पृष्ठभूमिः

“भर जन्म घाँस तिर मन दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

म भानुभक्त धनी भैकन किन यस्तो ।

मेरा ईनार न त सत्तल पाटिकै छन्

जे धन चीजहरु छन् घर भित्रनै छन्

त्यस घाँसीले कसरी आज दिए छ अर्ति

धिक्कार हो म कन बस्नु न राखि कीर्ति ।”

हाम्रा आदिकवि भानुभक्त आचार्यले आफ्नो कविताबाट हामीलाई ‘धिक्कार हो म कन बस्नु न राखि कीर्ति’ भनेर एक प्रकारले आफूले गरेका कामका बारेमा भोलीका सन्ततिले पनि सम्झियोस् भनी केही सिर्जनात्मक चिनो छोडेर जानु पर्छ भनेर आव्हान गरेको जस्तो लाग्छ ।

मानिसको जीवनमा जन्मदेखि मृत्युसम्म विभिन्न प्रकारका आरोह अवरोहहरु आउने गर्दछन् । धेरै नै उकाली ओराली पार गर्दै अघि बढेका हुन्छौँ । अनि जीवनको उत्तरार्धसम्म आइपुग्दा हामीले गरेका तीतामीठा अनुभूतिहरुलाई कोट्याएर हेर्न मन लाग्छ । मनमस्तिष्कमा समेट्न मन लाग्छ । अरुलाई सुनाउन मन लाग्छ । आफ्नो कार्यकालमा आफूले गरेका वा प्रतिपादित भएका कार्यविधिका बारे अरुमा जानकारी गराउन र अरुलाई पनि यसबाट सहयोग पुग्न सक्ने विश्वासका साथ टिपोट गर्ने गराउने चलन छ । यस्तै टिपोटहरु कतै लेखका रुपमा पत्रपत्रिकामा प्रकाशित गरिन्छ भने कतै पुस्तकका रुपमा आएका हुन्छन् ।

प्रारम्भिक चरणमा धर्मप्रति मानिसको आस्था र विश्वास बढाउन ईश्वरको चरित्रमा आधारित गयात्मक कथा सुन्ने सुनाउने परम्परा रहेको थियो । अक्षरको थालनीअघि ईश्वरका लीलाहरू अङ्कित भएका चित्रहरू बनाउने र यस्ता चित्रहरू ढुङ्गामा समेत बनाइएका उदाहरणहरू हामी देख्ने गर्छौं ।

इन्डोनेसियाको बालीमा रहेको बोरोबुदुर बुद्ध विहारमा रामायण र महाभारतका कथा–चित्र ढुङ्गामा कुँदेर बनाइएको बारे यसै पुस्तकबाट थाहा पाएँ । त्यस्तै पाटनको कृष्ण मन्दिरमा पनि रामायणको कथाचित्र कुँदेर बनाइएको छ । अक्षरको आरम्भसँगै ईश्वरका लीला सम्बन्धी पुस्तकहरूको प्रकाशन हुन थाल्यो । आठौं शताब्दीमा अरबी भाषामा लेखिएको ‘मोहम्मद पैगाम्बर’ को जीवनीलाई पहिलो जीवनी लेखन मान्निछ ।

त्यस्तै पहिलो जीवन लेखनका रुपमा कोर्नेलियस नेपोसले ईशापूर्व ४४ मा लेखिएको ‘लाईफ अफ आउटस्टेण्डिङ्ग जेनेरल्स’ लाई पनि मानिँदै आएको छ भने सेन्ट अगस्ताइनले सन् ४०० मा जीवनी लेखेको मानिन्छ । उनले ‘कोनफेसन्स’ मा आफ्नो आत्मकथा लेखेका छन् । सन् १७९१ मा जेम्स बोस्वेलले बेलायती साहित्यकार डा. साम्युल जोनसनका बारेमा ‘द लाईफ अफ साम्युल जोनसन’ शीर्षकमा उनको जीवनी लेखेका थिए । यसलाई अंग्रेजी भाषामा लेखिएको उत्कृष्ठ जीवनी पनि मान्निछ ।

जीवनी लेखन विशेष गरेर अरुबाट लेखिने साहित्य विधा हो भने आत्मकथा व्यक्तिको जीवनका घटनाक्रमलाई समेटेर लेखिएको साहित्य विधा हो । यी दुवै विधामा व्यक्तिको जीवनका महत्त्वपूर्ण घटना, कार्य, सिर्जना, योगदान आदिका बारेमा प्रकाश पारिएको हुन्छ । व्यक्तिविशेष स्वयंले आफ्नो जीवनका बारेमा प्रकाश पार्दै लेखिएको साहित्यलाई आत्मकथा भनिन्छ ।

