यौनको सर्वोत्कृष्ट महत्त्वका बारेमा प्रकाश पारेर कृतिकार अधिकारीले नेपाली पाठकलाई गुण लगाएका छन् ।

पुस्तकका अध्यायहरूलाई एकसरो छिमलेको छु । पुस्तकभित्र रहेका गुढ रहस्यहरूलाई छिमल्नु चाहिँ करिबकरिब असम्भब जस्तै हो । यदि ती गुढ रहस्यलाई छिमल्न थाल्यो भने अनेकन काव्यकृति जन्मिन सक्छन् । त्यसैले यही एकसरो छिमल्याइमा पनि एउटा सामान्य पाठकका हिसाबमा मेरा मनमा किनकिन जिज्ञाशाहरू आएका छन् । सायद मेरो आफ्नै मन असन्तोषी भएर होला । वा मेरो आफ्नै ज्ञानको घेरा साँघुरो भएर पनि होला ।

कृतिको शीर्षक ‘मेघदूतमा के छ ?’ भन्ने रहेको छ । कृति हातमा लिँदा कृतिभित्रको विषयवस्तु संस्कृत भाषाका महाकवि कालीदासकृत ‘मेघदूत’ खण्डकाव्यको वरिपरि घुम्ला भन्ने अपेक्षा रहन सक्छ । तर जम्मा १२७ पृष्टको पुस्तकमा ८२ पृष्ट याने कि झन्डै दुईतिहाई भाग चाहिँ महाभारतकालीन तथा प्राचीनकालको यौन तथा महिलाको अवस्थाका बारेमा वर्णन गर्दै सकिएको छ ।

पुस्तक नेपाल तथा हिन्दूधर्मभन्दा बाहिर पनि कुदेको छ । मज्लोको आवश्यकताका तह, पश्चिमी समाजमा डेटिङ, फ्रोएडको धारणा, चलचित्र कास्ट अवे जस्ता सामान्य परिपूरक विषयलाई मूल पाठ नै बनाइएको छ । पुस्तकमा धेरै सूचनाहरू छन् । धेरै ज्ञानहरू छन्, तर पुस्तकको शीर्षकले ती सबै सूचनालाई प्रतिनिधित्व गर्दैन जस्तो लाग्छ मलाई । आगे अन्य समीक्षक तथा पाठकले भनून् ।

नेपाली पाठकहरू धेरैले यो संस्कृत साहित्यको पुस्तक ‘मेघदूत’ का बारेमा नसुनेका-नपढेका हुन सक्छन् । तिनका लागि यो शीर्षक ‘मेघदूतमा के छ ?’ ले खासै चासो रहँदैन । जसले पढेको छ उसलाई पनि शीर्षकले खासै तान्दैन । किनकि उसले मेघदूतका बोमा पढिसकेको हुन्छ । बरु ‘पूर्वीय सभ्यतामा यौनप्रेम’ जस्तो शीर्षक राखेर ‘मेघदूत’ लाई एउटा उदाहरण मात्र बनाएको भए पनि हुन्थ्यो जस्तो लागेको छ ।

मूलत यो कृति पढिसकेपछि नेपाली साहित्यको कुन विधाको पुस्तक भन्ने जिज्ञाशा उत्पन्न हुन्छ । कृतिभित्र कुन विधाको पुस्तक हो भन्ने कुरा खुलाइएको छैन । पुस्तकभित्र महाभारतकालीन समाज छ । समाज शास्त्र छ । नेपाल तथा भारतको प्राचीन समाज, संस्कृति तथा इतिहास छ । पूर्वीय सभ्यताको नालीबेली छ । समीक्षा समालोचना छ । अलिअलि पश्चिमा मुलुक पनि छन् ।

यसरी विषयवस्तुमा छरिएको छ कृति । यो कृतिलाई निबन्ध भनूँ वा समीक्षा, विवरण भनूँ वा पौराणिक कथा भन्ने कुरामा अलमल्ल परेको छु । तथापि यो कृतिमा उल्लेख भएका विषय तथा प्रस्तुतिलाई हेर्दा निबन्ध नै भनूँ भन्ने लागेको छ । किनभने कृतिलाई समातिरहने त्यान्द्रो भनेको यौन, रति तथा शृङ्गार रहेको छ । वैचारिक हिसाबले यो कृति यौन, शृङ्गार तथा सम्भोगका वरिपरि घुमेकाले मैले यसलाई निबन्धको कृति भन्न खोजेको छु ।

कृतिकार विश्वराज अधिकारीको वर्तमान मुकाम अमेरिकाको ओक्लहोमा राज्यमा छ । नेपालको सर्लाहीमा जन्मेर, हुर्केर, पढेर काठमाडौँतिर हानिएका हुन् । त्यसपछि समयले उनलाई अमेरिका छिराएको छ । यसो भएकाले उनको व्यक्तित्वमा सर्लाही याने मधेस, काठमाडौँ याने सदरमुकाम, अमेरिका याने डायस्पोराका खुराकहरू भेटिन्छन् । त्यसैले उनी पूर्वीय सभ्यता, संस्कृत साहित्य तथा समग्र नेपालका रीतिथितिका बारेमा भलिभाँती परिचित छन् ।

विदेशमा बसेर संसारका धर्म, समाज, सामाजिक मान्यता, ज्ञानविज्ञानसम्बन्धी दृष्टिकोणमा व्यापकता आएको छ । यो व्यापकता नै यो कृति जन्मनुको रचनागर्भ हो । त्यसैले सारमा भन्ने हो भने वर्तमान पश्चिमा डेटिङ सभ्यतालाई आँखैले देखेर कालीदास युगीन पूर्वीय सभ्यतामा पुगेका छन् । विश्वमा मिथकका रूपमा रहेका अनेकन अनुपम प्रेम प्रसङ्गहरूबाट मोहित भएका छन् । त्यसै पनि कृतिकार अधिकारी यौन सौन्दर्य, रतिप्रेम, सम्भोगप्रेम तथा आशर्दवादी प्रेमका नजिक पुगेका छन् । प्रणयमा घुलित भएका छन् । पुस्तकको संरचनागत प्रसङ्ग जे भए पनि यो कृतिले समग्र यौनसौन्दर्य माथि निकै प्रकाश पारेको छ ।

र, अब अन्त्यमा कृतिकार अधिकारीको ‘मेघदूतमा के छ ?’ शीर्षकको पुस्तक पढेर आनन्दित भएको छु । कृतिकारलाई शुभकामना ।