डा. गोविन्दसिंह रावत (क्यानडा)

जीवनी साहित्यमा व्यक्तिको जीवनका तथ्यपूर्ण घटनाहरू, अनुभव र जीवनका महत्त्वपूर्ण क्रियाकलापहरूलाई समेटिएको हुन्छ । जीवनी विशेष गरेर व्यक्तिको देहवासानपछि लेख्ने परम्परा रहँदै आएको छ । आजको मितिमा धेरै व्यक्तिहरु आफैँ नै आफ्नो आत्मकथा लेख्ने गरेको देखिन्छ ।  आत्मकथा लेखन एउटा फेसनको रुपमा देखा पर्न थालेको छ । यसबाट व्यक्ति सन्तुष्टि भन्दा बढी आफूले जीवनमा भोगेका संघर्षका कथाहरुलाई शब्दका माध्यमबाट जनमानसमा पुर्याउने चाहना पनि हो ।

नेपाली साहित्यको इतिहास नियालेर हेर्ने हो भने प्रारम्भिक चरणमा अभिलेखहरूमा त्यसबेलाका राजाको जीवनीमाथि प्रकाश पारेर संक्षिप्त जानकारी कुँदिएको हुन्थ्यो । वि.सं. ५२१ मा चाँगुनारायणको राजा मानदेवको अभिलेख र वि.सं. ७८८ को पशुपतिको द्वितीय जवदेवको अभिलेखलाई जीवनी लेखनको प्रयासका रुपमा लिन सकिन्छ । (नेपाली साहित्यको संक्षिप्त इतिहास, साझा प्र. २०६१) त्यसपछि राजा महाराजा, वीर र पराक्रर्मीहरूको वीरता र साहसका कथाहरू मौखिकरुपमा सुन्ने सुनाउने लोककथाहरूलाई पनि मौखिक जीवनी साहित्यका रुपमा लिन सकिन्छ ।

लोकसाहित्यमा पश्चिमका भारत, चैत, धमारी, भैनी, चाँचरी, ढुस्को, पडेली, पैकेलो, ढुस्को; पूर्वको सवाई र काठमाडौँ उपत्यकाको रामायणमा पनि जीवनीको झलक भेटिन्छ तर ती पद्य गायन विधा भएकाले र जीवनी गद्य विधा भएकाले त्यसलाई मानिसमा रहेको जीवनी स्मरणको चेतना मात्र भन्न सकिन्छ जीवनी नै भन्न सकिन्न । (नेपाली जीवनी आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना, प्रज्ञा, वि.सं.२०४४) ।

विशुद्ध साहित्यिक जीवनीको रचनाको थालनी मोतिराम भट्ट लिखित ‘आदिकवि भानुभक्तको जीवनचरित्र’ (वि.सं. १९४८) बाट नै हो । त्यस अघि अज्ञात लेखकहरूका ‘रामशाहको जीवनी’ र ‘पृथ्वीनारायण शाहको जीवन’ तथा सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’ लेखिएको भए पनि ती विशुद्ध जीवनी नभई जीवनीका छनक पाइने रचना मात्र हुनाका साथै मोतिरामको जीवनीभन्दा पछि मात्र आम मानिसका लागि प्रकाशनमा आए । (नेपाली जीवनी आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना, ऐ.) ।

आत्मकथाको हकमा पनि आत्मकथाको बान्की पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ मा पाइए तापनि यो विशुद्ध आत्मकथा होइन साथै यो पनि आम जनताको माझ धेरै पछि मात्र प्रकाशमा आयो (नेपाली साहित्यको संक्षिप्त इतिहास, ऐं) । बनासरबाट वि.सं. १९४८ मा प्रकाशित ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’ लाई पहिलो समीक्षात्मक जीवनी भएकोले यसैबाट नेपाली समालोचना लेखनको पनि थालनी भएको मानिन्छ ।

त्यसपछिका दिनहरूमा विभिन्न पत्रपत्रिकाहरूमा महापुरुष, साहित्यानुरागी, वीर योद्धा, समाज सेवक आदिका बारेमा जीवनी लेखन प्रकाशित भएको देखिन्छ । जीवनी साहित्यमाथि धेरै अध्ययन अनुसन्धान पनि भएका छन् । प्रा. भिक्टर प्रधानको “नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना ”(वि.सं.२०४४) अहिलेसम्म भएगरिएका अनुसन्धान मध्येका उत्कृष्ठ ग्रन्थ मानिन्छ । हाल प्रज्ञा प्रतिष्ठानले यसबारे अर्को पुस्तक लेखाइरहेको छ ।

पुस्तकभित्र घोत्लिँदाः

कृष्ण के.सी. क्यानडामा आएपछि चिनेको व्यक्ति हुन हुन्छ । वहाँले आफ्नो अवकासपछि स्कारबोरो सहरलाई आफ्नो गन्तव्य बनाएर सामाजिक कार्यतिर आफूलाई व्यस्त राख्न थाल्नुभयो । गत वर्ष (२०२२) उनको अंग्रेजी भाषामा ‘आशा र विश्व्यापी मानवताको यात्रा – विश्वव्यापी साक्षरताका मार्गहरु सिर्जना गर्दै शिक्षाका लागि आधारहरुको निर्माण गर्ने ’ (द जर्नि अफ होप एण्ड ग्लोबल ह्युमानिटारिनिजम् – क्रिय्टिङ्ग पाथ्स् एण्ड ब्युल्डिङ्ग फाउण्डेसन्स् फर लिटेरेसी एण्ड ईजुकेसन वल्र्डवाईड) प्रकाशित भएको छ ।

हामीबीच पारीवारिक सम्बन्ध गासिएकोले कृष्णबाट आफ्नो जीवनका अनुभव बटुलेर लेखिएको पुस्तक सौगातमा पाएको थिएँ । आफू नेपाली साहित्यको विद्यार्थी भएकोले कहिलेकाहीँ आफूले पढेको पुस्तकमाथि समीक्षात्मक टिप्पणी लेख्ने गर्छु । उनको यो आत्मकथामा यात्रा साहित्यको झलक पनि पाउने गरिन्छ । किनभने लेखक कर्मथलोका रुपमा आफू पुगेका देश–शहर र त्यहाँका समाज, सामाजिक अवस्था, सरकारी व्यवस्था, रीति रिवाज, संस्कार, शिक्षा, संस्कृति, परम्परा आदिका बारेमा जानकारी गराएका पनि छन् ।

कृष्णजीको आत्मकथा भनेर पढ्न सुरु गरेको पुस्तकले अविकसित र द्वन्द्वबाट पीडित राष्ट्रको शैक्षिक विकासका सैद्धान्तिक कुराहरुमाथि प्रकाश पार्दै त्यहाँको शिक्षालाई उकास्ने मार्गहरु पहिल्याउनु भएको पाए । यस पुस्तकबाट उनले शिक्षाको व्यवहारिक ज्ञान दिन थालेपछि आफू पनि समूहसँग राष्ट्रको शैक्षिक स्तर उकास्न राखिएका गोष्ठीहरुमा सहभागी बनेको झैँ लाग्न थाल्यो । अनि सर्वनाम नाट्य समूह स्थापनापछि हामीले सुरु गरेको सडक नाटक र त्यसपछि विकासका कुरालाई गाँउ गाँउसम्म पुर्याउने उद्देश्यका साथ १९८३ (२०४० साल) मा नै परिवार नियोजन संघको सन्देश बोकेर समुदाय विकासका सडक नाटक मञ्चन गर्दै हिँडेको सम्झना भयो ।

त्यसरी नै रेड वर्ना, सेभ द चिल्ड्रेन, युनिसेफ जस्ता अन्तर्राष्ट्रिय संस्थाका लागि बाल अधिकार सम्बन्धी सडक नाटकहरु मञ्चन गरेको सम्झनाहरु ताजा हुन थाल्यो । यसरी एकपछि अर्को गर्दै दस अध्याय सिद्धिएको थाहा नै भएन ।

पुस्तकको प्रकाशन विशेष गरेर अन्तर्राष्ट्रिय पाठकलाई ध्यानमा राखेर गरिएको हुनाले पानाहरु पल्टँदै गएपछि नेपाल परिचय र बुद्धको जन्मभूमि रहेको आफू जन्मेको राष्ट्र, जिल्ला, गाउँ र परिवारको सम्पूर्ण लागत विवरण राखिएको छ । यसमा उनले प्रारम्भिक चरणमा व्यक्तिगत परिचय, अध्ययन, परिवार, उच्च शिक्षा र जीवनको पहिलो संघर्षका बारेमा चर्चा गरेका छन् । आफ्नो जीवनको प्रारम्भिक चरणमा विद्यार्थी र शिक्षक दुवैको दायित्व पुरा गर्नु परेकोले उनले त्यस बेलाको नेपालको राजनीतिक परिवेशको चर्चा गर्दै त्यसबेलाको पञ्चायती राजनीति र बहुदलप्रतिको सामान्य चासोलाई पनि देखाएका छन् ।

कृष्ण के.सी.ले यस पुस्तकका माध्यमबाट आफ्नो जीवनका उतार–चढावलाई देखाउने क्रममा अन्तर्राष्ट्रिय संस्थासँगको संलग्नतालाई व्यावहारिक तरिकाबाट वर्णन गरेका छन् । प्रवेसिका परीक्षाबाट सुरु भएको उनको जीवनका उकाली ओराली बाटोहरु अवकासपछि आफैँमा रमाउने दिनहरुमा गएर टुङ्गिन्छ ।

पसलेबाट जागिरेको गोरेटोमा पाइला चाल्दै शिक्षक बन्न पुगेका कृष्ण जीवनमा उच्च अध्ययनका लागि एकैपटक युनाइटेड मिसन अफ नेपाल र त्रिभुवन विश्वविद्यालयबाट छात्रावृत्ति पाउँछन् । त्यतिखेर उनले मिसनको छात्रावृत्तिमा अध्ययन गर्ने अठोट गरेकोले उनको यो आत्मवृतान्त समुदायको विकासमा पाठ्यक्रमका रुपमा प्रयोग गर्न सकिने पुस्तकका रुपमा हामीले पाएका छौँ । यसलाई विकास परियोजनाका बारेमा अध्ययन गर्ने विद्यार्थीका लागि पाठ्यक्रमका लागि उपयुक्त पुस्तक मान्न सकिन्छ ।

नेपालको मिसनमा अनौपचारिक शिक्षा संयोजकबाट सुरु भएको उनको जागिरे जीवन ईराकमा शिक्षा सल्लाहकारको दायित्व पुरा गरेपछि तगारो लागेको देखिन्छ । विश्वको गतिविधिमाथि नै पूर्ण विराम लगाई दिने कोभिड–१९ संक्रमणले दुई वर्षसम्म मानिसलाई बन्दी बनाएर राखेपछि कृष्णको विश्वका अविकसित राष्ट्रमा शिक्षाको उज्यालोबाट काममा पूर्णविराम लागे तापनि नेपाली समुदायका लागि सहयोगका हातहरु निरन्तर अग्रसर रहँदै आएको छ । उनको आत्यकथामा कृष्ण के.सी. एउटा साधारण कर्मचारी भएर प्रवेश गरेर सेवाको अन्त्यमा क्षेत्रीय प्रतिनिधि भएर प्रस्तान गरेको समयावधि भित्रको कथा व्याथा समेटिएको छ ।

पुस्तकको सुरुमा उनले सत्तरीको दशकमा पनि शिक्षा र स्वस्थ्यको अभावमा नेपालीहरु पिल्सिरहेको अवस्था आफ्नै छोरी स्वस्थ्य उपचार नपाएर मृत्युवरण गर्नु परेको र शिक्षा आर्जन गर्न दुईतीन दिन हिँडेर सदरमुकामसम्म आउनु पर्ने र त्यहाँ पुगेर पनि पैसाको अभावले पढ्न नपाउने उदाहरण आफैबाट दिएका छन् । मिसनको सहयोगबाट सुरु भएको उनको शैक्षिक उपलब्धिहरु फिलिपिन्स हुँदै क्यानडाको कुडी ईन्टरनेसनलसम्म आइपुग्छ ।

सन् १९८५ मा कृष्ण क्यानडा आउँदा त्यसबेला यहाँ नेपालीहरुको संख्या न्यून थियो । अर्थात हातमा गन्न सकिनेमात्र । क्यानडाबाट शिक्षा आर्जन गरेर सुरु भएको विकास परियोजनाको जागिर अविकसित राष्ट्र र द्वन्द्वमा अल्झिएको राष्ट्रमा शिक्षाको मैनबत्ती बाल्दै अन्ततःक्यानडालाई नै आफ्नो जीवनको अन्तिम गन्तव्य बनाउन पुग्छन् । त्यसबेला एक्लो नेपाली ठान्ने कृष्ण अहिले नेपाली समुदायका बीच चर्चित नाम बन्न पुगेका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैँ कृष्णले पनि आफ्नो ‘दाँत बलियो छँदै हो भुटेको मकै खाने’ भन्ने उखान आमाबाट सुनेकोले यसैलाई जीवनको लक्ष्य मानेर संघर्षको मैदानमा ओर्लेको देखिन्छ । शिक्षाको विकास निर्माणका पूर्वाधारहरु तयार पार्ने पथमा निस्केका कृष्णलाई चिनको एउटा भनाइले राम्रो प्रभाव पारेको थियो । त्यसैले आफ्नो कर्म पथमा बिताएका चालिस वर्षको सेवा अवधिभरी नै उनले चिनको भनाइ – ‘तिमीले गरीबलाई माछा दियौ भने उसको एक दिनको छक टर्छ । तर तिमीले गरीबलाई माछा मार्न सिकायौ भने उसको जीवनभरिको छाक टर्छ’ ।

जीवनको यही यथार्थ सत्यलाई पच्छ्याउँदै उनी शिक्षाको ज्योति बोकेर जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ उनले एक छाक शिक्षाका साटो शैक्षिक वातावरणको सिर्जना गर्नमा स्थानीय संघसंस्थालाई सक्षम बनाउँदै गए । त्यसैले उनलाई एकपछि अर्को सफलता मिल्दै गयो ।

संयुक्त राष्ट्र संघको जन्म १९४५ मा दोस्रो विश्वयुद्धपछि भएको थियो । स्थापनाको मूल उद्देश्य भविष्यमा अर्को विश्वयुद्ध नहोस र सबै राष्ट्रका बीच शान्ति र सुरक्षा बनाई राख्ने तथा अन्य राष्ट्रसँग मित्रता र सद्भावनाको सम्बन्ध बनाई राख्ने, अन्तर्राष्ट्रिय सहयोगको प्रतिपादन गर्दै जाने र एकआपसमा मेलमिलाप बनाई राख्ने रहेको छ ।

नेपालमा वैदेशिक विकासका पहलहरु सन् १९५० देखि सुरु भएको देखिन्छ । युनाईटेड मिसन अफ नेपाल (यु.एम.एन.) सन् १९५४ मा सुरु भएपछि बिस्तारै अरु विकास परियोजनाहरु थपिदै गएको थियो । यस्तै विकास परियोजना मार्फत आफ्नो कार्यकौशलता देखाएर कृष्ण के.सी. जस्ता हजारौं नेपाली युवाहरु संयुक्त राष्ट्र संघको (यु.एन.ए.) विकास परियोजनामा आबद्ध भएर विश्वभरि सेवा पुर्याउँदै आएका छन् । सेभ द चिल्ड्रेनमा आबद्ध भएर बालबालिकाका लागि व्यवहारिक शिक्षामात्र नभएर सामाजिक र सैद्धान्तिक शिक्षाको पनि अनिवार्यतामाथि प्रकाश पार्दै उदाहरणहरु प्रस्तुत गरेका छन् ।

शिक्षा भनेको पाठ पढाउने र घोकाउनेबाहेक पौष्टिक आहार बारेको शिक्षा, खानेपानी बारे शिक्षा, पशु पंक्षी बारे शिक्षा, खेतीपाती बारे शिक्षा, स्वास्थका बारेमा शिक्षा, सामुदायिक वन बारे शिक्षाका बारेमा बालबालिकालाई मात्र नभएर त्यहाँको समुदायलाई पनि जानकारी दिनु पर्छ भन्ने बारे जानकारी पाएपछि सहज ढंगबाट नेपालका अशिक्षित समुदायका बीच पुर्याउन कृष्णले नेपाली भाषामा पुस्तक तयार पार्दै गएको देखिन्छ ।

उनी यु.एन. सँग आबद्ध भएसँगै ‘सेभ द वल्र्ड फर द फ्युचर जेनेरेशन’ को मूल मन्त्रलाई बुझी सकेका थिए । त्यसैले बढीभन्दा बढी जनसहभागिता गराएर शिक्षा पस्कने अभियानमा उनले महिलालाई बढी प्राथमिकता दिएको भनेका छन् । यस्तोमा हाम्रो समाजमा महिलानै घर चलाउने दहे खाबो हुने गरेकोले उनले विकासका अभियानमा महिला सहभागितालाई बढी प्राथमिकता दिएको कुरा बताउछन् । यसलाई अझ प्रभावकारी बनाउन उनले सडक नाटकलाई माध्यम बनाएको प्रसङ्ग अघि सारेका छन् ।

सन् १९८४ देखि ‘सर्वनाम’ नाट्य समूहबाट नेपालमा सडक नाटकको थालनी गर्ने व्यक्ति मध्येको आफू पनि भएकोले सडक नाटकलाई विकासको नाटकमा रुपान्तरित गरेर परिवार नियोजन संघबाट सुरु गरेर मेचीदेखि महाकालीसम्म पुगेर विभिन्न एनजिओ–आईएनजिवोका लागि प्रस्तुति दिँदा सेभ द चिल्ड्रेनको लागि सडक नाटक मञ्चन गरेको सम्झना आएको थियो । शायद त्यसबेला कृष्णलाई देखेको थिए कि ? विकास परियोजनाको मूल उद्देश्य भनेको स्थानीय जनशक्तिलाई प्रशिक्षण दिएर सक्षम बनाउने रहेको हुन्छ ।

विकास परियोजनाले जनशक्तिलाई बलियो बनाएर उनीहरुको भविष्य सुरक्षित बनाउने रहेको हुन्छ । त्यसैले नेपालमा रहँदा यहाँको तीज, तिहार जस्ता सांस्कृतिक महत्त्व भएका पर्वमा गाउने गीतलाई माध्यम बनाएर विकासका लागि चाहिने शैक्षिक सामग्रीलाई बुझ्ने तरिकाले गीतमा प्रस्तुत गरेर बुझाउने प्रयास गर्दै गए । अनि यसैलाई निरन्तरता दिन उनले नेपालबाहिर पनि त्यहाँका लोक गीतहरुलाई प्रयोग गरेका छन् । यसरी शिक्षा परियोजनालाई नयाँ तरिकाबाट निरन्तरता दिने काममा गर्नु भएको प्रयास उदाहरणीय रहेको छ ।

उनले नेपालमा शिक्षाको कमीलाई मुलुकको भौतिक र सामाजिक अवस्थाका कारण पुस्तकको अभाव र सहभागिताको कमीले गर्दाको कारणलाई प्रष्ट्याएका छन् । उनले नेपालको कमजोर शिक्षा प्रणालीका बारेमा उदाहरण दिँदै यसलाई गतिलो तरिकाबाट अघि बढाउने राय पनि दिएका छन्।

यस पुस्तकमा उनले नेपालमा पूर्वाधार बिना परियोजनाहरु सञ्चालन हुँदै आएको र परियोजनापछि यसको निरन्तरताका लागि राम्रो पहल नभएकोले स्थायित्व पाउन नसकेर अल्मलिएकोले हामी शिक्षाका कारण अरु प्रणालीमा पनि कमजोर रहेको बताउँछन् । नेपालको चिकित्सा प्रणालीमाथि प्रश्न गर्दै किड्नीको शल्यक्रिया बिग्रेको अनुभवले मलाई मेरो आफ्नै सन् १९९२ मा (२०४८ साल) गरिएको मेरो गलत शल्यक्रियाको परिणाम आजसम्म भोग्दै आएको अनुभव गरायो । त्यसैले उनले क्यानडाको जनस्वास्थ्य व्यवस्थाको राम्ररी चर्चा गरेका छन् । कृष्णले नेपालमा मिसनको व्यवस्थापन पदसम्म पुग्न क्रिश्चियन धर्म मानेकै हुनु पर्छ भन्ने प्रसङ्गले नेपालमा क्रिश्चियन धर्मप्रति लाग्नेको संख्यामा वृद्धि हुनु यस्तै लोभका कारक बनेको अनुमान गर्न सकिन्छ ।

विकास परियोजनामा खटिएर गएका कृष्णको मुख्य काम भनेको विकास परियोजनाका लागि एसिया र अफ्रिकाका विभिन्न मुलुकमा गएर त्यहाँका बालबालिकाको उज्जवल भविष्यका लागि उनीहरुसँगै उनका अभिभावकहरुलाई पनि मानवअधिकारप्रति सचेत गराउँदै शिक्षा र स्वस्थ्यको शिक्षा दिदै स्वच्छ पानी खुवाउने रहेको देखिन्छ । यही नै मानवतावाद हो । तर यस क्रममा उनी जहाँ जहाँ पुगे आफूले काम गरेको कर्मथलोको छोटो वर्णन पनि गरेका छन् । यस क्रममा त्यहाँको इतिहास, भूगोल, व्यवस्थापन, शिक्षा, स्वास्थ्य, राजनीतिक अवस्था, धर्म–संस्कृति, खानपान र सामाजिक अवस्थाका बारेमा राम्रो जानकारी दिएका छन् । कम्बोडियाको तत्कालीन धार्मिक इतिहासलाई उत्खनन् गरेर राम र बुद्धको इतिहास खोतलेर देखाएका छन् । तर अल्बेनिया बाहेक अरु ठाँउको वर्णन विस्तारसाथ गरेको देखिँदैन ।

यो पुस्तक कृष्ण के.सी. को आत्मकथा हो । उनले गरेको संघर्षको कथा हो । उनको परिवारको कथा हो । आफ्नो कर्मप्रति निष्ठावान बनेका कृष्णले विभिन्न समुदायलाई विकासात्मक शिक्षाका कुरा सिकाउँदै सबैलाई सक्षम बनाउने प्रयासको बाटोमा लाग्दाको अनुभव यस पुस्तकले बटुलेको छ । उनको संघर्ष, मिहेनत, सफलता र दुःख कष्टको कथा समेटेको छ । उनले नेपालबाहिरका मुलुकमा पुर्याएको सेवाको कथा समेटेको छ ।

विकास परियोजनाका लागि विदेशी राष्ट्र दाताका रुपमा आएका हुन्छन् । यस्ता परियोजना संचालन गर्ने दाताराष्ट्रले परियोजनाको परिणाम राम्रो नदेखेपछि हात झिकी दिने गरेका धेरै उदाहरणहरुबारे जानकारी गराएका छन् । यसमा व्यवस्थापनाको ठुलो भूमिका रहन्छ । त्यसैले परियोजना सफल हुँदै जान थालेपनि दाताराष्ट्रहरुको संख्या पनि बढ्दै जाने गरेको प्रसङ्ग क्षेत्रीय प्रबन्धक भएर ओ.आई. संस्थामा काम सुरु गर्दा तीनवटामात्र दाताराष्ट्र थियो भने कार्यकालको अन्त्यमा बाह्वटा दाताराष्ट्रहरु हुनु भनेको कार्य सफलता नै हो ।

उनले यस पुस्तकमा आफुले विभिन्न चरणमा गरेको कामका बारेमा उनका हाकिम र सहकर्मीहरुबाट अभिव्यक्त विचारहरुलाई पनि लिखित रुपमा उच्च मूल्याङ्कनका साथ राखेका छन् । आफ्नो जीवनमा देखेका, भोगेका र अनुभव गर्नु भएका तीतामीठा कुराहरुलाई समेटिएर लेखिएको २६२ पृष्ठको ‘होप एण्ड ग्लोबल ह्युमानिटारिनिजम्’ मा विवाहदेखि विभिन्न अवस्था, जमघट, परिवार र पारिवारिक वातावरण, छोराछोरी नातिनतिनी, चारपुस्ता, साथी सहपाठी र सहकर्मीसँगै पुरस्कार, सम्मान र प्रमाणपत्र अतीतको सम्झना स्वरुप गरी ६७ वटा फोटोहरु राखेका छन् । त्यस्तै काम गर्ने क्रममा विभिन्न समयमा विभिन्न व्यक्तिहरुबाट अभिव्यक्त गरिएको ३४ वटा प्रशंसा पत्रलाई हाईलाईट गराएर राखिएको छ ।

कृष्ण के.सी.का बारेमा प्रा. डा. सोलेडाड ए. हर्नाण्डो लेख्छन्ः उनी केवल एक साधारण प्रबन्धक र निडर सामाजिक नेतामात्र नभएर उनले सेवाकार्यमा पुर्याउनु भएको चालिस वर्षको विकास कार्यले प्रभाव पारेको तथ्यबाट के.सी. एक दयालु, निस्वार्थ व्यक्तिका रुपमा चिनिन्छन् । जसले सबै प्रकारका बाधाहरुको सामना गर्दै बालबालिकाहरुको बहुमूल्य जीवन बचाउने काम गर्दै आएका थिए (८ अगस्त २०२०) ।

आफ्नो कार्यकालमा उनले शिक्षाको विकासका लागि स्थानीय संघसंस्थासँग सहकार्य गर्दै शैक्षिक तालिममात्र नदिएर अविकसित मुलुकमा शैक्षिक संस्थाको अभावले शिक्षा पुग्न नसकेको र प्रत्येक गाउँमा शिक्षालय नभएको महसुस गरेर गाउँमा औपचारिक शिक्षा प्रणाली सुरु गराएको धेरै प्रसङ्गहरु आएका छन् । यसका लागि ‘फुड फर इजुकेशन’ परियोजना विश्व खाद्य संघसँग सहकार्य गरेर शिक्षकलाई निशुल्क राशन उपलब्ध गराउने र विद्यार्थीलाई शिक्षा आर्जन गर्न विद्यालय आउँदा खाजा खुवाउने जस्ता उदाहरणीय प्रसङ्गहरुले अविकसित मुलुकमा अनिवार्य शिक्षा दिन सबैलाई समेट्न राम्रो माध्यम बनेको छ । भारतमा पनि गाँउका धेरै विद्यालयले गरीब विद्यार्थीका लागि निशुल्क खाजाको व्यवस्था गराएर विद्यार्थीको संख्या बढाउने काम गर्दै आएको छ ।

उनको यो आत्मकथामा उनले शिक्षाको विकास र विस्तारका लागि गरेका विभिन्न प्रयत्न र प्रयासको लेखाजोखा पाइन्छ । केही कक्षा कोठा, एउटा शिक्षक कोठा, एउटा पुस्तकालय, एउटा खेल मैदान, एउटा शौचालय भएपछि त्यसभित्र शैक्षिक वातावरण सिर्जना गर्न शिक्षाविद्को आवश्यकता पर्दछ । त्यही आवश्यकताको पर्यायवाची भएर कृष्ण के.सी. क्यानडामा सेवानिवृति जीवन काटिरहनु भएको छ । आफ्नो कार्यकालमा विकास परियोजना अन्तर्गत शिक्षाको क्षेत्रमा उनले पुर्याएको सफल कार्यले गर्दा २००५ को भुईंचालोले पाकिस्तानमा तीन हजार विद्यालय नष्ट भएको थियो ।

२००६ मा त्यहाँ शिक्षाविद् भएर उनले शिक्षालाई पूर्नस्थापना गर्न अथक परिश्रम गर्नु परेको थियो भने यही सफलताले उनलाई कुनै समय अफ्रिकाको सबैभन्दा ठूलो मुलुक भनीचिनिएको तेलको धनी राष्ट्र सुडान गृहयुद्धले तहसनहस भएपछि शिक्षाको उज्यालोको मसाल थमाएर युनिसेफले उनलाई नै खटाएको थियो । शिक्षा परियोजना सञ्चालन गर्ने क्रममा खुला आकासलाई विद्यालय बनाएर प्रारम्भ गरेको र निशुल्क शिक्षा प्रदान गर्ने शिक्षकको खेतमा विद्यार्थीका आमाबुवाले निशुल्क काम गरेर एकअर्काको सहयोग गरेको राम्रो उदाहरण बनेको थियो ।

तर यही सुडानमा काम गर्दा आँखा अगाडि दुई वटा रकेट बम पड्केको देखेर यस्ता विदेशी परियोजनामा काम गर्दा डलरले मात्र नपन्छ्याएर मृत्युले पनि पच्छाएको अनुभव समेत बटुलेका छन् । त्यस्तै आफु बसेको क्याटरमा तोडफोडपछि लुटपाट भएको घटना र समुदायसँग समन्वय गर्न खोज्दाका धमकीपूर्ण अवस्थाको चर्चाका माध्यमबाट विदेशी परियोजनामा काम गर्न कत्तिको जोखिम हुने गर्छ भन्ने बारे थाहा पाउन सकिन्छ ।

यो पुस्तक विकास परियोजनामा काम गर्नेहरुकका लागि मार्ग दर्शक बनेको छ भने समुदायको सेवामा लाग्ने युवा पिँढीलाई प्रेरित गर्ने छ । पहिलो अध्यायले उनको अध्ययन र संघर्षको प्रारम्भिक चरण देखाएको छ भने दोस्रो अध्यायमा उनी कर्म मार्गमा लागेर रेडवर्नादेखि विकास परियोजनामा आवद्ध भएर कर्म योगीका रुपमा उनको जीवनयात्रा सुरु हुन्छ । त्यस्तै तेस्रो अध्यायबाट विदेश गमन शुरु हुन्छ भने चौंथोमा अन्तर्राष्ट्रिय संस्थासँगको आबद्धता बढ्दै जान थाल्छ ।

यसरी राजनीतिक खिचातानी र आन्तरिक कलहमा परेर गृहयुद्धमा होमिएर अनाहकमा निर्दोष नागरिक र अबोध बालबालिकाहरु अँध्याराेमा रुमल्लिन बाध्य भएपछि शिक्षाको ज्योति बोकेर उज्यालो छर्दै अघि बढ्दै हिँडेका कृष्ण के.सी.को शिक्षा अभियानमा अगस्त २०१९ मा आएर तगारो लागेको देखिन्छ । इराकमा शिक्षा विज्ञका रुपमा सल्लाहकार भएर गएपछिको उनको आत्मकथामा तगारो लाग्छ । तर उनले विकास मार्गमा गरेको काम कारवाहीलाई समेटिएर लेखिएको यो पुस्तक यस्ता विकास परियोनासँगै अन्तर्राष्ट्रिय विकासका सम्बन्धमा उच्च अध्ययन गर्नेहरुका लागि स्रोत पुस्तक बन्ने छ भन्दा अत्युक्ति नहोला ।

उनी जस्ता प्राविधिक र शिक्षाको महत्त्व बुझेका अनुभवी व्यक्तिलाई नेपाल सरकारले विकासको पथमा संलग्न गर्न गराउन सके शिक्षाको उज्यालोबाट वञ्चित रहेका नेपालका गाउँहरुमा शिक्षाले आश्रय पाउन सक्ने विश्वास लिन सकिन्छ ।